प्रा. डा. गाेविन्दराज भट्टराई नेपाली,अङ्ग्रेजी साहित्य जगतमा स्थापित नाम हो। उहाँका धेरै कृतिहरू नेपाली अङ्ग्रेजी दुवै भाषामा प्रकाशित छन्। अझ अनुवाद विषयमा विद्यावारिधि नै गर्नु भएका भट्टराईका सिर्जनामा विश्वका स्थापित धेरै साहित्यकारहरूको विषय र सन्दर्भको विशद चर्चा परिचर्चा पाइन्छ।
अनुवाद साहित्य मार्फत डा.सावले साहित्यमा रुचि राख्ने जो कोहीलाई पनि विश्व साहित्यको रस सेवन गर्ने मौका प्रदान गर्नु भएको छ। नेपाली भाषा साहित्यमा डायस्पोरा साहित्यिक ज्ञान र उत्तर आधुनिक साहित्यको पहिचानले नेपाली भाषा समृद्ध बनेको छ। हामी जस्ता साहित्यका सिकारु कलिला बाछाहरूका निमित्त एकै थलोबाट, एउटै पुस्तकबाट संसार रमण गर्ने अवसर मिलेको छ। डा.भट्टराईका उपन्यास, निबन्ध, कविता, यात्रा संस्मरण र अनुवाद लगायतका क्षेत्र र पक्षमा पाँच दर्जन भन्दा बडी पुस्तक प्रकाशित छन् । दर्जनौँ कृतिमा भूमिका लेखिदिएर लेखकहरूका आशा र अनुभूतिहरू विश्लेषित भएका छन् । यस्तो लाग्छ प्रा.डा. गाेविन्दराज भट्टराईकाे नाम उच्चारण हुने बित्तिकै एउटा सिङ्गो साहित्यिक बिम्ब बनेर पाठक सामु उभिन आइपुग्छ ।
यही सिलसिलामा काठमाडौँमा पढ्न आउँदा २०३१ सालमा उहाँले २१ वर्षको उमेरमा सात दिनमा “मुग्लान” उपन्यास लेखेर प्रकाशित गर्नु भयो। यस उपन्यास लेखनले तत्काल अन्य समकक्षीहरूको मनमा ढ्याङ्ग्रो नठोकिएको होइन । ‘लौ गाेविन्दजीले त उछिन्नु भयो’,भन्ने कुरा ठुलाबडाहरूबाट सुनिने गर्थ्यो । अरू कतिपय शिक्षकहरू हामीले पनि लेख्नु पर्छ अब भनेर चिया गफ पिट्थे। सुरिन्थे पनि लेख्नलाई। कतिले त भनेको सुनिन्थ्यो, मैले त यति पेज पुर्याइसकेँ, तपाईंकाे के हाल छ ? आदि आदि। तर पनि कुनै लेख रचना प्रकाशित भएनन्। छापिएनन्। पढ्न पाइएन । सृजना कार्य रहरले मात्र हुने रहेनछ।
गाेविन्दराज भट्टराई २०३४ सालमा मेरा गुरु बनेर आउनु भयो हिमालय माध्यमिक विद्यालय दमकमा । म दस कक्षामा त्यहाँ पढ्दैथेँ। उहाँ आउनु अगाडि नै एउटा दक्ष योग्य अङ्ग्रेजी शिक्षकको पहिचान एक कान दुई कान मैदान भएर प्रचारित भैसकेकाे थियो। उहाँबाट करिब तीन महिना दीक्षा प्राप्त गर्ने अवसर मैले पाएको थिएँ ।
त्यसयता उहाँले एम ए , एम एड गर्नु भयो। त्यो पनि अङ्ग्रेजीमा । कलेज पडाउनु भयो, विद्यावारिधि गर्नु भयो।डाक्टर उपाधि पाउनु भयो। प्राध्यापक हुनु भयो। निवृत्त भएर साहित्य सेवामा निरन्तर हुनुहुन्छ।
म एस एल सी पछि खेती किसानमा लागेँ। पढ्ने अवसर भएन। स्वास्थ्यले साथ छाडेपछि म काठमाडौँ आएँ। जेनतेन पढ्नुका साथै राष्ट्रिय वाणिज्य बैकमा जागिर खान थाले। जागिरे सिलसिलामा ट्रेडयुनियनकाे नेतृत्वमा लामो समय बिताएँ । निवृत्त भएँ । पछि अजोड इन्स्याेरेन्स लि. मा कार्यरत भएकै अवस्थामा पक्षघातले थलिएपछि केही लेख्ने प्रकाशित गर्ने सन्दर्भमा डा.सावसित घुरमैलाे बनेको विगत सम्बन्ध ताजा बनेर आयो।
