रामप्रसाद पन्त नेपाली साहित्यका निरन्तर र अथक साधनारत साधक हुन् । विद्यालय अध्ययनक्रममै भारतको ऋषिकेशबाट प्रकाशित ‘नेपालपुकार’ नामक पत्रिकामा कविता प्रकाशनसँगै नेपाली साहित्यका क्षेत्रमा देखा परे । यसपछिको उनको लेखनयात्रा अविराम गतिले अगाडि बढिरहेको छ । नाटककार बाहेक साहित्यका सबैजसो विधामा उनको कलम सबल रूपले अघि बढेको देखिन्छ । पन्त कवि, कथाकार, उपन्यासकार, समीक्षक, निबन्धकार, कोशकार, जीवनीकार, नियात्राकार, अन्तर्वार्ताकार, सम्पादक, सङ्गठक आदि व्यक्तित्वका रूपमा सुपरिचित छन् ।

‘बिरानो बस्तीमा’ २०४४ सालको उपन्यास प्रकाशनसँगै कृतिकारका रूपमा नेपाली साहित्य क्षेत्रमा उदाएका हुन्, रामप्रसाद पन्त । यसपछि ‘वेदनाका लहरहरू’ (खण्डकाव्य,२०४७), ‘तीन आमाका छोरा’ (उपन्यास, २०५७), ‘जापान भ्रमणका केही सम्झना’ (नियात्रासङ्ग्रह, २०५८), ‘रामचन्द्र शर्मा’ (स्मृतिग्रन्थ, २०५९), ‘यात्रा र अनुभूति’ (नियात्रासङ्ग्रह, २०६०), ‘रुक्मी दिदी’ (कथासङ्ग्रह, २०६१), ‘सन्झ्याल’ (कथासङ्ग्रह, २०६२), ‘पेट्रोनास टावरको सेरोफेरो’ (नियात्रासङ्ग्रह, २०६३), ‘बाह्र सूर्यः सोह्र फन्को’ (नियात्रासङ्ग्रह, २०६४),  ‘उत्कृष्ट सत्ताइस व्यक्तित्व’ (संस्मरणसङ्ग्रह, २०६५), ‘तीतामीठा कुरा’ (संयुक्त नैतिक दृष्टान्त, २०६३), ‘पर्यन्तदेश’ (नियात्रासङ्ग्रह, २०६६), ‘सम्झनाका थुँगा’ (संस्मरणसङ्ग्रह, २०६७), स्मृतिगङ्गाको तीरैतीर, (नियात्रासङ्ग्रह, २०६८), ‘पुष्पमञ्जरी’ (कथासङ्ग्रह, २०६९), ‘आस्थाको सरोवर (नियात्रासङ्ग्रह, २०७०), ‘रामप्रसाद पन्तका कविता’ (कवितासङ्ग्रह, २०७०), ‘पारामाटा किनारबाट’ (नियात्रासङ्ग्रह, २०७१), ‘मेरा साठी वर्ष’ (आत्मसंस्मरण, २०७१), ‘अविरल यात्रा’ (नियात्रासङ्ग्रह, २०७२), ‘दाउ’ (लघुकथासङ्ग्रह, २०७२), ‘साहित्यिक यात्रा’ (नियात्रासङ्ग्रह, (२०७३), ‘प्रमुदित पैताला’ (नियात्रासङ्ग्रह, २०७३), ‘सिक्किमदेखि सिमलासम्म’ (नियात्रासङ्ग्रह, २०७३), ‘पोटोम्याक किनारबाट’ (नियात्रासङ्ग्रह, २०७४), ‘रातको जून’ (नियात्रासङ्ग्रह २०७४), ‘मत अभिमत’ (अन्तर्वार्तासङ्ग्रह, २०७५), ‘गन्तव्य मन्तव्य’ (नियात्रासङ्ग्रह, २०७६), ‘सप्तरङ्गी यात्रा’ (नियात्रासङ्ग्रह, २०७६), ‘पुर्खाको बाटो’ (नियात्रोपन्यास, २०७७), ‘जयपुरदेखि पुरीसम्म’ (नियात्रासङ्ग्रह, २०७७) ‘महाभूकम्प’ (संस्मरण, २०७७), ‘गुल्मेली शब्द भण्डार (शब्दकोश २०७७) उत्कृष्ट नक्षत्र (व्यक्ति परिचय २०७७) ‘रामसूक्त’ (आत्मचिन्तन, २०७७), ‘आयामिक अनुभूति’ (संस्मरण, २०७८), ‘देशाटन’ (नियात्रासङ्ग्रह, २०७८) ‘मेची मेरो महाकाली मेरो’ (नियात्रोपन्यास, २०७८) रहेका छन् ।

यसरी रामप्रसाद पन्त कवि, कथाकार, उपन्यासकार, निबन्धकार, नियात्राकार, लघुकथाकार, कोशकार, जीवनीकार, संस्मरणकार, अन्तर्वार्ताकार, समीक्षक र समालोचकसमेत भएर नेपाली साहित्यमा निरन्तर योगदान पुर्याइरहेका छन् । यसबाहेक उनको सम्पादक व्यक्तित्व त अझ निखारमा निर्बाध रूपले चलिरहेकै छ । नेपाली वाङ्मयमा उनले पुस्तकहरू पनि सम्पादन गरेका छन् । २०४४ सालदेखि दायित्व साहित्यिक द्वैमासिक पत्रिकाको माध्यमबाट उनले अग्रज साहित्यकारहरूलाई सम्मान र अनुजहरूलाई प्रोत्साहन एवं समकालीनहरूलाई उचित स्थान दिएर उल्लेखनीय कार्य गर्दै आइरहेको हाम्रासामु छँदै छ । २०५७ सालमा स्थापित दायित्व वाङ्मय प्रतिष्ठानको नेतृत्वदायी भूमिका निर्वाह गरेर योगदान पुर्याएको स्पष्ट देखिन्छ । उनकै सक्रियतामा दायित्वको आफ्नै भवन निर्माणसमेत भइसकेको पाइन्छ । दायित्व पत्रिकाको नेपाली साहित्यमा विशिष्ट योगदान त छँदै छ, योगदान दिने अन्य व्यक्तित्वहरूलाई सम्मान, विशेष सम्मान र पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । पन्तकै सक्रियतामा यस संस्थानमा पुरस्कारहरू थपिँदै गएका छन् र यस संस्थाबाट सयौँको सङ्ख्यामा कृतिहरू प्रकाशित पनि भइसकेका छन् । यस अतिरिक्त पन्त अन्य धेरै संस्थाहरूमा संलग्न रहेर सक्रिय योगदान पुर्याइरहेको देखिन्छ ।

कथा, कविता, संस्मरण, निबन्ध, अन्तर्वार्ता, आत्मसंस्मरण आदि धेरै विधामा सिर्जनारत पन्तले नेपाली नियात्रा साहित्यका बीसवटा कृति प्रकाशित गरेर यस क्षेत्रमा सबैभन्दा बढी नियात्रा कृति लेख्ने स्रष्टाका रूपमा आफूलाई उभ्याएका छन् । नियात्रालाई उपन्यासकृत रूपमा प्रयोग गरेर पनि यिनले छुट्टै पहिचान कायम गरेको देख्न सकिन्छ । ‘पुर्खाको बाटो’ उनको पहिलो नियात्रोपन्यास हो, जुन नेपाली साहित्यमै प्रथम प्रयोगका रूपमा पाइन्छ । त्यसपछि ‘मेची मेरो महाकली मेरो’ अर्को औपन्यासिक नियात्राकृति यसै प्रवृत्तिका साथ २०७८ सालमा प्रकाशित छ ।

राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्व विशेष गरेर साहित्यिक प्रतिभाहरूलाई विषयमा उन्दै संस्मरणात्मक कृति प्रकाशित गर्नु आफैमा गौरवको कुरा त छ तर यस खालका कृतिले स्तुतिपरकताको उपाधि पाउने भय पनि ज्यादा रहन्छ नै । त्यस्तै साहित्यकारहरूका अन्तर्वार्ता लिएर शङ्कर लामिछाने र उत्तम कुँवरजस्ता अग्रजहरूका पदचाप पछ्याउनु अझ उल्लेख्य कार्यका रूपमा लिन सकिन्छ । यसरी रामप्रसाद पन्तले नेपाली साहित्यका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्, यसर्थ उनलाई स्थापित विशिष्टमध्येका रूपमा लिन सकिन्छ ।

रामप्रसाद पन्तले नेपाली साहित्यमा पुर्याएको योगदान र निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै थुप्रै साहित्यिक सङ्घसंस्थाबाट सम्मानित र पुरस्कृत पनि भइसकेका छन् । उनको जीवनी, व्यक्तित्व र कृतित्वका आधारमा त्रिभुवन विश्वविद्यालयबाट शोधग्रन्थसमेत एक दर्जन बढी लेखिइसकेका छन् । उनको कृतित्व र व्यक्तित्वका बारेमा समालोचक ठाकुर शर्माद्वारा एउटा ग्रन्थ ‘साहित्य यात्राका पदचाप’  २०७० मा प्रकाशित भइसकेको छ । शैक्षिक संस्थामा उनका कृति समावेशसमेत हुनु महत्तम पक्ष हो ।

रामप्रसाद पन्त अहिले नवीनतम कृति… कथासङ्ग्रह लिएर आएका छन्, नेपाली कथाफाँटमा । यसको भूमिका लेख्ने सुअवसर मलाई प्राप्त भएको छ । पन्तको भूमिका लेख्न बस्दा म असजिलो अनुभूत गरिरहेको छु । उनका कृतिका बारेमा कुनै भूमिका नै आवश्यक नरहेको महसुस मलाई भइरहेको छ ।

उनका साढे तीन दर्जन कृतिहरू आआफ्ना ठाउँमा उत्तिकै महत्त्वपूर्ण छन् । यिनले नेपाली साहित्यका क्षेत्रमा गुणात्मक योगदान पुर्याएकै छन् । रामप्रसादसँग साहित्य लेखिरहने जाँगर छ, जसका कारणले उनी वर्षमै अनेकौँ कृतिहरू प्रकाशित गर्न सक्छन् । यस अर्थमा म उनलाई हार्दिक बधाई त दिन्छु नै, साथै पूर्व प्रकाशित कृतिभन्दा बढी व्यापक घनत्वमा पुगुन् भन्ने शुभकामना व्यक्त गर्दै यस कृतिका बारेमा केही लेख्ने दुस्साहस गर्दछु ।

कथाकृतिका बारेमा केही भन्नु पूर्व कथाका बारेमा केही भन्नुपर्ने हुन्छ । कथा र मानिसको सम्बन्ध कुनै न कुनै रूपमा परिपूरक भएर नै रहन्छ । देवीदेवताका कथा, राक्षसका कथा, पहिलेदेखि नै भनिन्थे र सुनिन्थे पनि । हरेकको कथा हुन्छ । मानिसका सुखदुःख, हर्षविषाद, उन्नतिअवनति सबै खालका कथा हुन्छन् । बच्चालाई खेलाउँदा, खुवाउँदा आमाले कथा भन्ने चलन पुरानै हो । पहिले पद्यलाई मात्र साहित्य मानिन्थ्यो, पछि आएर गद्यमा पनि साहित्य लेखिन थाले । आख्यानले साहित्यमा आफ्नो अस्तित्व देखाउँदै आयो । विभिन्न घुम्ती, गौडा पार गर्दै कथाले काल र समयसापेक्ष अहिले आएर विविध स्वरूपमा आफूलाई व्यापकताभित्रबाट अगाडि बढाएको छ । यो अहिले सबैभन्दा लोकप्रिय जनचाहनानुरूप अग्र गतिमा उभिएको पाइन्छ ।

संस्कृत साहित्यमा कथाको छुट्टै परिभाषा नभएर पनि कुनै न कुनै रूपमा अस्तित्वमा रहेको देखिन्छ । आधुनिक कथाको विकास पश्चिमी साहित्यबाट भएको हो र अमेरिकी कथाकार एवं समालोचक एडगर एलेन पोलाई यसको श्रेय जान्छ । उनले ‘लघुकथा यस्तो काव्यविधा हो जो एक बसाइँमा पढिसकिन्छ, जो पाठकमा एउटै प्रभाव उत्पन्न गर्न लेखिएको हुन्छ, जसमा यस्तो एक मात्र प्रभाव उत्पन्न गर्न नसकिने अरू सबै कुराको परित्याग गरिएको हुन्छ, जो आफैमा पूर्ण हुन्छ’ भनेर आधुनिक कथाको परिभाषा गरेका छन् । अन्य पश्चिमी विद्वान्हरूलाई आधार मान्दा पनि कथा छोटोछरितो, मीठो, कलात्मक, जीवनको एक पक्षको सशक्त चित्रण भएको सुन्दर सिर्जना मानिन्छ । नेपाली कथाका अग्रणी व्यक्तित्व प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीका शब्दमा–‘कुनै एक पात्रका जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रूपले लेख्नु हो ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा–‘ छोटो किस्सा एउटा सानो आँखीझ्याल हो जहाँबाट सानो संसार चियाइन्छ‘ भन्ने छ भने प्रसिद्ध समालोचक डा.ईश्वर बरालका भनाइमा–‘जीवनको एकास्थलीय किंवा एकांशीय परिचय दिने वस्तु कथा हो ।’

अग्रजहरूका परिभाषा र भनाइका आधारमा जीवनको एक पक्षको कलात्मक, रोचक र प्रभावकारी प्रस्तुति कथा हो । कथामा कथानक, पात्र, उद्देश्य र दृष्टिविन्दुलाई उचित समायोजन गरिनुपर्दछ । संसारका मानिसका जीवनमा घटेका घटनाहरूलाई अत्यन्त सजगताका साथ कुशलतापूर्वक कलात्मक लेपनले मात्र कथाको रसगाम्भीर्यमा पाठक लीन हुनसक्दछ । ‘एकादेशबाट सुरु भएर भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला’सम्म पुग्दा कथामा लट्ठ भएको भावक झल्याँस्स झस्कने क्षमता कथाले राख्दछ ।

