विषय प्रवेश

वर्तमानमा भारतमा नेपाली समालोचना साहित्य सन्तोषजनक छ वा छैन भन्ने कुरामा विभिन्न मत पाइन्छ । अहिले भारतका नेपाली साहित्यका जति सिर्जनात्मक कृति प्रकाशित भएका देखिन्छन्, तिनको अनुपातमा समालोचना अत्यन्तै थोरै नै छन् । सयकडामा दसवटा कृति पनि समालोचित/समीक्षित भएका छैनन् । समालोचना भए पनि कुनै त हलुका र सामान्य पाठकीय प्रतिक्रिया मात्र देखिन्छ । हाम्रातिर समालोचना लेख्दा गुणमा देखाउने, लेखकको प्रशंसा मात्र गर्ने, कृतिको सतही व्याख्या गरिने, पठनगत प्रभावलाई मात्र प्रकाश पार्ने काम गरिएको पाइन्छ । यहाँबाट जति पनि कवितासङ्ग्रह प्रकाशित भए, तीमध्ये अत्यन्त थोरैको मात्र समीक्षित हुने सौभाग्य जुरेको छ । कथासङ्ग्रहको पनि त्यस्तै हालत छ । उपन्यासको झन् कुरै नगरूँ । निबन्ध समालोचना पनि परै छ । नाट्य समालोचना निकै पछि छ ।

लेखिएका जति जम्मै समालोचना भनिहाल्न पनि मुस्किल पर्दछ । धेरै जसो त सामान्य पाठकीय टिप्पणी मात्र देखिन्छ । कुनै त ‘यस्तो किताब निस्केको छ है’ भन्ने जानकारीमूलक टिप्पणी मात्र पनि देखिन्छन् । हामीले सन्तोष मान्नुपर्ने स्थिति छैन अनि सन्तोष मान्नु पनि हुँदैन । जति भएका थोरै हुन् । धेरै जना कवि\लेखक आफ्नो कृतिको मूल्याङ्कन भएको देख्नै नपाए बितेर गए, कति ठूला लेखक पनि मूल्याङ्कनहीन भएका छन् ।

सिर्जनाका अनुपातमा समालोचना केही पछि नै छ, यद्यपि कामै भएको छैन भन्ने कुरा पनि होइन । एक प्रकारले हुँदै गरेको पनि पाइन्छ । नयाँ नयाँ हाँचका, युवापुस्ताका समालोचक दिनहुँ आइरहेका छन् । दैनिक पत्रपत्रिका, मासिक साहित्यिक पत्रिका आदिमा समालोचना देखिइरहेका पाउँछौँ । नयाँ शताब्दीको सुरु २००० देखि हालसम्म भारतबाट लगभग दुई सयवटा जति समालोचनाको किताब प्रकाशित भएको पाइन्छ । यसमा पुरानाबाहेक नयाँ नयाँ युवापुस्ताका समालोचक पनि पाइन्छन् । एक हुल युवापुस्ता बढ्दै छन्, जसले अहिले विश्वमा चलेका नयाँ नयाँ सिद्धान्त, विचार, अवधारणालाई अघि बढाएका छन् । अबको समालोचना मार्क्सवादी र गैर मार्क्सवादी समालोचना प्रवृत्ति गरी मुख्य दुई धारमा छुट्याएको पाइन्छ । (रत्न वृहत् नेपाली समालोचना-सैद्धान्तिक, पृष्ठ १४) ।

०००

समालोचकका रूपमा

योगेश खाती

योगेश खाती नेपाली समालोचनाको क्षेत्रमा अब योगेश खातीको नाम पनि जोडिन आउँछ । साहित्य अध्ययनको फाँटलाई उनले पनि अघि बढाउँदै छन् । उनको जन्म २५ अगस्ट, १९७८ मा कालेबुङमा भएको हो । उनका बाबुआमाको नाम स्व. बलराम खाती र श्रीमती फिलोमिना मोलमु हो । उनले नेपाली विषयमा स्नातकोत्तर  अध्ययन गरेका खाती हालमा खरसाङ कलेजमा प्राध्यापन गर्दछन् । उनको ‘अध्ययन आवर्तन’ (२०२३) समीक्षाग्रन्थ हो । यसै गरी साहित्य अकादेमी दिल्लीबाट भारतीय साहित्यका निर्माता डा. तुलसीबहादुर छेत्री ‘अपतन’ २०२१ मा एउटा समीक्षामूलक जीवनीग्रन्थ प्रकाशित छ ।

उनी एक गम्भीर साहित्य अध्येता हुन् । पाश्चात्य साहित्यका नयाँ नयाँ सिद्धान्त र कृतिको अध्ययनमा रुचि राख्दछन् । खाती सैद्धान्तिक, वस्तुवादी एवम् प्रायोगिक समालोचना लेखनकार्यमा सक्रिय छन् । विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मानकका साहित्यिक पत्र-पत्रिका र जर्नलहरूमा आफ्ना शोधपरक समालोचनात्मक लेखहरू दुई दर्जनभन्दा धेरै प्रकाशित गरिसकेका छन् । उनका अनुसन्धानात्मक लेखहरूमा वर्गीय सीमान्तता विवेचन, लिङ्गीयता विवेचन, पहिचानको विवेचन, भिन्न क्षमताको विवेचन, सांस्कृतिक अध्ययन विवेचन,  अन्तर्विषयात्मकता, सीमा अध्ययन, मानव अधिकारका प्रसङ्ग, दलित विमर्श, समाजिक-राजनीतिक दृष्टिकोण, गणतान्त्रिक चेतना, मानव बसाइँ, राष्ट्रवाद इत्यादि क्षेत्र समेटिएको देखिन्छ । अनुसन्धनात्मकता, प्राज्ञिकता, सैद्धान्तिक विश्लेषणात्मकता, एक विषयकेन्द्रितता, जीवनीपरकता, कृति मूल्याङ्कनपरक आदि उनको समालोचना प्रवृत्ति हुन् ।

