कल्पना पौडेल “जिज्ञासु”को पाँचौँ कृतिको रूपमा प्रकाशित कथासङ्ग्रह कचहरी भर्खरै नेपालगन्जको महेन्द्र पुस्तकालयमा विमोचित भएको छ । नेपाली भाषा साहित्यको विकाश र समाजको दर्पणको रूपमा निरन्तर कलम चलाउँदै समाजको रूपान्तरणको लागि साहित्य सिर्जना गर्ने सर्जकलाई साधुवाद छ ।

कल्पना पौडेल  ‘जिज्ञाससु’ले  २०६९ सालमा पहिलो कृति ‘भावनाका भेलहरू’ गजलसङ्ग्रह प्रकाशन गरेर आफ्नो साहित्यिक यात्रा प्रारम्भ गरेको पाइन्छ । २०७१ सालमा ‘जून हराएको रात’ गजलसङ्ग्रह , २०७७ सालमा ‘विद्रोहका तरङ्ग’ मुक्तकसङ्ग्रह  विधाबाट समाजका विकृति, विसङ्गति, अन्याय, अत्याचार, माया प्रेम र महिलाका पीडाहरूलाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै समाज सुधारका पाटापक्षहरूलाई समेत काव्यात्मक शैलीमा सफलतापूर्वक व्यक्त गरेको पाइन्छ ।

गजल र मुक्तक विधाको क्षेत्रमा स्थापित हुनुभएकी ‘जिज्ञासु’ले काव्य विधाबाट आख्यान विधातर्फ कलम चलाउन सुरु गरेर आख्यान तर्फको पहिलो नीतिकथा सङ्ग्रह ‘कल्पदीप’को प्रकाशन २०७९ सालमा गर्नु भएको थियो । हाम्रो समाजमा हराउँदै गएको नैतिकतालाई जोगाई राख्नको लागि विद्यालय स्तरका बालबालिकाहरूले अत्यन्तै रुचाउने खालका सरल ,सरस र सकारात्मक सन्देश दिने खालका नीतिकथाहर यस सङ्ग्रहमा समेटिएको पाइन्छ |

नारी स्रष्टा कल्पना पौडेल जिज्ञासुको पाँचौँ कृतिको रूपमा ‘कचहरी’ कथासङ्ग्रह विद्या विकाश पब्लिकेसनले बजारमा ल्याएको छ । उक्त कृति  त्रिभुवन विश्व विद्यालयका पूर्व नेपाली भाषा विभाग प्रमुख  प्रा. डा. कृष्ण प्रसाद घिमिरे, वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, हिमालय टाइम्सका वरिष्ठ पत्रकार भरत दाहाल, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सदस्य शशिराम   कार्की, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति तथा साहित्यकार डा इन्द्रबहादुर भण्डारी लगायतको विशेष उपस्थितिमा विमोचन भएको छ  ।

सामाजिक विषयवस्तुलाई मुख्य आधार बनाएर लेखिएका पन्ध्र ओटै कथाहरू समाजको यथार्थ चित्रण गर्न सफल भएको कुरा यस कथासङ्ग्रहको शुभकामनामा लेखिएका भूपाल राई , सनत रेग्मी र  डा इन्द्रबहादुर भण्डारीहरूको भनाइबाट प्रस्ट हुन्छ ।

‘कचहरी’काे पहिलो कथा ‘वकसपत्र’मा  वृद्धवृद्धा भएका बाबुआमाहरू आफूले जन्माई-हुर्काई आफ्नै खुट्टामा उभिन सक्ने बनाएका सन्तानहरूबाट उपेक्षित र उत्पीडित भई असक्त अवस्थामा सेवा आश्रममा जानुपर्ने वाध्यात्मक अवस्थालाई कथाको विषयवस्तु बनाइएको छ । जून वर्तमान नेपाली समाजको विकृत स्वरूप उठान गरिएको छ | यो कथा पाठकहरूको मन छुन सफल छ ।

दोस्रो कथा ‘मनकुमारी’ देशमा रहेको गरिबी र बेरोजगारीका कारण महिलाहरू विदेशमा जान बाध्य भएका, दलाल र ठगहरूबाट विदेशमा गएर ठगिएका, लुटिएका, उत्पीडनलाई मुखरित गरिएको छ । समस्याहरूलाई छिचोल्दै नेपाली महिलाहरू पीडाको पहाडलाई पन्छाएर दलाल र ठगहरूलाई कानुनी कठघरामा उभ्याएर नारीहरूलाई  यो कथाले मुखरित गरेको छ । यही विषयमा आधारित ‘प्रतिशोध’ चौथो कथामा  मिना पात्र पुनः आफ्नो स्वदेश फर्किन सफल भएको र आफूलाई बेच्ने दलाललाई समाजको अगाडी उभ्याएर कानुनको जिम्मा लगाउन प्रतिसोध लिन सफल भएकोले  अन्त्यमा नारीलाई सशक्त तुल्याइएको छ |