यसै परम्पराबाट गोरखापत्रले कथाको विकासमा योगदान पुर्याएको देखिन्छ । विसं १९९१ सँगै ऋद्धिबहादुर मल्लको ‘शारदा’ पत्रिकाको प्रकाशनपछि नेपाली कथामा युगान्तकारी परिवर्तन आउँछ । विसं १९९२ मा गुरुप्रसाद मैनालीको ‘नासो’ कथा प्रकाशनसँगै नेपाली कथामा आधुनिक कालको उदय हुन्छ । मैनालीका सामाजिक यथार्थवादी कथा निकै नै सुन्दर थिए, छँदै छन् । उनको ‘नासो’ कथा नेपाली साहित्यमा निकै लोकप्रिय बन्यो र छ पनि । यसै साल अर्थात् १९९२ मा नै विश्वेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’ यौनमनोवैज्ञानिक कथाक्षेत्रको प्रतिनिधित्व गर्ने पहिलो आधुनिक कथा बन्न सफल भयो । पुष्कर शमशेर र बालकृष्ण समका सुन्दर कथाहरूले कथाको विकास हुँदै जान्छ । भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्लहरू कोइरालाधारमै नयाँ नयाँ प्रयोग गर्दै आए । बदरीनाथ भट्टराईले पौराणिक धारलाई कथामा विषयबद्ध गरे । रमेश विकलले कथा समस्या मात्र होइन समाधानको पथावलम्बी पनि हुनुपर्छ भन्दै प्रगतिवादी स्वर कथामा मुखरित गराए । पारिजात पनि प्रगति र विसङ्गतिवादको स्वर घन्काएर देखा परिन् भने ध्रुवचन्द्र गौतम कथामा नौलो प्रयोग लिएर झुल्किए ।

आज कथामा कथाहीन कथालेखनको जगजगी चल्दै छ । विभिन्न प्रयोगमा कथाले आफ्ना स्वरूप फेरिरहेको अवस्था अहिले विद्यमान छ । आजका कथाले युगसापेक्षतालाई राम्रो ढङ्गले पच्छ्याइसकेको छ भन्न सकिन्छ । वैज्ञानिक र ईश्वरीय अस्तित्व आभाससम्मका कथा लेखिइसकेका छन् ।

यसै सन्दर्भमा माया ठकुरी, अनिता तुलाधर, सनत रेग्मी, विजय चालिसेहरूका उत्साही स्वरसन्धानले कथामा थप योगदान पुगिरहेको पाउन सकिन्छ । यिनै कथाकारिताका लहरमा परम्परावादी स्वर लिएर रामप्रसाद पन्त उभिएका छन् र तिखारिँदै पनि छन् । उनका कथा, उपन्यास र लघुकथाहरूमा सामाजिक यथार्थवादी स्वर देखा पर्दछ । ‘बिरानो बस्तीमा’ देखा परेको मूल्य, मान्यता र प्रवृत्ति ‘रुक्मी दिदी’ हुँदै अहिले प्रकाशित कथासङ्ग्रहमा समेत देखा परिरहेकै छ ।

प्रस्तुत कथासङ्ग्रहमा  प्रत्येक कथामा समाजको यथार्थ बिम्ब उतारिएका छन् । समस्याहरू खोतलिएका छन् । समाजलाई सभ्य, सुसंस्कृत बनाउने उद्देश्य राखिएको छ ।

पहिलो कथा ‘मौनविद्रोह’ हो । नारी मनोदशाको विश्लेषण गरिएको यस कथामा वैवाहिक बन्धनमा बाँधिनु सुखद् भविष्यको निम्ति हो । दुई शरीर एक हुने, दुःखसुखमा साथ रहने विवाहजस्तो संवेदनशील विषयमा धेरै विचार गरेर, बुद्धि पुर्याएर मात्र निर्णयमा पुग्नुपर्छ भन्ने भाव दर्शाइएको छ । एक अर्काका आनीबानी, योग्यता, दक्षता, चरित्र, बेहोरा, क्षमता आदि सबैलाई राम्ररी छाम्न सक्नुपर्दछ । हतारमा गरिएका निर्णयले जीवन कष्टकर बन्न पुग्दछ भन्ने यथार्थ एकातिर छ भने अर्कातिर धेरै धनसम्पत्ति पनि विकृतिको कारक बन्छ भन्ने देखाइएको छ । यहाँकी पात्राको जीवनमा लोग्ने कुलतमा लागी दुर्व्यसनी बनेर मृत्युवरण गर्न पुग्छ । धनसम्पत्ति भएर पनि ऊ सहाराविहीन बन्न पुग्छे । यौवनको अन्तर उन्माद उम्लन्छ । छिमेकी धीरेन्द्रप्रति आकर्षित हुन्छे । धीरेन्द्रले अस्वीकार गर्दा ऊ अनेक लाञ्छना लगाउँछे । धीरेन्द्रले इज्जत र समाजको अगाडि उसको प्रस्ताव स्विकार्न सक्दैन । यसरी कथामा सामाजिक नियम मिचेर मनोकाङ्क्षा जो सही छ, पूरा गर्न चाहनेलाई दण्डित गरेको देखाउँदै पुरानै धारमा कथालाई डोर्याइएको छ । अन्तरजातीय र विधवा विवाहको पक्षमा नायिकालाई उभ्याएर पनि नायकको पुरानै धारलाई विजयी बनाउनुले सम्भवतः कथाकार पनि यसै मान्यताका हुन् कि भन्ने आभास दिन्छ कथाले ।

दोस्रो कथा हो ‘हराएको पाण्डुलिपि ।’ नेपाली साहित्यकारले भोग्नुपरेको शोषण, प्रकाशकहरूले अनेक बहानामा घुमाइरहेका प्रसङ्ग, आशा देखाइरहने र समस्यामा पारिरहने यथार्थ नै यस कथाको मर्मपक्ष हो । कथाका दुई पात्रमध्ये ध्रुव नव धनाढ्य पात्र हो । आर्थिक अवस्था कमजोर भएको ध्रुवे एकपछि अर्को पढाइ अघि बढाउन असमर्थ रहन्छ । भविष्यको खोजीमा बुटबलतिर विभिन्न काममा हात हाल्दा पनि सफल नभएपछि राजधानी आउँछ । राजधानीमा छापाखानाको काम गर्दै पुस्तक व्यवसायमा पुग्छ र यसमा उसलाई सफलता मिल्छ पनि । ऊ प्रतिष्ठित पुस्तक व्यवसायी बन्छ । ध्रुवेबाट ध्रुव सरमा पुगेको ध्रुव आफ्नो धरातल बिर्सेर गाउँकै दाइ पर्ने लेखकलाई पनि सम्मान गर्न जान्दैन । लेखकको पुस्तक प्रकाशनार्थ लिएर पनि ऊ प्रकाशन गर्दैन । पछि सम्पर्कसमेत गर्न छाड्छ । एकपछि अर्को बहानामा ऊ लेखकलाई घुमाइरहन्छ । अन्त्यमा पाण्डुलिपि लिएकै छैन भन्ने जवाफमा उभिन हिचकिचाउन्न । केही समयपछि शीर्षक र पङ्क्ति यताउता पारेर त्यो पाण्डुलिपि अर्कैको नाममा छापिएर आउँछ ।

यसरी कथाले अहिलेको नेपाली साहित्यको यथार्थ परिवेशलाई देखाइदिएको छ । यसका साथै नैतिकहीन चरित्र, दलाली प्रवृत्ति र जसरी जुन धन्दा गरेर भए पनि सम्पत्ति कमाउने मानिस कस्ता हुन्छन् भन्ने कुरा कथाले छर्लङ्ग पारेको छ । त्यस्तै नेपाली साहित्यकारहरूका कमजोर आर्थिक अवस्थालाई पनि यसले सजीव चित्रण गरेको छ ।

