पहिले फेसबुकमा जोडियौँ त्यसपछि म्यासेन्जरमार्फत। उनका सूचनामूलक स्ट्याटस, साहित्य, साहित्यकार अनि साहित्यिक कृति सम्बन्धित पोस्टहरूले ध्यान र मन आकर्षित गर्दै लग्यो। म उनलाई नियमित पछ्याउन लागेँ। उनका विचार र उहाँका कर्महरूसित क्रमशः परिचित बन्दै गएँ।

शरद् प्रधान

संयोगले सौराहा यात्रा जुर्यो। कवि डाँडा साहित्य समाज, चितवनले उनीसित सशरीर अविस्मरणीय भेट पनि जुराइदियो। उनका वैदेशिक भ्रमण, पत्रकारिता, पर्यटन-साहित्य, दार्जिलिङका यादहरू, वर्तमान साहित्यको अवस्थान, भारत-नेपालका नेपाली-हिन्दी साहित्यकारहरूका संसर्ग लगायत साहित्यइतर राजनीति, चलचित्र, व्यक्तिगत जीवनका अनेकन् अनुभव र अनुभूतिसित साक्षात्कार हुने सुयोग पाएँ। श्रद्धेय प्रकाश सायमीलाई नेपाली साहित्य-सङ्गीतको जिउँदो इनसाइक्लोपेडिया भनेको सुनेको थिएँ । उनमा पनि त्यस्तै ज्ञान र सूचना भरमार थुप्रिएको पाएँ। तीन दिनको संसर्गमा उनको विराट छविले म छपक्क छोपिएँ।

विश्वसाहित्य महासङ्घ भारत शाखाको विराट कार्यक्रममा सितम्बर २०२२ मा फेरि उनीसित दार्जिलिङमा दोस्रो भेट जुर्यो। गफका अनन्त शृङ्खला फेरि त्यहाँ पनि जोडिन पुग्यो। उनका अनुभव- अनुभूति सुनिरहूँ लाग्ने। आफ्नो कार्यक्रम कालेबुङतिर पनि रहेकोले लामो समय उनीसित बिताउने रहर अधुरै राखेर छुट्टिएँ।

यसैबिच उनको कृति ‘स्मृति बिम्ब’ पनि बजारमा आयो। त्रिदेश पब्लिकेसन दार्जिलिङबाट सो पुस्तक मगाएर एकसरो हेरेर थन्काएँ। तत्काल प्रतिक्रिया लेखी नहाल्ने आफ्नो सुस्त बानीले कृति आलमारीको शोभा मात्र बनेर धेरै दिन बसिरह्यो। पुस्तक छापेपछि प्रतिक्रिया पर्खने हामी सबै सर्जकको साझा मनोवृत्ति हो। कतिले त “लौ न अलिकति लेखिदिऊँ न” भन्ने अनुरोध पनि राख्ने गर्छन् परिचित सर्कलमा। तर उनले कहिल्यै त्यस्तो अपेक्षा राखेनन्। बरु मलाई पो विलम्ब भएकोमा ग्लानि बोधले पोलिरह्यो – केही त लेख्नुपर्ने भनेर।

हजुर, म कुरो गर्दै छु आदरणीय शरद प्रधान महोदयको। काठमाडौँ नेपालमा बसेर निरन्तर भारतीय नेपाली साहित्य, साहित्यकार अनि साहित्य कर्मलाई नजिकबाट नियालिरहने एक गम्भीर अध्येता हुन् शरद प्रधान जसको दस्सी हो उनको एक मात्र कृति ‘स्मृति बिम्ब’। जुन कृतिमा ४३ जना भारतीय नेपाली साहित्यकारहरूका कृति र कीर्तिको बखान भेटिन्छ। भारतीय नेपाली साहित्य र साहित्यकारसित अन्तरङ्ग सम्पर्क र सम्बन्धमा बस्न रुचाउने नेपालका थोरै साहित्यकारहरूमा उनी अघिल्लो पङ्क्तिमा आउँछन्।

