छाल
एक पटक फोनमा अनुरोध गरेकै भरमा एउटा लेख त्यो पनि नचिनेको व्यक्तिलाई हामी कमैले कसैलाई पठाउँछौं वा पठाएका छौं जस्तो लाग्दैन । यस्तै एउटा सुखद संयोग परेको थियो एकजना अग्रज पत्रकारसँग । पारिवारिक भेटघाटको सन्दर्भमा अमेरिका आएको जानकारी प्राप्त भएको थियो । सम्झना र सिफारिस कसले गर्यो यकिन भएन । नेपाल फर्कनु पहिले लेख पठाइदिने आश्वासनअनुसार नै हस्ताक्षरमा लेख प्राप्त भयो । तर दोहोर्याएर कुरा गर्ने र उक्त लेख प्रकाशित कृति लेखककै हातमा दिने अवसर भने प्राप्त हुनसकेन । प्राप्त लेखको शीर्षकमा र अन्तिम वाक्यमा लेखिएको थियो –
असल नेताको सम्झना
.…. … …
यस्ता प्रखर व्यक्तिको आत्माले चीर शान्ति पाओस् । – विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ,दुर्गानाथ शर्मा, पेज ३४८/ सम्पादक: लेखनाथ भणडारी, स्कूल अफ डेमोक्रेसी, यू.एस.ए.
आज यी पङ्क्ति लेख्दै गर्दा तिनै अग्रज पत्रकार तथा लेखकको ‘आत्माले चीर शान्ति पाओस्’ लेखेर मात्र विषय प्रवेश गर्नु पर्ने भएको छ । आजिवन पत्रकारिता पेशामा रहेर यसै पेशाबाट परिचय बनाएका पत्रकार हुन् दुर्गानाथ शर्मा । शर्मा कृत ‘छाल’ प्राप्त भएको अर्को हप्ता नेपाल अमेरिका पत्रकार संघको तर्फबाट एक शोक विज्ञप्ति सार्वजनिक भएको थियो –
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) गहिरो दु:ख व्यक्त गर्दछ ।
नेपालको टेलिभिजन पत्रकारिताका एक हस्तीको रुपमा रहनुभएका शर्माको निधनले नेपाली पत्रकारिताको क्षेत्रमा क्षति पुग्न गएको छ ।… वि.सं. २००४ साल जेष्ठ १४ ( २७ मे ) गते इलाममा जन्मनु भएका शर्मा २०४२ साल पुष १४ गते नेपाल टेलिभिजन प्रसारण सुरु गर्दा पहिलो प्रस्तोताको रुपमा हुनुहुन्थ्यो । शर्माले गोरखापत्रको सम्वाददाता हुँदै पत्रकारिता सुरु गर्नुभएको थियो । … – विकास राज न्यौपाने, कार्यवाहक अध्यक्ष तथा किरण मरहठ्ठा महासचिव / नेपाल अमेरिका पत्रकार संघ (नेजा),५ फेब्रुअरी, २०२०
छापा पत्रकारिता,रेडियो र टेलिभिजन सञ्चार माध्यममा सक्रिय पत्रकारिताका साथै नेतृत्वदायी भूमिकामा रहेका दुर्गानाथ शर्मा साढे ६ दशक लामो इतिहासका साक्षी थिए । आजसम्मको पत्रकारिता अर्थात् सञ्चार माध्यमका स-शक्त मानिएका यी तिनवटा माध्यममा एकसाथ काम गर्ने र त्यतिकै प्रभाव छोड्न सफल व्यक्तित्व हुन् शर्मा । पत्रकारिताका माध्यमबाट धेरै देशहरूको भ्रमण गरेका शर्मा समाचार वाचन र नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘विश्व घटना’ का लागि चर्चित थिए ।
छाल,नेपालको साढे ६ दशक लामो विशेष गरेर पत्रकारिता र राजनीतिसँग सम्बन्धित विभिन्न घटनाक्रमसँग जोडिएको इतिहासको पृष्ठभूमि हो । यसलाई जति सकिन्छ उधिन्न वा पर्दा च्यातेर अगाडि हेर्न वा जति छ त्यति नै मात्र बुझेर आ-आफ्नो दृष्टिकोण,विश्लेषण वा मूल्याङ्कन गर्न पनि सकिन्छ । गोरखापत्रको पत्रकारिताको अनुभवका तितामिठा क्षण, कमीकमजोरी, दरवार र नेताहरू (मन्त्री आदि)को दबाब, मुद्रा राक्षसको चमत्कार अर्थात् गल्ती, लेखक र सम्पादनमा रहनेहरूको लापरबाहीका कतिपय घटनाहरू हास्यास्पद वा रोचक लाग्छन् । जनताको पक्षमा लेखेको समाचारको स्रोत मन्त्रिलाई खुलाउन बाध्य हुनुपर्दाको निराशा र त्यसको परिणाम सुखद छैनन् ।
शर्माले आधा शताब्दी पहिले अनुभव गरेको ‘मन्त्रिहरू ब्रह्माण्डको कुनै पनि विषयमा भाषण गर्न पोख्त थिए । उनीहरूकै भाषणका समाचारले अखबार चल्थे ।’ आज पनि उस्तै छ । मन्त्री र नेताहरूले सरकारी सञ्चार माध्यमहरूमा दिने दबाब र ‘सर्व विज्ञता’का धेरै तितो अनुभवहरू छन् शर्मासँग । सेन्सरका लागि मन्त्रीलाई पठाइएका समाचार सामाग्री ‘यो लोक’मा फिर्ता नपाएका शर्माले ‘त्यो लोक’ मा भए पनि ती मन्त्रीहरूलाई यसबारे पक्कै खै गर्ने छन् ! अङ्ग्रेजी भाषा नजान्ने नेता (प्रधानमन्त्री र मन्त्रीहरू) हरूले जान्ने देखाउने रहरमा जबरजस्ती अङ्ग्रेजी बोल्नुभन्दा दोभासेको सहयोग लिनु पर्ने उनको अनुभव र सुझाव छ ।
नेपालको छिमेकी देश भारत र चीनसँगको सम्बन्धका बारेमा सम्बन्धित देशहरूको व्यवहार र दृष्टिकोण, तत्कालीन राजदरबारको दृष्टिकोण,वि.सं. २०४६ सालको संविधान जारी हुँदाको उत्साहित वातावरण आदिको बारेमा शर्माले तथ्यगत विवरणहरूको चर्चा गरेका छन् । भारतको नयाँदिल्लीमा पत्रकारिताको अध्ययनका क्रममा ‘पत्रकारिताको इतिहास’ पढाउने प्रोफेसरले नेपाललाई समेत उपनिवेश भनेको विषयमा गरेको प्रतिवाद र नेपाली राष्ट्रियताका सम्बन्धमा उनका अनेक सचेत दृष्टिकोणहरू रहेका छन् ।
