सन् २०२३ को जुलाइ महिना । भ्रमणमा थिएँ असम गुवाहाटी । गुवाहाटीकै देवकोटानगरमा देवकोटा पुस्तकालयको हलमा नेपाली भाषाका सशक्त कवि हरिभक्त कट्वालको स्मृतिसभा भइरहेको थियो । सुसंयोग म पनि निम्त्याइएको थिएँ । असम गुवाहाटीलाई नै मुकाम बनाउने कथाकार डा. देवेन सापकोटाको पनि उपस्थिति थियो । उनको अत्यन्त नवीन कथापुस्तक ‘पृथिवीका सुस्केराहरू’ कोसेलीका रूपमा मेरा हातमा पर्यो । असम, लघुकथाबारेको कार्यक्रम तथा विविध पुस्तक कोसेली अत्यन्त रोमाञ्चक तथा सुसंयोग थियो मेरा लागि । अझ नवीन कुरा त के थियो भने उनको त्यो पर्याकथासङ्ग्रह थियो । यो विषय मेरा लागि पनि नूतन थियो । र, यति बेला प्रवासमा छु । त्यही पर्याकथाभित्र रमेको छु ।

कथासङ्ग्रहको आवरणको अग्रभागमा मान्छेले निर्माण गरेको सभ्यतामा प्रकृतिको नास भइरहेको बिम्ब चित्रित गरिएको छ । अग्ला भवनहरू, प्रदूषणले राताम्मे हुन लागेको सूर्य, विनास हुन लागेको वनस्पति आदिको चित्र उतारिएको छ । कृतिको पश्च भागमा कथाकार डा. देवेन सापकोटाको धच्चीको परिचय समावेश छ । मोल भारु २०० राखेर एनआर प्रकाशन गुवाहाटी, भारतले सन् २०२३ मा प्रकाशन गरेको कथासङ्ग्रह ‘पृथिवीका सुस्केराहरू’मा प्रा.डा. गोविन्दराज भट्टराईको ‘पूर्वाञ्चल भारतको प्रथम पर्यावरण कथा सङ्ग्रहप्रति’ शीर्षकमा भूमिका रहेको छ ।

यसैगरी ‘डा. देवेन सापकोटाका कथा’ शीर्षकमा विशिष्ट विद्वान डा. माधव प्रसाद पोखरेलको भूमिका छ । क्रमैले विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिका उपाध्यक्ष विजय हितानले ‘पृथिवीका सुस्केराहरू’बाट यो धर्तीलाई नियाल्दा’ शीर्षकमा आफ्ना भनाइ अभिव्यक्त गरेका छन् । पूर्वोत्तर भारतमा अति विशिष्ट साहित्यकार मानिने ज्ञानबहादुर छेत्रीको शुभकामना रहेको कृतिमा कथाकारको आफ्नै महत्त्वपूर्ण सूचनासहितको भनाइ छ । १५ ओटा कथाहरूको बिटो भएर आएको यो कृति मूलतः पर्यावरणसँग सम्बन्धित छ ।

यद्यपि मैले पूर्व चिनेजानेका होइनन् डा. देवेन । साइनोले आफन्ती तथा यारीदोस्ती पनि होइनन् मेरा । असम गुवाहाटीका भ्रमणका क्रममा भेटिएका एक अब्बल गुणवत्ता मान्छे हुन् । सन् १९६० मा शोणितपुर असममा जन्मेका उनी हाल असम कृषि विश्वविद्यालयका प्राध्यापक हुन् । विज्ञानका सूत्रहरू केलाएर साहित्य सिर्जना गर्ने सिद्धहस्त साहित्यकार हुन् । कथा, कविता, निबन्ध, नियात्रामा बेगवान कलम कुदाउने साहित्यकार हुन् उनी ।

