पेसा र सिर्जनशीलता बिचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुन सक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत् प्राधिकरणमा प्राविधिक कार्यलाई पेसा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी व्यक्ति हुन् ।

प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका  राजेन्द्र धनकुटाको साबिकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका अधिकारी सिर्जनशीलतामा कोमल हृदय भएका सर्जक हुन् । विद्युत् प्राविधिक जस्तो कठोर जागिरे जिम्मेवारी सम्हालिराखेका अधिकारीको मन निकै कोमल र सिर्जनशील छ भन्ने कुरा २०७९ को मध्यतिर प्रकाशनमा आएको काव्य कोपिला नामक कविता सङ्ग्रहले प्रमाणित गर्छ ।

अधिकारीलाई मानवतावादी सर्जकका रूपमा नेपाली फुटकर कविताको क्षेत्रमा उभ्याइदिएको काव्य कोपिला कृति विभिन्न छन्द र रसको स्पष्ट स्वाद बोकेर आएको छ । राजेन्द्रका कविताले राष्ट्रप्रति निस्वार्थ प्रेम, उर्वर जिन्दगी, नेपाली भूगोलको महिमा, जीवन जगतमा मान्छेको भूमिकालाई कलात्मक रूपमा वर्णन गर्न सफल छन् ।

यस सङ्ग्रहमा कवि अधिकारीले विभिन्न छन्दमा ५६ वटा कविता सङ्कलन गरेका छन् । कवि काश्यपले शिखरिणी, शार्दूलविक्रीडित, पञ्चचामर, द्रुतविलम्बित, वसन्ततिलका, तोटक, मन्दाक्रान्ता छन्दलाई कवितामा कलात्मक उपयोग गरेका छन् । नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरूले देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् ।

पहिलो शीर्षकमा रहेको ‘रोजगारी देऊ छिटो’ कविताले बिग्रँदो नेपाली राजनीतिक अवस्थालाई मूल निशाना बनाउन खोजेको छ । प्रकृतिले अनमोल स्वरूप दिएको नेपाली भूगोल छोडेर विदेश भासिनु पर्ने बाध्यता किन आयो भन्दै कविले आक्रोश समेत पोखेका छन् । उनका केही शब्द हेरौँ –

खानी गर्भ यहाँ अनेक थरीका छन् यो बुझ्दैनौँ किन ?

अर्कै देश विकास गर्न पसिना पोख्छौ युवा हो किन ?

यी दुई श्लोकले नै वर्तमान नेपालको राजनीतिकाे  वास्तविक चित्र कोर्न सफल छन् भने समग्र कविताले राष्ट्रवादको प्रतिनिधित्व सहजै गरेको अनुमान गर्न सकिन्छ ।

कवि अधिकारीले जीवन र जगतलाई सम्झने क्रममा जन्मदाता बाबुआमादेखि कर्मदाता सासूससुरा हुँदै जीवन सङ्गिनीसम्म कवितामा समेटेका छन् । उनले जन्मँदा पालुवाका रूपमा जन्मने मानिस बैँस बढ्दै जाँदा एकाएक बुढौलीमा ढल्कँदा मात्र जीवनको महत्त्व बुझ्ने अवस्था समेत कवितामा चित्रण गरेका छन् ।

जीवन भन्ने बित्तिकै उर्वर र रमाइलो प्राकृतिक साैन्दर्यकाे उपहार सम्झने कविले यो उर्वर जिन्दगीमा अलमल गर्नु नहुने विश्वास राखेका छन् । कवि अधिकारीमा कतै न कतै अध्यात्मको प्रभाव समेत रहेका कारण जीव र जगतको वास्तविकता झल्काउन उनका कविता सफल छन् ।

उनका कविताले सुशासनयुक्त नेपाल होस् भनेर कल्पना गर्न खोजेको पाइन्छ । विशेष गरी नेतृत्वमा भ्रष्ट आचरण लुकेकैका कारण नेपाल देश विकास हुन नसकेकोप्रति आक्रोश पोखेका कविले नेपाली भूमिको सुन्दरताको महिमा रमाइलो तरिकाले पोखेका छन् ।

