नेपाली साहित्यमा कविता, कथा, उपन्यास, नाटकदेखि पाठ्यक्रमका लागि रचना लेख्ने भीमनिधि तिवारी धेरै कृति लेख्ने स्रष्टा मध्ये पर्दछन् । विस्फोट नामक काव्य सङ्ग्रहका लागि २०१७ सालमा मदन पुरस्कार प्राप्त गर्ने तिवारीले तीन दशकभन्दा बढी सरकारी सेवामा बिताएका थिए । राणाकालीन समयदेखि नै साहित्यिक सङ्घसंस्थामा अबद्ध तिवारी नेपाली समाजका तत्कालीन यथास्थितिवादी समाजका प्रतिनिधिलाई साहित्यमा उतार्ने गरेको समीक्षकहरूको दाबी छ ।

भीमनिधि तिवारी

भीमनिधि तिवारी

“माटोको माया” उनको सफल नाटक हो । यस ऐतिहासिक नाटक उनले वि. सं २०१८ चैतमा एक महिना लामो गोरखा दरबारको बसाइँको क्रममा त्यहाँका बैठक कोठा, चोटा, भान्सा, भँडार, पूजाकोठा र बार्दलीहरूमा घुम्दा त्यहाँ एउटा विशेष कोठा रहेछ र जुन आजसम्म एकपटक मात्र खोलिएको छ भन्ने सुनेपछि त्यस कोठाको रहस्य बुझ्दै जाँदा उनलाई के थाहा हुन गयो भने उक्त कोठामा पृथ्वीपति ( गोरखाका राजा वि.सं.१७५०)को माहिला छोरा रणशार्दूल शाहले आत्महत्या गरेका रहेछन् ।

रणशार्दूल शाहले गोरखा राज्य जोगाउन अमूल्य योगदान पुर्याएका थिए तर किन उनले आत्महत्या गर्न पुगे ? यो रहस्य थाहा पाउनको लागि यो नाटक पढ्नै पर्ने हुन्छ ।

नाटक सार:

विसं १७५० ताका गोरखा राज्यमाथि सङ्कट आइलाग्यो । दरौदीँ नदीलाई साँध बनाएर लमजुङे  राजाहरू लिगलिगकोटमा कब्जा जमाएर बसेका थिए । तिनीहरूको विशाल फौज जुन कुनै बेला पनि गोरखा राज्य माथि धावा बोल्न सक्थ्यो र आफ्नो प्रभुत्व जमाउन सक्थ्यो । लमजुङ राज्यको डरैडरले गोरखा राज्यका प्रजा सधैँ रातमा अनिदो रहन्थे । कुरा नेपाल एकीकरणको सुरुवात गर्ने गोरखा नरेस पृथ्वी नारायण शाह जन्मिनु भन्दा अघिको हो, जुन बेला गोरखा पूर्वमा नेपाल खाल्टोमा मल्ल राजाहरूको राज्य थियो भने गोरखा पश्चिममा बाइसे चौबिसे तथा छोटा राजा रजौटाहरूको हालीमुहाली थियो ।

साँध सिमानालाई लिएर गोरखा राज्य र लमजुङ  राज्य बिच, समय समयमा युद्ध नभएको भने होइन । कुनै समय गोरखा राज्य बलियो हुँदा आफ्नो सिमाना पश्चिम मर्स्याङ्दीसम्म फैल्याएको थियो भने अहिले निर्बल हुँदा आफ्नो सिमाना केवल दरौदीँ नदीसम्म सीमित हुन पुगेको थियो । कुनै समय घले राजाहरूले राज गर्ने लिगलिगकोटमा पछि राम शाहले शासन गरे त्यो बेलासम्म लिगलिगकोटलाई गोरखाकै हिस्सा मानिन्थ्यो तर जब लिगलिगकोट माथि लमजुङेहरूको कब्जा रहन गयो त्यसपछि त गोरखा राज्यलाई आफ्नो दैलोमा नै शत्रुले ढुकेर बसेको लाग्न थाल्यो र उसबाट हर-बखत आक्रमण भइहाल्छ कि भन्ने त्रासमा बस्नु पर्यो ।

