विसंं.२०५६ सालको प्रहरी द्वैमासिक पत्रिकामा ‘हामी हौँ प्रहरी’ कविता प्रकाशित भएपछि साहित्यकार शम्भु सुस्केरा नेपाली साहित्यमा प्रवेश गरेका थिए । कविता लेखनबाट साहित्य यात्रामा लम्किएका सुस्केराले कथा, निबन्ध, कविता, नियात्रा रचना गरेका छन् ।  पुस्तकाकार कृतिका रूपमा क्रान्तिकारी बहिनी (२०६९) सरोगेट लोग्ने (२०७२) र सहिदकी आमा (२०७२) कथासङ्ग्रह प्रकाशित भएका छन् । लामो समय प्रहरी सेवा र सञ्चारकर्मीका रूपमा रहेका सुस्केरा हाल समाजसेवी र राजनीतिकर्मीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् ।

शम्भु सुस्केराका रचनाहरूमा राष्ट्रवादी विचार, प्रकृति चित्रण, सामाजिक यथार्थता, मानवतावादी स्वर, समसामयिक चेतना, प्रगतिवादी चेतना, व्यङ्ग्यात्मकता, कारूणिकताजस्ता प्रवृत्तिहरू पाइन्छन् । समाजमा घटेका घटनाहरूलाई यथार्थ रूपमा साहित्यमार्फत् अभिव्यक्त गर्ने हुनाले उनको प्रमुख प्रवृत्ति भने यथार्थवादी नै हो । आफ्नो नियमित प्रहरी सेवाका अतिरिक्त यी विविध सिर्जनाको बाटिकामा उनी सक्रिय छन् । भ्रमणका सौखिन घरपरिवारमा बसेर आफ्ना पारिवारिक सदस्यहरूसँग रमाउन चाहने उनको जीवनले विविध क्षेत्रमा समावेश भई अनुभव समेटेको छ ।

उनका विभिन्न विधाका लेखहरू साथै समीक्षात्मक लेखहरू पत्रपत्रिकाहरूमा प्रकाशित छन् । यसरी  उनले नेपाली साहित्यमा योगदान पुर्‍याउने प्रयास गरेका छन् । वास्तवमा कथा विचार तथा भावनाको सञ्चार गर्ने एउटा यस्तो पूर्ण कला हो जसले आफ्नो सानो आयतनलाई एउटा सुन्दर आकार प्रदान गरेर त्यसमा जीवन वा समाजको सजीव चित्र कोर्दछ । कथामा मनोरञ्जक कथात्मकता तथा प्रस्तुतिगत मिठासले गर्दा यो अन्य साहित्यिक विधा भन्दा रोचक हुन्छ ।

कथाले आन्तरिक तथा बाह्य प्रवृत्तिहरूको चित्रण गरेर मानव जीवन तथा समाजलाई दिशानिर्देश गर्ने हुनाले यो अति गहन, सूक्ष्म तथा कौतूहलपूर्ण हुन्छ । यसको संरचनामा कथानक, चरित्र, परिवेश, दृष्टिबिन्दु, जीवनदर्शन, भाषाशैली आदि विभिन्न उपकरणहरूको समायोजन भएको हुन्छ । यसले फरक फरक तत्त्वहरूको आन्वितिका माध्यमबाट कथाले आफ्नो सुन्दर स्वरूप प्राप्त गर्दछ । कथालाई जीवनजगत् तथा सिङ्गो सभ्यता कै प्रतीक मानिन्छ । यसमा मानव जीवन, सभ्यता तथा समाजको कथा अनि जीवन जगत्कै व्याख्या विवेचना र आलोचना हुन्छ ।

