विश्वप्रसिद्ध समाजवादी चिन्तक डा. भीमराव अम्बेडकरले भन्नुभएको छ- ‘जीवन लामो होइन, ठुलो र महान् हुनुपर्छ ।’ तर अपवाद वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी उमेरले शताब्दी पार गरे । समयावधिका हिसाबले लामो बाँचेजस्तै युगयुगसम्म चीर स्मरणीय भइरहने अवस्था बनाएर सबैबाट बिदा भएका छन् । सत्यमोहन नामअनुसारकै कामको प्रतिमूर्ति बने । अर्थात् सत्यलाई पक्डिने, आफूतिर आकर्षित गर्ने र त्यही सत्यमा मोहित बन्ने ।

रैथाने शिल्पी (कथित दलित) समुदायभित्रका पनि सार्की जातिले कर्नाली-भेरी क्षेत्रमा आफन्तको मरौँ पर्दा घरभन्दा पाँचदेखि छ सय मिटर पर चौतारी (विश्रामस्थल) बनाई वर-पिपल रोप्ने चलन छ । यसबाट अरू समुदायकाले मरौँ परेको सङ्केतको रूपमा बुझ्छन् । यस्तो सामुदायिक पुर्ख्यौली जैविक-पर्यावरणीय संरक्षण संस्कारलाई खोस्न शासकवर्गले शूद्र (कथित अछुत/दलित)लाई वर-पीपल रोप्नै प्रतिबन्ध लगाइएका थिए । वर-पीपलको सांस्कृतिक, पर्यावरणीय र जैविक महत्त्व सबैलाई जानकारी छँदै छ । जसले हजारौँ, लाखौँ जीवजन्तु, चराचुरुङ्गी र मानवलाई सेवा प्रदान गरिरहेको हुन्छ । यसले पानी, अक्सिजन र पर्यावरण सन्तुलनमा राखेर प्रकृतिमा निस्वार्थ सेवा दिइरहेको हुन्छ ।

त्यसै गरी सत्यमोहनले सिङ्गो राष्ट्रलाई अविरल स्वार्थरहित वर-पीपलको जस्तै सेवा दिए । जुनसुकै उमेर, ज्ञान, तह र समूहका लागि वर-पीपलजस्तै एक शीतल छहारीको काम गरे । हिजोआज विकासका नाममा वर-पीपलको छहारी मासिँदै छन्, ढालिँदै छन् र नासिँदै छन् । नेपाली लोक वाङ्मयको एक धरोहर छहारी सत्यमोहन २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा आफैँ ढल्न पुगे ।

यस शोकको क्षणमा उहाँका बारेमा विभिन्न पत्रपत्रिका, अनलाइन, टेलिभिजन आदि सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरे । यसरी प्रकाशित कैयौँ राष्ट्रिय व्यक्तित्वका लेख, आलेख, सम्पादकीय, समाचार, साहित्य, तस्बिर आदि प्रकाशित र प्रसारित भए । जो नदीमा पानी झैँ बगेर गए र समुद्रमा अलप भए । तर शताब्दी पुरुष सत्यमोहनका बारेमा भने यस्तो भएन । उहाँको निधनपछि प्रकाशित सामग्रीहरूलाई सम्हाल्ने एक साहित्यकार भनौँ वा सञ्चारकर्मी अघि सर्नुभयो । र, राज्यले गर्नुपर्ने काम व्यक्तिगत प्रयासमा अघि बढाउनु भयो ।

अनि ४२५ पृष्ठको पाण्डुलिपि तयार पार्नुभयो, ‘शब्दबिम्बमा सत्यमोहन’ । यो सत्प्रयासलाई साथ दियो, भुँडीपुराण प्रकाशनले ।

ढुंगानालाई सञ्चारकर्मी एवं साहित्यकार भनेर धेरैले चिनेका होलान्, पङ्क्तिकारले भने अनुसन्धानकर्ताको रूपमा पनि चिनेको छ । सम्भवतः अनुसन्धानकै सोचको एउटा प्रतिफल हुनसक्छ यो ग्रन्थ । गीतकार व्यक्तित्व ढुंगाना पछिल्लो समय बालसाहित्यकार (१३ बालकृति) बढी भएर देखिनुभएको छ । उहाँका बालसिर्जना कक्षा १ देखि ७ सम्म विद्यार्थीले अध्ययन गरिरहेका छन् । शब्दबिम्बमा सत्यमोहन बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी बनेको छ । अनुसन्धानकर्तालाई त यो ग्रन्थ झनै उपयोगी हुने देखिन्छ । एउटा सिङ्गो पुस्तक वा चलचित्र सत्यमोहन खास गरी युवा पुस्ताका लागि जीवन बनाउने प्रेरणादायी व्यक्तित्व भएकाले तिनका लागि यो ग्रन्थ जीवन दर्शन हुनेछ ।

