स्थिर अब केही छैन । विचार, अवधारणा, सिद्धान्त सबै थोक गतिमान छन् । सोही अनुरूप मान्छेका कर्म, व्यवहार र प्रवृत्तिले परिवर्तनको फड्को हानिरहेको छ । यही परिवर्तनको सङ्घारनेर उभिएर भारतीय नेपाली साहित्यले उत्तरआधुनिकताको क्षितिज ताकिरहेको छ । मूलतः आख्यान साहित्यमा देखिएका नौला प्रयोग, प्रविधि र प्रवृत्ति केलाउँदा स्पष्ट हुन्छ कि भारतीय नेपाली साहित्यको अघिल्लो सोपान ‘उत्तर’मुखी देखिन्छ ।

व्यवहारिक जीवनले आधुनिकताको विगत समातिराखेको भए पनि वैचारिक तथा सैद्धान्तिक पृष्ठभूमिमा जीवनको आख्यानले भने उत्तरआधुनिकतावाद उक्लिसकेको स्पष्ट छ । यसैले आख्यान जीवनको ‘यथार्थ’ र सामान्य जीवनको ‘यथार्थ’मा भेद नचिन्दा हामी वैचारिक धर्म र र संशयको सङ्क्रमणमा परेका छौँ ।

हिजो आफूलाई ‘हो हो’ लागेका सत्यहरू छिट्टै ‘ए होइन पो रहेछन्’ मा पुगिहाल्छौँ । ‘होइन त’ भनेर तोकेका सत्यहरू लगत्तै ‘ए हो त रहेछ’ भनेर स्वीकार गर्न पुग्छौँ । यसरी भ्रमहरू च्यातिएर नयाँ सत्यहरूसित साक्षात्कार भइरहनु आजको मान्छेको विडम्बना छ । त्यही विडम्बनाहरूको असीम सागर तैरिरहनु नै उत्तरआधुनिक जीवनसित बाँचिरहनुको एउटा पर्याय हो । लीलामा “बाँच्ने खेल”को यो बोध अब जीवनसम्बद्ध बनिसकेको छ ।

उत्तरवर्ती अवधारणामा सबैभन्दा शक्तिशाली वैचारिक केन्द्र बहुलवाद बन्दै गइरहेको छ । बहुलवाद भनेको समावेशी चेतना हो । उत्तर-औपनिवेशवादभित्र हुर्किएका आदिवासी स्वर, सवाल्टर्न चेतना, नारीवाद, केन्द्र-किनारा विमर्श, दलित चेतना आदिलाई यही बहुलवादले सम्बोधन गर्छ । सांस्कृतिक अध्ययनमा सीमान्तकृत जाति, भाषा, संस्कृति तथा राजनीतिलाई उपान्तबाट केन्द्रतिर धकेल्न यही बहुलवादले प्रोत्साहित गर्छ । ‘अन्य’ (अदर्स)को विचार र स्वरलाई सम्मान गर्नु भनेकै बहुलवाद आलम्बन गर्नु हो ।

आजको विश्वले हरेकको आवाज र विचारलाई सम्मान र सम्बोधन गर्ने प्रयत्न गर्छ । यहाँबाटै आरम्भ हुन्छ ‘समावेशी’ चेतनाको वैचारिक यात्रा ।  किनभने एउटै सत्य र विश्वास मात्रको आख्यान भत्केर जान्छ यसरी, जसरी भत्केर जान्छ महाख्यान र जन्मन्छन् सूक्ष्माख्यानहरू । ल्योटार्ड भन्छन् ‘महाख्यानप्रतिको अविश्वास नै उत्तरआधुनिक अवस्था हो ।’ “Simplifying to the extreme, I define postmodern as incredulity towards meta-narratives.”

