विषय प्रवेश-

नेपाली साङ्गीतिक जगतमा गोपाल योञ्जनको नाम एउटा उच्च स्थानमा पाइन्छ। नेपाली सङ्गीतकारका लहरमा अम्बर गुरुङ, नातिकाजी, गोपाल योञ्जन, रञ्जीत गजमेर, शम्भुजित बास्कोटा आदि जस्ता नेपाली सङ्गीतकार नेपाली सङ्गीतका शीर्ष नाम हुन्। उनीहरूले नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ मोड ल्याउने काम गरेका हुन्। उनीहरू आआफ्नो शैली र परिपाटीका सङ्गीत सर्जक हुन्। अम्बर गुरुङले नेपाली सङ्गीतलाई सुगमता दिएका, नातिकाजीले पनि आफ्नै परिपाटीको सुरुआत गरेका हुन्। गोपाल योञ्जनको योगदान त आफ्नो ठाउँमा छ। रञ्जित गजमेरले नेपाली चलचित्रमा नेपाली गीतलाई उचालेका हुन्। पछिल्ला पिँढीका शम्भजित बास्कोटाले फेरि नयाँ पुस्तालाई आकर्षित गरेका छन्।

यतिमध्ये पनि गोपाल योञ्जन एक शब्दकार, सङ्गीतकार र गायक गरी नेपाली सङ्गीतका त्रिवेणी हुन्। उनले नेपाली गीतको मौलिकताको अन्वेषण गरी नयाँ सिर्जनामा साधनारत रहेका हुन्।

गोपाल योञ्जन

गोपाल योञ्जन मिरिकस्थित ओकाइटी वि सं. २००० सालको जनै पूर्णिका दिन जन्मेका थिए। डा बाबु डा बुद्धिमान योञ्जन र आमाको नाम छेकुडोल्मा योञ्जन थियो। उनका बाबु ओकाइटीका डाक्टर थिए। उनकी एक दिदी पूर्णिमा हुन्। आफू जन्मेर नौ महिनाको हुँदा बाबुको निधन भएको थियो। आमाले नै उनलाई हुर्काउने बढाउने काम गरेकी थिइन्। अर्का वरिष्ठ सङ्गीतकार कर्म योञ्जन साइनोले उनका दाजु हुन्। कर्म योञ्जन र गोपाल योञ्जनका बाहरू दाजुभाइ र आमाहरू दिदीबहिनी थिए। डाक्टर पढाउने आमाको इच्छालाई भने पूरा गर्न सकेनन्। यद्यपि उनी सानैदेखि सङ्गीतपट्टि ढल्किएका थिए। सानैदेखि उनी बाँसुरी बजाउने गर्दथे। उनी आफैँ बाँस काटेर बाँसुरी बनाएर बजाउने गर्थे। एकदिन आमाले एउटा काममा पैसा एक ठाउँ दिनु भनेर कतै पठाउँदा बाटामा बाँसुरी बिक्रेता देखेर पछि एक मुठा बाँसुरी किनेका थिए भन्ने कुरा श्रीमती रिन्छेन योञ्जनले एउटा अन्तर्वार्ता भनेकी छन्।

उनलाई डाक्टर पढाउने उद्देश्य दार्जिलिङको सन्त जोसेफ्स कलेजमा भर्ना गरिए तापनि आफ्नो सङ्गीतप्रतिको झुकावले डाक्टर पढ्न नसक्ने भनी आमालाई भनेका थिए।

त्यसपछि उनी दार्जिलिङ सरकारी कलेजमा पढ्न थालेका थिए। त्यस कलेजको भवनमा को लोक मनोरञ्जन शाखाअन्तर्गत हिमालय कला मन्दिरमा एक बाँसुरी वादकको रूपमा काम गर्न थालेका थिए। उनले गोर्खा दुःख निवारक सम्मेलनले वार्षिक रूपमा आयोजना गर्ने सङ्गीत प्रतियोगितामा श्रेष्ठ गीतकार र श्रेष्ठ सङ्गीतकार रूपमा विजयी भएका थिए। हिमालयन कला मन्दिरमा कार्यरत छँदा नगेन्द्र थापाको र उनी मिलेर लगभग चालिस वटा जति गीतहरू रचेर त्यसको धुन भरेका थिए। त्यसमध्येबाट नारायण गोपाल दार्जिलिङ आएका बेला आठ वटा जति गीत लगेर आफूले गाएका थिए।