ग्रन्थको शीर्षक ‘शब्दबिम्बमा सत्यमोहन’ विषयवस्तुका दृष्टिले अत्यन्तै सार्थक देखिएको छ । उहाँको कर्मसाधना र शिल्प जीवनीका आधारमा पनि मिलेको पाइन्छ । सम्पादकको ग्रन्थको नाममा शब्द छनोट पनि चानचुने सिर्जना हो जस्तो लाग्दैन, झन्डै दुई दशकदेखि पत्रकारितामा शब्द खेलाउने भएर सायद । आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय ७, अन्तर्वार्ता ४, परिशिष्टांकका आलेख १७, समाचार १७ र कविता ३ वटा समावेश छन् ।

जोशी जीवितै छँदा र मृत्युपश्चात् उनीसँग सम्बन्धित भएर लेखक, पत्रकार, जानकार, विज्ञ, विश्लेषक, साहित्यकार लगायतले लेखेका समाचार, लेख, अबिच्युअरी, कविता, निबन्ध आदिलाई पुस्तकमा सङ्ग्रहित गरिएको छ । पुस्तकमा सम्पादकीय, अन्तर्वार्ता, लेख, आलेख, समाचार, कविता र तस्बिरलाई छुट्टाछुट्टै खण्डमा राखेर सम्पादक ढुंगानाले ग्रन्थलाई गतिलो बनाउनु भएको छ ।

जोशीको जीवनी र योगदानका बारेमा पृथक् काम-कर्महरूलाई अभिलिखित दस्ताबेजका रूपमा संरक्षण गर्न लेख, रचनालाई पुस्तकमा समावेश गरिएको छ । उहाँका बारेमा सरल तरिकाले बुझ्न, अध्ययन गर्न र ती लेख सामग्रीको दस्ताबेजीकरण गरी संरक्षण गर्नलाई पुस्तकले सहजीकरण गरेको छ । वरिष्ठ संस्कृतिविद् जोशीले भाषासाहित्य, कलासंस्कृति, इतिहास, दर्शन र पुरातत्त्वको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ । यस विषयमा पुस्तकले यथेष्ट विवेचना पस्किएको छ । जोशी जीवित छँदै विभिन्न उपमाले सम्बोधन गरिएको पाइन्छ ।

जसमा- जीवित मानव सम्पदा, लोक वाङ्मयका धरोहर, सङ्घर्षशील व्यक्तित्व, हक्की र छलकपट बिनाको व्यवहार गर्ने स्वाभिमानी पुरुष, सादा जीवन उच्च विचारका धनी आदि । उहाँको जीवनदर्शनले पहिला मानव, त्यसपछि नेपाली (समुदाय, जात र थरभन्दा माथि)को सिद्धान्त समातेकाले नै ‘विशाल हृदयका र सबैका सत्यमोहन’ बन्न सफल भए ।

पुस्तकमा रहेका लेख, आलेख आदिले पनि यही पुष्टि गरेको छ । यसैले गर्दा जोशीलाई युगौँयुगसम्म स्मरणीय र अजम्बरी बनाउनेमा सम्पादकसमेत ढुक्क छन् । तर अहिलेको अतिराजनीतिले पहिला थर, त्यसपछि जात, नेपाली हुँदै अन्तिममा मानव परिचयको मानसिकताले समग्र राष्ट्र र समाज तहसनहस भइरहेको छ । यो सोचविरुद्ध उभिएको छ यो ग्रन्थ ।

जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिको रूपमा रहनुभयो । राणाकालदेखि गणतन्त्रसम्म सबैका लागि उत्तिकै श्रद्धाभाव प्राप्त गर्ने पूजनीय हुनु चानचुने प्राप्ति होइन । पुस्तकको सम्पादकीयमा ढुंगानाले जोशीको महिमा यसरी वर्णन गर्नुभएको छ- समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय ! सत्यमोहन अर्थात् सगरमाथा, सादा जीवन, सकारात्मक सोच, सक्रिय जीवन अर्थात् सत्यमोहन । यथार्थमा सत्यमोहन जीवनको अन्तिम समयसम्म नै सक्रिय र चलायमान रहे ।

गोपीकृष्ण ढुंगानाको सत्यमोहन बारेको गहन अनुसन्धान सम्पादकीय देखिन्छ, लेख्नुभएको छ- ‘न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा । बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा । वास्तवमा सत्यमोहनले प्रत्येक सेकेन्ड र मिनेटलाई महत्त्व दिएर सदुपयोग गरेकाले नै महान् बने ।’