यसमा आफ्नो समाज र युगमा बाँचेका व्यक्तिका कथा, व्यथा, सुख, दुःख, जय, पराजय, विचार, अनुभव आदि विविध पक्षको उद्घाटन र तिनले समाजमा पार्ने प्रभावको यथार्थ प्रस्तुतीकरण भएको हुन्छ । कथा एउटा गतिशील विधा भएको हुँदा यसले युग चेतनालाई राम्ररी स्पष्ट्याउन  सक्छ । आफ्नो निश्चित शैली, संरचना र सीमामा रहेर जीवन जगत्को सटिक चित्रणतर्फ लक्षित हुनु कथाको प्रकृति हो ।

‘सहिदकी आमा’ शम्भु सुस्केराको उत्कृष्ट कथासङ्ग्रह हो । यस सङ्ग्रहमा विविध विषयका १६ कथा समाविष्ट छन् । उनका कथामा नारीका मनोवैज्ञानिक पक्ष, आदर्श प्रेम तथा नारीको असल भूमिकालाई सर्वाधिक महत्त्व दिइएको छ । घटनालाई भन्दा पात्रको चरित्रचित्रणलाई प्रमुखता दिएर लेखिएको ‘सहिदकी आमा लाई चरित्रप्रधान कथाका रूपमा लिन सकिन्छ । चरित्रकै माध्यमबाट कथाकारले आफ्नो चिन्तनलाई प्रस्तुत गरेका छन् । यी पात्रहरूले कथावस्तुलाई अगाडि बढाउँदै कथाकारको मनोवैज्ञानिक तथा यथार्थवादी चिन्तनलाई स्थापित गर्न सहयोग गरेका छन् ।

‘सहिदकी आमा’ कथासङ्ग्रहमा सङ्कलित ‘सिकिस्त सपना’ र ‘क्रान्तिकारी बहिनी’ कथामा राजनीतिक परिवर्तनपछिको सामाजिक पृष्ठभूमिमा यथार्थवादी र मनोवैज्ञानिक मूल सैद्धान्तिक प्रवृत्तिका साथ देखा परेको सामाजिक यथार्थ र मानसिकतालाई महत्त्व दिइएको छ । यस कथामा समाजको यथार्थ पक्षको चित्रणका साथै जागरण र उनीहरूको मानसिक अवस्थाको चित्रण मुख्य रूपले भएको छ ।

सहिदकी आमा शीर्षकको कथा यस सङ्ग्रहको शीर्ष कथा हो जसको नामबाट पुस्तकको नामकरण गरिएको छ । प्रस्तुत कथा जनआन्दोलनमा सहिद भएको र सहिदकी आमालाई सम्मान गरेको सामाजिक परिवेशमा लेखिएको छ । कथामा सुस्केराले जन-आन्दोलनमा सहिद भएको गोरे कामीलाई सत्तासीन नेता तथा मन्त्रीले सम्मान गरेको र उसको योगदानको कदर गर्दै उसकी आमा फूलमतीलाई सहिदकी आमा भनेर सम्बोधन गर्दै उच्च मानसम्मान दिएको परिवेश र त्यतिखेरको सामाजिक पर्यावरणलाई कथामा देखाएका छन् ।

जन-आन्दोलनपछि नेपाली समाजमा आएको सामाजिक परिवर्तनहरू, सहिदको मूल्य र उसको परिवारले भोग्नु परेको विविध अवस्थाको चित्रण कथामा गरिएको छ । गाउँले जनताहरूको सामाजिक स्तर तथा उनीहरूले एक अर्कोप्रति गर्ने व्यवहारको चित्रण पनि कथामा चित्रण भएको छ । नेपाली ग्रामीण समाजको परिवेश अर्थात् देश, काल र वातावरण यस कथामा जस्ताको तस्तै आएको छ । नेपाली ग्रामीण समाजमा अशिक्षाका कारण अर्थबोध गर्न नसकेको परिप्रेक्ष्यलाई प्रस्तुत गर्दै ग्रामीण समाजको यथार्थ र सहरी सत्तासीन व्यक्तिको जीवनचर्यालाई कथामा प्रस्तुत गरिएको छ ।

