आख्यानकार राजन मुकारुङले करिब १२ वर्षअघि लेखेको ‘दमिनी भिर’ उपन्यासमा आधारित नाटक अहिले मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । २०६९ सालको मदन पुरस्कार प्राप्त कृतिमा आधारित यो नाटकको परिकल्पना तथा निर्देशन इँगिहोपो कोइँच सुनुवारले गरेका छन् । जात व्यवस्थामा जकडिएको नेपाली समाजमा उत्पीडित समुदायले भोग्नुपरेको कथा यसमा छ ।

प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको र अत्यधिक पाठकको रोजाइमा परेको उपन्यासको नाट्य रूपान्तरण आफैमा जोखिमयुक्त काम हो । त्यो जोखिम हो— पाठकले अनुमोदन गरिसकेको कृतिलाई दर्शकबाट पुनः अनुमोदन गराउनु । अनि, पठनमैत्री उपन्यासको कथानकलाई प्रदर्शनमैत्री, अभिनयमैत्री र श्रव्य दृश्यात्मक रूपमा सम्प्रेषणीय तुल्याउनु ।

आख्यान विधाकै सबैभन्दा ठुलो संरचना मानिने उपन्यासमा लामो कालखण्ड र सृष्टिको विशाल पक्ष समेटिएको हुन्छ । उपन्यास पढ्दै गर्दा त्यसमा भएका पात्र, परिवेश र विषयवस्तुका बारेमा पाठकले एउटा खाले कल्पना गर्छन् । त्यही कल्पनालाई दृश्यमा उतार्नु अवश्य नै जटिल कुरा हो । झन् त्यसलाई सीमित समयभित्र मञ्चमा प्रदर्शन गर्नु र दर्शकलाई सन्तुष्ट तुल्याउनु अर्को ठुलो ‘भिर’ हो ।

भलै, भदौ २२ देखि प्रदर्शनमा आएको ‘दमिनी भिर’ ले त्यो जोखिम उठाउँदै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । सामाजिक विभेद र पहिचानका पक्षमा कलम चलाउने उम्दा स्रष्टा मुकारुङकृत करिब तीन सय पृष्ठको ‘दमिनी भिर’लाई करिब पौने दुई घण्टाभित्र प्रदर्शन गरी दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्नु निर्माण टिमको सफलता हो ।

दश वर्षअघि अर्थात् २०७० असोज ५ मा बसेको मदन पुरस्कार गुठीको बैठकले ‘दमिनी भिर’लाई पुरस्कार प्रदान गर्ने निर्णय गर्दै गर्दा नेपाली जनताले आफैले चुनेका प्रतिनिधिमार्फत संविधान सभाद्वारा संविधान निर्माणको काम हुँदै थियो । जातीय र वर्गीय उत्पीडनको अन्त्य हुने गरी संविधान निर्माणका लागि विभिन्न व्यक्ति तथा समूहले राजनीतिक दल र तिनका प्रतिनिधिलाई खबरदारी गरिरहेकै बेला आएको ‘दमिनी भिर’को परिवेश र सन्देश पनि सोही अनुरूपकै छ ।

संयोग पनि कस्तो भने यो कृतिलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको दुई वर्षपछि अर्थात् २०७२ असोज ३ मा ऐतिहासिक संविधान सभाद्वारा संविधान जारी भयो । त्यसको आठ वर्षपछि अर्थात् २०८० असोज ३ गते संविधान दिवसकै दिन पङ्क्तिकारलाई ‘दमिनी भिर’ हेर्ने अवसर जुर्‍यो । ‘’दमिनी भिर’ को विषयवस्तु, पृष्ठभूमि र कथावस्तुका सम्बन्धमा बितेका १२ वर्षमा धेरै चर्चा भइसकेको छ । त्यसैले दर्शकका हिसाबले नाटकका रूपमा ‘दमिनी भिर’ प्रतिको अनुभूति पाठकमाझ बाँड्नु पङ्क्तिकारको उद्देश्य हो ।

मुख्य मुख्य घटना, परिवेश र चरित्रलाई छनोट गरी नाटक निर्माण गरेको कुरा नाटक समूह स्वयम्ले जनाएको छ । अतः त्यसमा छुटेका विषयवस्तु र सन्दर्भका बारेमा कुरा गर्नै परेन । नाटकमा सुरु, मध्य र अन्त्यको व्यवस्थापन निकै सुन्दर तरिकाले गरिएको छ । सुके दमाईकी पत्नीलाई ऋण तिर्न नसकेको बहानामा काजीले बलात्कार गरेपछि ऊ भिरबाट हाम फालेर आत्महत्या गर्छे । त्यसपछि त्यो भिरको नामै दमिनी भिर हुन्छ । यो ‘दमिनी भिर’को पूर्वकथा हो ।