उपन्यास लेखन सन्दर्भको कुरा गर्दा त्यसताका उमेर समूहको हिसाबले युवा पिँडीलाई सुहाउँदा लेखकहरूमा विशेष गरेर युधिर थापा,प्रकाश कोविद, सुवास घिसिङ, लगायतका उपन्यासकारहरू चल्तीमा थिए। हिन्दी उपन्यासकारमा, गुलशन नन्द, रानु, प्रेम वाजपेयी, राजहंश, वेदप्रकाश, राजवंश, रानी वाजपेय लगायतका उपन्यास थिए।
यस भन्दा भिन्न सामाजिक यथार्थ परक उपन्यासमा लैनसिङ वाङ्देलका मुलुक बाहिर, लङ्गडाको साथी, माईतीघर, इन्द्रबहादुरर राईकाे आज रमिता छ, शिवकुमार राईकाे डाक बंगगाला, लीलबहादुर क्षेत्रीको बसाई, विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्र दाइ, हृदय चन्द्रसिंह प्रदानको एक चिहान, रुद्रराज पाण्डेकाे रुपमति, रुपनारायण सिंहकाे भ्रमर लगायत उपन्यासहरूको बढी चर्चा हुन्थ्यो।
गाेविन्दराज भट्टराईले २१ वर्षे हल-हलाउँदो वा भनूँ उत्ताउलो उमेरमा सृजना गरेको “मुग्लान” उपन्यासले अरू लेखक साहित्यकारकाे भन्दा निकै भिन्न प्रकारकाे समाजपरक यथार्थतालाई अङ्गीकार गरेको पाइन्छ । मुग्लान उपन्यासले बोकेको विषयबस्तु ,भूमिका, क्षेत्र र त्यसले वरण गरेको औपन्यासिकता आदिलाई पर्गेल्दा अघिल्ला लेखन प्रवृत्तिका युवा मनलाई उद्वेलित पार्ने उपन्यासतिर नलागेर पछिल्ला सामाजिक यथार्थ परक प्रौढ उमेरका सर्जकको लहरमा उभिन पुगेको भेटिन्छ । यति मात्र होइन, साँच्चै भन्नू पर्दा नेपाली आर्थिक विपन्न परिवारका जोसिला युवाहरूको पारिवारिक आर्थिक सकस टार्ने आकाङ्क्षा पूर्तिको मार्ग हो मुग्लान भन्न मन लाग्छ । आज पनि तेस्रो विश्वका आर्थिक अभाव झेलिरहेका कयौँ युवाहरू मुग्लान उपन्यासका पात्र धने र सुतार कान्छाे झैँ बिदेसिन्छन्। कयौँ उतै हराउँछन्। कयौँ बन्द बाकसमा फर्कन्छन्। कयौँ अपाङ्ग हुन्छन्। कयौँ भने आफ्नो केही आर्थिक जोहो त गर्छन्
तर रोगले ग्याङ्ग्रिएर, खिइएको शरीर लिएर फर्कन्छन् । मुग्लान उपन्यासले बोकेको सन्दर्भ आज पनि जीवितै छ । मात्र भूगोल बिस्तार भएको छ। कार्य क्षेत्र र विषयमा केही भिन्नता छ। श्रम बेच्ने र लिनेका बिचको खाडल उस्तै छ। श्रम नलुटिएको ठाउँ कहीँ छैन। परावलम्बन भए पछि कसले माया गर्छ र दुनियाँमा । आमाबाबु गुमाएको ऋणले थिचिएको टुहुरो सन्तान र राष्ट्रियता हराएको नागरिक अभागी हुँदो रहेछ,भाग्यवादी दृष्टिकोणले भन्ने मानिसहरूले भन्ने गर्छन् । धने र सुतार कान्छाकाे जीवनले यही कुरा भनेको छ मुग्लान उपन्यासमा ।
भरखर विगतमा भुटानवासी नेपालीहरूले प्रा डा गाेविन्दराज भट्टराईलाई ठुलो सम्मान सहित पुरस्कृत गरे । हामी सुन्ने देख्नेका लागि पनि यो सम्मान र पुरस्कार गौरवको विषय बन्यो। यही मुग्लान उपन्यासले बोकेको भुटानी परिवेशका लागि उहाँलाई सम्मान र पुरस्कार दिएका हुन् भन्दा फरक पर्दैन। अङ्ग्रेजी भाषामा अनुवाद भएपछि यो उपन्यास हाल त्रिभुवन विश्व विद्यालयमा एम ए काे ऐच्छिक विषयको पाठ्य पुस्तक बनेको छ।
