कुरा ढुङ्गाबाट सुरु गरौँ, त्यो पनि पशुपतिनाथको मन्दिरभित्र रहेको ढुङ्गाको कुरा ।
राणा शासक चन्द्रशमशेरको समयमा उनको दरबारमा एक पटक विद्वानहरूबिच शास्त्रार्थ हुँदा त्यहाँ पशुपतिको यहीँ ढुङ्गाको विषयको विषयले पनि प्रवेश पाएको थियो । नेपालका त्यतिखेरका दरबारिया बडागुरुज्यू प्रयागराज पाण्डेको समूह एकातिर थियो भने उनीहरूसँग आर्यसमाजी माधवराज जोशी एक्लै भिडिरहेका थिए ।
माधवराजले मूर्तिपूजाको विरोधमा बोले । शास्त्रार्थमा तर्कले खण्डन गर्न कस्सिएका प्रयागराज माधवराजमाथि भौतिक आक्रमणमा पो ओर्लिए ।
उनले चन्द्रशमशेरसँग आज्ञा मागे, “महाराज, नेपालमा राजादेखिन् मानिआएको पशुपतिनाथलाई ढुङ्गा भन्नेलाई कुट्न पाऔँ ।” त्यसपछि माधवराजमाथि प्रयागराजलयायतका पण्डितहरूले पिट्न थाले । लौराले पिट्दा उनको टाउको फुट्यो । सेतो बरखी बारेको लुगामा रहेका माधवराज रक्ताम्य भए । उनी मर्ने सम्भावना भएकोले बल्ल चन्द्रशमशेरले पिटाइ रोक्ने हुकुम दिए (डा. राजेश गौतम, “नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा-परिषदको भूमिका” भाग १-२०६२ः३०) ।
आफ्ना छोरा शुक्रराज शास्त्रीले वि.सं. १९९७ मा राणाहरूबाट मृत्युदण्ड पाउँदा माधवराजले गौरव गरेका थिए । उनले आफ्ना छोरा शुक्रराजलाई झुण्ड्याइएको टेकु पचलीको खरीको बोटमा तीन पटक परिक्रमा गर्दै भनेका थिए, “स्याबास बेटा तुमने कमाल कर दिया । तुम धन्य हो । तुमले मां बापका नही नहीं देशका ही गौरव बढाया । बेटा होना तो ऐशा ही होना ” (गौतम, २०६२ः१७३) ।
मान्छेलाई कुल्चिएर ढुङ्गा ढोग्नेहरूको देशमा कसैले छोएको पानी चल्छ, कसैले छोएको पानी चल्दैन । आज पनि चन्द्रशमशेरको समयका प्रयागराजजस्ता पुरेतहरू लौरो उझाइरहेछन्, मानिसलाई पिटिरहेछन् ।
भनिसाध्यै छैन, लेखिसाध्यै छैन, यस्ता कथा व्यथाहरू । एक छाक गर्जो टार्न नसकेर भोकभोकै रात काट्ने जनहरु छन् । पढ्न नपाएर अँध्यारो भविष्यतिर लम्किरहेका बालबच्चाहरू छन् । तर सिंहदरबारमा गरिबको नाममा राजनीति चलिरहेकै छ । हुँदाहुँदा पशुपतिनाथमा रहेको त्यहीँ ढुङ्गालाई क्विन्टल सुनको जलहरि चढाउने कमाउनिस्ट जनैवादीहरू पनि हाम्रै देखा परे । मानवमर्यादा हराएको देशमा मनुस्मृतिका श्लोकहरू घोक्दै शासनसत्ताको सूत्र निर्माण गरिरहेका पुरेतहरूबाट शासित यो देशमा दलन र उत्पीडनको कथा भयावह छ । आफ्ना बाहुन बाले दमिनी आमा बिहे गरेर आफ्नो जन्म भएपछि भोग्नु परेको पीडा गाउँदै हिँड्नु परेको छ,
एसकुमारहरुले, “नआऊ मेरो सामुन्ने तिमी, मैले छोएको पानी चल्दैन…।”
पुरेतहरूले भगवान् मानेर पुज्दै आएको ढुङ्गालाई ढोग्न पनि पाइरहेका छैनन्, यहाँका लाखौँ लाख शिल्पी समुदायले । उनै शिल्पीहरू ढुङ्गालाई देवाकृतिमा ढालेर सुन्दर मूर्तिको सिर्जना गर्छन् । तर त्यहीँ मूर्तिलाई पूजा गर्न पाउँदैनन् उनीहरू ।
युगौँदेखि दलन र उत्पीडनको जाँतोले पिसिँदै आएका उनीहरूले आफ्नो पहिचानलाई दलित र उत्पीडितका रूपमा प्रस्तुत गरेर मुक्तिको कोरस गाएको पनि धेरै भयो, तर पुरेतशास्त्रबाट निर्देशित यो देशका मन्दिरहरूमा पनि उनीहरूको प्रवेशलाई निषेध गरिएको छ ।
