यो दृश्यमान  जगत् जति विराट छ, विस्तृत छ- त्यो भन्दा विराट छ अदृश्य जगत् । त्यहाँ घटिरहन्छन् विभिन्न घटनाहरू । दृश्य जगत्मा जति कुरा सम्पादन हुन्छ, प्रथमतः त्यो सम्पूर्ण मनभित्र सम्पादित भएको हुन्छ । अझ कति कुरा, अझ कति धेरै कुरा त मनले मात्र सम्पादन गरेको हुन्छ – केही निमेषमै हामीले कति थोक मनभित्र गरिसकेका हुन्छौँ । मनका ती सम्पादित सम्पूर्ण कार्यलाई मूर्तता दिन मानिस किञ्चित समर्थ छैन- समाजका लागि ती स्वीकार्य नहुन पनि सक्छन् । कति असम्भव हुन्छन् जो मानव मनमा मात्रै सीमित रहन्छन्  । हाम्रा मनका जति अव्यक्त कुरा छन्, प्रायः ती वर्जित पनि छन् । त्यसैले ती मन भित्रभित्रै घटिरहन्छन्, घटिरहन चाहन्छन् ।

दैनिक जीवनमा गरिरहेको कार्यभन्दा कति गुणा कार्य आन्तरिकतामा भइरहेको हुन्छ । बेलाबखत हुने निन्दनीय, भर्त्सनायुक्त गतिविधिहरू पुनः पुनः मनले सम्पादन गर्दागर्दै नियन्त्रण बाहिर गएर हुने जघन्य अपराधहरू हुन् । ती आपराधिक क्रियाकलापहरू त्यसरी घटाउन उसले आफूभित्र कम्तीमा पनि हजार पटक घटाइसकेको हुन्छ ।

त्यसै भनिएको होइन, तिमी जस्तो छौ त्यो तिम्रै विचारको उपज हौ,  तिम्रै मनको प्रतिविम्ब हौ ।’ तिमीले जस्तो सोच्दै छौ त्यसले तिमीलाई निर्माण गर्दै छ । भविष्यमा तिमी—तिम्रै सोच जस्तो हुनेछौ ।

आदर्श सम्पूर्ण तरिकाले सत्य हुन सक्दैन ।  आदर्श मानिएका राम्रा, असल, ठुला भनिएका मानिसहरूको मनमा दुर्भावना आउँछ कि आउँदैन ? निश्चय आउँछ । त्यो त चञ्चल मनको स्वभाव न हो । चञ्चल हुनु भनेकै असल, खराब विचारहरूको बाढ हो एक किसिमले । मनभित्रका ती खराब भावना बाहिर कहीँबाट लिइएको होइन । मनभित्रै छ । मनले उत्पन्न गर्छ । यसो हुनु प्रकृतिकै स्वभाव हो ।

मनलाई नियन्त्रणमा राख्न साधनारत विश्वामित्र किन डगमगाएका ? मेनकाको उपस्थितिले त्यसो भएको हो ? सम्पूर्ण रूपले होइन । केही चाहिँ हो । मेनका त एक कारक मात्र थिइन् । विचलित बनाउने महत्त्व त ऋषि स्वयं उनीभित्रै थियो । फरक त्यति मात्र हो- मेनकाको आगमनले एउटा उद्दीपक परिस्थिति निर्मित भएको थियो। उर्वशीको काम वासना—वैराग्य लिएका ऋषिमा सरेको हुन्थ्यो भने उनी आदर्श पुरुष हुन् भन्न सकिन्थ्यो । तर होइन काम वासना, आशक्ति, अनुराग उनीभित्रै थियो । सुषुप्त अवस्थामा रहेको त्यो ब्युँझिँदाका बखत  उनी  तपस्वीको रूपमा रहन सकेनन् । त्यसो त काम वासनाले आसक्त हुनु खराब पनि होइन । किनकि उनले म अनुरक्त हुन्छु’ भनेर भएका  होइनन्—त्यो प्रकृतिको स्वभाव हो ।

त्यसो हो भने मानिस खराब त कत्ति पनि होइन । तर सामाजिक मर्यादामा ऊ असल नहुन सक्छ । समाजमा ऊ सम्पूर्ण रूपले दोषरहित हुन सक्दैन । किमार्थ सक्दैन । फेरि उसको दोषमा आश्चर्य मान्नु पर्ने केही कारण पनि छैन ।

