अमेरिकामै रहे पनि साहित्यकार विश्वराज अधिकारीलाई साहित्यपोस्टले नजिक बनाएको हो । म साहित्यपोस्टमा कहिलेकाहीँ लेख्ने, उहाँ यसै पत्रिकामा चर्चित लेखक-साहित्यकारहरूको अन्तरवार्ता गर्ने । साहित्य प्रतिको रुचि देख्दा अलिकति चासो लागेको पक्कै हो । तर खोजी-चासो नगर्ने मेरो स्वभावका कारण उहाँसँग दोस्ती हुन सकेको थिएन ।
हुन त आज पनि म उहाँलाई राम्रोसँग चिनेको दाबी गर्दिन । तर उहाँको कथा सङ्ग्रह ‘नलेखिएका कथा’ पढ्दै जाँदा कताकति उहाँलाई वर्षौंदेखि चिनेकी हुँ कि भन्ने लागिरहेको छ ।
एक दिन उहाँले मलाई साहित्यपोस्टका लागि अन्तरवार्ता गर्न चाहेको बताउनु भएको थियो । म छक्क परेकी थिएँ । किनभने म आफूलाई न साहित्यकार मान्छु न साहित्यको कुनै गतिविधिमा लागेकी छु । बस आफूलाई मन परेको विषयमा कलम चलाउँछु, त्यो पनि साहित्यपोस्टका सम्पादकले आग्रह गरिरहँदा ।
यही कुरा गर्दै मैले अन्तर्वार्ताका लागि आफू अयोग्य भएको बताएँ । तर उहाँले मलाई अनेक तवरले अनुरोध गरेर अन्तरवार्ता छापेरै छाड्नुभयो । त्यसपछि मलाई लाग्यो, उहाँ लेखक, साहित्य र नेपाली भाषा प्रति मरिहत्ते नै गर्नुहुन्छ । कुनै पनि व्यक्तिले गरेको सानो कामलाई पनि महत्त्व दिने गरी संवेदनशील हुनुहुन्छ । नढाँटी भन्दा उहाँको यही संवेदनशीलताका कारण उहाँलाई पढ्नुपर्छ भन्ने हुटहुटी जगायो र पढ्न बसेँ- ‘नलेखिएको कथा’ ।
तेह्र वटा शीर्षकमा विभाजित ‘नलेखिएका कथा’ पुस्तकभित्र एउटै विषय छ- प्रेम । यो सङ्ग्रहलाई प्रेमकथा सङ्ग्रह भन्दा फरक पर्दैन । यो प्रेमलाई कताकति नोस्टाल्जिक प्रेमकथा पनि भन्न सकिन्छ । कारण लेखक ६० वर्ष पूरा भएका, जीवन जगत देखिसकेका, यौन जीवन बाँचिसकेका छन् र आफूले भोगिसकेका जीवनमा देखेका घटनाहरूलाई कलात्मक अभिव्यक्ति दिन चाहेका छन् । कतै उनी आफैँ, कतै आफ्ना साथी भाइ र कतै आफन्त उनका कथामा भेटिन्छन् । कतिपय कथाहरूमा थिति मितिसमेत राखिएकाले यी सत्य घटनाका निकट छन् भन्न सकिन्छ । यही कारण कथाहरू हामीले देखेभोगेका, चिनेजानेका लाग्छन् । कतिपय अवस्थामा कथाभित्रका पात्रहरू स्वः लेखक भएर उत्रिन्छन् ।
प्रेम कथा भए पनि यी कथाहरूमा प्रेमसँगै जोडिने यौन, विवाह, मित्रता र सामाजिक मूल्य मान्यताहरूले पनि स्थान पाएका छन् । लेखक सामाजिक परिवर्तन चाहन्छन् । यौनप्रति उदार भाव राख्छन् । समाजले प्रेम र यौनलाई जसरी जकडेको छ, त्यसमा आमूल परिवर्तन चाहन्छन् । सायद ४० वर्षअघिको वीरगन्ज, काठमाडौँ र नेपालका परिवेशहरू अमेरिकाको खुला परिवेशसँग लेखक तुलना गर्दा होलान् र परिवर्तनको आकाङ्क्षा गर्दा होलान् । उनलाई लाग्दो हो, नेपाली समाज जस्तो छ, त्यस्तो नहुनुपर्ने हो । त्यही ‘नहुनुपर्ने हो’ भन्ने भावना नै अधिकांश कलाको मूल मर्म हो ।
