
औजार वा इन्जिनको काम गर्नेलाई अन्य विकसित देशमा इन्जिनियर मानेर सम्मान गरिन्छ । तर हाम्रो समाजमा शुद्रको रूपमा मान्ने चलन छ । हिजोका केही शासकहरूले मनुस्मृतिका श्लोकहरूलाई विधान बनाएर नेपालमा शासन गर्दै आएकोमा राणाकालीन प्रथम प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले मुलुकी ऐन (वि.सं.१९१०) नै जारी गरेर छुवाछुत प्रथालाई लिखित रूपमा कानुनी मान्यता दिएको पाइन्छ ।
हुन त हाल आएर नेपालको संविधानले छुवाछुत र जातीय विभेदकारी चलनलाई निरुत्साहित पार्न कानुन नै बनाएको छ । आहुति जस्ता समाज सुधारकहरू ‘ठूलो जात र सानो जात’ भन्ने चलनको विरुद्धमा दशकाैंदेखि लड्दै आएका छन् भने हिन्दु धर्म संरक्षणमा लागिपरेका धार्मिक अभियन्ता भीमकान्त भागवतहरू माथिल्लो भनिने जातबाटै अछुत भनिने जात बनाइएका हुन् भनी बोल्न थालेका छन् । तैपनि समाजमा गाडिएर रहेको जातीय छुवाछुतको कुप्रथाले अहिले पनि असङ्ख्य मानिसहरूलाई अनाहकमा पीडा खप्नका साथै ज्यानै गुमाउन परिरहेको छ ।
यस्तै बेथिति, विसङ्गति र कुप्रथाहरूको विरुद्धमा निरन्तर लड्दै आएको भेटिन्छ- कलाकार तथा साहित्यकार मञ्जुल मितेरीलाई ।
आधुनिक अरनिको भनी कहलिएका मञ्जुल मितेरी ४३ वसन्त (जन्म वि.सं.२०३७) पार गर्दा नगर्दै मूर्तिकलामा विश्व प्रख्यात भइसकेको प्रमाण जापानमा पहाड नै खोपेर निर्माण गरिसकेको विश्वकै ठूलो बुद्धको मूर्तिले दिएको छ । बुबा इन्द्रबहादुर बराइली र आमा सरिता राईको कोखबाट साइँला सन्तानका रूपमा मोरङ, मिक्लाजुङ-४ मा जन्मिएका मञ्जुल बराइलीले मूर्तिकलालाई आफ्नो पेसाको रूपमा अपनाएको पाइन्छ भने साहित्य लेखनलाई लागेको कुरा व्यक्त गर्ने माध्यम बनाएको पाइन्छ ।
मञ्जुल मितेरीको साहित्यिक पहिलो कृति “आस्था” (संयुक्त कवितासङ्ग्रह -२०५७), दोस्राे कृति “अर्काको देशमा” (कथा सङ्ग्रह -२०७१) हो भने तेस्रो कृतिका रूपमा “कामी” (कवितासङ्ग्रह-२०७९) नेपाली साहित्य आकासमा छुट्टै विशेषता लिएर आएको छ । विशेष गरेर जातीय छुवाछुतको विरुद्धमा उभिएको “कामी” कवितासङ्ग्रहले भ्रष्ट नेताका कारण बनिएको राजनीतिक विसङ्गति, दश वर्षे द्वन्द्वकालमा भएका अमानवीय परिदृश्यका साथै मायाप्रेम र विदेशी भूमिमा भोग्नु परेको दुःखपीडालाई कविताहरूका माध्यमले प्रस्ट पारेको पाइन्छ ।
शिखा बुक्स प्रकाशनले प्रकाशन गरेको यस “कामी” कवितासङ्ग्रहलाई भौतिक नजरले हेर्ने हो भने गद्यमा लेखिएका ३८ वटा लामाछोटा कविताहरू ११० पेजमा फैलिएर रहेका छन् । कृतिकार कवि मञ्जुल मितेरीले ‘आफ्ना कुरा’ भनेर सङ्ग्रहको बारेमा लेखेका छन् भने त्यसभन्दा अन्य प्रकाशकीय वा भूमिका जस्ता कुनै लेखहरू रहेको छैन । जीवन पौडेल र गणेश राई द्वयले आवरणमा कला भरेका छन् भने उत्कृष्ट कागजको प्रयोग भएको सङ्ग्रहको मूल्य रु.२७५।- ठिकै मान्नु पर्दछ । केही कविताहरू छाडेर प्राय जस्तो कविताहरू छोटो समयमा जापान बसाइको क्रममा लेखिएको पाइन्छ ।