हामीले श्रद्धा गरेका, अनुकरणीय व्यक्तित्वभित्र पनि अँध्यारा पक्षहरू प्रशस्त छन् । तथापि ती अँध्यारा पक्षलाई कलापूर्ण किसिमले लुकाइएको न हो । जसलाई हामीले अभद्र, निम्न कोटीको देखेका हुन्छौँ । वास्तवमा ऊ अभद्र होइन ।  त्यो कालो दागलाई छोप्न ऊ  असमर्थ भएको हो तर खराब चाहिँ होइन । प्रकृतिको त्यो अवगुणको  पाटोलाई सचेत भएर छिपाउन सकिन्छ  तथापि निर्मूल गर्न सकिँदैन ।

शिक्षाकर्मी, विद्याशिल्प एकेडेमी—दमकका संस्थापक प्रमुख— कथाकार खगेन्द्र भट्टराईकृत ‘अँध्यारो कुनो’ कथा सङ्ग्रहको सन्दर्भमा म यो कुरा बोल्दै छु । प्रस्तुत कृतिमा यिनै यस्तै विषय अभिव्यक्त छन्  । पात्र पात्रहरूको अन्तस्करणमा लुकेका तिनै दागहरू उत्खनन गरिएका छन्  । अझ भाषाविहीन पशुपक्षीको आन्तरिकता, तिनीहरूको जैविक मनोविज्ञानलाई समेत उनले आख्यानीकरण गरेका छन् ।

अझ भित्र पसेर भन्ने हो भने अँध्यारो कुनो’ लेखक मनकै अन्तश्चेतनाको अभिव्यक्ति हो । हामी सबैको मनभित्रको अभिव्यञ्जना  हो । सोझो सरल ढङ्गले प्रकट हुन नसकेका अवचेतन मनका भावनाहरू हुन् । ती कला, साहित्य, सङ्गीतका माध्यमबाट हुन चाहन्छन् । प्रकारान्तरले कला साहित्य स्रष्टा मनकै कुण्ठित संवेगहरू हुन् । स्रष्टाहरू सभ्य शिष्ट कलात्मक भाषामा व्यक्त हुन्छन् भने असभ्य, अशिष्टहरू समाजमा दुराचार फैलाउने चरित्रका रूपमा प्रदर्शित हुन्छन् ।

मानिस- मनभित्रको त्यो अँध्यारो कुनो आफैँमा एउटा शक्ति हो । त्यसलाई सही तरिकाले लिँदा कोही सिर्जनात्मक हुन सक्छन् । कोही त्यसको दुरुपयोगमा पथभ्रष्ट ।

साहित्यकार भट्टाराईका केही फुटकर रचना पढ्दा उनी सम्भवतः कवि होलान् भन्ने लागेको थियो । तर सुरुमा कथा सङ्ग्रह प्रकाशित हुँदा उनी साहित्यिक मार्गमा साधनारत छन्, अन्य विधामा पनि उनी कलम चलाइरहेका छन् भन्ने अवगत हुन्छ । अग्रपङ्क्तिमा नदेखिएर—साहित्यिक कर्म गरिरहेका छन् भन्ने हुन्छ ।

प्रकाशनका हिसाबले प्रथमतः भट्टराई कथाकार भएका छन् । यौन मनोविज्ञानका कथा लेख्ने कथाकार । उनका कथामा मधेस तथा अष्ट्रेलियाको परिवेश आइरहन्छ । केही कथा काठमाडौँको परिवेशमा छन् । तर उनका कथामा कतिपय पाठकले पात्र कुन परिवेशमा जीवित छ भन्ने हेक्का नै राखेको हुँदैन । पात्रको चरित्रको आधारमा, उसको मनस्थितिको आधारमा थाहा पाउनु पर्छ त्यो परिवेश कुन थियो भनेर ।