केही कथाहरू गम्भीर मनोवैज्ञानिक छन्, जसलाई पढेर पाठक केही क्षण भए पनि सोचमग्न हुन्छ । उदाहरणका लागि ‘४० वर्षदेखिको पश्च्यताप’ कथालाई लिन सकिन्छ । उक्त कथामा एसएलसी दिएको एउटा युवक खाली समयको सदुपयोग गर्न गाउँको एउटा विद्यालयमा पढाउन थाल्छ । जहाँ भेट भएकी आफ्नै विद्यार्थीसँग युवक शिक्षकको हिमचिम हुन्छ । तर एक दिन अचानक युवक भाग्छ । भाग्नुको कारण ती युवतीसँग भएको शारीरिक सम्पर्क हुन्छ । गाउँबाट भागे पनि सहरमा पढेर डाक्टर भए पनि ती युवकलाई रातदिन ती युवतीको याद आइरहन्छ । स्वास्नी छोराछोरी हुन्छन् । चिकित्सकीय अभिभारा कम भएपछि ती व्यक्ति युवतीको खोजी गर्दै गाउँ पुग्छन् । सोधिखोजी गर्दा थाहा हुन्छ, उनी विवाह गरेर अर्कै गाउँमा पुगिसकेकी छन् । उनले ती महिलाको गाउँ खोजेरै छाड्छन् । देख्छन्, आफूले माया गरेकी किशोरी बुढी भैसकेकी छन् । गम्भीर कुराकानी हुन्छ, पुराना स्मृतिहरू खुल्दै जान्छन् । केही क्षणपछि बाहिरबाट एक व्यक्ति बुढीको घरमा छिर्छन् । बुढीले चिकित्सक प्रेमीलाई आफ्नो छोराको परिचय गराउँछिन् । चिकित्सकले ध्यान दिएर उनका छोरालाई हेर्छन्, उनी ठ्याक्कै युवा उमेरका चिकित्सक जस्तै देखिन्छन् ।
पुस्तकभित्र अर्को फरक कथा छ ‘साइबर वाइफ’ । घरमा श्रीमती छिन्, छोराछोरी छन् तर कथाका मुख्य पात्र एउटी महिलासँग वर्षौंदेखि फेसबुकमा गफ गरिरहन्छिन् । जीवनका तिता-मीठा, सुख-दुुख, सङ्घर्ष-सफलता सबै विषयमा बेला बेलामा कुरा भइरहन्छ । जब एक दिन ती महिला मित्रसँग रेस्टुरेन्टमा प्रत्यक्ष भेट हुन्छ । सामान्य च्याट गर्ने साथीहरू रेस्टुराँमा भेट भएपछि कथाले नयाँ मोड लिन्छ । जसलाई कथाकारले नाम दिन्छन्-साइबर वाइफ ।
विश्वराज अधिकारीका केही कथाहरू साहित्यपोस्टमा पनि छापिएका छन् । संयोगवश एउटा कथामा एकजना चिकित्सक र उनको श्रीमतीबिच कथाकारको त्रिकोणात्मक प्रेमकथा थियो । यो सङ्ग्रहमा पनि एकजना चिकित्सक र उनकी श्रीमती बारम्बार उनको कथामा आउँछन् । फरक फरक स्वरूपमा आउने चिकित्सक दम्पतीको कथा धेरै पाठकलाई सत्यको निकट लाग्न सक्छ ।
पुस्तकमा परपुरुष वा परस्त्री सम्बन्धका कथाहरू पनि छन् । यस्ता सम्बन्धलाई कतै सकारात्मक र कतै नकारात्मक रूपमा प्रस्तुत गरिएको देखिन्छ । यौनका लागि मात्रै भएका सम्बन्धलाई कतै प्रेमको नाम दिइएको छ भने कतै प्रेमभित्र आएका यौनलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । विधवा बुहारी र सासुको कथा, विधवा महिला र युवकको कथा, आफ्नै साथीकी श्रीमतीसँग हुने अन्तरङ्ग सम्बन्धका कथा यसका उदाहरण हुन् ।
कथाहरू पढिरहँदा प्रेमको रेखा कहाँबाट सुरु हुन्छ र कहाँबाट यौन घटित हुन्छ, थाहै नहुने । प्रेमसँग यौन र यौनसँग प्रेमको घुलमिलबीच कतिपय कथा पढ्दा पाठक अलमलमा पर्छ, लेखकले यहाँ प्रेम देखाउन खोजेका हुन् कि यौन । प्रेम देखाउनका लागि यौनलाई मसलाका रूपमा प्रस्तुत गरेका हुन् कि यी दुईको भेद पढाउन खोजेका हुन् । कतिपय कथा पढ्दा मलाई लागेको थियो, यो कथा यसरी लेख्नु ठिक थिएन । तर त्यो मेरो कल्पना मात्र हो । जब पाठक यसरी सोच्छ, कथाले कुनै न कुनै रूपमा छोएछ भन्ने बुझ्नु पर्दछ ।
केही कथाहरू नलेखिएको भए हुन्थ्यो । लेखिए पनि नछापेको भए हुन्थ्यो । हुन त लेखकको आ-आफ्ना धारणा हुन्छन् । यस्तै नलेखिएको भए वा लेखिए पनि नछापिएको भए वा छापिए पनि फरक तरिकाले छापिएको भए हुन्थ्यो भन्ने एउटा कथा छ, ‘पत्रमा के लेखिएको थियो ?’
