भारतेली नेपाली साहित्य समाजमा ‘वसुधा’ एउटा ब्रान्डको नाम बनिसकेको छ । ३० जुलाई २००० मा ‘भारतीय नेपाली नारी साहित्यिक मञ्च’को रूपमा स्थापित यो संस्थाको उमेरले दुई कोरी टेकिसकेको छ । वरिष्ठ नारी चुली स्रष्टाहरू क्रमैले डा. लक्खीदेवी सुन्दास, विन्द्या सुब्बा, इन्द्रमणि दर्नाल, मातृका गजमेर र खिरोदा खड्काको दूरदर्शी चेतना र सामूहिक मन्थनले जन्माएको यो संस्थाले आज परिपक्व बनेर नेपाली साहित्य समाजमा आफ्नो अलग पहिचान र अस्तित्व कायम राख्न सफल बनेको छ ।

संस्थापक सदस्यहरू कोही आज सशरीर अनुपस्थित छन् तर उहाँहरूका विचार, कर्म र वचन आज पनि जीवन्त छन् संस्थाको गरिमा र मर्यादाको त्यो अग्लो कञ्चनजङ्घामा । आज यो संस्थासित जडित नारी सर्जकहरूको गरिमामय उपस्थिति केलाउँदा यो संस्था आफैमा एक गौरव र अभिमानको पर्याय बनेको महसुस हुन्छ । भारतीय नेपाली नारी साहित्यकारहरूलाई सक्दो एउटै छानोमुनि ल्याउने प्रयासमा रहेको देखिने यो संस्थाले गरिल्याएका साहित्यकर्महरू पनि अब सायद अभिलेखीकरण गर्ने वा कुनै महाविद्यालय वा विश्वविद्यालयले विद्यावारिधिको निम्ति स्रोत सन्दर्भ बनाउने बेला भइसकेको महसुस गर्छु ।

मैले यसै गरिमामय संस्थाले प्रकाशनमा ल्याएको आफ्नो मुखपत्र ‘वसुधा’को अङ्क ३ बारे केही लेख्ने/बोल्ने जिम्मेवारी पाएको छु । पहिलो अङ्क सन् २००२ मा निस्किएको १२ वर्षको अन्तरालमा दोस्रो अङ्क (सन् २०१४) निस्किनु अनि लगभग ९ वर्षको अन्तरालमा तेस्रो अङ्क निस्किनु कछुवा चालकै गति लिएको पाइन्छ पत्रिका प्रकाशनमा । पत्र-पत्रिका निस्कने क्रम प्राय: बन्द जस्तै भएको आजको अवस्थामा तर ढिलै भए पनि ‘वसुधा’को निरन्तरता देखिएकोमा यो निष्क्रिय वा मृत छैन वा भइहालेको छैन भन्ने दस्सी पनि बनेको छ यो तेस्रो अङ्क । जिम्मेवारी बोध र नितान्त अनिवार्यता वहन गरेर यो अङ्क दिवङ्गत नारी स्रष्टाहरूप्रति समर्पित गरी यो विशेषाङ्क प्रकाशित हुनु वा गरिनु अग्रज अनि दिवङ्गतहरूप्रति गरिने श्रद्धा वा श्राद्ध कार्य रूपमा पनि यसलाई लिन सकिन्छ जो हाम्रो राम्रो संस्कारको निर्वाहन् पनि हो ।

यो अङ्कमा प्रधान सम्पादक वरिष्ठ नारी सर्जक साहित्य अकादमी पुरस्कारले विभूषित आख्यानकार विन्द्या सुब्बा रहेकी छन् भने सम्पादकद्वय डा. गीता छेत्री र डा. साङ्मू लेप्चा रहेका छन् । सविता थापा सङ्कल्प, कौशल्या मुखिया, अमला छेत्री सुब्बा र वेदिका राईको व्यवस्थापन रहेको यस अङ्कमा मुन्नु गौतम कालेबुङ, सुशीला सुब्बा खरसाङ, कमला तामाङ मिरिक, मीरा गजमेर अडोरा सिलगढी प्रतिनिधि व्यवस्थापक रहेका छन् । पत्रिकामा दिइएको जानकारी अनुसार वर्तमान कार्यकारिणीसहित सदस्य सङ्ख्या ४२ जना रहेको देखिन्छ यो संस्थामा । यी केही नाम यस्ता नारी सर्जकहरूका हुन् जो आफै पनि एक सिङ्गो संस्था अनि जातिका गौरव र पहिचानका सम्माननीय प्रतिमूर्तिहरू हुन् भने केही नाम यसै आदर्शलाई पछ्याएर भोलि त्यही उचाइमा लम्किरहेका चम्किला ताराहरूका छन् ।