‘काहिँली आमा’ स्वाभिमानी, सहयोगी र निस्वार्थकी प्रतीक हुन् । कसैलाई दुःख नदिने,कसैको खाँदा परलोकमा पाप लाग्छ भन्ने भावना उनमा रहेको छ । रविचरण उनको भतिजो हो । सानैमा मातृत्वविहीन रविचरणलाई आमाको न्यानो माया दिएर हुर्काएकी हुन् । राजधानीमा एउटा सामान्य जागिर खाएर बसेको रविचरण काहिँली आमालाई आफ्नै आमाको रूपमा मान्छ । बिरामी परेर काहिँली आमा काठमाडौँ आउँछिन् । स्वास्थ्य परीक्षण गरी पत्थरीको अपरेसन हुन्छ । केही दिन बसेपछि लोग्ने रविचरणलाई असन्तुष्टि पोख्ने पार्वतीले काहिँली आमालाई पनि वचनवाणले घोचपेच गर्छे । काहिँली आमा गाउँ फर्कने वेलामा पार्वतीलाई नोटको बिटो निकालेर दिन्छिन् । पछि पैसा गन्दा रविचरणको एक महिनाको तलबभन्दा पनि बढी भएको पाउँछिन् । पैसा पाएपछि पार्वतीलाई पहिलेको व्यवहारमा पश्चात्ताप हुन्छ । यसरी यसमा पार्वतीपात्रलाई असहिष्णु, असहयोगीका रूपमा उभ्याइएको छ र अन्त्यमा उसको स्वभाव परिवर्तन गराइएको छ । ‘म किन असहिष्णु बनेँ ? मैले किन धैर्य गर्न सकिनँ ? मान्यजनमाथि किन अभद्र व्यवहार गरेँ र अपाच्य बोली बोलेँ ?’ यसै वाक्यलाई कथाकारले कथाको दृष्टिविन्दु बनाएका छन् यस कथामा ।

‘मृत्युपछिको विवाह’ नौलो कथाका रूपमा देखा पर्दछ । यथार्थका धरातलमा नपुगी हल्लैहल्लाका पछि लाग्ने नेपाली समाजको वास्तविक चित्र यसमा उतारिएको छ । कथाका अनुसार बडीगाड नदीले बगाएर ल्याएको शवलाई पहिचानको क्रममा अलि दिमाख ठीक नभएको सल्लेगाउँको तारे कान्छोको भएको निचोड निकालिन्छ । गाउँले र परिवार बोलाएर क्रियाकाज सुरु गरिन्छ । नवौँ दिनका दिन तारे कान्छो जीवित रहेको हल्ला फैलिएर क्रियाकार्य स्थगित हुन्छ । खोजखबर गर्दा मृतक भनिएको मानिस भेटिन्छ र शास्त्रानुसार पुनर्जन्म, शुभ उपनयन र विवाह संस्कारसमेत गरी पुनः विवाह गराइन्छ । यसरी कौवाले कान लग्यो भन्दा कान नछामी कौवाका पछि लाग्ने समाजलाई दृश्यमा ल्याइएको छ । कुनै पनि कुरामा गहिरिएर सोचविचार पुर्याएपछि मात्र काम गर्नुपर्छ भन्ने कथाको निचोड रहेको देखिन्छ ।

‘अहङ्कारको विसर्जन’ कथामा नारीहठ देखाइएको छ । घाँटी हेरेर हाड निल्नुभन्दा देखासिकीमा हिँड्ने नेपाली नारीको चरित्र स्पष्ट पारिएको छ । सुदूरपश्चिमको आरूढ र सुदूरपूर्वकी लतिका प्रणयसूत्रमा बाँधिन्छन् । जागिर खाँदै आफ्ना पढाइ अघि बढाउँछन् । पछि बालबच्चाको खर्च र अरू दैनिक खर्च धान्न मुस्किल हुन्छ । स्नातकोत्तर गरेको आरूढ प्राध्यापन पेसामा लाग्छ । आफ्नो माइतीको घर देखेर घर नभएकामा पतिलाई लतिका पिरोल्छिन् । बाध्य भएर आरुढले ऋणधन गरी घर किन्छ । छोरीको विवाह सजिलोसँग भयो तर छोरो लतेश आफूले मन पराएकी केटीलाई जीवनसाथी बनाउन चाहन्थ्यो । लतिका यसमा अवरोधक भएर उभिन्छिन् । अन्त्यमा लतेश आफ्नो भनाइमा दृढ भएर मन परेकी केटी भित्र्याउँछ । श्रीमतीको भनाइ मान्दै लतेश छुट्टै बस्न थाल्छ । प्रेम सबैभन्दा ठूलो कुरा हो । प्रेममा तगारो लागेमा पारिवारिक सम्बन्ध बिग्रिन्छ । जतिसुकै घमण्ड गरे पनि अन्तिममा पतिपत्नी मात्र जीवनसाथी रहन्छन् भन्ने कुरा एकातिर छ भने अर्कोतिर पुस्त्यौली मानसिक परिवर्तन या भिन्न अवस्था पनि यसमा ध्वनित हुन्छ ।

‘त्रास’ शीर्षकबाट नै कथाको विषय अनुमान गर्न सकिन्छ । कोरोना कहरको कहालीलाग्दो अवस्थाको चित्रण गरिएको यो कथा मार्मिक परिवेशमा उभिएको छ । कोरोनाले विश्वमानव समुदायमा उत्पन्न गराएको त्रासदीपूर्ण वातावरणको चित्रण छ यस कथाभरि । मानिससित मानिस डराउने, एकले अर्कोलाई नछुने, घरकै मानिस कोरोना हुँदा पनि कसैले कसैलाई नहेर्ने खालको कोरोना विज्ञानलाई समेत चुनौती दिएर उभियो । विश्वका लाखौँ मानिस मृत्युका मुखमा पुगे । लकडाउन गरियो । दैनिक उपभोग्य सामानसमेत अभाव देखियो । यिनै घटना र परिवेशलाई आफ्नो विषय बनाएका छन् कथाकारले यस कथामा । मानिस कोरोनाबाट बच्ने उपायका रूपमा कथाकारले भगवान्लाई केही वाक्य हेरौँ–‘भगवन् ! तपाईंमा विष पचाउने शक्ति भएजस्तै मलाई पनि कोरोना पचाउने शक्ति दिनुहोस् ।’ यो नै कथाको सार वाक्य पनि हो ।

‘आतङ्ककारी डाँगाहरू’ मा पशुविम्ब उतारिएको छ । पशुमा पनि यौनेच्छा तीव्र रूपमा रहेको हुन्छ भन्ने कुरा देखाइएको छ । थुप्रै डाँगाहरू एउटी कुकुर्नी ज्याकीसित झुम्मिएर यौनेच्छा पूरा गरेको प्रसङ्ग यस कथामा देखिन्छ । ढोका लाउँदासम्म पनि कुकुर डाँगाहरू नभागेको प्रसङ्ग उल्लेख गरेर कथाकारले यौनवर्णनलाई स्वाभाविकता दिएका छन् । मानिसको जस्तै पशुको पनि  बलात्कार विरुद्धको कानुन बनाउनु पर्छ भन्दै कथाकार यहाँ पशुअधिकारकर्मीका रूपमा देखा पर्दछन् ।

