रमेश विकलको कथाको प्रधान प्रवृत्ति र विशेष चरित्र ग्रामीण जीवनको यथार्थ चित्रण गर्नु हो । ग्रामीण जीवनका अभावग्रस्त अवस्था, त्यहाँको सामाजिक-आर्थिक परिवेशलाई सजीव चित्रकारितामा अभिव्यक्त गर्नु विकलको वैशिष्ट्य हो । लाहुरी भैँसी, गरिब, बीरेकी आमा, तर कोपिला फक्रेन, भन्ज्याङको चौतारी, युवकको डायरी, पृथ्वी अझ घुम्दै थियो, सिँगारी बाख्रो लगायतका कथाहरूले यही ग्रामीण यथार्थताको सरल चित्रण गरेको छ । समालोचक रत्नध्वज जोशीका अनुसार अभावको निष्ठुर परिणामको अभिव्यक्ति विकलका कथामा पाइन्छ ।

रमेश विकल

विकलको अर्को प्रवृत्ति निम्न र निम्नवर्गीय नपाली समाजको विश्लेषण गर्नु हो । उच्च तथा मध्यम वर्गका पनि समस्या हुन्छन् तर निम्न/निम्न मध्यमवर्गीय समस्या बेग्लै हुन्छ । आर्थिक तथा सामाजिक तहसोपान अधिक भएको समाजमा यो वर्ग प्रताडना, अभाव र आवश्यकतामा पिल्सिएको हुन्छ । नेपाली समाजमा निम्न र निम्न मध्यमवर्गीय समाजको बोलवाला छ । विकलले यही वर्गको सङ्क्रमण, पीडा, उकुसमुकुसलाई कथामा प्रतिनिधित्व गराएका छन् । एकातिर समाजमा देखिएको परिवर्तन, उपभोग व्यवस्था, शिक्षा-दीक्षाबाट त्यो वर्ग प्रभावित हुन्छ भने अर्कोतर्फ सामर्थ्यविहीनतामा अल्झेर सामान्य जीवन निर्वाहको सामर्थ्यबाट समेत वञ्चित हुन्छ ।

यो दोहोरो सामाजिक आर्थिक र मनोवैज्ञानिक अवस्थालाई विकलका कथाले शाश्वत रूपमा उठाएर जीवन्त रूपमा प्रस्तुत गरेका छन् । बिरानो देशमा, नयाँ सडकका गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बुढो भ्याइलिन आशावरीको धूनमा, शव सालिक सहस्रा बुद्ध, हराएका कथाहरू, कथादेखि कथा सम्ममा सङ्ग्रहित अधिकांश कथाहरू यही प्रवृत्तिमा छन् ।

सामाजिकता र प्रागतिकतालाई एकसाथ प्रस्तुत गर्नु विकलको अर्को प्रवृत्तिगत विशेषता हो । सामाजिकतामा उनी गुरुप्रसाद मैनालीबाट प्रभावित भई उनैको प्रवृत्तिलाई फराकिलो बनाउने गर्दछन् । प्रागतिकतामा भने हृदयचन्द्रसिंह प्रधानको प्रवृत्तिलाई विस्तृत बनाएका छन् । बिरानो देशमा सङ्ग्रहित कथाहरू सामाजिकता र प्रगतिवादलाई संयोजित प्रयोग गर्न खोज्छन् । तर ‘नयाँ सडकको गीत’मा सङ्ग्रहित कथाहरूमा प्रागतिकताभन्दा सामाजिकता बढी पाइन्छ । तर आज फेरि अर्को तन्न फेरिन्छ, शव सालिक सहस्र बुद्ध, उर्मिला भाउजू, हराएका कथाहरूमा त्यो संयोजित रूप गाढा हुन्छ ।

फ्रायडेली यौन चेतना र रतिरागको अव्यक्त भुङ्ग्रोमा रहेका यौवन वयका महिला-पुरुषको मनोदशाको उद्घाटन र विश्लेषण विकलको अर्को प्रवृत्तिगत विशेषता हो । धेरैजसो समालोचकहरू विकललाई प्रगतिवादी साहित्यकारका रूपमा हेर्ने गर्दछन् । मलाई लाग्छ, त्यसरी हेर्ने उनीहरूको संक्षेत्र साँघुरो छ ।

