कुहिरोले नेपालका धेरै बस्तीमा बास गरिरहेको देख्ने, त्यसैलाई राजनीतिक मुद्दा बनाउने, जनतालाई आश्वासन बाँड्ने र बढीभन्दा बढी भोट सङ्कलन गर्ने बाहेक के नै हुन सकेको छ र ? समय बदलिएसँगै रङ बदलिएका छेपाराहरू बस्ती बस्तीमा डुल्छन्, योजना बनाउँछन्, कुहिरो पन्साएर खुला आकाशमा उज्यालाका आशा छर्ने अठोट सुनाउँछन् ।

ती अठोट जसरी मुखारविन्दबाट यत्रतत्र छरिन्छन् उसै गरी क्षणभरमै कुहिरोका चिसा ओटमा सेलाइदिन्छन् । न चिरिन्छ बस्तीमा अन्धविश्वास, न घट्छ कसैका वेदना, न बल्छ चिसा चुल्होमा आगो, न खुल्छ आवाजविहीनका ओठ, न मुस्कुराउँछ आश्वासन पर्खेर बाँचेका कुनै मानिसका हृदय । मनका कुहिरो नहटेसम्म जुनसुकै हुरीले उडाए पनि बस्तीको कुहिरो कहाँ हट्न सक्थ्यो र ? तहतह बनेर बसेका रहस्य, अहङ्कार, अन्धविश्वास, विभेद, उल्झन र अभावका कुहिरोभित्र केवल सर्जक पस्छ र टिप्छ शब्दमा अभावभित्रका भाव, अँध्याराभित्रका उज्यालाका आशा । यिनै भाव र आशालाई बोकेर ताप्लेजुङमा जन्मिएका रामचन्द्र नेपाल ‘बस्तीमा कुहिरो’ नामक कथासङ्ग्रह लिएर आइपुगेका छन् ।

उनको यो कृति ओरियन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । डिमाइ आकारको यस कृतिमा जम्मा १७१ पृष्ठमा अठार कथाहरू समावेश गरिएका छन् ।

समाजमा प्रत्यक्ष अनुभव गरेका कथाव्यथालाई टपक्क टिपिएका नेपालका कथामा विषयगत विविधता देखिन्छन् । विद्यालयमा पढाउने शिक्षकका अनुभूतिदेखि भुटानी शरणार्थीका व्यथा, राजनीतिक उतारचढाव, विधवा, वादीदेखि रानाथारु महिलासम्मका व्यथा, वृद्धका मनोविज्ञानदेखि युवाको विदेश पलायनको बाध्यता, सिमानामा रहेका नेपालीको पीडादेखि बिदेसिएका नेपालीका जन्मभूमिप्रतिको मोह, गरिबीमा सपना बेचेर बाँचेका नेपालीको व्यथालाई नेपालले कथाका विषयवस्तु बनाएका छन् ।

वास्तवमा शीर्षकको कथा नेपाली समुदायमा आदर्श र इमानदारिताको धज्जी उडाएर शिक्षकलाई भ्रष्ट्राचार र अनैतिकताको मार्गमा डोर्‍याउन प्रेरित गर्ने कुप्रथाको उदाहरण हो । यो कसैको लोभलालचमा नफसी आफ्नो नैतिकता र कर्तव्यपथमा कटिबद्ध शिक्षकले स्वाभिमानपूर्वक बाँच्न नपाउने परिस्थितिका साथै पुँजीवादी संस्कृतिको प्रभावमा सुखसयलमा सम्पन्न जीवन जिउन चाल्नुपर्ने अनैतिक कदमको चिरफार गरिएको कथा हो । उनका ‘जा सब तुमके मारे र सनाखत नभएको घाउ’ जस्ता कथामा रानाथारू महिलाको पीडालाई विषय बनाएर उनीहरूकै स्थानीय लवज, संस्कृति, भाषा तथा रीतिरिवाजलाई मिहिन ढङ्गले प्रस्तुत गरिएका छन् । पहिलो कथामा धौँरिया, पेंपुली, उनियाँ, कठिया, कोला आदि रानाथारू भाषाका शब्दको प्रयोग तथा शब्दकोश प्रकाशित गर्ने ध्येयलाई कथाभित्रै खुलाएर शब्दहरूको सूची नै दिइएको छ । दोस्रोमा रामकलीको संवादमा सोही भाषाको प्रयोगमार्फत जबरजस्ती करणीपछि गर्भ रहेको र कचहरी बसे पनि उनका समस्याको सुनुवाइ नभएको पीडाको पहाडलाई  उनकै लवजमा प्रस्तुत गरिएको छ । यी कथामा चित्रित स्थानीय रङले सुदूरपश्चिमका रानाथारू समुदायका वास्तविक चित्रलाई प्रभावकारी रूपमा उतारिएको छ ।

