अक्षरको आकाश  

पुस्तकको संसारमा नपसेसम्म मानिस न आफू सभ्य हुनसक्छ न सुन्दर । पुस्तकले नै हो मानवबुद्धिलाई यहाँसम्म बिनाअबरोध घिसारेर ल्याएको । … मलाई मेरी आमाले यस्तो नशामा डुबाएर जानुभयो, जसले गर्दा म यसबाट बाहिर आउन सकेको छैन ।… बाँचुन्जेल त्यही खाने हो जुन अन्नप्राशन गरेको दिनदेखि खान थालेको हो । पुस्तक मात्र एउटा यस्तो खाना हो जो हरेक पल्ट फरक स्वाद र  परिकारले युक्त हुन्छ ।  – अक्षरमा उभिएकी आमा, पेज ५

अक्षरको आकाश

अक्षरको आकाश

आजभन्दा ३०-३२ बर्ष पहिले ‘बालक हराएको सूचना’ निबन्ध सङ्ग्रह प्रकाशित भएयताको कृष्ण धरावासीको यो ३० औं कृति हो र विधागत रुपमा ५ औं निबन्ध सङ्ग्रह हो – अक्षरको आकाश । श्रृङ्खलाबध्द लेखन परम्परा स्थापित गर्दै समकालिन नेपाली साहित्यमा मौलिक पहिचान,व्यावशायिक लेखन र पूर्णकालीन साहित्यकार हुन्- कृष्ण धरावासी । यसमा आम पाठकका लागि वरिष्ठ साहित्यकार थपेर यो पङ्कतिकारले ४० को दशकबाट लेखक-साहित्यकारकारुपमा ‘फलो’ गरेको अग्रज दाइ ।

कृष्ण धरावासी कृत कुनै पनि कृति पढ्ने पाठकले ती कृतिहरूमा सके आँफैलाई भेट्टाउँछन् नसके परिवार वा समाजको कुनै व्यक्ति धरावासीसङ्ग खेलिरहेका हुन्छन् । अक्षरको आकाशको पहिलो लेखमा धरावासीले ‘अक्षरमा उभिएकी आमा’को किताबप्रतिको मोह र त्यसले आफूमा पारेको प्रभावको बारेमा चर्चा गरेका छन् ।

अक्षरको आकाश,मा धरवासीका कृतिहरूमा विनाप्रतिवाद लेखकको खेलौना वा पुतलीजस्तो बनेर नाचेका पात्रहरू र पाठकहरू पनि वास्तविक जिवनमा विभिन्नरुपमा ठोक्किन आइपुगेका छन् । कतिपय पात्रहरू धरवासीसङ्ग नै आमने  सामने भएर प्रश्न गर्न थालेका मात्र होइन, कसैले मायाले लातीले हिर्काएको र ढुङ्गाले टाउकोमा बजार्न खोजेका,खुशीले फूलमाला लगाइदिएका वा प्रेरणाले विदेशमा गएर उच्च शिक्षा लिने अवसर पनि त्यागेको लगायतका सन्दर्भहरूमा अक्षरको आकाशमा २५ वटा ताराहरू तैरिएका छन् ।

विधागतरुपमा निबन्धसङ्ग्रह उल्लेख यो कृतिलाई संस्मरण भनेकै भए राम्रो हुन्थ्यो कि ? तर लेखकका लीला अनेक हुनपनि त सक्छन् । नेपाली साहित्यमा लीला लेखनका छहारी बनेका धरावासीका केही कृतिहरूमा भने तेजराज खतिवडाको ‘मयवाद’ मिसिएको अनुमान गर्न सकिन्छ । खतिवडा अर्थात् तेराख मयवादका प्रस्तावक वा प्रवक्ता थिए । एक अर्का विधाका गुण मिश्रित रचनाहरू मय सिध्दान्त वा मयवाद मान्नुपर्छ भन्ने तेराख र लीला लेखनका अग्रज धरावासीकाबीच निकट सम्बन्ध हुनु अनौठो पनि छैन, झापा जिल्ला नै दुवैको कर्मथलो हो ।

एकजना साथीलाई सोधें, धरावासी दाइको अक्षरको आकाश पढ्नुभयो ? संयोग यस्तो परेछ, ती साथी त  धरावासी दाइका आफन्ती नै पो रहेछन् । उनले हाँस्दै भने मैले ‘राधा’ उपन्यास पढेपछि उहाँलाई भनिसकेको छु, ‘राम्रो लेख्न सकिन्न भने लेख्नैका लागि मात्र नलेख्नुहोला।’ यस्तो लाग्यो,लेखकले पाठकको अपेक्षाको पनि ख्याल गर्नुपर्छ । धरावासीले यसै सन्दर्भमा पनि लेखेका छन्- ‘वास्तवमा हामीले नै सबै विधामा लेख्नै पर्छ भन्ने  छैन रैछ । कुनै विधामा नलेखे पनि पुग्ने सामग्री अचेल बजारभरि छन्,फेरी पनि हामी किन आफूलाई जबर्जस्ति घिसारी रहेछौं होला । … पढ्नेलाई पनि दिक्क,छाप्नेलाई पनि दिक्क ।’ – अक्षरको आकाश,लेखकको कुरा