‘वसुधा’ले बुझाउँछ धरा, पृथिवी, प्रकृति, धरती आदि । सृष्टिकर्ता, जन्मदाता, मातृत्व आदि पनि । नाम र काम मिल्दो छ । नारी पनि त वसुधै हुन् । नारीहरूका संयुक्तले सङ्गठित ‘वसुधा’को नाम र काम पनि उस्तै । नयाँ सर्जकहरू जन्माउने, संरक्षित र संवर्द्धित गर्ने । नारीहरूद्वारा नारीहरूका निम्ति सिर्जनात्मक विशेष चिन्ता र चिन्तन गर्ने । संस्थागत छानोमुनि केही वैचारिक मतान्तरहरू होलान्, कार्यसम्पादनमा विप्ल्याँटो परिस्थितिहरू सिर्जित होलान् अनि कहिले चिताएजसो प्रतिफल पनि प्राप्त नहोलान् तर यसले यसको उद्देश्य र लक्ष्यलाई विच्युति नपारुन् सबैले हेक्का राखेकैले यो संस्थाले यति लामो यात्रा तय गरिरहेको छ । यसैको प्रतिफलमा ‘वसुधा’ले पनि तेस्रो अङ्कको स्वरूप पाउन सकेको हो भनी किटान गर्न सकिन्छ । यस अङ्कमा नारीचुली आख्यानकार विन्द्या सुब्बाको सम्पादकीय अनि प्रबुद्ध साहित्यकार डा. साङ्मू लेप्चाको सचिवको प्रतिवेदनले ‘वसुधा’को संस्थागत क्रियाकलाप, उद्देश्य र अभिप्राप्ति अनि मुखपत्रबारे विस्तारमा जानकारी दिएको पाउँछौँ ।

पत्रिकाभित्र प्रवेश गर्दा पहिलो खण्डमा दसवटा बौद्धिक समालोचनाहरू समाविष्ट भएको पाउँछौँ । नौ जना दिवङ्गत स्रष्टाहरूलाई श्रद्धार्पण गर्दै यी स्रष्टाहरूका कृतिलाई समालोचकीय पृष्ठभूमिमा उभ्याएर कृतिगत मूल्याङ्कन गरिएको छ । आ-आफ्नो विधागत साहित्य लेखनमा उल्लेखनीय योगदान दिएर अमर बनिसकेका सर्जकहरू क्रमैले नाटककार-आख्यानकार इन्द्रमणि दर्नाल, बालसाहित्यलाई समृद्ध बनाउने अथक साहित्यकार खिरोदा खड्का, नेपाली साहित्यकै एक बौद्धिक सर्जक अनि कवि डा. लक्खीदेवी सुन्दास, जुनबेला नारी सर्जकहरू शून्यप्राय: थियो भारतीय नेपाली साहित्यमा त्यस समयदेखि सिर्जनामा लगातार लागिपर्ने उदाहरणीय सर्जक सानुमति राई,  साहित्य सिर्जनमा निकै ओझेलमा बसी मौन साधनामा रमाउने पवित्रा रेग्मी अधिकारी, सुन्दर कथाहरू नेपाली साहित्यमा पस्केर पनि थोरै चर्चा पाएकी कथाकार सम्पूर्णा राई, कवितामा शालीन सौन्दर्य समाहित गर्ने कवि कमला राई, अध्यात्म, नारी, र साहित्यमाथि निरन्तर चिन्तन गर्ने सर्जक लक्ष्मी कालिकोटे अनि शिक्षा, साहित्य र सिर्जनाभित्र रमाउने ललिता राई अहमदका कृति र कीर्ति विमर्श वर्तमान भारतेली नेपाली साहित्यका स्थापित समीक्षकहरूबाट भएको पाइन्छ । आनन्दको कुरो के छ भने दसवटा आलेखमा सात जना नारी समीक्षकहरूका उपस्थितिले भारतीय नेपाली साहित्यमा नारी सर्जकहरूको स्थान कहाँ पुगिसकेको छ त्यो सहजै अन्दाज गर्न सकिन्छ ।