‘समावेशी शिक्षा’ इन्क्लुसिव एडुकेसनको परिदृश्यबाट यसलाई बुझ्ने कोसिस गरौँ । पाठशालामा दिव्याङ्ग नानीहरू पनि हुन्छन् । पहिले-पहिले त यस्ता नानीहरूलाई समाजबाट बहिस्कृत नै गरिन्थ्यो । पछि उनीहरू पनि मानव समाजकै सदस्य हुन् भन्ने मान्यता दिन थालेपछि उनीहरूका निम्ति अलग्गै कक्षा, प्रशिक्षित शिक्षक अनि विशेष व्यवस्थासित पठन-पाठन गरिन थालियो । त्यसो गर्दा केही विलक्षण प्रतिभाहरूले राम्रो अवसर र सफलताको सोपान उक्लन सके तर यसले उनीहरूमा हामी त फरक क्षमता भएका, कमजोर अनि विशेष दयाका पात्र रहेछौँ भन्ने हीनताबोधको भारी अधिक बोकिहिँडेका पाइयो । ‘विशेष शिक्षा’ले केन्द्र र परिधिको निर्माण गर्यो ।

मूलधारको शिक्षाबाट यसरी दिव्याङ्गहरू अलग राखिए । सामान्य शैक्षिक व्यवस्थापनभित्र नअटाउने यस्ता नानीहरूमा सर्वाङ्गीण विकास पाउन सकिएन । त्यसपछि शिक्षा क्षेत्रमा यस्ता दिव्याङ्ग बाल-बालिकालाई बौद्धिक, मानसिक तथा शारीरिक हरेक कोणबाट सर्वाङ्गीण विकास गर्न/गराउन नयाँ शैक्षिक पद्धतिको प्रयोग थालियो । जसलाई ‘समावेशी शिक्षा’ भनियो । आज यसको प्रचलन निकै व्यापक बन्दो छ जहाँ यस्ता दिव्याङ्ग नानीहरूलाई पनि सामान्य नानीहरूसित एउटै छानोमुनि एकै परिवेश, पाठ्यक्रम र पद्धतिले पढ्ने अवसर प्रदान गरिन्छ । यत्ति हो यस्ता विशेष बाल-बालिकालाई पढाउन शिक्षक-शिक्षिकाले थप प्रशिक्षण लिएको हुनुपर्छ । यसो गर्दा यी नानीहरूमा विभेदको भाव उत्पन्न हुन्न । उ ‘विशेष’बाट सामान्यमा समावेश हुन्छ ।

प्रकाश हाङ्खिम

प्रकाश हाङ्खिम

शिक्षाबाट यो अवधारणा राजनीतिमा लागु भयो । समावेशी गणतन्त्रको अवधारणाले अब पिछाडिएका, किनारमा रहेका ‘विशेष’ समुदाय, जाति-गोष्ठी र सांस्कृतिक चेतनालाई सम्बोधन गर्न अर्थनैतिक, राजनैतिक तथा सामुदायिक समानताको पहल थालिएको हो । यसैगरी अब कला-साहित्यमा पनि यसलाई सबल रूपमा प्रत्यार्पण गर्न थालिएको छ । समावेशी साहित्यले यसरी छाडिएका, नगण्य मानिएका उपेक्षित गरिएका यस्ता केही ‘विशेष’हरूलाई मूलधारमा समाहित गर्न अनि सामान्यीकरणको विशेष आग्रह राख्दछ । यसो हेर्दा यो किनारीय अवधारणा जस्तै लाग्छ । देखिन्छ कि, किनारीय अवधारणाले केन्द्र भञ्जनको अपेक्षा राख्छ अनि किनारा आफै केन्द्र बन्न उद्यत हुन्छ । जबकि समावेशी अवधारणामा केन्द्र र किनारको समानता र सहअस्तित्वलाई मान्यता दिइँदै छ । यसो हुँदा केन्द्र ‘विशेष’ र किनार ‘विशेष’ एउटै छानोमुनि ‘सामान्य’मा समावेश हुँदछ ।