उनको दोस्रो चरणका कथाहरू जस्तो कि आज फेरि अर्को तन्ना फेरिन्छ, उर्मिला भाउजू, एउटा बुढो भ्याइलिन आशावरीको धूनमा, फ्रायडीय यौनमनोविज्ञानका छन् । यी कथाहरूमा ससाना मानसिक यौन तरङ्ग, यौन अतिरेक, यौन उन्माद र आशक्तिलाई मनभित्र उराल्ने यौवन वयका मनोग्रन्थीलाई मिहिन ढङ्गले चित्रण गरिएको छ ।

उर्मिला भाउजू, मेरी कान्छी माइजू, रानी साहेबको तस्बिर, उसले नजन्माएको छोरो फ्रायडीय यौनमनोबिश्लेषणका निख्खर बिम्ब हुन् । विशेषतः समाजका मध्यमवर्गीय पात्रहरू अतृप्त यौन अवचेत तहको चाहचेतमा भुतभुतिएका र रतिरागका अतिरेकबाट विशृङ्खलित मनोभावमा रहेकाहरूको चित्र कथामा उतार्न विकल कुशाग्र छन् । विश्वेश्वर, भिक्षु, गोठाले, विजय मल्लहरूका कथा पात्रमा भन्दा गढेको यौन मनोभावना यी कथाहरूमा पाइन्छ, अपितु यो धाराका प्रणेता विश्वेश्वर हुन् । विश्वश्वरको चन्द्रवदना, मधेशतिर, कर्णेलको घोडा, पवित्रा, स्वेतभैरवी कै स्तरमा रानी साहेबको तस्बिर, उर्मिला भाउजू, मेरी कान्छी भाउजू, उसले नजन्माएको छोरो, फुटपाथ मिनिष्टिर छन् ।

समालोचक प्रतापचन्द्र प्रधानका शब्दमा कथाकार भिक्षु, विश्वेश्वरप्रसाद र गोठालेका कथाहरूमा पाइने यौनमनोविश्लेषणत्मक र रतिरागात्मक पक्षका क्षीण रूपहरू विकलका कथामा अझ उग्र रूप लिन पुग्छन् ।

वासनात्मक प्रसङ्गमा उनका कथाहरूले क्षीण कथावस्तु अँगाल्दै बौद्धिक विश्लेषणका साथ लगभग अकथाको नयाँ परिपाटी स्विकार्न थालेको अनुभव हुन्छ । यौन विसङ्गतिको विश्लेषण गरिएका आज फेरि अर्को तन्ना फेरिन्छ, भित्रका कथाहरू एक प्रकारले अमूर्त कथाकै श्रेणीभित्र पर्न आउँछन् । प्रारम्भिक कालीन कथामा पाइने रोमान्टिक यथार्थ र प्रगतिवोदोन्मुख सामाजिकता यस सङ्ग्रहका कथाहरूमा एक किसिमले लोप नै भैसकेका हुन्छन् । र त्यस अतिरिक्त प्रतीक र बिम्बको सहारा लिँदै अन्तर मनको जटिलता र वासनात्मक अतृप्ति र छटपटीको चित्रण तर्फ उनको तेस्रो चरणका कथाहरू उन्मुख रहेको पाइन्छ ।

सामाजिक यथार्थवाद विकलको प्रथमदृष्टीय प्रवृत्ति हो । गुरुप्रसाद मैनालीले नेपाली कथाको आधुनिक कालमा प्रवेश गराउँदा समाजको यथार्थ चित्रण गर्ने दृष्टिविन्दु दिएका थिए, जुन नासो कथामा पाइन्छ । रमेश विकल मैनालीको यही प्रवृत्तिबाट कथा क्षेत्रमा उदय भएका हुन् । समाजमा देखिएका, नदेखिएका, नदेखाइएका, तर भित्रभित्रै भुतभुतिएका व्यवहारलाई कथाको विषय बनाउनु, त्यही समाज र समयको पात्र र परिवेशलाई बस्तुगत रूपमा प्रस्तुत गर्नु विकलको कथाकारिताको मूल प्रवृत्ति नै हो । यस क्रममा उनका कथाले सामाजिक भेदभाव, शोषण, उत्पीडन, दमन, अन्याय, अत्याचारको सजीव चित्रण गरिरहेका छन् । जस्तो कि लाहुरी भैँसी ।