पहिलो समालोचनामा नाटककार-आख्यानकार इन्द्रमणि दर्नालको ऐतिहासिक लघु उपन्यास ‘अर्ध-विराम’माथि प्रबुद्ध नारी हस्ताक्षर मणिका मुखियाले खुबै सुन्दर ढङ्गले कृतिलाई पर्गेल्दै अनि उपन्यासकार दर्नालको लेखन शक्ति र चिन्तन-दर्शनको सम्यक् विश्लेषण गर्दै सार्विक मूल्याङ्कन गरेकी छन् । “यदि उपन्यासकार अझ केही वर्ष बाँचेकी भए नाटक विधालाई सदृश उनको कलमले हाम्रो उपन्यास विधालाई पनि समृद्धमा ल्याउने थिइन् ।” यस कथनबाट कृति ‘अर्ध-विराम’को कलात्मक सफलता चिन्न सकिन्छ । ८६ को आन्दोलनको पृष्ठभूमिमा सिर्जित यस ऐतिहासिक लघु उपन्यास सफल र सार्थक रहेको तोक दिने समालोचक मणिका मुखियाको अध्ययन परिसीमा र समालोचकीय क्षमता केलाउन उनको नवीनतम कृति ‘साहित्य परिदर्शन’ (२०२१) अध्ययन गर्नु जरुरी छ । यसै परिप्रेक्ष्यमा उनले इन्द्रमणि दर्नालको लेखनीलाई दिएको मूल्याङ्कन कति सार्थक र महत्त्वको छ त्यो पनि त्यहाँबाट स्पष्ट हुन्छ ।

बालसाहित्यकार खिरोदा खड्कामाथि दुईजना समालोचक डा. रुक्मिणी छेत्री अनि डा. दिपेन तामाङको महत्त्वपूर्ण आलेख समावेश छ । समालोचक डा. रुक्मिणी छेत्रीले बालसाहित्यकार खिरोदा खड्काको बालसाहित्य लेखनलाई समग्रमा समोच्च मूल्याङ्कन गरेकी छन् भने बालकविताको रचयिताको रूपमा खिरोदा खड्काले जुन बालमैत्री सिर्जना दिएकी छन् त्यसलाई मीठो ढङ्गले केलाउने कार्य डा. दिपेन तामाङबाट भएको छ ।

“सङ्घर्षशील, चिन्तनशील र दूरदृष्टि राख्न सक्ने डा. सुन्दास भारतमा मात्र नभएर सम्पूर्ण नेपाली साहित्यमा लोकप्रिय अनि प्रतिष्ठित छन् ।” भन्ने तोकसहित समीक्षक डा. गीता छेत्रीले भारतीय नेपाली साहित्यका वरिष्ठ सर्जक डा. लक्खीदेवी सुन्दासका सम्पूर्ण जीवनी, कृतिलेखन अनि साहित्यिक गतिविधिलाई समेटेर तयार पारेकी छन् आलेख ‘डा. लक्खीदेवी सुन्दासको परिचयात्मक प्रस्तुति’ । डा. गीता छेत्री भारतीय नेपाली साहित्यका एकजना उम्दा समीक्षक हुन् जसले ‘विविध विवेचना’ (२०१३), ‘कृष्णसिंह मोक्तानको उपन्यासकारिता’ (२०१५) र ‘कृति विचरण’ जस्ता समालोचनात्मक कृति नेपाली साहित्य भण्डारमा समर्पित गरिसकेकी छन् ।
‘उद्गारदेखि मनपीडासम्मको एक दशकीय यात्रा’ आलेखमा समीक्षक मुन्नु गौतमले भारतीय नेपाली साहित्यका एक अभिभावक कवि सानुमति राईले पहिलो कविता सङ्ग्रह सन् २००१ मा ‘उद्गार’ प्रकाशनमा ल्याएपछि दस वर्षको अन्तरालमा ‘मनपीडा’ कविता सङ्ग्रह प्रकाशमा ल्याएकी थिइन् भने यही एक दसकीय मौनताबारे केही प्रश्न उठाउँदै  छोटो आलेखमा कवि सानुमति राईका कवितामा व्याप्त चिन्तन र भावलाई केलाएकी छन् । कृति ‘पर्वत, सोमरा र गोम्बेहरू’ मार्फत आख्यान लेखनमा आएकी सर्जक मुन्नु गौतम एकजना पढाकु व्यक्ति पनि हुन् । साहित्यिक पत्रिका ‘माया’लाई माया गरेर निरन्तर प्रकाशनमा ल्याइरहेकी मुन्नु गौतमले कवि सानुमति राईका काव्यिक कोमल भावलाई मूल्यन गर्ने काम गरेकी छन् ।
संस्मरणसित समालोचना मिसाएर निसमालोचनाको प्रयोगात्मक आलेखभित्र नेपाली साहित्यमा मौन साधकको रूपमा साहित्य कर्ममा रमाउने सर्जक पवित्रा रेग्मी (अधिकारी)का साहित्यिक अवदानलाई स्मृतिमा राख्दै सुन्दर रचना प्रस्तुत गरेका छन् समालोचक प्रा. डा. राजकुमार छेत्रीले ।“पवित्रा रेग्मी (अधिकारी) ज्यूले नेपाली साहित्यमा उस्तो पगितो र माइलखुट्टी राख्न सक्ने किसिमको कुनै ठोस काम नगरेकी भए पनि आफ्नो बुताले भ्याएसम्म उहाँले नेपाली भाषा, साहित्य र समाजलाई योगदान पुर्याउनु भएकै छ ।” भनेर कुनै अतिशयोक्ति र फुस्रो प्रशंसा नगरी डा. छेत्रीले सर्जक पवित्रा रेग्मी महोदयाको साहित्यिक कार्यकौशलको यथार्थ मूल्यन गरेको हामीलाई प्रिय लाग्छ ‘पवित्रा रेग्मी (अधिकारी)-को साहित्यिक कर्म: एउटा विमर्श लेखमा ।

