
नेपाली पुस्तक बजारमा चर्चाको सुनामी सिर्जना गर्न नसकेको भए पनि एक जना बालरोग विशेषज्ञ डा.नवराज के.सी. ले लेखेको मझौला आकारको पुस्तक “शून्यको मूल्य” ‘सास, साहस र स्नेहको कथा’ लेखन, विषयवस्तु र प्रस्तुतिका हिसाबले विशेष प्रभाव प्रवाह गर्न सफल छ । पुस्तकको उपादेयताबारे क्रमशः पछि ज्ञात हुँदै जानेछ तर अहिले नै भने यसको विशेषतालाई सदर मूल्याङ्कन गरी उत्तम कुँवर स्मारक गुठीले यस वर्षको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरेको छ । भनेपछि, पहिलो किताबमै यसरी गज्जबको प्रभाव उमार्न सफल लेखक डा.के.सी. ले आगामी समयमा पनि यसरी नै उत्कृष्ट ठहरिने पुस्तक लेखेर नेपाली समाजको भलो गर्लान् त ? जवाफ उनैलाई मात्र थाहा होला ।
साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. का लागि साङ्ग्रिला बुक्सले गत २०७९ साल मङ्सिरमा प्रकाशन गरेको गैर-आख्यान विधाअन्तर्गत पर्ने “शून्यको मूल्य” पुस्तक बजारमा आएदेखि नै अलि बेग्लै धारमा हिँडेको देखिएको हो । प्रकाशनको अर्को महिना पुसमा यो सार्वजनिक भएको थियो । यसलाई सार्वजनिक गरेका पनि कसले त ? पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, जनस्वास्थ्यविदद्वय डा.अरुणा उप्रेती र डा. रीता थापा, कलाकार सुरक्षा पन्त र स्वयं लेखक डा.के.सी. ले संयुक्त रूपमा !
सार्वजनिकीकरण कार्यक्रममा आआफ्नाे पालोमा बोल्दै कोही वक्ताले पुस्तकलाई कर्णालीको ऐना भएको बताउँदै यसले कर्णालीको कहालीभित्रको कथा भनेको विचार व्यक्त गरे त अर्को वक्ताले स्वास्थ्यका कुरालाई मेडिकल जार्गनका रूपमा नभै रैथाने भाषामा भनिएको र भावुकता मात्र नभै वैज्ञानिक मान्यतालाई आधार बनाएर लेखिएको पुस्तक तथ्यपरक भएको औँल्याए भने अर्का वक्ताको विचारमा पुस्तकले साधारण पाठकदेखि नीतिनिर्मााण तहका पाठकलाई तान्न सक्ने क्षमता राखेको बताए ।
अझ डा.भट्टराईले त नेपाली भाषामा लेखिएका कमै पुस्तक मात्र आफू दोहोर्याएर पढ्ने गरेकोमा “शून्यको मूल्य” दोहोर्याएर पढेको बताउँदै अगाडि भनेका थिए, “जान्ने भएपछि आँसु झारेर नरोएको धेरै भएको थियो । यो पुस्तकले मेरो आँखाबाट कति पटक आँसु झार्यो, मैले गन्नै सकिनँ ।”
आफ्नाे क्षेत्रका गन्यमान्य यी सबै जनाको भनाइको तात्पर्य, यो “शून्यको मूल्य” भन्ने किताबमा त्यस्तो केही त छ जसले यो सिर्जना पढ्नुपर्ने पुस्तक हो भन्ने बताउँछ । एक पटक पढ्न सुरु गरेपछि पाठकलाई भावुक बनाउँछ, रुवाउँछ र केही सोच्न विवश पनि बनाउँछ । पढ्न थालेपछि पाठकले यथाशक्य छिटो सिङ्गो किताब पढिभ्याउन खोज्छ । यसरी किताब समाउने जो कसैलाई पढ्न बाध्य पार्न सक्नु लेखकको सफलता हो ।
