जब मानिस सौन्दर्य शास्त्रको दृष्टिकोणबाट प्रेरित भएर यात्रा गर्दछ र स्वतन्त्र रूपमा आफ्नो अनुभवलाई जस्ताको तस्तै चित्रण गर्दछ, त्यसलाई यात्रा साहित्य भनिन्छ। मानिस सौन्दर्य प्रेमी हो, प्रकृति प्रेमी हो र आफूले अनुभव गरेको प्रेम, सौन्दर्य, भाषा, संस्कृति आदिलाई आफ्नो विशुद्ध भावले वर्णन गर्दछ। जसले साहित्यमा समाहित भएर एउटा नयाँ विधाको रूप लिन्छ।
मानिसले यात्रा परापूर्व कालदेखि गर्दै आएको हो र निरन्तर यात्रा गर्नु नै जीवन हो। सभ्यताको प्रारम्भमा मानिस गाँस, वास र कपासको लागि यात्रा गर्थे। तर मानिसमा जब चेतनाको विकास भयो तबदेखि ज्ञानको खोजीमा यात्रा गर्नु मानिसको जीवनशैली बन्यो। आदिकालदेखि नै यात्रालाई बढी महत्त्व दिइन्थ्यो। संस्कृत साहित्य ‘कालिदास’ र ‘बाणभट्ट’को साहित्यमा पनि थोरै मात्रामा यात्रा विवरण पाइन्छ। त्यसरी नै, चरैवेती-चरैवेती-चरैवेती – वेदकालको यो सूत्र वाक्यलाई गुरुकुलहरूमा ऋषिहरूले आफ्ना शिष्यहरूलाई ज्ञानको खोजीमा अगाडि बढ्ने र यात्रा गर्ने सन्देश दिन प्रयोग गर्थे। विद्यार्थीहरू संसारभरि घुमेर ज्ञान बटुल्ने गर्थे।
यात्रा मानव जातिको इतिहाससँगै जोडिँदै आएको हो र वर्तमान समयसम्ममा यसले भावको विस्तार, भाषिक प्रगति, संस्कृतिको विकास गर्दै आएको छ। नयाँ परिवेशको जानकारीका लागि, शैक्षिक ज्ञान अभिवृद्धिका लागि तथा धार्मिक उद्देश्यले आन्तरिक तथा वाह्यिक पर्यटनकै रूपमा भ्रमणलाई मानवले विकसित गर्दै आएको हो। मानिसको यही विविध रुचिका कारणले गरिने यात्राको प्रभाव विश्वका हरेक साहित्यमा देखा परेको छ। यात्रा र साहित्यको सम्बन्धको कुरा गर्नु हो भने यी दुवै, एउटै धारामा बग्दै गएर एउटा जातिको, एउटा देशको सांस्कृतिक पृष्ठभूमिलाई दह्रो बनाएर क्षेत्रीय विकास गरेको पाइन्छ। हामीले काल क्रममा हेर्दा मात्र यसको विकास अझ स्पष्ट रूपमा बुझ्न सक्छौँ।
नेपाली साहित्यमा यात्रा साहित्यलाई नियात्रा भन्ने चलन छ। साहित्यकार बालकृष्ण पोखरेलद्वारा नव निर्माण गरिएको हो यो नियात्रा शब्द र वर्तमान नेपाली साहित्यको एउटा लोकप्रिय विधाका रूपमा प्रचलित भएको छ नियात्रा साहित्य। यात्रा शब्दमा निः उपसर्ग लागेर नियात्रा शब्द बनेको हो तर यो नियात्रा शब्द अरू कुनै भाषामा प्रचलित छैन।
= = =
विषय प्रवेश:
असमका विशिष्ट साहित्यकार ज्ञानबहादुर छेत्रीको “मेरो न्युजिल्यान्ड यात्रा” पुस्तकको ‘स्वकथन’ पढ्दा उनको बारेमा निकै कुरा थाहा पाइन्छ। सानै उमेरदेखि विभिन्न विषयमा ज्ञान बटुल्नु र साहित्य सिर्जनाको खोजीमा यात्रा गर्नु उनको जीवनशैली बनेको थियो। उनले सानै उमेरमा, म्याट्रिक दिएको वर्ष, १९७४ सनमा ‘जुनकिरी परिषद्’ नामक संस्था स्थापना गरेर, नेपाली भाषाले मान्यता प्राप्त गर्नुपर्छ भनेर भारतका प्रधानमन्त्रीलाई स्मारक पत्र पठाएका हुन्।
