मैले रोजेको चीज मेरो लागि सर्वोत्तम हुन्छ । मलाई मन परेको चीजले मेरो मनलाई आनन्द दिन्छ । मान्छे ! फगत मान्छे एउटा बुद्धिमानी प्राणी । कामअनुसार छुट्टाए मान्छेले जात । एउटै जातिभित्र थुप्रै जात । सानो जात, ठूलो जात । जात-पात । यसरी मान्दै आएको परापूर्व कालदेखि । समय परिवर्तन भयो, विचार परिवर्तन हुनमा सुस्ताइरह्यो । बुद्धिमानी मान्छेले अझै बुद्धिमान हुनमा केही कसर बाँकी राखेन । सानो-ठूलो, गरिब-धनी, मान्छेमा विभेद देखियो ।
वास्तवमा जात पुरुष र स्त्री हो । रातो रगत नै दौडिन्छ मान्छेको शरीरको नशा-नशामा । कसैको फरक रङको रगत छ भनेको सुनिँदैन । कुनै रोगीलाई रगत चाहिएको खण्डमा त्यसको जात-जाति, धनी-गरिब, धर्म हेरिँदैन भने तमासा पार्ने सभ्य मानव समाज अन्धकारमै रमाउन खोजिरहेछ । जब सबै मान्छेको रगत एउटै रङ्गको छ भने भेद किन ? प्रश्न गहिरो छ, यस प्रश्नको उत्तर त्यो गहिराइबाट निकाल्न सकिँदैन जुन मान्छेको मस्तिष्कमा गाडिएर बसेको छ । तर प्रेम जसले जितेको छ मान्छेको मस्तिष्कलाई । मान्छेको सोचलाई । भनौँ जहिले पनि मस्तिष्क हारेको छ मनसित । परम्परावादमा अल्झिएको मानव । परम्परालाई तोडेर भाग्न पनि सक्दैन मान्छे । तर आजको फरक समयमा यी सब विचारहरूमा परिवर्तन देखा पर्दै छ ।
सानो जात र ठूलो जात विवाह बन्धनमा बाँधिएको घटनाहरू यत्रतत्र सुनिँदै छ । घरबाट बहिष्कृत भएर पनि जीवन धान्न बाध्य छन् ती परिवर्तन चाहने प्रेमीहरू । रोजीरोटीको समस्याले पिरोलिएपछि आफ्नै ठाउँ, आफ्नै देश बिरानो लाग्न थालेपछि बिदेसिन बाध्य हुन्छन् युवाहरू । आफ्नो देशले केही दिएन भन्नेहरूको घुइँचो छ नेपालमा । देशले केही दिने होइन हामीले देशलाई केही दिन सक्यौ भने देशको उन्नति हुन्छ । आफ्नो उन्नति हुन्छ । गर्नेलाई जहीँतहीँ नगर्नेलाई कहीँ न कहीँ भन्ने भनाई चरितार्थ हुन्छ ।
यस्ता थुप्रै फराकिलो विचार मनमा पालेर आफ्नो गुनासोलाई व्यङ्ग्य स्वरूप खण्डकाव्यमा उतार्न सफल देखिन्छन् मुक्तिनाथ गजुरेल उर्फ मुक्ति गर्ग । नेपालमै जन्मेर नेपालकै एउटा उच्च माध्यमिक विद्यालयमा शिक्षण पेसामा थुप्रै समय बिताएर अवकाश ग्रहण गरेका मुक्ति गर्ग हालमा नेपालकै बिर्तामोडमा बसेर चुपचाप साहित्य साधनामा लागिरहने एक जना मौनसाधक हुन् ।
हल्ला र भीडमा विश्वास नगर्ने मुक्ति गर्ग आधुनिक कविताहरूमा रम्नुभन्दा छन्दोबद्ध कवितामा रमाउँछन् । छन्दमा कविता कोर्ने नेपाली साहित्यको ऐतिहासिक परम्परालाई शिरोधार्य गर्दै मुक्ति गर्ग छन्दमै कविताहरू सजाउँछन् । उनी खण्डकाव्य लेख्न पोख्त देखिन्छन् ।
मानवप्रेम, देशप्रेम, प्रकृतिप्रेम दर्शाउँदै मुक्ति गर्ग प्रेम-सरिता खण्डकाव्य सजाउँछन् । प्रेम-सरिता खण्डकाव्यमा हामी दुई प्रकारको कथा भेट्छौँ । प्रेम र सरितामाझको अन्तरजात प्रेमविवाह र देशप्रेम ।