परम्परागत पुस्तक-सार्वजनिक कार्यक्रमहरूभन्दा नितान्त भिन्न र सार्वजनिक गर्ने व्यक्तित्वहरू पनि अलग परिवेश वा क्षेत्रका, साहित्य लेख्नेभन्दा बरु पढ्ने र समाज परिवर्तनका कुरा बेसी गरिबस्नेहरू ! यही आरम्भले नै पनि बजारमा निस्कने वा निस्किइरहेका अन्य तमाम पुस्तकभन्दा डा.के.सी. को यो पुस्तकले पक्कै पनि भिन्न अर्थ एवं फरक स्वाद बोकेको छ भन्ने सन्देश प्रवाहित गरेको थियो ।
उत्तम कुँवर पुरस्कार गुठीले त्यो पुरस्कारको सम्बन्धमा विज्ञप्ति जारी गर्दै भनेको थियो, “अँध्यारो समाजलाई उज्यालो तर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख-पीडा, साहस र सङ्घर्षलाई कृतिले अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत के.सी. लाई ताम्रपत्र र नगद एक लाख रुपैयाँसहित पुरस्कृत गर्न लागेको हो ।”
आखिर त्यस्तो के छ त “शून्यको मूल्य” शीर्षकको किताबमा ? जम्मा दुई सय त्रिचालीस पृष्ठमा फैलिएर डिमाइभन्दा पनि सानो पकेटसाइज आकारमा छापिएको यो पुस्तकमा विषयसूची छैन तापनि एकैचोटि ‘प्राक्कथन’बाट सुरु भई कथानक अगाडि बढ्दै जाँदा पुस्तक क्रमशः बुधेकी फुपूआमा, बुबालाई चिठी, भेडिनी कान्छी, मृत्युपछिको जीवन र पुतली आमा गरी पाँचोटा उपशीर्षकमा तन्किँदै सकिन्छ । लेखनमा डा.के.सी.को चिकित्सकीय कार्यानुभव मज्जैसँग अन्तरघुलित भएको पटक पटक अनुभूत हुन्छ भने समग्र किताबको संरचना लामो व्यक्तिगत अनुभव, तीक्ष्ण कल्पना, मार्मिक भावना, हृदयस्पर्शी संवेदना र टड्कारो यथार्थको आधार भूमिमा निर्माण भएको पुस्तक पढिसकेपछि थाहा हुन्छ ।
किताब सरल एवं फरक धार अख्तियार गर्दै प्रभावपूर्ण ढङ्गमा संवेदनशील तरिकाले लेखिएको छ । यसले विभिन्न किसिमका बालरोग र सुत्केरी-समस्याका साथै खास गरी नयाँ-पुराना सुत्केरी आमा एवं सम्बन्धित बाहरूको कथा पनि हृदयस्पर्शी ढङ्गले बोलेको छ । रोचक त के छ भने डा.के.सी.ले यस किताबको मूलाधार संयुक्त राष्ट्र सङ्घले आर्थिक वृद्धि, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई मूल तत्व मानेर सन् २०३० सम्ममा विश्वव्यापी रूपमा हासिल गर्नका लागि पारित गरेको १७ बुँदे दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल्स- एसडीजीज) लाई बनाएका छन् ।