नियात्रा लेखेर असम नेपाली साहित्य सभाको ‘साहित्य प्रभात’ पुरस्कार पाइसकेका छन् । नेपालीलगायत हिन्दी, असमिया भाषामा समेत सिर्जना गरेका हुनाले उनको बहुविधा तथा बहुभाषिक क्षमता पुष्टि भइसकेको छ । कृतिगत सिर्जनाका साथ विविध विधामा फुटकर रूपमा साहित्य सिर्जना गरेका मात्र होइन, पोउल्ट्री विषयका विशिष्ट विज्ञ पनि हुन् । सम्पादन, प्रकाशन तथा विविध साहित्यिक सङ्घसंस्थासँग आबद्धता राखेका हुनाले उनको भर्सटाइल व्यक्तित्व यसैबाट पुष्टि हुन्छ । देखिन्छ । भारतको भूमिमा नेपाली भाषासाहित्यको विकास तथा उन्नतिमा अहोरात्र खटिने स्वभाव भएकाले उनी समग्र नेपाली साहित्यका लागि स्तुत्य पात्र हुन् ।

कृतिकारले यो कृति लेख्नुको अभिध्येय प्रष्ट छ । अभिध्येयमा लप्पन छप्पन छैन । पर्यावरण विनासको मुद्दा उठाएर लेखिएको छ यो कथाकृति । वर्तमानमा मान्छेले विज्ञानको सहारा लिएर गरिरहेको पर्यावरण विनास तथा त्यसले पृथ्वीमा रहेको मानव सभ्यतामा पारेको प्रभावका बारेमा उजागर गर्नु कृतिको प्रयोजन रहेको छ । त्यसैले यो कृति एउटा खास मुद्दा विशेषमा आधारित छ । प्रयोजनका हिसाबमा एकोन्मुख छ कृति । विज्ञानका सूत्रका आधारमा वर्तमानमा कसरी, किन र कसले पर्यावरणलाई जोगाउनु पर्छ भन्ने आधारभूत सत्यहरूलाई आख्यानीकरणका माध्यमबाट उजागर गर्नु यो कृतिको अभिध्येय हो । देवेनकै शब्दमा — हाम्रा समाजमा चलिआएका विषमता, पर्यावरणप्रतिको अविवेकी कार्य, जीवजन्तुमाथि मानिसको हैकम आदिलाई पर्यावरणीय माइक्रोस्कोपमार्फत् पाठक समाजलाई देखाउन मन लाग्यो ।

डा. देवेन सापकोटा (असम)

जाहिर छ, कथाकार विज्ञानी विषयमा उच्च ज्ञान राख्छन् । उनीसँग देशविदेशको औपचारिक तथा अनौपचारिक अध्ययनका पउल बिटाहरू छन् । कथामा तिनै विज्ञानी ज्ञानका बिटामध्ये पर्यावरण तथा मानवेत्तर प्राणीका अधिकारको संरक्षण गर्नुपर्ने सप्रमाण तर्कहरू छन् । वनस्पतीका अधिकारका कुरा छन् । ती ज्ञानका पुञ्जमा आउने विषयमा सैद्धान्तिक प्रश्न उठाउने मेरो अध्ययन तथा क्षेत्र होइन । उनले तत् विषयमा आलेख वा निबन्ध/प्रबन्ध नलेखेर आख्यान निर्माण गरेका छन् । यद्यपि विज्ञानका ज्ञान तथा सूचनाका सूत्रलाई आख्यानीकरण गर्नु निकै जटिल काम भने हो । यस्तो जटिल विषयमा उनले कलम कुदाएका छन् । यो नै स्तुत्य कुरा हो । आख्यानीकरण भन्नु कल्पनाशीलता, दृश्यात्मकता, घटना सापेक्षता तथा कलात्मकताको संयोजन हो । यस्तो अवस्थामा सिद्धान्तको वजनका कडीमा आख्यानीकरण निम्छरो हुने खतरा त रही नै रहन्छ । यही दुई चेपबाट आलेख जन्मिने प्रसव वेदनामा छ ।

कथाकृतिमा पन्ध्र ओटा कथाहरू प्रस्तुत भएको छ । तथापि कृतिभित्रका कथ्य प्रयोजनलाई सजिलोका लागि मूलतः एकै धारको तीन भँगालामा विभक्त गर्न सकिन्छ ।

पहिलो भँगालोको अन्तर्य मान्छेले निर्माण गरेको सभ्यतामा मान्छेले परम्परादेखि गर्दै आएको पशुमाथिको ज्यादतीलाई उजागर गर्नु रहेको छ । वास्तवमा मान्छेले मान्छेका प्रति मात्र होइन, समग्र जीवजन्तुप्रति गर्ने असहिष्णु चरित्रलाई कथासङ्ग्रहमा सउदाहरण, ससिद्धान्त, सधार्मिक आधारमा खुट्याइएको छ ।

