दार्जिलिङ चियाका निम्ति विश्वविख्यात स्थान हो। दार्जिलिङका निम्ति चिया गौरव हो, शान हो। दार्जिलिङ र चिया एकर्काका पर्याय हुन्। चिया प्रायः विश्वभरि नै पाइन्छ अनि दार्जिलिङको चिया प्रायः विश्वभरि पुग्दछ। चियाका पारखीहरूले दार्जिलिङ चियालाई अत्यन्त मिठो मान्दछन्। विश्व बजारमा यसको ठुलो नाम र दाम छ। कोलकाता र सिलगडीको अक्सन केन्द्रमा यसले ठुलो भाउ पाउँछ। विदेशी चिया कम्पनीहरूले अग्रिम राशि दिएर यसलाई मगाउँछन्। हारालुछ भएर बिक्री हुन्छ।

चिया कम्पनीहरूलाई लाखौँ मुनाफा दिने दार्जिलिङका श्रमिकहरूको अवस्था भने बलियो छैन। दैनिक रोजगारी दर बिक्री दरअनुसारको छैन। बल्लबल्ल लामो सङ्घर्षपछि दैनिक दर छयानब्बे रुपियाँ कायम भएको छ। यतिका पैसाले अहिलेको युगमा एउटा परिवार धान्न मुस्किल पर्दछ। यसरी नै एक प्रकारले दुःखले नै कमाने जीवन चलिरहेको छ। चियाकमानको जीवन कष्टकर छ। यहाँ देशका ठुला साना चिया उद्योग कम्पनीहरूको लगानी छ। यद्यपि कम्पनीहरूले देशको श्रमिकहरूले पाउने सरकारी दरअनुसारको पारिश्रमिक दिने गरेका छैनन्।

दार्जिलिङको मूल चिनारी बोकेको चियाले नेपाली साहित्यमा कति महत्त्वका साथ स्थान पाएको छ, सो विचारणीय छ। नन्द हाङखिमको चियाबारी खण्डकाव्य, रामलाल अधिकारीको चियाबारी कविता सङ्ग्रह, बुद्धकुमार मोक्तानको ‘कुल्लीको गीत’ खण्डकाव्य आदि केही प्रमुख कृति हामीले पाएका छौँ। इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासले चियाकमानको केही दिग्दर्शन गराएको छ। असीत राईको ‘यन्त्रणा’, इन्द्र सुन्दासका ‘जुनेली रेखा’ र ‘सहारा’ उपन्यासका विषयवस्तु चियाकमानको अवस्था हुन्। केही गीतहरूमा पनि चिया कमानको प्रसङ्ग आएका छन्। यद्यपि यहाँबाट लेखिएका साहित्यमा चियाबारी त्यति फस्टिएको देखिन्न। जति चियाबारी विषयवस्तु हुनुपर्ने हो त्यति पाइन्नन्।

२०११ सालमा दार्जिलिङका सङ्गीतकार-गायक रमेश गुरुङ र शब्दकार सञ्जय बान्तवाको संयुक्त तत्परतामा ‘चियाबारीका गीतहरू’ (भाग १) नाम गीति सँगालो हामी समक्ष आइपुगेको थियो। यसमा जम्मा आठवटा चियाबारी गीत सङ्कलित छन्। शायद यो सँगालो नै विशुद्ध रूपमा निस्किएको चियाबारी केन्द्रित पहिलो हुनु पर्छ।

यसभन्दा अघि चियाबारीलाई केन्द्रित गरिएका एकाध गीत नभएका भने होइनन्।

तुलसी घिमिरेले ‘लाहुरे’ चलचित्रका लागि ‘चियाबारीमा हो चियाबारीमा’ भन्ने गीत रचेका थिए। यसलाई दीपा गहतराजले गाएकी हुन्। यद्यपि यस गीतलाई चियाबारी वर्णन नभएर चियाबारीलाई रोमान्सेली भावधारामा हालेर मानिसको प्रफुल्ल मनको अवस्थालाई दर्शाउन प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।

यसै गरी नारायण गोपालले गाएको र भूपि शेरचनले लेखेको गीत ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा’ पनि खुबै लोकप्रिय भएको हो। यसमा पनि गाँस, बास, कपासको खोजीमा दार्जिलिङतिर पलायन भएको अर्थमा लेखिएको पाइन्छ।