व्यक्तित्वको एउटा महत्त्वपूर्ण पक्ष सहभागिता हो। सम्पूर्ण जीवन साहित्यमा समर्पित गर्ने उद्देश्यले, ज्ञानबहादुर छेत्रीले साहित्य निर्माणको बाटो धेरै अघि नै रोजेका थिए र उनको हातको कलम पनि कहिल्यै रोकिएन। अहिलेसम्म उनका मौलिक र अनूदित मिलाएर मोठ १५ वटा पुस्तक प्रकाशित भइसकेका छन्। र उनको दृष्टिकोणले सधैँ साहित्यको विकास खोज्यो।
न्युजिल्यान्डमा २०१९ को डिसेम्बर महिनामा भएको जीबीएलओ (Global Literary Organisation) को चौथो अन्तर्राष्ट्रिय साहित्य महासम्मेलनको निम्तो स्वीकार गर्दै लेखक त्यहाँ सामेल हुन पुग्छन्। त्यस विश्व महासम्मेलनको विषय वस्तु थियो- विश्वका विभिन्न मुलुकमा संस्थापित भुटानी नेपालीहरूको समस्या र समग्रमा, नेपाली डायस्पोराको विषयमा चर्चा र छलफल।
जीबीएलओ गठन गर्नुका धेरै उद्देश्यहरूमा एउटा प्रमुख उद्देश्य हो – आफ्नो भाषा-संस्कृतिलाई जोगाएर राख्नु। विश्वको जुनसुकै देशमा बसोबास गरे पनि जातीय परिचय अक्षुण्ण राख्ने मूल तत्त्व भाषा नै हो।
त्यसैकारणले न्युजिल्यान्डका नेपालीभाषी भुटानीहरू, आफ्नो भाषा-संस्कृतिलाई जोगाएर राख्न चाहन्छन्। त्यसरी नै, विश्वका विभिन्न देशहरूमा छरिएर बसोबास गरेका भारत, भुटान, नेपाल आदि मूलका नागरिकहरूले सिर्जना गरेको डायस्पोरिक नेपाली साहित्य विकसित हुन थालेको हो।
पहिलो दिनको कार्यक्रममा, पाल्मारस्टन नर्थका मेयर ग्रान्ट स्मिथले उनको भाषणको सुरुमै भुटानी नेपालीहरूलाई ‘वीर जाति’ भनेर सराहना गरेका थिए। उनले त्यसो भन्दा लेखकलाई असजिलो लागेको थियो। उनी छटपटिन्छन् र सोच्न थाल्छन् –
“पहिलो र दोस्रो विश्वयुद्ध, त्यसपछिका अनेकौँ युद्धहरूमा ज्यानको बाजी लगाएर लड्ने लडाकु वीर गोर्खा आज किन भाग्न विवश हुन्छ ? भारतको स्वाधीनता सङ्ग्राममा कतिले वीरगति प्राप्त गरे, कति घाइते भए अनि कतिले जेलको यातना भोगे त्यसको सही लेखाजोखा अझ हुन सकेको छैन। उसै गरी स्वाधीन राष्ट्रको निर्माण र सुरक्षामा पनि गोर्खाली जातिको योगदान कसैको भन्दा कम छैन। तर पनि विदेशीको लाञ्छना लगाएर नेपालीलाई मेघालयबाट खेदियो, मिजोरमबाट लखेटियो। उसै गरी भारतकै छत्रछायामा रहेको छिमेकी राष्ट्र भुटानबाट पनि एक लाख नेपालीलाई उच्छेद गरियो, तिनीहरूलाई जरैसमेत उखेलियो। कसैले धम्की लगाउँदैमा वीर नेपाली रातारात पोका-पत्यौरा बोकेर भाग्न तयार हुन्छ किन ? कस्तो विडम्बना, अर्कोका लागि मर्न जान्दछ तर आफ्नो सुरक्षाका लागि मर्न जानेन।
त्यसैले होला कवि भूपी शेरचनले लेखे–
हामी वीर छौँ तर बुद्ध छौँ
हामी बुद्ध छौँ र त हामी वीर छौँ।”
