
कवि कि हृदयले लेख्छ कि त मस्तिष्कले । जब दुवैको सम्मिश्रण हुन्छ त्यहाँ अद्भुत कविता जन्मिन्छ । माधव घिमिरे उनको आफ्नै शब्दमा बाहिर कवि हुन् तर भित्र योगी हुन् । विचार र तर्कहरू उनका कवितामा नभएका होइनन् तर ती हुँदाहुँदै पनि हृदयको स्पन्दन र प्रकृतिको भावतरङ्गले तरङ्गित पार्न सक्ने खुबी राख्दछन् उनका कविताहरूले । उसो त परिष्कारवादी धाराका लेखनाथ पौड्याल र स्वच्छन्दवादी धाराका लक्ष्मीप्रसाद देवकोटाको मिश्रित अवतारको रूपमा पढिँदै आइरहिएको छ । माधव घिमिरे प्रश्न गर्छन् र उत्तर पनि खोजी गर्छन्, विद्रोह गर्छन्, यथार्थका कुरा गर्छन् र स्वैरकल्पनामा रमाउँछन् पनि, कम बोलेर धेरै बुझाउन रुचि राख्छन् । हृदय र मस्तिष्कको समानान्तर गतिमा हिँड्न रुचाउँछन् ।

ऋतंभरा
जीवन र जगत्को नित्यताको आभास भएको हुङ्कार गर्न सक्ने माधव घिमिरे विश्वबन्धुत्वको भावना देखाउँदै राष्ट्र निर्मातामा लेख्छन्-
सूर्यास्त कैल्यै नहुने हिमाद्रि
मैलाई खोज्ने युगको म यात्री ।
अहो ! अविश्रान्त बढेर जाऊँ
कहाँ किनारा यसको म पाऊँ ।।
जीवनलाई जीवनकै रूपमा जिउनुपर्छ, पानीलाई पानी भनेरै पिउनुपर्छ र रस लिन सक्नुपर्छ । ‘सर्वे भवन्तु सुखिनः’ को भावनाबाट निरपेक्ष बन्दै काव्यमय अमरताको आभास गर्न सक्नुपर्छ भन्ने विचार घिमिरेको पाइन्छ । कसैले लेखेका छन्- “सबै योगी कवि हुँदैनन् तर हर कवि योगी हुन्छन् ।” सबै कवि योगी भए भएनन् त्यो मतलब भएन तर माधव घिमिरे स्वानुभूतिमा विश्वास राख्ने योगी कवि हुन् । विषयले देख्ने इन्द्रियको काम हो हामीले कला देख्न सक्नुपर्छ भन्ने भाव पनि पाइन्छ । पाठकहरूलाई आफ्ना काव्यमा दर्शन, सिद्धान्त, विचार र तर्क देखुन् बुझुन् भन्ने चाहन्नन् केवल स्वानुभूतिको चाहना राख्दछन् जसरी एउटा बालकले नाम थाहा नपाइकन नै प्रथम पटक सयपत्री फूल देख्दा प्रफुल्ल होस् र सुन्दरताको मात्र बोध गरोस् । यिनै भावतरङ्गहरू माधव घिमिरेको जीवनोत्सर्गपछि अपूर्ण भएर पनि पूर्ण महाकाव्य ऋतम्भरामा पाउन सकिन्छ ।