अगमसिंह गिरीले पनि ‘दार्जिलिङको माया छ बारम्बार’ भन्ने गीत र अर्को चियाबारीको प्रसङ्गको भाव धाराको गीत पाइन्छ। यद्यपि यी गीतहरूले चियाकमानका श्रमिकहरूको सुखदुःखको अवस्थालाई समेट्न सकेका छैनन्।

चियाबारीको समस्या एउटा जटिल रूपमा हाम्रो सामु देखिन्छ। यसका लागि चिया श्रमिक सङ्गठनले त्यति समाधान गर्न चासो देखाएको देखिन्न। अत्यन्त सीमित आयस्रोतबाट परिवार पाल्नुको समस्या र पीडालाई कुनै श्रमिक सङ्गठनले ठिकसँगले सम्बोधन गर्न सकेका छैनन्। यस्तोमा हाम्रा गीतकार बान्तवाले कमानका श्रमिकहरूको आन्तरिक तर अलिखित कथा व्यथालाई गीतमार्फत समेट्ने काम गरेका छन्। हामी र हाम्रा पुर्खाको जीवनको अधिकांश भाग चियाको स्याहारसुसार नै बितेको छ। यही नै जीवनको पर्याय बनेको छ। चियाको बोटले ढाकिएको मगमगाउने हरियो डाँडा पर्यटकका लागि रमणीय स्थान मात्र होइन तर ती चियाकमाने जनजीवनका निम्ति उज्यालो सपना पनि हो।

कमानमा खटेर जीवन बितिसक्दा पनि त्यहाँ बसेका श्रमिकहरूका आफ्नो घर-घडेरी, पट्टा-पुर्जा छैन। बाजेबराजुदेखि बसेको थलो डेरा मात्र भयो तर आफ्नो घर भएको छैन। जमिन आफ्नो नाममा छैन। यसका निम्ति निकै लामो समयदेखि सङ्घर्ष गर्दै आए तापनि सिद्ध भएको छैन। प्रस्तुत गीति सँगालाेमा इतिहास चेतना, समाजशास्त्रीय चेतना, प्रगतिशील चेतना, सौन्दर्यशास्त्रीय चेतना, जातीय चेतना र जागरण चेतना इत्यादि भावहरू कथ्यका रूपमा पाइन्छन्। आठवटा गीतका अलगअलग भाव छरिएका छन्। दार्जिलिङका पहाडको थुम्काथुम्कामा चियाको हरियालीपन, कतै पाथीभरा आकारका मनोरम चियाबारीको बिम्बलाई सजीव रूपमा उतारिएको छ।

‘गरिबको दालै गलेन’ भन्ने गीतमा चियाकमानेका गरिबी अवस्था, इतिहास चेतना, सर्वहारा वर्गको आवाजलाई अभिव्यक्ति दिइएको छ। मजदुर वर्गले न्यायका निम्ति सङ्घर्ष गर्दा गोली खाएको कुरा उल्लेख गरिएको। सन् १९५५ सालको मार्गरेट्स होप चियाकमानमा चलेको गोलीकाण्डको इतिहासको उत्खनन गरिएको छ। यस काण्डले मजदुर आन्दोलनलाई ठुलो टेवा दिएको थियो।

दार्जिलिङे जनजीवनमा चियापत्ती टिपाइ एउटा अभिन्न कुरा हो। पत्ती टिपाइसित सपना बुनिएको हुन्छ। आफ्ना छोराछोरीलाई पढाई बढाई त्यही कमानकै म्यानेजर भएको, अन्य अफिसमा बाबु भएको सपना देख्नु स्वाभाविक हुन्छ। दुई पात एक सुइरोमा जीवन अल्झिएको हुन्छ। रामलाल अधिकारीले कमाने आमाको सपना भन्ने कवितामा पनि यही भावलाई अघि सारेका छन्। चियाकमानमा नै जुनी बितिसक्यो तर त्यहाँको पट्टा हातमा परेको छैन। आफ्नो नाममा जग्गाजमिन छैन। मालिकलाई श्रमिकहरूले पत्ती टिपेर सम्पन्नताको उपहार दिन्छन् तर ती श्रमिकहरूको अवस्था नै सुध्रिएको छैन। बाबुबाजेको पालादेखि जस्तो थियो, उस्तै छ।

गरिबीको गरिबी छ, श्रमिकहरूको दैनिक हाजिरा वेतन थोरै छ। न त चियाकमानको प्रबन्ध पक्षले ख्याल गरेको छ न त श्रमिक सङ्गठनले सङ्घर्ष नै गरेको छ।

गरिबको दालै गलेन, लुटी खानेको नामै आएन।

कैले आँधी कैले हुरी घामपानी बराबरी

(चियाबारीको गीत, सङ्ख्या ३.)