यस्ता कथाहरूमा ‘रातो टीको लगाएको बोको’, ‘भाले जुधाइ’, ‘चोरीसिकारी र कमलजङ्गको सङ्ग्राम’, ‘ब्रह्मादको अन्तिम चित्कार’, ‘न्यायको तराजुमा टमी’, ‘बिचरा निमुखो परेवा’, ‘वातावरण मैत्री कफिनभित्र राज चौधुरी’ आदि रहेका छन् ।

उपरोक्त कथाहरूमा कथाकारले समाजमा प्रचलित अमानवीय, अधार्मिक, अविवेकी बलि प्रथामाथि प्रहार गरेका छन् । आफ्ना सन्तानलाई भन्दा आगर गरेर हुर्काएको बोकालाई निर्ममतापूर्वक बलि दिने धार्मिक अन्धविश्वासमाथि प्रश्न उठाएका छन् । बलि प्रथाको बीभत्स र क्रूर दृश्य चित्रित गरिएको छ । कथामा उनले प्रयोग गरेको भाषा नै निकै मार्मिक छ — बालख अवस्थादेखि नै मलाई उनले हुर्काएका हुन् । सानामा आमालाई गुमाउनु पर्दा उनैले मलाई बोतलमा दूध खुवाएका हुन् ।’ यसैगरी उनले कुखुराको भाले जुधाइको बीभत्स दृश्य पनि देखाएका छन् । तिलस्मी खालको लाग्ने यो कथामा निर्धो भाले जुधाएर रमाइलो गर्ने मान्छेको चरित्रका बारेमा विद्रोह पनि गरेका छन् ।

पृथ्वी सबैका साझा हो भन्ने विश्वव्यापी अवधारणाका मान्यताका आधारमा पशु अधिकारका कुरा उठाइएको छ । चोरीसिकारी गर्ने प्रवृत्तिमाथि नियन्त्रण गर्ने प्रयत्नको प्रसंसा गरिएको छ । खास गरी गैँडाको प्रसङ्ग झिकेर पशुको महत्त्व दर्शाइएको छ । कथ्य प्रयोजनको सार मानिस एक मूर्ख प्राज्ञिक प्राणी हो भन्ने रहेको छ । एउटा हात्ती र माउतेको प्रेमको कथामा हात्ती सम्बन्धी धार्मिक मान्यता प्रस्तुत गरिएको छ । मान्छे र हात्तीको प्रेम कथा कारुणिक तथा मार्मिक छ । मान्छे र कुकुरको सम्बन्ध युगौँयुग देखिको हो ।

कथाकारले कुकुर र मान्छेको सम्बन्धलाई केलाइएका छन् । मान्छेले कुकुरप्रति गर्ने गरेको कृतघ्न व्यवहारका आधारमा के टमीमाथि उचित न्याय होला ? भन्ने प्रश्न उठाएर पशु अधिकारका कुरालाई जोड दिएका छन् । त्यस्तै एउटा घाइते निमुखा परेवालाई पत्रकारले राष्ट्रिय अन्तर्राष्ट्रिय झगडाको तारो बनाएका छन् । भारत पाकिस्तानको विषय बनाएर परेवालाई मारेको कथावस्तुलाई मार्मिक तरिकाले वणर्न गरिएको छ । धनेसको जीवनकथा छ । वातावरणमैत्री स्वविघटित हुने कफिन बनाउने योजनालाई सकारात्मक रूपबाट प्रस्तुत गरिएको छ । विश्वबाट लोप हुन थालेका डोडो चराको सूचना तथा पिरलो छ कथाकारलाई ।

अर्को कुरा, यो कृतिभित्रका कथाहरूमा प्राणीका अधिकारका बारेमा मात्र प्रश्न उठाइएको छैन । वनस्पतिको अधिकारका बारेमा पनि विषय उठाइएको छ । मान्छेले वनस्पतिमाथि पनि ज्यादती गरिरहेको वर्तमान विश्वको परिदृश्यमा विज्ञानका सूत्रको सहारा लिएर विश्व पर्यावरणमा परिरहेको नकारात्मक प्रभाव तथा त्यसलाई निमिट्यान्न पार्नुपर्ने वा न्यूनीकरण गर्नुपर्ने विषय उठान भएको छ ।