‘फड्केका पाइला शीर्षक’को कथाले नेपाली समुदायमा एकल पुरुष र एकल महिलाको जीवन बँचाइका कठिनाइ तथा बाध्यात्मक परिस्थितिलाई उदाङ्गो पारेको छ । यसले जीवनसाथी गुमाएका स्त्रीपुरुषको एक्लो जीवन खल्लो हुने र उनीहरूले आफूखुसी दोस्रो विवाह गर्ने स्वतन्त्रता पाउनुपर्ने विचारलाई प्रस्तुत गरिएको छ । हुर्केबढेका सन्तानले बाबुआमाको एक्लो जीवनलाई सहज बनाइदिन दोस्रो विवाहको प्रपञ्च मिलाइदिएको कथामार्फत् समाजमा एकल पुरुषभन्दा बढ्ता समस्यामा पारिएका एकल महिलाप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने धारणा यसमा प्रस्ट भएको छ ।

भुटानी शरणार्थीलाई अमेरिका लैजाने नीतिअनुरूप विदेश जान आएको एक युवकले एयरपोर्टमा आइपुगे पछिको रातमा देखेको सपना र कल्पनालाई रातमा डुबेको एक आलाप शीर्षकको कथाले समेटेको छ । भुटानमा हुँदा पनि नेपालीका रूपमा आफूलाई अलग व्यवहार गरिने र अन्य देशमा पनि पहिचान हराउने चिन्तालाई यसमा कथाको विषय बनाइएको छ । हिमाली यात्रा र भारी बोकेर हिँड्दा जोक्पे (चौंरी र स्थानीय गाईको क्रसबाट जन्मेको)ले पाएको पीडाको कथालाई राजनीतिक व्यङ्ग्य मिसाएर प्रस्तुत गरिएको मूल्यहरू शीर्षकको कथा अत्यन्त मार्मिक छ । अखण्ड सुदूरपश्चिमको माग गर्दै गरिएको आन्दोलनका घाउहरूलाई त्यो पन्नाभित्र… शीर्षकको कथाले समेटेको छ । नदीलाई सिमाना बनाएर बनाइएको सोच र विभेदका कारण क.पा.स. अर्थात् कर्णाली पारिको समाजको पगरी गुथाएर न यता न उताको ठान्ने पहिचानविहीन अवस्थालाई यस कथाले चित्रण गरेको छ ।

आसामको लामडिङ जक्सनबाट गौहाटी जाने रेलमा रहेका मानिसलाई अज्ञात बन्दुकधारीले लुटेर फरार भएपछि सोझासाझा नेपालीहरूलाई नक्सलवादीको आरोप लगाएर समातिएको र यातना दिइएको विषयलाई नजोडिएको पुल शीर्षकको कथामा समेटिएको छ । घरविहीन वादी महिलाहरूमाथिको हिंसालाई घरेलु हिंसा नाम दिन नमिल्ने कथनमार्फत् अन्य महिलाले भन्दा पनि भिन्नै र बढ्ता अन्यायमा परेका वादी महिलाको दर्दनाद व्यथा र शोषणलाई यो कथा शीर्षकको कथाले पृष्ठाधार बनाएको छ । वादी महिलाको पसलमा सामान किन्न जाँदा समेत अनेक लाञ्छना सहनुपर्ने नारी तथा पुरुषको कथा पनि वादी महिलामाथिको दुर्व्यवहारसँग जोडिएको छ ।

वादीका रूपमा नचिनुञ्जेल राम्रै व्यवहार गर्नेले समेत उनीहरूको वास्तविक पहिचान खुलेपछि हेर्न नजर र गर्ने व्यवहार फेरिएको अमिलो अनुभूतिलाई यस कथाले मार्मिक ढङ्गले चित्रण गरेको छ । राजनीतिमा जीवन अर्पण गरेको चन्द्रमणि एकाएक बेपत्ता भएको कथालाई ‘ऊ हरायो ?’ शीर्षकको कथाले समेटेको छ भने छोरा हुँदाहुँदै पनि एक्लै पीडामा थलिएकी बुढी आमाको व्यथाको चित्र नीलो पानीमा बत्ती शीर्षकको कथाले उतारेको छ । गरिबीले पिल्सिएको रन्धोजले आफ्नी आमालाई कहिल्यै खुसी दिन नसकेको चिन्ताले हरपल सताइरहेको, सपनामा सधैँ उही दृश्यले ऐँठन गर्ने गरेको, जनगणनामा आफूलाई चिनाउने आधारले आफ्नै धज्जी उडाइरहेको हृदयस्पर्शी भोगाइलाई ताता छाल शीर्षकको कथाले विषय बनाएको छ ।