जोशी हक्की स्वभावका थिए, अनि सबैका प्रिय पनि । यो जो कसैमा विरलै पाइने गुण थियो । परिवर्तन आफैँबाट थालनी हुनुपर्छ, त्यसपछि मात्रै अरूलाई परिवर्तन गर्न सम्भव हुन्छ भन्ने उदाहरण बन्नुभयो उहाँ । यसकारण सत्यमोहन आफैँ उदाहरणीय बन्न सफल हुनुभयो । महामानव बुद्धको एक चर्चित वचन छ- ‘डर, त्रास र जबरजस्तीको परिवर्तन क्षणिक हुन्छ । तर मानवको अन्तरआत्माबाटै प्रकट भएको परिवर्तन टिकाउ र दिगो हुन्छ ।’

यस अर्थमा जोशीमा बाहिरी होइन, भित्रैबाट परिवर्तन थियो, जुन सदाबहार र दिगो बन्यो । नेपाली लोक वाङ्मयका उज्ज्वल नक्षत्र सत्यमोहनमा बहुआयामिक प्रतिभा थियो । गोर्खा राज्यबाट टाढा, बिरानो र एक्लिएको कर्नालीमा २०२८ सालमा खोज, अन्वेषण टोलीको नेतृत्व गरेर गएका थिए । तीनपटक मदन पुरस्कार पाउने व्यक्ति हो उहाँ । पहिलो साहित्यतर्फ ‘हाम्रो लोकसंस्कृति’ नामक ग्रन्थ (२०१३), दोस्रो सामाजशास्त्रतर्फ ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थ (२०१७) र तेस्रो दर्शन-विज्ञानतर्फ ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थ ।

जोशीले ६० भन्दा बढी नेपाली र नेपाल भाषाका पुस्तक लेखेका छन् । वयोवृद्ध पत्रकार भैरव रिसालका शब्दमा सत्यमोहनलाई हेरौँ- ‘जस्तो सोच, त्यस्तै सत्यमोहन ! जति झिके पनि कहिल्यै नरित्तिने अमृतको घडाजस्तै !’

वरिष्ठ इतिहास, संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार- ‘स्वयं प्रज्ञा थिए सत्यमोहन, पुरातत्त्व विभागको स्थापना गर्नमा विशेष भूमिका खेल्ने व्यक्ति उनै हुन् । नेवार भएर पनि उनी नेपाल भाषा र नेवारी संस्कृतिमा मात्रै खुम्चिएनन् । नेपाली भाषा, संस्कृति र साहित्यको विकासमा उनको ठुलो योगदान रहेको छ ।’ यस तथ्यबाट जोशी सीमित जातीय साँघुरो घेराभन्दा माथि उठेर बृहत् मानवीय हितमा केन्द्रित भएको बुझ्न सकिन्छ ।

विश्लेषक सिके लालले सत्यमोहनको जीवनीसार यसरी खिचेका छन्- ‘उपलब्धिहरूको थुप्रो, मानसम्मानको चाङ, नामसँग जोडिएका विशेषणहरूको लाम एवं पदवी र पदकहरूको रासले जुनसुकै व्यक्तिलाई दम्भको चुचुरोमा पुर्‍याउन सक्दछ । तर सत्यमोहन जोशी आफूसँग ज्ञानको भण्डार र अनुभवको खात पनि भएकाले बकुमबहाः निवासको धरातल तथा ललितपुरका सांस्कृतिक जरासँग सधैँ जोडिएर बसे ।’ अक्सर ज्ञान, गुण, मान, पदवी र सत्ताप्राप्त व्यक्तिहरूमा केही न केही घमण्ड, अहम् वा फुर्तीफार्ति देखिन्छ नै । तर सत्यमोहनमा त्यस्तो किसिमको चरित्र, व्यवहार र प्रस्तुति थिएन । रसिलो, भरिलो र झरिलो फलफूल जस्तै जोशीमा विनयभाव, नम्रता र निहुरिने दुर्लभ गुणले भरिपूर्ण थिए । यो पनि सम्पादकले छनोट गरेका लेख, आलेख आदिमा झल्कन्छ ।