भारतीय नेपाली साहित्यमा यो समावेशी अवधारणाको राम्रो ढङ्गले पृष्ठपोषण हुँदै आएको छ । वासुदेव पुलामी, ज्ञानेन्द्र योक्सो, योगेश पन्थ, सदीप प्रधान, प्रवीण खालिङ, निरज थापा, दिपेन घिसिङ, सुरज धडकनहरूले यसलाई अभियानको रूपमा अघि लगिरहेका छन् । यसै हुद्दाका एक अभियन्ता हुन् कथाकार प्रकाश हाङ्खिम । उनको यो नवीनतम कृति “ढुङ्गाको सौन्दर्य”का कथाहरूलाई यही अवधारणाको आधारले हेर्नअघि यति पूर्वाधार तयार गर्न आवश्यक रहेकोले पाठक वर्गलाई केही बेर भुल्याएको हुँ ।

उत्तरआधुनिकतावादले अतीत-मोहलाई प्यारोडी वा व्यङ्ग (आरनी)सित जोडेर हेर्छ । महानगरीय जीवनमुखी समकालीन समाजले छाड्दै आएका ग्राम्य-जीवन, लोक-विश्वास, लोक-जीवन, लोक-संस्कार-संस्कृति, पर्यावरणमैत्री चेत आदिसित जोडिएर बाँच्न सकिरहेका छैनन् । तर यसलाई चटक्क बिर्सन पनि सकेका छैनन् । यसलाई आजको सामाजिकतामा जोड्ने काम साहित्यमा आख्यानले गर्दै ल्याएको छ । त्यही आख्यान कवितामा पनि बाँच्दछ । चलचित्र, धारावाहिक, सोसियल मिडियामा यो अर्कै माध्यम र पद्धतिले हामीसित छन् । समावेशी सर्जकहरूले यसै अतीत-मोहको एउटा पाटोलाई आफ्ना सिर्जनाहरूमा जीवन्त पार्ने काम गरिरहेका छन् । यिनीहरूलाई ‘मूलधार’मा समाहित गर्ने प्रयासमा छन् । उदाहरणार्थ कृति ‘ढुङ्गाको सौन्दर्य’ केही कथाहरू केलाऊँ ।

सबैभन्दा पहिले कथा ‘चिन्तामा’लाई लिऊँ –

धामी-झाँक्री, बिजुवा, माङ्पा, फेदङ्मा, बुङ्थिङ, यावा भनेर सम्बोधित हाम्रा समाजका गुरुहरूका पहिरन, कर्म-व्यवहार अनि उपचार पद्धति कुनै मायावी अनि अलौकिक संसारको लाग्छ । यसो हेर्दा अलिक अन्धविश्वासको पाटो जस्तो देखिए पनि तर हरेक जाति र समाजभित्र यस्ता कर्म गरिएका पाउँछौँ । अकल्टिजम् पढ्नेलाई थाहा हुन्छ यो एक मनोविज्ञानसम्मत चिकित्सा पद्धति पनि हो भनेर । जुन समयमा गाउँ-घरमा शिक्षा, सभ्यता र सहुलियतहरू पुगेका थिएनन् त्यस समय यी नै गुरुहरूले हरेक रोगका उपचार गर्थे । मन्त्र, झारफुक, प्रार्थना र चिन्ताको माध्यमले सबै रोग र बाधाहरू हटाउँथे । यतिसम्म कि प्रसव कालमा धरि उनीहरूको बोलाहट हुन्थ्यो ।