भोलि कसैले देखेको छैन र भोलिको बारेमा कुनै अनुमान गर्न सकिन्न भन्ने मत थियो शर्माको । डाक्टर बन्ने सपना बोकेर नेपालको सूर्योदयको भूमि इलामबाट काठमाण्डौ चढेका शर्माले पत्रकारसँगको एक संवादमा भनेका छन्- ‘मृत्यदेखि म डराउँदिन । मृत्यु ध्रुव सत्य हो । जन्मेपछि मर्नुपर्छ भन्ने निश्चित छ तर कहिले ? लानेको काम हो । त्यो जाने टिकट यमराजले पहिले नै थमाएको हुन्छ रे । खाली डेट राख्न मात्र बाँकी हुन्छ ।’- कुवेर गिरी, शनिबार, १६ चैत २०७५/ रातोपाटी
श्रम र स्वाभिमानले बाँचेका, कसैसँग नबिझाउने स्वभावका, शिष्ट भाषामा लेखिएको यस कृतिका लेखक दुर्गानाथ शर्मालाई जीवनको उतरार्ध्दमा भने निजी क्षेत्रबाट सञ्चालित ‘माउन्टेन टेलिभिजन’ले दिएको भुक्तमानको घटना नरमाइलो सन्दर्भ हुनसक्छ पाठकहरूका लागि । शर्माले आफूमाथिको भुक्तमानको यस घटनालाई पनि अनुज पुस्ताका श्रमजीवी पत्रकारहरूको हितका लागि नजिर बसाउनका लागि अदालतको ढोका ढकढक्याएको सन्दर्भ पनि उनको स्वाभिमान र शालीनताको उदाहरण हो ।
कमीकमजोरीको चर्चा गरिएका पात्रहरूको राम्रो कुराको प्रशंसा पनि गरेका छन् शर्माले । सामान्यतः नेपाली पत्रकारिता,राजनीति र इतिहास तथा भाषा साहित्यका पाठकहरूका लागि पनि यो कृति पठनीय छ । विशेषतः नेपाली पत्रकारहरूका लागि शर्माको यो संस्मरणहरू उदाहरणीय र प्रेरणादायी पनि छ । ब्रदर बुक्स प्रकाशन प्रा.लि.व्दारा वि.सं. २०७३ मा प्रकाशित ‘छाल’ का सम्पादक भरतविक्रम ढकाल हुन् ।
0 0 0 0
अतृप्ति
कस्तो लेख्ने ? के लेख्ने ? कसरी लेख्ने यी सबै प्रश्न दोस्रो प्राथमिकताका विषय हुन् | पहिलो प्राथमिकताको प्रश्न हो लेख्न चैं शुरु गर्ने कि नगर्ने ? लेख्न शुरु गरेपछि थाहा हुन्छ,लेख्न सकिन्छ कि सकिन्न । अनि लेखिसकेपछि आफै पाठक बनेर पढ्ने हो भने कस्तो लेखेछु त्यो पनि थाहा हुन्छ ? पाठकलाई मन पर्छ कि पर्दैन होला ? पाठक बनेर पढ्दा आफूलाई मन पर्यो भने अरू पाठकलाई पनि मन पर्छ भन्ने बुझे भो !
मञ्जु बिमलीको अनुभवले भन्छ- ‘एक चरण लेखिसकेपछि माथिदेखि मिलाउने क्रममा जब हेर्न थालें, बिचबिचमा थप्ने हटाउने गर्दागर्दै पहिले लेखेकोभन्दा कथै अर्कै हुँदै जान थाल्यो । पाठकको चित्त बुझ्ने-नबुझ्ने त पछि हो तर आफ्नै चित्त बुझाउन गाह्रो हुनेरहेछ लेखनमा।’ लेखकलाई आफ्नै सिर्जना पाठका रुपमा मन परेपछि वा पाठकको चित्त बुझेपछि प्रकाशित गरिएको मञ्जु बिमलीको उपन्यास हो – अतृप्ति । बिमलीको अनुभवले उद्घाटित गरेको अर्को रहस्य हो, लेख्नुभन्दा पहिले पढ्नु पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ ।
एकदिन पढ्दापढ्दै भुसुक्कै निदाएछु । सिरानीमा राखेको कुपी ढल्किएछ र तेल रसाएर लुगा बल्न थालेछ । आगो हुर्कन थालेपछि सँगै सुतेकी दिदी चिच्याएर ब्युँझिइछ (ब्युँझिएर चिच्याइछ)। अर्को ओछ्यानमा सुतेकी आमाले थाहा पाउनुभयो । म निन्द्रा हो कि तन्द्राबाट ब्युँझिएकिले के गर्ने भनेर पतै पाइनँ । आगो बलेको हेरिरहेँ । आमाले नै आएर पानी खन्याएर आगो निभाउनु भयो । मेरो कथा पढ्ने लतले झण्डै घर नजलेको (जलेको) । अहिले सम्झँदा पनि आफ्नो मूर्खतासँग कस्तो कस्तो लागेर आउँछ । – लेखकीय/कसरी लेख्न मन भयो,पेज ५
मञ्जुलाई अरू लेखक कविहरूका लेख रचना,कथा,कविता वा उपन्यास आदि पढ्दा मात्र चित्त बुझेन | कविता लेखेर पनि मन मानेन | दुई थोपा आँशु ( कवितासङ्ग्रह,वि.सं. २०६६) प्रकाशित हुँदा पनि सिर्जनाका आँशु थामिएनन् | मनको हुटहुटी गद्य विधाका कथा-निबन्ध वा संस्मरणमा प्रकट गर्दा पो शान्त हुन्छ कि भनेर प्रयास नगरेको पनि होइन | खिर (संस्मरण,वि.सं.२०६९) ले पनि अभिव्यक्तिको स्वाद नपाएको परिणाम थियो- मञ्जु बिमली कृत ‘अतृप्ति’,वि.सं २०७८/ पैरवी बुक हाउस प्रा.लि., काठमाण्डौ | वि.सं. २०७० कै आसपासबाट लेख्न शुरु गरेको अतृप्ति,को लेखनको समाप्ति भने असोज २४, वि.सं. २०७६ रहेको देखिन्छ ।
धेरैजसो लेखकहरूको औसत उपन्यासका औपन्यासिक विन्यास हुन्- प्रेम | प्रेम भित्रको लीला भने अपरम्पार छ | प्रेममा नअटाउने त्यस्तो कुनै विषय र वस्तु छन् कि छैनन् भन्ने द्विविधा भगवानका नाममा वा यो यही र यस्तै मात्र हो भनेर दाबी गर्ने विज्ञान विज्ञहरूले पनि किटान गरेका छैनन् आजसम्म । युद्धमा पनि उतिकै प्रेम छ जति शान्तिमा छ,उदाहरण अनेक छन् । विचार,इतिहास,भूगोल,धर्म दर्शन,यात्रा,विज्ञान,सामाजिक जीवनका गति-यति, धनी-गरीब र विविध भेदभाव लगायतका विविधतापूर्ण विषय कुनै पनि उपन्यासहरूका कथाका प्रेम र युद्धका प्रसङ्गमा जोडिएका हुनसक्छन् । अतृप्ति,मा विशेषतः ग्रामीण नेपाली समाजका महिलाहरूको जीवनमा अनपेक्षित आइपर्ने भुक्तमान र जिम्मेवारीहरूका कारण उत्पन्न मानसिक द्वन्द्वको मिहिन चित्रणले प्रधानता पाएको छ ।
