नेपाली समाजले उत्पीडनका कुरा, विभेदका कुरा सुन्न थालेको त्यति लामो इतिहास छैन जति उत्पीडितहरूले आँसु बगाएका छन्, जति विभेदमा बाँच्नेहरूको रगत बगेको छ । त्यसैले पनि समताको विषय कसैका लागि फड्के साँघु बनेको छ पारी तरिजानेलाई, कसैलाई चुलो बाल्ने आधार बनेको छ भने देशको मूल मियो मानिने राजनीतिका लागि आफ्नो चुनावी मुद्दाभन्दा माथि उठ्न सकेको देखिँदैन ।

विभेदका अनेकन् रूपहरू छन् । उत्पीडनका अनगिन्ती सिलसिलाहरू छन् । यी सबै मानवता विरोधी गतिविधिहरूका विरुद्ध उठिरहेका औँसीको अँधेरीमा जुनकिरी जस्ता स-साना उज्याला प्रयासहरूले पुराना सत्ता(मान्यता) हरूको पर्खालहरू अलिली गर्दै भए पनि छेस्काइराखेका छन् । त्यो छेस्काइमा राजनीतिभन्दा बढी साहित्यको भूमिका दर्बिलो छ भन्दा अत्युक्ति नहोला । लेखकहरूले उठाएका सामाजिक मुद्दाहरू, तिनले निम्त्याउने बहसहरूपछि मात्रै राजनीतिले आफ्नो आँखा खोल्ने गरेको धेरै उदाहरण भेटिन्छ ।

लेखक प्रगति राईको चौथो कृति तथा तेस्रो उपन्यास थाङ्ग्रा त्यस्तै उत्पीडन, दलन तथा विभेदको मुस्लोबाट निस्किएको एउटा गम्भीर मुद्दा बोकेको कृति हो ।

“लहराले भर्खर थाङ्ग्रा समात्न सुरु गरेको छ । केही थाङ्ग्रा मक्किएर भाँचिन लागेका छन् ।”

उपन्यासको पहिलो पाना, दोस्रो अनुच्छेदको “लाइन” हो यो । सुरुवात मै नेपाली समाजलाई सुन्दर बिम्बबाट प्रहार गरिएको उपन्यासको थुप्रै प्रसङ्गमा थाङ्ग्राको चर्चा आइरहन्छ । यस अर्थमा बारीमा तरकारी वा फलफूलका लागि लगाइएको यो थाङ्ग्राको बिम्बलाई समाजको मियोसँग जोडेर व्याख्या गरिएको छ । भर्खर पलाउँदै गरेका लहराहरूले पुराना र मक्किइसकेका थाङ्ग्राहरूलाई छोडेर नयाँ किसिमले उभ्याइएका वा उभिन खोजिरहेका थाङ्ग्राहरूमा लहरिनु पर्छ भन्ने मान्यता नै थाङ्ग्राको मूल आशय हो भन्ने लाग्दछ ।

उपन्यासमा मुख्यतः ४ जना पात्रहरू छन् । सबै जना नितान्त फरक सोचाइ र चिन्तन बोक्ने पात्रहरू हुन् जो एउटै छानामुनि बसेर एउटै भान्सामा पकाइएको खाना खान्छन् । सुशान्त सुदूर पश्चिम नेपालको कुनै कथित दलित परिवारमा जन्मिएको मान्छे माझ किराँत खोटाङको राई लाहुरे परिवारमा जन्मिएकी नुमासँग वैवाहिक सम्बन्ध व्यतीत गरिरहेको छ भने सोमा र साया उनीहरूका दुई छोरीहरू हुन् ।

“सुकेको थाङ्ग्रा र छोरी सन्तानको भर नपर्नु भन्छन् ।” एउटा सन्दर्भमा सदियौँदेखि हाम्रो समाजले निर्माण गरेको अल्छी लाग्दो एउटा मान्यता बोल्छन् सुशान्तले । खासमा उपन्यासको केन्द्रीय विषय नै यही हो । बैतडीको सुदूर गाउँमा बसिरहेका सुशान्तका बालाई पिर छ कि छोरोपछि छोरोको छोरो नहुँदा आफ्नो वंश परम्परा जोखिममा पर्दै छ । उनलाई त्यो परम्परा धान्नकै लागि जुनसुकै हालतमा नाति  चाहिएको छ । सुशान्तलाई अर्को बिहा गर्न दबाब दिइरहन्छन् । नुमालाई कहिले गाली गर्दै कहिले फकाउँदै सुशान्तसँग टाढिएर अर्को बिहा गर्न सहज बनाइदिन आग्रह गर्छन् ।

