कविताको चौथो आयामको रूपमा चिनिने मुक्तक आजको व्यस्त समाजका पाठकका लागि रुचिकर खुराक बन्दै गएको छ । कविताको लघुभेद मुक्तकमाथि कलम चलाउनेको सङ्ख्या पनि दिनप्रतिदिन बढेर गइरहेको छ । कविता विधाबाट साहित्यमा प्रवेश गरेका नयाँ पिँढीमा पनि मुक्तकप्रतिको आकर्षण उत्साहजनक छ ।
मुक्तक साहित्यको छोटो छरितो र चोटिलो विधा भएकोले पाठक र सर्जक दुवैको प्रिय विधा बनेको देखिन्छ । भनिन्छ एउटा महाकाव्यले दिने सार एउटा मुक्तकमा अटाउन सकिन्छ ।
प्रेम-प्रणय, प्रकृति, देशप्रेम, सामाजिक विकृति विसङ्गति र राजनीतिमा देखिने बेतिथिहरू नै वर्तमानमा मुक्तकका विषय र सन्दर्भ बनेको देखिन्छ ।
हालै अग्रज स्रष्टा देवराज खरेलको मुक्तक सङ्ग्रह ‘अकिञ्चनका आर्तहरू’ मेरो हात परेको छ । मकवानपुर हेटौँडाबाट प्रकाशित ‘मातृभूमि साहित्यिक त्रैमासिक’का प्रकाशक/सम्पादक श्री देवराज खरेल मकवानपुरे साहित्य वृत्तमा स्थापित नाम हो । हेटौडा उप-महानगरपालिका वडा नम्बर- ५, पिप्ले निवासी उनी मूलत: कविता,मुक्तक र निबन्धमा कलम चलाउने एक अग्रज आदरणीय व्यक्तित्व हुन् ।
आत्मध्वनि, कवितासङ्ग्रह (२०६५) स्मृतिका टिपोट, निबन्ध सङ्ग्रह (२०६८) , प्रेमका पाइलाहरू ,मुक्तक सङ्ग्रह ( २०७० ), जिन्दगीदेखि जिन्दगीसम्म ,निबन्ध सङ्ग्रह (२०७८) र मुक्तक सङ्ग्रह ‘अकिञ्चनका आर्तहरू’ (२०८०) गरी जम्मा पाँचवटा कृति प्रकाशित छन् । यी बाहेक, विभिन्न पत्रपत्रिकाहरूमा उनका थुप्रै फुटकर रचनाहरू प्रकाशित छन् ।
लेखक स्वयम् तथा मातृभूमि साहित्यिक त्रैमासिक प्रकाशक रहेको उक्त पुस्तक प्रकाशनमा हेटौडा उपमहानगरपालिका र ५ न.वडा कार्यालय सहयोगी रहेको छ । सय पृष्ठको सानो, चिटिक्क छरितो र खँदिलो यो पुस्तकको बजार मूल्य दुई सय रहेको छ ।
पुस्तकमा प्रकाशित प्रत्येक मुक्तक अङ्ग्रेजीमा अनुवाद गरिएको छ । र, एक पृष्ठमा दुईवटा नेपाली अङ्ग्रेजी तलमाथि गरी राखिएको छ ताकि यो पुस्तक गैर नेपाली भाषीले पनि पढ्न सकोस् रसास्वादन गर्न सकोस् भन्ने कविको चाहना र उद्देश्य रहेको देखिन्छ ।
मनमा लागेको कुरा व्यक्त गर्दा पाठकीय धर्म निर्वाह गरेको अनुभूति हुने हुँदा मैले ‘अकिञ्चनका आर्तहरू’ ( असहायका पीडाहरू )भित्र कवि खरेलद्वारा अभिव्यक्त देशप्रेम आफ्नो चर्चाको विषय बनाएको छु ।
उनको पहिलो मुक्तकले एकजना कट्टर देशभक्त नागरिकको देशभक्ति झल्काउन कुनै कसर बाँकी राखेको छैन । कविले आफ्नो सिर्जनामा सगरमाथालाई देशको बिम्बको रूपमा यसरी उतारेका छन् –
विश्वको महाकाव्य हो मेरो सगरमाथा
मेची महाकाली यसको कभरगाथा
नपढेर सकिन्छ न लेखेर सकिन्छ
नेपाल र नेपालीको अमरगाथा ।