यसबारे इतिहास खोतल्न राजा राजेन्द्रविक्रम शाहको समयमा जारी गरिएको एउटा लालमोहरलाई अगाडी सारौँ ।
राजा राजेन्द्रविक्रम शाहको समयमा वि.सं. १८८५ चैत वदी ६ रोज ५ मा जारी गरिएको लालमोहरमा पशुपतिनाथको मन्दिरमा कुन जाति पस्न हुन्छ, कुन जाति पस्न हुँदैन भन्ने किटान गरिएको छ ।
डा. गोविन्द टण्डनले आफ्नो कृति “पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन” (दुई भाग) अभिलेख खण्ड (२०५६ः४६३) मा प्रकाशित गरेको लालमोहरमा “हीण्डुः जातका पानी चलने जातले र पाहाड्का तामां भोटेलेः चढी दर्शन गर्न हुन्छ । हीण्डु पानी नचलने जातमा कामकाजले जाहासम्म गै काम गर्नुपर्छ ताहांसम्म कसाहि कुसले जातसम्मले र थाक्स्या भोटेले बाहिरका ढोकाभीत्र देवल्वाहेक चोकसंम जान हुन्छ सीढीमा चढ्न हुदैन अरू पोडे च्यामखलक कामी सार्की दमाई भाड वादि र हिन्डु वाहेका पानी नचलने जातले चोकका वाहिरी ढोकाबाट भीत्र जान हुदैन…” भन्ने उल्लेख छ ।
इतिहासको यस प्रसङ्गमा दलितहरूले पशुपतिनाथ प्रवेशका लागि पटक पटक आन्दोलनमा उत्रनु परेको घटना स्मरणीय रहेको छ ।
०००
छुवाछुतजन्य जातिभेद प्रथालाई संहिताबद्ध बनाएर कानुनी मान्यता दिने देश हो, नेपाल । यसबारे थाहा पाउनै पर्छ, यसको इतिहास खोतल्नै पर्छ ।
जयस्थिति मल्लले १४ शताब्दीमा चार वर्ण र ३६ जातको व्यवस्था गरी उनीहरूको काम कर्तव्य तथा दण्ड सजायको थिति बाँधिदिए ।
उनले बनाएको कैयौँ थितिमध्ये ब्राह्मण महिला गैरब्राह्मणसँग गए के सजाय गर्ने भन्ने सन्दर्भलाई एउटा उदाहरणको रूपमा प्रस्तुत गर्दा पनि जातिभेदको ठूलो खाडल तयार पारिएको स्पष्ट हुन्छ । त्यहाँ “…पोइ हुन्या ब्राह्मणीसँग छेत्री गयो भन्या खोलापार लैजाई चाण्डालका हातले एकैचोटमा मन्र्यागरी हानी मार्नू…पोइ हुन्या ब्राह्मणीसँग वैश्य गयो भन्या लिंग काटी दिनु सुन सिंही रुपैया १२० दंड … पोइ हुन्या ब्राहृमणीसँग शुद्र गयो भन्या लिंग काटी खुवाई चाण्डलको हातले कटाउनू…” भन्ने उल्लेख छ (देवीप्रसाद लंसाल (सम्पा.), “भाषा वंशावली” भाग २-२०२३ः४५) ।
हुँदा हुँदा जङ्गबहादुर राणा खास शासक भएको बेला राजा सुरेन्द्रविक्रम शाहको समयमा लिखित रूपमै वर्ण व्यवस्थालाई कानुनी मान्यता प्रदान गरियो ।
मुलुकी ऐन १९१० मा “उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबै जातभन्दा सानु च्याम्हा षलकको जात, अरुको जुठो षान्या च्हाम्हा षलकको हातको नषान्या हुनाले च्याम्हा षलक भंदा ठूलो पोढ्याको जात…पोढ्याभन्दा ठूलो वादिको जात, वादि भंदा ठूलो गाइन्याको जात, गाइन्या भंदा ठूलो दमाईको जात, दमाइ भंदा ठूलो कडाराको जात, कडाराभन्दा कामि सार्कीको ठूलो जात, कामि दमाइ सार्की भंदा ठूलो कडाराको जात” भनी स्पष्ट रूपमा वणर्ब्यवस्थामा आधारित जातिभेदलाई कानूनी रूपमा संस्थागत गरियो (प्रा. डा. जगदिशचन्द्र रेग्मी, “नेपालको वैधानिक परम्परा”-२०७७ः११२-१३ ) ।
