आफ्नै सिर्जना (खासमा गजल र मुक्तक )ले विज्ञापित स्रष्टा हुन्- ज्ञानुवाकर पौडेल ।

उनी अकबरी सुन हुन् जसलाई कसीको अर्थात्  कसैको विज्ञापनको जरुरत छैन । उनी “हिमाल डण्डी” जस्तै लचकदार र बलिया छन् नेपाली काव्य सिर्जनामा । उनको विज्ञापनका लागि नेपाली गजल र मुक्तकमा उनको अभियन्ताजन्य अनुपम योगदान नै पर्याप्त छ । त्यसो त यहाँ उनले जस्ता गजल र मुक्तक धेरैले लेखे , लेखिरहेका छन् र लेख्लान् । तिनीहरूले यी सब गरे केवल आफ्नो लोकप्रियताको लागि मात्रै । आफ्नै सिर्जनाको विज्ञापनका लागि मात्रै । परन्तु ज्ञानुवाकरले गजल त्यो बेलामा लेखे जुन बेला गजल नेपाली साहित्य जगतबाट लोपोन्मुखको अवस्थामा थियो । त्यस्तो बेलामा गजललाई प्राण दिने स्रष्टा हुन् -ज्ञानुवाकर ।

जब उनले गजल लेख्न थाले, उनी गजलमा चिनी भएर घुले अनि सम्झिन थाले – एकले थुकी सुकी सयले थुकी नदी ! अतः उनी अरूजस्तो आफ्नो मात्रै लोकप्रियतामा रमाउनुको सट्टा गजल बचाउको अभियानमा लागे । आफूले लेख्दै रहे र त्योभन्दा पनि अरूलाई लेख्न उत्प्रेरित गर्न थाले । आफू कुशल गजलकार बने र अरूलाई पनि कुशल गजलकार बनाए र गजललाई आजको यो अवस्थामा पुर्याए ।

उनको यही गजल अभियानको अब्बल प्राप्ति हुन्- मनु ब्राजाकी।

ब्राजाकीले जहीँतहीँ मुक्त कण्ठले भन्ने गर्थे – “मैले मेरो आत्मालाई नढाँटी भन्नुपर्छ, आज म गजलकार भैटोपलेको ज्ञानुवाकरको  गजलप्रतिको नैतिक अर्थात् निस्वार्थ प्रेमले गर्दा हो। यदि मलाई  उनको निस्वार्थ साथ मिल्दैनथ्यो भने म गजलकार बन्दै बन्ने थिइनँ । यसर्थ आज म गजलकारका नामले चिनिएको छु भने यसको पूरै श्रेय उनै ज्ञानुवाकरलाई जान्छ र नेपाली गजलमा निष्ठावान् गजलकारको हो भनेर मलाई कसैले सोध्यो भने मबाट उसले जवाफ पाउनेछ – ज्ञानुवाकर पौडेल हो भनेर ।”

त्यसपछि मनु ब्राजाकीलाई पछ्याउने नेपालका परिचित  गजलकारहरूमा रवि प्राञ्जल, कृष्णहरि बराल, घनश्याम न्यौपाने, बुँद राना, विजय सुब्बा, ललिजन रावल लगायतका धेरै छन् । यसको प्रमाण उनीहरूको ठाउँठाउँका भनाइ र लेखाइबाट प्रमाणित हुन्छ। अनि त यसभन्दा पछिका गजल लेखकलाई जो कोहीलाई पनि पछ्याउन सजिलो भयो । उनीहरूले जसलाई  पछ्याए पनि भैगो । म लगायतका हामीहरू जो आज  गजल लेखिरहेका छौँ, सबैको जरामा ज्ञानुवाकर र त्यसपछि उनै ज्ञानुद्वारा प्रेरित मनु नै छन् । यद्यपि मनुको पनि जरामा ज्ञानु नै भएको प्रमाण मनु स्वयंले बताइसकेका छन्।

अन्ततः २०३५ पछिका सबै गजलकारका जरामा ज्ञानु छन् र ज्ञानु मात्रै छन् भन्दा नेपाली गजल साहित्यलाई न्याय गरको ठहर्छ । यसरी ज्ञानुवाकरले गजललाई गजलको त्यो लगभग गुमनाम हुने स्थितिबाट बचाउ गरेका थिए । यो सत्यलाई हो भन्ने नैतिक साहस यदि हामीले गुमाएका छौँ र ज्ञानुवाकरप्रति भ्रम फैलाउने काम भैरहेको छ भने म निर्धक्कका साथ भनिदिन्छु कि हामीमा साहित्यिक निष्ठा नै छैन र यस्ता हामी साहित्यकारले खप्तड बाबाले भनेझैँ हाम्रो कलम थन्काइदिए हुन्छ । यसो गर्दा नै साहित्य साहित्यिक स्वार्थको  प्रदूषणबाट जोगिने छ ।

