नेपाली साहित्यमा डा. राजुबाबु श्रेष्ठ नौलो नाउँ होइन । कविता, कथा, गीत लगायत साहित्यका बहु विधामा कलम चलाइरहेका श्रेष्ठको मूल विधा भने कथा हो । सामाजिक परिवेशलाई गहिरोसँग उत्खनन गर्दै द्वन्द्वको अन्तर्यलाई कथामा समेट्ने एकोत्कृष्ट कथाकार हुन् उनी । आम मानिसको दिन-दैनिकी छोएर कथा सिर्जिएका उनका कथा मर्मस्पर्शी हुन्छन् ।
नेपाली कथा आजका दिनसम्म आइपुग्न धेरै कथाकारहरूको विशिष्ट त्याग, समर्पण र योगदान छ । हरेक कथाकारहरू कुनै न कुनै रूपमा आफूलाई पृथक् स्वाद र शैलीमा प्रस्तुत गरिरहेका हुन्छन् । राजुबाबु श्रेष्ठ पनि आम कथाकारहरूभन्दा पृथक् विषयवस्तु र मौलिक र निजात्मक शैलीका कथा मार्फत आफ्नो पहिचान बनाएका कथाकार हुन् ।
कथामा कथाकारले जीवन र जगतको जुनसुकै कुतूहलपूर्ण घटना र अवस्थाको चित्रण गर्नसक्छ । कथाको जग हामी र हाम्रो जीवनमा आइपर्ने सामाजिक, ऐतिहासिक वा स्वैरकाल्पनिक जुनसुकै विषयको आख्यानात्मक प्रस्तुति हो । राजुबाबु श्रेष्ठका कथामा पनि सामाजिक चित्रण, ऐतिहासिक घटना र द्वन्द्वको चित्रण सघन रूपमा आएको छ ।
उनले पछिल्लो समय नेपाली कथा भण्डारमा एउटा उम्दा कथासङ्ग्रह भण्डारण गरेका छन् । त्यो हो – बेनामे जर्नेल । श्रेष्ठकृत नवीनतम यो सङ्ग्रह द्वन्द्वको दस्ताबेज समेटिएको मार्मिक कथासङ्ग्रह हो । द्वन्द्व र द्वन्द्वको त्रास सम्झाउने यो कथासङ्ग्रहमा कहिले कोरोनाको सन्त्रास सम्झाउँछ त कहिले सिमानाको पिल्लरले झस्काउँछ । कैले प्रेमको मूर्त-अमूर्त अभिव्यञ्जनाले तरङ्गित गराउँछ । यी र यस्तै विभिन्न पन्ध्र शीर्षकका कथाहरू यस सङ्ग्रहमा सङ्गृहित भएका छन् । हरेक कथाभित्र कथावस्तुको विन्यासलाई निक्कै सुन्दर, कौतूहल र रोमाञ्चक तवरबाट प्रस्तुति गरिएको छ । पाठकहरू उनको शिल्पसँग मजैले तानिन्छन् ।
कथा लेख्न सजिलो छैन । कथामा समाज साथै मानिसहरूका जिजीविषा बोल्नुपर्छ । सभ्यता र संस्कृतिको सौन्दर्य बोल्नुपर्छ । समाजका हरेक अप्ठ्यारा / अभाव / अप्राप्ति / असन्तुष्टि / असमानता र अतोषणीय भाव बोल्नुपर्छ जो राजुबाबु श्रेष्ठका कथाकारिताको निजात्मकता बनेका छन् । उनले आफ्ना कथामा युद्धको घाउ उधिनेका छन् । नेपाली कथाको सिमाना भत्काएर पृथ्वीको पल्लो भित्तोसम्म पुगेका छन् । पेण्डामिक रोग कोरोनाको त्रास न्यूयोर्क सहरको सेरोफेरोबाट पस्किएका छन् भने क्रोएसियान जातीय युद्धको गहिरो घाउ पनि कथामा बुन्न पुगेका छन् । उनले स्वदेशी र परदेशी युद्धको मनोविज्ञान उप्काउँदै पात्रहरूको परम्परागत परिस्थिति र कथाको सादृश्यबाट पृथक् उभिएका छन् ।