साथै घरायसी सम्बन्ध संरचना, सामाजिक तहसोपान, परम्परागत लैङ्गिक मानक र भूमिकाको भेद पनि कथाहरूले शाश्वत ढङ्गले उतारेका छन् । समालोचक डा.ईश्वर बरालका अनुसार विकलका कथामा समाजमा हुने पारिवारिक विघटन, मानिसको पारिवारिक सम्बन्धभञ्जनका अनेक पाटाहरू युगबोध, जीवनबोध र मानवले गर्ने आन्तरिक सङ्घर्षका कारण उत्पन्न कष्ट, पीडालाई चित्रण गरेका छन् । सामाजिक जीवनका काँठे, शहर र ग्रामीण जीवनको चित्रण गरेको छन् । सामाजिक यथार्थतामा गुरुप्रसाद मैनालीका सच्चा अनुयायी बनेर यस धारलाई उच्चता पनि दिए । सच्चा अनुयायीको कर्तव्य आफ्नो मार्गदर्शकको मार्ग फराकिलो बनाएर आउने अनुयायी पुस्ताका लागि बृहत्तर परिवेश दिनु हो । यस अर्थमा विकलले त्यो कर्तव्यलाई पूरा गरेका छन् ।

बालमनोविश्लेषण उनको अर्को विशेषता हो । मनोविज्ञानको सिद्धान्तअनुसार बाल्यावस्थामा उसले देखे, सिके, भोगेका र उसमाथि गरिएका व्यवहारले उसको व्यक्तित्व, जैवनिक क्रियाकलाप, व्यवहार दृष्टिकोण निर्धारण हुन्छ । बाल्यवस्थाका व्यक्ति अव्यक्त चाहना, इच्छा आकाङ्क्षाले चेतअवचेत रूपमा व्यक्तिलाई जीवनभर डोर्‍याइरहन्छ । बाल्यकालमा विकलको पारिवारिक पृष्ठभूमि, घरपरिवारभित्रको व्यवहारले विकलको व्यक्तित्व निर्माण, अभिमुखीकरण र दृष्टिकोण निर्माणमा प्रभाव परेको थियो भन्न सकिन्छ ।

उनको परिवार समाजमा स्थापित, शासन-प्रशासनमा पहुँच भएको परिवार थियो । घरमा नोकर चाकर र उनीहरूका बालबच्चा थिए, उनीहरूसँगै विकलले प्रारम्भिक जीवन बिताएका थिए । नोकर चाकरका बालबच्चामा हजुरबुबाहरूले गरेको नमिठो व्यवहारको दृष्टि साछी स्वयम् विकल थिए । तर उनी स्वयम् भने आमाको माया नपाए पनि हजुरआमा, हजुरबुबा, दिदीहरूबाट पुलपुलिएका थिए । बाल्यकालको त्यो मनोविज्ञान उनका कथाहरूमा पाइन्छ । मेरी सानी भतिजी प्रतिमा, फुटपाथ मिनिस्टर्स, मधुमालतीको कथा, अपाङ्ग वर्ष,  एउटा बुढो बकैनाको रुख, लगायतका कथाले बालमनोविश्लेषण गरेका छन् । ‘मेरी सानी भतिजी प्रतिमा’की प्रतिमा नेपाली समाजको छोरीको प्रतिनिधि पात्र हो ।

समाजमा छोरोको तुलनामा छोरीलाई आफ्नै सन्तान भए पनि विभेद गरिन्छ, त्यसले पार्ने मनोवैज्ञानिक प्रभावका कारण बालबालिकाको जीवन विकास प्रक्रियामा नै प्रतिकूल प्रभाव परेको हुन्छ । प्रतिमा आफ्नै आमाबाट विभेदको व्यवहारमा छ, आमाको व्यवहार देखेर भाइ अशोक पनि दिदी प्रतिमालाई नराम्रो व्यवहार गर्छ । तर प्रतिमा भाइ अशोकलाई जहिल्यै पनि राम्रो व्यवहार गर्छे । आमाबाटै न्याय नपाएका छोरी प्रतिमाको मस्तिष्कमा आमासत्ताप्रति बेग्लै भावना विकास भएको छ तर व्यक्त गर्न सक्दिन । उसलाई त्यो घर, परिवेश, आमा, भाइ सबै नै अमानवीय लाग्दछन् । उसलाई भित्रैदेखि माया गर्ने अङ्कल पात्र पनि उसप्रति न्याय गर्न डराएको छ ।