गजलमा जस्तै मुक्तकमा पनि ज्ञानुको योगदान अमूल्य छ । जुन विधामा उनी जान्छन् त्यस विधालाई उनले निकै प्रेम गर्छन् र प्रेमले नै त्यसलाई मलजल र गोडमेल गर्छन् । राम्ररी हुर्काउँछन्, फुलाउँछन् र फलाउँछन् । मुक्तक सङ्ग्रहहरू- “निर्वासित मन र अनूदित मन” यसैका उत्कृष्ट नमुनाहरू हुन् । उनले जति गजललाई माया गर्छन् त्यति नै मुक्तकलाई पनि गर्छन् । मुक्तकलाई पनि व्यापक र लोकप्रिय बनाउन चाहन्छन्। तैपनि उनको मुक्तकमा जुन लगाव छ त्यसलाई गजलको गम्छाले छोपिदिएको छ । फलतः उनको मुक्तकमा गरेको योगदान गजलको ओझेलमा परेको देखिन्छ जुन कुरा उनका गजल र मुक्तकका सुधी पाठकले बुझेका छन् ।

अनूदित अर्थात् अनुवादित । यसर्थ “अनूदित मन” ज्ञानुवाकर पौडेलको मुक्तकमार्फत आफ्नो मनलाई अनुवाद गरिएको उत्कृष्ट कृति हो ।

यो कृतिमा उनका मनका अनेकौँ समानान्तर विभागहरू भेटिन्छन् । तीमध्येको एउटा विभाग हो – वैदिक संस्कृति र त्यसले उनलाई पारेको गहिरो प्रभाव ।

त्यसो त प्राचीन आर्यहरूको सभ्यता र संस्कृतिका संवाहक कविहरू नै थिए । कवितामार्फत् उनीहरूले समाजमा त्याग, तपस्या, अहिंसा , दया, धर्म, नीति,तथा समर्पणको भावना र त्यसको जग बसालेका थिए । हिन्दु-धर्मको अनुकरणीय आचरणले सारा विश्वलाई नतमस्तक पारेका थिए । त्यति बेलाका हाम्रा साहित्य धर्मको अनुशासनले नियन्त्रित थिए । परन्तु आज हाम्रा साहित्य अश्लीलता अर्थात् अधर्मको अधीनमा पुगेका छन् । पश्चिमी संस्कृतिको तारिफमा आफ्नो संस्कृतिको महानतालाई बेवास्ता गर्न थालेका छन्। यो ठुलो खेदको विषय हो ।

यस्तो नैतिक खडेरीको मौसममा “अनूदित मन”को उपस्थिति सलामयोग्य र स्वागतयोग्य छ। यस अन्तर्गतका उनका मुक्तकको आशय धर्म-संस्कृति र आत्मिक स्थितिबिना अर्थात्  ईश्वरबाट पन्छिएर गरेका कुनै पनि कर्महरू कर्म होइनन्, कर्म त स्वस्थितिबाट गरिनुपर्छ जुन कर्मले सबैको परोपकार गर्ने सामर्थ्य राख्छ, भन्ने हो। त्यसो त यो बाहेक उनले “अनूदित मन”मा समाजका मूल्यहीनता, असङ्गति-विसङ्गति र व्यापक आदर्शहीनताका कारण सिर्जित दुखाइलाई पनि आफ्ना धारिला अनुभवद्वारा अनुकरणीय शल्यक्रिया गरेका छन् । जनजीवनप्रति उनका सूक्ष्म अनुभवले अचेल उनलाई “समाजका अनेकौँ विकृतिको कारण अरू केही नभएर अध्यात्मको अभाव हो” भनेर झकझकाउँछन् ।

उनी आफ्ना अनुभवद्वारा झकझकिन्छन् र झकझकाउँछन् अनुभवको यही यथार्थद्वारा आफ्ना सुधी पाठकलाई ।

यस सङ्ग्रहमा अध्यात्मले उनका मुक्तकलाई परिष्कृत र सुरुचि सम्पन्न बनाएका छन् । उनलाई बहुत सोच-विचार र नयाँ स्फूर्ति, नयाँ चेतना, नयाँ उत्साह अनि नयाँ आशाका साथ कलम चलाउन सिकाएको छ। अध्यात्मले विचारलाई सरल बनाउँछ र विचारको सरलता नै जीवनको सरलता हो भन्नेमा उनलाई शङ्कै छैन, जनकुराको दृष्टान्त उनको  मुक्तक-६ लाई लिन सकिन्छ। त्यसमा भनिएको छ-

कटुता  मनको  निकाले  सप्रिन्छ जीवन
आचार त्यो खराब सुधारे सप्रिन्छ जीवन
बोल   सधैँ  मीठो , नसोच  नराम्रो   कुरा
वाणीको मिठास नबिगारे सप्रिन्छ जीवन !