यसो किन हुन्छ भने उनका कथा मनोलोकको चित्रणमा लाग्दा बाह्य वातावरण प्राथमिकतामा परेका छैनन् । मनोविज्ञान, यौन मनोविज्ञानमा प्रायः भौतिक परिस्थितिलाई साहित्यकारले ध्यान दिएका हुँदैनन् । यसो पनि भनौँ आन्तरिकता नै उनीहरूको विशाल क्यानभास हो । मनोविज्ञानी साहित्यकारहरूले मनको, हृदयको, भावनाको, चेतनाको, संवेगको अनन्ततामै सिङ्गो ब्रह्माण्डको अनुभूत गर्छन् । वीपी कोइरालाका कथा उपन्यास त्यस्तै छन् ।

अँध्यारो कुनो’मा सङ्गृहीत चौध वटा कथाहरू सबै अन्तस्करणमै अभिमुख छन् । प्रच्छन्न अप्रच्छन्न ती जैविक मनोविज्ञानमै आधृत छन् ।

विविध पृष्ठभूमिका, विविध स्वभावका, विविध उमेरका, विविध कार्यक्षेत्रका—पठित अपठित पात्र पात्राहरू चयन गरी तिनमा रति-राग र वासना उत्पन्न गराइएका छन् । पात्रहरू त्यसैले निर्देशित छन् । आमुखमै रहेको लीला कथा—शीर्षक अनुसारकै लीलामय छ । विविध चरित्र चित्रणकै लागि यो कथा रचिएको हुनुपर्छ  । यसमा उल्लेखित परिवेश वर्तमानको होइन । धेरै अघिको समय बोलेको छ यसले । एउटा आधारभूत सरकारी स्कुलका शिक्षकहरूको दैनिकी, त्यो गतिविधि बडो उदेक लाग्दो छ । केही धार्मिक स्वभावका, कोही रुमानी लयका—शिक्षण कर्मलाई दोस्रो प्राथमिकतामा राखेर आफू अनुकूल चलेका, पदीय जिम्मेवारीको चेत नभएका चरित्रहरूले सरकारी कर्मचारीको मनस्थितिलाई देखाएका छन् । वर गोरुलाई बूढो हलीले दाएको चित्र आउँछ शिक्षक र विद्यार्थीबिचको त्यो दृश्यमा । तर कथाको ध्येय भने अर्कै छ । दमित चेतनामा कुण्ठित यौन-अनुराग अनुकूल परिस्थितिमा कसरी ब्युँझिने गर्छ ? त्यो देखाइएको छ । त्यो तृष्णा निश्चित उमेरमा मात्र नभएर— बूढा शिक्षक गोपीमा पनि रहेको—साङ्केतिक चित्र देखाइएको छ ।

एक दुई बाहेक प्रायः कथाहरू निजात्मक सङ्कलनका छन् । जसमा स्वयं लेखक कति ठाउँमा भेटिन्छन् । सबै ठाउँमा लेखक पात्रलाई ठम्याउन भने सकिँदैन । तर उनी त्यहाँ छन् । कृति शीर्षक कथा अँध्यारो कुनोमा समाचारको लागि धावा गरेको एउटा पत्रकारको अनुभव छ । एक समय कथाकार स्वयं पत्रकारिता गर्थे । त्यो उनकै भोगाइ हुनुपर्छ । काठमाडौँको परिवेश— समाचारको खोजीमा पात्रले जोखिम स्विकार्छ ।
यौनकर्मीहरूको समाचार बाहिर ल्याउन कति कठिन कुरा रहेछ । ‘अँध्यारो कुनो’मा त्यो थाहा हुन्छ । कति समयदेखि निगरानी राखेर, विश्वस्त पारेपछि मात्र उनीहरूको अन्तरङ्ग कुरा अखबार बन्दो रहेछ । प्रस्तुत कथाले मुख्यतः दुइटा कुरा बोलेको छ । एउटा त पत्रकारको दैनिकी—नयाँ नयाँ समाचार खोज्नु कति मुस्किल कुरा छ । त्यो भन्दा पनि यौन मनोवृत्तिका  कुरा कति दुरूह छन् । कथाले नदेखिएको सत्यलाई देखाएको छ ।