‘सामाजिक यथार्थवादी लेखनमा कथाकार सम्पूर्णा राई’ लेखमा प्रबुद्ध समालोचक डा. वीणा हाङ्खिमले भारतीय नेपाली कथाको आरम्भ, यसमाथि डा. साङ्मू लेप्चाको शोधकार्य अनि नेपाली नारी कथाकारहरूबीच कथाकार सम्पूर्णा राईको उपस्थितिको अभिलेखन गर्दै कथाकार राईको लेखन प्रवृत्तिमा प्रखरतासित परिलक्षित सामाजिक यथार्थलाई केलाउने कार्य गरेकी छन् । थोरै तर उत्कृष्ट कथा पस्कने कथाकार सम्पूर्णा राईलाई परिचयात्मक संरचनाभित्र राखेर यो लेखले कथाहरूका प्रवृत्ति केलाएको छ । डा. वीणा हाङ्खिमलाई एकजना प्रबुद्ध पाठक चिन्न यो लेख यथेष्ट छ । मूलतः कविता अनि समालोचना लेखनमा लागिपरेकी डा. हाङ्खिमको कृति ‘कृति विमर्श’ साहित्य अकादमी पुरस्कार २०१७ ले विभूषित समालोचनात्मक कृति हो जसले उनको समालोचक छविलाई उज्यालो बनाएको छ ।

भारतेली नेपाली साहित्यमा एक जना समर्पित समालोचकको रूपमा स्थापित नाम हो अर्जुन प्रधान । नयाँ कृति र सिर्जनामाथि यथाशीघ्र समीक्षा गरेर कृति र कृतिकारको सम्यक् मूल्याङ्कन गर्न सधैँ अघि सर्ने समालोचक प्रधानले यहाँ शालीन कवि कमला राईका कविताहरूलाई खुबै धैर्य अनि सौन्दर्य सन्दर्भसित केलाएका छन् । ‘कमला राईको काव्यिक तपोवनमा शब्दहरूको एकान्तवास’ शीर्षकमा कृतिपरक समीक्षा राख्दै कवि कमला राईको कृति ‘शब्दहरूको एकान्तवासलाई’ “भ्रान्ति र सत्यमाझको अलमल अलमल, निर्मलता र धूमिलताबीचको ढलमल ढलमल अनि बन्धन मुक्तिमाझको विवशीत अन्तर्द्वन्द्वको एक अप्रतिम प्रस्तुति हो”  भनेर आफ्नो चोखो विचार राखेका छन् ।

‘लक्ष्मी कालिकोटेको कथा ‘मोहभ्रान्त’- विचरण गर्दा’ आलेखमा साहित्य, अध्यात्म, नारी उत्थान अनि शिक्षामा सदैव जोड दिइरहने सर्जक कालिकोटेको मोहभ्रान्त कथासङ्ग्रह (सन्२०००)का एकएकवटा कथाहरू केलाउँदै डा. साङ्मू लेप्चाले कथाकार कालिकोटेको कथालेखन र कथाविचारमाथि विषद् विमर्श गरेकी छन् । भारतीय नेपाली कथाहरूमाथि केन्द्रित गरी यसैमा विद्यावारिधि गर्ने डा. साङ्मू लेप्चाले कथाकार लक्ष्मी कालिकोटेका कथामा बालमनोविज्ञान, सामाजिक आदर्शोन्मुखता, देशभक्ति, नारी चेतना, श्रम आस्था जस्ता प्रवृत्ति’ रहेको उल्लेख गर्दै कृति मोहभ्रान्त मार्फत कथाकार कालोकोटेलाई एक सफल कथाकारको रूपमा चिनाएकी छन् ।