वृद्धहरूको सम्मानमा राज्यले समेत पेन्सनमा कर लगाएको विसङ्गत पक्षको चित्रण ‘पदचाप’ शीर्षकको कथामा गरिएको छ । बाआमालाई घृणा गरेर वृद्धाश्रममा छाड्ने प्रवृत्ति, बिदेसिएका युवा तथा हिंसामा परेका नारीको दुरावस्थाको स्थितिलाई यस कथामा समेटिएको छ । मान्छेमा मानवता हराउँदै गएको, विकृति बढ्दै गएको तथ्यलाई मान्छे हराउँदा शीर्षकको कथाले समेटेको छ । यसमा पात्र प्रयोगमा अपनाइएको नवीन शैली रोचक छ । कथा, उपन्यास, कविता, निबन्ध आदि साहित्यका विधालाई पात्रका रूपमा उभ्याइएको यस कथामा मान्छेको खोजीमा साहित्य हिँडेको सन्दर्भमार्फत् व्यङ्ग्यात्मक रूपमा वर्तमानका अमानवमाथिको कटाक्षलाई प्रस्तुत गरिएको छ ।

नेता र राजनीति सुन्ने बित्तिकै उल्टी आउने तथ्यलाई कृष्णे पात्रका माध्यमबाट प्रस्तुत गरिएको किनाराका पीपल शीर्षकको कथा कञ्चनपुरका सुकुम्वासीका व्यथाको बिटो हो । यसमा तीन छोराछोरी भएर पनि एक्लै भएकी आमाले कपडा टाल्दै गर्दा के सिउनु भएको भनेर गरिएको प्रश्नमा उनले दिएको जवाफ यस्तो छ ः “खै के सियेको भनम् बाबु ! भाग्गे सिएको भनम् भने फुट्या भाग्गे सिइन्न भन्चन् । आफ्ना उध्रिएका दिन सिउन सकिन्च कि भन्या ।” (पृ. ११६) युरोप र अमेरिकाको बारीमा छरिँदै गरेका नेपालीहरूको वास्तविक पीडा र जन्मभूमिप्रतिको मोहलाई खोजी शीर्षकको कथामा कुँदिएको छ । यसमा विदेशमै भए पनि नेपालीका सन्तानलाई नेपाली भाषा सिकाउनुपर्ने तर्क र अङ्ग्रेजी मोहप्रतिको व्यङ्ग्यलाई गोविन्दका चिन्ता र चिन्तनका माध्यमबाट प्रस्तुत गरिएको छ ।

मान्छेले सानासाना खुसी कमाउनका लागि कति मिहिनेत गर्छ र त्यसबाट पाएको खुसी क्षणभङ्गुर बनिदिँदा कति पीडाबोध हुन्छ भन्ने सन्दर्भलाई पनि नेपालका कथाले विषय बनाएका छन् । तर सन्तानको खुसीका लागि आफ्नो अमूल्य उपहार चुकाउँदा समेत सम्हालिने बाबुको दृष्टान्तलाई पानी, बरफ र बाफ शीर्षकको कथाले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । टोपलालको सर्वोत्कृष्ट चरित्र अभिनेता अवार्ड उसकै चार बर्से छोराले फुटाइदिएको सन्दर्भदेखि घरबेटीले दिएको तनाव र ओसिलो साँगुरो कोठामा न्यानो जीवन खोज्दै सङ्घर्ष गरिरहेका निम्न वर्गका नेपालीका पीडालाई यस कथामा अभिव्यक्त गरिएको पाइन्छ ।