गोपाल योञ्जन राम्रो विशुद्ध भाषाका गीतकार हुन्। उनले दार्जिलिङ सरकारी कलेजबाट नेपाली भाषा र साहित्य विषयमा स्नातक र काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका थिए।

त्यसपछि पद्मकन्या क्याम्पसमा नेपाली पढाउने गर्थे। उनी एक लेखक पनि हुन्। उनले सङ्गीत विषयमा दुई वटा पुस्तक पनि लेखेर प्रकाशित गरेका थिए। उनको सङ्गीताञ्जलि र गीत मञ्जरी हुन् भने उनले नारायण गोपालसित मिलेर बागीनाको सम्पादन गरेका थिए। उनले गीतमा व्याकरणिक शुद्धता, ठेट शब्दको प्रयोग, आह्लादकारी तत्सम शब्दको प्रयोग गरेको पाइन्छ। शब्द शय्यामा सचेतता, वाक्यमा उद्देश्य पद र विधेय पदको प्रयोग कुशलता, सरलताभित्र कोमलता, थोरैमा धेरै, सरलताभित्र

गोपाल योञ्जन एक कुशल सङ्गीतकार, एक गायक र एक गीतकारका त्रिवेणी हुन्। यसर्थ, उनी यी तीनै कुराले सम्पन्न वाग्येयकार हुन्। गीतमा हुनुपर्ने मिठास, आह्लादकारिता, लयात्मकता, गेयात्मकता, सुमधुरता पाइन्छ। गीत सुन्दाका सुमधुरता, परमानन्दानुभूति आदि पाइन्छ। उनका गीतमा देउरालीको शीतल बतास चलेजस्तो लाग्छ। श्रोतालाई मन्त्रमुग्ध बनाउने जादु छ। गीतको भावमा जोड दिएका थिए।

योञ्जनका गीतमा देशप्रेम र जात्याभिमान, जीवन दर्शन, प्रेमका विविध भाव, पीडाबोध, लोकतत्त्वको उत्थान आदि प्रवृत्ति पाइन्छन्। यद्यपि यस लेखमा उनका गीतमा देश र जात्याभिमानको एक पक्षलाई मात्र लिएर चर्चा गरिनेछ।

= = =

गोपाल योञ्जनका गीतमा देशप्रेम –

गोपाल योञ्जन देशभक्ति र जातीय भावनाका पनि कुशल गीतकार हुन्। उनको नेपाल प्रवेशपछि नेपाली संगीतमा देशभक्ति गीतले नयाँ मोड ल्यायो। नेपाल र नेपालीको रगतमा जात्यभिमान र देशभक्तिका भावना उर्लिए। उनका निम्ति नेपाली जाति विश्वको एउटा वीर, इमानदार र स्वाभिमानी जाति हो। यद्यपि गोपाल योञ्जन नेपाल जानुभन्दा पहिले पनि दार्जिलिङको हिमालय कला मन्दिरमा सङ्गीतकारका रूपमा कार्यरत हुँदा पनि उनले प्रखर भारतीय राष्ट्रिय भावनाको गीत रचेका थिए। त्यसमध्ये यो एउटा गीतको अंश यस्तो छ-

पिर बिसाको होइन मैले सम्झना नै लेख्दैछु
मलाई सधैँ बिर्से पनि सम्झाउन लेख्दैछु।

कक्रिएका हातहरूले ढुङ्गामाथि लेख्दैछु
आँसुले लेख्न लाज लाग्छ, रगतले नै लेख्दैछु।

रुखो रुखो डाँडाबाट केही पठाउन सकिनँ

रगत लागेको बालुवा सिन्दूर बनाई पठाउँदैछु
मेरो यादमा सधैँ साँचिएका माया देशलाई दिनु

चुरा बिलाई फलामको खुकुरी बनाई पठाइदिनु

पिर बिसाको होइन मैले सम्झना लेख्दैछु..