‘अकस्मात्’ कथा सपना र विपनालाई तुलना गरिएको कथा हो । सपनाजस्तै विपना पनि भए हुने थियो भन्ने परिकल्पना गरिएको कथा हो यो । सपनामा आफू मारिएको-मरेको पनि आफैले देख्न सकिने, देवतासँग बोल्न सकिने, राक्षससित पनि लड्न सकिने, राजसिंहासनमा पनि बस्न सकिने, आकाशमा उड्न सकिनेजस्ता चमत्कारिक कार्य सम्भव रहन्छन् । विपना सपनाजस्तो सहज छैन । विपनामा शोषणका जाल फिँजाइएका छन् । विश्वासघातका चक्रव्यूहमा फसाइएको छ । दमनका जाँता घुमेका छन् । लडाउने, खसाउने, पिरोल्ने, बिरोल्नेहरूका बिगबिगीले विपना रन्थनिएका छन् । गफले गुड्डी हाँक्ने, कामका नाममा सिन्को नभाँच्ने मानिसप्रति आक्रोश यस कथामा पोखिएको छ । सर्व अनुभवका लागि सपनाजस्तै विपना होस् भन्ने कामना गरिएको छ । अहिलेको समाजलाई व्यङ्ग्यको झापड पनि यस कथाले दिएको देखिन्छ ।

‘मर्ने डर’ पनि कोरोनाको त्रासदी विषयक कथा हो । बन्दाबन्दीपछि केही खुकुलो बनाइएको परिवेश कथामा छ । कथाभरि सबैतिर त्रासमय वातावरण देखाइएको जुन यथार्थमा आधारित पनि हो । बाटामा छिट्पुट रूपमा मात्र मानिस देखिने, माक्सले मुख ढाकेर मानिस छोइन्छ कि भन्ने त्रासले मानिस आफै मानिससँग सतर्क भएर हिँडेको वास्तविक चित्र यसमा उतारिएको छ । मरिन्छ कि भन्ने त्रासले मान्छे ज्यादै भयातुर भएका संवेदनात्मक दृश्यचित्र पनि यसमा छन् । यसकै सेरोफेरोमा यो कथा निर्मित भएको छ ।

‘सर्वोत्तम उपहार’ साहित्यकै विषयमा उभिएको कथा हो । शुरुका दिनमा राष्ट्र बैङ्कमा काम गर्दाका हाकिम बाटामा भेटेको र उनले लेखकको प्रशंसा गरी घरमा आएर प्रकाशित कृति किनिदिँदै सौहार्दता देखाएको रोचक प्रसङ्गको कथा हो यो । एउटा साहित्यकारका लागि यो सुखद अवसर हो र सर्वोत्तम उपहार पनि भन्ने कुरा यस कथामा उजागर भएको छ ।

‘चोर ! चोर !! चोर !!!’ कथामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउने युवाहरूको भीडको चर्चा गरिएको छ । युवाहरूको विदेश पलायनको डरलाग्दो चित्र नै यस कथाको मर्म हो । रोजगारीका अभावमा लागुऔषध दुर्व्यसनका सिकार भएका युवाहरू चोर, पकेटमारा बन्दै गएका शहरी जीवनको यथार्थता यसमा प्रस्टिएको छ । महानगरपालिकाको अकर्मण्यताले सडकमा शौचालयको उपयुक्त व्यवस्था नहुँदा सडकमै दिशापिसाब गर्न विवश असभ्यपनलाई वा वातावरणलाई यसमा झल्काइएको छ । समाजकल्याणका नाममा छुट्टै मन्त्रालय र थुप्रै गैरसरकारी संस्थाहरूले काम गरे पनि माग्नेहरू, सडक बालबालिकाका अवस्था भने जस्ताका त्यस्तै रहेका छन् । यिनै सन्दर्भलाई कथाले देखाउँदै समाधानका बाटामा गए राम्रो हो भन्ने सन्देश दिएको छ । बाँच्नका लागि दुईचार रुपियाँ जम्मा गर्दा पनि ट्यापेहरूले दुःख दिएको अपाङ्ग-माग्नेको मार्मिक अवस्थाको चित्रण यसमा रहेको छ ।

‘आशङ्का’ कथा साहित्यकै वरिपरि घुमेको कथा हो । साहित्यकारहरू जीवित अवस्थामा सम्मानित-पुरस्कृत हुँदैनन् । मरेपछि महान् भन्ने समाजमा हुर्किएको साहित्य संसारमा आफूले मान-सम्मान पाएको, ख्याति बढेको, अन्तरवार्ता छापिएको र रथारोहणसम्म गर्ने, अभिनन्दन पनि गर्ने कुराले आफू मृत्युनजिक पुगेको त होइन भन्ने आशङ्का व्यक्त गरेको पाइन्छ । यस कथामा राज्यले साहित्यकारप्रति गरेका व्यवहारमाथि व्यङ्ग्य प्रहार गरेको छ ।

‘म सिडियो छँदा’ मा एउटा सेवानिवृत्त निजामती कर्मचारीको प्रवृत्ति उजागर गराइएको छ । आफूले गरेको भन्दा बढी बखान गर्ने आफ्नै प्रशंसामा मात्र रमाउने पात्र यस कथामा खडा गरिएको छ । आफू फलाना जिल्लामा सिडियो हुँदा फलानालाई सहयोग गरेको, फलानो जिल्लामा हुँदा तिलानालाई सहयोग गरेको भन्दै सबैलाई चिनेको र सबैलाई सहयोग गरेको सिडियो जयराम यसमा ओकल्छन् । बुढेसकालमा कुरा सुन्ने मानिस भए उनीहरू कसरी स्वच्छन्द आत्मबखानमा उड्छन् भन्ने भाव यहाँ उतारिएको छ । आफ्नो सेवाप्रति सन्तुष्टि पनि देखाइएको छ ।

‘बेइमान’ कथा शीर्षकबाटै स्पष्ट हुन्छ । इमानदार मानिसहरू बेइमानबाट कसरी प्रताडित हुन्छन् ? सहयोगका बदलामा उल्टै आफूलाई कसरी बेइमानहरूले जालमा फसाउँछन् भन्ने सामाजिक यथार्थको पर्दा खुला गरिएको छ । विश्वासका भरमा मात्र व्यावहारिक रूपमा काम गर्दा अनेक व्यवधानहरू आउने भएकाले कानुन अनुसार केही प्रमाण राख्नुपर्छ भन्ने भाव कथाले व्यक्त गरेको छ । कथामा लक्ष्मीकान्तलाई इमानदार नैतिक पात्रका प्रतिनिधिका रूपमा उभ्याइएको छ । सहयोगी भाव रहेका लक्ष्मीकान्त आफूसितै पढेको, एउटै सङ्गठनमा काम गरेको कटकलाई सहयोग गर्दा पैसा तिर्नुको साटो उल्टै लक्ष्मीकान्तले नै कसैलाई विदेश पठाउन तीन लाख रुपियाँ सापट लगेको भनेर कठालो समातेर पैसा लिने बताएपछि उनलाई इज्जतको डर हुन्छ र उनी कटकसित पैसा माग्न छाडिदिन्छन् । आफ्ना नजिकका मानिसहरूबाट नै मानिस ठगिन्छन् । व्यवहार गर्दा विचार पुर्याउनुपर्छ भन्ने सन्देश कथाले प्रवाह गरेको छ ।