पोष्टग्य्राड् गर्दै रहेकी रुवी आफ्नो अनुसन्धानात्मक कार्य पूरा गर्न यौनकर्मीको आवरणमा त्यस्तै ठाउँहरूमा भेटिन्छे—जहाँ यौनकर्मीहरू भेटिन्छन् । पत्रकारसँगको संवादमा भन्छे, “ब्ल्याक प्याच एउटा अदृश्य कालो दाग हो । हरेक व्यक्तिले गोप्य रूपमा आफ्नो शरीर, सम्पत्ति र अन्य दृश्य कुरालाई भन्दा त्यो कालो दागलाई महत्त्व दिएको हुन्छ । व्यक्ति त्यस दागबाट मुक्त हुन पनि  सक्दैन, भाग्न पनि सक्दैन र त्यसलाई झेल्ने साहस पनि गर्दैन (पृ-१६) ।”

अघिकै कुरा—मानिस सबै ढङ्गले नैतिकवान् र निर्दोष हुन सक्दैन । ऊसँग धेरै कर्तुतहरू हुन्छन् । त्यो दागलाई छोप्न ऊ निरन्तर चेष्टारत हुन्छ । कलापूर्ण रीतले कर्तुतलाई अदृश्य बनाए पनि वास्तवमा ऊ असल भने हुँदैन ।

आफूलाई प्रश्न गर्ने पत्रकारलाई  प्रतिप्रश्न गर्दै रुवी भन्छे, “किन तपाईँ हजारौँ अन्य विषय भएर पनि पचास रुपैँयामा शरीर बेचेको कथा सुन्न र लेख्न मन पराउनु हुन्छ   ? (पृ-१७)”

रुवीको जस्तै मेरो पनि एउटा प्रश्न छ—यौनिक विषयमा मात्र कथा लेख्न रुचि राख्नु पनि मानव मनको त्यही अँध्यारो कुनो होइन र ? यो प्रश्न लेखकलाई जान्छ ।

सैनिक जीवनको बाह्र वर्षपछि ‘मसँग पनि एउटा हृदय रहेछ’ भन्ने थाहा पाएको एक योद्धाको जीवन र अनुभूति हो—त्यो अन्तिम दिन । कामासक्त आफ्नै अफिसर रोविन्सनबाट ऊ लुटिन्छ । सैनिक जीवनको शुष्कता, कठोर दैनिकीले उनीहरूभित्रको संवेदना मर्दै गएको छ ।  यौन तृष्णाले भड्किएको अफिसर समलिङ्गी सम्बन्ध राखेर आशक्तिलाई केही मत्थर पार्छ, या त ऊ समलिङ्गी नै हो मैले खुट्याउन सकिनँ । उनीहरू जति नियन्त्रित छन्, त्यति नै उन्मुक्तताको अपेक्षामा सुरा र सुन्दरीको सान्निध्य चाहन्छन् । कथाको प्रमुख पात्र क्याम्पमा ताडीको रक्सी बेच्न आउने एलिनाको प्रेममा पर्छ । बिछोडको घडी प्रेमीको हातमा पेस्तोल थमाउँदै ऊ भन्छे—मलाई मारेर मेरो आत्मा लिएर जाऊ । घटना मार्मिक छ, संवेदनशील छ । किंकर्तव्यविमूढ भएको प्रेमीको हातको पेस्तोल अनायास विस्फोट हुन्छ, सँगै एलिनाको दुःखद अन्त्य पनि ।

भट्टराईले एक दुई कथामा समलिङ्गी तथा तेस्रो लिङ्गीलाई पात्रकै लागि पात्र छनोट गरेका हुनु पर्छ । उसको चरित्र प्रतिविम्ब गर्न होइन । तिनीहरूको मनोविज्ञान तथा जैविक मनोविज्ञानबारे कथाले त्यस्तो विशेष केही बोलेको छैन ।

कथाकार भट्टराई  आशक्तिका, अनुरागका सन्दर्भ मात्रै किन चयन गर्छन् ? पुस्तकको अन्त्यमा पुग्दा ममा यस्तो प्रश्न उब्जिन्छ । ती विभिन्न वातावरण र समयका हुँदा अलग-अलग विशेषताका,  अलग-अलग अनुभूति र भोगाइका छन् ।

