विषय प्रवेश

साहित्यिक गतिविधिका लागि उर्वर भूमि मानिएको चितवनमा विभिन्न स्रष्टाहरूका कृतिहरू प्रकाशित भइरहन्छन् । अनि ती कृतिहरू ढिलोचाँडो अध्ययन गर्ने अवसर मिलिरहन्छ । यही सन्दर्भमा पूर्वी चितवनका साहित्यकार रामबाबु घिमिरेबाट ‘केन्द्र र परिधि’ नामक निबन्ध सङ्ग्रह उपहार स्वरूप प्राप्त गरेको थिएँ । त्यही पुस्तक आद्योपान्त अध्ययन गरिसकेपछि मेरो मनमा लागेका केही कुराहरू प्रकट गर्दैछु ।

रामबाबु घिमिरे समकालीन नेपाली साहित्यमा मूर्धन्य निबन्धकारको रूपमा परिचित नाम हो । वि.सं. २०११ मा जन्मिएका घिमिरेले नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । लामो समयको प्राध्यापन सेवाबाट निवृत्त घिमिरे आजकाल साहित्यिक गतिविधिमा सक्रिय छन् । रत्ननगर नगरपालिका वाङ्मय परिषद् र बाल्मिकी साहित्य परिषद्का समेत अध्यक्ष रहेका घिमिरे ‘सम्प्रेषण’ नामक साहित्यिक पत्रिकाका सम्पादक पनि हुन् । उनले आफ्नो साहित्यिक यात्रा कविता विधाबाट प्रारम्भ गरेको भए तापनि पुस्तकको आकारमा उनको पहिलो कृतिको रूपमा पाठक सामक्ष आफ्नो मुहार देखाउने अवसर भने ‘रित्तो आकाश (२०३४)’ नामक उपन्यासले पाएको देखिन्छ ।

तर त्यस विधामा उनी रत्तिन सकेको देखिँदैन । किनकि त्यसपछि उनी निबन्ध लेखनतिर बढी लहसिएको देखिन्छ । साथै उनी मुक्तकतिर पनि आकर्षित भएको पाइन्छ । यस बारे उनले ‘मेरो लेखन यात्रा’ नामक निबन्धमा ‘मैले कविता र निबन्ध एकसाथ लेख्न थालेको हुँ । कविता लेखन अवरुद्ध भए पनि निबन्ध लेखनलाई निरन्तरता दिँदै आएको छु ।’ भनेका छन् । निबन्ध विधामा उनका ‘हरेस खान थालेको छु (२०४७)’, ‘नलेख्नुपर्ने कुरा (२०५७)’, ‘अनर्गल प्रलाप (२०६७)’ र ‘केन्द्र र परिधि (२०७८)’ गरी चार वटा कृति प्रकाशित भएका छन् । साथै उनकै भनाइअनुसार ‘साहित्यिक कार्यक्रमहरूमा उपस्थिति जनाउन’ लेखिएका मुक्तकहरूको सङालो ‘घिमिरेका मुक्तकहरू (२०५८)’ नामक एक मुक्तकसङ्ग्रह प्रकाशित गर्न पनि उनी सफल भएका छन् ।

****

‘केन्द्र र परिधि’ निबन्ध सङ्ग्रहका विषयवस्तुहरू

रामबाबु घिमिरेद्वारा लिखित ‘केन्द्र र परिधि’ नामक निबन्ध सङ्ग्रहमा २३ वटा निबन्धहरू समाविष्ट छन् । फिनिक्स बुक्स, काठमाडौँद्वारा प्रकाशित पकेट साइजको यो पुस्तकमा १५८ पृष्ठ छन् । यस कृतिमा रामबाबुले आफूलाई केन्द्र मानेर आफूले देखेको, पढेको, भोगेको र सुनेको कुराको अनुभव तथा आफू वरिपरिको क्षितिजलाई परिधि मानी आफ्ना अनुभवजन्य अनुभूतिहरूलाई निजात्मक निबन्धको शैलीमा ढालेर प्रस्तुत गरेका छन् । उनले आफ्नो परिधिभित्र रहेर आफूमा विद्यमान ऊर्जा अर्थात् अनुभूतिलाई सचेतनापूर्वक सन्तुलित रूपमा प्रयोग गरेर यो निबन्ध सङ्ग्रह तयार गरेका छन् ।