ऋतंभरा महाकाव्यको उपजीव्य ऋग्वेदको पञ्चम मण्डलको ६१ औँ सूक्तमा रहेको त्रिश्लोकी सन्देशलाई लिइएको छ । जहाँ गोमतीको तीरमा बस्ने ऐश्वर्यशाली रथवीतिलाई “तिम्रो छोरीमाथिको मेरो प्रेम कहिल्यै कम हुनेछैन” भनी वाणीकी देवीलाई सन्देश पठाएको प्रसङ्ग आउँछ । तिनै रथवीति राजाकी छोरी ऋतम्भरा काव्यनायिका रूपमा देखापरेकी छिन् र ऋषिकुमार श्यावाश्व काव्यनायक बनेर उभिएका छन् । नायक जीवात्मा हो उसले परमात्माको (चेतनतत्वको) आभास पाएपछि श्रवण, मनन र निदिध्यासनद्वारा बोधगम्य बनाएर आफैँभित्र परमात्मतत्त्व साक्षात्कार गर्दछ । जसलाई बुद्धको बोध, वेदान्तको मोक्ष आदि भन्न सकिन्छ । त्यसैगरी ‘ऋतस्य प्रथमजाः प्रज्ञा’ अर्थात् सत्यको प्रथम पुत्री प्रज्ञा तथा पातञ्जल योगसूत्रको ‘ऋतम्भरा तत्र प्रज्ञा’का आधारमा ऋतम्भरालाई प्रज्ञाका रूपमा देखाइएको छ । सुनेर तथा अनुमान गरेर प्राप्त नभई व्यक्तिगत स्वानुभूतिबाट प्राप्त प्रज्ञा नै ऋतम्भरा हो । यसरी अन्धकारदेखि प्रकाशतर्फ, अज्ञानदेखि ज्ञानतर्फ लैजानु नै महाकाव्यको मुख्य सन्देश हो ।
मानिस सिर्जनशील प्राणी हो, हामी हरेक दिन नयाँ-नयाँ सिर्जना गर्नुपर्छ भन्ने मङ्गलाचरण गर्दै रविकिरणले आलोकित बनेर धरणीमा रमणीय बन्दै तप्प रस चुहिएलाझैँ पाकेको फल जसरी आफ्नो छविलाई अनल भई ज्वलन्त बलेर तारा टिप्न लम्किएसरि हलुका बन्दै देहमा रहे पनि विदेह रहौँ भन्ने उदात्तचेतनाको प्रस्फुरण महाकाव्यको सुरुवातीमा देख्न सकिन्छ । जिन्दगीलाई हरियो बनाउनुपर्छ, ऊर्जा र कौशल सँगालेर उज्यालोतर्फ लम्किनु नै जीवनको सार्थकता हो भन्ने भाव यी पद्यांशहरूमा पाउन सकिन्छ-
गोडेर बोटविरुवाहरू हाल पानी
हो बाह्रमास हरियो हुनु जिन्दगानी ।
ऊर्जा सँगाल अनि कौशल क्यै निकाल
टेकेर धर्तितलमा धरती उचाल ॥
घोडा चढेर मनको मन यै उचाल ।
यो चेतको बुइ चढी अनि यै उचाल ।
शून्यताको आभास स्वयम्भित्र हुन्छ र त्यसलाई खोज्न जान्नुपर्छ । जब शून्यताको आभास हुन्छ तब आफू शून्य छु जस्तो पनि लाग्दैन भन्ने शून्यवादी चिन्तन पनि यहाँ पाउन सकिन्छ ।
झर्ना निदाउँछ स्वयम् लयभित्रजस्तै
गुञ्जन्छ शून्य पनि हुन्न म शून्यजस्तै ।
जीवनको भारी बिसाएर विश्रान्तिको आसनमा बस्दा सहजै स्वर्ग पुगेको आभास गर्न, फूल फर्केर फेरि कोपिला भए समान शान्तिको अनुभव गर्न ऋषिहरूले गरेजस्तै समाधि आवश्यक हुन्छ भन्ने भाव पनि पाउन सकिन्छ । जब शुद्ध चैतन्यमा विश्रान्ति हुन्छ तब यस्तो हुन्छ-