त्यस कार्यक्रममा जीबीएलओका महासचिव गोपाल पौडेलको संस्मरण ग्रन्थ “कथा भित्रको कथा” पनि विमोचन हुन्छ। त्यो पुस्तकमा लेखक गोपाल पौडेलले नेपालमा शरणार्थी जीवन र न्युजिल्याण्डमा बसोबास गर्दाका दुःखसुखहरू उतारेका छन्। न्युजिल्यान्डप्रति सधैँ ऋणी रहिरहनेछौँ भनेर साँचो हृदयले कृतज्ञता व्यक्त पनि गरेका छन्। न्युजिलेन्डको नागरिक हुन पाउँदा लेखक गोपाल पौडेलले गौरव अनुभव गरेका छन।
त्यो दिन, मुख्य वक्ताका रूपमा प्रभात दीक्षित, अमेरिकाबाट र लेखक ज्ञान बहादुर छेत्री, भारतबाट हुनुहुन्थ्यो। लेखक ज्ञान बहादुर छेत्रीको भाषण मुख्यतः तीन वटा बुँदामा केन्द्रित थियो।
(क) भुटानको स्वेच्छाचारी शासकको नेपालीभाषी नागरिकलाई विताडन।
(ख) डायस्पोरा र नेपाली डायस्पोरिक साहित्य र
(ग) समकालीन भारतीय नेपाली साहित्यको संक्षिप्त आभासका साथ पूर्वोत्तर भारतीय नेपाली साहित्य र समस्याहरू।
मेरो विचारमा, ज्ञान बटुल्नु छ भने संसारमा सबैभन्दा उत्तम कार्य यात्रा गर्नु हो। समाज र साहित्यको लागि यात्रा गरेर ज्ञान बटुल्नु सबै भन्दा प्रभावकारी हुन्छ। ज्ञानबहादुर छेत्रीले पनि उनको न्युजिल्यान्ड यात्रामा जीवनलाई सबै पक्षबाट विचार गरेर एक चिन्तनशील, दार्शनिक, कर्मयोगी र सामाजिक अग्रगामीको रूपमा यो पुस्तक लेख्न सक्षम भएका छन्। यस भ्रमणमा उनी सृजनशीलता, समाज र समतावाद, सभ्यता, संस्कृति, इतिहास, विज्ञान, धर्म, दर्शन, प्रकृति र पर्यावरण आदिबाट प्रेरित भएर गतिशीलताको बाटो पछ्याउँदै सबै कुरा सुन्दर रूपमा राख्न सक्षम छन् –
समतावादी धारणा:
“पानी, पानी सबैतिर पानी
पिउनका लागि एक थोपो छैन पानी ।
(Water, water everywhere
Nor any drop to drink.)
एन्सिएन्ट मेरिनरको एक लाइन कविता याद आयो । कतै प्रशान्त महासागरमा सफर गर्दा त लेखेका होइनन् यो कविता कलेरिजले ? आज कोरेनीको ज्ञाने त्यही प्रशान्त महासागर माथि माथि उडिरहेको छ। आदिकविको श्लोक याद आयो-
तर्छु क्षार समुद्र आज सहजै भन्या इरादा धरी । श्रीरामका चरणारविन्द मनले अत्यन्त चिन्तन गरी।।
भन्छन् वीर हरूलाई ताहिं हनुमान हे वीर हो पार् तरी। सीताजी कन भेट्दछु म अहिले जान्छू बडो बेग् धरी ।।
(सुन्दर काण्ड, श्लोक १)
हनुमानलाई आँट आएकै हो । म पनि आजको हनुमान हुँ।”
मौलिकता र नवीनताका अद्भुत गुणहरूले मनलाई तरंगित पार्दै नयाँ सम्भावना, परिवर्तन र सकारात्मक चिन्तनको बाटोमा हिँड्नु नै सृजनशीलता हो। “हङकङदेखि अकलेन्डसम्म: प्रशान्त महासागरमाथिको उडान” उपशीर्षकमा प्रशान्त महासागरको रहस्यहरूको बारेमा सोच्दा-सोच्दै ज्ञान बहादुर छेत्रीले प्रस्तुत पेरामा मौलिकताको साथ साथै नवीनता र सृजनशीलताको सुन्दर मेल प्रयोग गरेको पाइन्छ। एकातिर, उनलाई वर्तमानको ठुलो समस्या पिउने पानीबारे विकराल अवस्थाको बोध हुन्छ र गम्भीरतापूर्वक वास्तविक कुरा लेखेका छन् भने अर्कातिर फेरि ठिक त्यही समयमा भानुभक्तले लेखेको रामायणको श्लोक सम्झन्छन् र हनुमानले जस्तै उनी पनि यति ठुलो महासागर पार हुँदै छन्। खुसी हुँदै, आफूलाई आजको हनुमान भनेका छन्।