‘मेरी सानी भतिजी प्रतिमा’ ओडिपस मनोग्रन्थिले ओतप्रोत कथा हो, जहाँ बालमनोविज्ञान र मातृमनोविज्ञानले मनोग्रन्थिकाे त्यही तहलाई देखाएको छ । निरीहतामा छोरी छ, आक्रोशमा आमा छ, माया पाउनुपर्ने छोरी दया माग्छे, आमा र भाइबाट आक्राेश र घृणा बर्सिन्छ । अकारण छोरी अपहेलित छ, विभेदित छ जसले भोलिका दिनमा उसले गर्ने निर्णयलाई प्रत्यक्ष प्रभाव पार्दछ ।

‘मधुमालती’को कथा आर्थिक वैषम्यका कारण बालबालिकामा आउने मनोवैज्ञानिक असरलाई शङ्करका माध्यमबाट बताइएको छ ।

‘फुटपाथ मिनिस्टर’ बालमनोविश्लेषणको अर्को बेजोड कथा हो । जहाँ बेसहारा सडक बालबालिकाहरूको मनोदशा र त्यसले उनीहरूको जीवनको पछिल्लो समयसम्म कसरी प्रभाव पार्छ भन्ने देखाइएको छ । मगन्ते सडक बालकहरू गोरे, जघने, किटी, कालै, घैँटे, र भोटेको दिनचर्यालाई कथाकार बालसत्ताको रूपमा उल्लेख गर्दछन् । राज्यसत्तामा हुनेजस्तै माया, प्रेम, छलकपट, षड्यन्त्र, ईर्ष्या, प्रतिस्पर्धा, प्रतिसोध र सङ्घर्षको मनोव्यवहारमा पात्रहरू कार्य गरिरहेका छन् । यो सामाजिक यथार्थवादी कथा भए पनि यसले देखाएको बालमनोविज्ञानको पक्ष निकै उत्कृष्ट छ । गोरे र जघनेको ईर्ष्या, संरक्षण र सुखको लालचामा भुतभुतिएकी केटी र डर र बलिया साथीको डरत्रासमा रहेका अन्य पात्रहरूको चरित्रकार्यले कथालाई एकसाथ मनोसङ्घर्ष र सत्तासङ्घर्षको उत्कर्षमा पुर्‍याएको छ । सडक बालसत्ता वास्तविक सत्ताकै लघुरुप (मिनिएचर) मा देखिएको छ । तर चरित्रकार्य मनोदशाबाट माया र निष्ठुरतमा क्रियाशील छन् ।

लघुकथा ‘आपङ्ग वर्ष’मा पनि कुँजो बालक र उसकी आमा माग्ने बुढीको अबोध मनोचित्र देखाइएको छ । अपाङ्ग बालकलाई अपाङ्ग वर्षका बारेमा जान्ने चाहना छ तर उसकी आमाले बताउन सकिनन् । उनले मालिक (अपाङ्ग वर्ष मनाउन जान लागेको ठुलो मानिस) लाई अपाङ्ग वर्ष भनेको के हो भनेर सोध्छिन्, मालिक फर्केर आएर बताउला भन्दै मोटरमा हुइँकिन्छ । फर्केर आएर आफ्नो कोटमा अपाङ्ग वर्षका उपलक्ष्यमा पाएको सुनको तक्मा देखाउँछ र भन्छ यही हो अपाङ्ग वर्ष । यही उत्तरको आधारमा आमा आफ्नो कुँजो बालकलाई सूत्र बाक्यमा भन्छिन्- हेर अपाङ्ग वर्ष भनेको त्यो मालिकको कोटमा झुण्डिएको चक्को हो । त्यसपछि कुँजो बालकको मनमा परेको प्रभाव, विकास भएको मनोदशा भने लघुकथाले देखाउँदैन, लघुकथाको धर्म अनुसार पाठकलाई नै विश्लेषण गर्न जिम्मा लगाउँछ ।