तिमीलाई घाम छेक्ने बादल फुकेर पठाउँदैछु
तिमीलाई छुन खोज्ने मैलो हात काट्न जाँदैछु।

म मरेर केही हुन्न देश यो बचाउनलाई

तिमी उभेको माटोलाई यहाँ पैरोदेखि रोक्दैछु।

म मर्छु यहाँ हजारचोटि यो देशलाई बचाउंदछु
मेरा यी हाडहरू जोडी सिमानामा बार लगाउँछु

फर्केछु भने ढोकामा झन्डा (तिरङ्गा) पर्दा लाइदिनू

फर्किनँ भने छोरालाई सिपाही बनाई पठाइदिनू।

 

नेपालीपन देशको मानचित्रमा होइन भावना र मानसिकतामा हुनुपर्छ। उनका निम्ति नेपालीपन भनेको नेपालीका स्वाभिमान, वीरता, इमान, कर्मठशीलता आदिलाई हुन्। यिनै भावनालाई गीतका आधार बनाएका छन्। अहिले यो जाति निम्छरो, हुतीहारा नभएको बनेको छ। यस्तो अवस्था देखेर उनको जातित्व कुण्ठित भएको छ। यस्तो अवस्थामा उनी विक्षोभ व्यक्त गर्छन्। तीमध्ये कुनै गीत यस्ता छन्।

क.  यो मेरो टोपी हो- स्वर आफ्नै।

ख.  खुकुरीले लेखिएको इतिहास रातो हुन्छ, कलमले कोरिएको स्वर्ग खरानी हुन्छ।

ग.   देशले रगत मागे मलाई बली चढाउनु

घ.   नेपालीलाई नेपालको कतिको माया छ।

ङ.    बनेको छ पहराले यो छाती मेरो, बगेको छ लहरा रगतमा मेरो

च.   भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‌यो

छ.  धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई

यीबाहेक अन्य धेरै देशभक्ति गीतहरू ‘गोपालय’ नामक गोपाल योञ्जनको गीतसङ्ग्रहमा पाइन्छ। यीबाहेक धेरै गीतको स्वाराङ्कन गरिएको छ। यहाँ चाहिँ चर्चित देशभक्ति गीतको मात्र चर्चा गरिन्छ।

देशले रगत मागे मलाई बली चढाउनु

रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी।

बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी

मेरी बुढी आमा गोठमै हाँसी खुशी देखिन्छिन्।

ती काँगडाका सन्तान अझै मरेका छैनन्

तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन्।

पाउँदिनन् केही पनि रगत स्तनको साटो

आउँदैन माग्न उसलाई ऊ नेपालीकी छोरी।

यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान

बघिनीको दूध होइन, त्यो त नेपालीको स्तन

सक्दिनँ म बाँच्न निर्धा भएर एकछिन

बरु शहीद भएर वीरकै मृत्यु  म मर्छु

हामी वीर वीर बनेर मर्छौं, गोली त ऊ सहन्छे

माग्दिनन् सुनका अक्षर, ऊ नेपालीकी छोरी।

यस गीतमा नेपाली नारीको सहनशीलता महानता देशभक्तिको भावनालाई अघि सारिएको छ। नेपाली युवाहरू सिपाही बनेर देश विदेशमा लडाइमा भाग लिन्छन्, शहीद बन्छन् तर त्यो पीडा आमाले भोग्ने पर्ने हुन्छ। आफ्ना सन्तान लडाइमा लड्न पुगेको सुन्दा कुन आमाको छाती चिरिन्न होला। यस गीतमा नेपाली आमाहरूको मनलाई चिनाउने प्रयास गरिएको छ।

योञ्जन नेपाल गएपछि नेपाली देशभक्ति गीतले अझै गति पायो। गीत र सङ्गीतको माध्यमबाट नेपालमा देशभक्तिको लहर चलाएर, जात्यभिमानलाई उरालेका थिए। उनका निम्ति नेपाली भनेको राष्ट्रियता र जातीयता दुवै हुन्।

क.  बनेको छ पहराले यो छाती मेरो, बगेको छ लहरा रगतमा मेर

      पखेरुमा जन्मेँ टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो

      खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न

     घोटिएर हातपाउ झरिजावोस् तर कोही अगाडि यी हात जोडिन्न

     म आगो सहन्छु अन्याय सहन्नँ, म तृष्णा सहन्छु तिरस्कार सहन्नँ

     मेरो शिर उडाओस् बरु त्यो सहन्छु, तर कोही परायले टेके सहन्नँ।

ख. कोही पूर्व कोही पश्चिम- यसमा नेपालको भौगोलिक, सामाजिक सांस्कृतिक एकताको भावनालाई अघि ल्याइएको छ। नेपालमा अनेक भाषा भाषी छन् तर सबैको एउटै राष्ट्रियताको माला नेपाली हो।