धोऊँ भने कलुष क्यै पनि भित्र छैन
रोऊँ भने विरह क्यै पनि भित्र छैन ।
यो जिन्दगी जति बुझे पनि अझै बुझ्न बाँकी रहन्छ, नौलो कुरा जति देखे पनि अझै देख्न, जान्न बाँकी रहन्छ । त्यसकारण यो जीवनमा सुरु नगरे मुक्ति सम्भव छैन र प्रत्येकभित्र रहेको अति विस्तृत व्योमस्वर्गभित्र उड्नुको विकल्प नरहेको कुरा पनि कवि व्यक्त गर्दछन् । हामीले मुखले बोल्नुपूर्व आँखा खोल्नु जरुरी छ र सूर्यझैँ सत्यमार्गमा हिँड्नु अनिवार्य छ भन्ने उदात्तचिन्तन प्रथमसर्गमा पाउन सकिन्छ ।
महाकाव्यमा विशाल ब्रह्माण्डलाई प्रतीकात्मक रूपमा प्रथमसर्गलाई नाभिस्थलको मूलाधारचक्रका रूपमा राख्न सकिन्छ । द्वितीयसर्गबाट क्रमशः स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञाचक्रसम्मको यात्रालाई श्यावाश्वको इडा, पिङ्गला र सुषुम्णा त्रिनाडीको एकीकृत कुण्डलिनी जागरणको अवस्थालाई आध्यात्मिक तथा दार्शनिक बिम्बका रूपमा उठान गरिएको छ ।
महाकाव्यमा प्रशस्त रूपमा प्रकृतिसौन्दर्यचित्रण र शृङ्गार पाउन सकिन्छ । युवायुवतीको एक-अर्काप्रतिको भावनालाई सहज ढङ्गबाट प्रस्तुत गर्नुका साथै विस्तीर्ण मनोविज्ञानलाई देखाउन पनि कवि चतुर देखिन्छन् ।
देखेँ त्यहाँ युवति क्वै कमनीय रूप
उस्तै युवा म पनि ता तिनकै समीप ।
हेर्छौ मुखामुख गरी फूलका थुँगाझैँ
बोलौँ त वाक्य नफुटी बुँगाझैँ ।।
त्यो मूर्तिका पलक श्यामल खुल्न बाँकी
आँखाभरी हृदयको रस डोल्न बाँकी ।
यो विश्वमण्डल झलामल स्निग्ध शोभा
भुल्केसरि अमृत भुल्भुल लाख थोपा ।
तिमी सूर्य उज्यालो हौ म छाया अन्धिनी अनि
मलाई तर देख्दैनौ अहे छोइरहे पनि ।
नरको मनमा नारी नारीको मनमा नर ।
लुकामारी गरी खेल्छन् जुनीजुनी निरन्तर ।
किशोरवयका मनोभावहरू र विपरीत लिङ्गप्रतिको सौन्दर्य वर्णन गर्दै कवि लेख्दछन्-
यौटा युवा हेर्दछ स्वप्नामा परी
भनेसरी छौ कति दिव्य सुन्दरी
लुकेर त्यै देखी म हेर्छु त्यैतिर
भनूँ सरी छौ कति दिव्य सुन्दर ।
यो गीत फुर्ने पनि हो उमेर रे !
प्रीति फुर्ने पनि हो उमेर रे !