हाम्रो समाजमा बनझाँक्री, ल्यामल्यामे, राँकेभूत, जङ्गलको देवता, गोठको देवता, सिमसारको देवता, खोलाको भूत, बोक्सी-छौँडा-डाइनी, नयाँ-आठानी, घुङरिङ, स्याउला, अम्लिसोको पात, धूप, पाती, केराको दाम्सा, सिन्दुर-पान-सुपारी, दुम्सीको काँडा, कच्चिया, अदुवा, कच्छु, अक्षता, लिसो-पासो, चिन्डो, अन्डा, कालो कुखुरा, सिन्डे, रूद्राक्ष, साँपको मेरुदण्डको माला,  घण्टी, काँचो धागो, काँसाको थाल, ढ्याङ्ग्रो, गाडिएको कुकुरको टाउको, विभिन्न रङ्का तुल-कपडा, मयुर-लुइँचेको-भेगुमाको प्वाँख, चट्याङको बज्र, मारखोर-जरायो-मृगको सिङ, बाघको हड्डी, हात्तीको दाँत, हङ्ग्रायोको चुच्चो, साना-साना त्रिसुल इत्यादि यो ‘चिन्ता’सित जोडिएर आउने सामाग्री र आस्थाका प्रतीकहरू हुन् ।

जोखाना हेर्नु, र्याम पर्खनु, पारो जानु, वाण हान्नु, मन्साउनु, मृतआत्मासित बात गर्नु, आत्मा पस्नु आदिले केही अदृश्य शक्तिहरूको बखान गर्छ । एउटा फरक संसार र अर्कै लोकमा पुर्याउने यी लोकविश्वासका अवशेषहरू आज पनि गाउँघरमा पाइन्छन् । यससित जोडिएर आउने रहस्य र रोमाञ्चका कथाहरू आज पनि जीवित छन् । त्यही लोकविश्वासमा बाँचेका छन् हाम्रा कतिपय संस्कार र रीतिथितिहरू ।

कथाकार हाङ्खिमले कथामार्फत ती विस्मृत प्राय: हाम्रा जातीय निधिलाई विमर्शमा ल्याएका छन् । मुन्धुममाथि अनुसन्धान भइरहेको यो समयमा यस्ता लोकजीवनका पाटाहरूलाई केन्द्रमा ल्याउने उनको समावेशी पहल सराहनीय लाग्छ । कथामा गोरे राई बिजुवा गाउँबाट हराउनु, बनझाँक्रीसित विद्या लिनु, मारसिङसित चिन्तामा वाण हानाहान गर्नु, आइते लिम्बूलाई कुकुरको उमेर हालिदिनु लगायत गोरे बिजुवाको अन्य अलौकिक शक्तिहरू बखान गर्ने ससाना सूक्ष्माख्यानहरूले कथा बुनिएको छ । हाङ्खिमले कथाको संरचना यति सुन्दर ढङ्गले तयार गरेका छन् कि हामी पनि त्यही कथाभित्रै पात्रहरूसितै घुलिएर बसेका पत्तै पाउँदैनौँ । हामी पनि त्यै लोकतिर फर्किएर पुगेको भान हुन्छ ।

त्यस्तै रहस्य र रोमाञ्चको अर्को कथा छ- ‘सिकारमा’ । गाउँमा सिकार खेल्ने, माछा मार्ने, जङ्गली तुलफुल खोज्ने परम्परा आज पनि छ । तर हामीसित सिकार कथा वा सिकार साहित्यको अभाव नै छ । यसै सिलसिलामा सिकार खेल्न जाँदा देखिएका एक अभूतपूर्व घटनाको विवृत्ति यस कथामा छ । सिकार गरिसकेपछि कानखुर गर्न ढिलो हुँदा जङ्गलको देवता वा सिकारी देवता रिसाएर सिकारीहरू कान्छा पुलामी र ठूलो थेबालाई झापट हानेको कारणले बिरामी परेर झारफुक गर्न कथाकारको कर्णफुले बिजुवा/ कथाकारका फुपाकहाँ ल्याएपछि दिक्छेन, सार्की लेप्चा, वालिङ कान्छाहरूले सिकारमा भोगेका आपद् र विपत्तिको रहस्यमय बखानले कथाको आदि, मध्य, उत्कर्ष र अन्त्यको समायोजन गरिएको छ । कथा रोमाञ्चक छ । त्यो रहस्यमय रोचकता आस्वादन गर्न पाठकले कथाभित्र प्रवेश गर्नै पर्छ । यसमा पनि बिजुवाका ‘शक्ति’ र ‘चमत्कारहरू’को उल्लेख अघिल्लो कथामा जस्तै उठान गरिएको छ ।