‘नसियत’ कथा निजामती सेवाकै सेरोफेरोमा अघि बढेको कथा हो । एउटा इमानदार कर्मचारीले सहयोग गर्दा, सद्भाव देखाउँदा आरोपित भएर सजायको भागी हुनुपरेको प्रसङ्ग यसमा छ । नागरिकताको प्रमाणपत्र र राहदानीका लागि समेत नेपाल सरकारको राजपत्राङ्कित अधिकृत कर्मचारीको सिफारिससहितको दस्तखत आवश्यक भएको समयमा कर्णाली अञ्चलको मुगुबाट आएको प्रेमसिंह शाहीको अनुनयविनयपछि सिफारिस गर्दा अधिकृत रमण शर्माले नसियत बेहोर्नुपरेको प्रसङ्ग यहाँ उल्लेख गरिएको छ । बुझ्दा नागरिकता ठीक भएको पाइए पनि नचिनेका मानिसलाई सिफारिस गरी राहदानी उपलब्ध गराएबापत नसियत पाउनाले सतीले सरापेको मुलुक भन्ने भनाइ चरितार्थ भएको छ ।

‘छाता’ कथा असल मित्रताको परिचयात्मक कथा हो । यस कथामा दुई जना आत्मीय मित्र पात्रको रूपमा उभ्याइएका छन् । एउटै कक्षामा अध्ययनरत पदम र निर्मल समाजमा केही गरेर देखाउन चाहन्थे । पढाइको फलामे ढोका निर्मलले सजिलैसित पार ग¥यो तर पवनले पटकपटकको प्रयासमा पनि सफलता पाउन सकेन । निर्मल स्नातक गरेर बैङ्कर बन्यो र उसले सहुलियत ऋण उपलब्ध गराएर पवनको आर्थिक अवस्था उकास्ने काम गरी प्रचण्ड गर्मीमा छाताको जस्तै शीतलता प्रदान ग¥यो, गरायो । बेइमान कथाको ठीक विपरीत पात्र यसमा देखाइएको छ ।

‘अर्थात् उनी’ कथामा एकजना साहित्यकारप्रति समाजले गरेको व्यवहारमा चिन्ता व्यक्त गरिएको छ । एउटा लेख सम्पादन गर्न शिरोमणि शर्माले रमण शर्माको फोनमा गरेको व्यवहार, घरमा पुगी किताब र प्रमाणपत्रहरू देख्दा केही झस्किए पनि नेपाल सरकारको द्वितीय श्रेणीका कर्मचारीबाट सेवानिवृत्त भएको बताएपछि उसको व्यवहारमा आएका भिन्नताले नेपाली साहित्यकारहरूका इज्जत, प्रतिष्ठा दयनीय अवस्थामा रहेको बोध हुन्छ ।

मानिस बाहिर जतिसुकै सुखी देखिए पनि भित्र असन्तुष्टि रहे भने अशान्ति निम्तिन्छ । ‘ताप’ कथाकी निर्मलाको अवस्था यसै खालको देखिन्छ । श्रीमान् श्रीमती दुवै सेवारत छन् । परिवारमा एउटी छोरी र एउटा छोरो मात्र । बाहिरबाट हेर्दा रहरलाग्दो छ परिवार । अर्पणा, निर्मलाको अनुहारमा बादल लागेको कुरामा चिन्तित हुँदै अनेक यत्न गरी किनको उत्तर पत्ता लगाउँछिन् । एउटी छोरी भए पुग्ने लोग्नेको विचारमा निर्मला छोराका लागि जिद्दी गर्छिन् । छोरो जन्मियो तर अपाङ्ग भयो । लागू औषधको दुर्व्यसनी भयो । छोरीले आफ्नो भाग खोसिएको सोची । आमाप्रति उसको शत्रुतापूर्ण व्यवहार शुरु हुन थाल्यो । छोरीको व्यवहार, छोरोको अवस्था आदिले पारिवारिक सुख हुँदैन । निर्मलामा अशान्ति र झगडाको ताप एवं रापले मन पाक्न लाग्यो । पारिवारिक सुखविना सम्पन्नताको कुनै अर्थ रहँदैन भन्ने भावमा कथा टुङ्गिएको छ ।

उमेरले नेटो काटे पनि मानिसको मन भने युवा नै रहने अर्थात् तन बूढो भए पनि मन बूढो नहुने भन्ने भनाइ गुप्ताको गुप्त चेतनाले देखाएको छ । यस कथाका पात्र मुरलीधर गुप्ता भारतीय नागरिक हुन् । ‘गुप्ताको गुप्तचेतना’ उमेरले चारबीस हिउँद काटिसकेका गुप्ता अहिले पनि सक्रिय छन् । सेवा निवृत्त भए पनि योजना लिएर आफूलाई क्रियाशील गराइराखेका छन् । जीवन सङ्गिनीको निधन भइसकेका गुप्ता अत्यन्त रसिक छन् । घरमा काम गर्न आउने सहयोगी महिलाबाट उनी यौनचाहना पूरा गर्छन् । अनेक यौनवर्धक औषधी सेवन गर्ने, दोहोरी साँझ, डान्सबार, त्यस्तै अन्य रमझममा पुगेर उनी मनोरञ्जन लिइरहेका हुन्छन् । त्यस्तै समाजको डरले, इज्जतको डरले त्यस्ता कार्य गर्न डराउनेहरू पनि गोप्य रूपमा भने गइरहेका देखिन्छन् । हरेक मानिसमा यौनचाहना रहेको हुन्छ भन्ने कुरा कथामा कथाकारले स्पष्ट पारेर देखाएका छन् ।

‘ती दुई डाक्टर’ कथामा नेपालका स्वास्थ्यक्षेत्रमा सेवाभावको अभाव देखाइएको छ । चिकित्सकहरूका कमाउधन्दा, अस्पतालहरूमा व्यापारीकरण गरेका राम्रा दृष्टान्त ‘ती दुई डाक्टर’ कथामा देखाइएको छ । एक ठाउँमा जाँचेको अर्कालाई नहुने, अनेक परीक्षणका नाममा बिमारीलाई हैरानी दिने, रोगको पहिचानै नगरी अनेक औषधी दिएर स्वास्थ्य मानिसलाई समेत बिरामी गराउने नेपाली डाक्टरका चरित्र यस कथामा उदाङ्ग बनाइएका छन् ।

‘भिनाजुको टाँक’मा एक जना सत्तरी वर्षीय ग्रामीण व्यक्तिको मनस्थितिको चित्रण गरिएको छ । बसमा टाँक छिनेपछि टाँकको चिन्तामा उनी रुमल्लिन्छन् । टाँक किन्न जाँदा पनि सही ठाउँ कसैले नदेखाउने कसैको फोन पनि नभएका उनी काठमाडौँमा बसेका आफ्ना मानिसहरूका घर घर पत्ता लगाउन नसकेर हैरानीमा परेका छन् । शहरमा आएर पाहुना लाग्ने प्रवृत्ति र शहरमा बस्नेहरू आत्मकेन्द्रित हुँदै गएका यथार्थ घटना यस कथामा उल्लेखित छन् ।