मुलुकी ऐन आउनुअघि वि.सं. १९०१ मा पनि “श्री ५ महाराजाधिराजबाट तजवीज हुँदा ठहर्याका आजकल पानी नचलन्या जातको तपसीले” भन्दै नेपालका २४ जातलाई यस्तो सूचीमा राख्दा तीमध्ये सबैभन्दा सानो च्यामाखलक् र सबैभन्दा ठूलो कसाहीको जात भनी उल्लेख गरिएको छ (महेशराज पन्त, “पूर्णिमा” पूर्णाङ्क ७९-फागुन २०४७ः४३-४४) ।
वि.सं. १९१० मा ल्याइएको मुलुकी ऐनमा जातीय विभेद र छुवाछुतले प्रोत्साहन पाएकोमा वि.सं. २०२० भदौ १ गते संशोधन गरी कानुनी रूपमा जातीय भेदभाव र छुवाछुतको अन्त्य भएको घोषणा गरिएको थियो । त्यसबेला सार्वजनिक स्थलमा छुवाछुत र भेदभाव गर्न पाइने छैन भन्ने उल्लेख थियो । त्यसैले कतिपय दलित उत्पीडित समुदायले भदौ १ गतेलाई मुक्ति दिवसमा रूपमा पनि सम्झने गरेका छन् ।
तर त्यति बेला पनि अदलको १० नम्बरमा सनातनदेखि चलिआएको परम्परा र रीतिस्थितिलाई भेदभाव मानिने छैन भनेर लेखिएको थियो । त्यसैले पञ्चायत कालभरि छुवाछुत गरेको अपराधमा एकै जना व्यक्ति पक्राउ परेनन् ।
यसरी मुक्तिको नाममा शासकले गजबको छारो हालिदिएको थियो ।
०००
पुरेतहरूले घोकाएको मनुस्मृतिअनुसार ब्रह्माले सृष्टि बढाउन (वा चलाउन) मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय र तिघ्राबाट वैश्यको अनि गोडाबाट शूद्रको जन्म गराएको रे !
मुख, हात, तिघ्रा र गोडाबाट पनि मानिसको जन्म हुन्छ ?
शूद्रहरूलाई सजाय गर्ने संहिता पनि मनुस्मृतिले निर्माण गरिदिएको छ । यसमा द्विज (ब्राह्मण, क्षत्रीय र वैश्य)लाई गाली गलौच गर्ने शूद्रको जिब्रो काट्नू । घमण्ड गरी द्विजको नाम, गोत्र आदि अपमानजनक तरिकाले बोल्ने शूद्रको अनुहारमा दाग बस्ने गरी दश अमल लामो तातो फलामको किलाले डामी दिनू, जसले गर्दा त्यो दाग अरूका लागि शिक्षाप्रद हुने गरोस् भन्दै ब्राह्मणलाई धर्मसम्बन्धी उपदेश दिने शूद्रको मुख र कानमा राजाले तात्तातो तेल हालिदिनू भन्नेसम्मको उल्लेख मनुस्मृतिमा गरिएको छ ।
शिल्पी समुदायलाई मनुस्मृतिले हेप्न पनि कतिसम्म हेपेको छ भने उनीहरूलाई विद्या र बुद्धिबाट वञ्चित गर्नुपर्ने संहिता नै निर्माण गरिदिएको छ । यसमा शूद्रलाई कुनै प्रकारको सल्लाह, धर्मोपदेश, व्रत अनुष्ठान विधिका बारेमा उपदेश नदिनू, शुद्र नजिकै अस्पष्टसँग पनि वेद पाठ नगर्नू भन्ने उल्लेख छ ।
यस्ता काम नलाग्ने र कुनै पनि विज्ञानले पुष्टि गर्न नसक्ने मनुस्मृतिलाई जातिभेद विरोधी भारतीय नेता भीमराव आम्बेडकरले सन् १९२७ डिसेम्बर २५ (वि.सं. १९८४ पुस १० गते) जलाइदिएका थिए । मनुस्मृतिलाई वर्ण ब्यवस्थाविरोधीहरुले तारो बनाउँदै आएकोमा आम्बेडकर मनुस्मृतिको विरोधमा अग्रगण्य भएर निस्केका थिए । तर महात्मा गान्धीले आफू वर्ण व्यवस्थाको विरोधी हुँदाहुँदै मनुस्मृतिमा लेखिएका सत्य र अहिंसासँग मिल्ने कुरा कायमै राख्नपर्छ र अरू चाहिँ अस्वीकार गर्नुपर्छ भन्ने दलील गरी आम्वेडकरले पुस्तक जलाएकोमा त्यसको घोर विरोध गरेका थिए (महेशराज पन्त, “हिमालखबर”- २०७९ जेठ २७) ।
यस्ता स्मृति, वेद र पुराणहरू घोकाउने पुरेतहरूलाई सोध्न मन लाग्छ, यदि सक्छौ भने वेद पढेर फलाम पगाली देखाऊ !