संरासंघीय सत्र बुँदे दिगो विकास लक्ष्यमा क्रमशः गरिबी अन्त्य, भोकमरी अन्त्य, स्वस्थ र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच, मर्यादित रोजगार तथा आर्थिक वृद्धि, उद्योग पूर्वाधार र नवीन सिर्जना, असमानता न्यूनीकरण, दिगो सहर र समुदायहरू, जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन, जलवायु परिवर्तनमा तत्काल पहल, जलमुनिको जैविक विविधता संरक्षण, जमिनमाथिको जैविक विविधता संरक्षण, शान्ति न्याय र सशक्त निकाय, र, लक्ष्य प्राप्तिका लागि साझेदारी पर्दछन् ।
डा.के.सी.को विचारमा, “बालबालिकाको पूर्ण विकासबिना यी सत्र बुँदे दिगो विकासका लक्ष्यसम्म पुग्न असम्भव छ । बलिया आमाबिना बालबालिकाहरूको विकास सम्भव हुँदैन । दिगो विकासको लक्ष्यको पहिलो नम्बरभन्दा अगाडि आउनुपर्ने एउटा लक्ष्य त चटक्कै छुटेको रहेछ । … एकभन्दा अघि शून्य हुन्छ । नेपालको कुनो कर्णालीमा दिगो विकासको लक्ष्य एक, दुई, तीनभन्दा अगाडिको शून्य भेटिन्छ ।”
यही शून्यको मूल्य उनले यो किताबभरि पस्केका छन् । यसका लागि उनले बालबालिकाका लागि आमाहरूले केसम्म गर्न सक्छन् भन्ने उदाहरणसहित घटना-विवरण दिँदै दुइटा नयाँ शब्द आविष्कार गरेका छन्- ‘आमार्थतन्त्र’ र ‘पटुकी बैङ्क’ । सुन्दा सामान्य लागे पनि यी शब्दहरूले बोकेको अर्थ विशाल छ । बैङ्क, वित्तीय संस्था र सहकारीहरू ठग्ने, ठगिने, डुब्ने र उकासिने प्रक्रियामा रहेका समाचार आइरहने गरेको सन्दर्भमा आमार्थतन्त्र र पटुकी बैङ्क ग्रामीण महिलाहरूका लागि सर्वथा भरपर्दा आर्थिक आधार हुन् ।
विशेषता चाहिँ के हो भने यसरी संरासंघीय सत्र बुँदे दिगो विकास लक्ष्यलाई सुर्के थैलीमा पोको पारेर नेपाली साहित्यमा अहिलेसम्म आख्यान वा गैरआख्यान कुनै रचना-सिर्जना लेखिएर सार्वजनिक भएको थिएन, छैन । अँ, सम्बन्धित एकाध गैरसरकारी संस्थाले यही विषयमा केन्द्रित रही महँगा गोष्ठी वा सेमिनार गर्ने र नेपाली एवं अङ्ग्रेजीमा पुस्तिका, जर्नल वा कार्यपत्रहरूको सङ्कलन प्रकाशन भने गरेकै छन् ।
यस अर्थमा डा.के.सी.ले लेखेको यो पुस्तक नेपाली वाङ्मयमा सर्वथा नौलो भावभूमि बोकेको सिर्जना हुन गएको छ । यही किताबबाट केही पङ्क्तिहरू जस्ताको तस्तै उद्धृत गर्दा बेस हुने देखिन्छ-
– “धनी र गरिबीबिचको दूरी घटाउन गरिने हरेक कार्यक्रम बहुत महँगो छ । तर महँगा कार्यक्रमहरूमध्ये सबैभन्दा सस्तो चाहिँ देशले सानै उमेरका आफ्ना नागरिकमाथि लगानी गर्नु हो ।… सबैभन्दा त गुणात्मक मातृत्व विकासका लागि लगानी गर्नु हो । हामी हाम्रो समाजमा मानिसहरू असल बनुन्, सामाजिक बनुन्, विद्वान बनुन्, समाजलाई विकासको ढोका खोलुन् भन्ने चाहन्छौँ भने यसका लागि हामीले गर्भमा रहेको बच्चासँग उसको आमा र जन्मिसकेपछि पहिलो छ महिनासम्म शिशुहरूको स्याहारमा ठुलो लगानी गर्नुपर्छ । … समाज विकासको सबैभन्दा ठुलो लगानी भनेको ससाना बालबालिकाको मानसिक स्वास्थ्यमा गरिएको लगानी हो । अनि त्यो प्राप्त गर्न उनीहरूलाई हुर्काउनेहरूको ।” (पृ.५५) ।
