
नेपाली साहित्यिक फाँटमा विशेष गरी आख्यानमा कलम चलाउँदै आउनुभएकी उपन्यासकार एवम् गीतकार कल्पना खरेलले पछिल्लो पटक प्रकाशित गर्नुभएको चौथो उपन्यास हो ‘पुरुष’ । यस भन्दा पहिले उनले ‘समलिङ्गी सम्बन्ध’, ‘लभ इन जेरुसलेम’ र ‘रानीतलाउ’ समेत गरी तीन वटा उपन्यास, रागिनी कथासङ्ग्रह र क्षितिजपारिका शब्दहरू नामक गीतिसङ्ग्रह प्रकाशित भइसकेका छन् । उहाँका कृति प्रकाशनलाई हेर्दा उनी उपन्यास लेखनमा नै समर्पित लेखिका हुन् ।
उनी नेपाली गीति फाँटमा एउटा कुशल गीतकार पनि हुन् । उनका दुई दर्जन गीत श्रोताहरूबीच लोकप्रिय भइसकेको छ भने उनले ‘…खेल्नुसम्म खेल्यौ…’ बोलको गीत उत्कृष्ट पाँचौँमा चयन भएर गीतकार संघ नेपालमार्फत सम्मान पत्र प्राप्त गरेकी छन् । त्यसै गरी ‘…सेतो कात्रोमा गोजी हुँदैन…’ बोलको गीतले वर्ल्ड नेपाली म्युजिक अवार्डमा दोस्रो पुरस्कार पाउन सफल भएको थियो । विभिन्न साहित्यिक संघ संस्थामा आबद्ध उपन्यासकार खरेलको चौथो उपन्यास ‘पुरुष’ बारे सानो चर्चा गर्ने प्रयास गरेको छु ।
उपन्यासको शीर्षकबाट नै ज्ञात हुन्छ कि यो उपन्यास पुरुषलाई केन्द्रित बनाएर लेखिएको सामाजिक उपन्यास हो । हाम्रो नेपाली समाजमा परम्परादेखि सासू र बुहारीबिच सौहार्दपूर्ण सम्बन्ध नभएको अनुभूति प्रायः सबैले गरेकै छन् । एकाध परिवार अपवादमा होलान् तर धेरैजसो परिवारमा सासू र बुहारीबिच मनमुटाव भएकै पाइन्छ । तर अहिले आएर त्यो मनमुटावमा केही सुधार हुँदै आए पनि त्यसले पूर्णता पाउन अझै धेरै समय लाग्छ । हिजोआज सहर र गाउँमा पनि सासू-ससुरालाई आमा र बा भनेर सम्बोधन गर्ने चलन बढिरहेको छ । त्यसले पनि सासू-बुहारीको सम्बन्धमा केही सुधार ल्याउने झिनो सङ्केत देखिएको छ । हिजोका बुहारी कम पढेलेखका र कोही त अनपढ पनि हुन्थे । तर आजका बुहारी पढेलेखेका छन् । तिनै मध्ये कि पढेलेखेकी बुहारी हुन् ‘पुरुष’ उपन्यासको मुख्य पात्रा सुष्मा ।
उपन्यासको पात्र सञ्जयकी पत्नी सुष्मा र उनकी आमाबीच सधैँ मनमुटाव भइरहन्छ । एकले अर्कोलाई दोषी मात्र देखाउँछन् र आफू निर्दोष छु भन्दछन् । तर घरमा आमा र पत्नीबीच सधैँ हुने कलह र बाझाबाझले गर्दा सञ्जय दिक्क हुन्छ । ऊ आफ्नी आमा र पत्नी सुष्मालाई मिलेर बस्नको लागि अनुनय विनय गरिरहन्छ तर उनीहरू दुवै जना सञ्जयको कुरै सुन्दैनन् । आमाको बुहारीप्रतिको गुनासो छ कि बुहारी घरको काम नगर्ने र प्रायजसो मोबाइल हेरेर मात्र समय बिताउने गर्छे । सुष्मा त्यो आरोपलाई कहिले पनि स्विकार्दिन र सासूले आफूलाई सधैँ नराम्रो व्यवहार गरेको भनेर दोषी देखाउँछे । यसरी दिनदिनै सासू र बुहारीबीचको कारण सञ्जय उदास र विरक्त हुन्छ ।