ग.  भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो

     मलाई पनि सबै देश हेर्न मन लाग्यो।

     तिम्रा जरा हाम्रा फूलहरू पात कहाँ पर्यो।

     मलाई पनि सबैको मन केलाउन मन लाग्यो।

    भन्छन् सबैले हामी लड्न पोख्त छौँ अरे

    खुकुरीको धारमा शत्रु पनि जोख्दछौ रे

गोपाल योञ्जन दार्जिलिङबाट नेपाल गएपछि केही व्यक्तिले उनलाई दार्जिलिङबाट आएको, बाहिरबाट आएको भन्ने गरेका थिए। त्यस्तो भन्नेहरूलाई जबाफ दिन उनले यो प्रखर देशभक्ति गीत सिर्जना गरेका हुन्। उनीभित्र नेपालप्रेम नेपालका व्यक्तिका भन्दा कुनै मात्रामा कमी छैन भन्ने प्रमाणित गर्ने यो आइकाेन गीत हो।

 घ.  धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई

     शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई।

     हैन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन

     नेपाली हुन पूर्व जनमको कमाइले पुग्दैन

     पुर्खाको पौरख श्रम र आशिष् मात्रैले पुग्दैन

     नेपाली हुन पवित्र आत्म नेपाली चाहिन्छ

     पराया मुटु दौराको फेरले छोपेर पुग्दैन।

      हैन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन।

      महाकाली मेची हो भन्छन् नेपाल, म भन्छु मानचित्र

      वास्तविक नेपाल छ भने कतै नेपाल मनभित्र

      सबैले मन खोलेर भन जय जय नेपाल

       भन्यौ कि बन्यो नेपाल सुन्दर शान्त र विशाल

      हैन भने नेपाली नभन वीरको छोरा नातिमा नगन।  

ङ.  हाम्रो खुसीका लागि हामी नै बनिनु पर्छ-

     नेपाल त्यसै बनिन्छ, नेपाली बनिनु पर्छ

     हामी आज जे छौँ जे हौँ, त्यो हिजोको कमाइ हो।

     रमाइलो भोलि बनाउन आज बनाउन पर्छ

     सबै खुसी हुनेछन्, मेरो देश खुसी हुनेछ।

     खालि देशप्रतिको विश्वास अटल बनाउन पर्छ।

      तिमी जे गर्न सक्छौ यो देशलाई देऊ

      सक्दैनौ भने भैगो तर देशलाई भार नदेऊ।

      सबको खुसीको लागि आफ्नो स्वार्थ त्यागिदेऊ ।

      परि आए देशको लागि सर्वस्व त्याग्नु पर्छ।

यो गीत पनि गोर्खालीको विगतको गौरव गाथा र देशभक्ति नै देशको उन्नतिको सबैभन्दा ठुलो कडी हो भन्ने सन्देश दिएका छन्। महेन्द्र पुलिस क्लबको कार्यक्रममा उपस्थित हुन जाँदा उनलाई गीत दिनु भन्ने निवेदन गर्दा उनले एक घण्टाभित्र गीत रचेर त्यसलाई धुन र सङ्गीत भरेर स्टेजमा प्रस्तुत गरेका थिए।