यस सङ्ग्रहको पहिलो निबन्ध ‘मनको ऐना’मा कुनै पनि विषयमा सिसाको ऐनाभन्दा मनको ऐना प्रयोग गरेर आफ्नो धारणा बनाउनुपर्ने सन्देश पाइन्छ । सिसाको ऐनाले बाह्य रूप मात्र देखाउँछ भने मनको ऐनाले आफ्नो मात्र होइन अरूको पनि बाह्य रूपका साथै भित्री गुण पनि पहिचान गर्न सकिन्छ भन्ने यस निबन्धको ठम्याइ छ । ब्रह्माण्डमा रहेका हरेक बस्तु एक न एक ग्रह हुन् । अरू चिजको त के कुरा मानिस पनि एक ग्रह नै हो । ग्रहहरू एक अर्कोमा आश्रित हुन्छन् । अर्थात् ग्रहमा गुरुत्वाकर्षण हुन्छ । त्यही आकर्षण पैदा गर्नका लागि अन्य ग्रहलाई शान्त पार्न सक्नु पर्दछ जुन खुबी मानिसमा मात्र छ भन्ने कुरा ‘ग्रहगति’ नामक निबन्धमा उल्लेख छ ।

ऊर्जा सम्बन्धी चिन्तन झन् बेजोडको छ । ऊर्जा बिना जीव त के निर्जीव बस्तु पनि चल्न सक्तैन । तर अत्यधिक ऊर्जा प्राप्त गर्नु अवचेतन मन हो जसले मानिसलाई नैतिक रूपमा पतन गराउँछ र चारित्रिक रूपमा स्खलित गराइदिन्छ । त्यसकारण ऊर्जालाई सन्तुलनमा राखेमा चेतन मन जागृत हुन्छ र त्यसले मानिसलाई सत्मार्गमा डोर्‍याउँछ  भन्ने ‘अतिरिक्त ऊर्जा’ नामक निबन्धको निचोड छ ।

मान्छेको सबैभन्दा प्रिय बस्तु मान्छे नै हो । किनकि एक मान्छेको कुरा अर्को मान्छेले मात्र बुझ्न सक्दछ । त्यसो भन्दैमा कुनै पनि मानिसलाई संसारका सबै मान्छेहरू मन पर्छन् भन्ने होइन । कुनै पनि मानिसलाई अर्को मान्छे मन पर्न त उसमा आफूलाई मन पर्ने आकर्षक व्यक्तित्व हुनु पर्दछ । रामबाबुले त्यस किसिमको व्यक्ति निर्मोही ब्यासलाई ठान्दछन् । किनकि उनमा अरूलाई ऊर्जा दिन सक्ने क्षमता र सम्मोहित पार्न सक्ने कला छ । त्यसैले रामबाबु घिमिरे उनको स्वागत गर्न सदा तत्पर छन् ‘एउटा स्वागतको तयारी’ नामक निबन्धमा ।

यो ब्रह्माण्डमा अनवरत रूपमा भइरहने हलचलले कुनै न कुनै किसिमको असर पारिरहेको हुन्छ । यदि ठूलै हलचल पैदा भयो भने प्रलय पनि हुन सक्दछ । तर यो कुरा थाहा पाएर पनि मानिसले स्वयं विनाशकारी कार्यलाई प्राथमिकता दिइरहेको छ जुन कुरा अकल्पनीय छ भन्ने बोध गराउन खोजेको छ ‘प्रलय’ शीर्षकको निबन्धले ।  विगतका सुखद् वा दुखद् घटनाहरूको स्मृतिमा रुमल्लिएर आगतका सुनौला दिनहरू खेर फाल्नुभन्दा जति नै कठिन भए पनि वर्तमानमा रमाउनु श्रेयस्कर छ भन्ने उपदेश दिन्छ ‘विगत र अनागत’ नामक निबन्धले ।

कतिपय चिजहरू कुनै व्यक्तिको बिम्बको रूपमा प्रयोग हुने गरेको पाइन्छ । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको त्याग र निष्ठाको बिम्ब बनेका थिए ‘छाता, सुराही र ट्याङका’ । तिनै चिजलाई निबन्धको शीर्षक बनाएर कृष्णप्रसाद भट्टराईको सादगी जीवनको बखान गरेका छन् घिमिरेले । निर्मोही ब्यासलाई औधी रुचाउने रामबाबुले उनको जीवनको चित्र उतारेका छन् ‘तस्बिर तिम्रै’ निबन्धमा । त्यस्तै धर्मको नाममा भइरहेका शोषण र ढोँगी चरित्र बारे उछित्तो काढिएको छ ‘पराकाय प्रवेश’ नामक निबन्धमा ।