मुग्लान उपन्यास लेखेको तीन वर्ष पछि अर्थात् २०३४ सालमा दोस्रो साहित्यिक सन्तानको रूपमा मणिपुरको चिठ्ठी उपन्यास जन्मिन्छ । उहाँका दर्जनौँ दर्जन माथिल्लो धुरी चढेका पुस्तकहरूको चाङबाट आज म पुनः मणिपुरको चिठ्ठी उपन्यास उठाउँछु। यो पुस्तक मेरो मन मस्तिष्कमा गहिरो गरेर जोडिएर रहेको बोध हुन्छ मलाई।
म प्रवेशिका परीक्षा सकेर गाउँमा किसान भएताका २०३५ सालतिर यो पुस्तक पढेको थिएँ । बस्तु बाख्रा चराउन जाँदा खेतका आलीमा बसेर पढेको पुस्तकको विषय र अन्तर्वस्तुले मलाई निकै तानेको थियो। तताएको थियो। पुस्तकमा वर्णन गरिएझैँ सामाजिक कुरीति र जातीय अन्ध परम्परा भत्काउन भनेर खेमराज (दाइ)खरेलको नेतृत्वमा २०२५/ २६ सालतिरै ताप्लेजुङ जिल्ला सिनाम गाउँमा केही कदमहरू चालिएका थिए ।
ती कदमहरूप्रति मेरो बाल मनोविज्ञान आकर्षित भएको थियो। संलग्न भएको थियो। त्यस ताका कर्म नचलेकाले छोएको खाने, कन्याकेटीलाई चुलामा चढाउने, टुप्पी काट्ने, चुलाको चौको भत्काउने, देउता पुज्ने आट भत्काउने । मझेरी फराकिलो पार्ने । विवाह र पूजा आजामा बाहुन नपढाउने, अछुतसित सरोबर बसेर खाने। छुवाछुत विरुद्ध उभिने। कामी दमैका घरको पानी पिउने । धनी सामन्त विरुद्ध गरिब किसानलाई सङ्गठित गर्ने । पढ्न नपाउने/ नसक्नेहरूलाई पढ्न प्रेरित गर्ने लगायत समता मूलक समाज निर्माण गर्ने आव्हानमा म आफै संलग्न भैसकेकाे बालक थिएँ ।
‘मणिपुरको चिठ्ठीले’ बोकेको अन्त्य भनेको हामीले सामूहिक रूपमा त्यसताका निर्वाह गरेको सामाजिक रूपान्तरणका प्रयत्नको सिङ्गोपन भन्दा निकै उच्च र साहसिक नारी विद्रोहको एक कदम हो भन्ने ठान्यो मेरो मनले। यसकारण पनि मणिपुरको चिठ्ठी प्रति घुर्मैलो बनिसकेको मेरो स्मरणले आजको परिवेशमा पुनः ताजा हुन चाह्यो र मेरो अध्ययन छनौटको आधार बन्यो।
भरखर मात्र प्रकाशित मेरो उपन्यास ‘यात्रा जिन्दगीको’ जसमा प्रा डा . गाेविन्दराज भट्टराई समेतकाे मूल्यवान् भूमिका लेखन छ । त्यस पुस्तकमा माथि वर्णित सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माण ध्येयका केही विषय बस्तु उल्लेख भएका छन्।
मणिपुरको चिठीको सन्दर्भ उठाउँदा, भरखर केही महिना पहिले मात्र प्रा. डा .गाेविन्दराज भट्टराई सपत्नी प्रा.डा.अञ्जना बस्तीका साथ दार्जिलिङ, असाम र मणिपुर पुगेर साहित्यिक कार्यक्रममा मुख्य अतिथिको भूमिका समेत निर्वाह गरेको परिदृश्य मेरा सामु छ। उहाँले मणिपुरको चिठ्ठी उपन्यासका बारेमा दिएको अन्तर्वार्ता समेतलाई ध्यानमा राखेर यस उपन्यास बारे केही लेख्ने /भन्ने सुर कसेँ मैले।
= = =
कुनै पनि समाजमा मानव जातिको निरन्तरता र विकासको निमित्त जात थर भाषा धर्म मिल्दा , सामान्यतया आर्थिक हैसियत समान रहेकाहरू बिचमा वैवाहिक सम्बन्ध कायम गर्ने गरिन्छ। यो निकै पुरानो काल खण्डदेखि चलिआएको/ चलाई ल्याएको पुरातन रीतिथिति ,परम्परागत मान्यता पनि हो। यसकै मियोमा घुमेर समाजले आफूलाई गतिशील ठानेको पनि छ। उपन्यासका पात्र लिलानाथ ब्राह्मण र ब्राह्मण पुत्री शोभाका बिच परम्परागत विवाह सम्पन्न भएर घरजम हुनु यही सामाजिक मान्यता वरण गरेको प्रस्ट हुन्छ। लिलानाथकाे परिवार सम्पन्न छ। खान लाउन दुःख छैन।