नपढेको कृतिका कुरा धेरै गर्न पनि भएन । त्यसमा पनि ३० औं कृतिका लेखकको बारेमा पाठकहरूलाई थाहा नहुने बाँकि कुनै कुरा पनि छैन होला । अक्षरमा उभिएकी आमाको सन्दर्भमा लेखकको अनुभव छ, हिजो पढिएका किताबको स्वाद आज किन छैन ? ज्ञानको ‘अहम्’ ले थिचिएर स्वतन्त्र चिन्तनको बाटोमै चक्का जाम हुने धरावासीको ठहर छ । हाम्रो सनातन संस्कृतिमा एउटा भनाइ छ – ‘विद्या विवादाय, धनम् मदाय, शक्ति परेसाम् परपीडनाय’ अर्थात विद्या विवादका लागि, धन घमण्डका लागि र शक्ति अरुलाई दुःख दिन प्रयेाग नगरियेास् ।’ धरावासी दाइ, ज्ञानको ‘अहम्’ले थिचेको बोध हुनु नै ‘अहम्’को अन्त्य पनि हो । सबै पाठकको अपेक्षा र रुचि एउटा कृतिमा अटाउन सकिंदैन नि होइन र ?

धरवासी दाइ,निष्कर्ष तपाईंकै सही छ- ‘के लेख्ने र के पढ्ने भन्ने प्रश्नहरूकै बीच आइरहेका नवकृतिहरू पाठक  तथा प्रकाशकहरूलाई चुनौती छन् । लेखकहरूले आफ्नो कलमलाई जुन प्रकारले उन्मुक्त गरिरहेका छन्,सामाज,सरकार र राजानीतिक दलहरूलाई ठूलो प्रश्न छन् प्रत्येक कृतिहरू ।’

००००

छोरीले जन्माएका आमाहरू 

‘हर स्टोरी’ लेखनलाई उत्प्रेरित गर्ने र समृध्द बनाउने उदेश्यले अक्षर क्रियसनले प्रकाशित गरेको १२ जना नेपाली आमाहरूको कथा हो – छोरीले जन्माएका आमाहरू । कथाका पात्रहरू पनि वास्तविक आमा नै हुन् भने लेखकहरू पनि वास्तविक छोरीहरू नै हुन् । छोरीहरूले आफ्नी आमाका बारेमा कथा लेख्ने योजनाको संयोजन र परिकल्पनाकार हुन् – लेखक तथा पत्रकार मञ्जु थापा ।

छोरीले जन्माएका आमाहरू 

छोरीले जन्माएका आमाहरू

कुनै पनि मानिसको जिवनको केन्द्रमा उसैको नायकी हुन्छ । तर हामीलाई लाग्छ,कथा वा चलचित्रहरूमा मात्र होइन, सामाजिक जिवनमा पनि नायकी वा नायक त सर्वसाधरणको कसरी हुन्छ ?! छोरीले जन्माएका आमाका कथाहरू,तिनै आमाहरूको नायकी केन्द्रित सामाजिक जीवनको यथार्थ हो । यो सम्बन्धित आमाहरूको नायकीको केन्द्रमा लेखिएको यथार्थ कथा हो  । यिनै छोरीहरूले आफ्ना ‘बा’हरूको कथा लेख्दा यिनै आफ्ना ‘आमा’हरू साहयक वा सहयोगी पात्र मात्र हुनसक्थे भने आमाहरूको कथामा तीनै बाहरू साहयक वा सहयोगी पात्रहरू मात्र हुन् ।

हामी आमालाई ‘मातृ देवो भव’ पनि भन्छौं पुज्दछौं … तर तिनको अधिकारको र स्वास्थ्यको बारेमा संगठित भएर आवाज किन उठाउँदैनौं | प्रकाशकको तर्फबाट अर्चना थापा (पिएचडी) द्वारा छोराहरूका लागि (सामाजिक मान्यता वा व्यावहारप्रति) गरिएको यस प्रश्नमा छोराहरुले ख्याल गर्नु पर्ने कुरा छ- ‘संगठित भएर आवाज उठाएको देखिंदैन |’ आमाहरूकै कथा किन ? परिकल्पना र संयोजनका तर्फबाट  मञ्जु थापाको भूमिकामा उल्लेख छ- आमाहरूप्रति सम्मान व्यक्त गर्न तथा आमाहरूको स्मृतिलाई दिगो राख्न, योगदानलाई सार्वजनिक गर्न,सम्पूर्ण व्यक्तित्व चिन्न,बाँचेको समाज र समयलाई चिन्न,विचार र कर्ममार्फत् गरेको प्रेरणालाई पाठकहरूसँग बाँड्ने लक्ष्यको परिणाम हो यो ।

छोरीले जन्माएका आमाहरु शान्तिदेवी गुरौ,राधा कँडेल(रमा मिश्र),राधा पौडेल,सरिता तामाङ,जया घिमिरे,मनमाया बस्नेत,दुर्गा पोखरेल,लक्ष्मीदेवी राई,ईश्वारादेवी थापा, पंमकुमारी बस्नेत,निर्मला आचार्य र याममाया विश्वकर्मा हुन् | आमा जन्माउने छोरीहरू हुन् क्रमशः इन्द्र पुरौ,उमा शर्मा,कमला न्यौपाने,कल्पना तामाङ,डा. कविता घिमिरे,जानु ओझा,तनुजा पोखरेल,निर्मला राई,मञ्जु थापा,मिरा बस्नेत,डा. मोनिका आचार्य र सञ्जीता बराइली । पत्रकार तथा लेखक जयदेव गौतमको सम्पादनको ४ सय ४४ पेजको यो सङ्कलन ‘आमाहरूले गर्दै आएको गोचर,अगोचर सङ्घर्ष,श्रम र योगदान देखाउने आँखिझ्याल हुन् ।’