०००
आफ्नो श्रम र सीपले नेपाली माटोलाई छपक्क भिजाएर उन्नत बनाउन दमाईहरूले पसिना बगाएको युगौँ भयो । बिसे नगर्चीको चर्चा गरेर नथाक्नेहरूले उनै बिसेका सन्तानलाई परिणाममुखी न्याय दिने काममा भने सिन्को भाँचेको देखिँदैन । उनीहरूकै शिल्पी हातले सिलाएको लुगाले आफ्नो इज्जत मात्रै ढाकिँदैन, उनीहरूले सिलाएको टोपी लगाएर शान बढाउनेहरू उनै टोपी सिलाउनेहरूलाई आफ्नो पाउले दबाएर राख्छन् । उनीहरूको पाउले थिचिएर आज मानव मर्यादा निसास्सिएर बाँचेको छ, नेपालमा । विश्व मानचित्रमा सगरमाथाको देश भने गौरव गरेर के गर्नु ? जातिभेद र छुवाछुतका कारण नेपालका इज्जत रसातलमा पुगेको छ ।
यसरी मानव मर्यादा हराएको देशमा एक जना नौजवान कवि हरिशरण परियार दिउँसै लालटिन बालेर न्याय खोज्न निस्केका छन्, कविताको भाकाहरूमार्फत् । उनले हालै आफ्नो जोडदार कविताहरूको सँगालो “कैँची” पाठकहरूमाझ समर्पण गरेका छन् । यो कैँचीले बोकेको दलित तथा उत्पीडितहरूको सौन्दर्यबाेधले युगौँदेखि ढाकिएको जातिभेदको मैलो पर्दा कुटुकुटु गर्दै काट्दै जाने आशाका किरणहरू पाठकहरूको दृष्टिमा देखा पर्न थालेको छ ।
समवेत स्वरले बोल्ने समय हो यो । विद्रोहको कोरस गाउने समय हो यो । यो समय विचारको झण्डा उठाउने समय हो । पुरेतहरूले निर्माण गरेको प्रणाली, शास्त्र र भाष्यहरूको जरो काट्न हातेमालो गर्ने समय हो । यस्तो बेला हरिशरण परियारहरूले मौनता नतोडे, को बोलिदिन्छ उनीहरूका लागि ? हरिशरण परियारहरूमा जागरण नआए को जागिदिन्छ उनीहरूका लागि ? गौतम बुद्ध भन्छन्, “अप्पो दीपो भवः”, अर्थात् आफ्नो दीपक आफै बन ।
अन्यायको पर्दा च्यात्न हरिशरण परियारले कविता सङ्ग्रह “कैँची” मार्फत एक मुखर कविका रूपमा आफ्नो उपस्थितिलाई दमदार बनाएका छन् ।
काव्यिक क्षेत्रमा दलित उत्पीडितहरूको पक्षमा र पुरेतशास्त्रहरुको विपक्षमा हरिशरणको हस्तक्षेपकारी काव्यिक उपस्थितिलाई अन्तर्हृदय स्वागत गर्नुको विकल्प छैन, मान्छेलाई कुल्चिएर ढुङ्गा ढोग्ने देशमा । आफ्नो दीपक आफै बनेर हरिशरण यतिखेर कविताको नगरा बजाइरहेछन्, सुतेकाहरूलाई जगाइरहेछन् । युगौँदेखि ढाकिएको विभेदको अँध्यारो चिर्न चेतनाको दियो बालिरहेछन् ।
०००
हरिशरणजीमाथि केही लेख्ने धृष्टता गरिरहँदा म आफू भने आफ्नो बाल्यकालको दुई वटा घटना आँखा झलझली सम्झिरहेछु । एउटा ठूलो र बेढङ्गको जातीय अहङ्कार थियो ममा ।
तीमध्ये एउटा घटनामा आफ्नो अहङ्कारले नराम्ररी सजाय पाएको घटना छ । अर्को चाहिँ आफ्नै जातीय अहङ्कारले उन्मत्त भई घटाएको घटना । पहिलो घटनाबाट त म आफैले सजाय पाएँ, त्यसबाट ठूलो पाठ सिकेँ । तर दोस्रो घटनाको झझल्कोले भने आजसम्म मलाई पश्चात्तापको अग्निमा होमिरहन्छ ।