त्यसो त मैले यौनका, कामुकताका प्रसङ्गलाई दुर्भावनाको विषय ठानेर माथिको प्रश्न गरेको होइन । यस्ता विषयमा लेख्न हाम्रोमा अझै पनि दकस मानिन्छ । शिष्टतापूर्वक त्यसलाई लेख्न जान्नुपर्छ, त्यो पनि जीवनको एउटा पक्ष हो, कला हो । त्यसलाई स्विकार्न सक्नु पर्छ । सुन्दर शिल्प त  फेरि चाहिन्छ नै नत्र उदाङ्गो-अश्लील हुन सक्छ ।

यौनिकतामा आधृत भट्टराईका कथा शालीन छन्, सौम्य छन् । साङ्केतिक छन्, प्रतीकात्मक छन् । कथाको थिमलाई बलात् देखाउन खोजेको पनि छैन । स्वाभाविक तौरले कथानक, चरित्र अनि परिवेशमा लेखन ध्येय सन्तुलित छ । तर कहीँ कतै पात्रहरू अलि अश्लील हुन खोज्छन्—संवाद, उपसंवादमा ।

पिनासको रोगीले प्रयोग गर्ने अबिजालो एक प्राकृतिक बुटी हो । त्यही बुटीको शीर्षक कथामा विधवा इला भाउजूको रागात्मक संवादमा—म पात्र आकर्षित हुन्छ । तथापि गलत भावनाले आकर्षित भएको होइन ऊ भन्छ । इला कुनै वयस्क पुरुष देख्यो कि आफ्नै श्रीमान् गणपतिलाई स्मरण गरेर अनुरागी हुन्छिन् । उनका हरेक संवादमा त्यो वासना छ । पतिको अभिव्यक्ति स्मरण गदै त्यहाँ म पात्रलाई सुनाउँछिन्, “दाजु यी फूल, पात र आइमाई एउटै हुन भन्नुहुन्थ्यो । अलिकति तातो र स्पर्श पाएपछि मात्र यिनले असली बास्ना छाड्छन् (पृ-२७) ।”

स्रष्टा कलाकार मनका उत्तेजना, आवेग, संवेगलाई कलाको माध्यमबाट प्रस्तुत गरी हलुङ्गो हुन चाहन्छ । आफूले देखेका, सुनेका, कति आफ्नै मनभित्रका अभिव्यञ्जनालाई कथाको रूप दिँदा शायद यहाँ भट्टराई पनि हलुङ्गिएका छन् । उनका कथामा कलात्मक पक्ष हटाइदिने हो भने ती उतिखेरै सस्ता यौन प्रस्तुति हुनेछन् । कलाले त्यो अश्लीलतालाई छोपेको छ । उनका कथामा झिँजो लाग्ने त्यस्तो केही छैन  । कतिखेर अन्त्यमा पुगिन्छ पाठकले हेक्का राख्न भुलिदिन्छ । बाहिरी आवरणमा मानिस एकदमै शान्त शालीन भए पनि अझ विरागी झैँ देखिए पनि ऊ भित्रभित्रै अधैर्य, अशान्त हुँदो रहेछ । यी कथा अध्ययन गर्दा लाग्छ लेखकसँग कस्ता अनौठा अनौठा विषय प्रसङ्गहरू रहेछन् ।

वैवाहिक सूत्रमा बाँधिए लगत्तै हर्के विदेश जान्छ । प्रेममा कस्तो अनुभूति हुन्छ ? त्यो अनुभव भोग्ने उसले समय पाउँदैन । यता नरीमाया उसैको स्मृतिमा अज्ञात प्यासको नौलो अनुभूति गर्दै छे । थाहा छैन त्यो कस्तो तृष्णा हो ? लोग्नेको निकटता—गहिरो अनुभव गर्न नपाएकी ऊ हर्केको सम्झनामा—अनेक वस्तुमा उसैको प्रतिमा देख्छे । पानी पिउने करुवामा ऊ हर्केलाई नै पाउँछे । त्यो करुवा त्यसकारण पनि उसलाई प्रिय लाग्छ । केही जिनिस, केही थोकलाई मानव देहसँग रूपायित गरेर पात्रलाई कामाशक्त बनाउँछन्, व्याकुल बनाउँछन्—लेखकले ठाउँ ठाउँमै ।