“आज फुपा छैनन् अनि बिजुवाले गर्ने कुनै चमत्कार पनि छैन । तर आज पनि जनश्रुति भएर बाँचेका छन् जङ्गल, जङ्गलको देवता अनि सिकारी देवताका कुराहरू ।” लेख्ने कथाकारले पर्यावरण साहित्यतिर पनि अलिकति इङ्गित गरिराखेका छन् ।

पर्यावरणमैत्री समय र समाज आजको नगरीय जीवनमा ‘विशेष’ श्रेणीमा आइपुगिसकेको सत्य सर्वविदित छ । त्यसलाई किनारबाट पुनः केन्द्रतिर ल्याउने काममा सारा विश्व लागिपरेको छ । युएनओको ‘सस्टेनेबल डेभलपमेन्ट परियोजना’ शृङ्खलाले यसै समावेशी अवधारणालाई पृष्ठपोषण गर्छ । ‘प्रकृतितिर फर्क’ भन्ने रूसोको पुरानो आह्वान आज यो परिप्रेक्ष्यमा मिल्दोजुल्दो बनेर आएको छ । ग्लोबल वर्मिङ, ओजोनतहको छिद्र, इकोसिस्टमको असन्तुलन आदिसित जोडिएर आउने प्राकृतिक विनाशका बाढी-भल-पहिरो, आँधी-हुण्डरी-सुनामी, हिमपहिरो र असामयिक भूकम्पहरूले मान्छेलाई पर्यावरणमैत्री बन्ने शिक्षा दिएको छ । पर्यावरणको संरक्षण आजको पहिलो दायित्व बनेको छ मान्छेको निम्ति ।

तर हामी, हाम्रो जाति प्रकृति-पूजक हौँ । प्रकृतिसित हाम्रो सम्बन्ध कस्तो र कसरी गाँसिएको छ त्यो कुरो हाम्रो सांस्कृतिक अभिव्यक्तिमा जोडिएर बसेको पाइन्छ । त्यसको सानो अंश कथा ‘जङ्गलमा’भित्र कथाकार हाङ्खिमले खुलाएका छन् । जङ्गलसित हाम्रो कुनै अतिक्रमण र हस्तक्षेप थिएन विगतमा । जङ्गलका कुरा जङ्गलकै रक्षक वा देवतालाई अनुमति मागेर मात्र टिप्ने, बटुल्ने र खाने गर्थे हाम्रा पुर्खा । प्रकृतिलाई नचढाई कुनै पनि फल-फूल, अन्न-बाली अनि लहरा-कन्दमूल घरभित्र हुल्दैन थिए ।

कथामा जङ्गलयात्राका अनुभवी बाङासित लोक गीत सुसेल्दै जङ्गलयात्रा सम्पन्न गर्नु, ढडियाले गडेला, झिङ्गे माछा मार्नु, पाहा पक्रनु, चराचुरुङ्गी र कीरा-फट्याङ्ग्राकाे नैसर्गिक धुनमा रमाउनु, केराको गुबो राखी बाँसको ढुङ्ग्रोमा पकाएको भात खानु, केराकै दाम्सामा पकाएको मिश्रित माछाको परिकारको स्वादमा रमाउनु, शुद्ध कोदोको रक्सीसित पोलेको पाहा खानु कथाकार अनि उनको अनेपाली मित्र पारितोषको निम्ति जीवनकै नयाँ अनुभव र अनुभूतिको रोमाञ्च छ । हामी पाठक पनि उनीहरूसितै यात्राको हरेक पाइलामा रोमाञ्चित बन्दै यात्रा गरिरहेका हुन्छौँ । कथाको अन्त्यमा जुन घटना घट्छ त्यो फेरि ‘सिकारमा’ कथामा जस्तै अतियथार्थपरक सत्यानुभूत (Surrealistic – Magical reality) आख्यानको आभास छ ।