खण्डकाव्यको कथाअनुसार छेत्रीको छोरो प्रेम र सुन्दरी युवती सर्किनी सरिताको प्रेमकथा छ । प्रेमले सरितासँग विवाहको प्रस्ताव राख्दा सरिताले स्विकार्न नसक्ने बाध्यता देखाउँदै समाजको तिरस्कार, अपमानलाई सहन नसक्ने कुरा गर्छे सरिता । खण्डकाव्यांश-
क्षत्रियको दलितसाथ विवाह हुन्न ।
माया बसेछ यदि दीर्घ कतै रहन्न ।।
रोजौँ स्वमार्ग अब प्रेम ढिपी नलेऊ ।
व्यर्थै नफाल कुलइज्जत ध्यान देऊ ।।
तर प्रेमले जातिवादजन्य विभेदको अन्त्य गरेर मानवतावादलाई भित्र्याउने दृढ सङ्कल्प लिएपछि प्रेम-सरिताको विवाह हुन्छ । परिवारबाट बहिष्कृत भएपछि प्रेम-सरिता घरदेखि टाढै बस्न बाध्य बन्छन् । सन्तान बढ्छ । खेतबारी पहिरोले लगेपछि ऋणमा डुब्छन् अनि विदेश गएर पैसा कमाउने विचार आउँछ । खण्डकाव्यांश-
सोचे दुवै जन मिली विधिकार्ययुक्ति
वेच्नैपऱ्यो कि अरु झैँ अब राष्ट्रशक्ति
त्यो रात दम्पती बसेर गरे विचार
निस्क्यो उपाय बलियो पररोजगार।।
यसै बेला एउटा युवकले देशमै काम गर विदेश नजाऊ भनेर सम्झाउँछ तर प्रेम बिदेसिन मन गर्छ।
विदेशमा आफ्नोपन, खान-पान, भाषा, प्रकृति केही अनुकूल नहुँदा प्रेमलाई अत्यन्त गाह्रो पर्छ। विदेशमा धेरै खट्नु पर्ने तर ज्याला कम्ती दिने हुँदा श्रमिक संगठन बनाएर मानवाधिकार खोज्ने प्रेमलाई प्रशासनले पक्रेर प्रताडना गर्छ, फलस्वरूप प्रेम बिमारी हुन्छ । रोगग्रस्त शरीर भएपछि स्वदेश फर्काइन्छ प्रेमलाई ।
ससुरा बिमारी भएकोले रगत चाहिन्छ, सर्किनी केटी सरिताको रगत मिल्ने भएपछि रगत दिन तयार हुन्छे । रातो सफा अछुत रक्त चढाइन्छ । साँच्चै-
यो रक्त हो अछुतको कति काम आयो ।
हा ! मृत्युबाट अहिले ससुरा बचायो ।।
जात-पात, धर्मभन्दा पनि माथि मानवता हो। खण्डकाव्यकार भन्छन्-
के काम त्यो रगत काम कतै नआओस् ।
के जात त्यो फगत जात भनी रमाओस् ।।
के ईशभक्ति यदि मानवता हराओस्।
के राष्ट्रभक्ति यदि भाषणमै बिलाओस् ।।
व्यङ्ग्यवाण हान्न पनि खप्पिस देखिन्छन् कवि। पश्चात्ताप गरेर ससुराले तल्लो जात सरितालाई भित्र्याए।
आफ्नो देशनै जननी हो, आमा हो। यहीँ पसिना श्रमको चढाए देशले पनि माया दिन्छ। तर धन कमाउने लोभमा बिदेसिने ती तमाम युवाहरूलाई भन्छन् –
धायौ गयौ कति युवा धन क्यै कमायौ ।
ज्यानै समेत कतिले पर गै गुमायौ ।।
त्यो स्वर्णराश परको धनमा गनिन्न ।
पीयूषको नजिक भूस वृथा नगण्य ।।
देश गरिब छ, तर देशवासी धनी छन् किनभने देशका अधिकांश युवा विदेशमै आफ्नो पसिना र श्रम बेचिरहेका छन् । पश्चिमी सभ्यतामा रमेर आफ्नो संस्कृति पोली खाएर नाङ्गिनेहरूप्रति कटाक्ष छ ।
