स्याङ्जाका प्रगतिशील प्रतिभाहरूमध्ये पुरानो पुस्तामा केदार शर्मा ढकाल (वि.सं. १९८६–२०७७) को नाउँ अग्रपङ्क्तिमा आउँछ । ढकाल शिक्षण र सम्पादनमा पनि लागिपरेका व्यक्तित्व हुन् । उनको लगभग चार दशकको समय शिक्षण पेसामा बितेको देखिन्छ भने ‘साहित्य धारा’, युगभाषा’ लगायतका विभिन्न पत्रपत्रिकाको उनले सम्पादन गरेको पाइन्छ । ढकालका ‘आँसु र पसिना’ (कविता सङ्ग्रह, २०१५), ‘बाँच्न गाह्रो भो’ (निबन्ध सङ्ग्रह, २०४७), ‘जीवन सङ्घर्षको चक्कर ठक्कर’ (निबन्ध सङ्ग्रह, २०५८), ‘केदार शर्मा ढकालका केही कविता र काव्य’ (२०६५), ‘केही रचना: केही सम्झना’ (२०६६) आजसम्म प्रकाशित साहित्यिक कृतिहरू हुन् ।
वि.सं. २००८ बाटै काव्यिक यात्राको थालनी गरेका ढकालको पहिलो काव्यकृति ‘आँसु र पसिना’ (२०१५) पछि उनले पञ्चायत कालभरि फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा केही रचना प्रकाशन गरे पनि अर्को कुनै कृति प्रकाशमा ल्याएनन् । जब २०४६ सालको जनआन्दोलनबाट बहुदलीय शासन पद्धतिको पुनर्स्थापना भयो तब ढकालका साहित्यिक कृतिहरू क्रमशः प्रकाशमा आउन थालेका देखिन्छन् । कविताका अतिरिक्त उनले निबन्धलाई पनि आफ्नो रुचिको विधा बनाएका छन् । सङ्ख्यात्मक दृष्टिले हेर्दा उनका कवितात्मक भन्दा निबन्धात्मक कृति नै बढी प्रकाशित देखिन्छन् ।
वि.सं. २०१५ मा प्रकाशित ‘आँसु र पसिना’मा जम्मा बत्तिस ओटा कविता सङ्गृहीत छन् । सिङ्गो कृति दुई खण्डमा विभाजित छ । खण्ड एकमा पद्य शैली र खण्ड दुईमा गद्य शैलीका कविताहरू छन् । यी सम्पूर्ण कविताहरूको अध्ययन गर्दा ढकालका कवितामा देशप्रेम तथा राष्ट्रवादी चेतना, मानवतावादी भाव, जातीय स्वाभिमान, प्रकृतिप्रेम लगायतका थुप्रै विशेषता पाइन्छन् । आजभन्दा लगभग छ–सात दशक पुरानो नेपाली समाज र तत्कालीन विश्व परिवेशलाई उनले यस सङ्ग्रहका अधिकांश कवितामा प्रतिविम्बन गरेका छन् । प्रायः कविताहरू तत्कालीन नेपालीहरूको जनजीविकासँग सम्बन्धित छन् ।
अधिकांश कवितामा कविभित्रको भौतिकवादी चेतनाको प्रकटीकरण भएको छ । सङ्गृहीत बत्तिसमध्ये अधिकांश कविता क्रान्तिधर्मी विचारबाट प्रेरित छन् । तत्कालीन विश्व परिवेशमा केही समय पहिलेको सोभियत रुसमा स्थापित समाजवादी व्यवस्था र हाम्रै छिमेकी मुलुक चीनमा सम्पन्न क्रान्तिबाट कवि प्रभावित देखिन्छन् र त्यो प्रभाव यस सङ्ग्रहका धेरै कवितामा देख्न सकिन्छ । किसान तथा श्रमिक वर्गको मुक्तिका लागि सङ्गठित क्रान्ति नै पहिलो आवश्यकता हो भन्ने यथार्थबोध कविलाई भएको छ । यसमा सङ्कलित अधिकांश कवितामा क्रान्ति चेतना प्रबल रूपमा आएको हुँदा यस लेखलाई पनि त्यसैतर्फ मात्रै केन्द्रित गरिएको छ ।