“जुठो भात पानीमा नहाल है केटा हो ! यसो गरे गडाङगुडुङ हुन सक्छ, बिजुली चम्केर आँधी-हुरी आउन पनि सक्छ । जङ्गलको मालिक हामी होइनौँ । हामी त एक रातको निम्ति बास बस्न मात्र आएका हौँ ।” बाङाको यसै कथनमा कथाको आत्मा छ । राती सुतेपछि लेमलेमा कराएको सुन्नु, रुखहरू अचानक ढल्नु, गतिलो ढुङ्गा खुट्टा नजिकै बजारिनु, पहिरो चल्नु, सुतेको भुइँ बगेको महसुस हुनु, कोही हाँसेको आवाज आउनु, सुइँ सुइँ सिटी बज्नु जस्ता एउटा बीभत्स वातावरण सिर्जना हुनु अनि बाङाको माफीसहित बल-बिन्ती माग्दा त्यो साम्य हुनु जस्ता घटनाक्रममा नचढाएको काँचो अदुवा जङ्गल पुग्नुको सत्य जोडिएर आउँछ र त्योसितै अर्को लोकविश्वास र सूक्ष्माख्यान पनि ।

विगत स्मृतिलाई कथामा लेख्न नियोजित छ कथा ‘घर’ । “त्यो समय नै बेग्लै थियो जहाँ घर बनाउन मानिसहरू एकजुट हुन्थे ।कसैको घर बनाउन पर्दा लाग्थ्यो – गाउँ नै उर्लेर आएको छ ।” कथनले बताउँछ कथा ‘घर’को आधार र उद्देश्य । खरको घर बनिने त्यो समयको सौहार्द, आत्मीयता र एकार्काको भर कस्तो थियो पनि बुझाउँछ कथाले । कथामा खर काट्नु, सुकाउनु, डाँडा-भाटा, धुरी खम्बा, बलो जोहो गर्नु, चोया काट्नु, खर बाँध्नु, चारसुर कस्नु, दाँतीमा बँदिया लाउनु, धुरी मार्नु, फुर्का लाउनु आदि पदावलीले विशेष भाषिक संरचनालाई इङ्गित गर्छ जहाँ हाम्रो ग्रामीण बिम्बहरू सजीव भई आउँदछ ।

कथाकार स्व. पूर्ण राई स्मृति पुरस्कारले सम्मानित कथाकार प्रकाश हाङ्खिम कथा लेखनमा सदैव परिचित कथावस्तुलाई नयाँ बान्कीमा पस्कन खप्पिस छन् । अघिल्ला कथा सङ्ग्रहहरू ‘सुनपसिना’ र ‘ह्याङ्मेनको चिट्ठी’का कथाहरू पनि यसै श्रेणीका थिए । कथाहरू निकै चर्चामा पनि आए । उनलाई कथा लेखनमै खिप्ती लाउने एक समर्पित कथा-शिल्पी भनेर मान्नुपर्छ । कथालेखन उनको लहड होइन तर उनको समर्पण र सिर्जना-शक्ति हो । शिवकुमार राईका कथाको झल्को समेत दिने उपरोक्त चार कथाहरू पढेर मात्र पनि पाठकले अवश्य उनलाई स्थापित कथाकारको दर्जामा राख्नेछन् ।