त्यही भिर आसपासमै कथित उच्च जातमा जन्मिएको चेतनले कथित तल्लो जातकी माइली (लच्छी)लाई बलात्कार गर्छ र गाउँबाट गायब हुन्छ । माइलीका पेटमा छोरी हुर्कंदै जाँदा र त्यसलाई जन्माएर ठुली बनाउँदासम्म उसमाथि लगाइने लाञ्छना र उसले भोग्ने सङ्घर्ष ‘दमिनी भिर’को मध्यकथा हो । दमिनीलाई निरीह पात्रका रूपमा देखाइए पनि लच्छीलाई साहसी पात्रका रूपमा प्रस्तुत गरिएको छ । बलात्कारका कारण जन्मिने बच्चालाई एक्लैले हुर्काउनका लागि गरेको निर्णय उसको साहसी कदम हो ।

चेतनलाई गल्ती स्विकार्न बाध्य पार्न ऊ दृढ भएर निरन्तर लागिरहन्छे । अन्तिममा चेतनले गल्ती स्विकारेर माइलीलाई र छोरीलाई स्विकार्न तयार भए पनि उसले आफूलाई सङ्घर्षमा साथ दिने (धौले) कान्छासँग जीवन बिताउने उद्घोष गर्छे । “मेरो शरीर मन पर्ने तर जात मन नपर्ने” भन्दै नाटकको अन्त्यतिर लच्छीले चेतनलाई लक्षित गरेर बोल्ने संवादसँगै कथानक अन्त्य हुन्छ । उसको यो संवाद कारुणिक सुनिए पनि कथित उच्च जातीय अहङ्कारलाई सेखी झार्ने बलियो ‘पन्चलाइन’ हो । नाटकले दिन खोजेको प्रमुख सन्देश पनि यही हो ।

कलाकारहरूले अभिनयमा निकै मिहिनेत गरेको देखिन्छ । त्यसो त गायन, नृत्य, लीला, प्रहसनको प्रयोग पनि नाटकमा प्रशस्तै पाइन्छ । उपन्यासकार मुकारुङकै लहलह लहरीले, केको जालो, ए नि लै हो, जितेन राईको भञ्ज्याङपारि तथा प्रनिश मगर र सरला (कुइनेटो ब्यान्ड) को माइली बोलको गीत र कुइनेटो ब्यान्डको सङ्गीतले कथानकलाई सुन्दर ढङ्गले बुनेका छन् । प्रकाशको उचित संयोजनले मञ्चमा रङ र नाटकमा प्राण भर्न भूमिका खेलेको छ ।

दर्शकसामु कथा प्रस्तुत गर्ने क्रममा अभिनय मात्र नभएर अमूर्त, बिम्बात्मक र साङ्केतिक पक्षको पनि भरपुर उपयोग यसमा गरिएको छ । कथाका पात्रको सङ्घर्षलाई प्रतिबिम्बित गर्ने गरी मण्डला नाटकघरको मञ्चमा निर्माण गरिएको बडेमानको ‘दमिनी भिर’ को डमी, सुके दमाईकी पत्नीले आत्महत्या गर्दा उसले प्रयोग गर्दै आएको पुर्ख्यौली सनाई दुई टुक्रा परेको दृश्य, बेला बेला बज्ने त्यही सनाईको दर्दनाक आवाजलगायतले दर्शकको मस्तिष्कमा ज्वारभाटा सिर्जना गर्छन् । कलाकारको भावभङ्गीमा, नृत्य र प्रहसनले नाटक उच्च कोटिको बनेको छ । पूर्वी नेपालको ग्रामीण जनजीवनमा प्रयोग गरिने लबज र ठेट नेपाली शब्दको प्रयोगले नाटक मौलिक बनेको छ । सार्वजनिक रूपमा बोल्दा असहज लाग्ने शब्दको प्रयोग भए पनि नाटकको परिवेशमा ती स्वाभाविकै लाग्दछन् ।

मुकारुङको सिर्जन शक्ति, सुनुवारको निर्देशकीय कौशल र कलाकारहरूको जीवन्त अभिनयले नाटक उत्कृष्ट बनेको छ । सबै कलाकारको अभिनय अब्बल रहे पनि जातीय विभेदविरुद्ध उभिने हिम्मतिली लच्छीको भूमिकामा रहेकी पुनम थापाको अभिनय तारिफयोग्य छ । दमिनी भिरको डमीका अघिल्तिर देखिने कलाकार र त्यसका पछाडि बसेर सघाउने सबैको मिहिनेत नाटकमा प्रतिबिम्बित भएको छ ।

गाउँलेको मिहिनेतले दमिनी भिर फोडेर गाउँमा सडक ल्याएको, खच्चरले भारी बोक्ने ठाउँमा मोटर गुड्न थालेको र मान्छेको जीवनशैली फेरिएको तर जातीय उत्पीडनको मुद्दा नफेरिएको सन्दर्भ उपन्यासमा थियो । बितेका १२ वर्षमा पनि जातीय उत्पीडनको मुद्दा ज्युँ का त्युँ रहनु र नाटक निर्माणसम्म आउँदा पनि ‘दमिनी भिर’ सान्दर्भिक हुनु भनेकाे नेपाली समाजको विडम्बना हो ।

(तस्बिर साभारः राजन मुकारुङको सामाजिक सञ्जाल)