‘जन्तरे दाइ र कुर्सी’ शीर्षकको कथाले श्रमजीवीको कला आना लागि केवल बाँच्ने मेलो भएको तर अर्काका लागि मोजमस्ती र उपभोक्तावादी संस्कृतिको उपज भएको तथ्यलाई प्रस्तुत गरेको छ । जन्तरेदाइको कुर्सी जस्तै दुनियाँमा कालीगढले कुँदेका कलात्मक सामग्रीमा उनीहरूको नामनिशाना नभएको तथा आफूले आफ्नो सीपको उपभोग गर्ने सपना पनि देख्न नसकेको तथ्य यस कथामार्फत अभिव्यक्त भएको छ । यसमा बसाइँ सर्दै हिँडेका नेपाली नागरिकका पीडा तथा बर्दियाको स्थानीय परिवेशलाई सुन्दर ढङ्गले चित्रण गरिएको छ ।

यसरी विषयगत, क्षेत्रगत एवम् शैलीगत विविधतायुक्त नेपालका कथाहरूले नेपाली समुदाय र बस्तीमा अझै पनि दुःख, पीडा, सङ्घर्ष र अन्धविश्वास हट्न नसकेको सन्दर्भलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरी बस्तीमा कुहिरो शीर्षकलाई सार्थक बनाएका छन् । मानिसका वेदना, छटपटी, हिंसा, दुर्व्यवहार, सङ्कुचित धारणा परिवर्तन नभएसम्म चेतनाको कुहिरो नहट्ने र धमिलो चेतना बोकेका नागरिकका बस्ती कहिल्यै उज्यालो बन्न नसक्ने सन्देश सबै कथाका मूल चुरो बनेका छन् । सामाजिक, लैङ्गिक, आर्थिक पक्षमा मात्रै नभएर राजनीतिक क्षेत्रमा झन् यस खालको विभेद र उत्पीडनबाट ग्रसित जीवन भयावह बनेको सन्दर्भलाई पनि व्यङ्ग्यात्मक रूपमा उनका कथाले समेटेका छन् ।

ग्रामीण परिवेश सुहाउँदा पात्रहरूलाई टपक्क टिपेर सुदूर पूर्वदेखि पश्चिमसम्मका, भारतका विभिन्न भूभागका परिवेश र कथालाई समेटिएका नेपालका कथाको धरातल व्यापक छ । उनका कथाले सीमाबाहिर, सीमारेखाका र भित्रका व्यथालाई मार्मिक रूपमा उजागर गरेका छन् । समाजमा देखा परेका हरेक किसिमका विकृति, विसङ्गति र विभेदलाई चिर्दै जानुपर्ने सन्देश बोकेका उनका केही कथामा नारीलाई नकारात्मक प्रवृत्ति र भ्रष्टाचारतर्फ पुरुषलाई उक्साउने पात्रका रूपमा उभ्याउनुले लैङ्गिक न्याय दिन नसकेको र लेखकीय चेतना अझै महिलामैत्री बन्न नसकेको भान हुन्छ । यस्ता कथाले पितृसत्ताले जरो गाडेको नेपाली समाजलाई अग्रगामी दिशाबाट विमुख पार्दै पुरातन वादी सोच र लैङ्गिक विभेदको पाठ सिकाउने हो कि भन्ने त्रास पनि बढाउँछ । तसर्थ यसतर्फ भने लेखकको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

नेपालका कथामा स्वतःस्फूर्त लेखनशैली तथा सरल भाषाको प्रयोग र धाराप्रवाह अभिव्यक्ति पाइन्छ । उनकै शब्दमा भन्ने हो भने मनलाई छोएका, बाहिर आउन नसकेका समाजभित्र अन्यायमा परेका पात्रका कथा हुन् जसमा कलाले भरिपूर्ण पार्लरी ज्ञान र सीपको कमी तथा ताछतुछ गर्दा घावै लाग्ला भन्ने मायाले नताछेको हलो बनेको छ । हुन पनि हो, आँखाले देखिएका र मनले छोएका कथालाई जस्ताको तस्तै राख्ने उनको जमर्कोले कथावस्तुको बनोट तथा बुनोटमा केही शैलीशिल्पगत रङरोगनको माग गरेको छ ।

यसरी नेपालका कथाले चेतनाका माध्यमबाट बस्तीमा लागेका कुहिरोलाई हटाएर सुन्दर नेपाल र सुखी नेपालीको सार्थक जीवनको माग गरेको छ । उनका खारिएका विचार, अनुभव एवम् शैली समेटिएर साहित्यिक यात्रा निरन्तर रहोस् र मौलाउँदै अघि बढोस् भन्ने मेरा शुभेच्छा तथा शुभकामना छ ।