समाज वा परिवारका सबै अभिभावकहरूले आफ्नी छाेरीचेलीकाे विवाह गरेर दिएको घरमा खान लाउन दुःख नहोस्। पारिवारिक दोष दाग नलागेकाेहाेस्। समाजमा शिर उच्च गरेर हिँड्न सक्ने पारिवारिक सम्बन्ध बनोस्। भोलि पर्सी छोरीले ‘छ्या… यस्तामा मलाई किन दिएको होला’ नभनोस् भन्ने नै ध्येय राखिएको हुन्छ। यहाँ पनि लिलानाथ र शोभाको विवाह सम्बन्धले समाजमा माथि उल्लेखित सकारात्मक स्तरको सम्बन्ध रहेको बताउँछ/ देखाउँछ।
जब समय गुज्रन्छ। फल लाग्दैन आशाको। दस वर्ष समय व्यतीत हुन्छ। सन्तान हुँदैनन्, अनि निराशा बाहिर निस्कन्छ। भित्र लुकेका कमजोरीहरू जुईनाे चुँडाएर बाहिर प्रकट हुन थाल्छन्। मानिस आफ्नो सन्तान प्राप्ति गरेर वंश निरन्तरता कायम गर्न चाहन्छ। बिहे गर्नुको खास तात्पर्य त्यही नै हो । छोरा होस् वा होस् छोरी । जे भए पनि सन्तान जीवन निरन्तरताका आधार हुन् । जब सन्तान सुख प्राप्त हुन्न । समाजमा कुरा चल्न थाल्छ। त्यसका सन्तान भएनन्। त्याे नि:सन्तान छ । नानाथरि कुरा काट्न थाल्छन् मानिसहरू ।
– तर नारीलाई त्यो छुट समाजले दिएको छैन। आफ्नो कोख पूर्ण नभएको अवस्थामा नारी पात्र शोभ, तड्पिन्छिन्, कल्पिन्छिन्। चाहनाकाे मधुरो सपना मनमा सजाउँछिन्,। आफू उर्वर छु र हुँ भन्ने अन्तर्बाेधले उनी चिमोटिन्छिन्,छटपटाउँछिन् । आफूलाई पुरुष वर्गीय समाजले बाँझी करार गरेको गलत साबित गर्न तम्सिन्छिन्। तर उनका चाहनाका सबै ढोका सामाजिक अन्ध रीति रिवाजले बन्द गरिदिएका छन्। सन्तानप्रति मनकाे असिम चाहना मेट्न आफ्नो सानो भाइ राजुलाई साथ लिएर आफूसितै राख्छिन्। मातृत्व उनै भाइमा पाेख्छिन्। भाइले पनि बहिनी वा भाइकाे साथ खोजेर घुर्की लगाएर घर जान्छु भन्दा भिनाजुलाई घरमै बस्न भन्न सिकाउँछिन्। सानो भाइ राजुलाई उनी भन्छिन्।
“अबदेखि कहिल्यै पनि बाहिर नजानु भन ल।”
“… राती डर लाग्छ तर्साउनेको डर लाग्छ भन्नू।”
“…राजा तिमीलाई सानो भाइ मन पर्छ कि बहिनी ? भन त… मलाई साँच्चै भन त… राजा मलाई मात्र लाै त।”( पृष्ठ ११)
दिदी शोभाको सन्तान प्राप्ति चाहना र भिनाजु लिलानाथकाे बाहिरी बसाइँको सन्दर्भ अनि शोभाको मनभित्र उम्रिएको छोरा वा छोरीको बिम्ब भाइबाट सुन्न चाहेको नारी मातृत्वको पीडा कम सकसको छैन।
पछिल्लो चोटि माइत जाँदा आफ्नै दाइको छोरा (भदा)लाई स्तनपान गराएर मातृ वात्सल्य पोख्दछिन् शोभा।
आफ्ना पुष्ट वक्ष चुसाउँदै शोभा भन्छिन्, ” खाऊ ..बा … खाऊ …” (पृष्ठ १७)
दिदीको दूध भाइले खाएको कुरा भाइ राजुको मुखबाट यसरी भनिन्छ, “आज त भाइले दिदीको दूध खायो” (पृष्ठ१८)
यस भनाइले घरमा बनेको परिवेशका आकलन गर्न जाेडबल गर्नु पर्दैन।
शोभाको यस्तो छटपटीले उनीमा सन्तान चाहनाको खहरे गडगडाएर आएको देखिन्छ त्यो स्वाभाविक पनि छ। तर विडम्बना बारीको राँटो मेटिने छाँट छैन।