त्यस बखत गोरखाका बागडोर समालेका थिए पृथ्वीपति शाहले र उनको उत्तराधिकारीको रूपमा थिए वीरभद्र शाह साथै उनको शासन समाल्नेमा छोराहरू रणशार्दूल शाह, पन्थ, कडारिया र छ थरी भारदारहरू पनि थिए । यस्तो कठिन परिस्थितिमा हतोत्साहित भएर पृथ्वीपतिले आफ्ना सम्पूर्ण छोरा, भाइभारदारहरूलाई डाकेर सभा बोलाए । जेठो छोरा वीरभद्रलाई आफ्नो राजकाज सुम्पिएर आफू बागमतीको किनार, पशुपतिनाथको चरणमा, सूर्यघाटमा सानो कुटी थापेर सन्यासी भएर बाँकी जीवन कटाउने उद्घोष गरे । किनकि उनी हरबखत लमजुङेहरूकाे त्रासमा बस्न चाहँदैनथ्ये र गोरखा राज्यसँग त्यत्रो तागत पनि थिएन नि लमजुङेहरूलाई युद्धमा परास्त गर्न सकुन् । केही विकल्प नरहेपछि उनले यस्तो फैसला गर्न पुगेका थिए ।

गोरखा राज्यलाई कसरी सुरक्षित राख्ने भनेर दरबारमा लामो समयसम्म छलफल चलिरह्यो । त्यसैबीचमा कान्छा राजकुमार रणशार्दूल शाहले एउटा जुक्ति निकाले ।  लमजुङेहरूलाई युद्धको बलमा जित्न सकिँदैन तर दिमागको प्रयोग गर्न सकियो भने हराउन नसकिने भने होइन ।  खासमा रणशार्दूल शाहले लमजुङेहरूसँग “माइन्ड गेम” खेल्ने सोच बनाएका थिए ।

उनको योजनाअनुसार नै सबै भाइहरू गोरखा दरबार छोडेर अन्यत्र राज्यहरूमा शरण लिन जाने अनि गोरखा राज्य विरुद्ध हुने षड्यन्त्रहरूलाई बाहिरै बसेर निर्मूल पारी गोरखा राज्यलाई सुरक्षित बनाउने थियो जसको लागि उनीहरूले आफ्नो राज्यमा तथा छिमेकी राज्यहरूमा राजा (पृथ्वीपति शाह)ले आफूहरूलाई राज्यबाट निकालिदिएको भ्रम फैलाएका थिए । योजना मुताबिक नै राजकुमारहरू र भाइभारदारहरू कोही लिगलिगकोटतिर, कोही बार्पाक राज्यतिर लागे, केही भारदारहरू कालीगण्डकीतिर झरे । यता गोरखा राज्यमा युवराज वीरभद्र शाह मात्र रहे अनि गोरखा बासीहरूमा ‘अब गोरखा राज्य पतन हुन लाग्यो, हाम्रो राजाको मति बिग्रियो’ भनेर जनताहरू डराउन थालेका थिए  ।

रणशार्दूल शाह, गौरेश्वर पन्थ र बलिपाध्य कडारिया भने गोरखा दरबारबाट तल दरौदीँको बगरतिर झर्दै गर्दा बाटोमा एक अठार वर्ष जतिको मगर्नी केटीसँग भेट हुन्छ जो आफ्नो पटुकाको पासो लागेर आत्महत्या गर्न लागेकी हुन्छे । कारण, उसको मर्जीबिना उसको बिहे छिमेकी शत्रु राज्यको केटासँग गर्दिन लागेका हुन्छन् घर परिवारले । तर उसलाई यो कुरा मञ्जुर हुँदैन । शत्रु देशमा बिहे गरी जानुभन्दा बरु मर्नु निको ठान्छे । आफ्नो माटो प्रतिको यस्तो अगाध प्रेम देखेर रणशार्दूल शाह  प्रभावित हुन्छन् र उसलाई पनि सँगै साथ लगेर चारै जाना लिगलिगकोट तर्फ उक्लन्छन् ।

उता लिगलिगकोटमा दावानल शाह र ठाहिँलो भुजेल गोरखा राज्यलाई हेर्दै त्यसलाई आफ्नो अधीनमा पार्ने सपना देख्दै हुन्छन् । त्यही बेला गोरखाबाट गएका राजकुमार, भाइभारदार र मगर्नी केटी (गौलेँची) शरण माग्न आइपुग्छन् । उनीहरूले आफू लिगलिगकोटा आउनु बनावटी कारण बताउँछन् जुन कुरा लुकाउन आफ्नो दाजु भाइको बिर्सिसकेको पुरानो साइनोको हतियार प्रयोग गर्छन् ।