००००

लीला धारणा र कथाहरू 

नेपाली साहित्यका विभिन्न वाद वा सिध्दान्तहरूका आ-आफ्नै प्रकारका मौलिकताहरू रहेका छन् । ती कतिपय नेपालीपनको विशिष्टतासङ्ग पनि जोडिएका छन्  भने अन्य केही वाह्य प्रभाव वा दर्शनहरूका नक्कल वा परिष्कृतरूपहरूसङ्ग पनि सम्बन्धित हुनसक्छन् । तिनको रौं चिरा विश्लेषण यसका विज्ञहरूले गरिरहनु भएकै छ ।  ती तमाम साहित्यिक सिध्दान्तको सन्दर्भ होइन यो । प्रकारान्तरले यसका अगुवा जोडिएका नाताले तेस्रो आयामको सन्दर्भ जोडिए पनि यो चर्चा भने लिला लेखनसङ्ग जोडिएको ‘लीला धारणा र कथाहरू’ को यो । यस कृतिका लेखक हुन् – रत्नमणि नेपाल ।

लीला धारणा र कथाहरू 

लीला धारणा र कथाहरू

जिम्मेवारी बाँड फाँडले लीलालेखन आन्दोलन,अभियान वा सिध्दान्त कति सङ्गठित र व्यवस्थित छ भनेर यथार्थ खुल्दै जाला तर ‘लीला धारणा र कथाहरू’का लेखक रत्नमणि नेपाललाई भने यसका प्रवक्ताकरुपमा बुझे हुन्छ जस्तो लाग्छ । यस्तो बुझ्नु वा लाग्नु हुन्न भने के लाग्नु पर्ने हो, सम्बन्धित वा सरोकारवालाहरूले मुख खोले हुन्छ | सात दशक आसपास आइपुगेको तेस्रो आयाम र आधा शताब्दीको उकालो चढ्दै गरेको लीलालेखनको पृष्ठभूमिमा सन् १९६० अर्थात सन् १९६१ को इश्वर बल्लभ, इन्द्रबहादुर राई र  बैरागी काइलाको नेतृत्व (सम्पादन) मा प्रकाशित ‘फूल पात पत्कर’ टिपेर हेर्नु पर्छ । त्यस्तै सन् १९६३ मा आयामिक मासिक प्रकाशनद्वारा ‘तेस्रो आयाय’ मासिक पत्रिकालाई पनि पढ्नु पर्छ । मासिक भनिएका यी दुवै पत्रिका २ र ५ अङ्क मात्र प्रकाशित भएका थिए ।

त्यही आयामेली अभियानको करिब २० बर्षपछि  इन्द्रबहादुर राईले विसं २०३४  पुसमा काठमाण्डौबाट प्रकाशित   ‘रुपरेखा’  पत्रिकामा ‘भ्रान्तिहरू र लिलालेखनमात्र’ (लीला धारणा र कथाहरू,पेज ३१) शिर्षकको लेखबाट नेपाली साहित्यमा लीलालेखन अवधाराणाको प्रस्ताव सार्वजनकिक गरेका थिए । फूल पात र पत्करको अर्को  सन्दर्भ पनि जोड्नु पर्छ- बागी लेखककारुपमा परिचित खगेन्द्र संग्रौलाले पनि सन् २००५ सेप्टेम्बरमा प्रकाशित ‍आफ्नो लेखहरूको सङ्कलनमा यही ‘फूल पात र पत्कर’ टिपेर माइला राजा ज्ञानेन्द्र वीरविक्रम शाहको मकरतन्त्रका बिरुध्द झटारो हानेका थिए | यो सङ्कलन नेपाली भाषाको पहिलो अनलाइन खबर पत्रिका नेपाली पोष्ट डटकमले प्रकाशित गरेको थियो |

मेचीपारिबाट शुरू भएपनि नेपालीपनको मौलिकता बोकेका यी दुवै नेपाली साहित्यिक अभियानलाई नेपाली भूमि र विश्वका नेपाली भाषी समुदायमा पुर्याउने अभियन्ता हुन् – कृष्ण धरावासी र रत्नमणि नेपाल । तेस्रो आयाम र लीलालेखनको सन्दर्भमा अग्रज साहित्यकार धरावासीको के भूमिका भन्ने प्रश्नका लागि हेर्नु पर्ने अर्को कृति हो- लीलालेखन,कृष्ण धरावासी/२०५३, प्रकाशक दुबसु छेत्री ।

‘हामी यथार्थ बुझ्न सक्तारहेनछौं । केवल वस्तुबारेका धारणाहरू मात्र बुझ्दारहेछौं ।.… वास्तविकता रहस्यमय छ । बुझाइहरू आत्मपरक छन् । … यथार्थ अगोचर छ । … बुझाइहरू स्वार्थपरक छन् । … यथार्थ के हो ? अवर्णनीय छ । … यथार्थ अव्याख्येय छ । … यथार्थ अवर्णनिय छ । … यथार्थ अगोचरणीय छ ।’ लीला धारणा र कथाहरू,को भुमिकाको ४ पेज भित्रका यी समग्र सैध्दान्तिक व्याख्याको बारेमा बुझ्न लेखकले सिंतैमा र त्यो पनि अनपेक्षितरुपमा दिएको किताब हातमा समातेर लेककसँग ‘सेल्फी फोटो’  खिचेका भरमा बुझ्न सक्ने विषय होइनन् ।