‘धर्मयुद्ध’ कथा पौराणिक कथा हो । महाभारतको युद्धमा सत्यको विजय अर्थात् पाण्डवपक्षको विजय हुनु आफैमा विस्मयकारी कुरा हो । भीष्मपितामहजस्ता महान् योद्धा, जसको मृत्यु आफ्नै चाहनामा थियो । उनी अर्कातिर भएर पनि पाण्डव पक्ष विजयी हुनु आफैमा विस्मयी हो । यिनी सामुमा रहुञ्जेल कुनै अन्यको जीत नहुने बुझेका कृष्णले उनैसँग मृत्यु बुझ्न पाण्डवलाई पठाउँछन् । यस बुझाइमा आफू नररूप नभएकासँग नलड्ने कुरा बताएर सिखण्डी युद्धको अग्रपङ्क्तिमा राख्ने सुझाएपछि अर्जुनका बाणशैयामा भीष्म सुत्छन् र सत्पक्षको विजय सम्भव हुन्छ । यो कथा पौराणिक महाभारतीय कथा हो । महाभारतकै प्रसङ्ग टपक्क टिपेर मात्र वर्णन गरिएको छ । यस कुरालाई आधुनिक पात्र, परिवेश र घटनाबाट देखाइनुपर्ने थियो, यही रूपमा यो कथा नराखिएको भए हुन्थ्यो भन्ने आभास कथा पढ्दा पाठकमा हुन सक्छ ।

‘खपतरी बस्नेतको भाषण’ आफ्नो थरप्रति गर्व गर्ने ड्राइभरलाई उभ्याएर नेपालका सडक मर्मत सम्भारको अभावमा खाल्डाखुल्डी अवस्थामा पुगेका, अव्यवस्थाका कारण सडकजाम भएर गन्तव्यस्थल पुग्न महाभारत हुने अवस्था यसमा देखाइएको छ । ट्राफिक नियम कडाइका अभावमा सडकमा खसीबोका हिँडाएर दुर्घटना हुने अवस्थालाई राम्ररी उद्घाटित गरिएको छ । ड्राइभर पनि सर्वज्ञाता भएर सबै विषयका कुरा गर्न जान्ने भन्दै अहिलेको नेपाली समाजको सोचप्रति व्यङ्ग्य गरिएको छ ।

‘पल्लो घरको झ्याल’ कथामा बाहिर बाहिर सुकी जा भित्र भित्र कुही जा भन्ने भनाइ चरितार्थ भएको छ । बाहिर हाँसे पनि भित्रभित्रै अशान्ति छाइरहने अवस्थाको चित्रण यस कथामा सर्वत्र भेटिन्छ । झ्यालमा प्रकाश ल्याएर उज्यालो दिन्छ । झ्यालले आनन्दको सञ्चार गर्न चाहन्छ । समीपता देखाउन चाहन्छ । दिउँसो सबै रमाएको देखिए पनि राति झ्यालबाट अशान्तिको कर्कश स्वर गुञ्जिएर नमीठो वातावरण बन्छ । त्यस घरकी गृहिणी पतिलाई सधैँ नमीठो बोलेर सताइरहन्छिन् । बाहिर र भित्रका फरक अवस्था यहाँ छुट्याइएको छ । सबै घरका झ्यालहरूका कथा व्यथा यिनै हुन् ।

‘त्यो खबर’ कथा पनि मृत्युपछिको विवाहजस्तै कथा हो । यसमा पनि रामप्रसाद पन्तको मृत्युको समाचार छापियो तर कुनै समवेदना श्रद्धाञ्जलीसम्म नदेखिएको कुरा लेखिएको छ । यस कथामा एउटा प्रसिद्ध साहित्यकारलाई नेपाली समाजले कसरी हेर्छ भन्ने तथ्य देखाइएको छ । एउटा दङ्गामा अर्कै रामप्रसाद पन्तको मृत्यु भएको वास्तविकतासँगै कथा टुङ्गिन्छ । मृत्युपछिको विवाहजस्तै भावमा यो कथा पनि संरचित छ । तारे कान्छाको मृत्युको हल्लामा उसको काजक्रिया गरिरहँदा एकाएक जीवितै रहेको पत्ता लागेपछि पुनर्जन्म, न्वारन, शुभउपनयन र विवाहजस्ता कार्य हुन्छन् । त्यस्तै साहित्यकार रामप्रसाद पन्तको मृत्यु पनि असत्य भएको प्रमाणित हुन्छ । यथार्थमा पुगेर मात्र केही कुरा बोल्न, केही कुरा गर्न र केही भन्न सुझाएको छ कथाले ।

‘रापभित्र’ कथा आगोसँगको संवादमा अघि बढ्छ र आगाकै सेरोफेरोमा सकिएको छ । यस कथामा परिवारका, समाजका, वातावरणका शासनव्यवस्थाका तमाम कुराहरूलाई सङ्केत गरिएको छ । सबैलाई कर्तव्यबोधको पाठ पढाइएको छ । वर्तमान समाज तापिलो होइन, रापिलो बन्दै गएको यथार्थ देखाइएको छ । संसारका शक्ति सम्पन्न राष्ट्रहरूले निर्धा राष्ट्रहरूमाथि युद्धको राप दिएका छन् । घरमा पनि बेमेलको राप छ । समाजमा शोषणको राप, शासनमा शासनाको राप छ । अस्तित्वबोध गराइएको छ । प्रकृतिप्रतिको सम्मानभाव समेत देखाइएको छ ।

अस्तित्वको रक्षा लरतरो छैन । अशान्ति छ । अव्यवस्था छ । सामाजिक विचलन छन् । दण्डको राप छ । परिवारमा पतिपत्नीमा राम्रो मको मपाइँत्वपूर्ण प्रदर्शनले पारिवारिक अशान्ति छ । सबैतिर तापको न्यानो होइन, रापको उग्र जलनले बलेको छ भन्नेसमेत उल्लेख छ ।

घरको आत्मा भनेको घरपति हो । जतिसुकै आलिसान महल भए पनि घरको मानिस अनैतिक, भ्रष्ट र बेइमान भए घरको महत्त्व आम मानिसलाई हुँदैन । यदि घरको धनी सच्चरित्रवान्, नैतिक र इमानदार छ भने छाप्रो पनि आम मानिसका लागि सुन्दर बन्छ, महल बन्छ । कथाको कुरोको चुरो यही हो । जीवनयात्रामा दुखैदुखको पहाड बनेका व्यक्तिको कथा हो यो । पितृत्वको मायाबाट किशोरावस्थामै वञ्चित, पत्नी र छोरा पनि गुमाएका व्यक्तिजीवनमा निराशातिर नगई अध्ययन पनि बढाउँदै विद्यावारिधि गरी प्राध्यापक बने अनि साहित्यको अध्ययन गरी शिक्षित महिलासित विवाह सम्पन्न गर्दै सुखद पारिवारिक अवस्था बनाएका जीवनसँग पलायन भएपछि त्यो घर पहिलेजस्तो रहँदैन । कसैले महत्त्व दिँदैन त्यस घरलाई ।

‘चङ्खेको चुरीफुरी’ मा निजामती सेवाको वास्तविक तस्वीर उतारिएको छ । यसमा चङ्खेको अनुदार चरित्र देखाइएको छ । कर्मचारीहरूलाई पेलेरै काम लगाउन चाहने चङ्खे उनीहरूलाई कुनै सुविधा दिँदैनथे । पत्र लेख्दा, टिप्पणी उठाउँदा कुनै न कुनै खोट देखाएर उनी कर्मचारीलाई त्रसित बनाउँथे । तल्ला पदका कर्मचारीका लागि आएका विदेशभ्रमणका सिटमा पनि आफै उड्थे । भोलि सेवानिवृत्त होइन्छ भन्ने कुनै चेत नभएका चङ्खेजस्ता पदीय उन्माद भएका हाकिमका निरङ्कुशता यसमा उल्लेख छन् ।