यसरी वनस्पतिको अधिकारलाई अग्र भागमा राखेर लेखिएका कथामा ‘बोन्साइ’ एउटा हो । बोन्साइका फाइदाहरू बताउँदै कथाकारले श्रीमती पात्रका माध्यमबाट वनस्पतिको अधिकारका कुरा उठाएका छन् । यसरी — रुखहरू प्रकृतिका सन्तान हुन्, मुक्त आकाशमुनि खुल्ला हावामा हुर्कन्छन् । तपाईँले तिनलाई बाउन्ने बनाएर कोठाभित्र थुनेर राख्नु हुन्छ । आजीवन कत्रो कष्ट भोगेका होलान् तिनले । मलाई चाहिँ यो अप्राकृतिक कार्य जस्तै लाग्छ ।’ यो कथामा रुखका लागि कसले सोच्ने ? भन्दै बोन्साइ मनोविज्ञान तथा आर्तनादका बारेमा कथाकार चिन्तित छन् ।

यसै आधारमा लेखिएको अर्को कथा हो ‘वरपीपलको दुःख’ । वरपीपलले दिने अक्सिजन, वायुमण्डललाई चिस्याउन प्रवाह गरेका जलकण आदिका बारेमा सउदाहरण महत्त्व बताइएको छ । बढ्दो ग्लोबल वार्मिङको कहरको बिचमा पृथ्वीको अवस्था तथा वनस्पतिका लागि स्वार्थी मान्छेको चित्रण कथाको अभिध्येय रहेको छ । वैज्ञानिक कारणले मात्र होइन, धार्मिक कारणले पनि वरपीपलको रुख काट्न नमिल्ने तर्क पेस गरेका छन् ।

‘अशिक्षित ज्ञानी वातावरणमैत्री’ शीर्षकको कथा पनि वनस्पतिको महत्त्व तथा अधिकारका बारेमा लेखिएको छ । वातावरण विनासका लागि मान्छे नै शत्रु रहेको यथार्थ पस्कँदै मन्दिरमा समेत भइरहेको वातावरण विनासबारे चिन्ता प्रकट गरेका छन् । अशिक्षित दमयन्तीले पर्यावरण संवर्धनका लागि बिरुवा तथा रुख रोपाएर पृथ्वीको हरियाली बढाएको कथानक प्रस्तुत भएको छ ।

डा. देवेनको यो कृतिमा उजागर भएको तेस्रो भँगालो भनेको मान्छेले चाहे मानव वा मानवेत्तर प्राणीमाथि गरेको दमन, ज्यादती वा दुष्कर्म होस् वा वनस्पतिमाथि गरेको अविवेकी क्रियाकलाप होस, ती सबैले मानव सभ्यता तथा अस्तित्व सङ्कटमा रहेको कुरा कथामा अभिव्यक्त गर्नु रहेको छ ।

यस्ता खाले कथामा ‘शिवकुमार कस्सो धौला पुगेछन्’,  ‘आतसबाजी गर्ने राउन्नेहरू’,  ‘नीलिमा उम्किन पाउलिन् त ?‘, ‘प्लास्टिक खाने जीवाणु’,  ‘माटाको थुप्रो’ जस्ता कथाहरू रहेका छन् । यी कथामा सहरको प्रदूषित वातावरणले गर्दा बेरामी परेर आफ्नै गाउँ धौला पुगेर सञ्चो भएको कथानकदेखि लिएर विविध समारोहमा गरिने गरेको आतसबाजीले मानव तथा मानवेत्तर प्राणीका जीवनमा पारेको प्रभावलाई वैज्ञानिक तथ्यका साथ उजागर गरिएको छ । मान्छेले अन्नबालीमा प्रयोग गर्ने किटनाशकले गर्दा मान्छे आफैँले विष सेवन गरिरहेको कुरालाई नीलिमा पात्र खडा गरी प्रेम प्रसङ्गका साथमा रसिलो तरिकाले उजागर पनि गरिएको छ । विजया शर्मा र तेजबहादुर सार्कीको प्रेम प्रसङ्गका माध्यमबाट प्लास्टिक खाने जीवाणु निर्माण गरिरहेको कुरा दर्शाएको छ । रित्तो पोलिथिनको प्रयोगले वातावरणमा देखा परेको समस्या र त्यसको सदुपयोग गर्न सुझाइएको छ ।