आमाको पनि छोराप्रति गुनासो छ कि आफूले गर्भे टुहुरो छोरोलाई धेरै दुःख गरेर हुर्काइ बढाइ गरेकोले छोराले केवल स्वास्नीको कुरा मात्र सुनेर आमालाई दोषी ठान्ने गर्दछ । त्यस्तै सुष्माले पनि सञ्जयलाई आमाको मात्र कुरामा विश्वास गरेर आफूलाई हेला गरेको आरोप लगाउँछे । यसरी आमा र पत्नी दुवैको गुनासो सुनिरहन सञ्जय बाध्य हुन्छ । वास्तवमा सञ्जयको आमा र पत्नी मिलेर बसिदिए हुन्थ्यो भन्ने चाहन्छ । तर सञ्जय आफूलाई जन्मदिने आमा र आफ्नी जीवनसाथी पत्नीलाई मिलाएर राख्न जति प्रयास गरे पनि असफल नै हुन्छ । उसका सञ्जयका दिदीहरू पनि आमाको भन्दा भाउजूलाई नै दोषी ठान्छन् र भाइले सुष्मालाई त्यागेर अर्को बिहे गर्नुपर्ने धारणा राख्दछन् । तर त्यो त्यति सहज र कानुन अनुरूप पनि सम्भव थिएन । यसरी सञ्जयको घर झगडा दिनदिनै बढिरहन्छ ।
अहिलेको समाजमा धेरै परिवर्तन भइसकेको छ । अब पहिलेको जस्तो सासूको गोडा बुहारीले मिचिदिनु पर्ने प्रथा प्रायः हटिसक्यो भन्दा पनि हुन्छ । समाजमा विद्यमान परम्परागत रूढिग्रस्त धारणा र विचारहरूमा पनि बिस्तारै सुधार आइरहेको छ । तर सामाजिक मान्यता, परम्परा र मर्यादालाई नाघेर आफूखुसी गर्नु आधुनिकता होइन । घर व्यवहार भनेको घरका सबै सदस्यहरू बीचको सौहाद्रतापूर्ण व्यवहार र आपसी सद्भावनाद्वारा सञ्चालन हुनु आवश्यक हुन्छ । तर यस किसिमको वातावरण हाम्रो जस्तो रुढिवाढीग्रस्त समाजमा पाउन मुस्किल छ । केही अपवादलाई छोडेर हाम्रो सामाजिक व्यवहार अझै पनि उही परम्परागत ढङ्गबाट नै चलेको पाइन्छ ।
अधिकांश घर परिवारमा सासू-बुहारीबीच मात्र होइन भाउजू र नन्द, जेठानी र देउरानीबीच पनि मनमुटाव भइरहेका छन् । परिवारका आइमाईहरू बीचको यस प्रकारको मनोमालिन्यले घरलाई सधैँ अशान्तमय बनाइरहन्छ । घरको एक सदस्यले अर्को सदस्यलाई के कस्तो व्यवहार गर्नुपर्छ भन्ने सामान्य ज्ञान पनि नभएको खण्डमा परिवारमा सधैँ झैझगडा र रडाको मच्चिरहनु सामान्य कुरा हो । प्रस्तुत उपन्यासमा उपन्यासकार खरेलले यिनै विषयलाई केन्द्रीकृत गरेर एउटा पुरुष नेतृत्वको अभाव भएको परिवारमा भएका घटनालाई विषय बनाएर उपन्यास लेख्नुभएको छ । समाजमा जोडिन आएका अन्य घटनाक्रमलाई पनि उदाहरणको रूपमा प्रस्तुत गरेर उपन्यासलाई अझ रोचक र सार्थक बनाउने प्रयास भएको छ । यसमा उनी कति सफल भएकी छन् भन्ने विषयमा चाहिँ पाठकले यस उपन्यासलाई कत्तिको सकारात्मक रूपमा लिन्छन् त्यसमा भर पर्दछ ।
हाम्रोजस्तो परम्परागत रुढिवाढीग्रस्त समाजमा सामाजिक सुधार हुन अझै धेरै समय लाग्दछ । समाजमा सुधार हुनुपर्ने धेरै कुराहरू मध्ये सामाजिक सद्भाव, घरमा पुरुष-पुरुषबीच र महिला-महिलाबीचको सुमधुर सम्बन्ध मुख्य विषय हो । जुन समाज र घरमा आपसी सहसम्बन्ध सौहाद्रतापूर्ण हुन्छ त्यो समाज शान्तिपूर्ण हुन्छ । हामीले परिकल्पना गरेको घर र समाज पनि त्यही हो । तर त्यस्तो समाजको निर्माण गर्न हामीले धेरै कुरामा सुधार ल्याउनु अत्यावश्यक छ । त्यस प्रकारको सुधार ल्याउन महिलाहरूको पनि प्रमुख भूमिका रहन्छ । घरलाई स्वर्ग बनाउने कि नर्क बनाउने भन्ने कुरा महिलाकै हात हुन्छ । उपन्यासकारले यिनै कुरालाई लिएर उपन्यासका पात्रहरूको चरित्रलाई प्रस्तुत गरेकी छन् र उपन्यासमा अनेक आरोह-अवरोह निर्माण गरेकी छन् ।
