
म साहित्यकी विद्यार्थी होइन तर साहित्य मन पर्छ । म लेखक–कवयित्री केही पनि होइन, तै पनि लेखौँ लेखौँ लाग्छ । कविताका बारेमा धेरथोर थाहा छ तर यसभित्र के कस्ता उपविधाहरू पर्छन्, ती के के हुन् र कसरी कविता जस्तै भए पनि कसरी फरक भए थाहा छैन । कथा र उपन्यास बारेमा धेरथोर जानकारी राख्छु तर अरू विधा के कसरी किन लेखिन्छन् उति भेउ पाउँदिन । सायद साहित्यको विद्यार्थी नुहुँदाको घाटा होलान् ।
पाटे बाघ र बिरालो उस्ता उस्तै भए पनि ती दुईबीच धेरै नै फरक छ । तर कताकति पाटे बाघको बच्चा बिरोलो जस्तो देखिन्छ । कतिपय मान्छे झुक्किन्छ । साहित्यमा मेरो बुझाइ त्यही पाटे बाघको बच्चालाई बिरोलो देखे जस्तै हुन्छ । पढ्दा रमाइलो तर त्यसको नाम थाहा नभएको ।

खबरमा छु प्रिय !
अहिले मेरो हातमा कविता जस्तै लाग्ने तर अत्यन्तै छोटा–मिठा टुक्राहरूको एउटा सङ्ग्रह हात परेको छ । कविता जस्तै तर चार लाइनका स–साना टुक्रा । सुरुमा मेरालागि ती कविताकै टुक्रा महसुस भएको थियो । तर सुरुमै मुक्तक सङ्ग्रह लेखिएकाले अलमलमा परेँ । कविका रूपमा मैले धेरैअघि देखि सुनिएकी शकुन ज्ञवालीको यो पाँचौँ पुस्तक हो ।
पुस्तकको नाम छ– “खबरमा छु प्रिय” । यसअघि उहाँका चारवटा कविता सङ्ग्रह प्रकाशन भैसकेका छन् । तर कविता जस्तै लाग्ने यो मुक्तक सङ्ग्रह के होला ? यसमा चासो बढ्दै गएपछि म यसमा केही दिन घोत्लिएँ ।
मुक्तक, अर्थात् मुक्तरूपमा चार लाइनमा लेखिएका स्वतन्त्र कविता । तर यी कविताको आफ्नै नियम रहेछन् । पहिलो लाइनले आफ्नो कुरा भन्छ । दोस्रो लाइनले पहिले भन्न खोजेको कुरालाई अलिकति स्पष्ट पार्छ । तेस्रो लाइनले त्यो कविताले भन्न खोजेको कुरालाई कौतूहल निर्माण गर्छ । अनि चौथो लाइनले पढ्नेको मस्तिष्क झङ्कृत हुनेगरी आफ्ना कुरा पेस गर्छ ।
मुक्तकको कुनै पनि किताब पढ्नुअघि मुक्तकको यति नियम चाहिँ बुझ्नुपर्ने रहेछ । यो नियम नबुझ्दा म जस्ता जिज्ञासु पाठक अलमलिन सक्छ । तर जब यो सामान्य नियम बुझिन्छ, सम्पूर्ण पुस्तक नै गज्जबको लाग्छ । शकुन ज्ञवालीको यो सङ्ग्रह पनि मलाई त्यस्तै लाग्यो ।
हिजो कुरा काटेकाहरू पनि मुखले ठिक्क पार्न आउँछन्
हिजो टाढिएकाहरू नै आज सम्बन्ध नजिक सार्न आउँछन्
तपाईँले प्रगति गर्नुभयो भने नौटङ्की नै छ हाम्रो समाज
हिजो तपाईँका खुट्टा तान्नेहरू नै आज धाम मार्न आउँछन् ।
यो चार लाइनले नेपाली समाजको चरित्र पेस गर्छ । तर अन्तिम लाइनको एक शब्दमा सम्पादकको आँखा नपरेका कारण धापको स्थानमा धाम भएको छ । सम्पादक को हो म चिन्दिन । तर हरेक चार लाइनमा जुन मज्जा छ, यस्ता स–साना गल्तीका कारण धेरै राम्रा मुक्तकहरू पढ्दा ढुङ्गा लाग्छ । यो एक दुई ठाउँमा होइन, धेरै ठाउँमा मिलाउन सकिने ठाउँ छ । किताब पढ्दा मैले जहाँ जहाँ ढुङ्गा लागेर अल्झिएँ, त्यहाँ त्यहाँ अज्ञात सम्पादक सम्झेर रिसाएँ ।