सहिदकी आमा कथामा कथाकारले जनआन्दोलनमा बलिदान दिएर सहिद भएको गोरे कामी र उनकी अनपढ आमाले सहिदको अर्थ नबुझेको कुरालाई स्पष्ट पार्दै आफ्ना कथाका लागि सामाजिक विषयलाई प्रस्तुत गरेका छन् । आफ्नो ज्यान बलिदान दिएर राज्यका र परिवर्तनका लागि योगदान गरेका युवाहरूको विषयलाई कथामा प्रस्तुत गरिएको छ ।

आन्दोलनका क्रममा सहिद भएको गोरे र उसकी आमाका केन्द्रीयतामा रचिएको यस कथामा सहिदको अर्थ नबुझेकी फुलमती कामीलाई सम्मान गरेको र भेट्न सहर बोलाएको कथानक उल्लेख गरिएको छ, जुन अहिलेको समय सापेक्ष देखिन्छ । क्रान्तिमा मरेको छोरो ज्युँदै छ भन्ठानेर सहरमा जाँदा बाटोमा सहिदको वास्तविक अर्थ थाहा पाएर अचेत भएकी फुलमती कामीको अवस्थालाई कथामा मार्मिक ढङ्गबाट देखाइएको छ । अनपढ गाउँले युवतीले भोग्नु परेको अज्ञानता र पीडालाई कथामा समावेश गरिएको छ

कथाको सुरुवातमा अशिक्षित सहिदकी आमालाई मञ्चमा बोलाएर सम्मान गर्ने कार्यक्रमको जानकारी सँगै जनआन्दोलनमा छोरो सहिद भएको समाचारबाट कथानक अगाडि बढेको छ । मन्त्री, नेता तथा गाउँका भद्र भलाद्मीहरू बोलाएर आमालाई सम्मान गरेको घटनाले कथानकको मध्य भाग पार गरेको छ भने सहिद छोरोलाई भेट्न भनी बसमा चढेर काठमाडौँ आउँदा सहिदको वास्तविक अर्थ थाहा पाउँदा ठाउँको ठाउँमै ढलेर मृत्यु भएको घटनाबाट कथानकको अन्त्य भएको छ ।

‘सहिदकी आमा’ कथा परिवर्तनपछिको समयमा सामाजिक असमानतालाई मूल विषय बनाएर लेखिएको मनोवैज्ञानिक यथार्थवादी कथा हो । यस कथामा फूलमती प्रमुख पात्र हुन् । यी बाहेक गोरे, ड्राइभर, मन्त्री, प्रहरी तथा फूलमतीजस्ता पात्रहरूले सहायक तथा गौण भूमिकामा उपस्थित भएर कथालाई पूर्णता प्रदान गरेका छन् । सहिदकी आमा कथामा फूलमती नै प्रमुख पात्र हुन् । निम्न मध्यम वर्गीय परिवारको फूलमती अनपढ तथा नारी पात्र पनि हुन् । उनको जीवनको यथार्थ चित्रण नै कथाको कथावस्तु भएकोले कथामा उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

सहिदकी आमा कथामा कथाकारले नेपाली समाजमा देखिएको राजनीतिक परिवर्तन र अनपढ नेपाली नारीका स्थितिलाई सहज ढङ्गबाट चिरफार गरेका छन् । नेपाली ग्रामीण समाजका निम्न वर्गीय मानिसको अभावग्रस्त पाटाहरूलाई देखाउन खोज्नु नै सहिदकी आमा कथाको मुख्य उद्देश्य हो । कथामा सहिदको अर्थ नबुझ्ने अशिक्षित अवस्थाको समेत चित्रण गरिएको छ । देशका लागि सहिद हुनेहरूप्रति राज्य र सरकारको उदासीनता तथा नाम मात्र सम्बोधन गरिएको अवस्थालाई कथाले देखाउन खोजेको छ । सहिद भएर उसकी आमाले पाएको सम्मानको प्रसङ्गमा कथाको शीर्षकीकरण गरिएको छ ।