लिलानाथ पुरुष भएको कारण सन्तान नहुनुको दाेष जति निर्दोष नारीमाथि खन्याएर पुरुष वर्गीय खाेक्लाे अहम् र आडम्बर देखाउँदै बाहिर बरालिन्छ। अर्की आइमाईको सिरानी खोज्छ र अर्को विवाह गर्छ। बिहे गर्नु अघि,लेखक भन्नुहुन्छ – भिनाजु बारम्बार भन्थे रे, “भएनन्। तँबाट सन्तान भएनन्। अर्की बिहे गर्नु परेको छ, ज्योतिषीले त्यस्तै भनेको छ।” (पृष्ठ६)
शारीरिक मात्र होइन मानसिक पीडा सहन झन् गाह्रो हुन्छ। सौता नारी पीडा मध्ये सहनै नसकिने पीडा हो । यसर्थ शोभाले आफ्नो मन मिल्दो पुरुष रतनवीर विश्वकर्मासित जिन्दगीको गाँठो कस्छिन् र दूर देश मणिपुर इमफाल पुग्छिन्।
गाउँसमाजमा छि छि दूर दूर सुरु हुन्छ । गाउँघर, छरछिमेक, आफन्त, कुल कुटुम्बहरूका अगाडि शिर झुक्छ परिवारको। कुजात सँग “गई” भनेर घर शुद्धि गरिन्छ। खर्च हुन्छ।
दाजु बोल्छन्, “बरु त्यो फजुल खर्च शोभालाई पटाइदिएको भए परदेशको विपन्नताले उसलाई पछ्याउने थिएन। ज्वाइँको साथमा पनि के थियो होला र?… ” (पृष्ठ ७)
नारी विद्रोहको चेतनाले शोभालाई घरमा सौता आएपछि विक्षिप्त बनाउँदछ । एक त पति लिलानाथकाे उनीप्रति कहिल्यै प्रेम रहेन /देखिएन/भेटिएन। लिलानाथले उनलाई केवल बास्ना पूर्तिको साधन मात्र ठानेको बोध हुन्छ । अर्को कुरा दम्पती बिच सन्तान हुन नसक्नुको वैज्ञानिक कारण बिना नै दोष जति उनलाई दिइन्छ। लिलानाथ चोखो गनिन्छ। समाजको त्यो अन्ध मान्यता प्रति विमाेह मात्र होइन विद्रोह जन्मिन्छ शोभामा। उनी मन वचन कर्मले लिलानाथसित विद्रोह गर्छिन् ।
उसलाई त्याग्छिन् र उन्मुक्तिको पाइला उठाउँछिन् । त्यति मात्र होइन समाजका जातीय भेदभाव, ठुलो सानो जात, छुवाछुत,मानिसलाई मानिसले अपहेलना गरेर जनावर भन्दा तल राख्ने अन्ध परम्पराका पर्खाल भत्काउने आँट गर्छिन् शोभा। रतनवीर विश्वकर्माको प्रेमका निमित्त आफूलाई समर्पण गर्छिन्। यो नारी विद्रोह चानचुने विद्रोह थिएन । पुस्तौँदेखिका अन्ध मान्यता र प्रचलनहरूले जकटिएकाे सामाजिक कुरीति विरुद्धको शङ्खघाेष थियो।
समाजमा जातीय दमन उत्पीडन माथिल्ला जात भनाउँदा आफ्नै स्वजातिहरूबाट बडी हुने हुन्छन्। सामाजिक अपहेलना आफ्नैले बडी गर्छन् । आफ्नैले बाच्न नदिने गरी दुत्कार्छन् र अमानवीय घृणा फैलाउँछन्। त्यसकारण समाजमा स्थापित अन्ध रीतिथिति विरुद्ध उभिएको मानिस गाउँ/ठाउँ छोड्न विवश हुन्छ।रतनवीरलाई ज्वाइँ भनेको सुनेर दाजु प्रति पिता कुर्लन्छन्
” थुक्क कुलाङ्गार । त्यो डाङ्ग्रालाई मुखले ज्वाइँ भन्छस्। त्यो पतित छोरी मरिसकी। सबैले बिर्सदेओ। ‘मरी’ भन। क्रिया गरिसकेँ। यसो गरे मेरो घाउ अलि कम हुनेछ। त्यो त पूर्व जन्मकी साहू थिई।……….यश ,धर्म, इज्जत,धन, शरीर, स्वजन र पराई सम्पूर्ण पोली।……. सम्पूर्ण कुललाई चोट लाएर मरी।……..भन्दा भन्दै बाको गह भरियाे।” (पृष्ठ ७)
लेखक समाजमा रहेको पुरातन अन्धताकाे दृष्टान्त दिएर तत्समाजकाे स्तर उदाङ्गो बनाउनु हुन्छ।
आफ्नै पिताका वाणीको कहर अझ कडा लाग्छ शोभालाई । पराई त पराई भए। जन्मदिने पिताका वचन थामिसक्नु थिएन ।
यही परिवेश छिचल्न बाध्य हुन्छ ब्राह्मण पुत्री शोभा र रतनवीर बिश्वकर्मा (अछुत)बिचको प्रेम परिणाम पनि । अनि त कसैले नदेख्ने नभेट्ने ठाउँ मणिपुर बिदेसिन्छन्।