ती वृद्ध बालाई आफ्ना नातिनीहरूले गर्ने जुनसुकै उत्कृष्ट काम भए नि मतलब छैन सिर्फ नाति चाहिएको छ । यही तनावले परिवारलाई बेलाबेलामा सन्नाटामा पुर्‍याइदिन्छ । सुशान्त आफैमा खुसी छन् । उनलाई छोरै चाहिएको छैन, नुमा पनि खुसी छिन् । तर परिवारको यो खुसी र वृद्ध बाउको बेखुसीको चेपुवामा परेका छन् सुशान्त । अन्तर्जातीय त्यो पनि कथित दलितसँग बिहा गरेर समाजको आँखामा कसिङ्गर बनेकी नुमा ससुराको नजरमा समेत उनलाई “अपुतो” बनाउने बुहारीका रूपमा चित्रित भएपछिको गम्भीर मनोदशा र छटपटी युगौँदेखि नेपाली नारीहरूले भोग्नु परिरहेको दुर्दान्त व्यथा हो ।

०००

उपन्यासमा चित्रण गरिएका मुख्य चार पात्र र तिनको प्रवृत्तिलाई सरसरती यसरी केलाउन सकिन्छ ;

सुशान्त सुनाम : उनी लेखक हुन् । हेपिएका, निमुखा, आवाज विहीन समुदाय र वर्गका मान्छेहरूको आवाजलाई साहित्यका माध्यमबाट मुखरित गर्न प्रयास गरिरहेका लेखक । बैतडीको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका उनले आफू जन्मिएकै माटोमा विभेदको निकृष्ट भोगाई अनुभूत गरेका छन् । काठमाडौँ पुगेपछि खोटाङकी नुमा राईसँग अन्तर्जातीय प्रेम र विवाह गरेका सुशान्त पारिवारिक तथा व्यक्तिगत जिन्दगीमा बेखुस देखिँदैनन् । साथीभाइ सबैलाई उचित स्थान दिएकै छन् । परिवारमा आवश्यक समय दिन भ्याएकै छन् । दुवै छोरीहरूप्रतिको माया र कर्तव्यबोध उत्तिकै मजबुत देखिन्छ । उनलाई बारम्बार झस्काइरहने एउटै विषय हो छोरा पाउनुपर्ने बाउको जिद्दी ।

हरेक पटकको टेलिफोन संवाद होस् वा गाउँबाट आउने कोही मान्छे, बाउको एउटै सन्देश रहन्छ सुशान्तले छोरो पाउनुपर्छ । अर्को श्रीमती भित्र्याएर भए नि छोरो जन्माउनका लागि बाउले गाउँबाट खसी समेत उपहार पठाइदिन्छन् । तर सुशान्त बाउको जिद्दीका अगाडि अझ जिद्दी भइदिन्छन् । आफै सामाजिक न्याय र वर्गीय, लैङ्गिक तथा सबै प्रकारका समताका लागि लेखिहिँड्ने मान्छे भएर बाउको वंश धान्नकै लागि छोरो भन्ने शब्दप्रति आशक्त हुन उनलाई उचित लाग्दैन । फेरि वृद्ध भइसकेका बाउसँग दह्रिलो प्रतिवाद गर्न पनि सक्दैनन् । यस्तै असमञ्जस्यतामा उनको दैनिकी बितिरहेको छ ।

नुमा राई : माझ किराँत खोटाङको लाहुरे परिवारमा जन्मिएकी नुमा परिवारको इच्छा विपरीत सुशान्तसँग अन्तर्जातीय प्रेम बिहा गरेकी नुमा हाम्रै समाजकी सामान्य नारी चरित्र हुन् । हुन त कथित दलितसँग प्रेम विवाह गर्नु पनि एउटा असामान्य विद्रोह नै हो तर त्यस बाहेक उनमा त्यस्तो असामान्य व्यवहार अरू देखिँदैन । छोरीहरूसँग सन्तुष्ट नै छिन् । श्रीमानसँग पनि उनको असन्तुष्टि छैन । छ त केवल ससुराको उहीँ छोरो चाहिने एकोहोरो जिद्दी । ससुराको त्यो जिद्दीलाई आफ्नो श्रीमानले उचित प्रतिवाद नगरेकोमा भने मनमनै नुमाको मन दुखिरहन्छ तर उनले सुशान्तलाई व्यक्त गर्न सक्दिनन् ।

