विश्वका सम्पन्न भाषाको कोटिमा परिगणित हुने भाषाहरूमध्ये तमिल एउटा हो ।
यो भारत, श्रीलङ्का र सिङ्गापुरको राजभाषा हुनाका साथै अन्य धेरै देशमा तमिलहरू बसोबास गर्दछन् । द्रविड भाषा परिवारमा पर्ने तमिल भाषाका प्राचीनतम लेख्य उदाहरण ५०० इसापूर्वदेखि यताका अभिलेखहरूमा भेटिएका छन् ।
कथ्य रूपमा त त्योभन्दा धेरै पुरानो भाषा हो । अहिलेभन्दा पाँच हजार वर्षअघिको सिन्धु सभ्यताका अवशेषहरूमा पनि द्रविड प्रजातिका चिह्न र उपस्थितिका प्रमाण पाइनाले संस्कृत भाषा भारतमा आइपुग्नुभन्दा अघिदेखि तमिल प्रजातिको कथ्य भाषा विद्यमान रहेको कुरा अन्वेषकहरूले स्विकारेका छन् । सिन्धु सभ्यताको अवसान इ. पू. १७०० मानिन्छ भने आर्यहरूको आगमन इ. पू. १५०० मानिएको छ। आर्यहरूको आगमनपूर्व अन्य जनजाति सँगसँगै तमिल प्रजाति पनि भारतमा थिए भन्नेमा अधिकांश अन्वेषकहरूका विश्वास रहेका पाइन्छन् ।
शक्तिशाली आर्यहरूले भारतीय समाजमा वर्णव्यवस्था परिचित गराएर अनार्यलाई शूद्रमा व्यवस्थित गरेको र धेरै जनजाति आर्यहरूद्वारा अनुपालित धर्ममा आश्रित हुन गएका पाइन्छन् । आर्य भाषा संस्कारित मानेर संस्कृत भयो । जनजातीय भाषाहरू संस्कृतकृत बने अनि समाहित पनि भए। यस्तोमा पनि द्रविडहरूले भारतको प्राचीन संस्कृति बचाइराखे ।
अभिलेख र उत्खननद्वारा प्राप्त भाँडाकुँडाहरूमा अङ्कित लेख्य सामग्रीदेखि यता तमिल लेख्य भाषालाई तीन वटा कालमा बाँडेर हेर्न सकिन्छ – पुरानो तमिल इ. पू. ४५०-देखि इसाब्द ७००), मध्य तमिल (इ. ७००-देखि १९००) र आधुनिक तमिल (इ. १९००-देखि यता)। अरामिकी र एसिरियायी लिपिबाट विकसित भारत-इरानेली लिपिभन्दा केही भिन्न अशोक साम्राज्यमा प्रयुक्त धम्म लिपिसित प्राचीन तमिल लिपिले अधिकतर मेल राखेको तथ्य लिपिविद्हरूले अग्रसरित गरेका छन् । सिन्धु भञ्ज्याङमा एकेमेनिडको विजयकाल इ. पू. ५००-देखि अरामिकी लिपि प्रयोगमा आएको मानिन्छ।
लिपिविद्हरूले सम्राट् अशोकको साम्राज्यमा प्रयोग हुने धम्म लिपि सँगसँगै तमिल लिपि आरम्भ भएको ठहर गरेका छन् । बौद्ध रचनाहरूजस्तै तमिलका विचार ती लिपिमा बद्ध भए। बौद्ध रचनाहरू लिप्यङ्कन हुन थालेको धेरैपछि नागरी लिपि बनेपछि मात्र ब्राह्मणहरूले हिन्दु ग्रन्थ लिप्यङ्कन गर्न थाले, नत्र हिन्दु रचनाहरू श्रुति र स्मृतिमै सीमित थिए ।
गन्धार (अहिलेको कन्दहार) र खैबर भञ्ज्याङको पश्चिममा पर्ने हड्डाका बौद्ध पाठहरू खरोष्ठी लिपिमा पाइएका छन् भने सिन्धुदेखि यताका पाठ धम्म लिपिमा । धम्म लिपिलाई ब्राह्मणहरूले ब्राह्मी लिपि भनेर प्रचार गरे। तमिलका प्राचीन लिपि धम्म लिपिसित मिल्दाजुल्दा छन् तर पछि चौथो शताब्दीमा पल्लव शासकहरूले दक्षिण भारतमा तमिल भाषाका लागि लिपिविद्हरूको परामर्श आफ्नै लिपि चलाउने राजाज्ञा प्रसारित गरे । त्यसकै विकसित रूप अहिलेका तमिल लिपि हुन् ।
