आफ्नो व्यक्तित्वलाई भुलेर मानिस जति साधारण हुन सक्यो ऊ त्यति नै समाजको प्रिय हुँदो रहेछ । युकेमा बस्दै आएका कवि तथा गीतकार घनबहादुर थापा मगरको लोक भलाइमा म त्यही जनप्रियता देख्छु । समाजसेवी जस्तै उनी स्वास्थ्यसेवी पनि हुन् । कलाकार पनि हुन् । विविध क्षेत्रमा रुचि भएका उनको सामाजिक संलग्नता पनि धेरै छ । नेपाली साहित्य विकास परिषद् यु.के.का आजीवन सदस्य तथा सल्लाहकार, नेपाली समाज क्यान्टवरी केन्ट यु.के.का संस्थापक अध्यक्ष, विश्व नेपाली साहित्य महासङ्घका आजीवन सदस्यलगायतका संस्थामा उनी आबद्ध छन् ।

बेलायती नेपाली डायस्पोरिक समुदायका कवि थापा मगर भाषा, साहित्य, संस्कृति संरक्षणको अभियानमा सक्रिय छन् । अनेक संघ संस्थामा उनको आबद्धताले पनि त्यही बताउँछ ।  आदिकवि भानुभक्त द्वय शतवार्षिकी पदक, NLDC Gold Medal Second in २००९ जस्ता  पुरस्कारले उनी सम्मानित छन् ।

गायनमा पनि कवि घनबहादुरको राम्रो रुचि छ । उनका आफ्नै शब्द आफ्नै स्वरमा रेकर्ड गरिएका गीत केही दिन अघि सुन्दै थिएँ । मधुर स्वर, मीठो गाउँदा रहेछन्- लाेकभाकामा । ‘देशको माटोमा मेरो फूल’ (सन् २०१३), ‘मेरो चिनो मेरो देश’ (वि.सं.२०७३) जस्ता कविता सङ्ग्रहमा- देशप्रति उनको प्रेम अभिव्यञ्जित छ । ‘क्याक्मीको कोसेली’ (२०१६) मा पनि त्यही छ । शब्दमा, अक्षरमा, भावमा मातृ भूमिको आराधना गरिएको छ । अनि मानवीय प्रेम सम्बन्धका कुरा छन् । माया प्रीतिका भाव छन् । भाषा, संस्कृतिप्रतिको आस्था छ । ‘फूलको मुस्कान’ गीत सङ्ग्रहमा पनि उही देश छ, उही जाति छ, जातीय भावनाहरू छन्, संवेगहरू छन् ।

त्यस्तै उनका गीतिएल्बमहरू ‘मायाको संसार’ (२०७३),’बयान’ (२०७४), ‘बस्ती’ (२०७४), ‘नबिर्स’ (२०७५), ‘हामी’ (२०७८),’मायालुको आँखै नशालु’ (२०७९) रहेका छन् ।

मेराे चिनाे मेराे देश कवि घनबहादुर जति सरल, स्वाभाविक छन् त्यतिकै सरल र स्वाभाविक लाग्छन् उनका सिर्जनाहरू । यतिखेर उनको ‘मेरो चिनो मेरो देश’ कविता सङ्ग्रहमा केन्द्रित भई म केही बोल्दै छु । उनका कविता नै जीवन झैँ लाग्छन्, एकदमै प्राकृतिक । माया, प्रेम, सद्भाव, अनुरागले मानवीय संवेदनाका नजिक छन् यी कविताहरू ।

कवि घनबहादुरको मनभित्र कहिले देश दुख्छ, विकृत राजनीतिले कहिले मन पिरोलिन्छ । देश भक्तिले कहिले उनको शिर झुक्छ । प्रकृतिप्रेमी उनका भावनामा लालीगुराँस फक्राउँछ, डाँफे नाच्छ, मुनाल रमाउँछ, सगरमाथा अझ अग्लिन्छ । प्रीतिको रुमानी लय ब्युँझिन्छ । भाषा, साहित्य, संस्कृतिप्रतिको अथाह प्रेम जुरमुराउँछ । आखिरी जसरी अभिव्यक्त भए पनि उनीभित्र सिङ्गो नेपाल छ, नेपालीपन छ ।