यहाँनिर उनको त्यो विद्रोही स्वभाव नदेखिँदा पाठकको मन खिन्न हुन सक्छ । कान्छी छोरीलाई उनी “कान्छा” भन्छिन् हरेक पटक । यो बोलावटमा कतै उनमा पनि छोरोको अपेक्षा प्रखर भएको त होइन भन्ने कुराले बास गर्छ पाठकको मनमा । गाउँघरतिर आगामी सन्तान छोरो जन्मियोस् भन्ने अभिलाषाले छोरोलाई बोलाइने साइनो र नामले छोरीलाई बोलाउने चलन जो छ । यस बाहेक नुमा सुनाम सहकारीकी अध्यक्ष पनि हुन् । जो बेलायत बस्ने नुमा कै बुबा आमाले पठाइदिएको पैसाले खोलिएको सहकारी हो । परिवारको अन्य आयस्ता देखिँदैन, यसैको भरमा चार जनाको परिवार बाँचिरहेका छन् भन्ने बुझिन्छ ।  सुशान्तले लेख्ने आर्टिकलहरू, पुस्तकका रोयल्टीहरू आदिबाट पनि पारिवारिक बजेटमा टेवा पुग्ने अनुमान गर्न सकिन्छ ।

ससुराले छोरो पाउनुपर्ने भनी दिइरहने  मानसिक तनाव र श्रीमानले सो विषयमा ठोस अभिव्यक्ति नदिँदा नुमा अचाक्ली तनावमा पुगेको बखत प्रभाकर नामक पात्रको प्रवेश हुन्छ । प्रभाकर नुमाको पुरानो “केटा” रहेछ भन्ने अनुमान गरी नसक्दै कथाबाट पटाक्षेप भइसक्छ । के नुमालाई रेस्टुरेन्टमा पुर्‍याएर रक्सी खुवाउन मात्रै प्रभाकरको जरुरत परेको हो त ? नुमा आफै रेस्टुरेन्ट गएर रक्सी खान सक्दिन थिइन् ? यस्तै यस्तै लाग्यो ।

साया राई : नुमा र सुशान्तको जेठी छोरी ।साह्रै कोमल, भावुक, सोझी र परम्परावादी । उनी चित्र बनाउँछिन् अर्थात् आर्ट गर्छिन् । उनको सोचाइ यतिखेरको सामाजिक संरचनाले जे निर्धारण गरेको छ त्यसैलाई मानक बनाएर बाँच्नुपर्छ भन्ने मानसिकता छ उनको । उनको एक जना धनाढ्य प्रेमी छ । प्रेमीले उनलाई गुडिया जस्तै बनाइदिएको छ । अनि खेलौना जस्तै आफूखुसी प्रेमीले उनलाई प्रयोग गरिरहन्छ, त्यसैमा उनी खुसी हुन्छिन् । पूर्ण रूपमा उनी पराधीन छिन प्रेमीमाथि । उनी कुनै कुरामा स्वतन्त्र छैनन् । स-साना कुराहरू प्रेमीको चाहना र अनुमतिमा मात्रै उनले गर्न सक्छिन् ।

यति भएर पनि प्रेमीप्रति यति आशक्त छिन् कि उसले थोरै मात्र गाली गर्‍यो भने हातको नसा रेट्न पछि पर्दिनन् । यति नाजुक स्वभाव भएकी सायालाई घरमा आमा, बाउ, बहिनीका बिच चलिरहेको मानसिक तनाव वा उनी आफू भन्दा बाहिरको संसारमा चलिरहेको कुनै पनि प्रसङ्ग वा विषयका बारे कुनै चासो छैन । उनी आफ्नै संसारमा रमाउँछिन् र बस् प्रेमीलाई कसरी खुसी राख्ने भन्ने ध्याउन्न मै हराइरहन्छिन् । यद्यपि उनीहरूको त्यो प्रेम कसरी अगाडि बढ्छ र त्यो प्रेमको उत्कर्ष कस्तो होला भन्ने विवरण भने पुस्तकबाटै लिँदा आनन्द लाग्नेछ ।

सोमा राई : सुशान्त र नुमाकी कान्छी छोरी । उनी यो समयको विद्रोही छोरी हुन् । छोराको विषयमा समाजले बनाएको भाष्यप्रति उनको एक रती लगाव छैन । उनी निस्फिक्री हिँड्ने र बाँच्ने स्वभावकी छिन् । वारि खन्छिन्, जङ्गलबाट रुख काटेर थाङ्ग्रा ल्याउँछिन् । बारीमा खाल्डो खनेर गाड्छिन् । बाउसँग बसेर मातुन्जेल रक्सी पिउँछिन् र समाजले छोरीप्रति गर्ने अर्घेलो व्यवहारका विरुद्ध बाउसँगै लाप्पा खेल्न पनि तम्सिन्छिन् । उनलाई महिलाले गर्ने कुनै पनि शृङ्गारमा रुचि छैन न त लगाउने लुगाहरू मै । उनको सुत्ने कोठा डुङडुङती मोजा र चुरोटको धुवाँ गन्हाउँछ । हात खुट्टाभरि अनेक चोट बोकेर हिँड्छिन् । शरीरको कुन भाग कुन लुगाले कसरी ढाक्ने हो उनलाई कुनै मतलब छैन । आफूलाई “कम्फर्ट” हुनुपर्‍यो, बस् त्यति भए पुग्यो ।