अहिलेसम्म अस्तित्वमा रहेको बहुभाषीको भाषा सुमेरजस्तै एउटा प्राचीनतम भाषा तमिललाई मानिन्छ । वर्ष २००४ मा भारत प्रशासनले तमिललाई आधिकारिक रूपले शास्त्रीय भाषा स्वीकार गरेको छ । कति आधुनिक भारतीय भाषामा साहित्य भर्खर लेखिँदै गर्दा तमिलको आधुनिक काल लागिसकेको थियो ।
तमिलको प्राचीन साहित्यलाई सङ्गम साहित्य भनिन्छ । सङ्गम साहित्यमा सामाजिक मूल्य, परम्परा, प्रशासन, युद्ध, वाणिज्य, प्रेम धर्म विषयक विभिन्न कविहरूका पदावलीहरू पर्दछन् । यस्ता रचना शैव, वैष्णव, आजीविका, जैन, बौद्ध लेखक र कविहरूले रचेका छन् । छैटौँ शताब्दीपछि चाहिँ तमिलमा शैव सन्त नयनमरहरू र वैष्णव सन्त अल्वरहरूले भक्ति आन्दोलनतिर साहित्य लगे ।
दक्षिण भारतमा सङ्गम साहित्यमा विविधता देखिनुको मूल कारण स्वतन्त्रता पनि हो । सम्राट् अशोकको दिग्विजयले दक्षिणलाई उति प्रभाव पार्न सकेको थिएन। अशोकको बौद्ध साम्राज्यमा जस्तो ती रचयिता नीति प्रचारमा मात्र सीमित हुन परेको थिएन । कविमानसले जीवन जगतका कुनै पनि विषयमा लेखे। व्याकरणदेखि प्रेम र यौनका कुरा पनि स्वतन्त्र भई लेखे । ती रचना आत्मपरक भए अकम् भन्थे, वस्तुपरक भए पुरम् । सङ्गमकालीन तमिल व्याकरणमा भाषाका कुरा मात्र छैनन्, शब्द र वाक्यका चर्चाबाहेक प्राणीजगतका चरा, पशु,उद्भिद र मानव जातिका वर्गीकरण पनि पाइन्छन् ।
तमिल भाषामा पाँचौँ शताब्दी इसापूर्वदेखि दोस्रो शताब्दीको मध्यसम्म लेखिएको साहित्यलाई सङ्गम साहित्य भनिन्छ । यसको रचना र सङ्ग्रहण पाण्ड्य शासकहरूद्वारा मदुरैमा आयोजित तीन वटा सङ्गम अवधिमा भयो । सम्पूर्ण सङ्गम साहित्यमा ४७३ कविहरूका २३८१ रचना छन् । तीमध्ये १०२ जना अनाम कवि छन् । यो साहित्य प्राचीन तमिल समाजको सांस्कृतिक,धार्मिक,राजनीतिक र ऐतिहासिक अध्ययनका लागि अत्यन्त उपयोगी छ । यस साहित्यमा चोल, चेर र पाण्ड्य राजवंशको उल्लेख पाइन्छ।
सङ्गम साहित्यले सङ्गमोत्तर रचयिताहरूलाई पनि प्रभावित गरेको पाइन्छ । सङ्गमोत्तर धेरै साहित्यकारहरूमध्ये सर्वप्रिय कवि भए तिरुवल्लुवर। यिनलाई थेवा युलवर, वल्लुवर, पोयामेडी जस्ता अरू नामबाट पनि चिनिन्छ। कतिले यिनलाई तेस्रो सङ्गमसित पनि जोडेका छन् । उनले एउटा व्यक्ति गृहस्थ वा गृह स्वामी भएर पनि दिव्य जीवन जिउन सक्ने, सन्न्यासी बन्न नपर्ने बारे धेरै नीति कविता लेखेका छन् ।