-“हरेक मानिस जन्मने बित्तिकै जीवित रहन रुनुपर्छ । जन्मने बित्तिकै नरोएर कोई पनि जीवित रहन सक्दैन । जन्मने बित्तिकै नरुनेहरू कि त मृत्युवरण गरेरै जन्मने गर्छन्, कि केही समयमै पृथ्वीबाट बाईबाई गर्ने गर्छन् । मानव जीवनको पहिलो सत्य यही हो ।” (पृ.८४) ।
– “संसारका बाआमा छोराछोरीबाट केही चिताउँदैनन् । तर छोराछोरीले माया गरिदिएको क्षण उनीहरूको स्वर्ग हो । मरेर कहाँ स्वर्ग गइन्छ र ? मरेर त माटोमै जाने हो ।” (पृ.९७) ।
-“पढाइका आधारमा कर्णालीमा दुई प्रकारका आमा रहेछन् । १० पढेका र कत्ति नपढेका । १० सम्म पढेका आमाका पाँच वर्षमुनिका एक हजारमा १८ जना बच्चा मर्दा रहेछन् । अनि नपढेका आमाहरूका हजारमा ५८ जना । हरेक महिलालाई केवल १० कक्षासम्म पढाइ मात्र दिए यहाँ हजारमा ४० जना बच्चा जीवित हुने रहेछन् ।” (पृ.१०५) ।
– “संसारका सबैभन्दा बलिया संवाद शब्दविहीन हुने गर्छन् ।” पृ.१३०) ।
– “कर्णाली हिम्मतबहादुरहरूले भरिएको छ । वर्ष दिन लगाएर हुर्काएका १० जोडी भेडा १० मिनेटमा बेचेर एयरपोर्ट पुग्ने । एयरपोर्टमा आउने-नआउने ठेगान नभएको हेलिकप्टर कुर्ने । सानो छोरा घरीघरी बेहोस हुँदा श्रीमती डाँको छोड्छे । आफ्नो शोकाकुल मनलाई च्याप्प छोपी लुकाएर मुसुक्क हाँसेर “नरो केही हुन्न, म छु नि” भन्ने । हेलिकप्टर चढ्दा हेलिकप्टर थरथर गर्छ । श्रीमती आत्तिन्छे । उसका कुममा हात राखेर “केही हुन्न, नडरा” भन्ने । डर अलिकति आफूमा नि छ । तर आफूलाई पनि आफैँले त्यसै त्यसै भनी बुझाउने । अनि लामो यात्रा गरेर नचिनेको सहर पुगेर बच्चाको डाक्टर खोज्दै अस्पताल पुग्ने । बलियो मात्र होइन, उदारताको समुद्र छ मनमा । तब त रित्तो छ गोजी उसको । तर डाक्टरलाई स्याउ उपहार दिन्छ ।” (पृ.१३९) ।
तर यसको अर्थ किताबमा सबै कुरा र प्रसङ्गहरू राम्रै-राम्रा छन् भन्ने पनि होइन । धेरै ठाउँमा भाषाप्रति ‘खेलबाड’ गरिएको छ, डाक्टरजस्तो अध्ययनशील लेखकले कर्णालीको यथार्थ कथा लेख्दा पनि दन्त्यकथा जस्तो लाग्ने र बिना प्रमाणका प्रसङ्ग पनि पस्केका छन्, केही ठाउँमा विवरण अनावश्यक लम्ब्याएका छन् ।
० ० ०
भाषिक असावधानीका केही प्रसङ्ग :
– “एउटा पुरानो रङ उडिसकेको पछ्यौरी…” (हुनुपर्ने, रङ उडिसकेको एउटा पुरानो पछ्यौरी) ।
– “कौतुहलता…” (हुनुपर्ने कुतुहलता वा कौतूहल) ।
– “पसिनाको वासना…” (हुनुपर्ने, पसिनाको गन्ध (भलै त्यो सुगन्ध वा दुर्गन्ध हुन सक्छ)) ।