अध्ययन र आवर्त

यसै वर्ष २०२३ मा योगेश खातीको ‘अध्ययन आवर्तन’मा जम्मा सत्रवटा समीक्षात्मक लेखहरू रहेका छन् । उपमा पब्लिकेसन्स कालेबुङको प्रकाशित भएको यस पुस्तकमा भूमिका लेखक कबीर बस्नेतले पुस्तकभित्रको विशेषता, विषयवस्तु, समालोचकीय धर्मलाई कोण प्रतिकोणबाट हेरेका छन् । कबीर बस्नेतको भूमिका नै यस पुस्तकको गहन समीक्षा हो, भूमिका नै पुस्तकको मूल्याङ्कन गर्न प्रशस्त छ । पुस्तकमाथि चहकिलो रूपमा आलोकिता पारिएको छ ।

यसमा रहेका लेखहरू ‘भारतीय नेपालीहरूको जातीय चिनारी र चेतनाका सन्दर्भमा भानुभक्त आचार्य’, ‘सीमा अध्ययन अनि कथा फ्रन्टियर’, ‘नेपाली कथा परालको र हिन्दी कथा जुठन- मा दलित विमर्श : एक  तुलना अध्ययन’, ‘भ्रमर– भित्र मानव बसाइँको सन्दर्भ’, इतिहासको बाडुली-भित्रका हिक्काहरूमा कवि राजेन्द्र भण्डारी’, ‘दाम्पत्य सम्बन्ध समस्या र समाधान सन्दर्भमा कथा टिस्टा बग्छ सधैँ जस्तो’, ‘समकालीन भारतीय नेपाली कवितामा गणतान्त्रिक चेतना सन्दर्भमा पवित्रा लामाका कविताहरू’, ‘भारतीय नेपाली बालसाहित्यको परम्परामा शिशुपाल शर्माकृत बाल कविता कोसेली-को चर्च, एउटा जीवन्त धुप्पीको रूख” भित्र जाति, पर्यावरण र युगको प्रभाव : एक चर्चा’, ‘उत्तर औपनिवेशिक साहित्यको एउटा चर्को स्वर किनाराका आवाजहरू’, ‘विविध आयामहरूमा एल बी परियार’, ‘पहेँलो गुलाबको फूल- स्लाइड सो मा हेर्दा’, ‘अनुहारमा भूगोल कविता सङ्ग्रहको अध्ययन’, ‘उपन्यासकारका रूपमा शिवकुमार राई’, ‘मातेको मान्छेको भाषा मध्यरतापछिको सडकसित कविताभित्र आख्यायिका : एक परिचर्चा’, ‘निर्वस्त्र घाम र लोलाएको साँझ कवितासङ्ग्रह केही अर्थ अनि व्याख्या’, ‘भारतीय इतिहासमा सय वर्ष लामो गोर्खा जन पुस्तकालय, खरसाङ : यसको सामाजिक-सांस्कृतिक महत्त्व’ ।

यसमा रहेका प्रायः जसो लेखहरूमा कुनै एउटा विषयकेन्द्रित व्याख्या विश्लेषण गरिएको पाइन्छ । यसमा भानुभक्त आचार्य, शिवकुमार राई, गुरुप्रसाद मैनाली, रूपनारायण सिंह, राजेन्द्र भण्डारी, एम एम गुरुङ, पवित्रा लामा, शिशुपाल शर्मा, सुकराज दियाली, जीवन नामदुङ, मनप्रसाद सुब्बा, रेमिका थापा, एल बी परियार, किताबसिंह राई, साहित्य क्षेत्रमा पनि विषयवस्तुको विस्तार बढ्दो छ । साहित्य पनि बहुविधात्मक, अन्तर्विधात्मक र अन्तर्विषयात्मक बनेको अवस्था छ ।

यसमा साहित्यलाई अध्ययन गर्न इतिहास, भूगोल, राजनीतिशास्त्र, समाजशास्त्र हुँदै सीमा अध्ययन, द्वन्द्व रणनीति र गणतान्त्रिक अध्ययन, मनोवैज्ञानिक, किनारीकृत आवाज, बसाइँ सराइ, पर्यावरण चेतना, दलित चेतना, उत्तर औपनिवेषिकता, जाति-जातित्व र राष्ट्रियता, बालसाहित्य, दाम्पत्य जीवन आदिका विषय विस्तार हुँदै गरेको अवस्था छ । यसमा तुलनात्मक अध्ययन, विश्लेषणात्मक अध्ययन, सर्वेक्षणात्मक अध्ययन, जीवनीमूलक अध्ययन आदि अध्ययन विधिको प्रयोग गरिएको पाइन्छ । अब कृतिलाई नयाँ नयाँ कोणबाट हेर्ने गरिन्छ ।

एउटा लेखकको मस्तिष्कभित्र उब्जेका विभिन्न भावतरङ्ग, पृष्ठभूमि, अनुभव, विषयवस्तु र प्रसङ्गलाई उसले कृतिभित्र हाल्ने गर्दछ । यस्ता कुराहरू कृतिभित्र सचेत रूपमा वा कतै स्वतःस्फूर्त रूपमा प्रतिबिम्बित हुने गर्छन् । समीक्षकले त्यसलाई नै केलाउने प्रयास गर्दछ । एउटा स्रष्टाको सामाजिक, आर्थिक, सांस्कारिक. राजनैतिक, भौगोलिक मानसिक, शैक्षिक पृष्ठभूमिले पनि कृतिको विषयवस्तुको आधार बनाएका छन् ।

पुस्तकको भूमिकामा समालोचक कबीर बस्नेतले खुबै गहन अध्ययन गरी यसको सटीक मूल्याङ्कन गरेका छन् । यो भूमिका नै समालोचनाको एउटा सफल नमुना बनेको छ । यसमा खातीको यस अध्ययन आवर्तनको मूल मर्मको सटीक सन्धान गरेको पाइन्छ । बस्नेतका अनुसार ‘अध्ययन आवर्तनको क्रममा प्रत्येक मोड अनि घुम्तीहरूमा दह्रोसित देखिएको उनको समालोचकीय प्रिजम्‌ले कहिले कुनै एउटा विशेष रङलाई चहकिलो रूपमा पाठकीय चेतमा अपवर्तन गराइदिन्छ भने कहिले सृजनाको बहुरङ्गी किरणहरूलाई समग्रमा परावर्तन गरेर पाठकलाई चकित बनाउँछन्’ ।