वर्तमान स्रष्टा तथा कलाकारको एउटा साझा असन्तुष्टि, आक्रोश, गुनासो छ—अस्थिर, असङ्गत राजनीति र सत्तासीन व्यक्तिप्रति । कवि घनबहादुरमा पनि असन्तुष्टि छ । तर आक्रोश छैन । द्रष्टा भएर देखिएको यथार्थता बोलेका छन्  । त्यसमा आग्रह अनुग्रह केही छैन ।

कवि थापा मगरका साहित्यिक कर्ममा केही बोल्दै गर्दा फेरि म उनको त्यही अभिव्यक्ति सम्झिन्छु । भनेका थिए—जीवनका यावत कुरा मरणशील छ । जीवनपर्यन्त पनि त्यस समाजले आफूलाई सम्झिरहने कर्म भनेकै साहित्य, सङ्गीत, कला हो । आविष्कार हो । अरू त के नै छ र ? उनलाई बुझेपछि अझ प्रस्ट लाग्छ उनका कविताहरू ।

आफ्नो कारण दोस्रो व्यक्तिलाई आघात नहोस् यस सिद्धान्तका उनी परपीडक स्वभाव रुचाउँदैनन् । बरु उपकार नै गरौँ उनका कविताले यही अनुरोध गर्छन् । हित भावना भएका उनी आफ्ना रचनामा विचारको आवरणलाई प्राथमिकता दिँदैनन् । आडम्बर कदापि सत्य हुन सक्दैन । विभेद रहित समाजको उनी अपेक्षा राख्छन् । समदर्शी चेतना भएका उनी भावनाका कवि हुन् । भावुक छन् । त्यही भावुकतामा कविता लेख्छन्, गीत रच्छन् । त्यसो त संवेदना बेगर कोही स्रष्टा कलाकार हुन सक्दैन ।

उनन्चालीस वटा कविता सङ्कलन गरिएको ‘मेरो चिनो मेरो देश’ पुस्तक शीर्षक आफैँमा राष्ट्रभक्ति चेतले ओतप्रोत छ । बेलायतको प्रविधि सम्पन्न शहरमा अभ्यस्त भए पनि कविको मनमा उही पाखा-पखेरा दृश्य बनेर आउँछ । त्यही सुन्दर लाग्छ, त्यही प्रिय लाग्छ-

प्राणभन्दा प्यारो छ है आफ्नै जन्मथलो

जे भने नि भनुन् तिनी बेग्लै कर्मथलो    (प्यारो जन्मथलो, पृ-३) ।

देशको माटो, म जन्मेको क्याक्मी, सुन्दर दार्चुला, गुराँसको फूललगायतका कविताले मातृभूमिको सम्झना गरेका छन् । आफ्नी माताप्रति समर्पित भएर लेखिएका रचना हुन् यी । स्वदेशबाट टाढा हुँदाको नियाँस्रोले उनी कवि बनेका छन्  । त्यसो त उनको कवि हृदय जहाँ रहे पनि कवि नै हुन्छ ।

पब र नाइट क्लबका सुन्दरीहरूले पनि आकर्षण गर्न नसकेको कवि मनलाई वनचरीले लोभ्याउँछ । थेम्स नदीको किनारामा सगरमाथाको सुवास खोज्छन् कविजी । बिग बेनको फेदमा—नेपालमा वहने बतासको अनुभव गर्छन् । लन्डनको चमकधमकमा आफ्नै मुलुकका साँघुरा गल्लीहरू देख्छन् । ॅम नै मेरो देशको परिचय हुँ’ उनको यस अभिव्यक्तिबाट बोध गर्न सकिन्छ उनीभित्रको देश । उनीभित्रको देशको माया, उनीभित्रको देशको मूल्य ।