कथाकार विकल कथालाई कसरी प्रभावोत्पादक बनाउने भन्नेमा चिन्तित छन् र नयाँ नयाँ प्रयोग गर्दछन् । बिम्ब तथा प्रतीक योजन प्रयोग मार्फत कथालाई भावपूर्ण र प्रभावशाली बनाउने शैलीलाई उनले कुशलताकासाथ प्रयोग गरेका छन् । कथावस्तु र परिवेशको बयानमा प्रकृति चित्रण, सान्दर्भिक उपमाको उपयोग र बिम्ब विधान गरेर कथालाई जीवन्त गतिशीलतामा लाने, चित्रसाम्य भाषा प्रयोग गर्ने र दृश्यभाव संयोजन गर्ने प्रवृत्ति विकलमा देखिन्छ ।

लाहुरी भैँसी होस वा भञ्ज्याङकाे चौतारी होस् वा अन्य कथामा उनी घटना र  पात्रलाई नाङ्गो रूपमा छाड्दैनन्, कलापूर्ण विम्बयोजन गर्दछन् । पश्चात्य कथाकारहरू कथालाई प्रभावोत्पादक बनाउन पात्र र परिवेशको व्याख्या विश्लेषणमा रूपक (मेटफर), सापेक्ष्यिकता (सिमाइल), प्रतीकात्मकता (इमेजनरी) र प्रतीक (सिम्वोल) हरू बेस्सरी प्रयोग गर्दछन् जसले पाठकलाई वास्तविक परिवेशमा साक्षात्कार बनाउँछ र कथा आफ्नै हो भन्ने आत्मिकता स्थापना हुन्छ । त्यस्तै आदर्शताका लागि इथोस, लागोस र प्याथोस उल्लेख गर्ने विशिष्ट शैली पनि विकलमा देखिन्छ । विकलमा पनि त्यो उत्कृष्टता उनका विशिष्ट कथाहरूमा देखिन्छ । त्यसैले विकलमा कलाविधान कुसाग्र र कथारचनामा परिपक्वता देखिन्छ ।

विकलका कथामा पाइने अर्को वैशिष्ट्य स्थानीयताको चित्रण हो । सर्जक समाज र समय भन्दा पर रहन सक्दैन । जुन समाजमा रहेर सिर्जना गरिएको हुन्छ, त्यही समाजको स्वभाव, संस्कृति र प्रकृतिमा सर्जक निथ्रुक्क भिज्नुपर्छ । समकालीन कथाकार (र त्यसपछिका पनि) हरूमा स्थानीयतालाई अन्तर्बोध गरेर कथा रचना गर्ने सामर्थ्य विकलमा अधिक छ । गुरुप्रसाद मैनालीमा पनि त्यो रैथानेपन र स्थानीयता पाइन्थ्यो तर उनका कथा थोरै छन् । विकलका दर्जानौँ कथासङ्ग्रहमा समेटिएका सैयौं कथाहरू स्थानीयताले भिजेका छन् ।

विकलका कथामा स्थानीय परिवेश, स्थानीय स्वभाव, स्थानीय घटना र स्थानीय मौलिकताको चित्र उपस्थित हुन्छ । साथै यी विषयमा लेखकीय आत्मबोध पनि पाइन्छ । काठमाडौँ उपत्यकाको छेउछाउ, काठमाडौँसँग जोडिएका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक जिल्ला र केही सहरी परिवेशको व्यवहार, मनोदशा, त्यहाँभित्रको सामाजिक तहसोपान र त्यसले जन्माएका विभेद, त्यसप्रति निष्क्रिय वा सक्रिय प्रतिक्रिया विकलका कथाकारितामा पाइने कुरा हुन् । कथाका शीर्षकहरूले स्थानीयता बोकेका छन्, पात्रहरूको नाम स्थानीय छन्, संवादमा स्थानीय भाषा छ, चरित्रकार्यले स्थानीय दैनिकीलाई बस्तुगत रूपमा उठाएका छन्, कथा कर्ममा स्थानीय प्रकृतिको चित्र पाइन्छ । स्थानीयताको दृश्यसाम्य प्रस्तुति देखिन्छ । यही स्थानीय रङ्गले विकललाई सामाजिक यथार्थवादका कलकारका शीर्षस्थानमा उकालेको छ, कथाले जीवन्तता पाएको छ । स्थानीयताको रङ्गका कारण नै विकल अन्य कथाकारभन्दा निख्खर नेपालीपनमा देखिएका छन् ।