हाम्रो नेपाली समाज धार्मिक अन्धविश्वास, धर्मका नाउँमा गरिने कुकर्म र रूढिले ग्रस्त समाज हो । यहाँ पुर्खाकै पालादेखिको बिरालो बाँधेर श्राद्ध गर्ने प्रवृत्ति यथावत् छ । आजको यस वैज्ञानिक युगमा विविध आविष्कारका कारण भौतिक सुखसुविधाहरू बढिरहेका छन् । ज्ञानको क्षितिज फैलिरहेको छ, चेतनाको स्तर बढिरहेको छ । प्राचीन समयका कल्पनाहरू आज यथार्थमा परिणत भइरहेका छन् । आँगनको डिलमा उभिएर अर्घ चढाइने चन्द्रमामा आज मानिसले पाइला टेकिसकेका छन् । हामी अहिले पनि पुर्खाकै पुरातन शैलीमा सप्ताह – पुराण लगाइरहेका छौँ, सत्यनारायणको पूजा र रुद्री गरिरहेका छौँ । पश्चिमाहरू समयको महत्वलाई बुझेर अगाडि बढिरहेका बेला हामीले पुराण सुनेर असार मनाउने गरेका छौँ । अस्तित्वमै नरहेका देउताको महिमागान गरिरहेका छौँ ।
समाजका केही टाठाबाठा भनाउँदा र फट्याइँ गर्न जान्ने ब्राह्मणहरूले पुरेत बनेर सर्वसाधारणहरूमा भ्रमको खेती गर्दै हुँदै नभएका ईश्वरका बारेमा अनर्गल प्रचार गरेर धार्मिक अन्धविश्वास फिँजाइरहेका छन् । हाम्रो समाज पुरेतहरूको पुरोहित्याइँमा विश्वास गर्दै स्वर्ग जाने सपना देख्छ । कस्तो विडम्बना ! हामीलाई मुक्ति दिलाउने सपना बाँड्छन् पुरोहितहरू ! अशिक्षाले जकडिएको समाज जहाँ अचेतना छ, अज्ञान छ, अन्धकार छ त्यस्तो समुदाय-समाजले टाठाबाठा भनिने पुरेतका कुरामा विश्वास गर्नु स्वाभाविक पनि छ । हामीसँग पैसा उठाएर स्वर्गको ढोका खोलिदिने ठेक्का लिने धर्मभीरू ठेकेदारहरूको कविले उछित्तो काढेका छन् । यस किसिमको धार्मिक कुप्रवृत्तिप्रति कविले तीव्र व्यङ्ग्य प्रहार गर्दै लेखेका छन्:
ब्याहा, बर्तुन, रुद्री गर्छौं
साँचो–मोचो स्वाहा पार्छौं
उप्रेत बाजे पैसा लान्छन्
स्वर्ग लग्ने ठेक्का लिन्छन्
(यस्तै हाम्रो चालामाला, पृ. ६ )
कवि ढकाल आफ्ना कवितामार्फत समानताको संसार बनाउन चाहन्छन् । उनले यस संसारलाई सुन्दर बनाउने सपना देखेका छन् । त्यस सपनालाई उनी विपनामा परिणत गर्न चाहन्छन् । यस सङ्ग्रहका कविताहरू पढ्दा कवि निराशावादी देखिँदैनन् । आफ्ना कवितामा उनले आशाका स्वरहरू गुन्जाएका छन् । अन्धकारले सधैँभरि साम्राज्य जमाउन सक्दैन । भोलि अवश्य पनि सुनौलो दिन उदाउने छ र आज अन्धकारमा थुनिएकाहरूको अनुहारमा खुसी छाउनेछ भन्ने कुरामा कवि विश्वस्त छन् ।
एउटा वर्ग सम्पन्न र अर्को वर्ग विपन्न देख्दा कवि कतै चिन्तित र कतै आक्रोशित बन्न पुगेका छन् । वर्गविभक्त समाजमा निम्न वर्गलाई घोडा बनाएर सयर गर्नेहरूप्रति कवि आक्रोशित छन् । घोडाहरू दिनरात थिचिँदै र दुब्लाउँदै गएको सामाजिक सत्यलाई प्रस्तुत गर्दै उनी धनी र गरिब बिचको भेदभाव हटाउन चाहन्छन् । सामन्त तथा जमिनदारहरूले सर्वहारा वर्गप्रति गर्ने अन्यायलाई कविले देखिसहेका छैनन् । ‘ठुलो निल्ने, सानो निलिने – न्याय यस्तो अझ कति रहला ? (कहिले होला ? पृ. ९) भन्दै कवि अन्यायी–अत्याचारी प्रवृत्ति र त्यस वर्गका विरुद्धमा उत्रिएका छन् ।
किसानहरू मिहिनेती हुन्छन् । परिश्रममा विश्वास गर्छन् । दिनरात पसिना बगाउँछन् । उनीहरूमा आफू मात्रै नबाँचेर अरूलाई समेत बचाउने सामर्थ्य हुन्छ । हाम्रो देशका वास्तविक किसानहरूसँग खेतीयोग्य जमिन थोरै छ । उनीहरू जमिनदार तथा सामन्तहरूको जमिन कमाउँछन् । मोहियानी हक पाउँदैनन् । बाली भित्र्याउने बेलामा जमिनदारले उनीहरूको पसिना मात्र नभई हकअधिकार समेत लगेर आफ्नो भकारी भर्छन् ।