यता गोरखा दरबारमा पृथ्वीपतीलाई आफ्ना छोरा भाइभारदारहरूलाई बिनसित्तिमा आरोप लगाएर देश निकाला गर्नु परेको खेद रहन्छ । अझ विशेष गरी कान्छा छोरा रणशार्दूल शाहको माया लागेर आउँछ किनकि ऊ आफ्नो सबै भन्दा ठुलो शत्रु लमजुङेको शरणमा पुगेको थियो । एउटा सानो गल्ती वा सुराकीले मात्र पनि गोरखाका ती वीर सपुतहरूलाई लमजुङेहरूले मौलोमा लगेर गिँड्न कत्ति पनि बेर लगाउने वाला थिएनन् । रणशार्दूल शाहको यो त्याग, बलिदान र होसियारी केवल आफ्नो माटो रक्षाको लागि मात्र गरेका थिए । आफ्नो पिता अनि दाइको राज्य सुरक्षित होस भन्ने उनको एक मात्र चाहना थियो ।

गोर्खालीहरू लिगलिगकोटमा बसेको पनि पुरा ५ महिना पुगिसकेको थियो तर आज सम्म लमजुङेहरूले उनीहरूको भेद पाउन सकेका थिएनन् भने यता गोर्खालीहरूले लिगलिगकोटको महत्त्वपूर्ण सुराकहरू भने गुप्त रूपमा गोरखा पठाइरहेका थिए । बेला बखत दावानल शाह रणशार्दूल शाहलाई  गोरखामाथि आक्रमण गरेर शासन आफ्नो हातमा लिन उक्साइरहेका थिए । किनकि दावानल शाह सकेसम्म उनीहरूले नै आफ्नो राज्यमा आक्रमण गरोस् भन्ने चाहन्थे र आवश्यक परेको सैन्य सहयोग उपलब्ध गराउने बाचा पनि गरिरहन्थे ।

दसैँ नजिकिँदै थियो । लिगलिगकोटको सम्पूर्ण जिम्मा रणशार्दूल शाहलाई जिम्मा लगाएर दावानल शाह दशौँ मनाउन लमजुङ जान चाहन्छन् किनकि लिगलिगकोटमाथि कब्जा गरेपछि उनी आजसम्म आफ्नो पुर्खौली घर जान पाएका थिएनन् । यता रणशार्दूल शाहलाई पनि आफ्नो भाइ समान मानिसकेका थिए र उनलाई आफ्नो सबभन्दा विस्वासिलो पात्र पनि ठानिसकेका थिए । गोर्खालीहरूलाई यही सुनौलो अवसरको खोजीमा त आज सम्म कुरिबसेका थिए । तत्कालै रणशार्दूल शाहले गोरखा दरबारमा खबर पुर्याएर चाँडै लिगलिगकोटमाथि आक्रमण गरी आफ्नो कब्जामा पार्न समाचार पठाए । त्यसपछि त के चाहियो र, एकै रातमा लिगलिगकोट गोरखा राज्यको हात लागिहाल्यो ।

लिगलिगकोटको विजयपछि सबै भाइभारदारहरू पुनः गोरखा फर्किए । किनकि अब उनीहरूको लक्ष्य पुरा भएको थियो । लिगलिगकोटमा भएको सफल युद्धको श्रेय सबैले रणशार्दूल शाहलाई दिए किनकि उनैको जुत्ती र साहसको दममा गोरखाले आफ्नो सबभन्दा ठुलो शत्रुलाई परास्त गरेको थियो । बिस्तारै गोरखा राज्यमा, प्रजाहरूमा अनि दरबारभित्र पनि कान्छा राजकुमारको चर्चा परिचर्चा हुन थाल्यो । जताततै उनको मात्र गुणगान सुनिन थाल्यो । आफ्नै भाइभारदारहरू पनि उनको तारिफ र प्रशंसा गरेर नथाक्ने भए । त्यसपछि युवराज वीरभद्रको मनमा आफ्नो भाइप्रति रिस, राग र डाहा हुन थाल्यो । आफ्नो मुखैमा आउन लागेको गोरखा राज्य अब भाइले खोस्ने भयो भनेर उनी रात दिन छटपटाउन थाले, तड्पिन थाले । बिस्तारै तनाव दरबारभित्र पनि देखिन थाल्यो ।