देशमा अवसर नदेखेर विदेश पलायन हुने युवापिँढीतिर सङ्केत गरे जस्तो भान हुने प्रस्तुत श्लोकमा कवि खरेल हाम्रो युवामा पनि पसिनाले देशको माटो सिञ्चित गर्नु पर्छ भन्ने सोचको विकाश होस् भन्ने कामनाका साथ यसरी अभिव्यक्तिएका छन् –
यही माटोमा केही गरूँ गरूँ लाग्छ
निचोरेर पसिना छरूँ छरूँ लाग्छ
माटो दुखेर मुटु रोएका बेला
आँसुले सङ्गीत भरूँ भरूँ लाग्छ ।
कविको देशप्रेम झल्कने एकपछि अर्को श्लोक माटोको महत्त्व र कर्तव्यप्रति समर्पित रहेको देखिन्छ । कवि आफू हुर्केको बढेको भिरपाखा हेरेर मख्ख मात्र पर्दैनन् उनी माटोसित प्रीत बसेको भाव यसरी व्यक्त गर्छन् –
यही माटो मुटु मेरो यही माटो आँखा
आँखाभरि सजाई रहूँ आफ्नै भिरपाखा
यही माटोसित मित मेरो यही माटो प्रीत
यही माटोमा कोर्दै जाऊँ कर्तव्यको खाका ।
यस्तै , श्लोक १९ मा कवि खरेलको देशप्रेम झनै प्रबल रूपमा मुखरित भएको देखिन्छ । उनी भन्छन् –
यही देशको हावा राम्रो यही देशको पानी
यही देशमा बितिरहोस् मेरो जिन्दगानी
यही देशमा हाँसी रहूँ यही देशमा रोइरहूँ
आफ्नै माटो आफ्नै आँटो सम्झी स्वर्ग ठानी ।
हामी अर्काको सबैथोक राम्रो भन्छौँ । फुर्सदमा घुम्न पनि अर्का कै देश ताक्छौँ तर कविको विचार फरक छ । उनी अन्य देशको भूगोल र माटोसित आफ्नो देशको भूगोल र माटोको तुलना गर्दै गर्वका साथ भन्छन् –
मेरो देशको माटो जस्तो अन्त पाइँदैन
पूर्व- पश्चिम जता घुम्नोस् भिसा चाहिँदैन
नेपालीको आत्मा हो एसियाको मुटु
नेपाल जस्तो स्वर्ग कतै अन्त पाइँदैन ।
तिम्रो देश सानो छ । तिम्रो देश परनिर्भर छ भनेर होच्याउनेहरूप्रति उनको तर्क यस्तो छ –
जुन देशमा सगरमाथाको छानो छ
परिश्रमले उब्जाएको मीठो मानो छ
पहिले तिमी आफूलाई पढ मित्र
कसले भन्छ मेरो देश सानो छ ।
विदेशको रहन सहन र जीवनशैलीप्रति आकर्षित अहिलेको आधुनिक समाजलाई कविले सिर्जना मार्फत देशभक्तिको पाठ मात्र पढाएको छैन गतिलो चड्कन पनि दिएको छ –
यहीँ माटोमा गाँस मेरो यही माटोमा बास
बाँच्नलाई फेर्नुपर्छ यही माटोमा सास
यही माटो धरा धाम यही माटो धन्य
यही माटो आमातुल्य यही माटोमा आश ।
यी बाहेक, सङ्ग्रहमा समाज, समाज भित्रका विकृति विसङ्गति ,राजनीति र यसभित्रका बेथितिहरू बिरुद्ध विमति र आक्रोश झल्कने आदि विषयका थुप्रै पठनीय र मननीय मुक्तकहरू छन् ।
बढो शालीन ,भद्र , मृदुभाषी र शान्त स्वभावका अग्रज कवि खरेलका अन्य कृतिहरूभित्र पनि ढिलो चाँडो प्रवेश गरिने नै छ ।
मुक्तक विधाका साधक ,अध्येता र पारखीहरूका लागि कवि खरेलको यो पछिल्लो कृति ‘अकिञ्चनका आर्तहरू’ उपयोगी र सङग्रहनीय रहनेछ भन्नेमा यो पङ्क्तिकार विश्वस्त छ ।
अग्रज कवि तथा निबन्धकार श्री देवराज खरेलको सुस्वास्थ्य, दीर्घायु र सफल सिर्जनशील जीवनको कामना गर्दछु ।
हेटौडा, मकवानपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।