आजभन्दा लगभग पौने शताब्दी पहिलेका हाम्रा किसानहरूको दयनीय अवस्थालाई सङ्ग्रहको ‘ए कृषक ! भीषण क्रान्ति चाहियो’ शीर्षकको कवितामा औधी राम्रोसँग चित्रण गरिएको छ । कवि काममा मात्रै मस्त हुने तर आफ्नो हकअधिकारका लागि मुख खोल्न नचाहने अर्थात् मुख खोल्नै नसक्ने निमुखा किसानहरूमा कवि यस कविता मार्फत क्रान्तिको ऊर्जा भर्न चाहन्छन् । यद्यपि यो कविता सिर्जना गरिँदाको समय र आजको समयमा पनि किसानहरूको अवस्था उस्तै छ । फरक केही छैन । उन्नत बीउ र मलको अभावमा आज पनि किसानका पखेरा र टारीहरू बाँझै छन् । धान रोप्ने बेलामा किसानलाई मल दिन सकेको छैन सरकारले । नहर, कुलाको प्रबन्ध मिलाउन सकेको छैन राज्यले ।
किसानहरू राज्यद्वारा अपमानित छन्, तिरस्कृत छन् । उनीहरूका मागको सुनुवाइ भएको छैन । जसलाई सम्मान तथा पुरस्कार दिनु पर्ने हो उसैलाई अपमानको बर्सात गराउँछ राज्य ! यसरी अपमानित भएर कतिञ्जेल बस्ने ? अब त तिरस्कृतहरू पनि जुरमुराउनु पर्छ । आफ्नो हकअधिकारका लागि किसानहरू सङ्गठित हुनु आवश्यक छ, सङ्गठित चेतनाले नै विद्रोहलाई सशक्त बनाउँछ । किसानहरूलाई अधिकारका लागि सङ्घर्षमा जुट्न प्रेरित गर्दै कविले माटासँग जुध्ने शक्तिले अब जमिनदारसँग जुध्नुपर्छ भन्ने पक्षमा यसरी वकालत गरेका छन्:
गरौँ आ पहिले क्रान्ति सबै मिली
तोडौँ गढ सामन्ती शोषकको
अनि श्रम गरौँला जीवन सार्थक होला
(ए कृषक ! भीषण क्रान्ति चाहियो, पृ. १२)
आफूलाई सभ्य बनाउ चाहने सुकिलामुकिलाहरूले झुत्रेझाम्रे गरिबहरूलाई तिरस्कार गर्दछन् । तिनै भुत्रेझाम्रेहरूको मुजा परेका अनुहार देखाएर विदेशीसँग झोली थापी आफ्ना शाखा सन्ततिका लागि सम्पत्ति थुपार्दछन् । हाम्रो समाजमा एकातिर यस्ता बदमासहरू छन् भने अर्कातिर दुई मुट्ठी प्राण धान्नका लागि एक पेट खाएर बाँच्नेहरूको लर्को पनि यही देशमा छ । कवि ढकालले बाटामा भेटिएको एउटा दीनहीन माग्नेलाई शब्दचित्रमा उतार्दै यो मान्छेकै प्रजातिमा पर्छ कि पर्दैन ? के तिमीले यसलाई चिनेका छौ ? भन्दै समाजका सुकिला भनिनेहरूसँग प्रश्न गरेका छन् । मान्छेलाई माग्ने बन्न बाध्य कसले तुल्याउँछ ? मान्छे गरिब र माग्ने कसरी हुन्छ ? कसैका भव्य महल र कसैका लागि ओत बस्ने छाप्रोसम्म नहुने अवस्था कसले सिर्जना गरेको हो ? सुकिलामुकिलाहरूले गरिब माग्नेलाई किन कुकुरको जस्तो व्यवहार गर्छन् ?
कविले सुकिला मान्छेहरूसँग गरेका प्रश्न हुन् यी । सत्य हो कि केही फटाहा सामन्ती संस्कारका पुँजीपतिहरूले आफ्नो आवश्यकताभन्दा बढी सम्पत्ति थुपार्ने प्रवृत्तिका कारण अधिकांश मानिसहरू दीनहीन अवस्थामा पुग्छन् । कविले बाटामा भेटिएको एउटा माग्ने मान्छेको विम्ब उतारी शोषकहरूप्रति गरेको व्यङ्ग्य यस्तो छ:
तिम्रो पालित कुकुर हो यो ?
कि त शोषणको नग्न स्वरूप ?
तिमीले चुसेको छोक्रा हो कि ?
भन त मैले ठम्याइन यो को हो ?