प्रायः कवितामा गरिएको ॅतिमी’को सम्बोधन उनै प्रियसीलाई हुनुपर्छ । प्रस्ट छैन त्यो कसलाई भनिएको हो । प्रेममा धोका नहोस् यही अपेक्षाका साथ मायालुको शिर हिमालजस्तै होस्—कवि कामना गर्छन् ।

समाजको विकृत अवस्थाप्रति साहित्यकार घनबहादुरको भद्र प्रहार छ । शिष्ट, शालीन प्रश्न प्रतिप्रश्नहरू उनले गरेका छन्  । मद्दत भावना भएका उनी सहयोग गर्दा अपजस खानु परेको दिग्दारीमा भन्छन्, “बेकार भएछ सोचाई सबैलाई राम्रो गर्छु भन्नु (पृ-११) ।”

गीतकार थापा मगरका धेरै जसो कविताहरू मध्यम आकार छन् । केही छोटा र लामो आकारका पनि छन् । साथीको स्मृतिमा  एक कविताले मृत्युको सन्देश ल्याएको छ । मित्र मिलापमा गएका कवि—मित्रको शोक खबरले विषाक्त हुन्छन् । यो अबोध्य समय र स्वयं जीवनको केही टुङ्गो छैन ।

राष्ट्रप्रेमको गीत गाएर कबै नथाक्ने कवि प्रेमका गीत पनि उसै गरी गाइरहन्छन् । तर थाक्दैनन्, थाक्न हुँदैन पनि  । बरु ऊर्जा अनुभूत गर्छन् । मायालु छन् उनका ती कोमल भावनाहरू । जीवनदायिनी छन् हृदयका ती आवाजहरू । प्रस्तुति त्यो फरक कुरा हो । हर कोहीका आ-आफ्नै शैली हुन्छन् । विषय उही भएर पनि । कृति विवेचना गर्नु भनेको कलाको विश्लेषण मात्र होइन । त्यसले भन्न खोजेको कुरा पनि उतिकै महत्त्वपूर्ण हुन्छ । फरक के हो भने कला पूर्ण अभिव्यक्तिले विषयलाई अझ शक्तिशाली बनाउँछ । कला कम हुँदा त्यस विषयले जति स्पर्श गर्नु पर्ने हो त्यति गरेको हुँदैन ।

मायालुको सम्झना, आई लव यु मात्र, नशालु आँखा, तिम्रो साथ जस्ता कविताले पाठकलाई  कि वर्तमानमा रोक्छ कि विगत फर्काइदिन्छ, मायालुको स्मृतिमा । पिरती थियो त्यो बेला एउटा त्यस्तै कविता हो । अतीतकी प्रियसीको नाउँमा रचिएको कविता ।

साहित्यकार घनबहादुर सकारात्मक चेत भएका एक कवि हुन् । उनका रचनामा रिस, राग, द्वेष कहीँ आउँदैन । प्रतिशोध कहीँ छैन । एउटा निर्बोध बालाको अभिव्यक्ति जस्तै निष्कपट छन् ती भाव चिन्तनहरू ।

समय परिस्थितिप्रति केही मत विमत नराखी, आलोचना प्रत्यालोचना नगरी समाज जस्तो छ कवि त्यसलाई खसोखास शब्द दिन्छन्— “भन्थ्यौँ नि आमा बुहारी ल्याउनु सघाउन तिमीलाई, आजकलकी बुहारी भए नि आमा न तिम्लाई न मलाई (छोरी, पृ-२१) ।”

नेपाली मन बोकेका, हृदयमा नेपालीत्व भरेका जाति जहाँ रहे पनि एउटै भावनाले परिचालित छौँ,  जुन ठाउँमा बसोबास गरे पनि  नेपालीपनलाई केहीले फरक गरेको हुँदैन । जहाँ रहे पनि हामी एउटै हौँ—ठाउँ विशेषका आधारमा विभेद गरिनु हुँदैन भन्ने भावको कविता—जाली नभन मन दुख्छले सम्पूर्ण नेपाली जातिलाई एकीकृत गरेको छ ।