वरिष्ठ संस्कृतिविद डा. गोविन्द टन्डनले पुस्तकमा सत्यमोहनलाई यसरी स्मरण गर्नुभएको छ- ‘कुनै कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिको भूमिकामा जाँदा उहाँले सुनाउने दुर्लभ किसिमका अनुभव, ज्ञान, सूक्ष्मदृष्टि, मननीय विश्लेषण, टिप्पणी र मार्गदर्शन स्वरूपको गुरुज्ञानले दर्शकदीर्घामा रहनु हुने श्रोताहरूको मन सजिलै जितेर वाहवाही पाउनु हुन्थ्यो ।’ जोशी जुनसुकै भूमिका र जिम्मेवारीमा रहँदा पनि उत्तिकै कुशलता प्रदर्शन गर्न सक्ने प्रबुद्ध व्यक्तित्वको भूमिका निर्वाह गर्न सक्थे । लोक वाङ्मयका विविध विषयमाथि आफूलाई इन्साइक्लोपेडियाको रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाउँथे ।

रामभरोस कापडी ‘भ्रमर’ले सत्यमोहनको विशाल हृदयलाई यसरी भनेका छन्- ‘भाषाको नाउँमा, जातको नाउँमा, वर्गको नाउँमा आफूलाई बाँडिने वा अन्यद्वारा बाँड्न लगाइने आजको सामाजिक रीतिथितिमा जोशीजस्ता वैचारिक समुद्रका धनी व्यक्तित्वको कमीले हामीलाई निकै समयसम्म पछ्याइरहन्छ ।’ नेपालको वर्तमान विभाजित घरपरिवार, विभाजित समाज, विभाजित राजनीति, विभाजित राष्ट्र र टुक्रा-टुक्रा, खण्डीकृत नेपाली मनहरूलाई जोड्ने जोशीजस्ता राष्ट्रिय सपूतहरूको सदा अभाव खड्किरहने छ । तर त्यो खड्किन नदिने विकल्प भने यही ग्रन्थ नै हो । प्राज्ञ माया ठकुरीका अनुसार- ‘सत्यमोहन लोक वाङ्मयका अभिभावक नै हुनुहुन्थ्यो ।’ यो कुरा जोशीले कामकर्म र साधनासिद्ध सँगसँगै प्रमाणित गरिसकेका छन् ।

त्यसैगरी डा. गीता त्रिपाठीले भन्नुभएको छ- ‘सत्यहरूको राजमार्गमा सत्यमोहन !’ साँच्चिकै नेपाली लोक वाङ्मयको क्षेत्रमा जोशीले विशाल राजमार्ग बनाइदिएका छन् । यो लोकसांस्कृतिक राजमार्गको संरक्षण गर्दै भाषा, साहित्य र संस्कृतिलाई संरक्षण, सम्वर्द्धन र विकास गरेर गति बढाउन सक्नुपर्छ । नेपाली र नेपाल भाषा साहित्य, संस्कृति र लोक वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान दिने एक सपूत आफैँमा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्पदा हुन् । जोशीको देहवसानपछिको पहिलो कृतिको रूपमा ढुंगाना सम्पादित ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ दर्ज भएको छ । यस्ता कृति अझै रचना भइरहनु पर्छ ।

सरकारले नै यस्ता ग्रन्थ तयार पार्नेहरूलाई प्रोत्साहन गरिदिनु पर्छ । यो कृति विभिन्न तहका शैक्षिक संस्थाहरूको पाठ्यक्रममा समावेश गर्दा उत्तम हुने देखिन्छ । सरकारले अझै जोशीको विशिष्ट योगदानलाई सम्मान गर्दै जानुपर्छ । यसका लागि ‘सत्यमोहन राष्ट्रिय साहित्य-संस्कृति सम्मान’ र ‘सत्यमोहन अन्तर्राष्ट्रिय साहित्य-संस्कृति सम्मान’ आदि प्रदान गर्नाले उहाँको साँचो कदर र सम्मान हुन्छ । जसले समाज र राष्ट्रलाई जीवनभर सम्पूर्ण जीवन समर्पित गरिदिए, उसका लागि गर्नु न्यायोचित नै हुनेछ ।

ग्रन्थको साजसज्जा, भाषा सम्पादन, विषयवस्तुको क्रम र प्रस्तुतिमा ध्यान दिइएको पाइन्छ । जसमा जोशीले गर्नुभएको कार्यविवरण, योगदान र अनुभवलाई पनि समेट्न सकेको भएमा सुनमा सुगन्ध नै हुन्थ्यो । जोशीको व्यक्तिगत आनीबानीका बारेमा उहाँकै परिवारका सदस्यसँग आधिकारिक सूचना लिएर समावेश गर्दा पाठकलाई रोचक हुने थियो ।

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौँले प्रकाशनको गरेको कृतिको पृष्ठ ४२४ र मूल्य ५९० रहेको छ । कृतिका सङ्कलक तथा सम्पादक गोपीकृष्ण ढुंगानालाई अरू यस्तै सिर्जनात्मक रचना सिर्जनाका लागि प्रेरणा मिलोस् ।

बधाई तथा शुभकामना !