उनका मुक्तकका ऐनामा उनको ईश्वरप्रतिको चित्तलाई हेर्न सकिन्छ । चित्त शुद्धि नै अचेल उनको लेखनको ऊर्जा बनेको छ।

आत्म विषयक सज्ञानमार्फत मात्र हाम्रो अभाव वृत्तिको अन्त सदाको लागि निश्चित छ भन्ने उनलाई स्पष्ट छ । अनि उनलाई यो पनि स्पष्ट छ -ज्ञान नै मनुष्यको प्रकृत जीवन हो र अज्ञान मृत्यु हो। यदि जीवन अन्धकारमय छ र अज्ञान अर्थात् क्लेशमा बित्दछ भने वास्तवमा यस्तो जीवनको कुनै मूल्य छैन , यो सत्यमा उनलाई कुनै सन्देह छैन । उनी जैविक चक्र अनि त्यसको चमत्कारमा हुरुक्क हुन्छन् र यसलाई उनले सरल र शिष्ट शैलीमा यसरी व्यक्त गर्छन्-

सिलसिला यो दुनियाँमा आउने-जाने, कस्तो विचित्र
जीवन  त रहेछ घामछायाको कहानी, कस्तो विचित्र
भ्रमको बादलबाट सत्य चियाउँदा पो चाल पाएँ आज
सुतेर फेरि उठ्न बिर्सनुपर्दाको यो जिन्दगानी,कस्तो विचित्र !
(मुक्तक-  १५)

ईश्वरको अस्तित्व नै हाम्रो अस्तित्वको श्वासप्रश्वास हो । मानिसलाई आध्यात्मिक सहयोग गर्नु नै सबैभन्दा महान् सहयोग हो । जसले पारमार्थिक ज्ञान दिन सक्छ, त्यही मानिस मानव समाजको सबैभन्दा महान् हितैषी हो । जुन व्यक्तिले मानिसलाई आध्यात्मिक सहयोग गरेका छन् तिनै मानिसहरू जीवनमा शक्तिशाली बनेका प्रमाण उनीसँग यथेष्ट छन् ।  यसर्थ उनले मानिसलाई आफ्ना सिर्जनामार्फत आध्यात्मिक सहयोग गर्ने गरेका छन् ।

मुक्तक-२० लाई यसको उपमाका रूपमा लिन सकिन्छ –

ईश्वरको अस्तित्व तिमी कहिल्यै मान्दैनौ भने
मानवताको सेवा नै आफ्नो धर्म ठान्दैनौ भने
उपलब्ध सारा यी वैभवहरू लाग्नेछन् हेर निस्तो
मान्छे भएर पनि मान्छेलाई मान्छे गन्दैनौ भने !

त्वमेव माता च पिता त्वमेव,
त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या च द्रविणं त्वमेव,
त्वमेव सर्वम् मम देवदेवं ।।

अर्थात् हे भगवान् ! तिमी नै मेरा मातापिता, बन्धु-सखा , विद्या- द्रव्य र सबथोक हौ अनि तिमी नै मेरा सारा देवता हौ।
हामीलाई यसको यथार्थ हाम्रा सबै वैदिक शास्त्रले अनुकरण गर्न सिकाएको छ र हामीले यसलाई सनातन संस्कारका रूपमा सिकेका छौँ । सिकेका ज्ञान सिकाउनुमा जति चिरतृप्ति अर्को के हुन सक्ला र ? त्यसो त भोको रहनाले जुन कष्ट हामीलाई हुन्छ, त्यसको परिहार भोजन गर्नाले नै हुन्छ परन्तु भोक त फेरि लाग्छ र फेरि भोजनको आवश्यकता पर्छ ।

हाम्रो क्लेशको अन्त त त्यस बेला मात्र हुनसक्छ, जब हामी तृप्त भएर सबै प्रकारका अभावदेखि टाढा हुन्छौँ, तब भोकले हामीलाई न सताउन सक्छ न त कुनै दुःख/ क्लेशले नै विचलित पार्न सक्छ ।

उनको मुक्तक-७५ ले यसैलाई सिद्ध गरेको छ-

भगवान् त जहिले पनि आफ्नो हो , मित्र सच्चा हो
भगवान् नै हाम्रो मातापिता, हामी भगवान्कै बच्चा हो
मिल्दैन लान केही जाँदा त्यो कहिल्यै नफर्किने बाटो
धन, दौलत मात्र थुपार्ने काम यो तिम्रो कच्चा हो !