(मैले भेटेँ, पृ. १४ )
‘कवि तिमी यस्तो कविता लेख’ शीर्षकको कवितामा कवि ढकालले भ्रष्टहरूलाई आगो दन्काउने कविता सिर्जना गर्नका लागि अनुरोध गरेका छन् । कवि हाम्रो समाजका विषमतालाई चिर्न चाहन्छन् । यहाँको आर्थिक असमानता, जातीय एवम् लैङ्गिक विभेदलगायत हिंसा र शोषणजन्य प्रवृत्तिलाई खरानी बनाउने उद्देश्य लिएर स्रष्टाहरूले सिर्जना गर्नु पर्ने आग्रह उनको छ । जसले सुन्दर महलको निर्माण गर्छन् तिनै कर्मशीलहरू चुहिने छाप्रामा रुझ्दैभिज्दै जिन्दगी घिसारिरहेका हुन्छन् । उनीहरूले रगत र पसिना बगाएर न्यून ज्यालामा निर्माण गरेका महलमा शोषक, सामन्तहरूले रजाइँ गर्छन् । काम गर्नेहरू भोकै मर्न पर्ने अवस्थाप्रति कविले आक्रोश व्यक्त गरेका छन् । कस्तो विडम्बना ! जसले अरूलाई सताउँछन्, अरूको गाँस खोस्छन्, अरूकै पसिनामा डुबुल्की मार्छन् तिनीहरू नै हाम्रो समाजका सम्मानित व्यक्तित्वमा गनिन्छन् । यस्ता लुटाहाहरूको अन्त्य नभएसम्म हामीले चाहेको समाजको निर्माण हुँदैन । तसर्थ यस किसिमका दुष्प्रवृत्तिहरूका विरुद्धमा कलम चलाउनु कविहरूको कर्तव्य हो भन्ने विचार यस कवितामा छ ।
स्वार्थीहरू बहुसङ्ख्यकको हितमा काम गर्दैनन् । उच्च वर्गले उच्च वर्गकै स्वार्थमा ध्यान दिन्छ, आफ्नो वर्गको स्वार्थ पूरा गर्नका लागि उसले निम्न वर्गको स्वार्थमाथि प्रहार गर्छ । वर्गीय स्वार्थको टकरावमा निम्न वर्गले मुक्ति नपाएको अवस्था देख्नु र भोग्नुपर्दा कवि चिन्तित भएका छन् । समाजमा वर्ग रहेसम्म वर्गीय द्वन्द्व रहन्छ । सर्वहारा वर्गको मुक्तियुद्ध सफल नभएसम्म समाज रूपान्तरित हुँदैन; समाजमा समानता छाउँदैन । यस तथ्यलाई कवि ढकालले राम्रोसँग बुझेका छन् । तसर्थ उनले शोषणमा मग्न स्वार्थीहरूले दुर्बललाई कहिल्यै माथि उठ्न दिँदैनन् भन्ने यथार्थको अनुभूति गरेका छन् ।
कतिपय मान्छेमा दम्भ र दुर्भाव बढ्दै गएकामा कवि चिन्तित छन् । रूढि तथा अन्धविश्वासका विरुद्धमा पनि उनी उत्रिएका छन् । कवितामा नयाँ युगको चाहना अभिव्यक्त छ । उनी कविहरूले नयाँ राग अलाप्नु पर्नेमा जोड दिन्छन् । समाजलाई सुन्दर बनाउने सिर्जनाको अपेक्षा ढकालले कवि तथा लेखकहरूबाट गरेका छन् । कवि–लेखकहरूको दायित्व भनेको सिर्जनामार्फत अन्धकारलाई हटाउनु हो भन्ने भाव ‘कवि तिमी यस्तो कविता लेख’ कविताले बोकेको छ ।
उनी प्रगतिशील सोच नभएकाहरूलाई कवि मान्य तयार छैनन् । युवाहरूमा जोसको सिर्जना होस्, पाइलाहरू उन्नति पथतिर लम्कियुन् आलस्य हटोस् यिने भावमा कविका सिर्जनाहरू समर्पित होउन् भन्ने चाहना ढकालको देखिन्छ । उनको यस कविताका अनुसार यही धर्तीलाई सुन्दर तथा हराभरा पार्न सकिन्छ । स्वर्गको परिकल्पना गर्नेहरूले धरातलीय यथार्थमा ओर्लेर यही जगतलाई सुन्दर बनाउनुपर्छ भन्ने जस्तो भौतिकवादी चिन्तन समेत प्रवाहित प्रस्तुत कवितामा कविले असल काम गर्नेहरू नै देवता हुन् र देवता मान्छेभित्रै छ । तसर्थ मान्छेमा देवत्व जगाउनु पर्ने अर्थात् मान्छेबाट दानवता हटाएर मानवत्व भर्नु पर्ने आशय व्यक्त गरेका छन् । कविहरूलाई शिल्पकारमा आरोपित गर्दै आफ्नो सीपद्वारा कविहरूले यसै धर्तीलाई कुँद्नु पर्नेमा उनले जोड दिएका छन् । स्वर्गको परिकल्पनामा सिर्जना गर्नेहरूले बालकृष्ण समले जस्तै यही धर्तीमा ओर्लेर यसै धर्तीलाई स्वर्गसमान बनाउनु पर्ने आशय ढकालको पनि रहेको देखिन्छ ।