कृति ‘ढुङ्गाको सौन्दर्य’का अन्य कथाहरू पनि एकसेएक पठनयोग्य र रोचकताले भरिएका छन् । ‘बजार भर्नाबारी’ र समतलमा’ कथाले तराइका निम्नवर्गीय समाजको यथार्थलाई सजीव चित्रण गरेको छ । शिक्षक/पत्रकार वृत्ति सम्हाल्न तराइ पुगेका कथाकारका अनुभव र अनुभूति मिश्रित यी कथाहरूले अभाव, अशिक्षा र अन्धकार भविष्यसित लडिरहने आदिवासी, बङ्गाली, मुस्लिम तथा गोर्खाहरूका बहुभाषिक तथा बहुसांस्कृतिक जीवनलाई खोदल्ने प्रयास गरेको छ । शिक्षासित सम्बद्ध सरकारी नीति र नियमहरूले सिर्जना गरेका विसङ्गति, आर्थिक विपन्नतासित जुझ्नुपर्ने नियति तथा भाग्यको सहारामा जिउनेहरूको करुण कथाहरू हुन् यी ।

कथाकार हाङ्खिम कथामा नारी संवेदन र वृत्तिलाई विभिन्न कोणबाट पर्गेल्ने गर्छन् । नारीका बहुरङ्गी चरित्रलाई दर्शाउन कथामा नारी पात्रहरूका विभिन्न अवतार छन् । आदि कालदेखि नै सांसारिक जीवनमा नारीले खेल्ने भूमिका र त्यसले पार्ने प्रभाव असीमित छन् । कथामा त्यसैको प्रच्छायाहरू पाइन्छन् । एकातिर परिवारको दबाबमा ‘छोरो’ जन्माउन वर्षैपिच्छे दोजिया बन्न बाध्य रईफाको अनिश्चित भविष्यको कथा छ ‘रईफा’मा ।

आफ्नै छोरोबाट नियमित कुटाइ खाइरहेर पनि छोरोलाई छाड्न नसक्ने वृद्ध आमाको मातृत्वले भिजेको कथा हो ‘तपाईंबाहेक मेरो को छ र आमा !’ । समय र सभ्यताको दौडमा महत्त्वाकाङ्क्षाको भुमरीमा परी शोषण र अत्याचारमा परेका युवतीहरूका कथा छ अर्को ‘डान्सबारका यजीदी शरीरहरू’ । अर्कोतिर पति र बाबुको अलिकति पनि मान-मर्यादा नराख्ने हर्कबहादुरका पत्नी र छोरीहरू छन् कथा ‘बाबु र सिरक’मा ।

नारी स्वतन्त्रता, उन्मुक्ति र नारीवादको नारा फलाक्ने नारीहरूले कसरी पुरूषहरूका आस्था, भरोसा र मायामाथि कुठराघात गर्छन् बुझाउन ‘पल्लो कोठा’, ‘कालुरामको मन’ र ‘मनिरामको माया’ साह्रै घतपर्दा र मर्मस्पर्शी कथाहरू छन् । थप यी कथाहरूमा मनोविज्ञानको राम्रो विश्लेषण पाइन्छ । जीवनले भोग्ने दर्शनका अंशहरू कुँदिएका पाइन्छन् । उत्तरआधुनिक समाजमा देखिने परिवार विघटन, संवेदनहीनता, सतही जीवनबोध, आडम्बर आदिलाई पनि कथाहरूमा कुँदिएका पाउँछौँ ।

कथाकार हाङ्खिमले अघिल्ला कथा सङ्ग्रहहरूमा पनि उठाएका विषयवस्तु – हाम्रो जाति र व्यवसाय अर्थात् व्यापार पनि छन् । हाम्रो व्यापार-कला नफस्टेको छ किनभने हाम्रो व्यापार लघुमियादी मियादी हुन्छ । भुलुक्क उम्लेर सेलाइहाल्ने । यसमा हाम्रो कमजोरी भनेको लागत धनको उचित व्यवस्थापन र आम्दानीलाई सटिक बचत गर्न नसक्नु हो । त्यही व्यवसाय र व्यापार अरूले गर्दा नाफैनाफा हुन्छ तर हामी प्राय: नै डुब्ने गर्छौं ।