पुस्तकको पहिलो लेख ‘भारतीय नेपालीहरूको जातीय चिनारी र चेतनाका सन्दर्भमा भानुभक्त आचार्य’मा भारतीय नेपाली जनगोष्ठी र अस्तित्व चेतना, जाति, जातीयता चिनारी विषयमा सारगर्भित अध्ययन प्रस्तुत गरिएको छ । यस लेखमा जाति, जातीयताबारे केही परिभाषा र तिनको व्याख्या गरिएको छ । यसका साथै भारतमा गोर्खाली एकीकरण, ध्रुवीकरण र जातीयकरणको प्रक्रियामा विभिन्न सङ्घ-संस्थाहरूको गठन, भानुभक्त आचार्यको रामायण भावानुवाद बाहिर आएपछि यसले भाषिक सांस्कतिक एकीकरणको सूत्रको काम गरेको तथ्य प्रस्तुत गरेका छन् । आज भानुजयन्ती जातीय एकता, भाषिक सामाजिक सांस्कृतिक उत्थानको दिवसका रूपमा रहेको छ ।

अर्को लेख ‘सीमा अध्ययन अनि कथा फ्रन्टियर’मा सीमा अध्ययनको परिभाषा, परिचय, अवधारणालाई सम्यक् चर्चा गर्दै केही नेपाली कृतिहरूमा पनि यस किसिमको समालोचना गर्न सकिने ठाउँ देखाएका छन् । मुलुकबाहिर, अनि देउराली रुन्छ, आज रमिता छ, आदिमा सीमा अध्ययनको आधारमा समीक्षा गर्न सकिन्छन् । ‘रूपमा सीमालाई दुई देशबिचको भौगोलिक सीमाङ्कन भनेर जानिन्छ यद्यपि अन्तर्विषयक अध्यायका रूपमा सीमा अध्ययनभित्र सैन्य, युद्ध, राजनैतिक कूटनीति, आतङ्कवाद, बसाइँसराइँ, जातीय चिनारी शक्ति प्रदर्शन, डायस्पोरा, विचार विनियम, आर्थिक आदि विषयहरूले भूगोल भू-राजनीति हुँदै आज बहुविषयक अध्ययन क्षेत्रलाई उर्वर बनाएको छ ।’ (अध्ययन आवर्तन, पृष्ठ ३५) ।

लेखकले भ्लाडिमिर कोलोस्सोम र अन्यका मतलाई अवधारणालाई अघि सारेर सहयोग लिएर आफ्नो किसिमले व्याख्या गरेका छन् । उनले आफ्नो अध्ययनबाट यसलाई पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण र चौथो चरण गरी चारवटा वर्गीकरण गरेका छन् । यस अध्ययनभित्र विश्व व्यवस्था प्रणाली अनि क्षेत्रीय चिनारी दृष्टिकोण, भू-राजनैतिक दृष्टिकोण, सामाजिक प्रतिनिधित्वको रूपमा सिमाना अभ्यास नीति, सोच दृष्टिकोण, पराराजनैतिक दृष्टिकोण जस्ता तत्त्वहरूका आधारमा सीमा अध्ययन गर्न सकिने कुरा पनि अघि सारेका छन् ।

शिवकुमार राईको प्रसिद्ध कथा फ्रन्टियर कथालाई सीमा अध्ययन (Border Studies)का आधारमा समीक्षा गरिएको छ । गत केही वर्षदेखि सीमा विषयक एउटा बेग्लै अध्ययन विषयक स्थापना भएको पाइन्छ । सिक्किम विश्वविद्यालयमा पनि यस विषयमा एउटा छुट्टै विभाग खोलिएको छ । सीमा अध्ययनभित्र सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, सामाजिक, भाषिक, सैन्य, कूटनैतिक रणनीति, बसाइँ सराइ, आतङ्क, जातीय चिनारी र जातीय अन्तर्मिश्रण, व्यापार डायस्परिक आदि अध्ययन गरिन्छन् । फ्रन्टियर कथामा अफगानिस्तानको सीमामा रहेको एउटा गाउँको मानिसहरूको सामाजिक सामरिक रणकौशलको अध्ययन गरिएको छ । ब्रिटिसकालीन भारतको पृष्ठभूमिमा रहेको यस कथामा अफगानी मानिसहरूको रूपरङ्ग, जीवन शैली, स्वभाव आदिलाई प्रकाश पारिएको छ । राजनैतिक रूपमा रुसी प्रभावलाई रोक्नलाई बेलायतले अफगानिस्तानलाई आफ्नो आधिपत्य जमाएको र त्यहाँ र अङ्ग्रेज अधिकारी र गोर्खा सेनालाई बजिरिस्थानका स्थानीय मानिसहरूको सत्ता विद्रोह र स्वशासनको चाहनालाई देखाइएको छ ।

नेपाली कथा ‘परालको आगो’ र हिन्दी कथा ‘जूठन’मा दलित विमर्श एक तुलनात्मक अध्ययन लेखमा गुरुप्रसाद मैनाली र जूठन कथामा दलित विमर्शको आधारमा समीक्षा गरिएको छ । यी दुई कथाहरूमा पाइने दलितहरूको सामाजिक आर्थिक अवस्थाको तुलनात्मक अध्ययन गरिएको पाइन्छ । ओमप्रकाश वाल्मीकिको जूठन कथा र गुरुप्रसाद मैनालीको परालको आगो कथामा दलित विमर्शका आधारमा अध्ययन गरिएको छ । नेपाली साहित्यमा दलित विमर्श थोरै नै गरिएको पाइन्छ । यसमा भारतमा दलित साहित्यको प्रादुर्भाव, विकास, परम्परा र प्रवृत्तिका आधारमा चर्चा गरिएको छ । दलित विमर्शभित्र दलित जीवनको चर्चा, पीडा, आक्रोश, प्रतिरोध अनि सङ्घर्षका समवेदनाले पूर्ण साहित्य सिर्जना भएको कुरा छ । यद्यपि यस लेखमा परालको आगो कथा र जूठन कथाबीच दलित विमर्शका आधारमा तुलना गर्नु उचित प्रतीत हुँदैन थियो कि भन्ने लाग्छ । जूठन कथामा भने दलित अध्ययनका सबै प्रवृत्ति र विशेषता विद्यमान छन् ।