त्यो दिन गाई चराउन आएका दिलबहादुर रोक्कालाई मैले जातीय हेयको दृष्टिले अनाहकमा मनपरी गाली गरेँ । निहुँ केही थिएन, उनी सार्की हुनुले उनी सम्मुख मभित्रको जातीय अहङ्कार हान्ने गोरुजस्तै उन्मत्त भएर आएको थियो । उनले त्यतिखेरै मलाई लौरोले गजबैले बजाए । मेरो टाउको फुट्यो, म रगतपच्छे भएँ । म कोही कसैको सहयोगमा घर पुर्याइएँ । बुबाबाट प्राथमिक उपचार हुँदै गर्दा हस्याङफस्याङ दिलबहादुरको बुबा कान्छा सार्की हाम्रो घर आइपुगे र छोराको तर्फबाट भएको गल्तीमा हात जोडेर माफी मागे । उनी भयभीत थिए । बुबाले माफीको कुरा गरेनन् र उल्टै कान्छा सार्कीलाई सम्झाउँदै भने, “छाड्दे हौ, कान्छा ! यी केटाकेटी छिनमै झगडा गर्छन्, छिनमै मिल्छन् ।”
अहिले पनि टाउकोतिर हात लैजाँदा त्यो बेलाको गहिरो खतमा हात पुग्छ र अनि आफैलाई सम्बोधन गर्दै भन्छु, “तलाईं खुच्चिङ, सार्की भनेर त्यो बेला दिलबहादुरलाई हेपेको होइन ?”
यस्तै अर्को घटना ।
हामीहरू हाम्रो टोलदेखि कागते हुँदै वारीपात्लेको भाषा निमाविमा पढ्न जान्थ्यौँ, माथि निगालेका शर्मिला परियारलगायतका केही छात्रा हाम्रो टोलनेरको गणेश प्राविमा पढ्न आउँथे । उनीहरूसँग बाटो क्रस हुँदा हाम्रो भनाभन चलिहाल्थ्यो । जातीय अहङ्कार बोकेका हामी शर्मिलाहरूलाई मनपरी भन्थ्यौँ, अनाहकमा निहुँ खोज्थ्यौँ ।
यस्तै एक दिन स्कुलबाट घर फर्कंदै गर्दा हामीले उनीहरूमाथि ढुङ्गा प्रहार गर्दै आक्रमण गर्यौँ । शर्मिला मेरो प्रहारले नराम्ररी घाइते भइन् ।
जातीय अभिमानले उन्मत्त मलाई त्यसबेला शर्मिला परियारलाई घाइते बनाएकोमा “गौरव” अनुभव भएको थियो ।
त्यसैबेला टोलका दाइ र दिदीहरूले त्यस बेलाको व्यवस्थाविराेधी अभियानमा सांस्कृतिक मोर्चाबाट यस्तो गीत घन्काउन थाले,
मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिनँ
जाती र पाती छुट्याउने रीतलाई म मान्दै मान्दिनँ ।
यो गीत सुनेपछि चाहिँ शर्मिला परियारहरूमाथिको प्रहारबाट ममा पश्चात्तापको अग्नि दनदनी दन्कन थाल्यो । फेरि पनि मभित्रको जातीय अहङ्कारले मलाई उनीसमक्ष माफी माग्नका लागि अग्रसर हुनै दिएन ।
शर्मिला आज कहाँ छिन्, के गर्दै छिन्, केही थाहा छैन । यदि यो लेख पढ्ने कसैले उनलाई चिने जानेको भए मेरो खबर उनलाई सुनाइदिनुहोला, म त्यो बाल्यकालमा भएको घटनाप्रति गोडा ढोगेरै उनीसित माफी माग्न चाहन्छु ।
आज यिनै प्रायश्चितहरूबाट मलाई दलित मुक्तिको कोरसमा अलिकति स्वर मिलाउने प्रेरणा मिलेको छ । सबै खाले विभेदविरुद्धको मोर्चामा लामबद्ध हुने केही लय समातेको छु मैले ।
मेरा बाल्यकालका यी दुई घटनाको प्रसङ्ग उल्लेख गरिरहँदा डा. सञ्जिव उप्रेतीको एउटा धारणा उल्लेख गर्न सान्दर्भिक हुनेछ । “हिमालखबर”को “किताबका कुरा” (मे २७, २०२३)मा उप्रेतीले विश्वविद्यालयमा आफ्नो प्राध्यापन यात्राको अनुभव पोख्दै आफूले उत्पादन गरेको विद्यार्थीहरूले समाज रूपान्तरणमा खास भूमिका खेल्न नसकेकोमा गुनासो व्यक्त गरेका छन् । उनले भनेका छन्, “हामीले विश्वविद्यालयमा स्नातकोत्तर गर्ने धेरै विद्यार्थीलाई शोधपत्र लेखायौँ । उनीहरूमध्ये कतिपयले अमेरिकामा अश्वेतहरूमाथि भएको दमन र अन्यायका कुरा लेखे । तर उनीहरू नै नवराज विकहरू मारिदा एक शब्द पनि बोलेको देख्न पाइएन । आज हामीले समाज रूपान्तरणका लागि आफै पनि रूपान्तरित हुनुपर्छ ।”