अपहेलितहरूको मुहारमा मुस्कान आई नसकेको भए पनि परिवर्तन अवश्यम्भावी छ । कवि परिवर्तन हुने कुरामा विश्वस्त छन् । उनी सुकिलो दिन आउने आशामा छन् । ‘यस दुनियाँमा परिवर्तनले – विश्राम कहीं कत्ति लिँदैन’ (परिवर्तन’ पृ. २२ ) भन्दै कवि आफ्ना कतिपय कवितामा यथास्थितिलाई चिरेर अग्रगमनतर्फ उन्मुख हुनुपर्छ भन्ने भाव पस्कन्छन् ।
‘आलोपालोसित रातपछि दिन र – दिनपछि रात आउन कर छ । यद्यपि लामो सफर छ’ (नत्र मलाई के रहर छ ? पृ. २३ ) भन्दै कवि क्रान्तिको बाटो छोटो र सहज नभएको महसुस गर्छन् । आँधी तुफानसँग जुध्दै र चट्टानहरू फोर्दै कवि अगाडि बढेर भिड्न चाहन्छन् । उनी यात्राबाट कदापि पछि हट्न चाहँदैनन् । ‘ठेस लागोस् लोटियोस्, तर घाउ पुछ्दै उठ्नु छ, पाथेय छैन पथ कठिन छ, पछि नफर्की अघि सर्नु छ, रात होस् या पानी दर्कोस्, उपल या अङ्गार बर्सोस्, शिर उठाई चल्नु छ, हिम्मत नहारी बढ्नु छ’ ( उही, पृ. २३ ) भन्दै कवि आफ्नो जीवनलाई सङ्घर्षको मैदानमा होम्न चाहन्छन् । उनी बिना सङ्घर्ष परिवर्तन हुन्छ भन्ने कुरामा विश्वस्त छैनन् । कवितामा उनले जीवनलाई सङ्घर्षको पर्यायका रूपमा लिएका छन् । कविको कान्तिप्रतिको आस्था र जीवनप्रतिको आशावादिता कवितामा यसरी व्यक्त भएको छ:
निराश छैन म आशा गर्छु
आफू यसै अलपत्र परूँ
अरूलाई पार तार्छु
हरेश नखाए सफल हुन्छ
यसैमा म विश्वास गर्छु
आफू गाडिएँ भने पनि
अरूलाई पार तार्छु
(उही, पृ. २५ )
बाटामा भीमकाय पहाड तेर्सिए पनि वा विभिन्न बाधा व्यवधानहरू खडा भए पनि कवि पछाडि फर्कन चाहँदैनन् । उनी स्वाभिमान गिराउँदै लत्रेर भुक्न चाहन्नन् । आफ्नो जीवन कालभर सङ्घर्ष गर्नुपर्छ भने त्यसका लागि पनि उनी तयार देखिन्छन् । आफू संलग्न भएको सङ्घर्षले पछि आउने पुस्तालाई सकारात्मक परिणाम दिनेछ भन्ने कुरामा उनी ढुक्क छन् । मान्छे मर्न मात्रै होइन बाँच्न पनि जन्मेको हुन्छ भन्दै उनले आफू जीवनप्रति आशावादी रहेको सत्यलाई कवितामा व्यक्त गरेका छन् ।
‘मिल्दैनौँ तिमी र म’ कवितामा कवि शोषकहरूले दच्काउँदैमा नदच्किने र लोभ्याउँदैमा नलोभिने प्रण गर्छन् । ‘अति भएपछि खति हुन्छ’ भन्ने भनाइलाई मनन गर्दै कवि सामन्तहरूको बलमिच्याइँले सीमा नाघिसकेको हुँदा अब त्यसको पतन पनि छिटै हुने विश्वास गर्दछन् । आफ्नो वर्ग एकजुट भएर उनीहरूका विरुद्धमा उत्रेपछि अत्याचारीहरूले घुँडा टेक्ने कुरामा विश्वस्त हुँदै उनी लेख्छन्:
तिम्रो स्वार्थले सीमा नाघ्यो
अति भो यो दानवी लीला
यसको विनाश अवश्यम्भावी छ
यसमा मलाई पूर्ण विश्वास छ
(मिल्दैनौँ तिमी र म, पृ. २७ )
आफ्नो शरीरमा तागत रहुन्जेलसम्म कविले यस अत्याचारका विरुद्धमा निरन्तर कलम चलाउने र कदापि विचलित नहुने कुराको उल्लेख गरेका छन् । तिम्रा लागि रजाइँ गर्ने यतिको विशाल दुनियाँ छ तर मेरा लागि खुट्टा टेक्ने ठाउँ छैन भन्दै कविले एक न एक दिन आफ्नो वर्गको पनि पालो आउने विश्वास व्यक्त गरेका छन् ।