नेपालका साहित्यकारहरूबाट जब पनि यता भारतीय नेपाली साहित्य इतिहास लेखन कार्य हुन्छ थोरै मात्र सौभाग्यशाली साहित्यकारहरूका उल्लेख, कृति अनि कीर्ति विवरण टिपिएका पाउँछौँ। धेरै जसो साहित्यकारहरूको नाम मात्र टिपिएका अनि प्राय: जसो त किनारकृत गरिएका हुन्छन्। पुराना कति त छुटेका हुन्छन् भने नयाँ सर्जकहरूका त झन् कुरै नगरे भयो। यस्तोमा चिन्तक-सर्जक शरद प्रधान आफ्नो कृतिमा धेरै नयाँ अनि छुटिएका भारतीय सर्जकहरूलाई नेपालका जिज्ञासु पाठकहरू समक्ष प्रस्तुत गर्न उद्यत बनी अघि आएका छन्। यस्ता कार्यमा विशेष नारी साहित्यकारहरूलाई लिएर सर्जक लीला लुइँटेल धेरै अघि देखिन्छन्।  तर उनी अधिक नारी सर्जक केन्द्रित छन्।

कृति ‘स्मृति-बिम्ब’ त्रिचालीस जना भारतीय नेपाली साहित्यकारहरूका साहित्यिक परिचय आफ्ना स्मृतिमा अल्झिएका संस्मरण मिसाएर शब्द बिम्बमा उतारिएको परिचयाङ्कन लेखनको बेजोड नमुना छ। यसैले यसमा निसंस्मरण छ, निबन्ध छ अनि कृति अनि कीर्तिको समालोचना पनि छ। यसैले यो कृतिलाई सोझै विधानमा तोक्न सकिन्न। उत्तर आधुनिक लेखन शैलीले विधाभञ्जन मानेको यो कीर्तिलेखन कृतिलेखन रूपमा निकै लोकप्रिय बन्दै आएको छ। यताबाट यस्तै कृति सर्जक मोहन ठकुरीको ‘सर्जक-सन्दर्भ’ धेरै लोकप्रिय छ। झन्डै उस्तै शैली र विषयवस्तुसित सर्जक शरद प्रधानले कृति ‘स्मृति-बिम्ब’ तयार पारेको देखिन्छ। प्रकाशन कालमा केही पछि देखिए पनि यसमा संलग्न रचनाहरू भने ‘सर्जक सन्दर्भ’का भन्दा  धेरै अघि लेखिएका अनि पछि केही परिमार्जन र नयाँ अपडेटसित कृतिमा समाविष्ट गरिएका हुन् भन्ने स्पष्ट छ।

कृति ‘स्मृति-बिम्ब’ले निकै लोकप्रियता कमाएको छ। यसो हुनुमा दुई वटा कुरा मुख्य: छन्- पहिलो; यसमा भारतीय नेपाली साहित्यकारहरूबारे निकै खुलेर चर्चा गरिएको छ जसले नेपालका धेरै पाठकहरूका जिज्ञासा र उत्सुकतालाई शान्त पार्न सकेको छ। किनकि नेपालका पाठकले प्रतिष्ठित भारतीय नेपाली साहित्यकारहरू जो नेपालका पाठकहरूका निम्ति कति अल्प-परिचित वा अपरिचित थिए ती साहित्यकारहरूबारे निकै विस्तृतमा जान्ने अवसर पाएका छन्।

जस्तो कि ‘सिक्किमे नेपाली साहित्यका सशक्त हस्ताक्षर अगमसिंह तामाङ’, ‘कलिलो उमेरमा अवसान भएका किनाराकृत स्रष्टा अच्छा राई रसिक’,  ‘नेपाली साहित्यका अनेपाली लेखक ओकिउयमा ग्वाइन’, ‘कवितामा बाँचेका कवि खड्गसिंह राई काँढा’, नेपाली साहित्य जगतले बिर्सिएका दुई जगत राई’, ‘धेरै लेख्ने तर कमैले सम्झेका जी. छिरीङ’, असामयिक अवसान भएका सशक्त कवि जीवन थिङ’, ‘अल्पायूमा अस्ताएका सशक्त कवि नरेन्द्रप्रसाद कुमाई’, ‘विस्मृतमा परेका सशक्त कवि प्रेम शेर्पा विरोकी’, ‘ असामयिक निधन भएका जुझारु कवि विकास गोतामे’, ‘कवितामै  बाँचेका कवि विनिता सिंह, विस्मृतिमा कवि-गीतकार नर्देन रूम्बा  आदि।