म आफूमा सकेसम्म रूपान्तरणको खोजी गर्छु । केही तीन दशकयता दलित अधिकारकर्मीहरूको आवाजमा आफ्नो लेखनमार्फत अलिकति ऊर्जा भर्ने प्रयास गर्छु । सबै खाले विभेदविरुद्ध आफ्नो कलमलाई मुखरित बनाउने कोसिस गरिरहेछु । यहीँ कारण नेपालमा भएका जातिभेदसम्बन्धी इतिहासको खोजीलाई त मैले आफ्नो लेखनको अभीष्ट नै बनाएको छु ।
यहीँ मेसोमा मैले मेरो एक आत्मीय मित्रको रूपमा कवि हरिशरण परियारलाई पाएँ । उनै कविबाट उपहारस्वरूप प्राप्त कविता सङ्ग्रह “कैँची” यतिखेर मेरो हातमा छ र मेरा आँखा दौडिरहेछन्, उनका कविताका हरफहरूमाथि ।
०००
लमजुङ राईनास गाउँको सानो बस्तीमा जन्मँदै पुरेतशास्त्रीहरूले निर्माण गरेको भाष्यअनुसार “अछुत” भएर जन्मे हरिशरण । श्रमिक र शिल्पीहरूलाई ठगी र शोषणले थिलथिलो पार्न चलाइएको “बालीघरे प्रथा”बाट जीवन निर्वाह गर्नुपर्ने परिवारमा जन्मेपछि सामाजिक र सांस्कृतिक कुरीतिहरूबाट जसरी हरिशरण दलनको निशानामा परे, उसै गरी आर्थिक उत्पीडनले पनि उनलाई शिकार बनाउने नै भयो । दलन र उत्पीडनको निर्मम कोर्रा खाएर पनि उनले आफ्नो चैतन्यलाई मर्न दिएनन् । दलन र उत्पीडनविरुद्धको त्यहीँ चैतन्यलाई कविताको माध्यमबाट व्यक्त गर्ने क्रममा सिर्जना भयो, कविताहरूको सँगालो “कैँची” ।
यो काव्यिक कृतिको मूल विशेषता नै दलित सौन्दर्य चेतना बन्न पुगेको छ । अचानोको व्यथा खुकुरीलाई होइन, अचानोलाई नै थाहा हुन्छ । विभेदको पीडा हरिशरणहरूलाई नदुखे अरू कसलाई दुख्छ ? हरिशरण स्वयम् लेखकीय मन्तव्यमा भन्छन्, “हामी हरेक पल कथा बाँचिरहन्छौँ । मैले पनि कथा बाँचेको छु । मेरा कथामा प्रेमभन्दा बढी घृणा, मिठासभन्दा बढी तिक्तता छन्, जुन म हुनुमा बाँचिहिँड्छन् । तिनै कथाले, जिन्दगीका साँचो कथाले, मभित्र कहिल्यै ननिभ्ने आगो दन्काएको छ । म त्यहीँ आगो बोकेर हिँड्दै छु । मेरा सारा कविता त्यहीँ आगोका आविष्कार हुन् ।”
०००
जत्रो सुकै ढुङ्गाले थिचे पनि दुबोले आकास ताक्न नछाडेजस्तै विभेदले जतिसुकै थिचे पनि स्वप्नजिवीहरूले सप्तरङ्गी इन्द्रधनुषी सपना देख्न छाड्दैन ।