‘’केन्द्र र परिधि’ शीर्षकको निबन्धले यो निबन्ध सङ्ग्रहको नामकरणमा अहम् भूमिका खेलेको छ । यो निबन्धमा कुनै पनि मानिस आफू स्वयं के बन्ने भन्ने कुरा व्यक्ति आफैमा निर्भर रहन्छ भन्ने कुराको सङ्केत दिँदै कुनै पनि विचार वा योजनाको प्रवर्तक आफै बन्ने कि अरूको पिछलग्गु बन्ने भन्ने कुरा व्यक्तिको गतिशीलतामा भर पर्ने कुरा हो भनिएको छ ।

‘स्मृति अवशेष’ शीर्षकको निबन्धमा निबन्धकारले आफूले बाल्यकालदेखि देख्दै आएको चितवनको प्राकृतिक स्वरूप र अहिलेको स्थितिमा आश्चर्यजनक तरिकाले परिवर्तन आएको कुरा अभिव्यक्त गरेका छन् । मुलुकमा भएको राजनीतिक र सामाजिक सङ्क्रमण अनि त्यसले देशवासीमा पारेको प्रभावका बारेमा चर्चा गरिएको छ-‘विचलन’ नामक निबन्धमा ।  ‘हैसियत’ नामक निबन्धमा जन्मजात र परिस्थितिजन्य रूपमा प्राप्त गरेको मान-मर्यादाभन्दा स्वार्जित रूपमा प्राप्त गरेको प्रतिष्ठा नै बढी मूल्यवान् हुन्छ भन्ने ठहर गरिएको छ । मुलुकमा मौलाएको राजनीतिक विकृति र त्यसले जनतामा पारेको नकारात्मक प्रभाव बारे चिन्ता व्यक्त गरिएको छ ‘मनका पिरका कुरा’ मा ।

त्यस्तै ‘पार्विक पत्रिका’ मा वास्तविक साहित्यिक पत्रिका प्रकाशकहरूका पीडा ओकल्नुका साथै राजनीतिक दलको आडमा हुण्डी पचाउनका लागि चाड-पर्वमा मात्र साहित्यिक पत्रिका प्रकाशनको नाटक रच्ने छद्म पत्रकारको पर्दाफास गरिएको छ । मृत्युसम्बन्धी चिन्तन गरिएको छ ‘इच्छामरण’ नामक निबन्धमा । निबन्धकारको विचारमा समाजका अन्य व्यक्तिलाई कुनै असर नगर्ने र पार्थिव शरीरलाई पनि कुनै प्रकारको आघात नपुग्ने गरी देहत्याग गर्न चाहने व्यक्तिको स्वनिर्णयबाट मृत्युवरण गर्न पाउनु इच्छामरण हो । मानिसका इच्छा र आकाङ्क्षा अनेकौँ छन् तर उसले एक पटकको जीवनमा सबै अभिलाषा पूरा गर्न सक्तैन । त्यसकारण उसले पुनर्जन्मको सदिच्छा राख्दछ भन्ने भाव ‘पुनर्जन्म’ नामक निबन्धमा पाइन्छ ।

जुनसुकै मानिसलाई पनि आफ्नो पुर्ख्यौली थातथलो र संस्कृति प्यारो हुन्छ । त्यसकारण आफ्नो जन्मस्थल र संस्कृतिको संरक्षण र संवर्द्धनमा गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो भन्ने कुराको सन्देश दिइएको छ ‘जातीय  स्मृति’ शीर्षकको निबन्धमा । मान्छेको मनमा क्षणक्षणमा अनेक प्रकारका सोचाइ आइरहन्छन् जसका कारण ऊ सजीव भइरहन्छ भन्ने कुरा ‘तर्कना’ शीर्षकको निबन्ध पढेर थाहा पाउन सकिन्छ । आफ्नो पुस्तक ‘अनर्गल प्रलाप’ तथा केदारनाथ खनाल र श्रीभक्त अच्युत वाग्लेको पुस्तक विमोचनका साथै माउण्ट आबुको भ्रमण बारे ‘चिन्तन विचरण’ शीर्षकको निबन्धमा उल्लेख गरिएको छ । ‘टाढा धेरै टाढा’ शीर्षकको निबन्धमा मान्छे बुढो हुँदै गएपछि मात्र जीवनको मूल्य थाहा पाउन थाल्दो रहेछ र उसमा तृष्णा बढ्न थाल्दो रहेछ । त्यसैले ‘तन बुढो भए पनि मन बुढो हुँदैन ’ भनिएको रहेछ भन्ने कुरा व्यक्त गरिएको छ ।