किपट सोधे दार्जिलिङ भन्नु

बसाइ सरी कमान आएको नभन्नु।

सुन फल्छ भन्थे नुन टिप्न गाह्रो भो।

भन्ने गीत प्रस्तुत सङ्ग्रहका आधारमा गीत लेखन क्षेत्रमा सञ्जय बान्तवाले लोभलाग्दो गरी शब्द संयोजन गरेका छन्। गीतमा हुनुपर्ने माधुर्य, कोमलता, एकोन्मुखता, आह्लादकारिता, एकालापीयता, आनुषङ्गिक आनन्द आदिको निर्वाह गरेका छन्। लेखिएका सबै गीत हुँदैनन्। गीतमा उपर्युक्त गुण हुनु पर्छ। कविताभन्दा गीत भिन्नै हुन्छ। अतः गीतको मर्मलाई छोएर सञ्जय बान्तवाले आफूलाई सफल गीतकारका रूपमा उभ्याएका छन्।

   कैले आँधी कैले कैले हुरी घामपानी बराबरी

                   चियाबारीको मान्छेलाई सुख दुःख सराबरी।

गीतकार बान्तवा गीतका शब्दमा रञ्जकता भर्न निपुण देखिन्छन्। गीतमा मुखसुखलाई सर्वोपरि मानिन्छ। त्यसैकारण गीतमा शाब्दिक तहमा कतै मानक रूप नभएर विचलन देखिन्छ। भएको, गएको भन्ने ठाउँमा भाको गाको जस्ता कथ्य शब्दहरू देख्न पाइन्छ। कर्णप्रियता पनि गीतमा अनिवार्य हुनुपर्दछ। प्रायः प्रत्येक गीतको एउटा केन्द्रीय कथ्यमाथि एकोन्मुख भई प्रकाश पारिएको छ। पङ्क्तिहरू परस्परमा पूर्वापरसम्बन्धी कायम रहेको देखिन्छ।गीतका हरेक शब्दशब्दमा एक प्रकारको सहसम्बन्ध कायम रहेको पाइन्छ।

बान्तवाका यी गीतहरूमा क्रान्तिकारी चेतना निकै प्रखर रूपमा देख्न पाइन्छ। चिया कमानमा खटिखाने मजदुरहरूलाई समानाधिकार, हक हितका लागि उनी चिन्तित छन् र उनीहरूलाई सङ्घर्ष गर्ने आह्वान गरेका छन्। सय डेढ सय वर्षअघिदेखि चियाकमानेको हालत जस्ताको तस्तै छ, कुनै खास परिवर्तन भएको छैन। यस्तो अवस्था देखेर कविलाई झोँक चल्छ र श्रमिकहरूले नयाँ क्रान्ति गर्न आह्वान गर्छन्-

जीवन बितिसक्यो अब उठ्नुपर्छ

करियाको बन्धन तोडी अब जाग्नुपर्छ

सर्वस्व नै नै भइसक्यो आफ्नो हुनु पर्छ

हुतिहारा नभइकन बाँच्न सक्नुपर्छ।

उपसंहार-

दार्जिलिङ सहर र जिल्लाको अधिकांश भाग चियाबगानले ढाकिएको छ। विभिन्न चिया कम्पनीहरूले दार्जिलिङका चियाकमानमा पुँजी लगानी गरेर चिया उत्पादन गर्छन् र मुनाफा कमाउँछन्। प्रस्तुत गीतको सङ्कथन छन्। यसभित्रका गीतहरूमा दार्जिलिङ, गोर्खाली समाज, सभ्यता, संस्कृति आदि अन्तर्निहित छन्। यसमा रहेका प्रत्येक गीतहरूका शब्द, संरचना र रूपविन्यास मिलेका छन्।

सबै गीतको संरचना अध्ययन गर्दा यसभित्र गेयात्मकता, श्रुति मधुरता, आह्लादकारिता विषय केन्द्रीयता आदि जस्ता गुण पाइन्छन्। गायकले पनि बान्तवाका गीतहरूलाई न्याय दिन सकेका छन्।