यस कथा लेखनको उद्देश्य नै दलित समुदायको जीवनका कठिनाइ, शारीरिक मानसिक आर्थिक शोषण दोहन, प्रताडना, भेदभाव, छुवाछुत आदि देखाउनु रहेको देखिन्छ भने परालको आगो कथामा जुठे दमाईका निम्ति त्यस्तो अवस्था देखाइएको छैन । उसको र चामेको परिवारका बिचमा दाजुभाइको जस्तो राम्रो छिमेकीको भूमिका छ । जुठेलाई न कसैले शोषण गरेको देखाइएको छ न कसैले भेदभाव गरेको छ । जुठेको नाममा उल्लेख गरेको दमाई शब्द छ भन्दैमा दलित विमर्शभित्रका तत्त्वहरूसित मेल खाँदैन । यद्यपि जुठेको नाम र पेसाले नेपालमा पनि दलित समुदायका समस्या भित्रभित्रै थियो, परोक्ष रूपमा उत्पीडित भनेर सङ्केत गरेका हुन् भन्ने तथ्य प्रकाश गरेका छन् । परालको आगो कथामा दलित विमर्श नभएको लागे तापनि यसमा समालोचकले उक्त विमर्श देख्न सकेका छन् । भारतीय नेपाली समालोचनामा यो दलित विमर्श उति भएको छैन । य,मा योगेश खाती एक पाइला अघि सरेका छन् ।

‘’भ्रमर’भित्र मानव बसाइँ’ भन्ने लेखमा बसाइ सराइको सिद्धान्तका आधारमा भ्रमर उपन्यासको समीक्षा गरिएको छ । बसाइँ सराइका कारणहरूमा बाध्यता, अन्य स्थानप्रति आकर्षण, स्थान उपयोगिता, व्यावधानिक अवसर, बढ्दो दूरत्वको उल्लेख गरी त्यसका प्रकारहरूको पनि उल्लेख गरेका छन् । बसाइँका प्रकारहरूमा आन्तरिक बसाइँ, बाह्य बसाइँ, प्रवासन, जनसङ्ख्या, स्थानान्तर बाध्यतामूलक बसाइँ, क्रमिक बसाइँ, निर्गमन बसाइँ, सामयिक बसाइ आदिको उल्लेख गरेका छन् । रूपनारायण सिंहको भ्रमर उपन्यासमा नेपालबाट भारत, बर्मातिर नेपालीहरू बसाइँ सरेका, भारतभित्र पनि कलकत्ता, बनारस आसामतिर बसाइँ सरेको उल्लेख पाइन्छ । कोही तेलखानीमा, कोही कोइलाखानी, कोही चियाबारीतिर बसाइँ सरेका छन् । बसाइँ सराइ एक प्रकारको क्रमिक यात्रा हो । संसारका धेरैजसो मान्छे बसाइँ धेरथोर सरेकै हुन्छन् ।

उपन्यासका परशुराम बस्नेत, माया, शेखर, कुबीरमान राई, मोटा राई आदि पात्रहरू बसाइँको सरेको प्रसङ्ग पाइन्छ । बसाइ सराइका क्रममा बर्माको प्रोम, बनारस, कलकत्ताछेउको लिलुवामा धेरै नेपालीहरूको बसोबासो पाइन्छ ।
‘इतिहासको बाडुली-भित्रका हिक्काहरूमा कवि राजेन्द्र भण्डारी’ भन्ने लेखमा पनि जाति, जातीयता, जातीय दमन, किनारीकरण र इतिहास चेतनाको चर्चा गरेको पाइन्छ । यस लेखमा राजेन्द्र भण्डारीको यस कवितासङ्ग्रहभित्रको अन्तर्भावलाई केलाएका छन् । सन् १९८६ देखि १९८८ सम्म दार्जिलिङमा सुवास घिसिङको नेतृत्वमा चलेको गोर्खाल्याण्ड आन्दोलन, २००७ देखि २०११ सम्म विमल गुरुङको नेतृत्वमा चलेको उही आन्दोलन र २०१७ मा चलेको आन्दोलनका मनोवैज्ञानिक, सामाजिक, राजनैतिक पृष्ठभूमिलाई राजेन्द्र भण्डारीले उतारेका छन् ।

‘भारतको गणतन्त्रको दीर्घकालीन यात्रामा भारतीय नेपालीभाषी जनसमुदायका निर्मित निर्माण भएको इतिहास पनि त्यसको सत्यतालाई देशको व्यवस्थाले जी जानी बिर्सँदा नेपालीभाषी समुदायको वर्तमानलाई बारम्बार लागिरहने बाडुली अर्थात् त्यस इतिहासको सम्झना वास्तविक बास भूमिको सत्यता हो’ । जातीय उत्पीडन, किनारीकृत, वञ्चनाको सिकार, शोषण-दोहन, अत्याचारलाई कविले कवितामा अभिव्यक्ति गरेका छन् । प्रायः जम्मै कविताको स्वर नै जातीय उत्पीडन आदिलाई विभिन्न प्रतीक र विम्बको माध्यमबाट व्यक्त गरेका छन् । भारतीय मूलसत्ताबाट गोर्खालीहरू सदा वञ्चित उपेक्षित लाङ्क्षित हुनुपरेको तथा वासस्थान बनाउन आवश्यकता परेको तथ्य राजेन्द्र भण्डारीको यस कवितासङ्ग्रहको मूल स्वरका रूपमा रहेको कुरा उल्लेख गरेका छन् । यस लेखमा राजेन्द्र भण्डारीको  ‘इतिहासको बाडुली’ कवितासङ्ग्रहमा गोर्खाहरूको राजनैतिक समस्या आदिलाई लिएर साङ्केतिक रूपमा चालिसवटा कविताहरू र बास भूमिको अन्तर्कथामा इतिहास लेखन गरिएको छ ।

