कविताको मानक के हो, दुर्बोध वा सरल ? यो बहस आजबाट सुरु भएको होइन, कविता (काव्य) को दर्पण भए बाटै हो । नेपाली भाषामा लेख्य वाङ्मय वि.सं. १४५७ तिरको ‘भास्वती टीका’देखि आजको समसामयिक युगसम्म आइपुग्दा सबैभन्दा पुरानो विधा कवितामा आआफ्नै खाले भाष्यहरू निर्माण हुँदै आएकै हुन् ।

२०३६ सालदेखि सुरु भएको समसामयिक युगको उज्यालो पक्ष भनेकै कवितामा पनि आख्यानीकृत कथनले प्रविष्टि पाउनु हो । कविले मनोलापको अभिव्यक्त गरे पनि आख्यानीकरण गरी भावकप्रति सम्बोधित गर्छन् । समसामयिक युगमा यथार्थवादी धारालाई आत्मसात गर्नु काव्यको शक्ति हो । यही शक्ति बोकेका कविमध्ये पर्छन्, धरानका कवि इन्दु नेपाल योञ्जन । योञ्जनको हालै प्रकाशित ‘अन्तिम सेलो’ले वर्तमान युगको आवाजलाई मुखरित गरेको छ । दुई खण्डमा विभाजित कृतिमा देशकाल वातावरण, परिवेश, समाजका विकृति, विसङ्गति, राजनीतिक दलहरूप्रति आक्रोश, व्यङ्ग्य गर्दै स्वास्थ्य क्षेत्रमा देखिएको विकृति, व्यापारी–व्यवसायीमा देखिएको नाफाखोर प्रवृत्तिप्रति तीव्र व्यङ्ग्य गरेका छन् । उनका अन्तिम सेलोले तामाङ भाषाको सेलोलाई मात्रै उजागर गरेको छैन । आन्तरिक लयबद्ध सेलोले अरूको अस्तित्व र पहिचान स्वीकार नगर्ने राज्यलाई डम्फु बजाई उठाउने प्रयास गरिएको छ । जगाउने प्रयास गरिएको छ ।

अन्तिम सेलाे

अन्तिम सेलाे

कविता क्रमअनुसार ‘सेमला माया र तक्मारे’भित्र १६ वटा कविता समावेश गरिएका छन् भने ‘जीवन र जगत्’ भित्र २४ वटा कविता समावेश छन् । कुल ४० वटा कविता समेटिएको कविता कृतिको पहिलो खण्डका कविताले माया, प्रेम, सुख, दुःख, जीवनका आरोह–अवरोह, सीमाका पीडालाई उतार्न खोजेको छ । सूचना प्रविधिको युगमा कस्मेटिक बनेको मायाप्रेमलाई उनी भने आदर्श बनाउन चाहन्छन् ।

तिम्रो नाम
मुटुमा अमर हुने गरी रोपेर
मृत्युको यात्रामा निस्कनु छ । (पृ. १९)

प्रेममा आदर्श पात्र बनेका मुनामदन, लैलामन्जनु जस्तै आफूलाई मृत्युमा समाहित गरेर पनि प्रेमिकाको नाम मुटुमा टाँस्न चाहन्छन् । अभिधात्मक शब्दशक्तिको माध्यमबाट प्रतीक र बिम्बको प्रयोग पनि सुन्दर ढङ्गले गरेका छन् । कविको कल्पनशीलता यथार्थको धरातलमा तैरिएको छ । ग्रामीण जीवनशैली, मेलापात जस्ता वस्तुवादी यथार्थलाई उतार्न सफल मानिएका छन् । प्रतीकविधान र बिम्बविधान पनि यथार्थपरक छन् । उपमा अलङ्कारको प्रयोगले कविको कवित्व उजागर भएको छ ।

मकै गोड्दै
वैशाखे मेला 
आउने दिन गन्दै
मुस्कुराउँछे डोल्मा
माथि कोक्सा गडको टुप्पोमा
फुलेको गुराँसजस्तै । (पृ. २३)

डोल्माको मुस्कानलाई गुराँसको फूलसँग तुलनीय गरेर कविले प्रतीकलाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । यहाँ कठिन परिश्रम गरिरहेकी डोल्माले वैशाखे मेलामा आफ्नो प्रिय थेबा आउने सपना बुनेकी छन् अनि गुराँसजस्तै मुस्कुराएकी छन् । जुन मुस्कानलाई कविले सादृश्य गर्दै पाठकसामु प्रस्तुत गरेका छन् । सरल तथा सरस हुनु उनको कविताको अर्को शक्ति हो । उनका कविता न त मोहन कोइरालाको फर्सीको जरा जस्ता लाग्छन् न त आयामेली डाइमेन्सन जस्ता । उनका कविता न त दुर्बाेध्य, न त दुरूह नै छन् । बोलीचालीको भाषा, कथ्य शैली र लेख्य शैलीको प्रयोगले कवितामा प्राण भरेको छ । बोधगम्य हुनु, आयामगतका हिसाबमा पनि लघुतम हुनुले कविता पठनीय बनेको छ ।