‘अँध्यारो कुनो’मा लाग्छ- मानिसको अन्तरङ्ग भावना – जैविक मनोविज्ञानलाई पनि यति सहज ढङ्गले अभिव्यक्त गर्न सकिँदो रहेछ । यौनशास्त्रको विषयमा लेखकसँग कति धेरै रसिक ज्ञान रहेछ- त्यसलाई आख्यानमा रूपायित गर्ने—त्यो कला पनि उनीसँग सुन्दर रहेछ । वीपीका अनुयायी कथाकारका रूपमा उनलाई यसै कथा सङ्ग्रहले दहर्‍याउन सकेको छ । सहजवृत्तिलाई वीपीका आख्यानमा भन्दा अलि बढी वस्तुकरण गरिएको छ । वीपीका साहित्यमा काम वासनालाई प्रत्यक्ष— त्यसरी देखाइएको छैन । विचारका माध्यबाट ती व्यक्तिएका छन् ।

यौनिकता जस्तो कठिन विषय, त्यसमा पनि भाषा विहीन पशुप्राणीको सन्दर्भमा अबोध पात्र नन्दुलाई तेलीले त्यो कुरा कसरी बुझाउन सकेको ? अर्थात् कथाकारले कसरी प्रस्ट्याउन सकेका ? गुडगुडी कथामा त्यो विचारपूर्ण टुङ्ग्याई बडो सुन्दर छ ।
भट्टराईका  कथामा प्रायः पुरुष पात्र ज्यादा छन् । रति-रागका विषयमा महिलाहरू त्यति खुल्न सक्दैनन् । गुप्त विद्यामा पुरुषहरूकै यौनिक संवाद छ । घटना त्यस्तो केही छन् । पुलिङ्ग जातिहरू एक ठाउँमा जमघट हुँदा यौनका प्रसङ्गमा कस्ता संवाद चल्छन् ? त्यो कुरा यस कथामा छ । मानिसहरू यस्ता सन्दर्भमा गफिँदा किन उत्साहित हुन्छन्? जीव विज्ञानमा यो अद्भुतको विषय छ । मानवको सौर्य, शक्ति, तेजको स्रोत यसैमा छ, माया प्रेममा छ । त्यही भनिन्छ ।
कोही व्यक्तिमा यस्तो क्षमता हुन्छ कि उसले जसरी जस्तो बोल्दा पनि सुहाउँछ । साना नानीहरूको तोते बोली जस्तै ।

उनीहरूको नराम्रो बोली पनि प्रीतिकर लाग्छ । अझ उल्टै हाँसिन्छ । त्यस्तै कोही व्यक्तिले गाली दियो भने त्यो गाली—गाली लाग्दैन । बरु माया गरेको आभास हुन्छ । एकाध पात्रलाई भट्टराईले त्यही शक्ति दिएका छन् । जसमा लज्जाबोध कम्ती छ, तिनीहरूले जस्तो बोल्दा पनि स्वाभाविक लाग्छ । यौनिकतामा अझै धेरै खुल्नु पर्‍यो भने पीपी सर र लुरी भाउजू जस्ता पात्र उनी रच्छन् ।

झुनझुनामा माइला दाइ र माइली भाउजूको त्यो दैनिक गतिविधि मलाई आश्चर्य लाग्छ । कथा त्यसरी आखिरी होला लागेको थिएन । अन्त्यमा पुग्दा पनि जिज्ञासा मत्थर भएको छैन । घण्टीवाला झुनझुना खाटको रहस्य मैले बुझ्न सकिनँ । यस्ता घटना यथार्थिक हुन कि काल्पनिक ? काल्पनिक हो भने कसरी यस्तो घटना उनको मानसमा आयो होला ?