आफ्नो महत्त्वपूर्ण जीवन वा भनौँ युवाश्रम परदेशमै बितेपछि नेपाल आमा धुरुधुरु रुन्छिन् । आफ्नो स्पष्ट विचार राख्दै कविले भन्छन्- घर झुप्रै भएपनि त्याग्नु उचित हुँदैन अनि यसमा सबै खुसी भएर बस्नुपर्छ। नौलो विचार पलायो भन्दैमा देशलाई भुल्नु हुँदैन।
विदेश बसेर धन कमाए पनि स्वास्थ्य गुमाउनु पर्छ । बरु आफ्नै देशको बाँझो भूमि खनेर उर्वर बनाउन सके आफ्नो माटोको अस्तित्व रहन्छ । त्यसै पनि जान्नु र बुझ्नु हो भने नेपाल आमा सबै थोकमा सम्पन्न छिन् । देशलाई उन्नतिको पथमा लाने कार्य देशकै युवाको काँधमा छ तर विडम्बना देशको युवाको काँध विदेशको भारी बोकेर थाकिसकेको छ। कवि आशावादी छन् । भन्छन्-
चिन्ता नलेऊ धरणी नयपाल आमा ।
सम्पन्न छिन् विविध स्रोत कुना-कुनामा ।।
खोजौँ झिकौँ धन धनी अब बन्न सक्छौ
भो देश उन्नत भनी अनि भन्न सक्छौ ।।
नेपाललाई कृषि देशको रूपमा हेरेका छन् कविले । देशभित्र अवसर हुनुपऱ्यो । काम हुनुपऱ्यो भन्नेहरूको निम्ति खण्डकाव्यमा यसरी व्यक्त गरिएको पाइन्छ
सङ्ख्या बढेर जनको यस विश्वभित्र ।
खीद्यार्थ द्वन्द्व गतिलो अब हुन्छ मित्र ।।
कोही बने धनिक तेल र ग्यास बेची ।
हामी बनौँ धनिक अन्न-रसादि बेची ।।
आफ्नै देशमा नयाँ नीति आएर त्यसमा सबैले नयाँ प्रगतिप्रति सोचिदिए देशको उन्नति हुन्छ भन्दै युवाहरूलाई जागरुप गराउने प्रयास देखिन्छ। बारम्बार स्वदेशमै अवसर निकालेर आफ्नै ठाउँमा कर्म गर भन्ने कुरा देखिन्छ खण्डकाव्यमा। “फिर्ता स्वदेशतिर जाऊँ ”, “ छोडौँ विदेश अब उद्यम हेतु आऊ ”, “ अब देश तजी नजाऊ ”, “स्वागत आऊ भाइ ”– भन्दै नारा लगाउँछन् कविले आफ्नो खण्डकाव्यमा।
अन्तिमतिर केही श्लोकान्तमा एउटै पद घरीघरी राखिएको छ- “आयो उडेर नभको पथ देशभक्ति ।।”
आफ्नै जन्मभूमिलाई कर्मभूमि बनाएर देशलाई प्रगतिको बाटोमा डोऱ्याउनुपर्छ भन्दै युवाहरूलाई आह्वान गर्ने मुक्ति गर्गले सुरु गरेको वास्तविक कथालाई केही थुप्रै श्लोकपछि अन्तमा एउटा श्लोकले कथा स्पर्श गरेको छ । श्लोकांश-
क्षत्रीयप्रेम सरिता दलितैकताले
सम्भ्रान्तवर्ग बिचको नव चेतनाले
बाबा वधू प्रभृति देवर त्यो समाज
बढ्दै गयो अघि समर्थन राष्ट्रमाझ ।।
कवि मुक्ति गर्ग-को सकारात्मक सोचको उपज “प्रेम-सरिता”मा आफ्नो देशले विद्युत् उत्पादन गरेर पुगी सरी होस् अनि विदेशलाई पनि बेच्न पुगोस् भन्ने विचार छ भने नेपालभित्र हजार खाद्य चिजहरू छन्, यसप्रति ध्यान दिइयोस् भन्ने स्पष्ट विचार छ। दुर्दृष्टि देख्न पाइन्छ खण्डकाव्यकारको। शिक्षा सुधार होस्, विज्ञान दर्शन, नयाँ प्रविधि प्रणाली आओस् अनि नेपालको शिर माथि उचालिएको होस् भन्छन्।
अन्तमा कवि लेख्छन् – “थालिन् बग्न सुरम्य प्रेमसरिता माटो भिजाईकन ।।”