शिक्षा र साहित्यसित सम्बद्ध विदुषी सर्जक ‘डा. ललिता राई अहमदका केही सिर्जना र रचनाहरू’ माथि निकै खोजपरक आलेख दिएकी छन् समालोचक विनुपा राईले । सर्जक ललिता राई अहमदले थोरै तर गुणात्मक साहित्य कर्म गरेकी थिइन् भन्ने कुरो यस लेखले स्पष्ट पार्छ ।

यसरी वसुधाले दिवङ्गत नारी स्रष्टाहरूका सिर्जनकर्मलाई यसरी पुनः विमर्शमा ल्याउने जुन महत्त्वपूर्ण काम गरेको छ त्यो नै यो विशेषाङ्कको उल्लेखनीय पाटो रहेको छ । यी रचनाहरूले नै यो अङ्कलाई सङ्ग्रहणीय बनाएको छ भनेर मान्न सकिन्छ । मलाई यहाँ विदुषी समालोचक डा. कविता लामाको अनुपस्थिति निकै खट्केको महसुस भयो । यसबाहेक संलग्न कथाकार रीता ठकुरीको कथा ‘पुस्तान्तरले सिर्जेका सुनामीहरू’, शीला लामाको लघुकथा ‘अप्रत्याशित’, स्नेहलता राईको बालकथा ‘बेस्ट फ्रेन्डस’ पनि पठनीय छन् । दिवङ्गत स्रष्टाहरूका स्मरणमा कोरिएका संस्मरणहरू प्रो ललिता राई अहमदमाथि प्रा तारा लोहार लेप्चा, कवि कमला राईमाथि कमला तामाङ, शान्ति प्रधानमाथि उषाकिरण सत्यदर्शीद्वारा धेरै मर्मस्पर्शी रचनाहरू सिर्जित छन् ।

सर्जक वेदिका राईले ‘नारीवाद र वसुधा: एक अवलोकन’ प्रबन्धमा ‘वसुधा’ संस्थालाई नारीवादको परिप्रेक्ष्यमा हेर्ने जमर्को गरेकी छन् । “गृहस्थी धर्म र साहित्य दुवैलाई साथमा लिएर नारी साहित्यकारहरू अघि बढिरहेका छन्” भन्दै नारी सर्जकहरूलाई अभिप्रेरित गरेकी छन् ।

यो अङ्कमा नाटककार अमला सुब्बा छेत्रीको एकाङ्की ‘हात्तीको दाँत’ समाविष्ट छ । कुरो एउटा गर्ने तर व्यवहारमा अर्कै गर्ने मान्छेको दोहोरो प्रवृत्तिमाथि कडा व्यङ्ग गरिएको यो एकाङ्की मञ्चनको हिसाबले पनि असल हुने देखिन्छ । कविहरू मातृका गजमेर, सुधा एम राई, झमक घिमिरे, डा. नीना राई, साविता सङ्कल्प थापा, लेखा राई, कौशल्या मुखिया (सुब्बा), सुमित्रा थामी ‘अविरल’, नीरा सुब्बा, देविका मङ्ग्राती राई, पवित्र राई, मञ्जुला तामाङ, मीरा गजमेर अडोरा, वसन्ती शर्मा, नम्रता ‘संस्कार’ बराल, मिलन बान्तवाका कविता र गजलले सुसज्जित  विशेषाङ्कले विधागत हिसाबले होस् या सर्जकहरूका उपस्थितिले होस् यसमा समावेशी कार्य परिलक्षित हुन्छ ।

सदाझैँ अध्यात्म, साहित्य र सामाजिकताका त्रिवेणी साई गङ्गोत्री श्रद्धेय गुरुवर कृष्णसिंह मोक्तान सरको आशीर्वचन वसुधालाई प्राप्त छ यहाँ पनि । यति उत्कृष्ट पत्रिका समायोजन र प्रकाशनको निम्ति वसुधा परिवार बधाईको पात्र बनेको छ ।

                                                                                               रोङ्गो, कालेबुङ ।