खातीका अनुसार यस सङ्ग्रहभित्रका कविताहरूमा मूलतः भारतमा गोर्खाहरूको दीर्घ दिनदेखि राजनैतिक रूपमा न्याय नपाएको शासन सत्ताले हाम्रो  इच्छा आकाङ्क्षालाई अनसुना गरेको, परिचय सङ्कट, आफ्नो बासभूमि नभएको अन्तर पीडा, हाम्रो बलिदानको अनदेखा, हामीलाई अन्तर्द्वन्द्व गराइएको कुरालाई कवितामा उतारेका छन् । यसमा रहेका कविताहरूको अन्तर मर्मलाई समीक्षकले राम्ररी केलाउन सकेका छन्, कविताहरूलाई न्याय दिन सकेका छन् ।

‘दाम्पत्य सम्बन्ध समस्या र समाधान, सन्दर्भमा कथा टिस्टा बग्छ’ सधैँ जस्तो कथामा दाम्पत्य सम्बन्ध, यसका समस्या, सम्बन्धविच्छेद मिलापत्र आदि विषयमा समाजशास्त्रीय सिद्धान्तका आधारमा व्याख्या गरिएको छ । कथामा लोग्नेस्वास्नीका रूपमा रहेका निमा र मैचाङको सुमधुर दाम्पत्य जीव छँदाछँदै पनि एकदिन एउटा भालेको विषयमा  झगडा हुन्छ र निमाले मैचाङलाई कुट्छ । भोलिपल्ट किन कुटेछु भनी अपराध बोध गर्छ र उक्त भाले बेचेर दस रुपियाँको ऋण र अरू पैसाले मैचाङलाई लुगा किनिदिने मन बनाएर बजार जान्छ । कथामा टिस्टा नदीलाई जीवनको प्रतीक, समस्याको प्रतीक, भावनाको प्रतीक, प्रेमको प्रतीक, जीवनको प्रतीक, यात्राको प्रतीक, समस्याको प्रत्यक्षदर्शीको प्रतीक, दाम्पत्यसम्बन्धभित्रको रिसको प्रतीक, विच्छेद सम्बन्धको प्रतीक आदिका रूपमा हेरिएको छ भन्ने कुरा उल्लेख गरेका छन् । निमा र मैचाङ टिस्टाको उर्लंदो भेलजस्तो झगडा गर्छन् तर भोलिपल्ट नदी साम्य भए जस्तै दुईजना मिल्छन् ।

‘समकालीन भारतीय नेपाली कवितामा गणतान्त्रिक चेतना सन्दर्भमा पवित्रामा लामाका कविताहरू’ भन्ने लेखमा पवित्रा लामाका कविताहरूमा मूल्य मान्यता, विभिन्न आयाम, गणतान्त्रिक चेतना र विविध स्वरको अध्ययन विश्लेषण गरिएको छ । अहिलेको समयको संवेदनशील विषयवस्तु उठान गरी कविता लेख्ने पवित्रा लामा पनि एक हुन् । समीक्षक खातीले पवित्रा लामाको कवित्वमा पाइने विभिन्न स्वरको सन्धान गरेका छन् । पवित्रा लामाका कवितामा लैङ्गिकता, वर्गीयता, जातीयता, प्रादेशिकता, धार्मिकता, भाषा आदिका आधारको सन्धान गरेका छन् । पवित्रा लामा मूलतः नवमार्क्सवादी चेतनाले कविता सिर्जना गरिएको प्रतीत हुन्छ । उनको गणतान्त्रिक चेतनाभित्र प्रगतिशीलता नै प्रखर रूपमा पाइन्छ । उनका दुईवटा कवितासङ्ग्रहको सबैभन्दा प्रखर त्त्व लैङ्गिकतालाई नै मान्न सकिन्छ । सङ्ग्रहभित्र रहेका कविताहरूमा ‘हर्कमाया’, ‘मारसाङ’, ‘असारी’, ‘म मानवी बोलिरहेछु’, ‘महाभिनिष्क्रमणपछि’, ‘म आज फेरि खोजिरहेछु सीतालाई’, ‘चियरलिडर’, ‘व्युरोक्र्याट आइमाई’ आदि हुन् ।

‘भारतीय नेपाली बालसाहित्यको परम्परामा शिशुपाल शर्माकृत बाल कविता कोसेली-को चर्चा’- लेखमा बालसाहित्यको परिचय र परिभाषा, यसका विविध क्षेत्र, पृष्ठभूमि, भारतीय नेपाली बालसाहित्यको इतिहासको सर्वेक्षण गरेर शिशुपाल शर्माको बालकवितासङ्ग्रहको समीक्षा गरेका छन् । भारतमा नेपाली बालसाहित्यको प्रारम्भमा पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधान हुन् भने अहिले निकै झाँगिएको अवस्था छ । यद्यपि नेपाली साहित्यमा बालसाहित्य लेखन थोरै छ । साहित्य अकादेमी, नयाँ दिल्लीले वर्षमा एकपटक बालसाहित्य अकादमी पुरस्कार प्रदान गर्दा नेपाली बालसाहित्यको खरेडीको अवस्था देखिन्छ । वर्षमा एक दुईवटा मात्र बालसाहित्य पुस्तक प्रकाशित हुँदा जस्तो पाए त्यस्तैलाई नै बालसाहित्य पुरस्कार दिनु पर्ने बाध्यताजस्तो स्थिति पनि आउने सम्भावना हुन्छ । नेपाली बालसाहित्य अध्येता समीक्षकहरू पनि थोरै नै हुन् । डा. घनय्म नेपाल, डा कविता लामा, मुक्तिप्रसाद उपाध्याय बराल, डा दिपेन तामाङ आदि हुन् ।