उत्तरवर्ती चरणमा पहिचान साहित्यको चर्को चर्चा चलिरहँदा उनको कृतिमा पहिचानको मूल्यलाई सुषुप्त ढङ्गले उठाएका छन् । अस्तित्ववादी चेतबाट पहिचानलाई स्थापित गर्न खोजेका छन् । सांस्कृतिक मूल्यमान्यता पनि पहिचानको धरोहर हुन् । मानिसको चालचलन, आनीबानी, खानेकुरा आदिले पनि पहिचानलाई सङ्केत गरिरहेको हुन्छ भन्ने आन्तरिक चेत कविमा ओतप्रोत छ ।

घरभित्र बसेर
छिप्पिएको जाँडको बास्ना, 
नाकको टुप्पोमा ठ्याक्कै ठोक्किँदा 
घरको माथिल्लोपट्टिको प्वालबाट चियाएर
तिम्रो लुङ्दारको प्रत्येक रङभित्र 
ताम्सालिङको सपना दिनदहाडै देख्न 
खै कहिलेसम्म बाँच्नु
यो तक्मारे खोलाको वियोगान्त कथा सुन्दै । (पृ. ३३)

पहिचान साहित्यको भीडमा उनको पहिचान अधुरो लाग्न सक्छ, अपूरो लाग्न सक्छ । पहिचान नै उनको छवि भने होइन । उनी शून्यवादी होइनन्, आफ्नो अस्तित्व गुमेकोमा सरकारलाई प्रश्न गर्न छाड्दैनन् । आफ्नो भाषा, संस्कार, संस्कृति, रीतिरिवाजमाथि धावा बोल्ने सरकारलाई कहिलेसम्म गैरनागरिक बनाउँछौँ भन्छन् । कविमा अस्तित्ववादी चेत अन्तरहृदयदेखि नै प्रस्फुटित भएको छ । एकल संस्कृति, धर्म, जाति, चिन्तन हाबी भएको सरकारलाई यसरी प्रश्न गर्छन् :

मेरो भाषा
मेरो संस्कृति
मेरो रीतिरिवाज
के सबै गैरनागरिकका जस्तै हुन् त ? (पृ. ४१) 

उनी यतिमै रोकिएका छैनन् । उनी ताम्सालिङको कुरा पनि गर्छन् । भूगोल र सभ्यताप्रति सचेत छन् । उनी आफ्नो अस्तित्वको कुरा उठाइरहँदा अरूको अस्तित्वप्रति पनि सजग छन् । कविमा तीव्र युगचेत छ । उनी लेख्छन् :

यो लिम्बुवानी धर्तीबाट
सबै कुरा बुझिरहेको छु
काङ्सोरेका आत्माहरू
सलबलाइरहेको देखेको छु 
युमा रानीहरू अदृश्य रिसाइरहेको देखेको छु 
सुम्निमा र पारुहाङहरु छटपटाइरहेको देखेको छु । (पृ. ४४)

कहीँ प्रथमपुरुष  कहीँ तृतीयपुरुष कथन पद्धति अपनाएर कवितालाई आख्यानीकरण गर्न सफल छन् । उनका कविता रूपक झैँ लाग्छन् । नाटकीय शैलीमा उतार्ने  खुबी उनमा छ । उनमा कतिसम्म कवित्व शक्ति छ भन्ने कुरा तलको एउटा कविताको अंशबाटै प्रतीत हुन्छ ः

हेर त तिम्रो मन
गन त तिम्रो उमेर
छामेर त हेर गालाहरू । (पृ. ३२)

संवादात्मक शैलीमा उतारिएको माथिको अंशले प्रेमिकालाई कलेटी परिसकेकी छौँ भन्दै व्यङ्ग्य गरेका छन् । तर, प्रेमिका भने आफूलाई अझै जवानी नै रहेको अनुभूति गरिरहेकी छन् । त्यसप्रति व्यङ्ग्य गर्दै कविले आफ्नो कवित्व शक्तिलाई उजागर गरेका छन् । सरल भाषा मात्रै हैन, क्रमबद्ध र सिलसिलेवार प्रस्तुति पनि उनको अर्को विशेषता हो ।