शीर्षककथा ‘कचहरी’मा ऐतिहासिक   न्याय प्रणाली र आधुनिक न्यायालय दुवैले गरिब निमुखा पहुँच र सोर्सफोर्स नभएकाहरू न्याय पाउन नसकेको, उति बेलाको कचहरीबाट उत्पीडित उर्वशी दिदी र अहिलेको न्यायालयबाट मरेपछि पनि छिटो छरितो  न्याय पाउन नसकेकी कोयल पात्रका माध्यमबाट न्यायालय  बिचौलियाबाट प्रभावित हुने गरेको तथ्यलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

पाँचौँ कथा ‘अठोट’ले  गरिबी रोग र भोकले पिल्सिएकी महिलाले आफ्ना सन्तानको भोक मेटाउन सानो गल्तीको कारणलाई उठान गरी ठुला ठुला भ्रष्टअपराधीहरूलाई कानुनले पनि छुन नसक्ने  गरिब र निमुखाहरू मात्र कानुनको फन्दामा परेको नेपाली समाजको यथार्थ चित्रण गरेको छ ।

एउटा व्यक्तिले दिएको अपराधले त्यसको परिवारलाई हुने पीडालाई समेत दर्साएको कथा हाे ‘प्रतिकार’ । यसमा बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर फकाइफुल्याई यौन दुराचार  गर्ने बेविचारी अपराधीहरू पनि हाम्रो गाउँ समाजमा रहेको कुरालाई विषयवस्तु बनाइएको छ । छोराछोरीलाई गरिने आमा बाबुको असल परामर्सका कारण छोरीहरू आफै त्यस्ता दुष्टहरूको फन्दाबाट प्रतिकार गर्न सक्ने कुरालाई समेत समेटिएकोले महिला तथा छोरीहरूलाई सशक्त बनाउन खोजिएको छ ।

समयमै बचत र सुरक्षाको लागि जीवन बिमा उक्त परिवारको आधार बनेको कुरालाई समेत स्पष्ट बनाएकाे कथा हाे  सातौँ कथा ‘जीवन आधार’ । यसमा बालबालिकाले सानै उमेरमा बाबुआमा गुमाउनुपरेको पीडा ,सानै उमेरमा हुने अनमेल विवाह, सन्तान उत्पादन, साहुको ऋणले थिचिएको परिवार  त्यसमा पनि वैदेशिक रोजगारमा जाँदा श्रीमानको मृत्यु,  त्यसले परिवारले भोग्नुपरेको पीडा जस्ता सामाजिक परिघटनाहरूलाई समावेश गरिएको छ ।

आठौँ कथा ‘अन्तर्मनको संसार’मा मानिसले गर्ने काल्पनिक संसार वा प्रेम र वास्तविक संसार वा प्रेममा भएको  अन्तरलाई उल्लेख गरिएको छ । कल्पनाको संसार र वास्तविक संसारको तालमेल नमिल्दा पैदा हुने विक्षिप्तता र मनोदशालाई यस कथाले समेटेको छ ।

नवौँ कथा ‘पुनर्विवाह’मा हाम्रो समाजमा रहेका सामन्ती ठुलाबडाबाट कसरी एउटा परिवारलाई साँवा र व्याजबाट उठीबास लगाइन्छ । पहाडी समुदाय र मधिसे समुदाय बिचको सद्भाव, भाइचारा सम्बन्ध, मधेसी समुदायकी वाल विधवाले घरपरिवार र समाजबाट खेप्नुपरेको सास्ती, पहाडी समुदायका अविवाहित पुरुषले घरको सल्लाहमा मधेसी बिधुवा महिलासँग गरेको पुनर्विवाहलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

प्राकृतिक प्रकोप भूकम्प र कोरोना महामारीबाट आफ्ना श्रीमान् र छोराछोरी गुमाएर विक्षिप्त भएकी नारीको पीडालाई दसौँ कथा ‘मातृत्व’मा उतारिएको छ । आफ्नो मातृत्व रित्याउन नपाए पछिको पीडादायक अवस्था, पुनर्विवाहबाट पनि आमा बन्न नसक्दाको मनोदशा अनाथ छोरीलाई मातृत्व पोख्न पाउँदा एक आमामा छचल्किएको खुसीलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