पत्नीवियोगमा गौरी खण्डकाव्य रच्ने माधव घिमिरे महाकाव्यमा पनि नारीसंवेदनालाई मजबुत रूपमा उभ्याउन सफल बनेका छन् ।
चाहन्छौ रे तिमी हेर्न मलाई चिरसुन्दरी
उही गोधूलिबेलामा रहेकी दुलही सरी
झस्कन्छौ पीरको रेखा देखेर अनुहारमा
देख्दैनौ घरकी लक्ष्मी लुकि रैछे भँडारमा ।
दिनमा तरु छायाझैँ अरुको ताप हर्दछु
रातमा शीततोपाझैँ आफू तप्तप् झर्दछु
पुरुषले नारीलाई हेर्ने दृष्टि र नारीको मनोभावलाई पुरुषले नकार्नु तथा भान्साको धुवाँले धुमलिएकी लक्ष्मी छोडेर पर-अनुहार खोज्ने विकृतरूप प्रति तीव्र आलोचना पाउन सकिन्छ । नारीका अव्यक्त भावनाहरू सुनिदिने व्यक्तिहरू निकै कम हुन्छन् यदि कसैले सुनिदियो भने पनि त्यसलाई मजाक बनाउन पछि पर्दैनन् भन्ने तितो यथार्थ पनि देखाइएको छ । नारीका अवचेतन मनका भावाभङ्गीहरूलाई बुझाउनु नसक्नु प्रति पनि कवि आलोचना गर्दछन् ।
महाकाव्यमा मातृप्रेमले सधैँ नवीन सिर्जना गर्दछ र बहुधा प्रज्ञा तर्कना गर्दछ भन्ने भाव देख्न सकिन्छ र माताको शिशुप्रतिको प्रेम सर्वोत्कृष्ट प्रेमको नमुना हो भन्ने भाव पनि पाउन सकिन्छ ।
हेरेर शिशुको लीला भविष्य देख्दछिन् उनी
कला ललाटमा थाली चन्द्रमा लेख्दछिन् उनी ।
मान्छे व्यक्तिवादी बन्दै गएर यन्त्रमानव जस्तो बनेकोमा पनि कविको व्यङ्ग्यात्मक आलोचना देख्न सकिन्छ ।
व्यक्तिवादी बने मान्छे प्रेम भो कामवासना
मनोरञ्जन भो युद्ध यन्त्र भो सब साधना
मनुष्य अब बन्दैछ विस्तारै यन्त्रमानव
मन्त्र हे शततन्त्रिका तारमा मन्त्रमानव ।
छ जिन्दगी छैन मनै स्वतन्त्र
भने, स्वयम् मानव बन्छ यन्त्र ।
हामी व्यक्तिवादी बनेर होइन ‘वसुधैव कुटुम्बकम्’ को भावनाले लिप्त नभईकन परितृप्त बन्नुपर्ने कविको सन्देश पनि महाकाव्यमा पाउन सकिन्छ ।
श्यावाश्व र ऋतम्भराको प्रेमप्रसङ्गलाई निकै सुन्दर तरिकाबाट अनुभूत गर्न सकिन्छ ।
लावण्य पग्लेसरि अङ्गअङ्ग
आँखाभरि अम्रितको तरङ्ग
देख्दा त त्यो पावन रूपलाई
आफै नुहाए सरि भो मलाई
वियोगमा झन् गहिरो पियार
पुग्यो कि एक्लै पहिलो पियार ।
त्यसैगरी वेदान्तको मायावादी चिन्तन पनि प्रस्तुत हरफहरूमा पाउन सकिन्छ-
यो जिन्दगी जति जियो त्यति नित्य जस्तो ।
जुनीजुनी जन्मन फेरि पाऊँ ।
यसरी ऋतम्भरा महाकाव्य विचार तथा मस्तिष्क प्रधान भईकन पनि हृदयप्रधान महाकाव्य हो । यहाँ विभिन्न दर्शन(साङ्ख्य, योग, वेदान्त, बौद्ध आदि) विभिन्न चिन्तन र विभिन्न तर्कहरू हुँदाहुँदै पनि हृदयको स्वतःस्फूर्त स्पन्दन मुखरित भएको छ । पढ्दै जाँदा उपनिषद् मन्त्रहरू जस्तै लाग्ने काव्यरसले हर कोहीलाई मोहित बनाउन सक्छ । दार्शनिक तथा आध्यात्मिक बिम्ब बोकेको ऋतम्भरा महाकाव्य स्वयम् प्रकाशको खोज गर्ने सशक्त काव्यरचना हो ।
र अन्त्यमा पढ्दै जाँदा यस्तो लाग्छ कि माधव घिमिरेले रहस्यबाट रहस्यमा लगेर पाठकमनलाई छोडिदिएका छन् । उनकै शब्दमा भन्नुपर्दा रहस्य खोलेर रहस्य बाँकी… ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

समाजभित्र नारीको अभावग्रस्त भोगाइ हाे ‘लेखककी स्वास्नी’ (नवपुस्ता/समीक्षा)