त्यहीँ सपनाको आकास चियाउन पुग्दा हरिशरणले डाक्टर, इन्जिनियर वा वैज्ञानिक बन्ने सपना नदेखेका होइनन् । लमजुङ जिल्लाभरबाटै छानिएर गण्डकी बोर्डिङ स्कुलमा छात्रवृत्ति पाउनुले पनि उनको सपनामा मलजल गरेकै हो । बीएस्सीको पढाइ सकेपछि माथि उल्लेखित डाक्टर, इन्जिनियर वा वैज्ञानिक बन्ने उनको सपना समयको सन्दुकमा थन्को लाग्यो । बरु उनी समाज चिन्तनमा लागे र दीक्षित भए समाजशास्त्रको स्नातकोत्तर तहमा । उनको त्यहीँ समाज चिन्तन आज कविताको माध्यमबाट अभिव्यक्त भइरहेको छ । उनको कवितामा वास्तवमै ती अग्नि-लप्काहरू देखिन्छ, जो विभेदको काँडाघारीलाई भस्म बनाउन चाहन्छ । जसरी आगो लागेको ठाउँको माटो पछि गएर जसरी मलिलो र उब्जाउ हुन्छ, उसै गरी उनी त्यस्तो माटोमा समताका सुन्दर फूलहरू ढकमक्क फुलाउन चाहन्छन् । लेखनमा विद्रोह मात्र भएर हुँदैन लेखकले विकल्प पनि दिन सक्नुपर्छ । हरिशरणको काव्यिक सिर्जनामा विद्रोह र विकल्प दुवै पाउन सकिन्छ ।
हरिशरण परियारभित्रको कविआत्मा पुरेतवादले थोपरिदिएको छुवाछुतको सुइरोले दिएको पीडाले दुख्नुसम्म दुखेको छ । यसको कारकका रूपमा उनी मनुस्मृतिलाई नै देख्छन् । उनी लेख्छन्,
तिमी चाहन्छौ
जदौमा झुकुन् शिरहरू
नबोलुन् निमुखाहरू
डसिरहन सकोस्
तिम्रो मनुस्मृतिले मस्तिष्क…
(“स्वभाविक” पृ. ८९) ।
दलन र उत्पीडनलाई निमुखा मनले सहन गरेको युगौँ युग भयो । निमुखाहरू अब शून्य सहनशीलतातर्फ उन्मुख हुनुको विकल्प छैन । शून्य सहनशीलताको अर्थ हो, विद्रोह । कवि हरिशरण आफ्नो काव्य कर्ममा विद्रोहको गतिलाई शालीन ढङ्गले गतिमान बनाउन चाहन्छन् । उनी लेख्छन्,
ओलिएर कुरुक्षेत्रमा
उभिन्छु-कृष्णसँगै
देखिरहेछु
एक हूल कथित विद्वानहरू
ओढेर पीताम्बर
गाउँदै छन्
विखण्डनको कर्कश धुन
अनि कोर्दै छन्
मानवताको सिमाना
म च्यात्दै छु तिम्रा शास्त्रहरू ।
(“उल्टो यात्रा” पृ. ९०-९१)
नेपालका शिल्पी समुदायमध्ये दमाईहरूमा रहेको विशिष्ट शिल्पमध्ये सिलाई कटाई एउटा हो । उनीहरू अरूको आङ ढाकिदिने र लाज छोपिदिने लुगाकपडा तयार पारिदिन्छन् । उनै दमाईहरूले सिलाएको कपडाले लाज छोपेर निर्लज्जतापूर्वक छुवाछुतमा ओर्लन्छन्, पुरेत शास्त्रबाट निर्माण भएको कथित उच्च जातकाहरू ।
दमाईहरू नेपाली सङ्गीतका पर्याय हुन्, उनीहरूले आफ्ना बाजाहरूबाट निकालेको धुनले साइत खुल्छ सामन्त र ठूलाठालूहरूको । तर आफूहरूमाथि भएको चर्को विभेदले रोएरै रात दिन काट्छन् उनीहरू ।
कवि हरिशरण आफै पनि यस्तै परम्परागत पेसा भएको परिवारमा जन्मेको र जन्मँदै कथित “अछुत” बनाइएका मानिस हुन् । समय र अनुभूतिले उनलाई संवेदनशील कवि बनायो । र उनको कविहृदय विभेदविरुद्धको आवाज मुखर गर्नतर्फ अग्रसर हुन पुग्यो । यिनै आवाजलाई उनले आफ्नो कविताहरूमा व्यक्त गरेका छन्,
पिपिरीमा सास भर्दै
भुलेर आफ्नै दुःखका लयहरू
यिनै अछुत औँलाहरूले
युगौँसम्म भरिरहे सुर
तिम्रा खुसीहरूमा ।
हो,
म दमाई हुँ
सनई मेरो पौरख हो ।
खोज्न आफ्नै जिन्दगीको लय
हरेक साँझ
सनईमा भरेर उत्पीडनको हुरी
बजाउँछु छत्तीसै ख्याली
छत्तीसै राग ।
(“सनई” पृ. ८४-८५) ।
नेपालमा एउटा उक्ति छ, लातको भूत बातले मान्दैन । तर कविहरू केवल बात मार्छन् । उनीहरूको बातले नै हो, आँधी हुरीको सिर्जना गर्ने । उनीहरूले त्यस प्रकारको वातावरण सिर्जना गर्न सक्छन्, आफ्ना कविताहरूबाट ।