तनाव यति सघन हुन पुग्यो कि गौरेश्वर पन्थ र बलिपाध्ये कडरियाहरू गोरखा दरबारमा अट्न सकेनन् र उनीहरू पुनः लिगलिगकोटतर्फ लागे । यता रणशार्दूल शाहलाई पनि आफ्नो दाइको बिग्रँदो हालत देखेर निको लागेन र उनले आफ्नो गोरखा राज्यमाथि कुनै दाबी नगरेको र यो सबै त गोरखा राज्यको लागि, दाइको लागि गरेको भनेर स्पष्टीकरण दिए । यति भन्दा पनि दाइ वीरभद्रलाई भने आफ्नो भाइले आफूलाई सिद्ध्याउन षड्यन्त्र गरिरहेको भन्ने भान भइरह्यो र उनले भाइलाई तथानाम गाली गरे, विभिन्न आरोप तथा लाञ्छनाहरू लगाए जुन कुरा बिचरा रणशार्दूल शाहले सहनै सकेनन् ।

उनले त जति काम गरेका थिए केवल आफ्नो राज्य बचाउनलाई गरेका थिए । आफ्नो माटोको मायाको लागि गरेका थिए । अन्ततः उनलाई आत्मग्लानिले यतिसम्म पिरोल्यो कि उनले आफूलाई दरबारको एउटा कोठामा चुपचाप बन्द गरे र कटारले सेरिएर आत्महत्या गरे । त्यस दिनदेखि गोरखा राजदरबारमा कहिल्यै सुकुन् भएन । केही न केही बाधा अड्चनहरू आइरहे । त्यसलाई वायुको प्रकोप भन्न थालियो । त्यहीपछि राजा वीरभद्रको पनि मानसिक अशान्ति र विषादले गर्दा अल्प आयुमा देहान्त भयो ।

अन्तमाः

राज्यलाई चलाउनको निम्ति वा कुशल शासक हुनको निम्ति केवल राज परिवारमा जन्मिएर मात्र हुँदैन, त्यो शक्ति, सम्मानसँगै आउने जिम्मेदारी, वफादारी र समस्याहरूसँग पनि उत्तिकै जुध्ने सामर्थ्य हुनु पर्छ । शक्तिको खेल सबभन्दा खतरनाक हुन्छ जहाँ आफ्नै दाजुभाइ र बाबुछोराको रगतको होली खेल्नु पर्छ । परिवारको कलहलाई समयमै शान्त गर्न सकिएन र भाइ-भाइ बीचको सम्बन्धलाई सन्तुलन गर्न सकिएन भने जति नै प्रिय भए पनि एकदिन फाटो आइहाल्छ र त्यसले विनाशको रूप लिन्छ । इतिहासका किताबका पन्नाहरू यस्ता धेरै कुराहरू लेखिएकै छैन जबको हाम्रो सम्पूर्ण इतिहासका काला, राता धब्बाहरू यस्तै पारिवारिक कलह, रिस राग र द्वेषहरू भरिएको छ । सायद त्यही भएर पनि होला हामी शक्ति, सत्ता र षडयन्त्रबाट बाहिर उठ्न सकेका छैनौँ ।

यो नाटक पढिरहँदा आफू पनि टाइमट्राभल गरेर वि.सं. १७५० तिर नै पुगेको अनि रणशार्दूल शाहसँगै गोरखा दरबार र लिगलिगकोटको भ्रमण गरेको जस्तो अनुभव हुन्छ । नाटकमा उल्लेख भएका ठाउँहरू जस्तै लिगलिगकोट, धुवाँकोट, पस्लाङ, छेवेटार, बार्पाक फेरि पनि आफ्नै पैतालाले नाप्न मन हुन्छ । अधिकांश ठाउँहरू त अहिले पनि उचित प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेका छन् । कतिपय गढी किल्लाहरू खण्डहर भनेका छन् भने केहीको त अस्तित्वको नामोनिसान पनि भेटिँदैन ।

हामी धार्मिक, प्राकृतिक रूपमा मात्र धनी छैनौँ , हामी इतिहास, संस्कृति र लोक कथाकाहानीहरू पनि उत्तिकै धनी छौँ केवल हामीलाई चाहिएको छ यस्ता सम्पदाहरूको संरक्षण गरिदिने अनि भीमनिधि तिवारी जस्ता स्रष्टाहरू जसको कलमको जादू र शब्दको प्राणले हाम्रो इतिहास सधैँ जीवित रहिरहने छ।