पहिलो नम्बरमा रहेको शार्दूलविक्रीडित छन्दमा रचिएको ‘रोजगारी देऊ छिटो’ शीर्षकको कवितामा मानवताको भाव उठाउँदै कविले परदेशको दासता स्वीकार गरेर रोजगारीका नाममा बेचिनु परेकोमा आक्रोश पोखेका छन् । कविका केही शब्द जस्ताको त्यस्तै हेरौँ — आफ्नै जन्म धरा भुली कहरको खाडी कुदे भूल हो, प्यारो आँगन यो नछोड यसरी खाँचो भयो ज्ञानको ।

चौथो नम्बरमा रहेको इन्द्रबज्रा छन्दमा रचिएको ‘भातृत्व प्रेम सिकाऊ’ शीर्षकको कविताले राजनीति विकृत बाटोमा गएको प्रति वितृष्णा व्यक्त गर्दै उल्टो बाटोमा रहेको राजनीति सच्याउन आग्रह गर्दै भनेका केही शब्द हेरौं — चम्चे भरौटे गतिला गनिए, झोले, धुपौरे धनले पुरिए । हे राम आऊ निमुखा बचाउ, भातृत्वको प्रेम सबै सिकाऊ ॥

सातौँ नम्बरमा रहेको शार्दूलविक्रीडित छन्दको हाम्रा नित्य कर्म शीर्षकको कविताले मानिसले गर्नै पर्ने नित्य कर्मलाई मानवतासित गाँसेर कर्मशील बन्न उत्प्रेरणा दिँदै जीवन र जगतसित हरेक व्यक्तिलाई जोड्ने प्रयास गरेको छ । जसलाई केही अंशबाट बुझ्ने प्रयास गरौँ — आफ्ना जे व्यवसाय गर्नु छ गरौँ राम्रा भला सोचले, यस्ता कर्म गरौँ सफा हृदयले मिल्नेछ मेवा भरे ।

दसौँ नम्बरमा रहेको पञ्चचामर छन्दमा ‘सिर्जित हुँदैन झुक्नु माथ यो’ शीर्षकको कविताले नेपाली वीरतालाई चिनाउने प्रयास गर्दै राष्ट्रवादी भाव पोख्न खोजेको छ । केही शब्द हेरौँ — हुँदैन झुक्नु माथ यो अथाह ज्ञान केन्द्रको, नहेप वीर छौँ अझै छ भक्ति प्रेम देशको ।

वर्तमान नेपालको बेरोजगारी चित्कार दर्साउँदै कविले सोह्रौँ कवितामा रोजगारको माग गर्दै भन्छन् —कि खोज रोजगारको उपाय देश भित्र नै, कि भोक बन्द गर्दिनू बसिन्छ शून्य पेट नै ।

सत्रौँ  कविताको एक अंश हेरौँ— छोटो सोच गरेर हुन्न अब लौ मागेर के हुन्छ र ? पूर्वाधार खडा गरौँ अघि बढौँ नेपाल होस सुन्दर ।

यो राष्ट्रिय भाव बोकेर आएको कविताको श्लोक हो । यस कविताले नेपालको महिमा गान गर्दै स्वर्गसित जोडेर जन्म भूमिको माया व्यक्त गरेको छ । देशको विकास गर्न सन्सारको जुनसुकै कुनामा पुगेर माग्ने होइन नेपालीले नेपालको माया ममता नभुली पूर्वाधार खडा गर्न आग्रह गरेका कविले राष्ट्रवादी भाव पोखेका छन् ।

यस श्लोकले मान्छेलाई असल हुन जागरण पैदा गराएको छ । स्वार्थ र लोभमा पर्ने मानिसहरूलाई व्यङ्ग्य गर्दै मानवताका लागि असल काम गर्न अध्यात्मको भावनात्मक विचारलाई मिसाएर जागरूकता जोडिएको छ । जे गर्नु छ राम्रो गरौँ अहिले नै गरौँ भोलिलाई नपर्खौं भन्ने सन्देश बोकेको कवितामा असल मान्छेको परिकल्पनामा आएको महसुस पाठकले गर्ने छन् ।