अतृप्ति,को लेखक अरू लेखकहरूको कृतिको मात्र पाठक नभएर आफ्नै सिर्जनाको पनि पाठक हुँदा हुँदै अतृप्ति,लाई तृप्त गर्ने क्रममा कथाको बिट मार्दै गर्दाको अन्तिम पोयोको गाँठो भने अलिक फरक गरेको भए केही मौलिक र थप कसिलो हुनेथियो- पाठकको अनुमान हो यो । घर बनाउनेले जग कहाँबाट कसरी शुरु गर्यो र कहाँसम्म पुर्याउने उद्देश्य राखेको थियो भनेर घरको धुरीमा बसेर गरेको अनुमान वस्तुगत नहुन पनि त सक्छ । बिसौनीको अन्तिम गाँठो यस्तो छ-
बेलुका खान खाइसकेर कोठामा पसेपछि अरुणले भर्खरै खोलेर किलामा झुण्ड्याएको सर्ट झिकेर अरुणतिर हेर्दै इन्दिराले भनी, ‘तपाईं अबदेखि यस्तो निलो सर्ट नलगाउनु ल !’
अनौठो मान्दै अरुणले इन्दिराको अनुहारमा एक छिन हेरिरहेर सोध्यो,‘किन र ?’
उसले दह्रो स्वरमा भनी, ‘मलाई यस्तो रङ मन पर्दैन ।’
‘पहिला त निलो रङ सारै मन पर्छ भन्थ्यौ त !’
‘हो । तर अब मन पर्न छोड्यो ।’
अनि उसले उल्टो पारेर सर्टको सिलाईपट्टिबाट धर्धरी उधार्न थाली । निधारमा गाँठो पार्दै भृकुटी खुम्च्याएर अरुण अलमल्ल परेर हेरिरहेको थिथो । – अतृप्ति,पेज १७३
आफ्नो पूर्व प्रेमी किरणलाई असाध्य रोगले सिकिस्त अवस्थामा अस्पतालको शैय्यामा भेटेर निलो सर्ट उपहार दिएर फर्केकी हुन्छे इन्दिरा त्यो बेलुका । यो पङ्क्तिकारलाई खट्किएको चैं यति हो – इन्दिराले आफ्नो औपचारिक पति अर्थात् विवाहित पति अरुणको निलो सर्ट त्यसरी च्यात्नुको बदला अरूणको निलो सर्ट किरणलाई र किरणको एउटा सर्ट कुनै जुक्ति-बुद्धिले फुत्काएर ल्याइ अरुणलाई दिएकी भए हुन्नथियो र ?
अतृप्तिका सम्बन्धमा एक पाठकले लेखक बिमलीलाई सार्वजनिक रूपमै बुझाएको पाठ यस्तो पनि छ- ‘आख्यान परम्परामा सुन्दर, प्रौढ र परिष्कृत भाषाको प्रयोग रहरलाग्दो छ । आडम्बर, अतिरञ्जना र पाण्डित्य प्रदर्शनबाट जोगिएर बगेको कलम प्रशंसनीय छ । मनमा असजिलो हुन्छ – दिदीको मन कस्तो भयो त्यो जान्न म अझै किन उत्सुक हुँदैछु ? राजनीतिको यात्रामा इन्दिराको मन किन रमाएन ? कसरी बुझौं ?’ – अतृप्ति : रंग बदलिइरहने मनका पर्दाहरू, हरिराज भट्टराई / जुन २२,२०२२ / नेपाली पोस्ट डट कम
कवि,लेखक,कलाकार वा सेलिब्रेटीहरूलाई सोध्न मन लागेको एउटा प्रश्न छ । मञ्जु बिमलीमार्फत् सोध्नु पर्यो त्यो प्रश्न –
व्यक्तिगत परिचय अर्थात् व्यक्तिगत विवरणमा जन्म स्थान कहाँ हो त्यो पनि लेखिएको हुन्छ । माता पिताको नाम छुटाउनै कुरै भएन । शिक्षा, अनुभव, देश विदेश भ्रमण, तालिम, गोष्ठि, सेमिनार, सिर्जना सङ्ख्या के कति छन् यी सबै अनिवार्य जस्तै भए । पति पत्नी र छोराछोरीकोसँगै तिनका सहयोग र सदासयताका लागि धन्यवाद पनि प्रकट गरिएको देखिन्छ । तर यतिका विवरणमा पनि सम्बन्धित व्यक्ति (सर्जक)को जन्म भएकै देखिंदैन ! यतिका विवरण सार्वजनिक गरेपछि जन्म मिति चैं लुकाउनै पर्ने त्यस्तो रहस्य के रहेछ ?! नजन्मँदै यतिका धेरै कर्म गर्न भ्याएको रहेछ भनेर पाठक, स्रोता वा दर्शक आदिले पत्याउँछन् भनेर त होइन होला ! स्पष्टीकरण- यो सन्दर्भ व्यक्तिगत होइन |
पानीमा पौडिन पानीमै पस्नुपर्छ भनेजस्तै राम्रो लेख्न आफैँले पनि पाठक बनेर पढ्नुपर्छ । लेखक मञ्जु बिमलीका पाइनमा कसी लगाएर तिखारिएका ‘अतृप्ति’ लगायतका कृतिले पाठकलाई तृप्ति प्रदान गर्दै जाउन् ।
0 0 0 0
जीवनका अनुभूतिहरू
फेरि पनि दोहोर्याएर लेख्नै पर्ने भयो- साहित्य स्वैरकल्पना मात्र होइन । साहित्य मानिसको जीवनकै दैनन्दिनको उतार चढावको कथा हो । यसै आलेखको अघिल्ला हरफहरूमा चर्चा गरिएको मञ्जु बिमलीको कृति ‘अतृप्ति’ को सन्दर्भमा चर्चा गरिएको इन्दिराको ठाउँमा अरू कसैको नाम जस्तै मन्दिरा,गीता,सीता वा अरू केही भएकै भए केही फरक पर्थ्यो र ? पर्दैनथ्यो । बिना पोखरेलको आत्मकथा ‘जीवनका अनुभूतिहरू’ मा इन्दिराको नाम भएको भए के हुन्थ्यो ? यसमा पात्रको नाम इन्दिरा वा मन्दिरा भएको भए ‘जीवनका अनुभूतिहरू’ बिना पोखरेलको आत्मकथा नभएर बिना पोखरेल कृत उपन्यास हुन्थ्यो ।
‘जीवनका अनुभूतिहरू’ साहित्यिक पत्रकार सङ्घद्वारा प्रकाशित बिना पोखरेलको आत्माकथालाई लेखक स्व-नायक रहेको आख्यान (उपन्यास) मान्न सकिन्छ | मञ्जु बिमली कृत ‘अतृप्ति’ उपन्यासमा इन्दिरा अमुक पात्रका रूपमा चित्रण गरिएको भएपनि इन्दिरा के साँच्चै अमुक पात्र नै होलिन् त ? लेखकलाई व्यक्तिगत वा गोप्य रूपमा पात्रको न्वारान गर्ने छुट नहुँदो हो वा पुरोहित राखेर न्वारान गर्न पर्ने र पञ्जिकाधिकारीको कार्यालयमा गएर जन्म दर्ता गर्नु पर्दो हो त के हुन्थ्यो होला ? अनुमान गर्न सकिन्छ, पात्रको परिचय लुकाए आख्यान/उपन्यास हुने र पात्रको परिचय खुलाए आत्मकथा हुने रहेछ !