जन्मेदेखि नै छुवाछुतले पीडित छन्, कवि हरिशरण परियार । “कैँची” भित्रका सबै जसो कविता छुवाछुतविरुद्ध मुखरित छन् । ती कविताहरूमा कहिले उनी रुँदै रुँदै पीडाको गीत गाउँछन् भने कहिले उनी आँसु पुछ्दै विद्रोहका लागि मुठ्ठी उचाल्छन् । यहीँ क्रममा उनलाई चील हुन मन लाग्छ, समाजका छेपाराहरूको गर्धन च्याप्प समात्ने ।
थाकिसकेँ लड्दा लड्दा पिँधबाट
अब झम्टन मन छ
सीधै माथिबाट
एकाग्र भएर नियाल्न मन छ
सारा परिवेश अग्लो टाकुराबाट
टाढैबाट “स्क्यान” गर्दै
यी तेजिला आँखाले तिम्रो छेपारो रङ
प्रकाशको गतिमा वेग मार्दै
फिँजाएर दरिलो पन्जा
च्याप्प समात्न मिन छ
गर्धनमा
(“अब मलाई मन छ, चिल हुन” पृ. ३३)
नेपालमा जसले हतियार बनाउँछ, कुनै दिन उनीहरूले नै हतियार उठाए कस्तो अवस्था होला ? जब पृथ्वीनारायण शाहले आफू गोरखाको राजसिंहासनमा बसेको केही दिनपछि नै बनारस जाँदा त्यहाँबाट प्रशस्तै बन्दुक ल्याएका थिए । त्यसैबेला उनले येखाजङ्ग विश्वकर्मालाई उस्तादका रूपमा गोरखा ल्याएको इतिहास पाइन्छ । जसबीर कामीले पनि युद्धको बेला प्रशस्तै हतियार बनाएर पृथ्वीनारायण शाहको अभियानलाई सफल बनाउन योगदान दिएका थिए । तर उनै येखाजङ्ग र जसबीरहरूको सन्तानको पानी चल्दैन । यस्तो समाजमा आरनको भट्टीबाट निस्कने तातो गोलाका रूपमा हरिशरणका कविताहरू विस्फोटित हुन खोज्छन्,
लिएर पौरखी पाखुरा
उभ्भिन्छु
तोड्न तिम्रो कपटी चक्रब्यूह
र लेख्न मेरा पुर्खाहरूको पौरखी इतिहास
याद राख महाशय !
फेरि खोज्यौ भने
घोकाउन त्यही झेली पाठ
कतिबेर लाग्ने छैन
आरनमा आफैँले बनाएको
हतियार भिरेर युद्धमा निक्लिन ।
(“पुर्खाको नाममा एक सपथ” पृ. ६०)
“कैँची”मा ४२ कविता सङ्ग्रहित छन् । ती सबै जसो कविताहरू दलित सौन्दर्यमा आधारित छन् । ती कवितामध्ये केहीलाई मानवशास्त्री माइकल हट्ले अङ्ग्रेजीमा अनुवाद गरेर ती कविताभित्रको दलित सौन्दर्यशास्त्रमाथि अध्ययन गरिरहेका छन् ।
प्रायः सबै जसो कविता छोटा छोटा छन् । यसले पनि तथ्य कुरा राख्न थोरै शब्दहरू पर्याप्त छन् भन्ने प्रमाणित गर्छ ।
कवि हरिशरण परियारका कविताहरूमा दलित सौन्दर्यशास्त्र प्रचुर छन् र अधिकांश कविताहरूमा शालीनता भेटिन्छ । तर ती कविताहरू अपेक्षाकृत क्रान्तिचेतको दृष्टिले भने अलि कमजोर लाग्छन् ।
अब दलन र उत्पीडनबाट मुक्तिका लागि आगो बाल्न जरुरी भइसकेको छ । त्यो आगोले भस्म पार्नेछ मनुस्मृतिले खडा गरिदिएको पुरेतवाद । यस्तो भस्मबाट बनेको माटो यति मलिलो हुनेछ कि त्यहीँ उम्रनेछ समानताको रङ्गीबिरङ्गी सुन्दर फूलहरू । यसका लागि अनुनयात्मकभन्दा पनि दबाबमूलक आवाज अपेक्षित हुन्छ । यसबारेमा कवि हरिशरण परियार अनभिज्ञ भने पक्कै छैनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।