दोस्रो; यसमा व्यक्ति परिचयलाई निकै फरक किसिमले पस्किएका छन्। पारम्परिक साहित्यिक परिचय लेखिने रूढ शैलीदेखि अलिक पर लेखक अनि लेख्य सर्जकको अन्तरङ्ग भेटघाट, केही रोचक सम्झना, अनि कृतिगत विश्लेषण र मूल्याङ्कन समेत गरिएका हुनाले पाठमा रोचकता अनि आकर्षण थपिएको पाइन्छ। यसमा उल्लेखित तथ्य पुष्टिको निम्ति साभार मन्तव्य र पाठ्यांशहरू उद्धृत छन्। प्रत्यक्षताले कृतिको अधिक विश्वसनीयता बोकेको पाइन्छ। कति सुनेका कुरा र तथ्यहरूलाई सक्दो प्रत्याभूति दिलाउन भरपर्दो सन्दर्भ दिने काम गरिएको छ। जस्तो कि युगकवि श्री वीरेन्द्रबारे लेख्नअघि उनी एउटा रोचक पृष्ठभूमि तयार गर्छन् यसरी:

सबैले भन्थे ‘ऊ सन्की छ। उसमा पागलपन धेरै छ। ऊ बक्सर पनि हो। खुकुरीले हान्छ। उसको घर नजाऊ’। तर मलाई एक समय साहित्यकारहरू भेट्ने भूत सवार भएकोले उनलाई भेट्ने भुटभुटी र उत्कण्ठाले निकै सतायो।

पाँच मिनेट जति बसेर मैले उनलाई केही प्रश्न गरेँ तर उत्तर प्राय: आएनन्। डर र त्रास त थियो नै, त्यसैले धेरै सोध्ने आँट गरिनँ। बिस्तारै बिस्तारै निस्केँ नमस्ते गरेर। खुसीले गदगद् भएँ, यस्ता दुर्लभ व्यक्ति भेटेँ भनेर अनि अझ खुसी लाग्यो, सकुशल फर्किन पाएमा। म त्यस बेला करिब बिस वर्ष जतिको थिएँ हुँला।

त्यसपछि कवि वीरेन्द्र सुब्बाको परिचय आरम्भ हुन्छ। यसरी नै उनले हरेक साहित्यकारको जीवन अनि सिर्जनवृत्तिलाई नजिकबाट चिहाउने कार्य गरेका छन्।

कसैको जीवनी लेख्नु अझ त्यसलाई आफ्नो संस्मरणसित जोडेर लेख्नु निकै चुनौतीपूर्ण हुन्छ। कुनै पनि संघटना वा प्रसङ्गले लेखक-सर्जकको मान मर्दन वा छविलाई अवमूल्यन गरेको हुनु भएन नत्र त्यसले गतिलै विवाद सिर्जना गर्छ। कुनै लेखक वा स्रष्टाबारे लेख्दा त्यसले कुनै बेला पारिवारिक सदस्यहरूमा समेत असर पर्न जान्छ। चोट लाग्न जान्छ जसको कारणले जीवनी लेखकको सकारात्मक उद्देश्य पनि बेअर्थी बनिदिन्छ। गोपाल योञ्जन बारे लेख्दा पिटर जे. कार्थक जुन विवादमा परे त्यसबाट हामी उदाहरण लिन सक्छौँ। तर पनि यथार्थलाई यथार्थकै रूपमा स्वीकार गर्ने क्षमता तर परिवारले पनि राख्न सक्नुपर्छ। किनभने कुनै बेला जीवनीकारले जीवनी लेख्दा आफ्नो रचनालाई प्रभावी र विश्वासयोग्य बनाउन  लेख्य सर्जकको केही अन्तरङ्ग कुरा खोतल्नै पर्छ। नोबेल पुरस्कार बिजेता भी.एस. नयपालले वरिष्ठ बङ्गाली लेखक निराद सी. चौधरीबारे लेख्दा यसै प्रसङ्गमा भनेका छन्: ‘It is important to take an interest in Nirad Chaudhuri’s work without becoming involved with his situation and “personality.” This has been his extra-literary creation since the publication in 1951 of his Autobiography of an Unknown Indian’….(Literary Occasions- p.no 147)