नेपाली कथामा विरलै पाइने पशुमनोविज्ञान सिँगारी बाख्रोमा देखाएको छ । पण्डित-पण्डितनीको व्यवहारबाट उमेर छँदा रमाएकी सिँगारी उसले पाठा पाउन छाडेपछि उनीहरू कै व्यवहारबाट रोएकी छ । मानिस पशुसत्ताप्रति निश्ठुर र मानवसत्ताप्रति मात्र उदार, स्वार्थी र लालची देखिन्छ भन्ने पशुमनोभावना यस कथामा देखाइएको छ । हुन त स्वयम कथावाचक सिँगारीको मनोभाव बताउने कर्ता हो तर त्यो यति शाश्वत छ कि पाठकलाई लाग्छ स्वयम् सिँगारी नै आफ्नो कथा बताइरहेकी छे । कथाले मानिस सर्वश्रेष्ठ जाति भए पनि अन्य प्रजातिपति कत्ति पनि दयाभावी छैन, स्वार्थमा मात्र व्यवहार गर्छ भन्ने देखाएको छ ।

मूर्त अमूर्त व्यङ्ग्यवाण गर्ने शैली पनि कथाले बोकेका छन् । शव सालिक र सहस्र बुद्ध, अपाङ्ग बर्ष (लघुकथा), नयाँ सडकको गीत, बिहानी पखको बत्ती आदिमा अप्रत्यक्ष रूपमा व्यङ्ग्य देखिन्छ । हुन त सामाजिक यथार्थ बोक्ने कथाले सामाजिक विकृति र विसङ्गतिविरुद्ध शिक्षा-सन्देश कुनै न कुनै रूपमा दिएकै हुन्छ, तर केही कथाहरू विकृति-वेथितिको व्यवहारप्रति व्यङ्ग्य नै गर्छन् ।

विकलका कथामा पाइने संरचनात्मक पक्ष हेरौँ । प्राचीन होमर र व्यास-वाल्मीकिदेखि आधुनिक कथासम्म आइपुग्दा कथाका संरचनागत सार एकै रूपमा देखिएका छन् । अमेरिकी कथाकारहरू ओ हेनरी, स्टेफेन क्रेन, ज्याक लण्डन, मार्कट्वीन र एड्गर एलेन पो जस्ता प्रख्यात कथाकारहरूले कथा संरचनाका सारभूत तत्त्वलाई समान रूपमा लिएका छन्, जुन पूर्वीय साहित्यमा पनि लगभग उस्तै देखिन्छ । कथाकार विकलमा यी संरचनागत तत्त्वहरू व्यवस्थित पाइन्छ । कथामा कथानकको अन्विति चाहिन्छ । विकलका पहिलो चरणका कथाहरूमा यो अन्विति निर्वाह राम्रो छ तर दोस्रो तथा तेस्रो चरणका कतिपय कथाहरूमा अन्वितिप्रति धेरै सावधान छैनन् । कथाको अर्का मुख्य तत्त्व पात्र हो ।

विकलका कथामा केही अपवादका पात्रहरू गैरमानव भए पनि अधिकांश कथात्मक कार्यव्यापार मानवीय पात्रहरूले गरिरहेका छन् । कथाकार मुख्य चरित्रलाई आफ्नो प्रवक्ता बनाइरहेका छन्, कतिपय कथामा भने चरित्रको वक्ता (कथावाचक)का रूपमा कथाकार रहेको पनि देखिन्छ । गैरमानवीय पात्र (जस्तो कि सिँगारी बाख्रोमा छ)मा पनि तिलस्मीता देखिँदैन । कथा परिवेशमा प्रकृति, समाज, समय र वातावरणलाई संयोजित रूपमा राखिएको देखिन्छ ।