– “निश्चलता…” (हुनुपर्ने, निश्छलता), (यो एकाधभन्दा पनि धेरै ठाउँमा छ) ।
– “जाँचमा फेल भएको लद्दु विद्यार्थी झैँ लज्जित भयो…” (हुनुपर्ने, जाँचमा फेल भएको जेहेनदार विद्यार्थी झैँ लज्जित भयो -किनभने लद्दु विद्यार्थीलाई आफू फेल हुने परिणामको पूर्वानुमान नै हुन्छ भने फेल हुँदैमा लद्दु विद्यार्थी लज्जित पनि हुँदैन-) ।
– “मानिसहरूले सबैभन्दा धेरै कुरा नक्कल गरेर सिक्छ” (हुनुपर्ने, मानिसले सबैभन्दा धेरै कुरा नक्कल गरेर सिक्छ, वा, मानिसहरूले … सिक्छन्) ॥
– “एक पटक एक वैज्ञानिकले एउटा मानिसको बच्चोलाई चिम्पान्जीको आमासँग हुर्किन छाडेछन् । अनि त्यो चिम्पान्जीको बच्चोलाई मानिसको आमासँग । पाँच वर्षपछि मान्छेको बच्चो र चिम्पान्जीको बच्चोमा के नयाँ कुरा देखियो होला त ? उत्तर बहुत रोचक छ … (पृष्ठ १९) ।” (यो प्रयोग-जानकारी रोचक भए पनि कुन वैज्ञानिकले कहिले कहाँ किन गरेका थिए भनेर प्रामाणिक तथ्यसहित उल्लेख गर्नुपर्ने होइन र ? किताबलाई रोचक बनाउने नाममा अध्ययनशील डाक्टर जस्तो व्यक्तिले यस्ता दन्त्यकथा लाग्ने तथ्यहीन प्रसङ्ग दिन कत्तिको उचित हो ? किताबमा अरू पनि केही यस्तै सन्दर्भ छन्) ।
– “रोमानिया भन्ने देशमा … सन् १९६५ देखि १९८९ सम्म एक ठुला शासक थिए, निकोल बहाउसेस्कू । (पृ.५१)” । (यो नाम हुनुपर्ने निकोलाई चाउसेस्कू हो) ।
– “दुईखुट्टे रेलगाडी … (पृ.८५)” । (दुईखुट्टे गाडीसम्म त ठिकै हो तर धेरैवटा डिब्बा जोडिएको हुने र लामो पनि हुने रेलगाडी पनि दुईखुट्टे ?) ।
-“विश्वयुद्धका नेपोलियन र हिटलर जस्ता शासक… (पृ.१३१)” । (विश्वयुद्धमा नेपोलियन कहाँबाट आइपुग्यो !) ॥
-“जीवनभरका लागि फिदा थियो … (पृ.१४५)” । (फिदा हुने कुरा अस्थायी -टेम्पोरेरी- हो, केही समयसम्मका लागि मात्र हो, भलै रहँदा-बस्दा मायाप्रीति झाँगिँदै जाने हुन्छ र दुई तन एक प्राण हुने अवस्थामा पुगिन्छ) ।
० ० ०
जे होस्, यस्ता कतिपय लेखन-प्रसङ्गहरूलाई छाडिदिने -इगनोर गरिदिने- हो भने डा.नवराज के.सी.को ‘शून्यको मूल्य’ कम्तीमा एक पटक पढ्नै पर्ने पुस्तक चाहिँ हो भन्दा फरक पर्दैन । यसमा खास गरी उनले थेगो जसरी प्रयोग गरेका ‘बहुत’ र ‘बहुतकुछ’ जस्ता शब्दहरूले पठनमा मिठास घोलेका छन् । आफ्नो चिकित्सकीय अध्ययनका गह्रुङ्गा शब्दहरूलाई यथाशक्य सरल एवं जनबोलीमा राखेर पठनलाई सजिलो बनाइदिएका छन् । यी डाक्टर-लेखकले आफू सानो छँदा छिमेकमा एक पढेलेखेको मान्छेले आफ्नै आमालाई कुटेको देखेको प्रसङ्ग उल्लेख गरेका छन् । कस्तो हो त्यो पढाइ-लेखाइ जसले “पिटे पनि आमै जाती” भन्दै आइरहेको नेपाली समाजमा आफ्नै आमालाई पिट्न प्रेरित गर्छ ?