एक्काइसौँ नम्बरमा समेटिएको शार्दूलविक्रीडित छन्दको ‘उल्टो समय’ कविताले नेपाली मौलिकपन कमजोर हुँदै जाँदा समय उल्टिएको भन्दै व्यङ्ग्य गर्ने चेष्टा राखेको छ । जसका केही शब्द हेरौँ — छोप्ने छैन लुगा घटे छ, अब लौं छोपिन्न है लाज त्यो, बोल्ने साहस नै घटेछ किन हो ? बोल्ने त पाखे भयो ।

शार्दूलविक्रीडित छन्दमा तयार भएको पच्चिसाैँ नम्बरको वेदको महिमा कविताले संसारकै प्राचीन मानिएको वेद ग्रन्थ र पुराणको महिमा गान गर्दै धार्मिक नैतिक चेत प्रदान गर्न खोजेको छ । कविका शब्दलाई सापटी लिँदा — नेपाली हुनमा त गौरव गरौँ वेदै ठुलो मान हो । सारा विश्व अटाउनेछ यसमा आँखा भयो वेद यो ।

सैँतिस नम्बरको शार्दूलविक्रीडित छन्दमा तयार भएको कोरोना अवधिमा जे देखियो कविताले प्रकृति बिपतबाट भोग्नु परेको उत्पीडनलाई दर्साउँदै मानवताको आवाज उराल्ने प्रयास गरेको छ । केही शब्द हेरौँ —

भोकै ती जनता हिँडे सडकमा झुत्रा लुगा आङमा,

रोकिन्थे जनता छ रोग ननिको बढ्ला भनी देशमा ।

अधिकारीको पहिलो प्रयासका रूपमा आएको यस कविता सङ्ग्रहले शास्त्रीयतावादी छन्दको नियममा रहेर  मानवतावादी भावनालाई प्रकृतिसित जोडेर छन्दको माध्यम सबल रूपमा उपयोग गरेको छ । अब्बल रचना समेटेर सङ्ग्रहित भएको काव्य कोपिला नेपाली भूमिको महिमा गानका लागि असल कृति बन्न सफल छ । यस कृतिका ५६ वटा कविताले देश र जनता शासकका कारण प्रताडित भएको सत्यलाई कुनै न कुनै रूपमा प्रस्तुत गरेका छन् । जहाँ निराशा चिरेर आशावादी सोच भने विद्रोहका रूपमा कवितामा भाव बनिएको सत्य बिर्सनु हुँदैन ।

कवि अधिकारीको पचासौँ नम्बरमा शार्दूलविक्रीडित छन्दमा रहेको ‘निष्पक्ष र निर्णय’ शीर्षकको कविता भित्रको एक अंश हेरौँ—

दोषी भाग्य भनेर उम्किन कहाँ खाेज्छौ अझै मानव,

राम्रा कर्म गरे सधैँ सहजता सौभाग्य छन् सम्भव ।

यस कवितांशले भने जस्तो आज पनि राज्यसित विद्रोह गर्न नसक्नेहरू परदेश पलायन भएर आफ्नै भाग्यलाई दोष लगाइ रहेका छन् । तर, कविले कविताको माध्यमबाट सचेत मानिसहरू विद्रोहका विभिन्न रूपहरू मध्ये राम्रा कर्म अर्थात् पौरख गरेर आफ्नै देशको उन्नतिमा लाग्नु पर्ने तर्कलाई भाव बनाएका छन् ।

वास्तवमा नेपालको उन्नतिमा राजनीतिक नेतृत्व बाधक रहँदा युवा पुस्ता विदेश पलायनको लहर चलेकोमा भने कविले यस कविता सङ्ग्रहमा  निकै चिन्ता र आक्रोश पनि पोखेका छन् ।