प्रकृतिको निकटतामा रमाउने सर्जक घनबहादुरको कवितामा केही पर्यावरणको चिन्ता पनि रहेको छ—त्यति सघन त होइन नै । तर चिन्ता छ । प्रकृतिको सौन्दर्य हेरेर आनन्द लिने हो, त्यसलाई छुने, चलाउने, विनाश गर्ने होइन कविको सिद्धान्त छ  । त्यस चेतनाका कवि हुन् उनी ।

तल्लो स्तरको जीवनप्रति कविको गहिरो सद्भावना छ । विकासका गतिविधिहरू फेदैबाट उठाउनु पर्छ, निम्नतम आश्वयकतामा सङ्घर्ष गरेको जीवनलाई उकास्नु पर्छ- उनको धारणा छ । पशुपक्षीका हितमा पनि उनका शब्दहरू सक्रिय छन् । घनीभूत सक्रिय त होइन फेरि । साङ्केतिक रूपमा, प्रतीकात्मक रूपमा ती आउँछन् ।

गाउँलाई शहर नबनाउँला उनले त्यही भनेका छन्प्र- कृतिलाई नबिथोल, सुन्दर हुन देऊ- कविको अनुरोध छ ।

कहिलेकाहीँ मित्रले मित्रता भुलेकोमा कवि खिन्न हुन्छन् । मित्रता त्यागेर सम्पन्नता रोज्ने साथीप्रति उनको केही दुखेसो छ । पैसाभन्दा साथी ठूलो कवितामा त्यो कुरा छ ।

साधारण मानिएको, उसको अस्तित्व नस्विकारिएको कुरालाई पनि कवि सम्मानित दृष्टिले हेर्छन् । अघि नै सन्दर्भमा आइसकेको छ उनी केहीमा भेद देख्दैनन् । झारको माया शीर्षक कवितामा मैले उनको उदारतालाई बोध गर्न सकेँ ।

साथीको, प्रियसीको, गाउँको सम्झना,  त्यस्तै सानो बेलाको दशैँ तिहारको स्मृतिमा पनि उनका कविता स्फुरित छन् ।

भाषा, साहित्य, संस्कृतिलाई अगाध सम्मान गर्ने स्रष्टा थापा मगर आदि-कवि भानुभक्तको स्मृतिमा यस्तो लेख्छन्—

गुञ्जिरहेको छ यो कानमा अझै

तिम्रो रामायणका श्लोकहरूको

बालक छँदा गुरुले

पढाएका पङ्क्तिहरूको    (भानु तिम्रो सम्झनामा, पृ-५५) ।

जीवनलाई जटिल तरिकाले बुझ्नु हुँदैन भन्ने दृष्टान्तका कवि हुन् घनबहादुर थापा मगर । दुरूह विम्ब, प्रतीक र शब्दाडम्बर उनलाई प्रीतिकर लाग्दैन । एकदमै सामान्य पाठकले पनि उनको भावाशय ठम्याउन सक्छ । लोक भाकामा गाइने सङ्गीत जस्तै कहीँ भाव अड्किएको, थुनिएको पाइँदैन । नागरिक समाजले दैनन्दिन चलाउँदै आएका ठेट शब्दहरू उनलाई प्रिय लाग्छ । उनका कवितालाई गीतकै रूपमा हेरे पनि हुन्छ ।

साहित्यमा राम्रो तृष्णा भएका कवि थापा मगरलाई अनेक शुभकामना छ । भोलिका दिनमा अझ सबल, अझ परिष्कृत साहित्य लिएर आउन्, अहिलेलाई हितेच्छा वचन यहीँ बिसाउन चाहन्छु ।