यस सङ्कलनका कथाको सन्दर्भ झनै जटिल र रहस्यमय छन् । कथाका कतिपय पात्रहरूको लीला र  लेखकसँगको सम्बन्धका बारेमा लेखकलाई पनि सोध्न बाँकि छ । जीवनका स-साना भोगाइ,अनुभुति,प्रेम र घृणाका त्रिकोणात्मक सम्बन्ध र रहस्यहरूले आज कुन नियती भोग्दैछन् होला ? त्यसले व्यक्ति,समाज र लेखकमा कस्तो प्रभाव र परिणमा छोड्यो होला ? ‘सोध्न बाँकि छ’, यो कथाको अन्त्यमा लेखिएको छ- ‘कृष्णसँग त्यो बजारको दिन चोक नजिकको होटेलमा पस्ने राम्री केटीको नाम सरला लामिछाने हो कि होइन? त्यो कुरा नारायण अधिकारीले जान्दछन् । अधिकारी लेखनाथ चोकको स्टार कम्युटर इन्स्टिच्युटका मालिक हुन् । त्यो केटीको घर उनकै गाउँमा पर्छ ।’

लेखकलाई सोध्न मन लागेको छ- डेढ दशक पहिले पाताल प्रदेशमा भासिएका लेखनाथ चोकको त्यही स्टार कम्युटर इन्स्टिच्युटका मालिक अर्थात् नारायण अधिकारी ‍अहिले कहाँ छन् भनेर त्यो केटीलाई थाहा छ कि छैन ? केही पहिले तपाईं(रत्नमणि नेपाल)ले पाताल परदेशमा भेट्दा कृष्ण धरावासीको ‘अक्षरको आकाश’ पढेर अमेरिकन अफ्रिकन केटीलाई सुनाइरहेका नारायण अधिकारी ‍आज भोलि अप्सराहरूको कथा लेख्न व्यस्त छन् भनेर सुनाइदिनु है सरला लामिछानेलाई । जिवन र कृष्णहरूका कुराको घनचक्कर बुझेको भए पो !

अर्को अनुरोध पनि छ लेखक नेपालसँग- देशको खोजिमा रहेको भुटानी भाइलाई प्रकाश दुतराजको ‘रिमै’ गीत  सुनाइदिनु होला । दुतराज नेपाली सामाजिक जिवनका दुःखहरूलाई मसिनोसँग स्वर र दृश्यमा उतारिरहेका छन् | रिमै गीतका केही पङ्क्ति यी हुन् –

नलाऊ सीमा, नलाऊ घेरो,

जता जान्छु त्यही देश मेरो ।

…… …… ……  ……

दुःख बगाई लैजा भेरी,

किन बग्छस् हेरी हेरी ।’

भूमिकासमेत २१ वटा शिर्षकमा सैध्दान्तिक चर्चा र  ९ वटा कथाहरू १ सयभन्दा कम पेजभित्र समेटिएको  ‘लीला धारणा र कथाहरू’ पाठकहरूका लागि खँदिलो कोशेलीको प्रमाण हो ।

००००

यथार्थमा अमेरिका 

नेपाली जनबोली यस्तो छ- ‘वनारसका लड्डु खाएपनि पछुतो,नखाएपनि पछुतो ।’ यसबारे स-प्रसङ्ग व्याख्या गरेर कुनै परिक्षा पास गर्नु नपरेकोले यो लड्डुको स्वाद कस्तो होला थाहा छैन । तर अमेरिका जो विश्वका सबै देशका धेरैजसो मानिसहरुका लागि आकर्षणको केन्द्रका रुपमा रहेको छ, यस्तो लाग्छ- यो त्यही वनारसको लड्डु नै त होइन ? ‘ आए पनि पछुतो,नआए पनि पछुतो !’  यथार्थमा अमेरिका भाग – २ मा मन्जु (हाडा) निरौलाका कृत कृतिको अभिव्यक्तिहरूको सन्देश यस्तै केही छ ।

यथार्थमा अमेरिका 

यथार्थमा अमेरिका

यथार्थमा अमेरिका भाग – १ देखेकै छैन । तर यो सन्दर्भ हो, यथार्थमा अमेरिका भाग – २ को । मन्जु हाडा निरौला, कृत यो कृति अमेरिकी समाजका बारेमा लेखिएको १९ वटा निबन्धहरूको सङ्ग्रह हो । ग्रेटर वाशिंगटन डीसी मेट्रो क्षेत्रमा नेपाली साहित्यिक गतिविधीहरुमा सक्रिय मन्जु निरौला विशेषत: कविता लेखककै रुपमा स्थापित लेखक हुन् । तर कृति प्रकाशन र विषय छनौटमा कवितामा भन्दा निबन्धमा नै उनको दखल यथार्थमा भाग- २ ले पुष्टि गर्दछ । सन् २०१० मा प्रकाशित निरौलाको ‘प्रवासका सुस्केराहरू’ कविता सङ्ग्रह पढेका पाठकहरूलाई सोही साल प्रकाशित यथार्थमा अमेरिका भाग – १ निबन्ध सङ्ग्रहको बारेमा पर्याप्त जानकारी नभएको पो हो कि ? यो पङ्कतिकारले पनि सन् २०१० मा प्रकाशित पहिलो भाग अहहिलेसम्म हात नपारेको भएपनि केही महिना पहिले सन् २०१४ को दोस्रो भाग प्राप्त गरेपछि मात्र पहिलो भागको जानकारी पाएको हो ।