हाम्रो देशमा आएर दुई सय वर्ष राज गर्ने अङ्ग्रेजहरूको देश, न्युजिल्यान्डको राजधानी वेलिङ्टन घुम्दा टे-पापा म्युजियम घुमेको अति रोचक र हृदयस्पर्शी घटनालाई पनि राम्रोसँग वर्णन गरेका छन्।
सर्वप्रथम न्युजिल्यान्डका टापुहरूमा पदार्पण गरेका आदिवासी माउरी जनगोष्ठीहरूले बस्ने घरको नमुना र उनीहरूले दैनन्दिन व्यवहार गरेका औजारहरू म्युजियममा सजाएर राखिएको वर्णित छ। धेरै कुरा त उनलाई, हाम्रो असमतिरका गाउँहरूको जनजीवन र संस्कृतिसँग मेल खाने किसिमको लाग्यो। जादु मन्त्र, टुनामुनाका सन्दर्भहरूको झल्को देख्दा हाम्रा धामी-झाँक्रीले ढ्याङ्ग्रो बजाउँदै मुन्धुम फलाकेको सम्झना पनि हुन्छ लेखकलाई।
त्यहाँ, म्युजियमभित्र, युद्ध भूमिका जीवन्त लाग्ने मोमका मूर्तिहरू, चित्रहरू उनलाई एकपल्ट स्पर्श गर्न मन लागेको कुराले लेखक कति संवेदनशील छन् भन्ने कुराको प्रमाण पाइन्छ र साथै उनी समतावादमा विश्वास राख्ने व्यक्ति हुन् भन्ने कुराको पनि पुष्टि हुन्छ।
समतावाद, सामाजिक र राजनीतिक विचारमा स्थापित एउटा अवधारणा हो। समतावादको सिद्धान्तले सबै मानव जातिको समान मूल्य र नैतिक स्थितिको अवधारणालाई बुझाउँछ। समतावादले प्रत्येक समाजका सबै व्यक्तिलाई एउटै शृङ्खलामा बाँध्छ। वास्तवमा, समतावादले स्वतन्त्रता र समानतालाई मिलाउन खोज्छ। त्यसैले लेखकले बुझेका छन् – अर्कालाई बुझ्नु भनेको आफू सकारात्मक रहनु हो। सबैप्रति समान दृष्टिकोण र धारणा राख्नु हो।
सही अर्थमा सेक्युलर:
“हिन्दुहरूको पूजा-आजा र भजन-कीर्तनमा क्रिस्तान र बौद्ध धर्मी पनि आमन्त्रित हुन्छन्। उसै गरी बौद्ध र क्रिस्तानहरूका उत्सवमा अन्य धर्मीले पनि भाग लिएको देखियो।”
(मेरो न्यूजिल्यान्डकाे यात्रा, नेपाली क्रिसमस)
न्युजिल्यान्डको नेपाली समाजको उदारवादी विचारहरूको सञ्चार देख्दा लेखकलाई यिनीहरू सही अर्थमा सेक्युलर रहेछन् भन्ने लाग्छ। साथै ‘डायस्पोरिक जीवनको झलक हो यो’ पनि भनेका छन्।
पामिस्टनमा बसोबास गर्ने नेपालीभाषी समाज विशेष गरी हिन्दु, इसाई र बौद्ध मार्गीमा विश्वास राख्ने रहेछन् तर उनीहरूको बिचमा आपसी मेलमिलाप देख्दा धार्मिक विभाजन सजिलै छुट्याउन नसकिने कुरा गरेका छन्। उनको विचारमा सबै धर्मले समान सम्मान पाउनुपर्छ।