निबन्धकारले आफ्नो जीवन त्यसमा पनि खास गरेर वैवाहिक जीवनको चर्चा गरेका छन् ‘आत्मकथ्यबाट’ नामक निबन्धमा । ‘मेरो लेखन यात्रा’ नामक निबन्धमा लेखकले आफूले कविता विधाबाट लेखनकला सुरु गरेको र आख्यान पनि लेखेको तर निबन्ध लेखनमा नै बढी रमाएको कुरा प्रकट गरेका छन् । उनले लेखन कार्यमा सुस्ताएका बेला अरूका कृति पढ्दा आफूले पनि केही न केही त लेख्नुपर्दछ भन्ने महसुस हुने गरेको बताएका छन् । साथै लेखिएका कृतिहरू पढ्ने पाठकको खडेरी परेको छ भनेर घोक्रो सुकुञ्जेल कराउने साहित्यकारले नै अरूका कृतिको एक पाना पनि नपल्टाई दराजमा थन्काउने गरेको खुलासासमेत गरेका छन् ।

वास्तवमा भन्ने हो भने ‘केन्द्र र परिधि’ नामक निबन्ध सङ्ग्रहमा सङ्ग्रहित निबन्धहरूको मुख्य विषयवस्तु दर्शन हो । कुनै पनि व्यक्तिमा निहित कुनै पनि चिजलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरा थाहा पाउन सकेमा उसमा रहेको गुण वा दोष केलाउन सकिन्छ । किनकि उसमा निहित विचारले नै उसको मनोविज्ञानमा प्रभाव पारेको हुन्छ । त्यसकारण मानिसलाई मनको ऐनामा हेर्न अर्थात् जनहितकारी दर्शन बुझ्न प्रेरित गर्नु यो निबन्ध सङ्ग्रहको मूल ध्येय हो । त्यसो गर्न सकेमा कुनै पनि मानिसमा रहेको कलुषित भावना दूर हुने छ र उसमा सही, सत्य र जनहितकारी विचार अपनाउनु पर्दछ भन्ने भावना जागृत हुनेछ भन्ने निबन्धकारको विचार छ ।

**** 

भाषा र शैली 

रामबाबु घिमिरे निबन्ध लेखनकलामा खारिएका र पाका लेखक हुन् । उनको ‘केन्द्र र परिधि’ नामक कृतिमा त्यसको झल्को पाइन्छ । यस निबन्ध सङ्ग्रहमा समाविष्ट निबन्धहरूमा क्लिष्टताको गन्ध पनि छैन । सरल, सुबोध र मृदु शब्द चयन एवं छोटा, मिठा र सुस्पष्ट वाक्य गठन रामबाबु घिमिरेका विशेषता हुन् ।  त्यसमा पनि ठेट नेपाली भाषाको प्रयोग र आत्मपरक शैलीले उनका निबन्धहरू दोहोराई तेहराई पढुँपढूँ लाग्ने खालका छन् । उनका निबन्धमा व्यङ्ग्यको प्रयोग प्रचुर मात्रामा गरिएको छ तापनि काहीँ कतै पनि च्वास्स बिझाउने गरी कसैप्रति पनि घोचपेच गरिएको छैन । पाठकलाई नबिच्काउने गरी आफ्नो अभिव्यक्ति सम्प्रेषण गर्ने कला नै रामबाबुको निजत्व हो ।

विशेषताहरू

रामबाबु घिमिरे सचेततापूर्वक कलम चलाउने साहित्यकार हुन् । उनले कसैको अन्ध नक्कल गरेको देखिँदैन । उनमा आफ्नै किसिमको भाषा र शैलीमा अभिव्यक्ति दिने खुबी छ त्यसकारण उनका निबन्धहरूमा पाइने विशेषताहरूलाई यसरी सूचीकृत गर्न सकिन्छ-

(१) उनका निबन्धहरूमा ठेट नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिइएको छ ।