यस्तै पात्र हुन् बिना पोखरेल जसको न्वारन, जन्म दर्ता, विवाह दर्ता, छोरा छोरी, उच्च शिक्षा, सरकारी जागिर, सेवानिवृत सबका सबको अभिलेख छ । उनै बिना पोखरेलले आफ्नो ७ दशक लामो जीवन यात्रा र ४ दशक लामो वैवाहिक जीवनको उकाली ओरालीको गबाहीकारुपमा आत्मकथा सार्वजनिक गरेकी छन्- जीवनका अनुभूतिहरू । तर यो आत्मकथा आफ्नो र आफू वरिपरिका सबैको प्रशंसाको पुलिन्दा होइन । एक शिक्षित,सम्पन्न र उच्च पदस्थ सरकारी अधिकारीको रूपमा कार्यरत महिलाले घरदेखि समाजमा भोग्नु परेको भुक्तमानको क्रमागत अनुभूति हो यो ।
‘हरेक सफल पुरुषको पछाडि एउटी महिलाको त्याग र बलिदान भएजस्तो सफल महिलाको पछाडि पुरुषको भने प्रेरणा देखिंदैन । अझ उल्टो अपशब्दहरूको प्रयोग भएपनि बिनामा धन्यले हीनताबोध पलाएको देखिंदैन ।’ डा. दुर्गा पोखरेलको शुभकामना सन्देशमा थप यो पनि उल्लेख छ- श्रीमान, सासु, देवर र नन्द आदिको टोकसो बेहोरेर र सहेर आफ्नो सामाजिक,पारिवारिक र व्यावसायिक जीवनमा सफल र सक्षम महिलाको उदाहरण हुन् – बिना पोखरेल ।
श्रीमानलगायतको परिवारको असहयोगी वातावरण र क्यान्सर जस्तो असाध्य रोग जितेकी आध्यात्मिक विश्वास र चिन्तनका गतिविधिहरूमा सक्रिय बिनाको कथन छ- ‘मानव जीवनमा समय सबैभन्दा महत्त्वपूर्ण कुरो समय हो । समयले नै मानिसलाई कहिले सुखी बनाउँछ,कहिले दुःखी । समयले नै बाँच्न सिकायो,समयले नै मलाई जीवनको आनन्द लिन सिकायो ।’
एक ‘लो प्रोफाइल’ महिला र सेवा निवृत्त बैङ्क अफिसरको १२ पेज रङ्गिन तस्बिरसमेत करिब ३ सय पेजको आत्मवृत्तान्त १ वर्ष भित्रै दोस्रो संस्करण (दुवै संस्करण २-२ हजार प्रति) प्रकाशित हुनु नेपाली पुस्तकको बजारमा राम्रो स्थान पाउनु हो । प्रायः प्रकाशित सङ्ख्या नलेखी सार्वजनिक भएका र उल्लेख हुँदा पनि १ हजार आसपासका कृतिहरूको बजारमा यो ४ हजारको सङ्ख्या ठूलो परिणाम हो । व्यक्तिगत जीवनका दुःख सुख र सङ्घर्षका बारेमा प्रकाशित यस कृतिको दोस्रो संस्करणमा ५० पेज जति पाठक प्रतिक्रियाहरू पनि रहेको छ ।
पुस्तक लेख्नुको अन्तर्य र परिणामका बरेमा बिनाको स्पष्टीकरण छ- ‘जुन जञ्जालको जेलमा नेल ठोकिएर बसेकी थिएँ,मलाई त्यसबाट उन्मुक्त हुनुथियो । नाताको जेल,सम्बन्धको जेल,धोकाको जेल,आडम्बरको जेल,एकपछि अर्को जेलमा निसास्सिएर झण्डै इहलोकमा पुर्याइसकेका थिए । …राँची लान मात्र भ्याएका थिएनन् । अरू सबै हथकण्डाहरू अपनाइसकेका थिए । तर,यो पुस्तक बाहिर आइसकेपछि ती सबै जेलहरूबाट मुक्त भएको अनुभव गरेकी छु । अब त देशविदेशका पाठकका हात हातमा पुगेर हावामा कावा खाने भएकी छु । मेरो दुखेको मन स्वास्थ्य भएको छ । मेरो चिरिएको छाती जोडिएको छ । मेरो लडेको सपना उठेको छ ।’ – सुनको पिँजडाकी फलाम ? पेज २ सय ३७
लेखन र प्रकाशनले लेखकमा थपेको यो ऊर्जा तथा त्यो उन्मुक्ति पाठकहरूका लागि प्रेरणाका रूपमा रहनेछन् । शारीरिक वा मानसिक रोगका लागि लेखन र पठनको प्रभाव र परिणाम रोगको उपचारमा पनि सहयोगी हुने उदाहरण हो यो कृति । साहित्यका विविध विधामा कलम चलाउनेहरूका लागि पनि नवीन सिर्जनाका लागि कथा ‘प्लट’को पृष्ठभूमि र सामान्य पाठकहरूका लागि पनि कुनै अमूर्त पात्रको चरित्र रहेको होस् वा यथार्थमा आधारित सामाजिक कथा-उपन्यासका रूपमा पनि पठनीय हुनसक्छ । लेखकलाई सु-स्वास्थ्य र सिर्जनशिलताको शुभकामना ।
0 0 0 0
अग्नि
यो सृष्टिका हरेक वस्तुको निर्माण पञ्चतत्व मिलेर बनेको विश्वास गरिन्छ । सजीव वस्तु (प्राणी) मा भने ‘अग्नि, वायु, जल, आकाश र पृथ्वी’ यी पञ्चतत्व बाहेक आत्मा रहेको हुन्छ । यी पञ्चतत्वहरूमा पनि अग्नि सबैभन्दा शक्तिशाली र त्यतिकै विनासकारी पनि मानिन्छ । हिन्दू धर्मका शुभकार्यहरूमा अग्नि(आगो)लाई अग्निदेवकारुपमा पुजा (हवन) गरिन्छ । ताप,प्रकाश र शक्ति (ऊर्जा) अग्निका विशेष गुण हुन् ।