अन्त्यमा, यस आलेखको बिट मार्दै गर्दा, एउटा तथ्य पाठकसित साझा गर्नबाट आफूलाई रोक्न सकिनँ । गाउँ, जिल्ला, राजधानी र त्यसपछि अमेरिका औ क्यानडामा समेत डाक्टरीको अध्ययन गरेर बालरोग विशेषज्ञ बन्न सफल भए पनि नवराज के.सी. अन्ततः पैसाको बिटाका बिटा बटुल्न सक्ने अति सुविधाजनक ठाउँहरूमा बसेनन्, बरु उनले आफ्नै गाउँठाउँ सुर्खेत रोजे र कर्णाली चयन गरे । त्यो दुर्गम भेगका अबोध, निश्छल एवं निर्मम प्रकृतिसित जुझ्दै बाँचिरहेका सोझासाझा गाउँले जनमनहरूबीच आफ्नो चिकित्सकीय ज्ञानसेवा प्रदान गर्ने उनले अप्रतिम अठोट गरे । त्यहीअनुसार त्यो दुर्गम भेगका उनै भेडिनी कान्छी, भुनभुनेकी आमा, बुधेकी फुपूआमा वा जुम्ल्याहा सन्तानकी किशोरी आमाहरू जस्ता “समाजका प्रोफेसरहरू” को छिः छिः र दूर-दूर नभनी लागेपुगेकाे सेवा गर्दै ‘जीवनवारिधि’ गरिरहेका छन् ।
यस्तो अनुकरणीय त्यागका लागि पनि लेखक डा.के.सी. धन्यवादका पात्र हुन् । यही त्यागको क्रममा उनले आर्जेको सामाजिक एवं मानवीय अनुभवको लेखाजोखा भएको कर्णालीको कहालीलाग्दो-कथा-पुस्तक “शून्यको मूल्य” अझ बढी पठनीय हुन पुगेको हो ।
उनको यो पुस्तक पढ्दा केही वर्ष पहिले पढेको अक्षर क्रियशन्स काठमाडौँद्वारा प्रकाशित डा.शङ्कर उप्रेतीको आत्मकथा “जीवन एक सपना” को सन्दर्भ अनायास आँखासामु आइपुग्यो । डा. उप्रेतीले पनि राजधानी काठमाडौँमा बसेर आफ्नाे डाक्टरी कामबाट अकुत सम्पत्ति कमाउन सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । बरु आफ्नै गृहजिल्ला झापामा बसेर लगातार पचास वर्षसम्म जिल्लावासी र वरपरका जिल्ला मात्र नभएर छिमेकी भारतबाट आएका बिरामीसमेतको उपचार गरिरहनुभयो । त्यसो गर्दा कहिले अति कम शुल्क लिएर, कहिले निःशुल्क त कहिले उल्टै आफैँले पैसा र निःशुल्क औषधि दिएर पनि बिरामी हेर्ने गर्नुभएको थियो ।
“जीवन एक सपना” र “शून्यको मूल्य” जस्ता किताबहरू अरू धेरैधेरै लेखिनुपर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