‘बोक्सी हजुरआमा’ र ‘मुक्ति’ कथामा नारीको रक्षाका लागि गरेका क्रियाकलापमा उसको नारीत्वको चित्रण गरिएको छ । उक्त कथामा पुरुषको भोगवादी दृष्टिकोणमा सामाजिक विविधताका कारण काठमाडौँमा जागिरे जीवन बिताएका म पात्रका मानसिक तथा जागिरे जीवनका यथार्थको प्रस्तुति उनको चरित्रबाट चित्रण भएको छ । कथामा दुवै मनोवैज्ञानिक पक्षको प्रतिनिधित्व गरेका छन् । यिनीहरूको उपस्थिति कथामा परिवेश निर्माण तथा कथानकलाई गति प्रदान गर्न सहयोगीका रूपमा भएको छ ।

उनका कथात्मक प्रवृत्तिहरूमा राष्ट्रवादी विचार, प्रकृति चित्रण, सामाजिक यथार्थता, मानवतावादी स्वर, समसामयिक चेतना, प्रगतिवादी चेतना, व्यङ्ग्यात्मकता, कारुणिकता    प्रवृत्तिहरू पाइन्छन् । सुस्केरा सामाजिक यथार्थवादी कथाकार भएकाले उनका त्यो रात काली केटी र म, भूमध्य रेखाकी कान्छी स्वास्नीजस्ता कथाहरू समाजका घटनाहरूमै आधारित छन्  ।

सुस्केराका कथा पात्रहरूले यथार्थको प्रतिनिधित्व गरेकाले उनका कथाहरूमा उपयुक्त भाषा  र शैलीको प्रयोग भएको छ । यसमा राजनैतिक विषयवस्तुलाई पनि केन्द्रमा राखेर सहिदकी आमा, क्रान्तिकारी बहिनी, सिकिस्त सपना, नलुकेको दुःखजस्ता कथाको रचना गरिएका छन् ।

यस सङ्ग्रहका कथामा परिवर्तनले पारेका प्रभावहरूको चित्रण यथार्थवादी ढङ्गबाट गरिएको छ । उनले नारी समस्याको चित्रण गरेर बुहारीको बिहे, नलुकेको दुःख, बोक्सी हजुरआमा जस्ता कथाहरू लेखेका छन् । सुस्केरा सामाजिक यथार्थवादी कथाकार भएकाले उनका त्यो रात काली केटी र म र भूमध्य रेखाकी कान्छी स्वास्नी कथाहरू समाजका घटनाहरूमै आधारित छन्, जसले समाजका सुख-दुःख र बाध्यात्मक परिस्थितिलाई छर्लङ्ग पारेको छ । राष्ट्रवादी विचारको प्रयोग गर्दै राष्ट्रसेवक सुस्केराले ‘मैले देखेको सपना’, ‘नलुकेको दुःख’को रचना गरेका छन् भने समाजमा घट्ने गरेका घटनाहरुलाई जस्ताको तस्तै कथामा उतार्न दसैँ, खाटा नबस्ने घाउ, दुई दुना दुई कथा रचना भएको पाइन्छ ।

उनका सबै कथाले समाजका गरिब र निम्न वर्गका मानिसहरूका पीडालाई नजिकैबाट नियालेको छ । समसामयिक  र प्रगतिवादी चेतनालाई आफ्नो कथात्मक प्रवृत्तिमार्फत् उनले रूढिवादी, अन्धविश्वास र परम्परावादी सोचलाई जरैदेखि उखेलेका छन् । त्यसै गरी कथामा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिहरूप्रति तीखो व्यङ्ग्य प्रहार गर्दै सुधारको चाहना राखिएको छ ।

समग्रमा, उनका कथाले समसामयिक यथार्थका विषयलाई प्रस्तुत गरेका छन् । कथामा पात्रको मनोबिम्बको चित्रण भएको छ । सरल भाषाशैलीको प्रयोग गरिएका उनका कथा सरल, सुबोध्य, मिठा र पठनीय छन् । सङ्ग्रह पठनीय र सङ्ग्रहनीय रहेको छ ।