विज्ञानको मत र धर्महरूका मान्यताहरूमा यसबारे सविस्तार वर्णन पाइएला तर यो सन्दर्भ डा. नवराज लम्साल कृत ‘अग्नि’ महाकाव्यका पानाहरू हातमा राखेर पल्टाउँदै गर्दा मनमा लागेका केही सामान्य जिज्ञासाहरू मात्र हुन् ।
डा. लम्सालको अग्नि महाकाव्यमा जात व्यवस्था, जातीय विभेद र गरिबीको कहाली लाग्दो चित्र छ भनेर अनुमान गर्न सकिन्छ । महाकाव्य नै लेख्दो हो त यो पङ्क्तिकारले भने आगोको सट्टा ”आरान” रोज्ने थियो । तर यो धेरैले हिंडिसकेको बाटोमा अग्नि महाकाव्यका लेखकले खनेको मूलबाटो मौलिक पनि हो ।
यत्ति सम्झ कवि-
फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ?
कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ?
र,यो पनि नबिर्स-
तिम्रो पुर्खाले त्यही आरानको आगो लगेर
खरानीमा छोपेर राखेका हुन्
तिम्रो भान्साको बिउ आगो !
आरन बिटुलो छ भने
तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले
साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ ?
डा लम्सालको ‘अग्नि’ महाकव्यको अन्तिम पेज (कभर) मा राखिएका हरफहरू हुन् यी । आरान, आगो, भान्सा र बिउले त्यतैतिर तान्यो । आखिर के हो त आगोको बिउ ? नेपालको ग्रामीण जीवनमा अहिले पनि आगोको बिउ लेनदेन हुन्छ । दर्शन ढुङ्गा र झुलो चकमकको चलन त भोगेको हो यो पङ्क्तिकारले पनि । सलाई, लाइटर, ग्याँस वा हिटर त अहिले पनि सबैतिर कहाँ पुगेको होला र ?
जिज्ञासा अझै पनि अनुत्तरित नै छ- आखिर के हो त वा के थियो त यो संसारमा आगोको बिउ ? आगो के हो र कसरी बन्छ ? कार्बन डाइअक्साइड, पानी (बाफ), अक्सिजन र नाइट्रोजनको मिश्रण आगोमा हुन्छ भनिन्छ । लाग्छ, आगोको बिउ चैं सूर्य हो ! सूर्य नै आगोको पिण्ड मानिन्छ !
पाताल बासमा रहेका पत्रकार तथा ‘पातालकी प्रेयसी’का लेखक कृष्णराज खनालले डा. लम्साल कृत अग्निको चर्चा गर्दै लेखेका छन् – ‘आरनबाट उठेको वीरताले जोगाएको देशमा त्यही आरन र आरनको अग्निमा रातोदिन खेल्नेहरू आगोका मूल मालिकहरू कसरी अछुत हुन गए ? यो प्रश्न उनले राज्यसँग सोधेका छन् । यो नै काव्यको मूल बीउ हो ।’
लेखक लम्सालको अग्नि निवेदनमा उल्लेख भएअनुसार मकवानपुरे राजा हेमकर्ण सेन (वि.सं. १७९०-१८१६) को निर्देशनमा ठूले कामीको नेतृत्वमा ६ जना कालिगड ले ९ महिना लगाएर बनाइएको एक सय साठी धार्नी फलामको जेठी तरबार र ठूले कामीको बिउ कथामा उभिएर अग्नि लेखिएको हो । काव्यका सैद्धान्तिक मानक वा शास्त्रीय परम्परामा अब्बल भएर नै यसले २०७८ सालको मदन पुरस्कारले विश्वास गर्न सकिन्छ ।
नेपाली साहित्यमा संकटमा पर्दै गएको पद्य साहित्यका लागि डा.लम्सालले कर्ण, धरा र अग्नि ३ महाकाव्य,३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह दिएर गुण लगाएका छन् | डा. लम्सालले सार्वजनिक रूपमा चिन्ता गरेका छन् ‘अहिले समालोचकको खडेरी छ|’ लेखकलाई किन चाहिन्छ समालोचक ? आफूले दिन खोजेको सन्देश पाठकले ग्रहण गर्नु होइन र लेखकको उद्देश्य ? नेपाली समालोचना साहित्यमा श्रवण शर्माको नाम कहाँ छ ? शर्माले पनि त अग्निका बारेमा लेखेका छन् – ‘अग्नि’ले आधुनिक राज्य र समाजको एक कलंक, त्यो समाजले देश निर्माणमा गरेको योगदानको उपेक्षा मात्र नभएर सिंगो समाज लाञ्छित, उपेक्षित छ त्यसलाई उजागर गरेको छ । अनि अमानवीय संस्कृतिले मानवीय स्वत्वलाई कसरी किनारीकृत गर्यो भन्ने कुरालाई काव्यिक शैलीमा बताएको छ । यस काव्यको नायक कतै निरास तर कतै लेनिनको ‘अब के गर्ने’ पुस्तकको अनुयायी जस्तै देखिन्छ ।- ‘हटारु’ र ‘अग्नि’ माथि असाहित्यिक मीमांसा,श्रवण शर्मा/२०७९ चैत ४ गते, अनलाइनखबर ।