यी लगायत मुक्तक- २१, ३२, ३३, ४५, ६२, ६३, ६५, ६८, ७१, ९८, १०२, १०८, ११२, १२३, १३४, १३७, १४२, १४७, १५९ लाई यस सङ्ग्रहका आध्यात्मिक मुक्तकका सक्कल हुन् भने उनका बाँकी मुक्तकहरू आध्यात्मिक अनुशासनबाट पूर्णतः नियन्त्रित छन् ।

म त यिनै श्रद्धेय मुक्तककारको शुभचिन्तक मात्र हुँ । बेलाबेलामा उनैको आशीर्वादले मलाई साहित्यिक ऊर्जा प्राप्त हुन्छ। यसैले मैले उनको मुक्तकको गहिराइलाई नाप्ने धृष्टता गर्नु धृष्टताबाहेक अर्को  केही होइनथ्यो  तथापि मलाई मेरोबारे के थाहा छ भने म विगतका जीवनहरूको संस्कारको प्रभाव हुँ । त्यही  संस्कार आजको मेरो चरित्र हो र प्रत्येक मनुष्यको चरित्र संस्कारको समष्टिद्वारा नै नियमित हुन्छ । शुभ संस्कारको प्राबल्य भएमा मनुष्यको चरित्र असल हुन्छ र अशुभ संस्कारको प्राबल्य भएमा चरित्र खराब हुन्छ ।

यसैले मेरो यो धृष्टता शुभ संस्कार ग्रहणका लागि गरिएको कर्म हो । एउटा शिष्यले बुझेर गुरुको महिमा गाउँछ भने त्यो गायन अति सुन्दर हुन्छ भन्ने ज्ञानले मलाई यसबारे लेख्न सामर्थ्य दियो । अनि बल्ल म तम्सिएको हुँ “अनूदित मन “को अनुवाद ममा प्रत्यारोपण गरेर ज्ञानुलाई नियाल्न ।

आज समाजमा घटित दुर्व्यवहारहरू- राजनीतिक अस्थिरता,  अत्याचार, बलात्कार, व्यभिचार, भ्रष्टाचार ,तस्करी आदि भएका छन् ती सब अध्यात्मको अभावले भएका हुन् । “अनूदित मन”का यी खाले मुक्तकहरू यिनै विकृत समस्याका समाधानका खातिर लेखिएका हुन् । यो मुक्तककारको मौलिक स्वभावको

उपज हो किनकि उनी राष्ट्रका सच्चा स्रष्टा हुन् । उनलाई देश दुख्छ, इतिहास दुख्छ, मानवता दुख्छ, जिन्दगी दुख्छ । यी सबै दुखाइको मलम उनले अध्यात्ममा भेट्छन् र सबैलाई त्यो मलम पाइने वैदिक ठेगाना बताइदिन्छन् । भौतिक चाहनाले दुखेका यावत् दुखाइ जब आध्यात्मिक ओखतीले निको हुन्छ तब उनलाई शान्ति प्राप्त हुन्छ । आफूले प्राप्त गरेको त्यो शान्ति उनले सबैका हृदय र मस्तिष्कमा पुर्याउन चाहन्छन् । उनलाई थाहा छ – प्रकृतिको अस्तित्वको प्रयोजन नै शान्तिको शिक्षाको निमित्त हो र यसबाहेक यसको अर्को कुनै अर्थ छैन । अतः शान्ति शरीरको लागि नभएर आत्माको लागि हो भन्ने कुरामा उनलाई आफूसँग बाहेक अरू कसैसँग छलफल गर्नु नै छैन ।

अन्तमा “अनूदित मन”का स्रष्टा मानवतासँग सदैव सचेत व्यक्तित्व हुन् । यसर्थ उनको हृदय कोमल छ , दयावान र करुणामयी छ । उनको लेखनयात्राको सार अनुभव उनले यसै मुक्तक-सङ्ग्रहको आदिआरम्भमा व्यक्त गरेका छन् जसलाई यस लेखको उपसंहारमा सजाउन मन लाग्यो। त्यसमा भनिएको छ-

चार दिनको’थ्यो जिन्दगानी, मनाइयो यो दुई दिनको मेला पनि
कोही  बने  गुरु  मेरा,  कोही  बने  सारै  असल  चेला  पनि
दिए, जस  कतिले  मेरो  सिर्जनाको , देखिए कोही ईर्ष्यालु
देखाए  कसैले  राम्रो  सद्भाव, भेटिए केही गर्ने हेला पनि !!