जो हेला उसैको फेला भन्ने  उखानलाई चरितार्थ गराउन  ‘रामजी’ कथा सफल भएको छ । यसमा रामजी पात्रको माध्यमबाट स्वदेशबाट भारतमा गएर जुठा भाँडा माझेर भाइलाई पढाएको, विदेश पठाएको घरको गरिबी अभावबाट मुक्त गर्दा समेत पछि उसैलाई भाइ आमाबाट उपेक्षा गरेको पाइन्छ ।

अधिकांश कथाहरू सामाजिक विषयवस्तुमा आधारित छन् । जस्तै ‘रजनीको प्रेम’ कथाले पनि समाजको यथार्थ चित्रण गर्न सफल छ । यसमा माया प्रेम सँग धन दौलतको तुलना हुँदैन भन्ने कुरालाई मुखरित गर्दै घरको ऋण तिर्न सन्तानलाई राम्रो शिक्षा दीक्षा दिने सपना बुनेर दुधे बालकलाई निदाएको बेलामा छोडेर भक्कानिँदै वैदेशिक यात्रामा जानु परेको नेपाली नारीको यथार्थ चित्र छ । वैदेशिक रोजगारमा खेप्नु परेका पीडा दुख कष्टकर काम गरेर पठाएको पैसाबाट पुरुषले गर्ने गरेको भोग विलास, आफू नेपाल आउँदा आफूलाई अति माया गर्ने श्रीमानले गरेको उपेक्षा, शङ्का र पुरुषले आफूले गरेको कुकृत्यको फल भोग्नुपरेको कुरालाई यथार्थ चित्रण गरिएको छ ।

‘समाजलाई चुनौती’ कथामा माया प्रेम भनेको जवानीमा मात्र हुँदैन, एकल पुरुषले मात्र दोस्रो विवाह होइन, नातिनातिना भएको एकल महिलाले विदुर पुरुष सँग पुनर्विवाह गरेर महिला मात्र श्रीमानको घरमा जानु पर्छ भन्ने समाजको मान्यतालाई चिर्दै  आफ्नो घरमा पनि महिलाले आफ्नो बाकी जिन्दगीलाई सार्थक बनाएको कुरालाई कथाको विषय बस्तु बनाइएको छ ।

सामाजिक परिघटनालाई चराचुरुङ्गीलाई प्रतीकात्मक बनाएर प्रस्तुत गरिएको ‘मृत्युको पर्खाइ’ कथामा  घरपरिवारलाई चारो जुटाउन आफ्नो भाले र बचेराहरूलाई समेत गुडमा छोडेर निकै टाढाको जङ्गलमा जान परेको, चारोको जोहो गरेर पठाउने गरेको आफू फर्केर आउँदा भाले चरो अर्को पोथी सँग रमेको बचेराहरूको दिमागमा पोथीप्रति विष घोली दिएकोले कोमल मातृत्वमा आफूले औधी माया गर्ने भाले र बचेरा बचेरीबाट आघात पुगेको कुरालाई प्रतीकात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

पन्ध्रौँ कथा ‘फातिमा’ कथा फातिमा  मधेसी मुस्लिम समुदायमा जमिन्दारहरूले समेत छोरीलाई घर धन्दा र चुलो चौकाको काम मात्र जिम्मा लगाउने गरेको सामाजिक यथार्थलाई चित्रण गरिएको छ ।

कथाहरू सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएकोले समाजको यथार्थ चित्रण गर्न सफल भएको जुनसुकै कथाले पनि पाठकको मन छुन सक्ने र भाषा शैली सरल र सरस भएकोले कथाहरू पठनीय र बोधगम्य भएको प्रतिक्रिया  लेखकहरूबाट प्राप्त भएको थियो ।

शशिराम कार्कीको टिप्पणी यस्तो थियो, “जिज्ञासुका कथाहरू कथासङ्ग्रह ‘कल्पदीप’ भन्दा निकै उत्कृष्ट रहेको, कथाकार नयनराज पाण्डे, सनत रेग्मी डा. इन्द्रबहादुर भण्डारीको कथाहरूको हाराहारीमा यो कथा कचहरी रहेको छ ।”

प्रा डा कृष्ण प्रसाद घिमिरेअनुसार कथाहरू प्रगतिशीलतालाई पछ्याउँदै समाज रूपान्तरणको लागि कोशेढुङ्गा साबित हुनेछ ।

मिठो र सशक्त भाषाशैलीकाे प्रयोग, आञ्चलिकता र झर्रो नेपालीपनले गर्दा विषयवस्तु र शैली दुवै हिसाबले कथाहरू पठनीय र बोधगम्य भई पाठकहरूको मन जित्न सक्ने कुरामा मेरो पनि ठम्याई रहेको छ ।