समालोचकहरूको खडेरी नै परे पनि परोस् तर पाठकको अपेक्षा-रुची र साहित्यलाई सामाजिक जीवनमा चेतना निर्माणको सन्देश बाहक बनाउनका लागि डा. लम्साल निरन्तर लागिरहुन् । बुक-हिल पब्लिकेशन प्रालिले प्रकाशित गरेको अग्नि, महाकाव्य पाठकहरूका लागि सिफारिससहित यी पङ्क्ति –
संसार प्रश्नहरूको घर हो
र जीवन उत्तरहरूको खोजी हो । – अग्नि,पेज १८२
0 0 0 0
कुनै पनि वस्तुलाई हेर्ने र देख्ने आँखा सबैका एकै हुन् । केही अपवादलाई छोडेर त्यस वस्तुलाई देख्ने पनि सबैले एकै वा समान नै हो । तर वस्तु भित्रको विषयलाई हेर्ने कोण र मूल्याङ्कन भने हरेक व्यक्तिमा फरक हुन्छ | वस्तुलाई हेर्ने विभिन्न तरिकाहरू हुन सक्छन्- पहिलो हेराइ,स-दृश्य वा उज्यालो प्रकाशमा आँखाका सामुन्ने देखिएको वस्तुको आकार-प्रकार,गति आदिका आधारमा बनाइने धारणा वा चिनाउने सनातनी तरिका । दोस्रो त्यस वस्तुभित्र अन्तर्निहित गुणका बारेमा गरिने मूल्याङ्कन वा विश्लेषण गर्ने वैज्ञानिक तरिका ।
झ्याम्ली बाख्राको पाठो, सनातनी होस् वा वैज्ञानिक सबभन्दा पहिले सानो र सुन्दर आफूलाई मन पर्ने रङ्गको बाख्राको पाठो नाच्न थाल्छ आँखामा । तर यहाँ हाम्रो आँखामा ननाचेको बाख्राको पाठोको यो चर्चा हो, प्रोफेसर शिव गौतमको निबन्धसङग्रह ‘झ्याम्ली बाख्राको पाठो’ ।
नेपाली साहित्यका त्यस्ता कमै कृति होलान् जो पाठकको हातमा च्यापिएर अमेरिकाको राजधानी वाशिङ्टन डीसी वरपरका गल्लीहरूमा पुगेको छ । झ्याम्ली बाख्राको पाठो, बोकेर यो पङ्क्तिकार यस क्षेत्रका बस र ट्रेनहरूमा ‘आ ! आज त होस्, एकछिन आँखालाई आराम गराउनु पर्यो भनेर उँगेको वा झोक्राएको मात्र छैन पश्चिम जानुपर्ने रेल समात्न भुलेर दक्षिणको बिसौनीमा पुगेको छ । यस्ता अन्य केही कृतिहरूको सम्बन्धमा पनि अर्को कुनै सन्दर्भमा चर्चा गरौंला ।
झ्याम्ली बाख्राको पाठो, प्रोफेसर गौतमको तीनवटा कविता सङग्रहपछिको पहिलो निबान्धसङ्ग्रह हो । झ्याम्ली बाख्राको पाठो,का सम्बन्धमा लेखकको कुरो के हो त ? प्रोफेसर गौतमले ‘मेरो कुरो’ मा उल्लेख गरेका छन्- वयस्कमा पनि केटाकेटीपन लुकेर बसेको हुन्छ । … म भित्र पनि अझै मेरो केटाकेटीपन अर्थात् ‘इनर चाइल्ड’ लुकेर बसेको रहेछ । त्यसैको परिणाम होला यो पुस्तक ।
अमेरिकाको विश्व प्रसिद्ध हावर्ड विश्वविधालयका भौतिक शास्त्रका प्राध्यापक गौतमका सपनाका रङ्गहरू (वि.सं. २०५६) र मुटुनेरीको सिस्नेरी (वि.सं. २०६०) यी २ कविता सङ्ग्रह पढ्दा लागेको थियो, ‘विद्वानहरू ज्ञान बाँड्न किन कन्जुस्याइँ गर्छन् ? भावनाका कुरा त सबैले गरेकै छन् नि !’ उनको तेस्रो कविता सङ्ग्रह छ- बाटो हेरिरहने बाटाहरू ( वि.सं. २०७४) । सम्भवतः यसै कविता सङ्ग्रहको जुम्ल्याहा प्रकाशन झ्याम्ली बाख्राको पाठो (वि.सं. २०७४) ले त्यो आशङ्का हटाएको छ । यसो त नेपालमा विद्यालयस्तरमा कम्युटर शिक्षा लगायतका नीति निर्माण तहमा हस्तक्षेपपूर्ण पहल र परिणाममा प्रोफेसर गौतमको पनि भूमिका रहेको छ । यस्ता अन्य धेरै विषय र वस्तुहरूका बारेमा उनका वैज्ञानिक दृष्टिहरू तथा सैद्धान्तिक मत रहेको २२ वटा लेखहरूको कोशेली हो – झ्याम्ली बाख्राको पाठो । पाल्सी कुराबाट शुरु यस कोशेलीको बिसौनी हो सपना ।
आगोको खोजी, यसै आलेखको अघिल्ला हरफहरूमा चर्चा गरिएको डाक्टर नवराज लम्सालको अग्नि महाकाव्यको सन्दर्भसँग पनि जोड्न सकिने रहेछ । लम्सालको महाकाव्यमा उल्लेख आगोको बिउको सम्झना यहाँ यसरी गरिएको छ- केटाकेटी हुँदा छिमेकीको घरबाट आगो मागेर ल्याएको अस्तिजस्तो लाग्छ । कहिलेकाहीँ अगेनामा खरानीले पुरेर राखेको आगो निभेको अवस्थामा अनि सलाई नभेट्दा आगो खोज्न छिमेकीतिर लाग्नुको विकल्प थिएन । अग्निका महाकवि लम्सालले चर्चा गरेको यी पङ्क्ति प्रोफेसर गौतमको यो अनुभवले पुष्टि गर्छ –
तिम्रो पुर्खाले त्यही आरानको आगो लगेर
खरानीमा छोपेर राखेका हुन्
तिम्रो भान्साको बिउ आगो !