भरसक बाच्न खोज्छ मानिस । बाँच्नलाई मानिसले आफ्नो बाटो पहिल्याउँछ। त्यही बाटो पहिल्याउने क्रममा शोभा र रतनवीर मणिपुर पुगेर आफ्नो जीवन गुजारा गर्छन्। टाढाको बसाई आफ्नो भन्नू…. आफ्नै हुन्छ। मायामोह जागेर आउँछ । आ-आफ्नो मनोभाव पोख्ने माध्यम बन्छ सानो भाइ राजु र शोभाका बिचमा चिठ्ठी । यही चिठ्ठी आदान प्रदानकाे घटनाक्रमले पुस्तकको नामकरण गरेको छ “मणिपुरको चिठ्ठी”।
यही चिठ्ठी मार्फत शोभा बाेल्छिन्/ खाेल्छिन् मन र तनको विद्रोह,
“दश वर्षदेखि मैले समाजको अपुत्र र बन्ध्याको मर्मान्तक वाणलाई मुटुमा अल्झाएर हिँडेँ।…. ,रगताम्य पन्छीले तीक्ष्ण वाणलाई छातीमा अझ प्वाँखको बिचमा छिपाएर जसरी चल्छ, म त्यसै गरी हिँडेको अनुभव गर्छु।…….. तृषित म हृदय शून्यसँग रातोदिन बसेँ। घरमा सदैव कलहले छोडेन। पिता माताको स्नेह पनि शून्यप्राय: हुँदैथ्याे।” (पृष्ठ २९)
यसरी जीवनले विद्रोह खोज्नु पर्ने पूर्वाधार विकास भएको बताउँछिन् शोभा।
सहज जीवन जिउन मानिस बिच सद्भाव, माया र समर्पण जरुरी हुन्छ। त्यो मानिस/समाजले सिमा कोरेर बनाएको जुन कुनै जात वा समुदाय बिचमा पनि हुन सक्छ। यदि मानिस बिचको आत्मीय सम्बन्धको बाधक समाज र उसका रीतिथिति हुन आउँछन् भने भत्काउनु पर्छ ,भत्किन्छन् ती मूल्यहीन सीमारेखाहरू । आपसी चाहना र सोचको एकत्व नै खुसी हो। शोभा र रतनवीरको त्यही एकत्वले परिवार खुसी छ। जति जे फल्छ, फलाइन्छ, चल्छ, चलाइन्छ। किन्छ, किनिन्छ सबै सल्लाहले हुन्छ । अहङ्कार छैन। हो यही हो सुखी परिवार। शोभा भाइ राजुलाई भन्छिन्
“….यति पोख्न पाउँदा म भित्रका उकुसमुकुस विस्फाेटित भयो। म अलिकति हलुङ्गो भए झैँ लाग्छ। अँ भलै तिमी तिम्रो सेकेन्ड भिनाजु नभन (कामी)। मेरो निम्ति प्रेमको अगाध समुन्द्र र एउटै मुटु भएका छन्। पहिलेकाेले मेरो एउटै मुटुलाई दुई पारेका थिए भने,यिनले दुई हृदयलाई एकाकार पारेका छन्।” (पृष्ठ ३१)
छोरा जीवन र छोरी वीनुलाई जन्म दिएर शोभाले पुरुष पक्षीय अन्ध परम्पराको धज्जी उडाएकी छन्। नारीलाई अकारण बाँझी ठानेर बहुपत्नी भेला गर्ने लिलानाथ(पुरुष) चारवटी स्वास्नी भेला गरेर पनि सन्तानहीन हुनुले सामन्ती अन्धसाेचले नारीलाई अकारण दोषी करार गर्ने समाजप्रति दह्रो बज्र मुक्का प्रहार हुन पुग्दछ।
उनी भन्छिन्, “… अाज आफूलाई म भन्ने अधिकार कमाएकी छु। नारीको संज्ञा पनि सार्थक गराएकी छु।सम्पूर्ण समाज र लिलेलाई एकपल्ट म धिक्कार्छु। उत्पीडित रहेर भोग्न सम्म भोगेँ र दीर्घ प्रतीक्षाको फल पाएकी छु आज । समाजले के थोक भन्दैन र ? उसकाे स्वार्थमा मैले निष्प्राण निभिदिन सकिन।”(पृष्ठ ३६)