पुरुष उपन्यासको पात्र सञ्जय बैङ्कको कर्मचारी हो । ऊ प्रायः आमा र स्वास्नीबिचको मनमुटाव र झगडाबाट वाक्कदिक्क मात्र होइन विक्षिप्त पनि हुन्छ । उसको मानसिक स्थिति पनि खलबलिन्छ । आफ्नो जागिरमा एकचित्त भएर काम गर्न असमर्थ हुन्छ । घरमा सधैँजसो आमा र पत्नीबीच भइरहने कचिङ्गलले गर्दा उसको मनस्थिति पनि ठीक हुँदैन एकाग्र भएर ढुक्कसँग काम गर्न सक्दैन । बैङ्कमा नगद कारोबारको जिम्मेवारी सम्हालेको कर्मचारीको काम सधैँ जोखिमपूर्ण हुनेभएकोले कारोबारमा कतै भुलचुक हुन गयो भने त्यसको जिम्मेवार ऊ स्वयम नै हुन्छ । भयो पनि त्यही । अर्थात् सञ्जयले बैङ्कको आर्थिक कारोबारलाई ठीकसँग राख्न सकेन । बैङ्क घाटामा गएको कारण बैङ्कले सञ्जयलाई जागिरबाट पनि हटाइदिन्छ र घाटा गएको रकम उसको सम्पत्ति कब्जा गरेर असुल उपर गर्दछ । सञ्जय एकै पटक घरबारविहीन हुन पुग्छ र फलस्वरूप उसको पाटीको बास हुन्छ । अन्ततः सञ्जय घरको आर्थिक भार उठाउन विदेशतिर जान्छ ।
यस उपन्यासमा खासगरी गरिबीको कारण वैदेशिक रोजगारमा जान बाध्य भएका तर स्वदेश फर्किएका अन्य दुई जना पुरुष पात्रहरूको जीवनलाई पनि यहाँ प्रस्तुत गरिएको छ । उपन्यास पुरुषभित्रका पात्रहरू मध्ये एक जना पात्र छन् सञ्जयकै भानिज दाजु, जो पच्चीस वर्ष साउदी अरबमा बसेको र अर्को हो गाउँकै साथी दीपक, जो दुबईमा काम गर्दथ्यो । ती दुवै जना आफ्नो देश फर्केका छन् । सञ्जयको भानिज दाजु र दीपक दुवै जना पत्नी पीडित पुरुष हुन् । उनीहरू दुवै जनाको स्वास्नी पोइल गएका हुन्छन् ।
यस प्रकार रोजगारको निम्ति विदेशमा जाने धेरैजसो लोग्नेका स्वास्नीहरूले कि अर्कै लोग्नेमान्छेसँग पोइल जाने कि त लोग्नेले दुःख गरेर पठाएको पैसाको हिनामिना गर्ने गरेका हुन्छन् भन्ने यस उपन्यासमा देखाइएको छ । स्वास्नीको नाममा घर जग्गा जोड्ने धेरै लोग्नेहरूको उठीबास मात्र होइन बिचल्ली नै भएका घटना देखे सुनिएकै हो । उपन्यासकार कल्पना खरेलले त्यस्तै सत्य घटनालाई विषयवस्तु बनाएर पुरुषहरूको वास्तविक पीडालाई यस उपन्यासमा प्रस्तुत गरेको पाइन्छ ।
हाम्रो समाजमा नारी हक, हित र न्यायको लागि आवाज उठाउने धेरै सरकारी र गैरसरकारी संघ संस्थाहरू छन् तर लोग्नेमान्छेको पीडा सुन्ने त्यस्ता कुनै संघ संस्था छैनन् । लोग्नेमान्छेले स्वास्नीमान्छेलाई दिएको अनेक प्रकारका यातना र पीडाका बारेमा चर्चा परिचर्चा हुन्छ तर स्वास्नीमान्छेले लोग्नेमान्छेलाई दिएका मानसिक र शारीरिक पीडाको कतै सुनावाई हुँदैन । हाम्रो समाजमा केवल नारी मात्र पीडित र शोषित छैनन् पुरुष पनि अनेक पीडामा परेका छन् । समाज बाहिरको मात्र देख्छ भित्र के भइरहेको छ भन्ने उसलाई केही थाहा हुँदैन । पुरुषहरू घरभित्रको झगडा र कचिङ्गलबाट विक्षिप्त हुँदा उनीहरू मानसिक तनाव झेल्न र भोग्न बाध्य छन् । त्यस्तै बाध्यतामा परेको पुरुष उपन्यासको पात्र सञ्जय त एउटा उदाहरण मात्र हो ।