आगोको खोजीमा लेखकले आगोको उत्पत्तिको खोजी नगर्ने कुरा भएन । सन् १९१० मा लेखिएको फ्रेन्च उपन्यासका आधारमा र सन् १९८१ मा बनाइएको अङ्ग्रेजी ‘सिनेमा क्वेष्ट फर फायर’ लाई पत्याउने हो भने ८० हजार वर्ष पहिले मान्छेका पुर्खाले आगो निकाल्न जानिसकेका थिए। पत्याउनै नपर्ने यो उदाहरण चैं लेखकले कुन रहरले यहाँ राखे भन्न सकिन्न तर लेखकको प्रतिवाद यस्तो पनि छ- ‘१ लाख २५ हजार वर्षजति पहिलेसम्ममा आगोको नियन्त्रण व्यापक भइसकेको थियो । नियन्त्रण भन्नाले उत्पादन नै हो भनेर ठोकुवा गर्न सकिन्न ।’ लेखकले यसमा ठोकुवा गर्न नसकेको के हो यकिन त छैन तर ‘आगोको नियन्त्रण व्यापक भइसकेको थियो’ भन्नुको अर्थ आगो त्योभन्दा पनि पहिले नै उत्पादन र प्रयोग भइसकेको हो र त्यसबेलादेखि चैं आगोलाई नियन्त्रण गर्न सकिने विधिहरू जस्तो यसको सुरक्षा, भण्डारण र नियन्त्रण आदि विधिको विकाश भएको मान्नुपर्छ । आगोको सन्दर्भमा अनेक कथा वा मिथकका चर्चा गर्दै पानीमा नै आगो लुकेको हुने उदाहरण दिँदै लेखक ‘सूर्य र ताराहरू पनि आगोका गोला हुन् |’ भन्ने निष्कर्षमा पुगेका छन् । सूर्य र ताराहरूको अस्तित्व नभएको ठाउँमा ‘आगो’ को अस्तित्व हुन्छ कि हुन्न ? यो प्रश्न प्रोफेसर गौतमसमेतका विज्ञहरूका लागि ।
झ्याम्ली बाख्राको पाठो,मा लेखकको प्रश्न छ- ‘नाम अरूले नै दिनु पर्ने,सम्बन्ध र साइनो अरूले नै दिनु पर्ने,योग्यताको प्रमाण पत्र कलेजले दिनु पर्ने, नागरिकता सरकारले दिनु पर्ने, पद जागिर खाने अड्डाले दिनु पर्ने तर मैले आफूलाई जतिसुकै नै म यो हुँ भने पनि अरूले नमानेपछि म त्यो नहुने रहेछु । म को हुँ मेरो हातमा छैन । जुन कुरा आफ्नो हातमा छैन त्यसको के को चुरीफुरी देखाउनु ?’
उत्तानो ओदान, जीवनको उद्देश्य र लक्ष्य,असुर,जन्म र जात-पुरुषको हात,आठ दुना सत्र भएपछि, रुमालमाथि बसेर अरुण नदी तर्ने कला, झ्याम्ली बाख्राको पाठो, साठी आदि यस भित्रका कोशेली हुन् । शब्दार्थ प्रकाशनको यस कृतिका बारेमा डाक्टर गोविन्दराज भट्टराईको विश्वास यस्तो छ – ‘नेपालीमा यस्ता बौद्धिक निबन्ध आउन छाडेको बेला यसरी डा. गौतमका बौद्धिक वैचारिक विश्लेषणात्मक निबन्धले नेपाली निबन्ध लेखनको एउटा अत्यन्तै ठूलो रिक्त स्थान पुरा गर्नेछन् ।’ लेखकबाट यो विश्वासको बिऊ जोगिने विश्वास छ ।
० ० ० ०
मनोद्वेग
नेपाली साहित्यमा निबन्धको जति चर्चा र पहिचान छ,त्यति चर्चा प्रबन्धको छैन । प्रबन्ध लेखन नै हुन छोडेपछि यसका पाठक हुने वा पाठकहरूलाई पनि यसबारे जानकारी हुने आधार पनि त भएन । नेपाली साहित्यको औपचारिक शिक्षाका पाठ्यपुस्तकहरूमा अध्ययन गर्नका लागि सीमित हुँदै गएको हुनसक्छ प्रबन्ध लेखनको चर्चा र इतिहास । दशकौं पहिले साझा प्रकाशनद्वारा प्रकाशित बदरीनाथ भट्टराईको पच्चीस प्रबन्ध, भीमनिधि तिवारीको पन्ध्र प्रबन्ध आदि नेपाली साहित्यमा प्रबन्ध कृतिहरूका उदाहरण हुन् ।
शैली,शिल्प,सन्देश आदिको हेराइमा निबन्ध र प्रबन्ध उस्तै देखिन पनि सक्छ तर यी दुईको दुरी त्यति धेरै नजिकको पनि छैन । जुनसुकै विषय र वस्तुका बारेमा लेखिने लेखहरू निबन्ध मानिन सक्छन् भने प्रबन्धमा विचार र सन्देशले पनि महत्त्व राख्छ ।
मनोद्वेग, बामा ढुंगानाद्वारा लेखिएको प्रबन्ध सङ्ग्रह हो । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) ले सन् २००२ मा प्रकाशित गरेको यो कृतिको आवरणमा प्रबन्धका साथै ‘मनको बह’ उल्लेख गरिएकै भएपनि यसमा प्रबन्ध साहित्यको पूर्ण मानक भने पालना गरिएको छैन । यध्यपि यो जीवनका विभिन्न अनुभूति मिश्रित पठनीय कृति हो ।
अनुभव,यात्रा,संस्मरण,विचार,प्रश्न र विश्लेषण यसका विशेषता हुन् । लेखकीयमा ढुंगानाको स्वीकारोक्ति पनि छ- ‘मनभित्र रहेका धेरै व्यथा,कथा,माया र दुनियाँ एवम् व्यवहारका भारी केही हदसम्म भएपनि बिसाउन खोजेकी छु । … यसपछि पनि मन भरिंदै आउन थालेपछि फेरि फेरि पनि योभन्दा अझ राम्रो लेख्न सकूँ भनी भगवानसँग प्रार्थना गर्छु ।’ भगवानलाई नै झुठो बनाउने गरी लेखिका ढुंगानाले प्रार्थना गरेको त नहोला तर दुई दशक बितिसक्दा पनि उनको मन भरिएको र त्यो भारी भएर बिसाएको सार्वजनिक जानकारीमा आएको छैन ।
‘अमेरिकामा बसेर पनि… नेपाली भाषामा भावना पोख्ने मान्छे मैले कमै देखेकोछु । यो पुस्तकमा उनका आत्यन्तिक भावहरू छन् र सरलता यसको विशेषता हो । … बामाका यी रचनाहरूमा मैले नैतिकता एउटा प्रबल पक्ष भएको पाएँ । … यति लामो रचना रचेर लेखिका कहिल्यै नथाकेको अनुभव हुन्छ ।’ वरिष्ठ साहित्यकार होमनाथ सुबेदीले मनोद्वेगलाई सरसर्ती हेर्दै प्रोत्साहनका लागि व्यक्त गरेका माथि उल्लेख आफ्ना अभिव्यक्तिका बारेमा लेखिकालाई पुनःस्मरण गराउन यो पङ्क्तिकार अनुरोध गर्दछ ।
लेखिकाको दुई दशक पहिले प्रकाशित ४० वटा कविता संग्रहित कृति ‘प्रणय-प्रसंग’मा हराएका मान्छे शीर्षकको कवितामा उल्लेख छ –
हराएका छन् मान्छे यहाँ
भन्छन् सम्पन्नताको प्रयासमा
आफू स्वयंको मायामा
बिर्सिएका छन् आफ्ना यहाँ |
लेखिका ढुंगानाको स्व-स्वीकारोक्ति पनि त्यही हुनसक्छ | तर मनको भारी मनमा नै बोकेर राख्दा तनलाई पनि त सुख कहाँ हुन्छ र ? कामना गरौं, सिर्जनाको झर्ना नरोकुन् बामाले ।
मायाको गहिराइ देखि खुसी खोज्दै हिँड्ने यो मन सम्मका २१ वटा सिर्जनामा बामाको मनोद्वेगपूर्ण अभिव्यक्तिहरू रहेका छन् । ती अभिव्यक्तिहरूमा आमा, हामी विदेशमा रहेका नेपाली, नेपालका मिठा सम्झना, विदेश भ्रमण, इराकली, बच्चालाई कतिसम्म फुर्काउने ?,नामविनाको मान्छे आदि हुन् ।
0 0 0 0
पातालकी प्रेयसी
कहाँ थियौ फुलेकी, फूलथुङ्गे रानी ?