यो कथामा लेखकका काका क्यान्सर जस्तो गम्भीर बिरामीले पीडित छन् । काकालाई आफ्नो श्रीमतीको असाध्यै माया छ । भएका छोराबुहारीले आफ्नी प्रेयसीलाई बुढेसकालमा सुख दिँदैनन् भन्ने बुझेका कारण उनलाई मृत्युपछि पनि कसरी सुखमा राख्न सकिएला भन्ने चिन्तामा छन् । केही समयपछि उनी अन्तिम अवस्थामा पुग्छन् । यो बेला लेखकलाई आफ्नो मृत्युपछि यो पत्र आफ्नी प्राणप्यारी श्रीमतीलाई दिन अनुरोध गर्छन् । क्यान्सरका बिरामीले प्यारी पत्नीलाई बुढेसकालको सहाराका लागि केही लेखेका होलान् भन्ने पाठक र स्वयं लेखकलाई पनि लाग्छ । जब उनको मृत्यु हुन्छ र १३ दिने काम सकिन्छ । लेखकले खाम पनि नखोलेको उक्त पत्र काकीलाई हस्तान्तरण गर्छन् ।
जब काकीले उक्त पत्र पढ्छिन् उनी डाको छाडेर रुन्छिन् । काकाको मृत्युमा समेत त्यसरी नरोएकी काकीले पढेको उक्त पत्रमा के थियो ? लेखक र पाठक उत्साहित भएर पत्र पढ्न थाल्छन् । पत्रमा काकाले उनको बुढेसकालको माया पनि छिनिने गरी लेखेका हुन्छन्, “तिमी त मेरी नाम मात्रकी श्रीमती हौ । मेरो त अरू कुनै स्त्रीसँग सम्बन्ध थियो…इत्यादि” ।
जीवनमा कुनै स्त्री वा पुरुषले कुनै न कुनै अवैध सम्बन्ध राखेको हुन्छ वा सोचेको हुन्छ । त्यो स्वाभाविक हो । तर आफ्नो मृत्युपछि सोझी श्रीमतीलाई पीडा दिने यस किसिमको पत्र लेख्ने ठूलो गल्ती हो । परपीडक चरित्रको यो भन्दा ठूलो नमुना अरू केही हुन सक्दैन । यस्तो कथा लेखेर त्यसलाई सार्वजनिक गर्नु कताकति विश्वराज अधिकारी जस्तो सकारात्मक भाव भएका लेखकका लागि उति सुहाउँदो कुरा होइन कि ।
कथा समाजको ऐना हो । तर कति कुरा कसरी देखाउने भन्ने कलाले पनि कथाको महत्त्व दर्साउँछ । विश्वराज अधिकारीको ‘नलेखिएका कथा’ पुस्तकभित्रका १२ वटा कथाले दिने सन्देश सकारात्मक छ । यसले यौन र प्रेमको परिभाषालाई पुनर्लेखन वा पुर्नसंशाेधन गर्न प्रेरणा दिन्छ । माथि उल्लेख भएको कथा भने यो सङ्ग्रहमा नपरेको भए हुन्थ्यो वा त्यसलाई फरक तरिकाले लेखिएको भए हुन्थ्यो ।
यो कथा सङ्ग्रह पढेपछि उहाँका अन्य कृतिहरूको अध्ययन गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । अमेरिकाको हातमुख जोड्न सधैँ कुदिरहनु पर्ने समयहरूका बीचमा उहाँका कृति पढ्ने योजनासहित अहिलेलाई यति लेख्छु- प्रेम, विवाह र यौन एक अर्काका परिपूरक हुन् र फरक पनि हुन् । यसलाई परिवेशअनुसार भिन्न भिन्न रूपमा स्वीकार गर्न बाहेक अर्को उपाय छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।