कवि ढकाल नेपाली नारीहरूको दयनीय अवस्थाप्रति चिन्तित देखिन्छन् । २०१५ सालभन्दा पहिलेका नेपाली नारीहरूको दयनीय अवस्थालाई कविले कतिपय कवितामा विषयवस्तुका रूपमा प्रस्तुत गरेका छन् । वर्तमानमा हाम्रा नारीहरू जुन रूपमा सचेत छन् त्यस समयमा यही रूपमा थिएनन् । नारीहरू पुरुषबाट मात्र नभई नारीहरूबाटै पनि उत्पीडनको सिकार बनेका थिए । विशेष गरी नेपाली ग्रामीण भेगका बुहारीहरू सासूबाट पीडित थिए । पुरुषहरूको हैकममा नारीहरू बाँधिन बाध्य थिए । हाम्रो परिवेशमा यस्ता गाउँहरू पनि थिए जहाँ लोग्ने र सासू मिलेर निहुँ खोजी खोजी बुहारीलाई कुटेर रुवाउने चलन थियो । यसरी रुवाउन सक्नेहरू पुरुषार्थी ठानिन्थे । आफ्नै जहान तथा बुहारीलाई पनि दासीका रूपमा व्यवहार गरिन्थ्यो ।
कुनै महिला केही बोल्न खोजे भने पुरुषहरूले ‘पोथी बासे अलच्छिन लाग्छ’ भन्थे । आधा आकाश ढाक्ने महिलाहरूलाई सन्तान जन्माउने मेसिनका रूपमा मात्रै प्रयोग गरिन्थ्यो । उनीहरूको पीडा तथा रोदन घरभित्रै सीमित हुन्थ्यो । बाहिर निस्केर उजुरी गर्ने ठाउँ थिएन । महिलाहरूको कुरै सुनिँदैनथ्यो । उनीहरू पुरुषको अन्यायी जाँतामा पिनिँदै आएका थिए । कविले महिलाका यी दुःखद पक्षलाई केही कवितामा प्रतिबिम्बन गरेका छन् । नारीलाई पशुको रूपमा बेचबिखन गर्ने केही दलालहरू पनि हाम्रै समाजमा छन् । त्यस समयमा पनि अहिले जस्तै भारतका विभिन्न सहरमा लगेर दलालहरूले हाम्रा चेलीबेटी बेच्ने गर्थे । कविले त्यसरी बेचिएका नारीहरूको पनि शब्दचित्र उतारेका छन् । ‘नारीप्रति’, ‘बेचिएकी चेली’ लगायतका केही कवितामा कविले अब नारीहरूले यसरी यातना सहेर हुँदैन, आफ्नो हक अधिकारका लागि जुरमुराउनु पर्छ भन्ने सन्देश दिएका छन् र नारीलाई दमन गर्नेहरूको उछित्तो काढेका छन् ।
आँसु र पसिनामा सङ्ग्रहित ‘असन्तोष’ वैचारिक कोणबाट हेर्दा एक सशक्त कविता हो । यसमा हामीले भोग्नुपरेका प्रताडनालाई प्रस्तुत गरिएको छ । शताब्दीयौँदेखि हामी निस्पट्ट अँध्यारामा बस्यौँ । अन्य मुलुकहरू सम्पन्नताको शिखरतिर लम्किरहेका छन् तर हामी गरिबीको ढिकीमा कुटिएर झन्झन् गरिब हुँदै गइरहेका छौँ । अब हात बाँधेर बस्ने बेला छैन । भोलिका सुनौला दिनहरूका लागि हामी हेपिएका, लुटिएकाहरू एकजुट भई कम्मर कसेर लाग्नुपर्छ । कवि अब त अँध्यारो गुफाबाट निस्कनु पर्छ भन्छन् । ‘आँखा छन् तर अन्ध छौँ पशुसरी घुम्छौँ जता भो ततै (पृ. ३४ ) भन्दै उनले आँखा भएर पनि हामी अन्धा बनेको तर्फ सङ्केत गरेका छन् । हामीले अहिले पनि पाषाण युग बेहोरिरहनु परेको छ । हामी सङ्गठित रूपमा अगाडि बढ्न नसकेकामा कविको चिन्ता छ । यस कवितामा कवि साम्राज्यवादका विरुद्धमा उत्रिएका छन् । हाम्रा वीर पुर्खाहरूले पनि साम्राज्यवादी शक्तिलाई सहयोग गरेकामा कविको गुनासो यस्तो रहेको छ:
बोकाझैँ कति काटिए, कति मरे सङ्ग्राममा हाय ! ती
अर्काकै जय भो अकार्थ लडियो आफ्नो रह्यो यै गति ।
(असन्तोष, पृ. ३५ )
साम्राज्यवादीहरूको स्वार्थका लागि हाम्रै नेपाली सपूतहरूले आफ्नो तातो रगत बगाए । यो क्रम आज पनि रोकिएको छैन, यथावत् छ । इतिहासदेखि आजसम्म जहिले पनि हामी अर्काकै हितमा अर्थात् पराइ मुलुककै भलाइमा समर्पित रह्यौँ । आफ्नो घर नबनाएर हामी अर्काकै घर बनाउनमा उद्यत रह्यौँ । हामी बुद्धूहरूले साम्राज्यवादलाई प्रोत्साहन दियौँ । कविका विचारमा उसलाई साथ दिने शक्ति आफ्नो राष्ट्र निर्माणमा लगाएका भए नेपालले यो दुरवस्था भोग्नु पर्दैनथ्यो भन्ने रहेको छ । हाम्रा दाजुभाइहरू काम तथा मामको खोजीमा बिदेसिएकामा कवि चिन्तित छन् । पाखुरीमा जोस भएका हाम्रा युवाहरू मुगलानमा कुकुर जस्तै बेइलमी भई घुम्नु परेको यथार्थलाई पनि कविले यस कवितामा उतारेका छन् ।