अमेरिकाबासी हामी नेपाली  लेखकहरु अधिकांशले जे लेखे पनि नेपालकै बारेमा लेख्ने हौँ । नेपाल र नेपाली समाजाकै रोना-धोना हो । कृष्ण धरावासीले केही पहिले नेपालीहरूको एक साहित्यिक भेला (अनेसास,बोष्टन) मा चर्चा गरेका थिए- दशकौं पहिले अमेरिका हिंडेका नेपालीहरूले अहिलेसम्म अमेरिकी भूमि टेकिसकेकै छैनन् । कोही एयरपोर्टतिर नै अलमलिएका छन् भने कोही आकाशमै उडिरहेका छन् । खै हामीले अमेरिकी जीवन र समाजको बारेमा बुझेको र लेखेको ? आज जहाँ उभिएका छौं,त्यसको बारेमा कुनै सोध खोज वा रुची नै नराख्ने अनि  उही नेपाली समाज,राजनीति,आग्रह र अनुमानमा हामीले बर्षौं पहिले छोडेको हजारौं माइल टाढाको भूगोलको बारेमा हामीले कसरी थाहा पाएर यथार्थ बुझ्न र लेख्न सक्छौं ?

यही प्रश्न केही पहिले छोरी सुलेखाले पनि गरेकी थिइन् | ‘तपाईंहरुले बर्षौं पहिले छोडेको हजारौं माइल परको समाज अहिले बदलिसकेको छ | तपाईंहरू भने आफूले छोडेको समयकै कल्पना गरिरहनु भएको छ |’ तर हामी अहिलेसम्म त्यही लेखेर लेखक कवि बनेका छौं । धरावासीको यस प्रश्नको उतर अनुमान गर्न सकिन्छ, यथार्थमा अमेरिका भाग-२ ले दिनेछ । यसमा रहेका १९ वटा निबन्धहरू नेपाल वा  अमेरिकाबासी नेपालीहरूसँग मात्र नभएर समग्र अमेरिकी जीवन र समाजसँग सम्बन्धित छन् ।

विशेषत अमेरिकी जेष्ठ नागरिकका विषयमा चर्चा गरिएको यस कृतिमा ‘अमेरिकाली हजुआमा- म’, ‘अमेरिकामा पुगेका जेष्ठ नागरिकहरू’ र ‘बुढेसकालको सङ्घार’ बाहेकका अन्य निबन्धहरू नेपाली वा नेपाली समाजसँग मात्र सम्बन्धित छैनन् ।

अमेरिकी समाज र अमेरिकी नेपाली जीवनका अथाह आरोह अबरोहका कथा व्यथा रहेको यस कृतिमा आफ्नै नातिनीले ‘तिमीहरू किन हाम्रो घरमा बसिरहेका छौ ? तिमीहरूको आफ्नै घरमा बस्नु पर्दैन ? मेरो कुनै पनि साथीहरूको हजुरबा हजुरआमा त उनीहरूसँग बस्दैनन् ।’ भनेर गरेको प्रश्न नेपाली सामाजिक मान्यताका लागि जति अनपेक्षित छ, अमेरिकी समाजमा हुर्कंदै गरेका नेपाली बालबालिकाहरूका लागि स्वभाविक हुँदै जानथालेको छ ।

एटिक टावरका जेष्ठ नगारिकहरू,एलिन ग्रीनः मेरी अभिन्न मित्र,अमेरिकी जेष्ठ नागरिकबाट लिइएको शिक्षा,जेष्ठ नागरिकका साथीः कुकुर र बिराला,जुवाको लत,दुष्ट बूढी,विरालीकी साथी,सेक्सी बुढोः ग्रिन टी आदी शिर्षक यथार्थमा अमेरिकाका केही कोशेलीहरू हुन् । अमेरिकाको बसाइले ३ दशक नाघ्दै गर्दा यहाँको बुढ्यौली जिवन एक्लो र निरश वा पट्यार लाग्दो पो हुने हो कि भन्ने त्रास बढिरहेकै बेला अमेरिकी सरकारको जेष्ठ नागरिकहरू लागि गरेको व्यवस्थाले गर्दा बुढ्यौलीको अमेरिका बसाइ पनि सन्तोषजनक नै रहेको लेखक निरौलाको निष्कर्ष छ ।

कुनैपनि संस्मरण पढ्दा पाठक पनि लेखकसँगसँगै उक्त स्थान,घटनाहरूमा डुब्दै जान सक्यो भने मात्र त्यो संस्मरणले सफलता प्रप्त गर्दछ । … सङ्ग्रहमा प्रस्तुत घटनाहरू मेरै आँखा अगाडि भएको जस्तो लाग्यो । यस संस्मरणात्मक निबन्ध सङ्ग्रहको सम्पादनमा भूमिका खेलेका रमेश दाहालले यथार्थमा अमेरिका पढेपछिको अनुभूतिका सन्दर्भमा माथिका पङ्क्ति उल्लेख गरेका छन् ।

दशक नाघिसकेको पहिलो भाग र दशक छुन लागेको दोस्रो भागको एकिकृत सङ्कलन प्रकाशन गर्नसके अझै पनि पाठकहरूका लागि पठनीय सामाग्री हुने देखिन्छ । करिब १ सय २० पेजको दोस्रो भाग रहेको छ भने पहिलो पनि सोही आासपासमा हुने अनुमान गर्दा दुई अढाई सय पेजको एकिकृत सङ्कलन धेरै ठूलो वा अस्वभाविक नलाग्न सक्छ । यो त भयो नमागेको सल्लाह,  यो सल्लाह लेखक र प्रकाशककै जिम्मामा छोडौं । आशा गरौं,लेखकबाट अझै नौला कृतिहरू आउने छन् । प्रश्न त यो हो, यस्ता शुभ कार्यमा लेखक निरौलाको अलमल किन ?