शिशुपाल शर्माले लेखन र अनुवाद गरेर केही वर्ष बालसाहित्यमा काम गरेका छन् । खातीका अनुसार यस बालकवितासङ्ग्रहका दुईवटा उद्देश्य छन्- मनोरञ्जन र नैतिक सन्देश । यसमा आध्यात्मकता, सूचनात्मकता, कल्पनाशीलता, साथसङ्गति, प्रकृति प्रेम, बालसुलभता, मानवता, नीति उपदेशात्मकता, देशप्रेम, शैशव अनुभूति, गाम्भीर्य, स्थानीयको छाप गरी बाह्रवटा विषयगत वर्गीकरण गरिएको छ । ती विषयवस्तुलाई सोदाहरण समीक्षा गरिएको छ ।

‘एउटा जीवन्त धुप्पीको रूख’भित्र जाति, पर्यावरण र युगको प्रभाव : एक चर्चा’ भन्ने लेखमा जीवन नामदुङको एउटा कविता एउटा जीवन्त धुप्पीको रुख मा अन्तर्निहित जातीय चेतनालाई अध्ययन प्रस्तुत गरिएको छ । धुप्पीको रुख चिरहरितताको प्रतीक हो । दार्जिलिङको धुप्पीसित गोर्खाली जातिको सोझो सम्बन्ध छ । धुप्पीको रूखसित हाम्रो भौगोलिक, आत्मिक, आर्थिक, भौगोलिक, प्राकृतिक, राजनैतिक, सांस्कृतिक, धार्मिक सम्बन्ध छ । दार्जिलिङमा कहिले धुप्पीको विच्छेदको कुरा हुन्छ ठिक त्यसै गरी गोर्खा उच्छेदको कुरा पनि । दार्जिलिङको धुप्पी र उपनिवेशको सोझो सम्बन्ध छ । कविलाई दार्जिलिङको समय र परिस्थितिमा कसरी आफ्ना मानिसहरू सामाजिक सरोकारलाई पन्छाएर तटस्थ बन्न सक्छन्? अन्याय र अत्याचार सामु तटस्थ रहनु घोर पाप भन्ने कथनको अघि चिन्ता व्यक्त छ । यसरी धुप्पीलाई प्रतीकात्मक रूपबाट विभिन्न कोणबाट हेरेर जाति र जातित्वसित जोडेका छन् भन्ने समालोचकको आशय छ ।

‘उत्तर औपनिवेशिक साहित्यको एउटा चर्को स्वर किनाराका आवाजहरू’ मनप्रसाद सुब्बा र रेमिका थापाको संयुक्त रूपमा प्रकाशित कवितासङ्ग्रह ‘किनाराका आवाजहरू’ को चर्चा गरिएको छ । कसरी गोर्खाहरू बङ्गालमा किनारीकृत भएर बस्नुपरेको छ, कसरी वञ्चनाको सिकार भएका छन् भन्ने कुराको चर्चा गरिएको छ । कविद्वयका कविहरूमा अन्तर्निहित भावलाई सैद्धान्तिकीकरण गरी त्यसभित्र भाव अन्तर्भाव केलाएका छन् । यस कवितासङ्ग्रहलाई लिएर किनारा विमर्श भन्ने समीक्षासङ्ग्रह पुस्तक पनि प्रकाशित छ ।

‘विविध आयामहरूमा एल. बी. परियार’ भन्ने जीवनीपरक समीक्षामा कालेबुङका एक प्रतिभा ललितबहादुर परियारको प्रशासनिक र साहित्यको योगदानको चर्चा गरिएको छ । उनी आइ ए एस अधिकारी थिए । उनले भारत सरकारको विभिन्न विभागमा प्रशासनिक सेवा र योगदान पुर्‌याएका थिए । यसबाहेक उनी एक साहित्यिक व्यक्तित्व पनि थिए । उनका एउटा उपन्यास ‘माटोको मोल’ (१९९७), कवितासङ्ग्रह ‘कतिपय पहेंलिएका पाता’ (१९९४) र ‘नेपाली प्रासाङ्गिक शब्दावली’ (२००७) र फुटकर रूपमा केही कथा प्रकाशित छन् । उनले प्रशासनिक क्षेत्रमा उपयोगी नेपाली प्राविधिक शब्दकोश तयार गरी प्रकाशित गरेका छन् । उनको ‘माटोको मोल’मा पनि दार्जिलिङको जातीय अस्मिताको सङ्घर्षको पृष्ठभूमि पाइन्छ । यस उपन्यासले पनि दार्जिलिङको जातीय मुक्तिको जनचाहनालाई आत्मसात गरेको छ । यहाँ खातीले ललित परियारलाई एक कुशल प्रशासनिक अधिकारी, एक साहित्यकार र एक कोशकारका रूपमा अध्ययन गरेका छन् । उनी प्रशासनिक अधिकारीका साथै एक कुशल साहित्यकार पनि थिए । उनका उपन्यास कविता र कोशका बारेमा यहाँ मूल्याङ्कनपरक समीक्षा गरिएको छ ।

