आजसम्म जिन्दगीमा लगभग एक हजार चलचित्र हेरियो, मतलब जिन्दगीको लगभग ४ महिना चलचित्र हेरेर बितेछ, हजार मध्य सबै भन्दा कम आफ्नै देशको चलचित्र हेरिएछ, एक सयको हाराहारी । मतलब हजारको दश प्रतिशत । हेरिएका एक सय नेपाली चलचित्रमा पनि मात्र दश चलचित्र, मतलब दश प्रतिशत चलचित्र त्यस्ता छन् जुन मन परेका छन् । ती दश चलचित्र मध्य पनि एउटा यस्तो चलचित्र छ जुन मेरो लागि अति प्रिय छ ।
आजका मितिसम्म आइपुग्दा ‘ल पृथ्वी ध्वस्त हुँदै छ तैँले तेरो देशको एउटा चलचित्र मात्र लिएर मङ्गल ग्रह जान सक्छस्’ भनेर मिस्टर ईलन मस्कले भनिहाले भने | मैले लिएर जाने त्यो चलचित्र हुनेछ ‘पशुपति प्रसाद’। मिस्टर मस्क अलिक लचिलो भएर ‘ल ल तँलाई मन परेको एउटा क्यारेक्टर गर्ने एक्टरलाई पनि लिएर हिँड उता पनि त चलचित्र त बनाउन पर्यो ।’ भनिहाले भने मैले लिएर जाने क्यारेक्टर भस्मे हो र एक्टर विपिन कार्की हुन् । मसँग यो लाने कि त्यो लाने भन्ने खाले दुबिधा नै छैन । नेपाली चलचित्र उद्योग लामो इतिहास बोकेको क्षेत्र हो तर पृथ्वी ध्वस्त हुने अवस्था आयो भने मङ्गल ग्रह लानको लागि एउटा चलचित्र छान्ने दुबिधाको सुविधा पनि नरहेकोमा मलाई मज्जा लागेको छैन ।
पशुपति प्रसादको घर मेरै जिल्लामा थियो, उनी लिसंखुका थिए, म थुम्पाखरको हुँ । गाउँ मेरो छिमेकी गाउँ हो । २०७२ सालको भूकम्पमा हाम्रो पनि घर भताभुङ्ग भएको थियो । चलचित्र रिलिज हुँदा सम्म हाम्रो घर थिएन । तर मुख्य पात्र र मेरो उस्तै उस्तै नियति भएकै कारणले मात्रै मलाई यो चलचित्र प्रिय लागेको होइन । धेरै नेपाली चलचित्र हेर्दा आफू ठगिएको मात्रै अनुभूति पाएको मेरा लागि यो चलचित्र हेरेर सिनेमा हलबाट निस्कँदा आफूले जिन्दगीभरि नबिर्सने एउटा सुन्दर उपहार अथवा प्रसाद पाएको अनुभूति गरेको थिएँ ।
चलचित्र भनेको चलचित्र निर्माताहरूले उनीहरूका दर्शकलाई दिने उपहार हो । जुन उपहार दर्शकहरूले जीवनको अन्तिमसम्म मन मस्तिष्कको कुनै कुनामा सँगालेर राख्न सक्ने हुनु पर्छ भन्ने मलाई लाग्छ । मेरा लागि त्यस्तै उपहार थियो ‘पशुपति प्रसाद’ । म यो चलचित्र आउनु भन्दा पहिले पनि र पछि पनि धेरै पल्ट ठगिएको छु । विशेष गरी राम्रो पहिलो चलचित्र बनाएर त्यसको लोकप्रियताको ब्याज खान २,३,४ भन्दै सीक्वेल बनाउन पल्केकाहरूबाट ठगिए । जसरी यो देशमा नेताहरूले आफूले पहिला पहिला कत्रो कत्रो कुर्बानी गरे भन्दै त्यसैको ब्याजका रूपमा २,३,४ चोटि मन्त्री, प्रधान मन्त्री भएर जनतालाई ठगिनै रहेका छन् । त्यस्ता नेताले आफू र आफ्ना बनाउँछन्, देश डुबाउँछन् । त्यस्ता निर्माताले पनि आफू र आफ्ना बनाउँछन् चलचित्र क्षेत्र डुबाउँछन् ।
नेताहरूले जनतालाई गुण माथि गुण लगाएर ऋणी बनाउनु पर्थ्यो । उल्टो ऋण माथि ऋण थोपरे ब्याज खान पल्केर लुटे। सीक्वेल चलचित्र निर्माताहरूले पनि त्यसै गरी ब्याज खाएका खाएकै छन् । चप्पल लगाएर आएका नेताको त्यत्रो सम्पत्ति कहाँबाट आयो खोजौँ भन्ने तर आफूले बनाउने चलचित्रमा नयाँ केही दिऊँ भनेर कहिल्यै नसोच्ने चलचित्र निर्माता कस्ता निर्माता ? खास ती नेता र यी निर्मातामा टट्कारो भिन्नता केही छैन । उनीहरू राष्ट्र निर्माता यिनी चलचित्र निर्माता ।