००००

निम्तो

यस धर्तिमा म एउटा दियो जलाइदिन्छु

जस्ले सारा अन्धकारलाई नष्ट पारिदिन्छ,

अनि मात्र म संतुष्ट हुन्छु,म संतुष्ट हुन्छु |

– सहदेव कोइराला, अनि मात्र म संतुष्ट हुन्छु, पेज १६

निम्तो

निम्तो

निम्तो,मा गध कविता अर्थात् मुक्तक,गजल र गीतका शैलीमा सामाजिक व्यँग्य,माया-प्रेम,मातृभूमिको सम्झना लगायतका विषयहरूलाई सार्वजनिक गरेका छन्- सहदेव कोइरालाले | गीत,भजन,नाटक,बालगीतका अतिरिक्त नाटक निर्देशन लगायतका सिर्जनामा कलम चलाउँदै आएका सहदेव कोइरालाको पहिलो कविता सङ्ग्रह हो निम्तो |

निम्तोका लेखक कोइराला नेपाल सरकारको पूर्व उप-सचिवका साथै नयाँ सामान्य ज्ञान सङ्ग्रह, २०५० का लेखक तथा सम्पादक पनि हुन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ठले शुभकामाना सन्देशमा उल्लेख गरेका छन् – ‘मर्मस्पर्शी भाव बोकेका कविताहरू समेटिएको यस कृतिले नेपाली साहित्यमा माहत्वपूर्ण योगदान पुर्याउनेछ ।’ कवि कोइरालाले वि.सं. २०३६ देखि २०७६ को बिचमा लेखिएका १ सय ४४ वटा कविताहरूको यस सङ्ग्रहलाई आफ्नो कविता लेखन क्रमका ४० वर्षको अन्तरालका अनुभव र अनुभूतिलाई जोड्ने साँघुकारुपमा लिएको उल्लेख गरेका छन् ।

कोइरालाका कविता सन्देश र विषय छनौटमा जति सचेत देखिन्छन् शिल्प र शैलीको कसीमा भने अपेक्षित पाइन नपुगेको पो कि जस्ता पनि छन् । बासुदेव कोइराला मुनाल फाउण्डेसन,काठमाण्डौको यो प्रकाशनमा परेको निम्तो यस्तो छ-

भो भो अहिले निम्तो नदेऊ

म सपनीमा आउँदिन ।

बाटो बिराउँछु फर्किने बेला

ठाउँ ठेगाना नै पत्तो पाउँदिन ।

भो भो अहिले निम्तो नदेऊ ।

– निम्तो,पेज १९

निम्तो अस्विकार गरिएको निम्तो,का कविताहरूमा बिम्बहरूमा भन्दा पनि व्याख्या र निस्कर्षमा कविको अलमल देखिन्छ । कविताको खेती,यो शिर्षक कविताको पहिलो लाइनको सुर्तीको सन्दर्भ,दोस्रो लाइनको विशुध्द शब्द र तेस्रो लाइनको गध वा छन्दविहिन शब्दले पनि कविताको शिर्षक र सन्देशलाई सहयोग गर्दैनन् । यस कविताको एक अंश यस्तो छ-

हिजो आज स्वास्थ्यलाई हानिकारक सुर्तीको होइन

विशुध्द अर्गानिक कविताको खेति गर्दैछु !

गध,पध वा छन्दविहिन

छोटो,लामो,मझौला

हजुरलाई कुन साइज र प्रकारको चाहिन्छ

अनलाइन अर्डर गर्नुहोला

नेगोसिएसनमा मूल्य कतिसम्म हाल्न सकिन्छ

सिपिङ्ग फ्री छ

चौबिस घण्टामा डेलिभरि पाइन्छ ।

– कविताको खेती,पेज ६८

कवितासँगको आफ्नो सम्बन्ध र प्रवाहका बारेमा कविले जसरी प्रकाश पार्न खोजेका छन्,त्यसले कवि भावना र कवि हृदयको पुष्टि गर्दछ । तर नेपाली भाषाका सम्बन्धमा कविको वेवास्ता हो वा जनबोली-जनजिब्रोका लागि प्रश्न गर्न सकिन्छ । पेज ५० को ‘खर्च बजेट’ शिर्षक कविताको अन्तिमतिर परेको धन्ने र पेज १४१ को ‘अन्तिम छिटाहरू’ शिर्षकको कविताको अन्तिमतिर (पेज १४२) मा परेको गारो शब्दको प्रयोग स्वादिष्ट भोजनमा मिसाएको मसला हुन् कि दाँतमा लागेका ढुङ्गा ? गाह्रो र धन्यवादलाई जनजिब्रोमा धन्ने र गारो भनिन्छ वा सुनिन्छ भनेर मानक मर्यादा खण्डित गर्ने कि नगर्ने प्रश्नका बारेमा कविका आगामी ‘निम्ता’हरूमा यकिन होला ।

सुन्दा झस्किनु होला

बुझ्दा गमिनु होला

म र कविताको सम्बन्ध

धेरै पुरानो छ !

थाहा नहुनेले

थाहा पाइ राख्नु होला !