कृतिभित्र अब्बल र अस्मेल विशेषताहरू समावेश भएको देखिन्छ । विषयवस्तुका हिसाबमा पर्यावरण जोगाउने अभिप्रायका साथ यो कृति आएकाले आफैँमा विशेषतायुक्त छ । यस विषयमा नेपाली साहित्यमा त्यति धेरै कृति नलेखिएको परिवेशमा यो कृतिले भारत असममा मात्र होइन, समग्र नेपाली साहित्यमै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कृतिभित्र समेटिएका प्राय सबै कथाहरूको कार्यपीठिका असम भारत रहेको छ । प्रत्यक्ष रूपमा पर्यावरणसँग सम्बन्धित भए पनि कथ्य निर्माणको सिलसिलामा पूर्वोत्तर भारत याने कि ग्रेटर असमको सभ्यता, संस्कृति, भाषा तथा स्थानीयता जस्ता महत्त्वपूर्ण विषयहरू कृतिको विशेषता भएर आएका छन् ।

पर्या विषयमा कथावस्तु तुनिरहँदा आख्यानीकरणलाई बलियो पार्न कथावस्तु तथा घटनाक्रमको लागि परिवेश निर्माण गर्ने शैली ज्यादै राम्रो छ । घटनालाई आख्यानीकरण गर्न अति आवश्यक रहेको सुन्दर परिवेश निर्माणमा कथाकारको विशिष्टता देखिन्छ ।

कृतिको अभिध्येय नै एकोन्मुख छ । पर्या विषयलाई केन्द्रमा राखिएको छ । यो विषयमा त्यति धेरै कथा लेखिएको छैन । यसो भएकाले विषयवस्तुका हिसाबमा नवीन छ कृति । कृतिभित्र असमको सुवास छ । कतिपय शब्द र पद असमका रैथाने छन् भने कतिपय विज्ञानसम्मत शब्द छन् । रैथाने बिम्ब चेतना, परिवेश र भूगोल पनि छन् । भाषामा जादु र परिष्कार देखिन्छ । बिम्बको प्रयोग अत्यन्त बलशाली छ । उदाहरण —‘तिमी प्वाँख उघारेकी मुक्त चरी हौ । धोको पुगुन्जेल उडिराख सम्भावनाको नीलगगनमा (पृ. १३८) ।

कृतिभरिका भाषामा प्रतीक, बिम्ब र सादृश्यको प्रचुर प्राधान्य छ । दृष्टान्त तथा बिम्ब अब्बल छन् । ‘उनको तन्द्रा मिलिक्कै उडाइ लग्यो हुन्डरीले सुकेको पत्करलाई उडाए सरि । मुटुको धड्कनले रकेटको बेग टिप्यो । करिस्माको केशजस्तै घना थियो जङ्गल’ यी उदाहरणहरू कृतिकारका हुन् । यसले कृतिलाई थप साहित्यिक बनाएको छ । कृतिभित्र उखानको पनि असाध्य धेरै ठाउँमा प्रयोग भएको छ । यसरी उखानको प्रयोग गर्नाले भाषामा लालित्य मात्र होइन, शब्द भण्डारमा पनि सशक्तीकरण हुन जान्छ । कृतिभित्र सादृश्यको प्रयोगमा कुशलता देखिन्छ । ‘अम्रो खाएको लैनो गाईजस्तो भएको छ गुवाहाटी सहर आजभोलि । जिउ चाहिँ पोटिलो तर दूधै नदिने’ कृतिभित्रका सादृश्य शिल्प हुन् ।

प्रायः सबै कथाको केन्द्रीय शैली करुणा भाव हो । करुणा भावले पाठकको हृदयलाई पल्लवित बनाइदिन्छ । प्राणी तथा वनस्पतिसँग माया तथा प्रेम हो । दया, माया, त्याग, तपस्या, बलिदान जस्ता हृदयका विषयहरू कृतिभित्र यत्रतत्र पाइन्छ । मान्छे, मानवेत्तर प्राणी तथा वनस्पतिका बिचमा हुनुपर्ने प्रेम, अनुशासनलाई प्रेमिल भाषामा उजागर गरेर सुन्दर संसारको कल्पना गरिनु कृतिको विशेषता हो ।