कृतिमा कथा ‘ढुङ्गाको सौन्दर्य’ले पनि यसै कुरोलाई बताउँछ । भागीमानको रुखो र बाँझो जमिन किनेर त्यही बारीको ढुङ्गा बेचेर सुब्रतोले होटेल व्यवसाय गर्दै प्रगतिको सोपान उक्लन्छ तर त्यसैको मालिक भागीमानको पुङ्माङ्गे स्वभावले कसरी ऊआफ्नै ठाउँमा अपरिचित जस्तो बन्न पुग्छ कथामा साह्रै चित्तबुझ्दो ढङ्गले दर्साइएको छ । “जमिन बेचेपछि कति छिटो पराय हुइँदाेरहेछ ! केही बाँकी नरहँदा रहेछन् देवी-देवराली पनि । केही वर्षपछि हाम्रै जमिनमा हामीले हामीलाई नै नपाउने रहेछौँ ।” कथनमा कथाको वास्तविक सार पाइन्छ ।

जातीय उन्मुक्तिको युद्ध भनेर लडेको छुट्टै राज्यको आन्दोलन अब इतिहास बनिसकेको छ । वीर जाति भनेर विश्वले चिनेको र मानेको जातिको सन्तानले लडेको एक असफल र हारको युद्ध बन्यो यो आन्दोलन पनि । आन्दोलन असफल हुने धेरै कारणमध्ये नेतामा दूरदर्शिता र जनताको धैर्य अनि समर्पणको अभावलाई मान्न सकिन्छ ।

कथाकार हाङ्खिमले कथाहरू ‘अपरिवर्तित’, ‘सतासी’ र ‘माटो र वासस्थानको लडाइँ’ मा आन्दोलन कालीन अवस्थाका केही घटना र दृश्यहरू अघि राख्दै यो इतिहासलाई पुनरावलोकन र विमर्श गरेका छन् । पाठकहरू अवश्य कथाकारका धेरै विचार र तर्कसित सहमत बन्ने छन् र निभिसकेको थुप्रोमा केही रहल आगोका अवशेष खोतल्नेछन् ।

दुर्घटनामा मान्छे मर्दा आफन्तको अभिनय गर्दै भाडामा रुन आउने केही महिलाहरूका विषयमा लेखिएको नगरीय जीवनको कुरूप पक्ष खोतल्ने नयाँ स्वरूपको कथा ‘गुलाबी नोट’, धार्मिक आडम्बर बोकेर बाँच्नेहरूका कथा ‘धार्मिक मान्छे’, अन्तर्जातीय विवाह गर्दा घरबाट परित्यक्त बनेका आसामी युवा गायकको वेदनापूर्ण कथा ‘आहा ! देवोजीत’मा पाठकले समकालीन समयका मानववृत्ति, नगरीय जीवनका आडम्बरी पाटो र सभ्यताको दौडमा पराइ बन्दै गइरहेको जीवनबोध बारे आस्वादन गर्न पाउँछन् ।

अन्तमा, कथाहरूको भाषा सरल र स्वाभाविक लाग्छ । कुटमिश्रित दार्जिलिङे भाषाको चिरिच्याट्टपन कथाहरूले निर्वाह गरेकै छ । लोक तथा जनजिब्रोको भाषाले पनि मनग्गे स्थान पाएको छ । कथ्यमा पात्र-पात्रा सुहाउँदो भाषा प्रयोगले कथाहरू सहज सम्प्रेष्य बनेको पाइन्छ । कथाको पारदर्शिता भाषाको आत्मामा हुन्छ भन्ने सत्य यी कथाहरू पढेर अनुभूत हुन्छ । भाषा प्रयुक्तभित्रै कथाकारको विचार, अनुभव, अनुभूति र वृत्ति पनि घुलिएर आएको पाइन्छ । जसले कथामा निहित व्यक्ति, समाज र परिवेश चिन्न सजिलो बनेको छ ।

भुइँमान्छेका कथाहरू लेख्ने हाङ्खिम यस सङ्ग्रहका कथाहरूमा पनि उत्तिकै सफल र सबल छन् । कथाकारलाई बधाई र शुभकामना ।

रोङ्गो ।