अस्ट्रेलियाको भूमिमा रचित किस्ताबन्दीमा पिरतीले नेपाली युवाहरूको कठिनाइलाई देखाएको छ । सम्भवतः यौन मनोविज्ञानमा केन्द्रित हुँदा भट्टराईका कथामा अन्य पक्ष ओझेलमा परेका छन् । पात्रको अन्तर्यलाई नियाल्दा अरू विश्लेष्य कुरा पाठकले भुलिदिन्छ । तर केही शीर्षकहरू भने त्यसका विपरीत छन् । एउटा पात्र छ जगत् । ऊ प्रविधि सम्पन्न शहरमा भौँतारिएको छ । अस्ट्रेलियन जुडीको कुकुर हुन पाएको भए कति भाग्यमानी हुने थिएँ—मनमनै ऊ सम्झिन्छ । त्यहाँको बसाइलाई सहज बनाउने हेतु जुडीसँग प्रेम गर्छ । यता स्वदेशमा श्रीमती प्रतीक्षारत छे । विदेशका सम्बन्धहरू कति स्वतन्त्र छन्, उन्मुक्त छन्, क्षणिक छन् । माया गर्ने र गरिनेहरू बदलिरहन्छन् । हाम्रोमा यस्तो छैन—कथाले यही थिम बोल्छ ।

मधेसमा विद्रोह छ—त्यही संरचनामा रचिएको मेरो फुलवाले धेरै अर्थ राखेको छ । यो एउटा बित्यासको कथा हो, कारुणिक कथा  ।  सम्भावित मृत्युको नृत्य कथा । मृत्यु देखाइए पनि आखिरीमा मृत्युको उपस्थिति भने छैन । मधेसका नागरिक समाजले पहाडियामाथि गरेको विरोध, विद्रोह, अपमान खेदपूर्ण छ । निर्दोष पहाडिया मूलका तराईवासीलाई शत्रुताको दृष्टिले गरिएको त्यो अभद्र व्यवहार मन खिन्न हुने खालको छ । किन त्यसो गरिन्छ ? जहाँ बसे पनि आखिर हामी एउटै परिवारका सदस्य होइनौँ ?

मास्टरी पेसामा लागेको नन्द अचानक अपहृत हुन्छ । मधेसका युवा कार्यकर्ताले अब उसलाई मार्छन्—एउटा भयले झस्काइरहन्छ—भयानक त्यो करुण स्थितिले संवेदनशील बनाउँछ । ऊ फर्किएर आउँछ आउँदैन ? म उद्विग्नताले शिथिल हुन्छु—कथाले मलाई थकाउँछ । कथानकको मध्य भागमा नन्दुको बालस्मृतिले आकर्षण गर्दा उसको अगाडि रहेको मृत्यु मैले भुलिसकेको हुन्छु ।

अन्त्यमा पुग्दा बल्ल निःसन्देह भएँ—अब नन्दु बाँच्यो । बालसखा फुलवा ! धन्य छ । जसले नायकलाई बचाउँछ, जीवन-दान दिन्छ । फुलवाप्रति म कृतज्ञ भएँ—मृत्युबाट आफैँ छुटकारा पाएको अनुभव गरेँ ।

अन्तिममा कथाकारले एउटा प्रश्न छोडेका छन्—सम्बन्धित निकायलाई । जुन एकदमै विचारणीय छ, “पहाडिया हुनुमा खराबी के छ ? राज्य सञ्चालकले गरेको विभेदको प्रतिफलको भागिदार नन्दु मास्टर जस्तो किन हुनु पर्‍यो (पृ-८०) ।” यस प्रश्नसँगै फेरि म रक्ष राईलाई सम्झिन्छु । उनको अनुसन्धानात्मक ग्रन्थ ‘युद्ध सौन्दर्य चिन्तन’ले माथिको प्रश्नको असल जवाफ दिएको छ । एकपटक सचेत नागरिक सम्पूर्णले त्यसको अध्ययन गर्न जरुरी छ ।

माओवादी जनयुद्धको समयमा श्रीमान गुमाएकी लक्षिमायाको कथा बोलेको छ सल्लाको रुखले । युद्धका डोबहरू ती  अझ  पनि मेटिन सकेका छैनन् ।