(२) उनका निबन्धहरूमा छोटा, मिठा, सुबोध तर चोटिला वाक्य गठन गरिएको छ ।

(३) उनका निबन्धहरूमा शब्दजाल बुनेर पाठकलाई अलमल्याउनुको सट्टा विषयवस्तुको गहिराइमा पुगेर पाठकलाई सन्तुष्ट पार्ने कला प्रयोग गरिएको छ ।

(४) उनका निबन्धहरूमा कसैलाई पनि मन अमिलो बनाउने गरी घोचपेच नगरीकन कसिलो तरिकाले सामाजिक विकृति र राजनीतिक विसङ्गतिको उछित्तो काढिएको छ ।

(५) उनका निबन्धहरूमा सचेत र शिष्ट तरिकाले आर्थिक, सामाजिक र राजनीतिक विकृति र विसङ्गतिको खेदो खनिएको छ ।

यद्यपि रामबाबु घिमिरेले सानोतिनो कुरालाई पनि मिहिन तरिकाले केलाएर तथा शब्दहरू पनि तौलितौली प्रयोग गरेर आफ्ना निबन्धहरूलाई खँदिला, स्वादिला, शिक्षाप्रद र आधिकारिक बनाउने कोसिस गरेका छन् तापनि कतिपय निबन्धका विषयवस्तु स्पष्ट छैनन् भने कतिपय निबन्धहरूमा विचार र तर्क छिरलिएको हुनाले बिना निष्कर्ष टुङ्गाइएको हो कि जस्तो देखिन्छ । जस्तै ‘पार्विक पत्रिका’ नामक शीर्षक बुझ्नै कठिन भएकोले पेटबोलीमा त्यसको बेलिबिस्तार लगाइदिएको भए स्पष्ट हुनेथियो । त्यस्तै ‘इच्छामरण’ निबन्धमा त्यसको औचित्य पुष्टि गरिदिएको भए बेस हुने थियो ।

****

निष्कर्ष

रामबाबु घिमिरे चितवनको साहित्यिक गतिविधिमा लागिपरेका एक क्रियाशील व्यक्ति हुन् । गद्य र पद्य दुवै विधामा कलम चलाउन सिपालु घिमिरे गद्य विधामा निकै सक्रिय छन् । त्यसमा पनि निबन्ध लेखनमा उनको लगाव बढी देखिन्छ । उनका निबन्धमा जीवनको भोगाइलाई दर्शनको जलप लगाएर पाठकसामु प्रस्तुत गरिएको हुन्छ । उनी सामान्य विषयवस्तुलाई पनि गहन तरिकाले उठाउन सिपालु छन् । यी उम्दा निबन्धकार हुन् । उनका निबन्धहरू कसिला, चोटिला र रसिला छन् । उनका निबन्धमा क्लिष्टताको गन्ध पनि छैन । सरल र शिष्ट भाषा एवं शैलीमा आफ्नो अभिव्यक्ति सम्प्रेषण गर्नु उनको निजी विशेषता हो ।

रामबाबु घिमिरेले ‘केन्द्र र परिधि’ नामक निबन्ध सङ्ग्रहमा आफूलाई केन्द्र मानेर आफ्नो वरिपरिको क्षितिजलाई परिधि मानेका छन् । त्यस परिधिभित्र देखा पर्ने अनेकौँ दृश्यलाई मनको ऐनामा प्रतिबिम्बित गराएर त्यसको गुण, दोष केलाएर पाठकसामु प्रस्तुत गरेका छन् । उनको विचारमा सिसाको ऐनाले हरेक चिजको भौतिक स्वरूप मात्र देखाउँछ तर मनको ऐनाले हरेक बस्तुको बाहिरी रूप र भित्री गुणसमेत प्रतिबिम्बित गराउँदछ । त्यसकारण जुनसुकै बस्तुलाई पनि मनको ऐनाद्वारा हेर्नु पर्दछ भन्ने उनको मान्यता छ । त्यही मान्यतामा रहेर उनले यो निबन्ध सङ्ग्रह तयार गरेका छन् ।

अन्तमा रामबाबु घिमिरेको नेपाली साहित्यप्रतिको लगनशीलता र जाँगर जीवन पर्यन्त रहिरहोस् र उनीबाट अझै गहन कृतिहरू प्रकाशित होउन् भन्ने सदिच्छा अभिव्यक्त गर्दछु ।