उनले हाम्रो जातीय टोपीलाई लिएर मात्र पनि जातीय स्वाभिमानको भावनालाई उरालेका छन्।

यो मेरो टोपी हो।

मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भिरजस्तो

कैले पनि झुक्न नजान्ने कैले पनि लुक्न नमान्ने

मेरो टोपी नेपाली वीर जस्तो

मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास

अहिलेसम्म भोगेको मैले मेरै घाम छायाको बास

मेरो टोपी मैलो होइन यही माटाको टिको लागेको

मेरै पसिना पुछ्ता पुछ्ता यसलाई केही दिक्क लागेको। 

मेरो टोपी गाउँलेको शिरमाथि मेरो टोपी लाहुरेको सिरमाथि

ठुलो सानो जान्दैन यो भेदभाव मान्दैन यो

मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली सिरमाथि।

धावा धावा अखडाभित्र मेरो टोपी लड्दै थियो। 

सगरमाथा उँभो पनि मेरो टोपी चढ्दै थियो

मेरो टोपी खोज्दै सागरदेखि सगरसम्म

जहाँ पनि जहिले पनि यो त अघि बढ्दै थियो।

मेरो टोपी हितैको साथी जस्तो, आमाको छातीजस्तो

दुःख सुखमा काम लाग्ने नेपालीको नाम राख्ने

मेरो टोपी आफ्नो सन्तान चिनाउने जन्मैको भावी जस्तो।

यो गीत नेपालीहरू बसोबासो गर्ने सर्वत्र फैलिएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रमतिर यही गीतको पनि प्रस्तुति हुने गर्थ्यो र अहिले पनि देखिन्छ। यस गीतमा नेपाली टोपीलाई जातीय गौरवको प्रतीकका रूपमा लिइएको पाइन्छ।

हाम्रा जातीय गौरवलाई झल्काएको पाइन्छ। टोपीभित्र जातित्व छ, वीरताको निशानी छ। लक्षणा शब्द शक्तिका आधारमा लक्षणलक्षणा रहेको टोपीका विभिन्न अर्थसापेक्षमा हेरिएको छ। उनका लागि टोपीले बहुभूमिका खेलेको हुन्छ, धेरै काम गरेको हुन्छ। यो गोर्खालीको अस्तित्वको प्रतीक हो। टोपी सगरमाथा चढ्दै थियो, विश्वयुद्धमा टोपी नै लड्दै थियो, सगरदेखि सागरसम्म नै टोपी पाइन्छ अर्थात् टोपी लाउने गोर्खाली पाइन्छ।

गोपाल योञ्जनका केही गीतमा देशप्रेमले भरिएका छन्। उनी आफ्नो जीवनको पछिल्लो आधा भाग नेपालमा बिताएका हुन्। दार्जिलिङबाट नेपाल गएर मनोवैज्ञानिक रूपमा नेपालप्रेम झल्केको हुनुपर्छ। उनका लागि नेपालीपन अभीष्ट हो। उनका दृष्टिमा गोर्खालीहरू विश्वका लडाकु हुन्। वीर गोर्खालीहरूले भरिएको देश स्वर्निभर स्वतन्त्र स्वावलम्बी हुनुपर्छ। गीतमा नेपालको गौरवलाई उचालेर सगरमाथा शिखरमा पुर्याएका छन्।

उनको अर्को आइकोनिक नेपाल र नेपालीत्व जगाउने गीत हो-

बनेको छ छहराले यो छाती मेरो

बगेको छ लहर रगतमा मेरो

पखेरोमा जन्मेँ टाकुरामा खेल्ने

झुक्तै नझुक्ने नेपालको छोरो।

खोसेको रोटीले मेरो पेट भरिन्न

मागेको धोतीले मेरो लाज छोपिन्न

घोटिएर हातपाउ झरिजाउन् औँला

तर कोही अगाडि यी हत जोडिन्नँ

बनेको पहराले यो छाती मेरो

म आगो सहन्न अन्याय सहन्नँ

म तृष्णा चाहन्छु तिरस्कार सहन्नँ

मेरो शिर उडाउ बरु त्यो सहन्छु

तर कोही परायले टेके सहन्नँ।

यस गीतमा नेपाल भक्तिको पराकाष्ठा छोएको छ। यसमा देश र जातिको स्वाभिमानले भरिएको भाव छ। यसमा नेपाली जीवनमा पहाडीपन, पहाडी संस्कार कर्मठता स्वाभिमानी स्वभाव देखाइको पाइन्छ।

= = =

उपसंहार:

नेपाली देशभक्ति गीत सिर्जनामा गोपाल योञ्जन सबैभन्दा उत्कृष्ट मानिन्छन्। उनका धेरै यस्ता गीतहरू देशभक्तिको रगत सञ्चार गर्ने खालका छन्। जोस पैदा गरी नेपालीलाई जगाउने गर्छन्। देशले रगत मागे मलाई बलि चढाउनू, बनेको छ छहराले यो छाती मेरो, भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो, हाम्रा खुसीका लागि, यो मेरो टोपी हो, धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई आदि जस्ता गीतहरू नेपाल र नेपालीपनका उदाहरण हुन्। यति मार्मिक, आह्लादकारी र देशप्रेमको भाव सञ्चार गर्ने अरू छैनन् भने हुन्छ।