सबैलाई माया गर्नु र मिलेर बस्नु नै मानवताको पहिचान हो। आफ्नो धर्म मान्नु र अरूको धर्मलाई पनि सम्मान गर्नु हो भने संसारमा समृद्धिको बाटो सजिलो हुन्छ।
संस्कृतिप्रति सम्मान:
“पहिलो कार्यक्रम एउटा ग्रुप डान्स थियो। अद्भुत वेशभूषा पहिरेका कलाकारहरूले अनौठो नृत्य प्रदर्शन गरे। हातमा भाला लिएका, लामो जिङरिङ्ग केश, मुखमण्डल र सारा जिउमा ट्याटुले सिँगारेका, डरलाग्दा मान्छे अद्भुत शब्दले चिच्याउँदै कराउँदै आक्रमण गर्ने जसरी आए। उनीहरू उफ्री उफ्री अघि र पछि पाइला सार्दै थिए। सभागारमा नभएर अन्य ठाउँमा भएको भए तर्सेर भाग्ने थिएँ। त्यो न्युजिल्यान्डका आदिवासी माउरी जनगोष्ठीको अतिथिलाई स्वागत सम्मान गर्ने पारम्परिक नृत्य रहेछ । यस नृत्यलाई ‘हाका’ भन्दा रहेछन।”
(बहुरङ्गी सांस्कृतिक झलक: नागरिकहरूको स्वागत नृत्य)
संस्कृतिहरू अलग अलग बाटाबाट विकसित हुँदै आएका छन्। कसैको पनि संस्कृतिलाई नराम्रो भन्न सकिँदैन। मानिसका आफ्ना सपनाहरू त्यहीँ जीवित हुन्छन्, जहाँ संस्कृति बाँचेको हुन्छ। त्यसैले उत्कृष्ट किसिमको यात्रा साहित्यले समाजमा स्थायी महत्त्व पाउँछ। जसमा प्रतिभाशाली यात्रीले आफ्नो भावना र विचारलाई कलात्मक अभिव्यक्ति प्रदान गरेका हुन्छन्। उत्कृष्ट यात्रा साहित्यले पाठकको मनमा अमिट छाप छोड्छ, जुन प्रायः स्थायी हुन्छ। उत्कृष्ट यात्रा साहित्यमा जनजीवनसँगै सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको हुन्छ र मेरो न्यूजिल्यान्ड यात्रामा पनि लेखकले त्यहाँको संस्कृतिको सुन्दर झलक प्रस्तुत गर्न बिर्सेका छैनन्।
प्रकृति प्रेम:
“यस ठाउँमा झलक्क हेर्दा सबै सुसम्पन्न, धेरै थोक राम्रो देखिन्छ तर त्यो सम्पन्नता भित्र धेरै पिर लुकेको छ, आँसु पनि बग्न नपाएर आँखामै सुकेको छ। अरू त के यहाँ रुखले पनि आफू खुसी बढ्न र फैलिन पाउँदैन, जताततै उम्रिन पनि मनाही छ। जीवश्रेष्ठ प्राणी मान्छेले अरू जीवको स्वाधीनता हनन गरेको छ’ भनेर फिस्स हाँसे गोपाल। उनको कृत्रिम हाँसोमा वेदनाको मात्रा बढी थियो”
लेखक यहाँनेर निकै भावुक देखिन्छन्। उनको विचारमा- यो संसारमा जन्मिए पछि नै हाम्रो जीवनको यात्रा सुरु हुन्छ। प्रकृति र जीवनको गहिरो सम्बन्ध स्थापित हुन्छ। त्यसैले प्रकृति प्रति हामीले सोच विचार गरेर जन्माएका दृष्टिकोणहरू कहिले मर्न दिनु हुँदैन भन्ने कुराको पुष्टि गरेका छन्। गौतम बुद्ध मरेर गए पनि उनको विचार र दृष्टिकोण अझै जीवितै छ भन्ने प्रमाणित छ। प्राणी र प्रकृति बिचको शोषण अन्त्य गर्नुपर्छ। हाम्रा विचार, भावना, रहन सहन जीवन जिउने कलाहरू हुन् त्यसैले, हामी सबैले मानव जीवन र प्रकृतिको अध्ययन गरी समाजमा विद्यमान कुसंस्कार र कुरीति उन्मुलन गरेर एउटा सभ्य समाज निर्माण गर्न सक्नुपर्छ।