कथाकार डा देवेन सापकोटाले कथाभित्र भरमार तथा स्वादिलो तरिकाले प्रकृति चित्रण गरेका छन् । उनको यो शैली निकै रोचक छ । पर्याका विषयलाई उजागर गर्दा प्रकृतिमा देखिएको मनमोहक दृश्यलाई दुरुस्त उतारेका छन् । कृतिको यो पनि महत्त्वपूर्ण विशेषता हो ।

कथाकार डा देवेन जीवश्रेष्ठ मानिसको निर्बोध पशुमाथि निर्मोह अत्याचार (३६) भएको देखेर दिग्दार भाव व्यक्त गर्छन् । वनस्पतिमाथि भएको ज्यादतीलाई पनि नजिकबाट पर्गेल्छन् । र, कतै दुखी हुन्छन् । कतै अर्ती उपदेश दिन थाल्छन् । उनको विज्ञता कृतिभरि यत्रतत्र देख्न पाइन्छ ।

पर्यालाई केन्द्रमा राख्दा राख्दै कथाकार डा देवेनले समाजमा महिलाको सामर्थ्यलाई सुन्दर तरिकाले वर्णन गरेका छन् । अथवा महिला सशक्तीकरणको विषयलाई अप्रत्यक्ष रूपले उठाएका छन् । सत्य घटनालाई जस्ताको तस्तै उठाएर आख्यान निर्माण गर्ने शिल्प देखिन्छ । ब्रह्मादत्तन हात्ती र माउते दामोदरन नायरको कथामा आधारित कथा लेखिनुले यही कुरा पुष्टि गर्छ ।

यो संसारमा पूर्ण केही छैन । सत्य केही छैन । हामीले सत्य भनेका कुरा अर्द्ध सत्य हुन् । अर्द्ध सत्य भनेको अर्द्ध असत्य पनि हो । यही अपूर्णता नै जीवनको धरो हो । तथापि सोही अपूर्णताभित्र पूर्णता, अर्द्ध असत्यका बिचमा अर्द्ध सत्य खोज्नु जीवन हो । सत्य असत्य भन्नु पनि परिवेशीय तथा द्रष्टाभोक्ताको चेतीय अवस्था हो । पाठक भन्नु पनि यही द्रष्टाभोक्ता अनुभूति मात्र हो । यसै धरातलमा राखेर कृतिका धाँजालाई हेर्ने यत्न गरेको छु ।

कृतिको मूल शीर्षक आकर्षक महसुस हुन्छ । तर पाठशीर्षक भने त्यत्ति चित्ताकर्षक नभएको हो कि भने झैँ लागेको छ । पाठ शीर्षक लामा छन् । चुस्त छैनन् । याने शिल्पीय छैनन् । कृतिभरि शुद्धाशुद्धिमा त्यति सम्पादन पुगेको जस्तो लाग्दैन । कृतिको शीर्षकमा ‘पृथिवी’ लेखिएको छ, जबकि पाठभित्र ‘पृथ्वी’ नै उल्लेख भएको छ । कृतिभरि यस्ता कुरामा एकरूपता भएको भए हुन्थ्यो भन्ने लागेको छ । कथाको बुनौटमा पनि त्यति ख्याल गरिएको जस्तो लाग्दैन । प्रसङ्ग परिवर्तन भइसक्दा पनि अनुच्छेद परिवर्तन नगरिएको जस्तो लाग्छ । भाषिक शुद्धाशुद्धि जस्ता प्राविधिक कुरामा कम ध्यान दिएको हो कि भन्ने प्रतीत हुन्छ ।

यद्यपि विज्ञानका सूत्रहरूलाई आख्यानीकरण गर्न निकै जटिल काम हो । तथापि कथा विनिर्माण गरिसकेपछि त्यसलाई हेर्ने एउटा महत्त्वपूर्ण कसी भनेको आख्यानात्मकता हो । कृतिलाई आख्यानात्मक कसीबाट हेर्दा विवरणात्मक तथा बयानात्मक भएको महसुस हुन्छ । किनभने कथामा पात्र तथा घटनाका माध्यमबाट कथ्यप्रयोजन व्यक्ताउनु पर्ने हुन्छ । तर यो सङ्ग्रहमा पात्र तथा घटना भन्दा लेखकको ज्ञान तथा सूचना हाबी भएको देखिन्छ । स्वाभावैले कथाकारको ध्यान पर्यावरणका सूचनामा केन्द्रित छ । ती सूचनालाई कथ्यमा मिलाउँदा कथ्य तादात्म्यमा फेर आएको पनि देखिन्छ ।