३२९ श्लोकमा काव्यसिर्जना भएको छ । साहित्यका सम्पूर्ण रसले भिजेको प्रेम-सरितामा अलङ्कारको भरमार पाइन्छ । अन्त्यानुप्रासले सजिएका श्लोकहरू पढ्नमा रमाइलो लाग्छ । विचारमा आधुनिकता, युग चेतना, सोचाइमा मौलिकता भेटिन्छ । परम्परावादलाई पछ्याउन रुचाउने खण्डकाव्यकार साहित्य लेखनमा पनि परम्परालाई त्याग्न सक्दैनन् ।
मङ्गलाचरणबाट सुरु गरिएको खण्डकाव्यमा आदिकवि भानुभक्त आचार्य, मोतीराम भट्ट, कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्य सम्राट बालकृष्ण सम, माधवप्रसाद घिमिरे आदिलाई स्मरण गरेका छन् मुक्तिनाथ गजुरेलले ।
छन्द खेलाउनमा खप्पिस मुक्ति गर्ग सरल र मिठास बोकेको छन्द वसन्ततिलका छन्दमा आफ्नो खण्डकाव्य सजाउँछन् । नदी झैँ सलल बगेको प्रेमसरिता खण्डकाव्यले एउटा छुट्टै मिठास बोकेको छ । लयात्मक र गेयात्मक भएकोले झ्याउरे छन्दको स्मरण गराउँछ । खण्डकाव्यको अन्तिमको एउटा श्लोक शार्दूलविक्रीडित छन्दमा राखिएको छ । काव्यमा विविध रसको रसास्वादन गर्न पाइन्छ ।
आफ्नो सृजना आफैलाई मन पर्नुपर्छ, मन परे पछि सार्वजनिक गरिनु स्वाभाविक हो । आफ्नो काव्यमा कुनै हानिकारक किराले वास नगरोस् अनि मान दिनु सकिएन भने पनि अपमान नहोस् भनेर मीठो पाराले खण्डकाव्यकारले खण्डकाव्यको नम्र निवेदनमा बिन्ती बिसाएका छन्-
क्वै हानिकारक किरा यस फूलभित्र ।
आजै सुटुक्क नपसोस् प्रिय इष्टमित्र ।।
हेर्दा असुन्दर भए पनि बाँच्न पाओस् ।
पर्दैन मान, अपमान भने नपाओस् ।।
प्रेम-सरिता खण्डकाव्यलाई खण्डकाव्यकारले असुन्दर भए पनि बाँच्न पाओस् भनेर भनेका छन्, तर पढिसकेपछि यसलाई असुन्दर भनिनु अत्यन्त गलत हुनेछ ।
फराकिलो सोच, मानवतावादी दर्शन, भावपक्ष, तार्किक पक्ष प्रबल छ । देशको युवाशक्ति बिदेसिँदा देशको विकास नै पछिल्तिर धकेलिएको बोध गर्छन् मुक्ति गर्ग । सकारात्मक सोच राख्दै युवाहरूलाई देशभित्र नै जीवनको वास्तविकता बाँच्ने आह्वान गर्छन् ।
निश्चित रूपमा गाँस-बाँस कपासबिनाको मानव जीवन कल्पना पनि गर्न सकिँदैन । जीवन चल्नुपर्छ बाँचुञ्जेल । आफू जन्मेको माटो, आफ्नो ठाउँ, आफ्नो मान्छे, आफ्नो देशको माया गर्नुपर्छ । मलाई अरूले माया गर्छ भनेर सोचिरहनु पर्दैन । मैले आफैलाई माया गर्नु सक्नुपर्छ । देशको एउटा जिम्मेवार नागरिक भएपछि देशलाई कसरी उन्नतिको बाटोमा लानुपर्छ भन्ने सोच्न आवश्यक छ ।
प्रेम-सरिता खण्डकाव्य मूलतः अन्तर जाति विवाह, देशप्रेमले सजिएको छ । कता कता मुनामदनको झझल्को आउँछ खण्डकाव्य पढ्दा । क्रान्तिपछि शान्ति आउँछ भने झैँ यस खण्डकाव्य प्रेम-सरिता पढियो भने अवश्यै युवाहरूमा नवचेतना निम्त्याउनेछ अनि केही परिवर्तनका लहर देख्न पाइनेछ भन्ने आशा राख्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।