ठट्टामा साधनाले आत्महत्याको प्रयास किन गरी ? मैले अन्त्यसम्म त्यसको कारण खोजेँ । फेला पारिनँ । त्यसो त स्वयं पात्रलाई नै थाहा छैन , ‘आफूले विष सेवन किन गरेँ’ भनेर । सन्तान नजन्मिनुको हेतु त्यसो गरी या त ऊ डिप्रेशनमा थिई ? फेरि ऊ मानसिक रूपमा त्यति कुण्ठित जस्तो पनि लाग्दैन । ऊ सद्दे नै लाग्छ । बडो रोचक ढङ्गले कथानक अघि बढ्छ । कलात्मक छ अभिव्यक्ति, पठनीय छ शिल्प । तर लेखनको ध्येय स्पष्ट छैन । आत्महत्याकाे प्रयास गर्नेहरूको मनोविश्लेषण गर्न शायद यो कथा लेखिएको हुनुपर्छ । मानिसले आत्महत्या किन गर्छ ? निमेषभरको गलत सोच आउँदा आफूलाई नियन्त्रण गर्न सकेन भने ऊ त्यसै क्षणदेखि जीवनसँग हार्ने छ । सेकेण्डको निर्णयले ऊ बरबाद हुने छ । बरबाद हुन थाल्ने छ ।

एक समय अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका लेखक भट्टराईका कथामा त्यस भूमिका चरित्र आइरहन्छन् । काँचो सल्लाहको पात्र बेहरूज त्यहीँको एक चरित्र हो । उसको मनस्थितिलाई यसरी दृश्यात्मक बनाइएको छ कि, अदृश्य आवेग संवेगलाई भाषामा देखाउन सक्नु—मनोविज्ञान तथा यौन मनोविज्ञानमा सफल आख्यानकार हुने लक्षण हुन् ।

बेहरूज पछिल्लो समय मारियाको प्रेममा अभिभूत भएको छ । तर मारियाले उसलाई प्रेम गर्छे गर्दिन प्रस्ट छैन । ऊ एकतर्फी प्रेममा सम्मोहित छ । पच्चीस वर्ष अघि लण्डनकी मेरीसँग उसको सम्बन्ध थियो । केही शारीरिक त्रुटिले हीनता बोध भएको ऊ एक इन्जिनियर हो । केही कुरामा कुण्ठित भए पनि अरू थोकमा  आफूलाई ऊ अब्बल देख्ने गर्छ ।

‘अँध्यारो कुनो’का यी कथाहरू काल्पनिक हुन सक्दैनन् । हुन सक्छ कथानक काल्पनिक भए पनि ती मानव मनकै अनुगुञ्जन हुन् । मानव मनकै संवेग हुन् । आकाङ्क्षा र अतृप्ति हुन् । ऊ किञ्चित तृप्त हुन सक्दैन । त्यसैले ऊ अविच्छिन्न गतिशील छ, उत्साहित छ, ऊर्जाशील छ । त्यही असन्तुष्टिको शृङ्खला रहेछ निरन्तरको बचाइ ।

कथाकार भट्टराईले त्यही त देखाउन खोजेका छन् । मलाई सुहारी बनाइदेऊमा माटाको भाँडा रच्ने गिरिधर दार्शनिक मुडमा त्यस्तै केही भन्छ, “… इच्छा, आकाङ्क्षा, माया, मोह जस्ता तौलहीन तर अदृश्य भारहरूबाट मान्छे थिचिएको हुन्छ (पृ-१०४) ।”

समग्रमा कथा राम्रा छन्, केही सामान्य त्रुटि त्यो त भइरहन्छ नै । जीवनभर साधना गरे पनि सम्पूर्ण त कोही हुने होइन । एउटा त्रुटि परिष्कृत गरे पनि अर्को नयाँ त्रुटि जन्मिरहन्छ । त्रुटिरहित मानिस कहीँ हुन सक्दैन । अँध्यारो कुनो’ले पनि यही त भनेको छ । उसका राम्रा र नराम्रा कुरालाई मिलाएर बुझ्ने चेष्टा गर्नु नै मूल्याङ्कन गर्ने कला हो, क्षमता हो, शक्ति हो ।

मनोविज्ञान तथा यौन मनोविज्ञानका प्रणेता वीपी कोइरालाको लेखन मार्गलाई पछिल्लो पुस्ताले निरन्तरता दिँदै आएको छ । त्यस्तै मध्येका अनुयायी भट्टराईको लेखन सबल देखिन्छ । उनको अँध्यारो कुनो’ पठनीय छ । प्रारम्भिक चरणमै यस्ता प्रभावकारी कथा लेख्ने भट्टराईको कलम नरोकियोस् मेरो यही शुभेच्छा छ ।

 

राइनास नगरपालिका—३, लमजुङ

०७९-१२-८