उपल्लो जातका मानिसहरू बाटोमा जम्का भेट भए कान्लामुनि झरेर “जदौ” भन्दै बाटो छाडिदिएको, कसैको घर जानु पर्दा आँगनको एउटा कुनामा कुक्रिएर बस्नु परेको, सौदा किन्न हाटबजार जाँदा बजारको एकछेउमा बसेर कसैलाई ल्याउन लाएको जस्तो घटनाहरू थोरै भए पनि देख्न पाएको भन्दा हृदय विदारक घटनाहरू सुन्न पाएकाहरूलाई “कामी” कवितासङ्ग्रहको शीर्ष कविता ‘कामी’ले नमिठो गरी चिमोट्ने गर्दछ । यस कवितामा हिजो अछुत भनिएका जातिहरूले भोग्नु परेका पीडा र व्यथाहरूलाई सरल र सहज पारामा बोलिएको छ । हिजो अछुतको नाममा गरेको अन्याय र अत्याचारको क्षतिपूर्ति नमागिए पनि अब यस्तो पीडामा कसैले पर्न नपरोस् भन्ने सन्देश कवितामा पाइन्छ । त्यति मात्र होइन, फेरि पनि यस्तो कुप्रथाको नाममा दमन चलिरहेमा विद्रोहको ज्वाला दन्काएर युद्धको मैदानमा उत्रन तयार रहेको कुरा यसरी यस कवितामा पोखिएको समेत पाइन्छ :
“हिसाबकिताब, क्षतिपूर्ति र श्रेयकै लागि
फेरि पनि भन्छु – नगरूँ म तिमीसँग युद्ध
मैले भोगेका यी तमाम अँध्याराहरूको बदलामा
प्रेम र सद्भावको आह्वान गरिरहँदा
नसोच्नू फेरि -म युद्धबाट भाग्दैछु
सत्य त यो हो कि –
मलाई युद्ध लड्न आउँदैन होइन
मलाई युद्ध मन पर्दैन
किनकि
म यो देशको कामी हुँ”
(कामी – पेज नं. १९ देखि २२ )
यसै गरी ‘बेमौसमको कविता’मा अन्याय-अत्याचार, विभेद, दमन र शोषणको विरुद्धमा अथवा मुक्ति र समानताको पक्षमा कलम चलाउनु बेकार हो भन्ने मानिसहरूलाई यस कवितामा पढाउन भ्याएको देखिन्छ । “मुखमा रामराम बगलीमा छुरा”, भने झैँ बाहिर एउटा कुरा गर्ने भित्र व्यवहार अर्कै गर्ने, जातीय विभेदको विरुद्ध लड्ने भइटोपलिएका समाज सुधारकहरूको व्यवहार प्रस्ट पारिएको छ, ‘साझा फूलबारी’मा ।
‘चेतनाको चिहान’ कवितामा विभेदको जड मानसिकताले दलितलाई हेरिने दृष्टिकोण प्रस्ट पारिएको छ, भने ‘म आदिम देशभक्त’मा कविले कसैलाई रङ र पोसाकको भरमा नभई उसले गरेको कर्मको आधारमा को देशभक्त हो छुट्याउनु पर्छ भन्ने आशय व्यक्त गरेका छन् ।
‘समुद्र बोकेको मुस्कान’ कवितामा दलित पनि मान्छे नै भएको दर्दनाक कथा समेटेको पाइन्छ । ‘मेरा पुर्खाहरू…’ कवितामा आफ्नो पुर्खाहरूले कहीँ कतै विरोध नगरी एकनासले अन्याय र दमन स्विकारेकोमा आक्रोश पोखेको पाइन्छ, भने ‘आऊ, अब …’ कवितामा जन्मले कोही छुतअछुत नहुने सत्यलाई राख्दै एउटै ताल र लयमा सँगसँगै मिलेर राष्ट्र निर्माणमा अगाडि बढौँ भनी आग्रह गरिएको छ ।
द्वन्द्वकालमा प्रत्यक्ष सहभागी भन्दा अन्य सर्वसाधारणले बढी नै मार खप्नुका साथै ज्यान गुमाउनु परेको थियो । सत्ता पक्षले विद्रोहीलाई खाना र चन्दा दिएको निहुँमा धेरै सर्वसाधारण त विद्रोही पक्षले काम विशेष सदरमुकाम पुगेर आउँदा सुराकी गरेको अभियोगमा सर्वसाधारणहरूले पीडा सहनुका साथै ज्यानै गुमाउनु परेको थियो ।
यस्तै यथार्थता बोकेको कविता हो – ‘मृतकको नाम : बलमान विश्वकर्मा’ भने ‘मञ्जुल बराइलीको खोजी’मा कविले आफ्नो बाल्यकाल र आफ्नो गाउँघर सम्झिएको पाइन्छ । ‘अन्तिम अङ्कमाल’ कवितामा युद्धको अवस्थामा भोगिएको पिडालाई अत्यन्तै सजीवताका साथ चित्रण गरेको पाइन्छ ।
