केही दिनअघि मात्र विमोचित उपन्यास “गोपीचा”ले उत्पन्न गरेको उभार हो, यी शब्दहरू । प्रस्तुत स्वीकारोक्ति स्वरूप यसका बारेमा केही कुरा लेख्ने प्रयास गरेको छु ।

लेखक विश्‍व कुइकेलले ‘गोपीचा’मा जुद्ध शमशेरकालीन काठमाडौँ सहर र त्यस वरिपरिको काँठको तत्कालीन सयमयको सामाजिक राजनीतिक परिवेशको चित्रण गरेका छन् । काठमाडौँ खाल्टोमा सम्पर्क भाषाको रूपमा रहेको नेवारी भाषाको अन्तर्जातीय प्रयोगलाई मिठो ढङ्गबाट प्रस्तुत गरेका छन् । बीसवटा फरक फरक शीर्षकमा बाँडेर कथालाई अगाडि बढाइएको उपन्यासले मूलतः  तत्कालीन समाजमा व्याप्त जातीय विभेद र नागरिक अधिकार हननले आम मानिसको जीवनमा पार्ने प्रभावलाई मिहिन ढङ्गले केलाउनमा उद्धत भएको देखिन्छ ।

शासकवर्गको स्वेच्छाचारी चरित्रलाई कतै साङ्केतिक र कतै  मुखर रूपमा प्रस्तुत गरिएको छ । चरित्रप्रधान यो उपन्यासको नायक गोपी  शर्मा पौराणिक पात्र जड भरत जस्तै लाग्छ । यो उपन्यासको कथा गोपी र उसकी प्रेमिका सुनकेशरीको वरिपरि घुमेको छ ।

उपन्यासको नायक ब्राह्मण पुरेत्याइँ गर्ने परिवारको मनमौजी, आवारा वा सहज बहुला जस्तो लाग्ने अन्तर्मुखी चरित्रको छ जो कुनै पक्षबाट पनि सामाजिक देखिँदैन र पनि उमेरजन्य प्रभावस्वरूप वा जैविक आवश्यकताले विपरीत लिङ्गीप्रति आकर्षित हुन पुग्छ । जसरी अरू जीवहरू पनि कसैले नसिकाईकन विपरीत लिङ्गीप्रति आकर्षित हुन्छन् त्यसरी नै गोपीचा पनि जात्रा, चाडपर्व, उत्सवमा देखेकै भरमा आकर्षित हुन्छ  र जाति च्युत हुनुपर्ने राणाकालीन प्रचलनलाई बुझ्दा बुझ्दै पनि पानी नचल्ने अन्तर्जातीय केटी सुनकेशरीको प्रेममा दार्शनिक, पागलप्रेमी वा विद्रोही बन्न पुग्दछ । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने भनाइ यस्तै गोपीचाहरूलाई हेरेर प्रयोगमा आएको होला जस्तो लाग्छ ।

प्रकाशबाबा भन्ने राणा परिवारको एउटा असफल प्रेमीले गोपीलाई राणाहरूले जाति नमानेको, रीतिस्थिति, चालचलन आफू खुसी परिवर्तन गरेको तर अरूलाई कठोर नियन्त्रणमा राखेको जानकारी गराउँछ ।

यी कुरा पढ्दै गर्दा वीर शमशेर र उनले वीरधारा बनाउनुको ध्येय मनमा तँछाडमछाड गर्दै आउँछ जसको प्रसङ्ग लेखकले छुटाएका छन् । प्रकाशबाबाको सङ्गतले विद्रोही बन्दै गएको गोपी कुस्लेचौरकी दलित केटीसँग जोडिन पुग्छ जसको प्रतिफल घर, समाजबाट बहिष्करण र कानुनी सजायमा गएर टुङ्गिन्छ । एउटा व्यक्तिले अन्तर्जातीय विवाह गरेकै कारण दामल हुनुपर्ने अवस्थामा रामहरि शर्मा जस्ता राजनीतिक व्यक्तिले चारपाटा मुडिएर सुँगुरको पाठा झुन्ड्याएर चार भन्ज्याङ् काट्न पर्नु अनौठो लाग्दैन, यो उदाहरण पढ्दा ।

भद्रगोल जेलमा सजाय बिताइरहेको गोपीले टङ्कप्रसाद र गणेशमान सिंहको सामीप्यता पाउँदा केही राजनीतिक घटनाको जानकारी पाउनु स्वाभाविक देखिन्छ । वि. स. १९९७ सालको सहिद काण्डले उसलाई जेल एउटा राजनीतिक शिक्षालय जस्तो बन्न पुग्छ र आफ्नो ब्राह्मण जात कसरी प्राप्त हुनसक्छ भन्ने हुटहुटी पैदा हुन्छ । जुन बेला गोपी शर्मा ब्राह्मण थियो त्यस बेला उसलाई ब्राह्मण संस्कारप्रति अलिकति पनि मोह थिएन, जब दामल हुन पुग्यो त्यसपछि उसलाई खोसिएको जातीप्रति मोह पलायो र यही गुमेको जात प्राप्त गर्न प्रयत्नशील हुन पुग्छ ।त्यही सेरोफेरोमा इतिहासमा स्वर्ण अक्षरमा अङ्कित गणेशमान शाहको जेल ब्रेकको सहयोगी पनि बन्न पुग्छ । त्यस बीच घटेको राजनीतिक घटनाको पटाक्षेप गर्छ उपन्यासले ।