राष्ट्रियता, देशभक्ति र राष्ट्रभक्तिले ओतप्रोत कविले राज्यको सीमा मिचिएको कुरा गरेका छन् । राज्य र सरकार सञ्चालकको निरीहताका कारण सीमाका नागरिकहरू सधैँ थिचोमिचोमा पर्दै आएको कवितामा उजागर गर्छन् । भारतीय विस्तारवादी प्रवृत्तिबाट हैरान भएका नेपाली नागरिकहरू चीनबाट पनि उस्तै गरी हेपिएका छन् । भारतले मात्रै सीमा अतिक्रमण गर्छ भन्ने मिथकलाई भत्काएका छन् ।

आसेङले हेर्ने ढिस्को र भित्ताहरू
सरिरहन्छ
यसरी नै सरिरहँदा 
आसेङले कुनै दिन
सरेको ठाउँबाट 
सरिरहने ठाउँतिर हेर्नुपर्नेछ । (पृ. ३५)

आसेङको माध्यमबाट समग्र चीनको सीमामा रहेका नागरिकहरू हेपिएका छन् । यहाँ राज्यको निरीहता र चीनको हेपाहा प्रवृत्तिलाई तीव्र व्यङ्ग्य गर्न खोजिएको छ । तर, निरीह सरकारले आसेङजस्ताका भावनालाई कहिल्यै सम्बोधन गर्न सकेको छैन । सीमामा बस्ने नागरिकको पीडालाई बोध गर्न कवि सफल छन् । सीमामा बस्ने पीडित नागरिकको पीडालाई मुखरित गर्दै वर्तमान युगलाई बोध गर्न कवि सफल छन् ।
तत्सम, तद्भव, झर्रा, मौलिक र आगन्तुक शब्दको प्रयोगलाई कवितामा भरपुर प्रयोग गरेका छन् । जनजातीय पृष्ठभूमिबाट उदाएका कवि योञ्जन भाषाशैलीप्रति सजग छन् । धरानकै साहित्य कला संस्कृति प्रतिष्ठानले प्रकाशन गरेको उनको यो पहिलो कृति हो । स्वास्थ्य सेवा तथा अस्पताल प्रशासनमा एम्.एस्सी. एच.एच.ए र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनको स्थायी ठेगाना सङ्खुवासभाको चैनपुर नगरपालिका भए पनि हाल धरान ११ का स्थायीबासी हुन् ।

उनी राजनीतिप्रति सचेत छन् । धर्मप्रति पनि सचेत छन् । जीवन र जगत्को बोधगम्य गर्न सक्ने उनी राजनीति र धर्मलाई जीवनदर्शन मान्नुपर्ने तर्क गर्छन् । तर, नेपालमा राजनीति र धर्मका नाममा विभक्त गरेको देख्दा कवि बिरक्तिँदै प्रश्न गर्न छाड्दैनन् । उनमा विद्रोही चेत मात्रै छैन, प्रगतिशील सोच पनि उत्तिकै मुखरित भएको छ ।

मेरो घरको आँगनबाट
सुरु भएको बाटो
यसरी विभाजित छ 
विद्यालय हुँदै विश्वविद्यालयसम्म
मूलबाटो हुँदै चिहानघारीसम्म
पानीको कुवा हुँदै गुम्बा र मन्दिरसम्म
कुवा र कुलो हुँदै समुद्रसम्म । (पृ. ८०)

कृतिमा मायाप्रेम, ग्रामीण जीवनशैली, शहरीया जीवनशैली, कोरोनाको महामारीले आक्रान्त बनेको कुरालाई सचित्र उतारेका छन् । त्यस्तै राजनीतिज्ञहरूको दाउपेच, धर्मका ठेकेदारका कर्तुतहरू, व्यापारी–व्यवसायीको नाफाखोर प्रवृत्तिमाथि तीव्र प्रहार गर्छन् । विरोध गर्छन् । आवाज उठाउँछन् । उनीहरूमा मानवता हराएको भन्दै व्यङ्ग्य गर्छन् ।

उनको कविता पढिरहँदा पाठकले युगको बोध गर्न सक्छन् । पचासको दशकबाट ७० को दशकसम्मको परिवेशलाई युगसापेक्ष पुनर्व्याख्या गरेका छन् । कविले गाउँघरमा बिताएका क्षण, गाउँघरका साथीभाइ, किशोरवयका माया-पिरतीलाई सुन्दर ढङ्गबाट प्रस्फुटन गरेका छन् । एक सय चार पृष्ठमा संयोजित कविता सङ्ग्रह एक बसाइमा सकिने किसिमको छ ।

कविमा लुकेको कवित्व आगामी दिनमा थप उजागर होस् । राज्यलाई खबरदारी गर्ने अन्तिम सेलो बनोस् । पाठकका लागि अन्तिम सेलो नबनोस् ।