‘पहेँलो गुलाबको फूल- स्लाइड सो मा हेर्दा’, लेखमा डुवर्सका कथाकार किताबसिंह राईको कथासङ्ग्रह पहेँलो गुलाफको फूलभित्रको एउटा कथा पहेँलो गुलाबको फूल कथाको संरचना र तिनको अर्थसापेक्ष समीक्षा गरिएको छ । पहेँलो गुलाब कथालाई स्लाइड सोको प्रविधि दृष्टिले विश्लेषण गरिएको छ । नेपाली कथामा यो टक्निक उति प्रयोग भएको पाइन्न । राईको यस कथालाई यसरी नयाँ विचार परिपाटी र सिद्धान्तका आधारमा कसैले व्याख्या विश्लेषण गरेको थिएन । कथाको नयाँ  प्रविधिलाई खातीले यसरी पत्तो लाएर पाठकलाई कथाको नयाँ किसिमको अध्ययन गरी रसास्वादन गराएका छन् ।
सुकराज दियालीको कवितासङ्ग्रह ‘अनुहारमा भूगोल कविता सङ्ग्रहको अध्ययन’, मा दार्जिलिङका जातीयताका साथै समसामयिक विभिन्न विषय र प्रसङ्गको विश्लेषण गरिएको छ । उनका अनुसार दियालीको  अनुहारको भूगोल कवितासङ्ग्रह आधुनिक नेपाली कविता परम्परामा उपलब्धिपूर्ण कृति हो । यसमा देशका विभिन्न सन्दर्भ, जातीय चिनारी, राष्ट्रियता, चियाबारीको मर्म, राजनैतिक सामाजिक स्थितिहरूप्रति व्यङ्ग्य प्रहार, जीवनका कुण्ठाहरू, आशावादी स्वर, यथार्थ चित्रण, स्थानीय रङ्ग चित्रण आदि जस्ता पक्षहरू पाइन्छन् । चियाबारीका विभिन्न समस्या, हाम्रो जातीय चिनारीको सङ्कटले उब्जाएका कुण्ठा आदि कुरा कवितामा रहेका छन् । भारमा हाम्रो आफ्नो घर नहुनको पीडा, चियाबारीका श्रमिकहरूले भोग्नुपरेको पीडा, जातीय प्रेमबाट उब्जेका भावलाई कवितामा इमानदारिताका साथ उतारिएको कुरा व्यक्त गरेका छन् । यसमा रहेका कविताहरू सरल प्रस्तुति र गहन विषयका रहेका छन् । यसले समसामयिक सामाजिक राजनैतिक, वैज्ञानिक प्रविधि यसबाट उब्जेको मानसिकता पुरा र नयाँको द्वन्द्वलाई समेटेको पाइन्छ भन्ने निष्कर्ष पाइन्छ ।

‘उपन्यासकारका रूपमा शिवकुमार राई’ लेखमा शिवकुमार राईको डाकबङ्गला उपन्यासको सामाजिक सांस्कृतिक अध्ययन प्रस्तुत गरिएको छ । खातीले डाकबङ्गला उपन्यासको तत्कालीन दार्जिलिङको परिवेशको अध्ययन गरेका छन् । यसमा उपन्यासको पारम्परिक व्याख्या नगरी समसामयिक ऐतिहासिक अध्ययन गरिएको छ । उपन्यासको कथावस्तु र पात्रविधान आदि जस्ता पारम्परिक उपन्यास विवेचना गरेका छैनन् । उपन्यासको समग्र परिवृत्तको अध्ययन गरिएको छ । यसमा डाकबङ्गलामा समाज चेतना, प्रणय, दलित सन्दर्भ, विश्व युद्ध र गोर्खा जातिको सम्बन्ध, दक्षिण एसियाली सीमा सन्दर्भ, मानव बसाइँको प्रसङ्ग र पराज्ञान वा पराभौतिक प्रसङ्ग जस्ता विषयमा अध्ययन गरिएको छ । यसमा पनि बसाइँ सराइँको सिद्धान्तका आधारमा डाकबङ्गलमा पनि बसाइँ सराइका विभिन्न कोणबाट हेरिएको छ ।

‘मातेको मान्छेको भाषा मध्यरातपछिको सडकसित कविताभित्र आख्यायिका : एक परिचर्चा’, यस लेखमा आख्यानशास्त्र (Narratology) का आधारमा कवि वैरागी काइँलाको कालजयी कविता मातेको मान्छेको भाषाको व्याख्या गरिएको छ । यस कालजयी कवितालाई आख्यायिकाभित्रका कथारेखा, सहभागी पात्रहरू, सम्बोधन, संवादयोजना, परिवेशविधान आदिका आधारमा समीक्षा गरिएको छ । कविताभित्र आख्यायिक संरचना देखाइएको छ । यस कविताका स्वर सन्धान गरेका छन् । उनका अनुसार यो कविताभित्र समसामयिक मानिसहरूको औडाहा, उकुसमुकुस, छटपटी हो । समाज राजनीति चिन्ने बुझ्ने सबै सचेत मानिसहरूको अवस्थाको वर्णन हो । समाजको बिग्रँदो अवस्था देख्दा बुझ्दा चारैतिर भत्कोस् देखिन्छ । यस्तै अवस्थामा देखेर विद्रोहको चेतना जागेको हो ।

‘निर्वस्त्र घाम र लोलाएको साँझ कवितासङ्ग्रह केही अर्थ अनि व्याख्या’- लेखमा दामोदर पुडासैनी किशोरको कवितासङ्ग्रह ‘निर्वस्त्र घाम र लोलाएको साँझ’ मा विभिन्न दृष्टिकोणले समीक्षा गरेका छन् । यस कवितासङ्ग्रहलाई नयाँ नयाँ दृष्टिकोण, विश्वव्यापी उठेका सिद्धान्त, चिन्तनका फाँटका आधारमा व्याख्या गरिएको छ । पुडासैनीको समयुगीन कवितात्मक सोचलाई खातीले पक्रन सकेका छन् । उनको विचार र भावलाई न्याय दिन सकेका छन् । समीक्षकले कवितामा अन्तर्निहित वस्त्रका विभिन्न भाव अन्तर्भावलाई अर्थ्याएका छन् । अहिलेको समयलाई समात्न सक्ने कवि हुन पुडासैनी र र तिनका कवितालाई समात्न सकेका छन् ।

‘भारतीय इतिहासमा सय वर्ष लामो गोर्खा जन पुस्तकालय, खरसाङ : यसको सामाजिक-सांस्कृतिक महत्त्व’ भन्ने लेखमा खरसाङको गोर्खा जन पुस्तकालयको सामाजिक साहित्यिक, सांस्कृतिक योगदानको सर्वेक्षण र मूल्याङ्कन गरिएको छ । सन् १९१३ मा स्थापना भएको यस जन पुस्तकालयले दार्जिलिङ पहाडमा जातित्व र भाषिक विकासमा पनि योगदान दिएको इतिहास छ । यस संस्थानको सामाजिक साहित्यिक सांस्कृतिक गतिविधि    र उत्थानका लागि योगदानको मूल्याङ्कन गरेका छन् । गोर्खा जन पुस्तकालयले भाषा साहित्य संस्कृति र जातित्व बोकेको छ भन्ने कुरालाई पाठकसामु प्रस्तुत गरेका छन् ।