सर्जक शरद प्रधानले पनि यस्ता घटनास्मृति र जीवनचरित्रलाई प्रस्तुत गर्दा स्रष्टाको अवस्था र व्यक्तित्वलाई धेरै नजिकबाट खोतल्ने र त्यसलाई केलाउने काम गरेका छन्। अतिशयोक्ति नबनाईकन त्यसलाई सहज रूपमा प्रस्तुत गरिएकाले ती घटनाहरूका वा स्मृतिहरूका प्रस्तुतिमा आजसम्म लिखित कुनै विवाद आएको पाइएको छैन।  श्री वीरेन्द्रको सन्की स्वभाव, राजनारायण प्रधान, आईबी राई, कुमार प्रधानहरूले मत्येन्द्रलाई हेपेको प्रसङ्ग, कुमार सरले आफैलाई सीमान्तकृत महसुस गरेको, जाति र दलको बिच मझधारमा उभिएको विकास गोतामेको पीडा, गुमानसिंह, हरिभक्त कटुवाल, प्रकाश कोविद आदिको मदिरा सेवनका कुरा, (जातीय कवि गिरीलाई जोगाइएका) आदिलाई निकै खुलेर चर्चामा ल्याइएको पाइन्छ। यसले यी सर्जकहरूका मान-सम्मानलाई कुनै नकारात्मक असर भने परेको छैन। निकै सन्तुलित अनि संयमित अर्थमा यस्ता विषयलाई उठान गरिएका छन्।

कृति ‘स्मृति बिम्ब’ले सात जना नारी स्रष्टालाई समेटेको छ। जसमा कमला सांकृत्यायन, लक्खीदेवी सुन्दास, विनीता सिंह, सानुमती राई, देवकुमारी थापा, राधिका राया अनि पारिजात। यी मध्ये पनि देवकुमारी थापा, राधिका राया अनि पारिजात भने नेपालकै नागरिक बनिए। अरूभन्दा पनि आजका पाठकले विशेष विनीता सिंह,  सानुमति राई अनि राधिका रायाबारे धेरै थोक जान्ने सुअवसर पाएका छन् यहाँबाट। सङ्ख्यात्मक हिसाबले थोरै भए पनि तत्कालीन समाज र परिवेशमा यी नारी हस्ताक्षरहरूले नेपाली साहित्यको समृद्धिमा पुर्याएका योगदानबारे जानकारी दिन सफल यी आलेखहरूले यी विभूतिहरूका सार्विक मूल्याङ्कन पनि गरेको छ भनी किटान गर्न सकिन्छ। यसै लहरमा सावित्री सुन्दास पनि जोडिएकी भए सुनमा सुगन्ध हुने थियो।

अन्तमा यति जोडिराखूँ- कृति ‘स्मृति बिम्ब’लाई यता भारतमा व्यापक रूपमा छर्नुपर्ने देखिन्छ। विशेष महाविद्यालय अनि विश्वविद्यालयले यो कृतिलाई अनिवार्य नभए अतिरिक्त सन्दर्भ ग्रन्थको रूपमा प्रयोग गर्न सके हाम्रा धेरै दिवङ्गत सर्जकहरूबारे विद्यार्थीले धेरै सामाग्री पाउन सक्थे भने आजको पाठ्यक्रम अनुसार परियोजना लेखनमा पनि धेरै मदत पाउन सक्थे। हुनु त अनौपचारिक ढङ्गमा सचेत प्राध्यापकहरूले यो कृतिलाई प्रयोगमा ल्याइसकेका होलान् तर त्यत्तिले मात्र नहोला। यसबारे थप विचार होला सम्बन्धित संस्थान र अधिकृतहरूबाट।

भारतीय नेपाली साहित्य, सर्जक र सिर्जनामाथि शरद प्रधान महोदयद्वारा दोस्रो भागको पनि काम सुरु भएको बुझिन्छ। पछिल्लो पुस्तामाथि लेखिएका केही आलेखहरू प्रकाशित हुन थालेका छन्। यो सुखद अनुभूति छ यता हाम्रो निम्ति। ‘स्मृति बिम्ब’को अपार सफलताको निम्ति हार्दिक बधाई !

रोङ्गो; कालेबुङ