उपन्यासकी नायिका दिदी शोभा नेपाल फर्किएर नारीमाथि गरिएका वा गरिने विभेदजन्य सोच दृष्टिकाेण विरुद्ध सप्रमाण उभिएर विद्रोह ओकल्न चहान्छिन्। अरू कति नारीहरू अझै यस्तै प्रताडना सहेर बसेका हाेलान् । तिनको मुक्तिको लागि केही गर्छुकाे साहस शाेभामा देखिनु परिवर्तन प्रतिकाे दृढ प्रतिज्ञा हो। समाज परिवर्तन वा रूपान्तरण वर्ग सङ्घर्षद्वारा गरिने सङ्गठित अभिव्यक्ति हो । तथापि नारी पुरुष तथा जातीय विभेद बिचको यो सङ्घर्षमा शोभाको यो प्रयत्न वा भनूँ एक्लै असङ्गठित रूपमै भए पनि उभिनु भनेको परम्परागत अन्ध मान्यताका जरा हल्लिनु हो ,पर्खाल चर्कनु हो। सारमा भन्दा त्यस्ता सोच दृष्टिकाेणबाट मानिसको विश्वास टुट्नु हो।
मणिपुरको चिठ्ठीले बोकेको आदर्श भनेको ब्राह्मण-दलित, छुत र अछुत अथवा कुलिन र हेय जुनसुकै जात करार गरिएका/भएका हुन् । उनीहरू बिचको मिलनकाे सन्देश भनेको मन नै हो । यो जातीय विभेद विरुद्धको वर्ग सङ्घर्ष कै एक रूप हो । त्यो भनेको मानव जाती ,जातले एकै हो, संसारमा आउने र संसारबाट जाने प्रक्रिया एउटै हो। बाच्नका लागि खाने र खाए पछिको निवृत्त क्रिया समान छन्।
उपन्यास मणिपुरको चिठी संशयपूर्ण रातो धागोले बाँधिएको चिठ्ठी घरको सङ्घारमा देखेर सम्भावित दुखान्त बाेकेर जन्मिन्छ। त्यही चिठ्ठीको ब्यहोराले लेखककालाई सुदूर अतीतमा लैजान्छ र उपन्यास “मणिपुरको चिठ्ठी” पुस्ट्याई गर्छ।
“….अनायास बल्दो लालटिन उचालेँ।बाहिर रा…ताे धागोले बेरिएका एउटा चिठ्ठी पाएँ।शङ्कालु मनले झस्किँदै यो यस्तो ? राती राजुले हेरोस् भनेर हुन सक्छ…….।” (पृष्ठ४)
चिठ्ठीको सारांश सुनेर बुबाले भनेको सुनियो।
“बाँचेकी भए म बिसेक हुन्छु। त्यसै पनि डढेको मन। फेरि पापिनी कतै गएर मरी कि ? भड्खालामा परी कि ?भन्नु पर्ने। जस्तै भए पनि आमा बाबुको मन भनेपछि छोरा छोरीलाई बिर्सन…।” (पृष्ठ४४)
“दिदीलाई चिठ्ठी लेखिस्। म आश्चर्यमा परेँ। आमाबाट सोधिएला सम्झेकै थिइन।आमाको हृदय परिवर्तित पाएँ( पृष्ठ६१)
जसरी भए पनि फिरिदिए आफूलाई त सन्तानको मुख हेर्नू न हो एकपल्ट। भन्नलाई जसले जेसुकै भनोस्।” (पृष्ठ ६२)
दाजु पात्र यस उपन्यासमा समय बोधक परिवर्तनका पक्षधर, हाकाहाकी कुरीति र अन्ध परम्पराका पर्खाल भत्काउन तम्सन्छन् प्रसङ्गमा दाजु भन्छन्,
“.. सही छ। कामी मेरा आमाबाबुको नहोस्, मेरो ज्वाइँ हो। सम्बन्धले उ वैधानिक नमानोस् समाजले , ऊ आत्मीय ज्वाइँ हो मेरो।” (पृष्ठ३४)
यसरी जातीय विभेद विरुद्ध परिवर्तनलाई आत्मसात् गर्दा उनको चेतना स्तर निकै माथि उठेको प्रस्ट छ, तथापि उनको बानी, स्वभाव, खानपिन र साेम रस पियक्कड भनेर चिनिन्छन् । पिएका बेला बडी चेतनामूलक कुरा ओकल्छन्। सचेत अवस्थामा खासै परिवर्तनको सोख हुन्न उनमा। यही कारण उनका कुरा त्यति वजनदार लाग्दैनन् उपन्यासमा।
म पात्र बनेर लेखक परिवर्तनका संवाहक बनेको पाइन्छ। आफूले चाल पाउँदा देखिका दिदी शोभा र भिनाजु लिलानाथकाे सकसपूर्ण जीवनका एक मात्र साक्षी हुन सानो भाइ राजु। सानो उमेरमा दिदीका साथ लगिएका भाइले नजानिँदो रूपमा आत्मसात् गर्नु भएको छ नारी पीडा। त्यै पीडाको विद्रोह हो लेखकको कलम भन्ने लाग्छ मलाई।