‘समाजसेवा’ व्यङ्ग्यात्मक कथा हो । सन्तानविहीन एक व्यक्तिका लागि समाज नै सबै हो । आफ्ना लागि संसारमा भएका सबै मानिस सन्तानका रूपमा देखिन्छन्, ऊ ठान्छ । आफ्नै कमजोरीका कारण सन्तान नभएको ठान्छ । श्रीमती गर्भिणी बनेको र औषधीका नाममा या बहानामा डाक्टरको समाजसेवा रहेको उल्लेख यस कथामा भएको भेटिन्छ । बच्चा डाक्टरी औषधीका कारणले नभई डक्टर स्वयंका कारण भएको आभास श्रीमान्लाई हुन्न ।

‘यो कथा होइन’ कथा कथाकारको वास्तविक कथा हो । २०७२ सालको प्रलयकारी भूकम्पपछिको डरलाग्दो अवस्थामा छिमेकी डाक्टरले जग कपेर घरको जग नै बिग्रेका वेलामा बालुवा खोज्न जाँदा नभेटिएपछि एक घर बनाउँदै गरेका तराईवासी नागेन्द्रबाट प्राप्त सहयोगको कथा यसमा छ । देवकोटाले भनेझैँ मानिस ठूलो जातले हुँदैन भन्ने कुरा यसमा देखाइएको छ । पहाडिया डाक्टर र मधिसे नागेन्द्रको तुलना कथाले गरेको छ ।

‘तरङ्गित अन्तरङ्ग’ कथामा घरमा काम गर्ने सहायक केटीप्रति प्रेमभाव उम्लिएको छ । परिवार र समाजका इज्जतको डरले बाहिर भन्न नसकेको भए पनि भित्रभित्रै भावना गुम्सिएको विषय छ यस कथामा । अहस्तक्षेपकारी नेपाल र भारतको सम्बन्ध सुमधुर हुनुपर्ने, सानातिना कुरालाई आधार बनाएर सम्बन्धमा आँच आउन दिन नहुने कुरा यसमा अभिव्यक्त छ । रोटीबेटीका सम्बन्ध हुने छिमेकीहरूमा मित्रताभाव रहनुपर्छ भन्ने यसमा देखाइएको छ ।

‘अभिनन्दन’ कथामा मृत्युका नजिकै पुगेका नेताको अभिनन्दनको प्रसङ्ग रहेको छ । उनका अवगुणलाई बिर्सेर गुणैगुणको बखान गर्दै उनले पछ्याएको बाटो, उनको निष्ठा, त्याग र तपस्याको बयान गरिएको छ । अभिनन्दन स्थलमै उनको इहलीला सकिएको उल्लेख गरेर यो कार्य अन्तिम समयमा गरिने होइन भन्ने सन्देश यसमा दिइएको छ ।

‘निर्देशन प्रज्ञापन’ कथामा मन्त्री परिवर्तन भएपछि कर्मचारीहरूलाई दिने निर्देशनप्रतिको दृष्टिविन्दु लक्षित छ । नेताहरूले कर्मचारीतन्त्र सेवामुखी, जनमुखी र उत्तरदायीपूर्ण हुनुपर्ने कुराका सुगारटाइप्रति व्यङ्ग्य गरिएको छ ।

‘कोकोहोलो र मौनता’ जन्मदिनजस्ता जीवनका महत्त्वपूर्ण दिनहरू मनाउने कुरामा परम्परा, आफ्नापन मेटिँदै गएर पश्चिमी प्रभाव बढेकाप्रति चिन्ता व्यक्त गरिएको छ । केक काट्ने, मैनबत्ती निभाउनेजस्ता कार्य हाम्रा होइनन् भनिएको छ र हिन्दुपरम्परा अनुसार मनाउन सङ्केत गरिएको छ ।

‘ऊ के थियो’ कथामा एक जना भारतीयले पशुपति मूलद्वारमा गुह्येश्वरी जाने बाटो देखाउँदा छु«िट्टने वेलामा गरेको व्यवहारलाई ऊ के थियो ? भनिएको छ । यसमा एउटा समलिङ्गी व्यक्तिलाई उभ्याइएको छ ।

‘कृतज्ञता र कृतघ्नता’ पनि निजामती सेवाकै कथा हो । यहाँ चाकरीचाप्लुसीको पराकाष्ठा देखाइएको छ । चौबिसै घण्टा हाकिमकै वरिपरि जस्तो रहने र तिनका घरायसी काममा सहयोग गर्ने व्यक्ति सुदर्शनले लिनुजति फाइदा लिएर पनि उनको मृत्युमा भने कुनै चासो नदेखाएको कृतघ्न प्रवृत्ति उजागर गराइएको छ । स्वार्थीपनको पर्दा उघारिएको छ ।

यसरी रामप्रसाद पन्तले समाजका यथार्थ घटना र समसामयिक विषयलाई कथात्मक स्वरूप दिएका देखिन्छन् । प्रथम र तृतीय पुरुष पात्रका रूपमा लेखिएका उनका कथाहरू सरल, सहज र स्वाभाविक रूपमा पाठकमैत्री कथाका रूपमा देखिन्छन् ।

समग्रमा भन्दा पन्तका कथामा सामाजिक यथार्थ, समसामयिकता, राजनैतिक चेतना, सामाजिक नैतिकता, पारिवारिक उल्झन, साहित्यिक सन्दर्भहरू र निजामती सेवाका विविध पक्षसँग सम्बद्ध रहेका पाइन्छन् । प्रथम र तृतीय पुरुष शैलीमा लेखिएका कुनै कुनै विषयमा भने एउटै भावका कथा दोहोरिए पनि अधिकांश कथाहरू सरल, सहज र स्वाभाविक छन् । शीर्षक चयन, घटना, परिवेश र पात्रको उपस्थिति पनि स्वाभाविक देखिन्छ । यस कथासङ्ग्रहका कथा शुरुका कथाप्रवृत्तिमै वा मूल्य र मान्यतामै निखार आएका पाइन्छन् र कथाकार पन्त समकालीन कथाकारहरूका बिचमा मैनाली, विश्वेश्वर र रमेश विकलका पथमा आफ्नो छुट्टै पहिचान देखाउन सफल भएको स्पष्ट परिलक्षित हुन्छ ।

तसर्थ पन्तका समस्त कथाहरू आयामिक दृष्टिकोणबाट कुनै अत्यधिक लामा र मझौला आकारका देखिन्छन् । यिनका कथामा भाषिक सरलता, वैचारिक गहनता, व्यवहारिक यथार्थता, करुणा, संवेदाना सम्प्रेषणीयता, सामाजिक सुन्दरताजस्ता विशेषताले कथालाई मार्मिक पृष्ठभूमिमा समेत उभ्याएका छन् । अग्रज कथाकार मैनाली, विश्वेश्वर र रमेश विकललाई आदर्श मान्दै अघि बढेका उनका कथाहरू समकालीन कथाकारमाझ सशक्त रूपमा देखा पर्छन् । आफ्नो छुट्टै शैली, आफ्नै पनमा देखा परिरहेका प्रस्तुत कृतिका आधारमा रामप्रसाद पन्तको यो कृतिलाई नेपाली आख्यान क्षेत्रमा खास प्राप्तिको रूपमा लिन सकिन्छ ।