‘विचरा निमुखो परेवा’ कथामा परेवा मारिएको मार्मिक कथा, वातावरण तथा जलवायु परिवर्तनको टोरन्टो सम्मेलन तथा भुटानी शरणार्थीको कथा छ । एउटै शीर्षकभित्र यति तीन सूचना प्रवाह गर्न खोजेकाले कथ्य तादात्म्य मिलाउन गाह्रो परेको छ ।

यसो भएकाले प्रस्तुतिमा तथा आख्यानीकरणमा कथाहरू त्यति तिलस्मी आकर्षक छैनन् । सम्पादनमा अलि हतार भएको हो कि जस्तो पनि लाग्दछ । कथामा एउटै पात्रका दुइटा नाम प्रयुक्त छ (रने कि नरे पृ.१२७) । यसले कथानकमा केही अलमल भने ल्याएको अनुभूत हुन्छ ।

अब यो आलेखको पुछारतिर आइपुगेको छु । म यो सत् सूचनाका लागि कथाकारलाई के भनी धन्यवाद टक्र्याऊँ भनेर सोचिरहेको छु । यो कृति मान्छे हुनुको दायित्वबोधबाट आएको छ । यो कार्य नै स्तुत्य हो ।

कृतिमा गहन भूमिका लेखेर कृतिको गाम्भीर्य तथा अन्तरकुन्तर केलाउनु भएको छ प्राडा गोविन्दराज भट्टराईले । यसले कृतिको महत्तामा लाहाछाप लगाएको छ । मेरा मनमा भने भूमिका लेखकले सबै कथाको सार लेखिदिने कि नलेख्ने भन्ने कुरा खेलिरहेको छ । सारमा भन्ने हो भने डा. गोविन्दराज भट्टराईले भने झैँ देवेनका कथामा कलाशिल्पभन्दा सिद्धान्तको भार गह्रुङ्गो छ । यो भनाइसँग म शतप्रतिशत सहमत छु । सायद विज्ञानका सूत्र तथा सन्देशलाई आख्यानीकरण गर्नु जोखिम कार्य नै हो । यो जोखिम उठाउनु नै महत्त्वपूर्ण कार्य हो । तथापि आख्यानीकरणका कसीमा राखेर हेर्दा भने थप कलात्मकताको आवश्यकता रहेको प्रस्ट हुन्छ ।

कथाकार डा. देवेन विज्ञानका सूत्र तथा सन्देश तथा वेद पुराणमा वर्णित प्राणी तथा वनस्पतिको महत्त्वको अन्तर्यलाई एकाकार गरी अभिध्येय औचित्य पुष्टि गर्न खप्पिस देखिन्छन् । यसले कथाकारको आख्यानीकरण शिल्पलाई प्रकटीकरण गरेको छ ।

वास्तवमा यो हाम्रो साझा सम्पत्ति पृथ्वी सङ्कटमा छ । मानव सभ्यताले गरेको अतिक्रमणले गर्दा सुस्केरा हालिरहेको छ । यही सुस्केराहरूलाई पहिचान गर्दै कथाकार डा. देवेन सुस्केराका धुकधुकीहरू पर्गेल्दै छन् । धमनी तेज गतिमा चलिरहेको छ । धुकधुकीको आवाज संसारभरि व्याप्त छ । यसलाई मत्थर कसले पार्ने भन्ने चिन्तन कथावस्तुको सार रहेको छ ।

र, अन्त्यमा कथाकार डा. देवेन सापकोटाको विज्ञानी ज्ञान र सामाजिक चिन्तनले यस्ता मानव दायित्व बोकेका कृतिहरू निस्किरहुन भन्ने शुभकामना छ । यही कृतिका आधारमा पनि मान्छेमा चेत फिरोस् भन्ने कामना गर्छ ।

र, समापनमा पृथ्वी गोल छ भन्ने विज्ञानी सूत्रका आधारमा आशावादी सोच पालेको छु । कसो फेरि भेट नहोला त डा. देवेन !

सान मार्कोस, अमेरिका