अन्त्यतिर पुग्दा लेखकको मनमा के पलाएको छ कुन्नि! बुझ्न गाह्रो छ। आफू वयस्क भएर चेतनाका पाठकहरू उघ्रिसके पछि दिदी भाइका बिचमा भएका यावत विमर्शको माग भनेको दिदी भाइको भेट वा मिलन हो। तर विभिन्न बहानामा दिदीको तिहारको निम्तो पनि टारेर दिदी भेट्न भाइ नपुग्नु बरु दाजुतिर विषय सारिइदिनुले भाइको समाज विद्रोही आँटमा प्रश्न चिन्ह लाग्न पुग्छ। आफूसरह शिक्षित नारी वरण गर्नुको साटो विवाह गरेर परम्परा धान्ने कुराले बिब्ल्याँटा हिँडाएको बोध हुन्छ।
दिदी भाइको पत्र वार्ता, मामा भान्जाकाे पत्राचारले दिदी नेपाल फर्कने कुराले पाठकको हरक्क हुर्केको मन दिदीको अचानक भएको बिमारले ओइलाउन पुग्छ । दिदीलाई उपचार कार्यमा सहयोग गर्न बरु मातापिताका वाणीले आँट भर्छन्। आमाले छाेरीकाे पीडा सहन नसकेर राजुलाई ‘जा’ समेत भन्छिन्।
राजु स्वयम सग्लो चेतयुक्त जवान व्यक्ति हुत्तिएर जानू पर्ने। भेट्नु पर्ने ।उपचारमा सहयोग गर्नु पर्ने। उपचार गरेर दिदीलाई घर ल्याउनु पर्ने । दिदी शोभाका प्रिय भाइ गुहाटी जाँदैनन्, पुग्दैनन् । बरु निलम कार्की “निहारिका” लिखित याेगमाया उपन्यासमा याेगमायालाई पोइल गएर बसेको विदेशी ठाउँबाट नेपाल फर्काउन योगमायाका भाइले आँट गर्छन् । लिएर आउँछन् आफ्नो घरमा । राख्छन् घरमै। तर मणिपुरका चिठ्ठीका भाइ राजुमा त्यो आँट छैन । उपचारकै क्रममा दिदीको दुःखद अन्त्य हुन्छ। यस क्षण दिदीप्रति करुणाको धारा बग्छ पाठकमा । लेखक प्रति वितृष्णा उत्पन्न हुन्छ।
कथामा दिदी नेपाल फर्किएर आउने सन्देशले पुरातन प्रवृत्तिका प्रतीक बुवा आमामा पनि सन्तान मेहले पुरातनका त्यान्द्रा चुँडिएको आभास दिलाउँछ। भाइ भने दिदी अस्पताल भर्ना हुँदा सम्म भेट गर्न जाँदैनन् र कथालाई निराशामा परिणत गरिदिएर पाठकलाई रुवाउँछन्। समाजमा लहरिएका परिवर्तनका जरा कुहाउँछन्। यहाँनेर लेखक प्रति विग्रह जन्मिन्छ हरेक पाठकमा।
हुन त दुखान्त विरेचन सिद्धान्तको मूल मर्म हो भनिन्छ। लेखन कला सर्जकका आफ्नै सोचका सीमाको बहाव हो । मेरा गुरुको यो सृजनाकलाले दुखान्त सृजना गरेर पाठकलाई विरेचन गराउने ध्येय राखेको हुनसक्छ। तर मेरो बुझाइमा पात्र स्वयमको आफैभित्रको नजानिँदो कमजोरीका कारण उत्पन्न हुने दुःखद परिणामले विरेचन हुने हो। मणिपुरको चिठ्ठीमा दिदी र रतनवीर पात्रको कुनै दोष छैन। त्यहाँ सृजना छ । जीवनको निकास छ। बचाइको सार छ। माया छ, ममता छ। खुसी छ अनि जीवन सुखी छ। यसकारण यो दुखद अन्त्यले पाठकलाई विरेचन गर्दैन। बरु समाज परिवर्तन वा रूपान्तरणकाे मार्गमा ठेस लाग्छ। दिदी शोभा ,भिनाजु रतनवीर ,भानिज जीवन र भान्जी वीनुका प्रति दया र करुणा सृजना हुन्छ। लेखक प्रति यो परिघटनाको सन्दर्भमा आक्रोश जन्मन्छ।
‘उपन्यास मणिपुरको चिठ्ठी’ समकालीन साहित्य सिर्जनामा एक उत्कृष्ट नमुना हो। नारी दमन र जातीय सामाजिक कुरीतिप्रतिका गहन विद्रोह हो । यस्तै विचार र प्रेरणाले आजको समाज यहाँसम्म उक्लन सकेकाे छ। भोलि यो क्रमशः उकालो मार्ग हिँड्ने छ भन्नु अत्युक्ति नहोला।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।