कथानक वा घटना र क्रियाकलापको शृङ्खलावतामा छन् । कथानकले कथाको चरमोत्कर्ष (क्लाइमेक्स) वा सङ्घर्षतिर स्वाभाविक रूपमा डोर्‍याएको पाइन्छ । कथानकको आयातनमा भने समानता देखिँदैन । ती पश्चिमी कथाका जस्ता हिरोइक जर्नीमा पनि त्यति देखिँदैनन् । नेपाली समाज र समयको जीवन बोक्ने कथामा त्यसो नहुनु पनि स्वाभाविक हो । सङ्घर्ष वा चरमोत्कर्षको चरणमा पुर्‍याउने आन्तरिक कार्य (भावना, आवेग, आक्रोश, संवेग, सहानुभूति आदि) र बाह्य प्रतिक्रियाहरू स्वाभाविक रूपमा संरचित छन्, कत्ति पनि बनावटी लाग्दैनन् । आधारभूत संरचनाको अर्को तत्त्व त्यसले राख्ने ध्येय वा सारमा धेरैजसो कथामा विकल स्पष्ट छन् तर केही कथामा भ्रान्ति र पलायनजस्तो पनि देखिन्छ । कतिपय कथाहरू अकथाजस्ता पनि छन्, जसले संरचनात्मक पक्षलाई झिनो (छरितो ?) बनाएर निबन्धात्मकता तिर पुगेको छ ।

विकलका प्रतिनिधि कथाको वर्गीकरण र तिनको प्रवृत्ति एवम् विशेषतालाई तालिकाबाट साङ्केतिक रूपमा उल्लेख गरिन्छ :

कथा कथाको प्रकार प्रमुख धारा/ प्रवृत्ति प्रस्तुति दृष्टिकोण
गरिब सामाजिक सामाजिक यथार्थवाद

 

सामाजिक उत्पीडन र वर्गभेदको चित्रण ।

 

भन्ज्याङको चौतारो

 

सामाजिक

 

सामाजिक आदर्शवादी, मनोविश्लेषणात्मक ग्रामीण जनजीवन र सामाजिक मर्यादाको सरल प्रस्तुति ।
प्रतिहिंसा       मनोवैज्ञानिक    सामाजिक मनोविश्लेषणत्मक       निम्नवर्गीय समाजमा रहेको पुरानो लैङ्गिक मानक र उत्पीडनको प्रस्तुति ।

 

मनोवैज्ञानिक सामाजिक मनोविश्लेषणत्मक निम्नवर्गीय समाजमा रहेको पुरानो लैङ्गिक मानक र उत्पीडनको प्रस्तुति ।

 

मधुमालतीको कथा

 

मनोवैज्ञानिक मनोवैज्ञानिक    बालमनोविश्लेषणात्मक बालमनोविश्लेषणात्मक    आर्थिक विपन्नताले बालमनोविज्ञानमा पार्ने प्रभावको प्रस्तुति ।
कमल

 

मनोवैज्ञानिक नारीमनोविश्लेषणत्मक प्रतीकात्मक रूपमा नारीमनोदशाको चित्रण

 

लाहुरी भैँसी

 

सामाजिक सामाजिक यथार्थवाद सामाजिक उत्पीडन र वर्गभेदको चित्रण ।
नयाँ सडकको गीत

 

सामाजिक, मनोवैज्ञानिक सामाजिक मनोवैज्ञानिक मनोवैज्ञानिक र प्रतीकात्मक रूपमा सामाजिक चित्रण ।
दुई रुपैयाँ नोट सामाजिक सामाजिक मनोवैज्ञानिक आर्थिक उत्पीडन सिर्जित  मनोदशाको चित्रण ।

 

सिँगारी बाख्रो

 

सामाजिक (पशु) मनोवैज्ञानिक मानवीय स्वार्थधन्दताको चित्रण ।

 

उसले नजन्माएको छोरो

 

मनोवैज्ञानिक मनोवैज्ञानिक    मनोविश्लेषणात्मक प्रगतिशीलता नारीमनोदशाको चित्रण ।

 

आफ्नै धर्तीलाई छुन खोज्दा सामाजिक मनोवैज्ञानिक    मनोविश्लेषणात्मक प्रगतिशीलता सीमा पीडा र राष्टभक्तिको द्वन्द्वात्मक प्रस्तुति ।

 

विचरा भद्र मानिस

 

सामाजिक मनोविश्लेषणात्मक, विसङ्गतिवादी पुरुष मनोदशाको चित्रण ।

 

मेरो एकजना विचरा पत्नी पीडित साथी ससांस्कतिक मनोविश्लेषणात्मक, विसङ्गतिवादी सामाजिक विकृति र पुरुषपीडाको चित्रण ।

 

फुटपाथ मिनिस्टर

 

मनोवैज्ञानिक बालमनोविश्लेषणात्मक सडक बालबालिकाको छटपटी र मनोविज्ञानको प्रस्तुति । सत्ताको लाक्षणिक बिम्ब ।