तर यस्ता प्राविधिक कुरामा लेखकको खासै दोष देख्दिन । लेखक र सम्पादक फरक कुरा हुन् भन्ने कुरा लामो समय सञ्चारमाध्यममा काम गरेकाले मलाई राम्रोसँग थाहा छ । त्यसैले पुनः सम्पादक बिर्सेर म पूर्ण रूपमा कवि शकुन ज्ञवालीलाई पुस्तकमा खोज्छु । अनि पाउँछु, ज्ञवाली नेपाल, अमेरिका, मानव जाति, विश्वपरिवेश, घरपरिवार, राजनीति, विदेसिनु पर्ने नेपाली बाध्यता सबै कुरामा राम्रो जानकार राख्ने कविका रूपमा पुस्तकभरि छरिएको देखिनुहुन्छ । कुनै पनि विषय बुझ्नु र ती दुखाइहरूलाई कविता वा अन्य विधाहरूमा कलात्मक भावमा ढाल्नु अर्को पक्ष हो । यी मुक्तक पढिरहँदा मैले मुक्तकका बारेमा सामान्य जानकारी प्राप्त गरेँ नै कविको हुटहुटी, चिन्ता र खुसी पनि जान्ने मौका पाएँ ।
थाहा छैन कस्तो मौका समाउनलाई हिँडिरहन्छु
भविष्यको खुसी खोजी रमाउनका लागि हिँडिरहन्छु
न त खुसी मैले किन्न सक्छु न त आँशु नै बेच्नसक्छुु
तर पनि दिनभरि खै किन कमाउन हिँडिरहन्छु ।
यी चार लाइनले अमेरिका बस्ने सम्पूर्ण प्रवासीको कथा भनिदिन्छ । कमाउनु-खर्च गर्नु अनि खर्च गर्नु-कमाउनु नै जीवनको नियति बोकेर हिँडिरहेका प्रवासी अमेरिकीहरूलाई हेरेर यी लाइन पढ्दा मज्जा हुन्छ । यो मेरो पनि कथा हो र कवि शकुनको । मेरा वरपरका सबैको कथा हो । परिस्थितिलाई कविताको सानो रूप मुक्तकमा ढाल्नु यो कलाले मलाई किताबप्रति उत्सुकता जगाउँदै गयो ।
खासमा मुक्तकको विशेषता के रहेछ भने पूरै किताब पढे पनि हुने, दुई चारवटा पढे पनि हुने र दुई चार पेज पढे पनि हुने । एउटा मुक्तक पढ्दा एउटा कथाको झिल्को याद आउँछ । अर्को मुक्तक पढ्दा अर्को कथाको प्लट आँखाअघि उपस्थित हुन्छ । बीचबाट पढे पनि हुने । अन्तिमबाट पढे पनि । एकपटक पढे पनि हुने, पटक पटक पढे पनि फरक नपर्ने । छोटा रचनाको सायद यो विशेषता होला ।
मित्रतामा ए हजुर न गते हुन्छ क कतै बार हुन्छ
जति जति दिन बित्दै जान्छ, झन् झन् प्रेम लगातार हुन्छ
मित्रताको अर्थ नबुझ्नेले उडाउलान् खिल्ली तर
सच्चा मित्र छन् भने हजुर जीवन जिउने आधार हुन्छ ।
वास्तवमा शकुनजी र म एउटै शहरमा बस्छौं र सामाजिक सञ्जालमा पनि जोडिएका छौं। तर काममको व्यस्तताका कारण आजसम्म भेटेर सँगै बसेर कफी पिउँदै गफ गर्ने मौका भने जुर्न सकेको छैन। एक दुई पटकको जम्का भेटमा देख्दा अत्यन्त शालीन र भद्र लाग्ने शकुनजीको आफ्नो सहनशील प्रवृत्ति उहाँका शब्दमा पनि झल्किएको पाएपछि मेरो अडकल सही रहेछ भन्ने लाग्यो । उहाँ लेख्नुहुन्छ
“म सधैँ नम्र बोल्छु हजुर झुकेको नसम्झनुहोला
अरूसामु निहुरन्छु सधैँ चुकेको नसम्झनुहोला
चर्काचर्की तँ तँ म म कत्ति मन पर्दैन कत्ति मलाई
आफ्नै परिधीमा रमाउँछु लुकेको नसम्झनुहोला ।।”
शकुनजीले मलाई पुस्तक विमोचनका लागि एकमहिना अगाडि नै निम्तो दिनुभएको थियो तर कार्यव्यस्तताका कारण मैले उपस्थिति जनाउन सकिन। हाम्रो जस्तो देशमा महिला कृतिको विमोचन मेरा लागी चाहिँ ठूलै महत्वको विषय थियो। उहाँ जस्तो जुझारु महिला हस्ताक्षरको विमोचनमा जान नपाउँदा मलाई निक्कै खल्लो पनि लागिरहेको थियो । तर उहाँको मुक्तक सङ्ग्रहमा भूमिका तथा टिप्पणीकार अधिकांश पुरुषहरू देख्दा भने महिलाको कृतिलाई पनि कमसेकम पढेर साहित्यको दर्जा दिएर टिप्पणी गरिदिनुभएकोमा खुसी लाग्यो। शकुनजीले सधैँ यस्तै यस्तै उत्कृष्ट कृतिहरू जन्माउँदै जानुहोला भन्ने मेरो शुभकामना छ।