‘बेनामे जर्नेल’ द्वन्द्व र द्वन्द्वले प्रभावित मानिसहरूको साझा कथा हो । ‘जङ्गे पिलर’ शीर्षकको कथाबाट प्रारम्भ भएको यो सङ्ग्रहमा कथाकार देशप्रेमी देखिन्छन् । ‘जङ्गे पिलर’कथाले भिखारीदेव [ भिखुराम ] मार्फत देशप्रेमी चरित्र प्रस्तुत गरेका छन् । मानिस गरिब होस्, छाक टार्न हम्मेहम्मे होस् तर देशभक्त हुन्छ भन्ने प्रमाण यो कथामा अभिव्यक्त भएको छ । यो सङ्ग्रहको बलियो कथा हो – जङ्गे पिलर ।
यस्तै पुस्तकको शीर्षक कथा ‘बेनामे जर्नेल’ले पनि जातीय युद्ध, राष्ट्रियता र अव्यक्त प्रेम प्रकट गरेको छ । पूर्वार्द्धमा संस्मरणात्मक जस्तो लागे पनि उत्तरार्धमा युद्ध र प्रेमको कथानकले पाठकीय मन-मस्तिष्क निकै बेर कम्पायमान बनाउँछ । ‘बेनामे जर्नेल’ले जासुसी कथाको झझल्को पनि राम्रैसँग दिन्छ । यो कथामा एक प्रहरी (म) पात्रको रूपमा जोखिम मोलेर विद्रोही सेनासँग नजिकिँदै जान्छन् र त्यहीँ अव्यक्त प्रेममा पर्छन् । यो नूतन विषयमा लेखिएको कथा हो ।
यो सहित ‘यमलोकमा सहिदहरू’, ‘छोरीको बोझ’, ‘गुमनाम कमरेड’, ‘बिहे नभएको लोग्ने’, ‘बाबु साहेबको छोरो’, ‘झ्यालको चेपबाट’, ‘फेब्रुअरी १४’, ‘बोर्डर पार’, ‘मोहम्मदीको चकलेट’, ‘मुर्दाघरबाट’, ‘मेयर मोतीलाल’ र ‘सलाम गोतामे’ शीर्षकका पन्ध्र कथाहरू छन् ।
यसो त ‘बेनामे जर्नेल’ अघि नै उनको दुई कथासङ्ग्रह ‘मारिनोसेलोको जून’ र ‘मृत्युमेला’ पाठकीय रूपमा अत्यधिक मन पराइएका कथासङ्ग्रह हुन् । युद्ध-कथाकारको परिचय बनाएका कथाकार राजुबाबु श्रेष्ठ युद्धको सूक्ष्म मनोविज्ञानमा कथाको तान लगाएर सौन्दर्य भर्ने कथाकार हुन् । यो पटक उनी युद्धका अलावा केही सामाजिक मुद्दाहरूमा विहङ्गम दृष्टि लगाउँदै तराई मधेस झरेका छन् । उनले यस कथा सङ्ग्रहमा मधेस र महिलाहरूले भोग्नु परेको कहर मज्जैले आएको छ ।
राजुबाबु कथाप्रेमी पाठकहरूमाझ प्रिय छन् । उनले विगत तीन दशकदेखि नेपाली कथामा आफ्नो विशिष्ट पहिचान निर्माण गरिरहेका छन् । हरेक कथामा शैली र शिल्पगत रूपमा नव्यताको खोजी गर्नु नै उनको विशेषता हो । कथामा कुनै न कुनै रूपमा लेखक पात्र आउँछ । कथालेखन बाहेक नेपाली सुगम सङ्गीतका प्रसिद्ध रचनाकार श्रेष्ठका दर्जनौँ गीतहरू श्रोताका मुखमा झुन्डिएको छ । कविता कथा, गीत लगायत साहित्यका अनेक विधामा कलम चलाउने श्रेष्ठकोको समकालीन कथा लेखनमा उनको उपस्थिति महत्त्वपूर्ण देखिन्छ ।
राजुबाबु श्रेष्ठको ‘वेनामे जर्नेल’ले उत्तरवर्ती कथामा देखिएको सम्पूर्ण स्वादलाई समेटेको छ । हरेक पाठकलाई सुस्वाद बनाउन सक्षम उनको शैली र शिल्प नेपाली पाठकको मन जित्ने पक्का छ । कथाकारलाई पुस्तक सफलताको अविच्छिन्न शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।