यो पल्टको चुनावमा ब्याज खान पल्केका राष्ट्र निर्माता पार्टीहरूलाई जनताले केही धक्का दिएका छन् । चलचित्रका दर्शकले पनि ब्याज खान पल्केका चलचित्र निर्माताहरूलाई धक्का दिउन् । त्यसो गर्दा नयाँ आउँछन् । यो अवस्थालाई केही नयाँ पन दिन्छन् । ‘जस्ता राष्ट्र निर्माता उस्तै चलचित्र निर्माता’ भन्ने शीर्षकमा मन लागेछ भने कुनै दिन लेखौँला पनि । कसैले छापी दिएछन् भने छापौँला । नलेखे पनि यथार्थ उही नै हो । केही फरक पर्ने वाला छैन । देशमा ठग तन्त्र मौलाउँदो छ ।
यो लेखमा भने अब फेरि मैले उठाउन खोजेको कुरा तिरै फर्कौँ । लेखक तथा हिरो खगेन्द्र लामिछानेसँग मागेर २०७३ साल वैशाख १२ गते प्रज्ञा प्रतिष्ठानको डबली छेउका दुई सल्लाको रुखको बिचमा पर्दा टाँगेर ‘पशुपति प्रसाद’ देखाएका पनि थियौँ । मैले दोस्रो पल्ट ‘पशुपति प्रसाद’ त्यस बेला हेरेको थिएँ । चलचित्र झन् मन पर्यो । पहिले बन्द सिनेमा हलभित्र हेर्दा हिरो पशुपति मन परेको थियो । उसको माया लागेको थियो । दोस्रो पल्ट खुल्ला आकाशमुनि बसेर हेर्दा भस्मे मन पर्यो । उसको माया लाग्यो । मैले भस्मे को हो ? भन्ने शीर्षकमा २०७५ साल चैतमा एउटा लेख पनि लेखेको थिएँ । पशुपतिको सबै थिए जीवन रहेन । भस्मेको जीवन छ कोही छैनन् ।
“मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउन झन् गाह्रो छ !”
– भूपी शेरचन
मलाइ लुते भस्मे डनको माया लाग्छ । मैले दर्शकको रूपमा उसको कथा के हो जान्ने मौका पाउनु पर्छ भन्ने लाग्छ । त्यसैले त्यो लेख लेखेको थिएँ । भस्मे डन चलचित्र किन बन्नु पर्छ भनेर ‘पशुपति प्रसाद’ का हनुमान रविन्द्र सिंह बाँनियालाई पनि २०७५ साल भदौमा भेटेको थिएँ । केही समयअघि मेरो प्रिय चलचित्र पशुपति प्रसादको पनि २ अर्थात् ‘पशुपति प्रसाद २ भस्मे डन’ बन्दै छ भनेर समाचार पढेको थिएँ । हालै त्यस चलचित्रको टिजर पनि आएको छ । मलाई मेरो प्यारो भस्मे मुख्य पात्र भएको चलचित्र हेर्ने ठुलो रहर छ ।
म चाहन्छु कि यो चलचित्र अर्को पशुपति प्रसाद जस्तै मिठो उपहार होस् । जति ठुलो रहर छ उति नै ठुलो डर पनि छ कि कतै यो पनि ब्याज खानकै लागि बनाउन लागिएको त होइन ? त्यसो भयो भने पनि म त एक आम मान्छे हुँ । सबैबाट ठगिएकै छु । यिनले पनि ठगे भन्ने सोचौँला । धेरै भन्दा धेरै गरे कतै लेखि टोपलौँला । कसैले छापिदिएछन् भने छापौँला पनि । म जाबोले गर्न सक्ने त्यति न हो । मज्जा चाहिँ कुन बेला आउँथ्यो भने नि फेरि अर्को पल्ट मिस्टर मस्कले ‘एउटा चलचित्र कुन लान्छस् ?’ सोधे भने ।
मलाइ दुबिधाको सुविधा होस् । ‘पशुपति प्रसाद’ लैजाऊ कि ‘पशुपति प्रसाद २ भस्मे डन’ लैजाऊ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।