सलल बगेको छ हाम्रो नाता

जस्तो कुनै झर्ना अनि खोला

सुन्दा झस्किनु होला |

– सहदेव कोइराला, म र कविता, पेज ७७

००००

चिन्तन परिधिभित्र 

कथा सङ्ग्रह ‘ चिन्तन परिधिभित्र’ डा. प्रेमप्रसाद पौडेलको ६ वटा कृतिहरूमध्ये एक हो । उनका गधकविता,खण्डकाव्य,कथासङग्रग,छन्दोबध्द कविता,गीतिकविता सङ्कलनकारुपमा प्रकाशित भइसकेका छन् | सरकारी तथा राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी  संघ संस्थाहरूमा आधा शताब्दि लामो कार्य अनुभवपछि पौडेल  विगत ७ वर्ष यतादेखि अमेरिका प्रवासमा छन् ।  पौडेलले वि.सं. २०२६ देखि २०७८ सालभित्र लेखेर राखेका अनुभुतिहरू डायरीमा सडेर जानबाट जोगाएको चर्चा गर्दै लेखकिय मन्तव्यमा उल्लेख गरेका छन्, ‘सामाजिक परिस्थितिको प्रभावमा लेखिएका हुन् कथाहरू ।’ त्यसरी सङ्कलित २९ कथाहरूमा २२ वटा भने २०२६-२०५३ सालको बिचमा लेखिएका हुन् ।

चिन्तन परिधिभित्र 

चिन्तन परिधिभित्र

सपनामा अमेरिका आएको नेपाली युवाको नेपालको सपना हो, पहिलो कथा- चिन्तन परिधिभित्र । कथा त कथा नै हो यध्यपि यसमा लेखकले पात्रको आत्मालाप वा मनोभावनालाई केलाउन प्रयास  गरेको देखिन्छ,वि.सं. २०२९ सालमा लेखिएको  यस कथामा  । एकदिनको वा एकरातको सपना वा निद्राको तन्द्रामा नै समग्र जिवनको कथा कल्पना गर्ने नेपाली किशोरको प्रतिनिधि हो यस कथाको पात्र – निरज । ‍

सौन्दर्य एक अभिशाप, २०२९ सालमा नै लेखिएको यो कथामा धनी बाबुको छोरीको एकाकी जिवनको दुखान्तः अन्त्य हुन्छ । तर यस्तो दुखान्त अन्त्यको विकल्प पो थियो कि ? पृष्टभूमिका बाँकि  उप कथाहरु के थिए ? पाठकहरूले लिपिबध्द भएको कथा बुझ्ने कि लेखकको कल्पनाशिलता वा अनुभव के रहेछ भनेर अनुमान गर्ने अलमल हुन्छ ।

कथा कथा नै जस्तो हुनका लागि कथाको गुण पनि हुनपर्छ । कविताको वा निबन्धहरूको पनि आ-आफ्नै गुण हुनुपर्छ । तर कथाका लेखक पौडेलले जिवन यात्राका उकाली ओरालीमा देखे भेटेका घटना दुर्घटनाका चित्रहरूलाई कथा नभनेर संस्मरण वा सामाजिक जिवनको अध्ययनका अनुभुतिहरूकोरुपमा यस्लाई प्रस्तुत गरेको भए पो वेश हुनेथियो कि ? हिजोको कोपिला, एउटा संयोगले जुराएको अर्को अनपेक्षित सम्बन्धको कथा हो । तर यसलाई जुन परिवेश वा परिबन्धमा
अनपेक्षित सम्बन्धमा परिणत गरिएको छ,यहाँ  यसका विकल्पहरूको पनि चर्चा भने नभएको होइन । विनोदको उदारता, यस कथामा पात्र, चरित्र र सन्देशसँग मेल नखानेगरि ‘ब्रम्हाणहरू दक्षिणा गनेर टाउको हल्लाउँछन्’ लेखिएको छ । तर  ब्रम्हाणहरू र   दक्षिणाको सम्बन्ध छैन किनकी दक्षिणा  लिने र गन्ने पनि ब्रम्हाणहरूको काम होइन ।  सन्दर्भ जजमानी गर्ने पुरोहितको हो ।

लेखकमा जुन भावनाहरू छन् र जुन अनुभवहरू छन् तिनलाई अझै व्यवस्थित र विधागत पहिचानका थप प्रयास गर्न सकिन्थ्यो,त्यती चैं गर्नु पर्थ्यो । यसबाट के अनुमान गर्न सकिन्छ भने प्रकाशक र सम्पादकले लेखकसँग प्रश्न गर्न सकेनन् वा चाहेनन् । यो सबैका लागि घाटाको विषय भयो ।

कथानकता कम र भावनाहरू ज्यादा हुँदा लेखकलाई हुने फाइदा हो – संस्मरणात्मक निबन्ध लेख्ने । लेखकलाई पनि विधागत संकुचनमा सिमित हुन नपर्ने र पाठकहरूलाई लेखकले लगाएको पर्दा च्यातेर भित्र पो केही छ कि भनेर खुल्दुली पनि नहुने !   विधागत अष्पष्ठता लेखकहरूमा हुनसक्छ,यसलाई साहित्यका सिध्दान्तभित्र राखेर हेर्नुपर्ने हुन्छ । तेराख अर्थात् तेजराज खतिवडा नेपाली साहित्यमा मिश्रित विधा मयवादको पक्षमा थिए । यसो त लेखकको स्विकारोक्ति पनि
छ- ‘भाषा शैली र वाक्य गठनमा मेरो आफ्नो जे जस्तो शैली र लेखाइ थियो,त्यसमा केही परिवर्तन गर्न सकिन ।’ यद्यपि भाषाको बारेमा लेखकको यो स्पष्टिकरणले भाषामाथि अन्याय गरेको छ । नेपाली जनबोलिले भन्छ- हुलमुलमा जिउ जोगाउनु,अनिकालमा बिउ जोगाउनु । तर नेपाली भाषी लेखकहरूले नै नेपली भाषाको मानक मर्यादा ख्याल नगर्नु भनेको भाषाको बिउ नैऽ नजोगाउनु  जस्तो पो हुन्छ कि ? लेखक पौडेलमा यी प्रश्नलाई नाजवाफ गराउन सक्ने जति पनि
अनुभव र भावनाहरू छन् ती सबै परिष्कृतरुपमा सार्वजनिक हुन सकेको देखिंदैन ।