यिनका ज्ञानले भरिएको शिक्षाप्रद रचनाको नाम हो तिरुक्कुरल। यो बौद्ध रचना रचना सङ्गम साहित्य कालभन्दा पछि रचिएको मानिन्छ । यिनले बौद्ध विचार प्रतिपादन गरी ‘थिरुकुरल’ रचना गरेका हुन् । हुन त तिरुवल्लुवरको जीवनकाल बारे पनि मतभिन्नता छ । यिनको अस्तित्वको समय पुरातात्त्विक साक्ष्यभन्दा धेर भाषिक प्रमाणमा आधारित छ ।
तिरुवल्लुवरको एउटै रचनाको नाम हो ‘तिरुक्कुरल’ । यसको रचना इसापूर्व पहिलो शताब्दीदेखि इसाब्द छैटौँ शताब्दीभित्र भएको मानिन्छ । यसका सूत्र वा पद्यहरूले जीवनका प्रत्येक पक्षलाई स्पर्श गर्दछन् । यो तमिलका लागि मात्र नभई भारतीय साहित्यकै आदरणीय नीति रचना हो र निधि पनि । यसमा सात शब्दका १,३३० छोटा मुक्तक अर्थात् कुरल समाविष्ट छन् । तिरुक्कुरल तमिलहरूको सबैभन्दा श्रद्धेय र प्रिय ग्रन्थ हो ।
यो प्राचीन ग्रन्थहरूमध्ये पनि सबैभन्दा लोकप्रिय सिद्ध भएको छ । यसकारण तमिलजन मात्र नभई तमिल प्रशासनले पनि यस ग्रन्थका लागि राष्ट्रिय मान्यता माग गर्दछन् । तिरुक्कुरललाई कुरल मात्र भने पनि विश्वले चिन्दछ किनभने बाइबल, कुरान र गीतापछि तिरुक्कुरल नै विश्वका सर्वाधिक भाषामा अनुवाद भएको रचना हो । इसाब्द १७३०-मा कुरलको लेटिन अनुवाद टोस्टाञ्जो बेस्चीले गरेदेखि युरोपेली बुद्धिजीवीहरूले तमिलको सौन्दर्य चेतनाको स्तर चिने । युरोपेली भाषाहरूको मूल ल्याटिनमा कुरल पाइएपछि अन्य युरोपेली राज्य भाषाहरूमा धेरै अनुवाद निस्के । भारतीय भाषाहरू प्रायः सबैमा कुरलका अनुवाद छन्। नेपाली भाषामा पहिलोपल्ट श्रीमती सुनिता दाहालले यस कार्यलाई सम्पन्न गरिन्। यसबाट कुरल पाउने अन्य भाषाहरूको परिगणनामा नेपाली पनि पर्ने भयो।
कुरल र तमिलजनको अचल स्थिति छ। जहाँ कुरल हुन्छ त्यहाँ तमिल हुन्छन्, जहाँ तमिल हुन्छन् त्यहाँ कुरल हुन्छ नै । कुरल अहिले विश्व तमिलको चिनारी हो। भारतीय र श्रीलङ्कायी तमिलहरू मात्र होइन तर विदेशमा रहने आप्रवासी अर्थात् डाइस्पोरा तमिलहरूले पनि कुरल घर घरमा राखेका हुन्छन् । यस्तो प्रसिद्ध र लोकप्रिय ग्रन्थलाई सुनिता दाहालज्यूले नेपाली पाठकहरूका लागि पनि उपलब्ध गराइदिएर महत् कार्य गरेकी छन्।
नेपालीमा पढ्न पाएर हामीले तमिलका सन्त कवि तिरुवल्लुवरले दिएका अरम अर्थात् सम्यक् आचरण पोरुल अर्थात् सांसारिक विषयसुख अनि इनबम अर्थात् नर नारीबिच प्रेम सम्बन्धका कुरा जान्न पाउनेछौँ। यसरी आर्यकृत भारतीय समाजशास्त्रको धर्मार्थकामका तीन अवस्था कुरलमा वर्णित छ। कवि र कुरल के हो भन्नेबारे त अनुवादिका सुनिता दाहाल आफैले प्राक्कथनमा भनिसकेकी छन्।