 

मेरी सानी भतिजी प्रतिमा मनोवैज्ञानिक बालमनोविश्लेषणात्मक छोरा र छोरीप्रतिको भेदभावबाट बालमनोज्ञिानमा पर्ने असरको चित्रण ।

 

उर्मिला भाउजू

 

मनोवैज्ञानिक नारीमनोविश्लषणात्मक प्रगतिशीलता मनोवैज्ञानिक अहम्को चित्रण ।

 

मेरी कान्छी माइजू मनोवैज्ञानिक यौनमनोविश्लेषणत्मक प्रगतिशीलता यौनसमस्याले ल्याउने पारिणाम र निकासको प्रस्तुति ।

 

विशाल किरात प्रदेशको दुर्दान्त शिकारी     ऐतिहासिक      सामाजिक यथार्थवाद     शासकीय बहुलठ्ठीपनको चिणमार्फत सुशासनको चाह ।

 

ऐतिहासिक सामाजिक यथार्थवाद शासकीय बहुलठ्ठीपनको चिणमार्फत सुशासनको चाह ।

 

रानी साहेवको तस्विर मनोवैज्ञानिक यौनमनोविश्लेषणत्मक विकृत यौनमनोग्रन्थीको विकासको चित्रण ।

 

आकाशमा तारा छटपटाइरहेका थिए मनोवैज्ञानिक मनोविश्लोषणत्मक पुरानो लैङ्क मानक र पुरुषमनोदशाको चित्रण ।

 

अन्तराष्ट्रिय बाल बर्ष सामाजिक बालमनोविश्लेषणत्मक शासकीय व्यवस्थामाथि व्यङ्ग्यात्मक प्रस्तुति ।

 

हिमालको छहरा समुद्रको छाल

 

सांस्कृतिक, मनोवैज्ञानिक नारीमनोविश्लेषणत्मक मानिस कसरी सांस्कृतिक रूपमा च्यूत हुन्छ भन्ने चित्रण ।

 

एउटा बुढो भ्वाइलिन आशावरीको धूनमा मनोवैज्ञानिक विसङ्गती, निरिस्वरतावादी विभ्रममा पनि मानिस कसरी बाच्छ र पलायन हुन्छ भन्ने प्रस्तुति ।

 

 

उपसंहार

निष्कर्षमा भन्नुपर्दा रमेश विकल सामाजिक यथार्थका चित्रका हुन् । उनले घटनाप्रधान, चरित्र प्रधान, विचारमूलक र समस्यावोधी कथाहरू रचना गरेका छन् । ग्रामीण समाजमा पाइने शोषण, उत्पीडन, ठूलोसानोको भावना, गरिबी, बेरोजगारी, पसिना-परिश्रम र सामाजिक सम्बन्धका देखिएका छोपिएका विषयलाई जीवन्त रूपमा प्रस्तुत गर्दछन् । त्यसैले उनलाई सामाजिक कथाकार भनिएको हो । सहरी समाजको विकृति, असन्तुष्टि, मानसिक व्यथा, तृष्णा र अतृप्तिले आफैभित्र भुतभुतिएको मानिस पनि विकलका कथा पात्र हुन् । निम्न मध्यमवर्गीय व्यक्तिको जीवन प्रतिनिधित्व गरे पनि त्यै समाजमा रहेका सम्भ्रान्त र आभिजात्य वर्ग पनि कथामा देखिएका छन् । महिला छन्, पुरुष छन्, बालक छन्, युवा र वरिष्ठ पनि छन् ।

त्यसैले विकलका कथामा सिङ्गो नेपाली जीवन बोल्छ । गैरजीवन उनका कथाका विषय बन्न सक्दैनन् । कथाको जीवनले सबै प्रकारको पीडा (चाहे त्यो मानसिक, भौतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नै किन नहाेस्) मुक्तिको मार्ग निर्देश गरी जीवनमा आशा जगाउनु उनका कथाको आदर्श हो, कथाको प्रयोजनवादिता हो, प्रगतिशीलता हो । समाजभित्रको अन्तर्द्वन्द्व र मानिसको आफैभित्रको अन्तर्द्वन्द्वको रूपान्तरण कथाका ध्येय हुन् ।

(रमेश विकल : समालोचनात्मक अन्वेषण)

क्षितिज मार्ग, शङ्खमूल ,