यस सङ्ग्रहका केही कवितामा जातभातका नाउँमा देखाइने ढोँगी प्रवृत्तिप्रति पनि आक्रोश व्यक्त भएको छ । आफूलाई अभिजात वर्गका भनाउनेहरूले अरू जातिको अस्मितामाथि प्रहार गरेर ठुलो भूल गरेका छन् भन्ने कविको ठहर छ । हाम्रा यिनै जातभात र छुवाछुत जस्ता एकापसका निकृष्ट व्यवहारका कारण पुँजीवादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले हाम्रो मुलुकभित्र चलखेल गर्ने अवसर पाएका हुन् भन्ने कवि ठान्दछन् । आफ्नै राष्ट्रभित्र रहेका स्रोत र साधनको उपयोग गर्न नसेकेकामा पनि कविको दुखेसो छ । यस कवितामा उनी अब पुरानो मति त्यागेर जाग्नु पर्ने अवस्थाको उद्घोष गर्दछन् ।
‘साहित्यकारको आँसु’ शीर्षकको कविताअनुसार समाजमा सिर्जित असमान परिवेश एवम् घोर अन्याय, अत्याचार तथा व्यभिचारका कारण स्रष्टाको हृदय रुन्छ । कवि हृदयबाट निस्कने आँसु भनेको उसको सिर्जना हो । साहित्यकारको सिर्जनाले भीषण विप्लव मच्चाइदिन सक्छ । जीर्ण तथा भग्न समाजलाई हराभरा सुन्दर तुल्याउन सक्छ । उत्पीडन र अत्याचारको समूल नष्ट गर्दै नयाँ जीवनको सञ्चार गर्न सक्छ । विषमता, कुनीति र कुरीतिलाई भस्म पार्न सक्छ । साहित्यकारमा समाज बदल्ने तागत हुन्छ । सुतेकालाई जगाउनका लागि अनि प्रतिगामीहरूसँग सङ्घर्ष गर्नका लागि पनि साहित्यकारले आँसु चुहाउनु आवश्यक छ । यहाँ कविले साहित्यकारहरूबाट तातो आँसुको अपेक्षा राख्नु भनेको सामाजिक रूपान्तरणका लागि सुन्दर सिर्जनाको आग्रह गर्नु हो ।
सङ्ग्रहमा सङ्कलित ‘जागरण’ क्रान्तिचेतले ओतप्रोत कविता हो । यसमा चुहिने झुपडीहरूका बिचमा ठडिएका महलहरूमा ममताको भाव हुँदैन भनिएको छ । महलवासीहरूमा झुपडीबाट सुन्ने फुर्सद हुँदैन । झुपडीबाट निस्केको रोदन सुन्ने फुर्सद हुँदैन । झुपडीबाट निस्कने रोदन तथा क्रन्दनले उनीहरूको ऐसआराममा व्यवधान खडा गर्दछ । उनीहरू मानव भएर दानव हुन् । ती बहुसङ्ख्यक नेपालीका मित्र होइनन्; शत्रु हुन् । तिनीहरूको हृदय शुष्क छ, पाषाणतुल्य छ; कहिल्यै पग्लँदैनन्; तिनीहरू त केवल झुपडीमा बस्नेहरूको रगत चुस्न पल्केका छन् ।
कवि ढकालका अनुसार शोषकहरूले पनि शान्ति र क्रान्तिका नारा त घन्काउँछन् तर उनीहरूले चाहेको शान्ति र क्रान्ति भनेको सर्वहारा वर्गको मुक्तिका लागि नभई आफ्नो अर्थात् शासक वर्गको हितका लागि मात्र हो । शोषकको क्रान्तिमा विष छ भने शोषितको क्रान्तिमा अवश्य पनि अमृत छ भन्दै कविले आफूलाई पनि अन्यायबाट मुक्ति चाहने वर्गका पक्षमा उभ्याउँदै लेखेका छन्: ‘म भोको नाङ्गो नेपाली – मलाई त क्रान्ति चाहिन्छ क्रान्ति – यौटा बलियो धक्काको खाँचो छ’ (पृ. ६५) ।
कविले ‘यथार्थ’ शीर्षकको कवितामा ‘यथार्थ बताइदिनु न्याय हो, आदर्शको पुजारी बन्नु अन्याय हो’ (पृ. ६६) भन्दै आँखाले नदेखेको स्वर्गको चर्चा गरेर भ्रम छर्नुभन्दा आफ्नै परिवेशको मर्म व्यक्त गर्नुलाई नै सच्चा अभिव्यक्ति मानेका छन् ।