वर्तमान अवस्थामा राष्ट्र हाँक्ने नेताहरूको यथार्थ चित्रण गरिएको ‘सुदूर सीमारेखाबाट’ कवितामा दिनमा दुई गुणा त रातमा चौगुणाका दरले देशको सिमाना छिमेकी मुलुकहरूले मिच्दाको पीडा भेटिन्छ भने ‘आग्रह’मा एउटा नेपालीले नेपाल मै केही गर्छु, गर्न दिनू भनी आग्रह गरिएको छ ।
वर्तमान समयमा मानिसहरूको अहम्ता वा घमण्डलाई ‘ईश्वरको मृत्यु’ कवितामा भेट्न पाइन्छ भने संसारमा म भन्दा शक्तिशाली र ठूलो कोही र केही छैन भन्ने मानवीय भ्रमकै कारण यो संसारको अन्तिम दिन सुरु हुन लागेको कुरा कविले यस कवितामा व्यक्त गरेको पाइन्छ । ‘म फेरि लड्नेछु’ र ‘खुनी कविता’मा नेताहरूको भाषण र बहकाउमा लाग्दा भोगिएको दुःख र पीडाहरूलाई व्यक्त गर्नका साथै अब उप्रान्त यस्तो बहकाउ विरुद्ध लड्ने वाचा गरेको पाइन्छ ।
रोजीरोटी र जोहोको लागि बिदेसिएका नेपालीहरूले बगाएको पसिनाको कथा बोलेको छ ‘बेपत्ता पसिनाहरू’मा । ‘मेरो हात’मा कविले आफूले जापानमा पहाड खोपेर संसारको सबैभन्दा ठूलो बुद्धको मूर्ति बनाउँदै गर्दाको अनुभव पाइन्छ । बिदेसिनु पर्दाको त्यो अन्तिम रातलाई कविले ‘म र समयको महादौड’मा सम्झिएका मात्र छैनन् । विदेशमा पनि उस्तै हतारो र चटारो रहेको यथार्थ पोखेको पाइन्छ ।
“…
तिमीले भनेका थियौ-
बाँच्नु सबैभन्दा कठिन सङ्घर्ष हो भने
सबैभन्दा ठूलो जीत -जिन्दगी
मैले टुकी निभाएँ
…”
(लभ यू जिन्दगी – पेज नं.६७देखि ७० )
उक्त दार्शनिक अंश समेटिएको ‘लभ यू जिन्दगी’ कवितामा आफ्नो जिन्दगी भन्दा प्रिय चिज संसारमा अरू केही नहुने सत्यलाई सरल र सहज पाराले उदाहरण समेत प्रस्ट्याएको छ । आफ सात समुन्द्रपारि रहँदा प्रेयसीको यादलाई आँधीसँग तुलना मात्र गरिएको छैन ‘आँधी’ कवितामा । साथै ‘प्रिय मान्छे’मा हजारौँ सपनाहरू समेटेर निरन्तर लड्दै गरेको र अझ पनि लडिरहने उत्साह पाइन्छ ।
यसै गरी ‘याद’ कवितामा सम्झना जति पुरानो हुन्छ त्यति नै गाढा हुन्छ भनिएको छ भने ‘आकाशगङ्गाको मुन्तिर’मा आफ जहाँ भए पनि एउटै आकाशमुनि रहेकाले दूरीमा टाढा भए पनि आत्माले टाढा नहुने कुरा गरिएको छ । यता ‘मोनालिसा’ कवितामा भिञ्चीले कोरेको प्रसिद्ध चित्रलाई आफ्नो प्रेयसीको बिम्ब बनाएर कविले प्रेम व्यक्त गरेको पाइन्छ । कविले ‘मेरो मृत्युको खबर सुन्नुभन्दा पहिले’ कवितामा आफले मन पराएको प्यारो मान्छेले कहिले पनि आफबाट चित्त दुखाउनु नपरोस् भन्ने कुरा पोखिएको पाइन्छ ।
“ …
फगत मृत्यु लेख्ने तमाम बन्दुकहरूलाई
सिकाउनु छ अब
प्रेम, जीवन, शान्ति र सद्भाव लेख्ने लिपिहरू
सारेर तिम्रै टिफिन बक्सबाट
…”
(ओ ओरिमेन – पेज नं.७१देखि ७३ )
उल्लेखित कवितांश ‘ओ ओरिमेन’ कविताका हुन् । यस कवितामा दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमामा खसालिएको लिटिल ब्वाइ आणविक बमले तहसनहस गर्दाको अवस्थालाई अक्षरहरू मार्फत देखाइएको छ । जसमा ओरिमेन नामक बालकको टिफिनकेरीलाई बिम्ब बनाएर युद्धले ल्याएको दर्दनाक अवस्था र दुःखपीडालाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तुत गरिएको मात्र छैन, युद्ध र नरसंहार जन्माउनेहरूलाई प्रेम र सद्भाव सिकाएर बुद्धत्वको बाटोतिर डोर्याउने कुरा गरिएको पाइन्छ ।