पुतलीझैँ नाना-रङ्गी, कटक्कै मन खानी
धोको भयो यो ज्यानको, बिसाउने भारी
खोली बग्यो कललल, तिमी रह्यौ पारि ।
हर्क साउदको रचना र सुजन चापागाईंको स्वर र सङ्गीतमा रहेको यो गीतका शब्द र दृश्यले कृष्णराज खनालको ‘पातालकी प्रेयसी’ उपन्यासको स्मरण गरायो । यसो त १६ वर्ष पहिले ( वि.सं. २०६४,सन् २००७ अगष्ट) मा प्रकाशित यो उपन्यास र ६ महिना पहिले मात्र सार्वजनिक भएको यो गीतकाबिच कुनै साइनो नहोला । तर यो पङ्क्तिकारलाई नजाने खै किन यो गीतले यस उपन्यासको पनि अन्तिमतिर पुर्यायो ।
‘हाय … कृष, दिस इज जिना ।
ओ … जिना लङ् टाइम नो सी । हाउ आर यु ।’
अमेरिकामा गुडबाइ गरेर नेपाल फर्केको एक वर्षपछि काठमाण्डौमा आइपुगेकी पूर्व प्रेमिका जिना र कृषका सम्वाद हुन् माथिका पङ्क्ति । कृष अर्थात् कृष्णलाई यसरी पनि चिनौं- यसै उपन्यासका लेखक कृष्णराज खनाल नहुन पनि सक्छन् ।
जिनाले अश्रुमिश्रित स्वरमा भनी ‘कृष ! अब म पनि नेपालमा नै बस्ने ।’ उसका कामुक नेत्रले मेरो आँखामा एकटक हेरिरहेका थिए । – पातालकी प्रेयसीको अन्तिम अंश,पेज १५२
उपन्यासका अन्तिम अंशभन्दा केही पङ्क्ति माथिका यी हरफहरू पनि हेरौं-
एकजना लोग्नेमान्छेसँग ऊ मलाई पर्खिएर बसिरहेकी थिई ।
मलाई भेट्नासाथ उसले मसँग गाला जोडी । अँगालो हाली । मलाई चुम्बन गरी । मानौं, वर्षौंवर्षपछि बिछोडिएको लोग्ने भेट भएको छ । उसका आँखामा आँशुका थोपा छचल्किरहेका थिए । … हामी अँगालोबाट छुट्टियौं ।
… जिनाले त्यो लोग्ने मान्छेसँग परिचय गराउँदै भनी ‘ हि इज माइ हज्वेण्ड । ही इज नेपाली टु …। तिमी मबाट भागेपनि एउटा असल नेपालीसँग विवाह गर्ने वर्षौंदेखिको मेरो धोको पुरा भएको छ । ही इज गुड गाइ …।’
… डा. रमेश हावर्डबाट पीएचडी सकेर नेपाल फर्केको ।
‘अरु त फर्कंदैनन् त ?’
कृष्णजी,अरु फर्कुन् नफर्कुन् त्यो मेरो वास्ताको कुरा भएन । तर देशको सेवा गर्नुपर्छ भनेर म मेरो देश फर्केको हुँ ।
आफ्नी प्रेमिकालाई अर्को केटासँग विवाह गराइदिएर त्यो जोडीलाई नै नेपाल फर्काएका कृष्णराज खनालको यो पहिलो उपन्यास हो । लेखक खनाल र प्रकाशक श्रीमती साबित्री खनालकाअनुसार पनि अमेरिकाको जनजीवनलाई केन्द्र बनाएर लेखिएको ‘संभवत यो पहिलो उपन्यास हो ।’ पहिलो वा दोस्रो जे भएपनि अमेरिकाको जनजीवनलाई केन्द्र बनाएर लेखिएको उपन्यास हो यो |
लेखक खनालको प्राक्थन टिप्पणी छ- ‘अमेरिकी जीवनका बारेमा थुप्रै कविता,कथा,निबन्ध र यात्रा संस्मरण लेखिएका छन् तर मेरो ज्ञानमा यस किसिमको उपन्यास चाहिँ लेखिएको छैन । स्वप्नभूमि अम्रिका र अम्रिकानेहरू हामीले सोचेजस्तै छैनन् भन्ने प्रश्नको उतर खोज्ने प्रयास गरेको छु – पातालकी प्रेयसीका माध्यमबाट ।’
पातालबासमा रहेका लेखक कृष्णराज खनाललाई पाठक र प्रकाशकले किन प्रश्न गर्दैनन् – अमेरिकाको जनजीवनलाई केन्द्र बनाएर लेख्न सकिने यही ‘पातालकी प्रेयसी’ मात्र हो र ? किन साहित्य सिर्जनाको मुहान बन्द गरेर बसेका छन् पातालबासमा ‘पातालकी प्रेयसी’का लेखक कृष्णराज खनाल ? खनालको मौनताको प्रकटीकरण पाठकहरूका लागि छिट्टै नै ‘सरप्राइज’ हुनसकोस् |
नोट : यस शृङ्खलाको यो अन्तिम भाग हो | अन्य सन्दर्भहरूमा पनि विज्ञ पाठकहरूसँग भेट हुने विश्वास छ । – लेखक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।