भाषा शैली र कलापक्ष:
यात्रा, अनुसन्धानको नयाँ दैलो खोल्ने एउटा चाबी हो। त्यसैले अध्ययन र अनुसन्धान गर्दै उनी त्यहाँबाट ज्ञानको बहुमूल्य भण्डार लिएर फर्किन्छन्। लेखकले आफ्नो ज्ञान र अनुभवले नियात्रा लेखनमा आउने विविधतालाई बुझेका छन्। आफ्नो अनुभवको आधारमा निष्कर्ष निकालेका छन् तुलना गरेका छन्। ज्ञान र अनुभव बिनाको नियात्रा साहित्य निरस लाग्न थाल्छ र वर्णनात्मक मात्र बन्न पुग्छ त्यसैले लेखकले अनुभवको साथ साथै अभिव्यक्तिको कौशलतालाई पनि उत्तिकै महत्त्व दिएका छन्। प्राकृतिक सौन्दर्य र पर्यावरण, जीवन जगतको भोगाइ, आदि सबै पक्षलाई आलङ्कारिक शैलीमा उतारेका छन्। रचनामा कतै कतै दार्शनिकता पनि झल्किएको छ।
उसरी नै भाषा र शैलीको प्रयोगमा पनि लेखक सचेत छन्।भाषा सरल र सुवोध्य छ। उनले हरेक ठाउँको प्राकृतिक, सामाजिक, धार्मिक, राजनीतिक यथार्थता, मानवीय संवेदनशीलता, मानवीय प्रवृत्ति र प्राय सबै घटनालाई सामाजिक यथार्थतासँग जोड्दै सकारात्मक पक्षका साथै विसङ्गतिप्रति पनि नजर डुलाएका छन्।
उपसंहार:
यात्रा विवरणको आधारभूत तत्त्व नै रोचक हुनु हो।
रोचकता एक मात्र यस्तो तत्त्व हो जसले यात्रा साहित्यको पुस्तकको मानदण्ड बढाउँछ। यात्रुले त्यहाँको प्राकृतिक सौन्दर्य, जीवन, समस्या आदिलाई संवेदनशीलताको गहिरो तहमा पुर्याएर अध्ययन गर्नु अनि आफ्नो कलात्मक वर्णनको माध्यमबाट पाठकलाई रोचकता प्रदान गर्न सक्नुपर्छ।
यस यात्रा वृत्तान्तमा लेखकले त्यो ठाउँको व्यक्तिगत चेतना, सांस्कृतिक जीवन, सामाजिक तथा आर्थिक गतिविधि, राजनीतिक तथा भौगोलिक अवस्था, विचार र अवधारणाहरू समावेश गर्नका साथै वर्णनात्मक र तुलनात्मक ढङ्गले त्यो ठाउँको जीवन दर्शनलाई आफ्नै शब्दमा उनेर सुन्दर अभिव्यक्तिका साथ उतार्न सक्षम भएका छन्। लेखकको अनुभूतिले त्यहाँको वातावरण र जनताको जीवनको अनुभूतिलाई पनि आत्मसात् गरेको पाइन्छ।
तथ्यात्मकताका दृष्टिले हेर्नु हो भने पनि लेखकले वर्णन गरिरहेको ठाउँको बारेमा पाठकलाई आवश्यक सबै तथ्यहरूको विवरण दिएका छन्। र यस कृतिमा यात्रीले भोग्नु परेको प्रत्येक परिस्थितिहरूलाई सही रूपमा प्रकट गर्न प्रयास गरेको पाइन्छ। यस कृतिमा कतै कतै कलात्मक अभिव्यक्ति भएकाले लेखकले गरेको कल्पनालाई नकार्न सकिँदैन, कल्पनाको संयोजनले यस कृतिलाई रोचक बनाएको छ। यात्रा वृत्तान्तमा चित्रण गरिएका प्रत्येक अवस्था यात्रीको व्यक्तिगत अनुभव हो तर सबै अनुभवहरू यहाँ सही प्रमाणित भएका छन्।
अन्तमा यति सुन्दर र रोचक कृति “मेरो न्युजील्यान्ड यात्रा”को लागि ज्ञान बहादुर छेत्रीज्यूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ मंसिर २०८२, आईतवार 