कवि मञ्जुलले जापान पुगेपछि आफूले गरेको कामलाई ‘जिरो मारुन्’ कवितामा व्यक्त गरेको पाइन्छ । जहाँ सुन्दर महिलाको रूपमा सजिएकी जिरो मारुन् पहाडमा नै कवि तथा मूर्तिकार मञ्जुलले विश्वको सबै भन्दा ठूलो बुद्धको मूर्ति खोपेका हुन् । यसरी पहाड खार्दा बगाएको पसिना र अनुभवलाई कवितामा देख्न पाइन्छ ।
‘रामेन जिन्दगी’मा जापानको धावालाई प्रस्टसँग बुझ्न सकिन्छ । यस कवितामा रामेन नामक जापनिज नुडल्सलाई बिम्बको रूपमा उभ्याएर अत्यन्तै राम्रोसँग परदेशीहरूले परदेश भोग्दाको पीडालाई बुझाइएको छ । युक्रेन र रसियाको युद्धमा युक्रेनी एक कलाकार एलेक्सान्द्राले देखाएको देशप्रेमलाई ‘एलेक्सान्द्रा’ कविताले बोलेको छ । जापानमा फुल्ने प्रसिद्ध फल साकुरालाई सम्बोधन गरेर लेखिएको ‘साकुराको फेदमा उभिएर’ कवितामा फल क्षणिक भए पनि आफ्नो जिन्दगीलाई रमाइलो माने जस्तै जिन्दगीलाई रमाइलो मान्नु पर्छ भन्ने सन्देश दिएको छ ।
“युद्ध भयो
क्रान्ति भयो
आन्दोलन भयो
उनीहरूले परिवर्तन पाए
हाम्री आमाले छोरा गुमाइन्”
(आमा र परिवर्तन – पेज नं.१०१ )
उक्त छोटो तर सिङ्गो कविता ‘आमा र परिवर्तन’मा आन्दोलन र युद्धले नेतालाई पद र पैसा दियो, तर आम मान्छेलाई सास्ती दिएकै हो भने आमाहरूबाट सन्तान खोसेर लिएको दर्दनाक कथालाई उदिनेको पाइन्छ ।
यसैगरी ‘वीराङ्गाना’ कवितामा आमालाई साँच्चै एउटा वीराङ्गाना नारीको रूपमा चित्रित गरिएको छ । कवितामा एउटी आमाले सन्तान जन्माउनदेखि हुर्काउन, बढाउनसम्म गरेको दुःखलाई अति नै मार्मिक तरिकाले व्यक्त गरिएको भेटिन्छ ।
एकहजार विश्व प्रसिद्ध व्यक्तिहरूको अर्धकदको मूर्ति बनाएर नेपाल सरकारलाई दिने उद्घोष गरेर मूर्ति बनाउन थालेका मञ्जुल मितेरी सन् २०१६ देखि जापानमा बस्दै आएका छन् । आशा छ, जापानको भन्दा ठूलो मूर्ति नेपालमा नै बनाएर नेपालको नाम विश्वमा चम्काउने छन् । अनेकाैँ पुरस्कार तथा सम्मानले सम्मानित मञ्जुलको औजार निर्जीव पत्थरमा चले जतिकै कुशल तरिकाले साहित्यमा पनि कलम चलेको पाइन्छ । “कामी” कविता सङ्ग्रहमा रहेका २/३ थान बाहेक सबै कविताहरू जापानमा सन् २०१९ देखि सन् २०२२ भित्र ४ वर्षमा लेखिएको भेटिन्छ ।
यसरी सरसरती नियाल्दा तीन हरफदेखि ५ पेजसम्म फैलिएका कविताहरूलाई संरचनात्मक र भावनात्मक रूपले निकै उत्कृष्ट मान्नु पर्ने हुन्छ, यस सङ्ग्रहलाई । जसको छोटो समयमा नै दोस्रो संस्मरण समेत बजारमा आइसकेको छ । कवितामा मिथक तथा बिम्ब-प्रतीक अत्यन्तै सजग र जीवन्त रूपले प्रयोग गरिएको भेटिन्छ ।
अन्त्यमा कविको अर्को नयाँ सङ्ग्रह चाँडै पढ्न पाऊँ भन्ने शुभकामनाका साथ यसै कविता सङ्ग्रह भित्रबाट एउटा छोटो कविता राख्दै लेखको विट मार्न चाहन्छु ।
“बरु मलाई ‘तँ’ भन
तर
तपाईं ‘अछुत’ किमार्थ नभन”
( स्वीकार्य/अस्वीकार्य- पेज नं.३१ )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