कवि शकुनको यो पुस्तकमाथि वरिष्ठ मुक्तककार तीर्थ अधिकारीले लामो भूमिका लेख्नुभएको रहेछ । उहाँको भूमिका पढेपछि मुक्तक के हो ? कसरी लेखिन्छ ? यसअघि मुक्तकको कसरी लेखिँदै आयो ? आजभोलि किन मुक्तक चारलाइनमा यो शैलीमा विकसित भयो, सबै कुरा प्रस्ट पार्नु भएको छ ।
म जस्ता मुक्तक नबुझेका पाठकहरूका लागि यो भूमिकाले निकै सहयोग गर्यो । यसअघि मलाई भूमिका पढौँ भन्ने कहिल्यै लाग्दैनथ्यो । तर यस्ता विषयमा यस किसिमका गहन भूूमिकाले मलाई चाहिँ फाइदा गर्यो । त्यसमा उहाँले मुक्तकको परिभाषादेखि नेपाली मुक्तकको विकासलाई पनि राम्रोसँग उल्लेख गर्नुभएको रहेछ । साहित्यिक सङ्गत नभएका कारण उहाँका बारेमा धेरै थाहा थिएन । तर यो भूमिका पछि भने उहाँका बारेमा केही खोजी गर्न मन लाग्यो । आखिर साहित्यको खोजी गर्नु पर्यो भने साहित्यपोस्टमा नपुगी सुखै छैन । अधिकारीका बारेमा पनि मैले केही पर्याप्त सामग्री साहित्यपोस्टमै फेला पारेँ ।
उहाँका बारेमा केही सामग्री पढेपछि म शकुन ज्ञवालीको पुस्तकमा पुनः फर्किएँ । हरेक मुक्तक पढ्दै रोकिँदै अघि बढ्दै गएँ । कफीको एक चुस्की लिँदै दुई तीनवटा मुक्तक पढ्दै जाँदा यो किताब सकिएको पत्तै भएन । खासमा किताब धेरै जटिल हुनुहुँदैन । यो किताब सरल भएकैले पनि पढ्न गाह्रो भएन । पढ्दै शकुन ज्ञवालीलाई बुझ्दै, उनले बुझेको संसार नियाल्दै अन्ततः किताब सकियो । कतिपय मुक्तक दोहोर्याएर, कतिपय मुक्तकको कमजोरी पर्गेल्दै अघि बढेपछि यो सानो टिपोट लेखेकी हुँ ।
एकजना सामान्य पाठकले जे देख्छ, त्यो लेख्नुलाई सायद समीक्षा भनिँदैन । यो केवल जिज्ञासु पाठक र सिकारु लेखकको प्रतिक्रिया हो । यो किताब पढिसक्दा नेपाली साहित्यको एक विधा मुक्तक र यसका बारेमा केही कुरा जान्ने अवसर पाइयो । यसका लागि लेखक शकुनजीलाई धन्यवाद । भूमिका लेखक तीर्थ अधिकारीलाई धन्यवाद ।
अमेरिकी कर्मभूमिमा कति व्यस्त भइन्छ भन्ने मलाई पनि राम्रोसँग थाहा छ। तर साहित्य सिर्जना गर्न मन छ भने केहीले पनि छेकथुन गर्न नसक्ने रहेछ भन्ने बलियो उदाहरण हो यो शकुनजीको कृति। घरायसी जिम्मेवारी, अनि काम गर्दै मन लागेका कुरा फुर्सदमा लेख्दै पुस्तक प्रकाशन गर्ने शकुनजीको यो पुस्तकको नाम छ–खबरमा छु प्रिये । खासमा साहित्यकारहरू खबरमा हुँदैनन् ।
अखबारका पानाहरूमा त केवल राजनीतिक र आपराधिक नाइकेहरू पो हुन्छन् । आजभोलि भाइरलको जमानामा उटपट्याङ कुराहरू खबरमा हुन्छन् । यस्तो बेलामा यो किताबको शीर्षक किन खबरमा छु, प्रिये राखियो, थाहा भएन । सायद कुनै साङ्केतिक बिम्ब हुनुपर्छ, यो शीर्षक राख्नुको कारण । जे होस्, एउटा सुन्दर किताब निस्केको छ र हामीले पढ्न पायौँ । लेखकलाई धन्यवाद ।
अन्तिममा एउटा सुझाव, किताब निकाल्दा सम्पादक चाहिँ अलि गम्भीर नै छान्नुहोला । मुक्तक नै नबुझेको म जस्तो पाठकलाई पनि यसले ठाउँ ठाउँमा दुःख दियो । आजको युगमा लेखक जत्तिकै भूमिका सम्पादकको हुन्छ । सम्पादकको गल्ती लेखकले भोग्नुहुन्न ।
धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