उनी राम्रो क्रिकेट खेलाडी हुन् । थाइल्यान्ड पुगेर नेपाली महिला क्रिकेटमा पदक दिलाउने काम समेत गरिन् उनले । तर उनकै क्रिकेट कोचसँग सोमाको नजानिँदो प्रेम सम्बन्ध बनिसक्छ । कफीसपमा हुने नियमित भेटघाटका लागि व्याकुल रहने सोमा पनि आफ्नो विवाहित कोचको प्रेममा परेको देखिन्छ । थाइल्यान्डमा पुग्दा कोचले सोमालाई उतै दुई जना बस्ने प्रस्ताव समेत गरेथे । यो दृश्यले हाम्रो खेल क्षेत्रभित्रका केही सच्याउनै पर्ने विषयहरूलाई औँल्याएको छ भन्ने लाग्छ । तिनै कोच र हजुरबाको वंश खतरा पर्ने मानसिकताका कारण त्यति राम्रो खेलाडीले क्रिकेटबाट टाढिनुपर्ने स्थिति बन्यो । सोमा आफै बैतडी पुगेर हजुरबालाई काठमाडौँ ल्याउने तथा आफूले हजुरबाको वंश धानिदिने कुरामा “कन्भिन्स” गर्छिन् ।

यो दृश्यमा ती हजुरबा त्यति सजिलै नातिनीको कुरामा विश्वस्त भएर काठमाडौँ आउनु अलि छिटो भए जस्तो लाग्यो । ती हजुरबाहरू त्यति मै सहज तरिकाले त्यो मानसिकतालाई त्यागेर मक्किएको थाङ्ग्रा मान्ने गरेको नातिनीको भर परेर हिँड्नु छिटो पो भयो कि ? त्यहाँ थप अलि द्वन्द्वको दृश्य भए झन् बस्तुगत हुन सक्थ्यो जस्तो लाग्यो ।

सोमाले हजुरबालाई ल्याएपछि उनले आफ्नै घरमा बस्ने गरी बिहा गर्ने केटाको खोजी गर्नु छ । बिहापछि जन्मिने बच्चालाई आफ्नो हजुरबाको वंश बनाउनु छ । जसरी विद्यमान सामाजिक मान्यता अनुसार केटाले जिम्मेवारी निभाउनु परिरहेको छ ठिक त्यसरी नै सोमाले छोरी भएर बाउ र हजुरबाको वंश परम्परालाई धान्नु छ । त्यसका लागि उनी केटाको खोजी गर्न थाल्छिन् । देवी छेमासँग मनमैजुनिरको सुकुम्वासी बस्तीको एउटा जाँगरिलो र खाईलाग्दो केटोसँग उनले दोस्तियारी गरिन् । बिहा गर्न तयार पनि गरिन् । तर सबै तयारी सकिएर पनि ऊसँग बिहा हुन सकेन । यहाँ पनि वर्गीय विभेद चाहिँ देखियो घुमाउरो पाराले । सुकुम्वासी बस्तीको त्यो अबोध केटालाई बिहाको साङ्ग्रिला देखाएर लेखकले अन्ततः सोमाको बिहा अन्तै गराइदिए । सोमाको बिहा कोसँग कसरी भयो भन्ने कौतुहलताका लागि भने पुस्तक पढ्नु नै स्वादिलो हुनेछ ।

०००

मदन पुरस्कार २०७९ को श्रेष्ठ सुचीमा परिसकेको थाङ्ग्राको जरा नेपाली समाजमा व्याप्त पितृसत्तात्मक चिन्तन तथा लैङ्गिक विभेदको नाभिसम्म पुगेको छ । छोरीहरूले बाउको वंश परम्परालाई कसरी निरन्तरता दिन सक्छन् भन्ने सामान्य खाका समेत देखाइएको यो उपन्यासको भाषा-शैली अत्यन्तै सहज र सामान्य छ । ग्रामीण बोलीचाली र लवजमा बोल्ने पात्रहरूले माझकिराँतको भाषिकालाई बढी प्रयोग गरेका छन् । काठमाडौँ, खोटाङ, भोजपुर, बैतडी जस्ता भूगोलहरूमा छरिएका पात्रहरूले त्यही भूगोलको भाषिका प्रयोग गरेका छन् ।

स्थानीय लवज र दृश्यहरूले उपन्यासलाई थप जीवन्त बनाउन सघाएको छ । अबका सबै छोरीहरू सोमा जस्तै निडर होउन् । शुभकामना ।