उपन्यासकारले करिबकरिब ८५/९० वर्ष अगाडिको कथालाई आज आएर प्रस्तुत गर्दा पनि जातीय विभेद उस्तै छ, नवराज बि. क. र उनका साथीहरूले  माथिल्लो भनिएको जातीको केटीलाई  मन पराएकै कारण कुटपिटबाट ज्यान गुमाउनु परेको  तितो यथार्थ हाम्रो सामु छ। संविधानतः नेपालीहरूले विभेद, शोषण र  नागरिक हकबाट वञ्चित हुनु नपरेको भए पनि व्यवहारमा यी कुरा आकाशको फल जस्तै छन् आज पनि ।

उपन्यास पढिरहँदा इतिहासमा पढेका धेरै घटनाहरू आँखामा नाच्न थाल्छन् । कथा विषयकेन्द्रित भएर अगाडि बढेको छ, उपन्यासकार बहकिएका छैनन् तर केही प्रसङ्गमा  चिप्लेका छन् । जस्तै उपन्यासको सुरुमा नै आउने अर्जुनको यसपछि कतै नाम उल्लेख छैन । यो चरित्र को हो, उपन्यासभरि केही नलेखिएको देख्दा अर्जुनको बारेमा लेखिएको कथा पुस्तक प्रकाशनसम्म पुग्दा लेखकले किन लुकाएछन् भनी शङ्का लाग्छ ।

त्यस्तै उपन्यासको मुख्य पात्र गोपी शर्माको बहिनीहरू छन् भनिएको छ तर तिनीहरूको कहीँ केही प्रसङ्ग नै छैन । त्यस्तै मुख्य पात्र सुनकेशरीको चर्चा पनि अपुरो छ, सिन्दूर पोते गरेपछि उनको अवस्था के भयो, यो जान्ने उत्सुकता पाठकको मनमा स्वाभाविक रूपमा उठ्छ । पाठकले भन्नै पर्ने हुन्छ, सुनकेशरी पात्रप्रति अन्याय भयो । चरित्रप्रधान बनाउने नाममा उपन्यास केही एकाङ्की र छोटो भएको छ भने अक्षरको आकार अलिक सानो पनि छ।

‘गोपीचा’ न त श्री ३ को विरोधमा आन्दोलनकारीलाई सघाउँदै छ न त उसमा श्री ५ को हुन भन्ने उचित चेत नै छ । ऊ राणाशासन विरुद्धको आन्दोलनको स्थापित र सफल नेतृत्व पनि होइन । त्यसकारण आवरण पृष्ठमा गोपीमा प्रयोग गरिएको श्रीपेचले के बुझाउन खोजेको प्रस्ट भएन । यदि यो शासकप्रतिको व्यङ्ग्यचेत मात्र हो भने लेखकले कुनै प्रसङ्गमा खुलाइदिएको भए राम्रो हुन्थ्यो ।

राणाकालीन समयका महत्त्वपूर्ण घटनाहरू जस्तै जातीय विभेद, मानवअधिकार हनन, केन्द्रीकृत शासन प्रणाली, जेल ब्रेक आदि घटना लाई उपन्यासमा बोधगम्य तरिकाले प्रस्तुत गरिएको छ । उपन्यासकारले निरङ्कुश राणातन्त्रको आन्दोलनमा लाग्ने गुमनाम भुइँमान्छेहरूलाई उपन्यासको नायकको रूपमा प्रस्तुत गरेका छन् । आगामी दिनमा ऐतिहासिक घटनामा संलग्न यस्ता  भुइँमान्छेको खोजअनुसन्धान र उनीहरूको योगदानको कदर हुनुपर्छ भन्ने उपन्यासकारको आग्रह छ ।

भूमिकामा लेखकले यो पुस्तकपछि कसैले ‘गोपीचा’ र ऊ जस्तै पात्रको खोजअनुसन्धान भयो भने आफ्नो लेखनी सार्थक हुने उल्लेख गरेका छन् । आफ्नो इतिहासप्रति फिटिक्कै गर्व नगर्ने नयाँ पुस्तालाई इतिहास बुझ्न सहयोग पुग्ने गरी  सरल र सुल्झिएको भाषा शैलीमा उपन्यास लेखेर  पठन संस्कृति विकास गर्न  योगदान दिएका छन् । साथै इतिहास जस्तो गहन र जोखिमपूर्ण विषयमा कलम चलाएर नेपाली साहित्यिक क्षेत्रमा आफ्नो सशक्त उपस्थित प्रस्तुत गरेका छन् ।  पहिलो कृति “सुगन्धपुर” कथासङ्ग्रह भन्दा यस उपन्यासमा लेखनशिल्प परिष्कृत  छ जसले आगामी दिनमा अझ परिष्कृत कृतिको अपेक्षा गराउँछ ।

आख्यानकार विश्‍व कुइकेलको दोस्रो कृति  “गोपीचा” ऐतिहासिक पृष्ठभूमिमा लेखिएको सामाजिक उपन्यास हो जसलाई शिखा बुक्सले प्रकाशन गरी रुपियाँ ३७५ मूल्यमा बजारमा ल्याएको छ ।