योगेश खातीको यस समीक्षा सङ्ग्रह पाठकका निम्ति बौद्धिक पाठ रहेका छन् । उनलाई समालोचनालाई हामी एक गहन अध्येताका रूपमा पाउँछौँ । सैद्धान्तिक छलफल र विवेचनामा उनको कलम तिखर पाउँछौँ । उनको यो  पुस्तक नेपाली साहित्य अध्ययन विद्यार्थी र सामान्य पाठकका निम्ति उपयोगी सिद्ध मान्न सकिन्छ । नेपाली समालोचनाका क्षेत्रमा योगेश खातीको नाम सदा आदरणीय, अनुकरणीय, स्मरणीय रहेका छन् । उनी नयाँ पुस्ताका समीक्षकहरूलाई नेतृत्व दिने समीक्षक हुन् ।

यस पुस्तकमा ‘विविध आयामहरूमा एल. बी. परियार’ भन्ने लेख भने अन्य लेखका तुलनामा अलिक भिन्नै खालको हुनाले यस पुस्तकमा नगाभेको भए हुन्थ्यो भन्ने लाग्छ । अन्य लेखमा सैद्धान्तिक अवधारणा, कृतिपरक विश्लेषण रहेका छन् भने यस लेखमा भने व्यक्ति जीवनीपरक मूल्याङ्कन गरिएको छ । एल बी परियार एक कुशल प्रशासक थिए, हाम्रा जातीय गौरव थिए तर उल्लेखनीय साहित्यकार भने होइनन् । उनको एउटा उपन्यास माटोको मोल र कवितासङ्ग्रह प्रकाशित छ भने एउटा कार्यलयीय शब्दकोश पनि प्रकाशित छ । उनका केही निबन्ध पनि प्रकाशित छन् ।

०००

योगेश खातीको समालोचनाको प्रवृत्ति र मूल्याङ्कन र उपसंहार-       

यस पुस्तकका आधारमा योगेश खातीलाई एक पक्का समालोचक मान्न सकिन्छ । उनी एक गम्भीर अध्येता हुन् । उनको विषयवस्तुमा गहनता, विषयवस्तुगत केन्द्रीयता, विश्लेषणात्मकता जस्ता प्रवृत्ति पाइन्छन् । उनको समीक्षा निगमनात्मक किसिमको पाइन्छ । उनले एउटा विषयको चर्चा उठान गरेर त्यसको निष्कर्ष दिएका हुन्छन् । उनी आफैँ एक समाज, राजनैतिक, साहित्यिक सिद्धान्त सचेत छन् । उनी विश्व साहित्यको पनि धेरथोर ज्ञान राख्छन् । यसो हुँदा उनको यस पुस्तकमा पनि विश्वमा चलेका केही नयाँ साहित्यिक र राजनैतिक र समाजशास्त्रीयलाई नेपाली कृतिससापेक्ष व्याख्या गरेका छन् ।

यस पुस्तकमा जीवनीपरकता, सैद्धान्तिक, विश्लेषणात्मकता, अनुसन्धानात्मकता, बह वैषयिक र अन्तर्वैषयिक व्याख्या गरेका छन् । उनको अर्को विशेषता भनेको मौलिकता पनि हो । यो समालोचना पुस्तक पारम्परिक रूपमा रेलको ट्याक जस्तो नभएर जङ्गलभित्र पसेको जस्तो छ । जङ्गलभित्र नयाँ कुरा देखिएझैँ कृतिभित्र नयाँ कुराको खोजी गरिएको छ । अरूले नसोचेका अध्ययन नगरेका कुरालाई खोजी गरेर तिनको परिप्रेक्ष्यमा कृतिको समीक्षा गरेका छन् । बेग्लै सोच, सुझबुझ र ढङ्गले कृति र कृतिको समीक्षा गर्दा पाठकका निम्ति अध्ययन आवर्तन नयाँ लाग्छ । कृतिभित्र अरूले नदेखेका कुराको उत्खनन गरेका छन् ।

नेपाली समालोचना फाँटमा योगेश खातीको नाम पनि अङ्कित छ । उनको समालोचनाको पुस्तक थोरै भए पनि स्तरीय छन् । तुलसीबहादुर छेत्री नामक जीवनीमूलक समीक्षा पुस्तक र अध्ययन आवर्तन गरी दुईवटा पुस्तकबाट नै आफ्नो स्वाध्यायनको परिचय दिएका छन् । यसमा नेपाली समालोचनाका नयाँ फाँट देखाएका छन् । कृतिको अन्तर्वैषयिकता, सैद्धान्तिकीकरण, नयाँ किसिमले विषयवस्तुको उठान, सम्यक् समीक्षण यस पुस्तकका विशेषता हुन् । बसाइ सराई, स्त्रीविमर्श, सीमा अध्ययन, दलित विमर्श, वञ्चना र किनारीकरण, राष्ट्रियता आदि जस्ता विषयको सिद्धान्तका आधारमा समीक्षा गरेका छन् ।

यसमा रहेका केही लेखमा नै राजनैतिक सुझबुझ देखिन्छ, त्यही राजनैतिक सुझबुझलाई समीक्षामा काम लाएका छन् । उनी नेपाली समालोचना फाँटका नव चेतना, मूल्य मान्यताका एक आशालाग्दा व्यक्तित्व बन्न सकेका छन् भन्न सकिन्छ ।

सन्दर्भ ग्रन्थ :-

१.  मोहनराज शर्मा, समालोचनाको नयाँ कोण, काठमाडौँ, ओरिएन्टल पब्लिकेसन्स हाउ, वि.सं २०७८ ।

२.  डा दुवसी छेत्री (सम्पा.) राजेन्द्र सुवेदी- राजेन्द्र सुवेदीका समकालीन समालोचना, बसुन्धरा –मान प्रतिष्ठान, काठमाडौँ, २०७९ ।

३.  राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम, रत्न नेपाली वृहत समालोचना, काठमाडौँ. रत्न पुस्तक भण्डार, २०७२

४.  नवीन पौड्याल, भारतीय नेपाली समालोचक सन्दर्भिका, कालिम्पोङ, नेपाली साहितय अध्ययन समिति, २०२२ ।