अचेलको सेन्ट्रल इन्स्टिच्युट अब् क्लासिकल तमिल (CICT) चेन्नई थालिनुभन्दा अघि युरोपेली पौरस्तवादीहरूले १८१२ मा मद्रास स्कुल अब् ओरिएन्टलिजम खोले। विलियम जोन्सले १७८४ मा कलकत्तामा खोलेको एसियाटिक सोसाइटी अब् बेङ्गलले अध्ययन नगरेको दक्षिण भारतको अध्ययन यहाँबाट भयो । इसाब्द १९०० तिर पनि युरोपेली आगन्तुक भारतका तटवर्ती क्षेत्रमा सक्रिय थिए । १९०० तिरै सुरतमा इस्ट इण्डिया कम्पनीका काम थालिसकेका थिए। १९४४ मा सेन्ट जर्ज डेकै दिन २३ अप्रेल १९४४ मा सेन्ट जोन्स किल्ला (फोर्ट) बनाइसके। फ्रान्सले पोण्डिचेरीमा फ्रेन्च इष्ट इण्डिया कम्पनी खोलेको १९९५ मा हो । भास्को डा गामा भारत आइपुगेको १४९७ मा हो। चेन्नईमा ब्रिटिसले किल्ला बनाएको १९४४ मा हो। त्यसै बेलादेखि युरोपेली विद्वान्हरूले तमिल साहित्यमा रुचि लिन थाले। संस्कृत साहित्यको महत्त्व जानेर १७९१ मा वाराणसेय संस्कृत महाविद्यालय खोलेका हुन् ।
यस ग्रन्थलाई अनुवाद गर्नु सामान्य शक्तिले सम्भव थिएन । तमिल भाषा जानेकी भए पनि अनुवादिका सुनिताज्यूले अनुवादका कतिपय व्यावहारिक समस्या झेल्नुपरेको बुझिन्छ । तमिल भाषा संस्कृत भाषा जत्तिकै वा त्योभन्दा अधिक व्यवस्थित र सशक्त छ। तमिलका कतिपय उच्चारण नेपाली वर्णमालाले नभ्याउने हुँदा वैकल्पिक वर्ण प्रयोग गरेकी छन् । तमिलका कतिपय शब्द नेपाली र संस्कृतमा पनि नपाइँदा जस्ताका तस्तै राखेकी छन् । मात्रा मिलाउने प्रयास समेत गरेकी छन् । आफ्नो गच्छेले भ्याए जति प्रयास-अभ्यास गरेर कुरलको मूलभाव हामी पाठकसम्म सम्प्रेष्य बनाएकी छन् ।
विश्वका कैयाैँ भाषामा उपलब्ध कुरलको यस अनुवादले नेपाली अनुवादको आवश्यकता र अभावलाई परिपूर्ति गरेको छ । साहित्यले हित र सहितको भाव राख्ने हुनाले विश्व साहित्यमा नै विशिष्ट स्थान पाएको निधि ग्रन्थ हामीले पनि रसपान गर्न पाएका छौँ । शास्त्रीय रचनाको नेपाली अनुवाद पनि शास्त्रीय शैली र स्तरीय भाषामा प्राप्य छ। स्तरीय शास्त्रीय भाषा पनि तर सुबोध्य बनाउन सक्नु सुनिता दाहालज्यूको पनि रचनाशक्ति, सौन्दर्य चेतना, प्रवीण श्रम, दीर्घानुभवको प्रतिफल हो भन्न सकिन्छ ।
यस महत् ग्रन्थलाई नेपालीमा रूपान्तरण गर्ने कार्य पनि महत् हो। ग्रन्थ पढ्दा अनुवादिका यस अनुवादमा मन प्राणले अनुबन्धित र आग्रही भएकी बोध गर्न सक्दछौँ । विषयबोध र भाषाबोध लब्ध सामर्थ्यवती अनुवादिका सुनिताले भय हेतुक तथा सङ्कटजनक कार्यलाई सफलतापूर्वक सम्पन्न गरेकी छन् ।
सुनिता दाहालज्यूको महिमा मण्डित कार्यलाई प्रतिष्ठा गर्दै सन्त कवि तिरुवल्लुवरप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । शुभमस्तु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।