एउटी छोरी पाएर सुष्मा माइतीमै बस्न जान्छे । सञ्जय आर्थिक सङ्कटबाट मुक्त हुनको लागि विदेश गएको केही समयपछि घरमा आमा बिरामी हुन्छिन् । उनलाई क्यान्सर भएको पत्ता लाग्दछ । आमालाई क्यान्सरको उपचार खर्च, पत्नीको र छोरीको निम्ति खर्च धान्नकै निम्ति पनि उसले विदेशमा पसिना बगाएर बस्नै पर्ने हुन्छ । आमाको असामयिक निधन भएपछि ६ वर्षदेखि विदेशमा बसिरहेको सञ्जय स्वदेश फर्किन्छ ।
तर पत्नी सुष्माको व्यवहारमा भने निकै परिवर्तन पाउँछ । लामो समय विदेशमा बसेर आउँदा पनि उसकी पत्नी सुष्माको लोग्नेप्रति न कुनै आकर्षण न त मामा ममता नै हुन्छ । सुष्मा लोग्नेलाई वास्ता नै गर्दिन । सञ्जयले पत्नीलाई कति सम्झाउँदा र माया गर्दा पनि सुष्माले उसलाई तिरस्कार गरिरहन्छे । मानौँ उसको निम्ति लोग्ने केही होइन, बिना अर्थको जस्तो । त्यो देखेर सञ्जय आश्चर्यमा पर्छ र आफ्नी स्वास्नी कुनै परपुरुषसँग लागेको हो कि भन्ने शङ्का गर्न विवश हुन्छ । स्वास्नीले हेला गरेको र भएभरको सम्पत्ति पनि स्वास्नीकै नाममा भएकोले सञ्जय अन्ततः स्वास्नीसँग सम्बन्ध विच्छेद गर्न वकिलकोमा जान्छ । तर लोग्नेमान्छेले सम्बन्ध विच्छेद गर्नको निम्ति आवश्यक आधारहरू पेस गर्नुपर्छ र त्यस्तो आधार नभई लोग्नेले सम्बन्धविच्छेद माग्दैमा सजिलै सम्बन्धविच्छेद नहुने कुरा गर्छ वकिलले । वकिलको कुरा सुनेर सञ्जय झनै निराश हुन्छ । अनि सञ्जय आफैसँग प्रश्न गर्छ के अब आत्महत्या गर्नुभन्दा अर्को विकल्प के छ त ?
यसरी उपन्यासकारले यौटा कौतुहलतापूर्ण प्रश्न खडा गरेर उपन्यासलाई समाप्त गरेकी छन् ।
प्रस्तुत उपन्यासमा उपन्यासकार खरेलले एकल र वृद्ध पुरुषको पीडालाई पनि मार्मिक ढङ्गबाट व्यक्त गरेकी छन् । महिला पुरुष दुवैले एकल जीवन निर्वाह गरिरहेका हुन्छन् तर महिलाले भन्दा पुरुषले एकल जीवन बिताउँदा बढी मानसिक तनाव झेल्नुपर्ने हुन्छ भनी उपन्यासमा दर्साइएको पाइन्छ । वास्तवमा यो हाम्रो समाजको एउटा यथार्थ अवस्था पनि हो ।
कुल ३२ भाग र १९८ पृष्ठको यो उपन्यास एउटा विशुद्ध सामाजिक उपन्यास हो । नारी भएर पुरुषको पीडा व्यक्त गर्न सक्ने क्षमता उपन्यासकारमा अब्बल पाइन्छ । नारी भएर पुरुषको र पुरुष भएर नारीको वेदनालाई अभिव्यक्त गर्न त्यति सजिलो र सहज छैन । तर यस उपन्यासमा खरेलले निकै मार्मिक ढङ्गबाट पुरुषहरूको वास्तविक पीडालाई सविस्तार प्रस्तुत गरेकी छन् । यसको निम्ति उनलाई धन्यवाद दिनै पर्दछ । मञ्जुश्री प्रकाशन, काठमाडौँले प्रकाशन गरेको यस उपन्यासको आवरण कवि राजेन्द्र तारकिणीले बनाउनु भएको छ, जो उपन्यासको विषय अनुरूप नै छ । सुन्दर छपाइमा प्रकाशित कृतिको मूल्य तीन सय पचहत्तर तोकिएको छ ।
अन्तमा उपन्यासकार कल्पना खरेलको यो चौथो उपन्यासको सफलताको लागि हार्दिक शुभकामना दिँदै नेपाली साहित्यको उपन्यास विधामा एउटा सार्थक उपन्यासकृति प्रकाशन गरेकोमा बधाई ज्ञापन गर्दछु र भविष्यमा अझ राम्रा राम्रा उपन्यास लेखनले निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