लेखकको सिर्जनशिलता, साधना र सन्देश प्रशंसनिय छ । अग्रज साधकको सम्मान र प्रोत्साहनका लागि सम्पादक
तथा प्रकाशकले लेखकसँग सहकार्य गर्न नसकेको महसुस हुन्छ । अन्न त एउटै हो तर भान्सेअनुसार परिकार र
स्वादमा आकर्षित गर्न सकिन्छ ।

००००

मेरो अन्तरंग अनुभुतिहरू

राधा क्षेत्री (राधा माता) का आध्यात्मिक चिन्तनका अनुभूतिहरू रहेको यो कविता सङ्ग्रह दार्शनिक वा धार्मिक चिन्तन मिश्रित कृति हो । सर्वधर्म र मानव जिवनका मनोकाङ्क्षा तथा  तृष्णा,इन्द्रिय वासनाको नियन्त्रण  र आत्मा शुध्दीजस्ता सन्देश उनका सिर्जनाका विशेषता हुन् । उनको निष्कर्ष छ- ‘अहंकार र वासनाले मानिसले विवेक गुमाउँछ ।’

मेरो अन्तरंग अनुभूतिहरू

मेरो अन्तरंग अनुभूतिहरू

लेखकीय मन्तव्य अर्थात् मेरो भन्नुमा राधा माताको मत छ- ‘जीवनको सही अर्थलाई जान्न र बुझ्नका लागि मानिसले पहिले मृत्युलाई पार गारनुपर्छ । मृत्युलाई नबुझिकन जिवनको अर्थ जान्ने कुनै उपाय नै छैन । जो मृत्युबाट भयभित हुन्छन्,ती जिवनबाट अपरिचित रहन्छन् । किनकि जीवनको गुह्यतम गहन केन्द्र मृत्यु नै हो । मनुष्यको अन्तर्मनभित्र जुन चेतनाको दियो जलिरहेको हुन्छ त्यसलाई मृत्यु अघि बुझ्न ज्यदै कठिन मात्र होइन असम्भवप्रायः छ । यो रहस्य केवल इश्वरले मात्र जान्दछन् ।’

सामान्यत: विभिन्न शिर्षकहरू वा  फुटकर रचनाहरू रहेको कृतिहरूमा प्रायजसो विषयसूची हुने गर्छ | तर विषय सूची नरहे पनि  यस कविता सङ्ग्रहमा २७ वटा शिर्षकमा १ वा २ पेज देखि १२ पेजसम्मका कविताहरू रहेका छन् ।

यस सङ्कलनका सम्बन्धमा लेखक तथा पत्रकार हरि अधिकारीको सर्जकलाई शुभकमनासहितको समिक्षात्मक मुल्याङ्कन छ- ‘राधा क्षेत्री दिमागले होइन  हृदयले कविता लेख्ने सर्जक हुन् । कविताका शास्त्रीय मानदण्डक दृष्टिले हेर्दा उहाँका कविता कमजोर लाग्न सक्छन् । तर एउटी भक्तिनीको समर्पण-भाव,एउटी भावुक हृदय नारीको विश्वकल्याणमुखी सोच,प्रपुपाद्मा आफ्नो सर्वस्व अर्पण गरिसकेकी एउटी विरागी नारीको उदात्त भावनाको कसीमा राखेर हेर्ने,पढ्ने र बुझ्ने हो भने राधा क्षेत्रीका यी कविताहरूले पाठकहरूलाई बेग्लै किसिमको आनन्द र सन्तुष्टी प्रदान गर्दछन् .…।’

सर्जक राधिका माताको १ सय ४८ पेजको यस कृतिको प्रकाशक भैरव क्षेत्री हुन् ।

संकल्प विकल्प त्यागी दिए संसारको भ्रम हट्छ

ज्ञानीरुपी अग्निद्वारा अज्ञानको नाश हुन्छ

संसाररुपी वृक्ष अहंकारले उत्पन्न हुन्छ

अहंकाररुपी बिज नै अनन्त शाखा हाल्छ ।

– महाकाशमा घटाकाश उत्पन्न भयो,पेज १०४

मेरो भ्रम भनि सबै भ्रान्ति पाली रहन्छन्

आफ्नो भन्ने केही छैन खाली हात जान्छन्

नाङ्गै आयो सबै यहाँ मुठ्ठी बाँध्न खोज्छन्

अन्तिममा मुठ्ठी खोली हात पसारेर जान्छन् |

– देह देखि भित्र आत्मा छ, पेज ५१

 

नोट – क्रमशः थप केही नपढिएका कृतिको चर्चा अर्को हप्ता प्रस्तुत गरिनेछ ।