यस कृतिकै नामकरण गरिएको ‘आँसु र पसिना’ श्रमिक, मजदुर एवम् किसानहरूमा क्रान्ति तथा चेतनाको ऊर्जा थप्ने उद्देश्यबाट सिर्जित छ । वैचारिक कोणबाट हेर्दा यो कविता अन्य कविताका तुलनामा शक्तिशाली पनि छ । श्रमिकहरू श्रम गर्छन् । आफ्नो रगत र पसिनाका बलले पुँजीपति मालिकहरूका लागि महल खडा गर्छन् । जसले सुन्दर घरको निर्माण गर्छ उही बेघरबार हुन्छ ! श्रमिकले श्रम गर्नु भनेको दिनरात आफ्नै हाड घोट्नु हो । श्रमिकहरू आफ्नो हाड घोटाइमा व्यस्त छन् भने विलासी जीवन बिताउनेहरू उनीहरूकै पसिनामा मस्त छन् । जनशक्ति अजेय भएकामा विश्वास गरी कवि ढकाल ‘पोल्नेछ अवश्य शोषकलाई तेरा खून र आँसुले’ (पृ. ७१) भन्दै श्रमिक वर्गप्रति सहानुभूति र शोषक वर्गप्रति घृणाको भाव व्यक्त गर्दछन् । श्रमिकहरूको दिन फिर्नेमा उनी ढुक्क छन् । कवि मालिक र मजदुर नभएको समाज निर्माण गर्न चाहन्छन् । अर्थात् उनी असमानताका सबै विभेद मेटाएर समतामूलक समाजको सपना देख्छन् । श्रमिक, मजदुर एवम् किसानहरूलाई मुक्ति दिलाउने जनवादी व्यवस्थाको स्थापना हुने कुरामा उनलाई पूरापूर विश्वास छ । यही दृढ विश्वासमा उनी लेख्छन्:
यसैले कृषक तेरा पसिना र खुनको गढ त्यो
ढल्नेछ, अवश्य हुनेछ चकनाचुर
यी सामन्ती, शोषक, हिंस्रक खुँखार जनवैरी नराधम क्रूर
एकदिन अवश्य हुन्छन् चुरचुर
(पृ. ७१ )
ढकालले आफ्ना कवितामार्फत शोषित–पीडित, दलित तथा अपहेलितहरू सबैलाई सङ्गठित हुनका लागि आह्वान गरेका छन् । सङ्गठित क्रान्तिले मात्रै सामन्ती एवम् साम्राज्यवादी हैकमलाई पल्टाउन सकिन्छ र दिगो शान्तिको स्थापना हुन्छ अनि बल्ल नयाँ युगले जन्म लिनेछ भन्ने यथार्थलाई कविले यसरी व्यक्त गरेका छन्:
सङ्गठित बना यी सबलाई, सज्ज हो देहबलि दिनु परे पनि
गरिदे भीषण क्रान्ति, अवश्य सफल हुनेछ
अनि पो होला जगमा सुखशान्ति
जबतक साम्राज्यवादी हुकुमतको अन्त हुँदैन
सामाजिक शोषण हट्दैन
भ्रष्टाचार, बरोजगार, अत्याचार
जहिलेसम्म नाश हुँदैन
तहिलेसम्म सच्चा जनयुग आउँदैन
नितान्त अशिक्षितले शिक्षा पाउँदैन
नाङ्गालाई कपडा भोकालाई रोटी
मिल्दैन मिल्दैन कसै मिल्दैन
हे श्रमिक ! यो स्वार्थी दुनियाँलाई उल्टेर अर्कोपट्टि नफर्काएसम्म
कदापि पुछिने छैनन् तेरा आँसु र पसिना
(पृ. ७१–७२)
अन्त्यमा, आजभन्दा ६५ वर्ष पहिले प्रकाशन भएको यो कविता सङ्ग्रह कवि ढकालको पहिलो कृति हो । त्यति बेलाको नेपाली समाज अशिक्षा र अज्ञानताको अन्धकारमा रुमल्लिएको थियो । त्यस समयको नेपाली जीवन भोगाइलाई कविले यस सङ्ग्रहका कवितामार्फत यथार्थ रूपमा प्रस्तुत गरेका छन् । तत्कालीन परिवेशका शासक, शोषक र साम्राज्यवादी नीतिप्रति कवितामा तीव्र आक्रोश छ । कविले नारी हकअधिकारको खोजी गरेका छन् । सारमा उत्पीडितहरूको मुक्तिलाई नै कवि ढकालले आफ्नो कविता लेखनको मुख्य अभीष्ट बनाएका छन् । आफ्नो समयको कष्टपूर्ण जीवन भोगाइलाई निकै सरल भाषामा प्रस्तुत गर्दै कविले वर्गीय मुक्तिका लागि क्रान्तिको आमन्त्रण गरेका छन् । कलात्मक सौन्दर्यमा केही सीमाहरू रहे पनि वैचारिक दृष्टिले हेर्दा कविताहरू कमजोर छैनन् । क्रान्तिबाट नै दिगो शान्तिको स्थापना हुनेमा कवि विश्वस्त छन् ।
यस सङ्ग्रहका कविताहरू पढ्दा उनको विश्वलाई हेर्ने दृष्टिकोण स्पष्ट रहेको पाइन्छ । कवितामा क्रान्तिचेत प्रबल पाइन्छ । प्रगतिशील नेपाली कविताको परम्परामा प्रस्तुत ‘आँसु र पसिना’ कविता सङ्ग्रहको ऐतिहासिक मूल्य रहेको छ ।
पोखरा– १७, कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।