ती दिनमा महागुरु फाल्गुनन्द एक राष्ट्रिय विभूति हुनुहुन्छ, मलाई यति मात्रै ज्ञान थियो । कति कारणले वहाँलाई विभूति मानियो थाहा थिएन । यद्यपि वहाँ टुहुरो बालक हुनुहुन्थ्यो, कति अभाव र कष्टका दिन थिए रे ! त्यो कुरा धमिलो स्मृतिमा आउँछ, किंवदन्ती कथा भएर । त्यस्तै अर्को स्मृति थियो—हिंस्रक प्राणीले पनि वहाँलाई केही गर्थेनन् रे ! सम्मुखै भेटिएको बाघले वहाँलाई सरक्कै बाटो दिन्थ्यो—भनेपछि वहाँमा एउटा अलौकिक शक्ति छ, मैले बुझेको यति नै थियो ।

एक समय वहाँ सैनिक हुनुहुन्थ्यो भन्ने पनि कता कता सम्झना बनेर आउँछ । त्यसपछि वहाँको अरू व्यक्तित्व जान्ने बुझ्ने मौका मिलेन । झलक्क हेर्दा छोरा मान्छे हो कि होइन जस्तो लाग्ने तस्बिर— महिला त झन् हुँदै होइन । दैनन्दिन देखिने पुरुष आकृतिभन्दा बेग्लै देख्यो—मेरो अपरिपक्व दृष्टिले ।

हातमा त्रिशूल लिएका, माला लगाएका, केको हो कुन्नि—रुद्राक्षको त होइन अर्कै भिन्न खालको । कानमा उस्तै ठुला ठुला चेप्टा रिङ झुण्डिएका, शिरमा टोपी होइन त्यो ताज जस्तो देखिन्छ, त्यस्तै केही । चीवर धारण गरेका तर बौद्ध धर्मावलम्बीका भन्तेहरूले लगाउने रङको थिएन ।

छ सात कक्षाको विद्यार्थी हुँदाको, मेरो स्मृतिमा फाल्गुनन्दको आकृति यस्तै थियो । त्यसपछि वहाँको सम्बन्धमा फेरि केही सुनिनँ, जानिनँ । कहिलेकाहीँ खबर पत्रिका या कतै देखेकी हुन्थेँ महागुरुलाई । वहाँलाई हेर्ने अर्थात् वहाँको तस्बिरलाई केही भिन्न देख्ने मेरा दृष्टि संस्करण भएका थिए । तथापि वहाँको विषयमा थप जान्ने समय निकालिनँ । लाग्थ्यो, यो मेरो खोजीको विषय होइन ।

एउटा संयोग नै भनौँ, फाल्गुनन्द महागुरु फेरि मेरो स्मृतिमा आउनु हुन्छ । वहाँलाई प्रत्यक्ष देखेको अनुभूत हुन्छ ।  केही महिनाअघि मलाई पूर्वाञ्चलको साहित्यिक भ्रमणमा जाने अवसर मिलेको थियो । शशी दिदी, म र संयम काठमाडौँदेखि यति एयरबाट विराटनगर ओर्लियौँ । त्यसो त हाम्रो टिकट यतिको थिएन । बुद्ध एयरको टिकट काटेका हामीलाई भरे त्यसैमा पठाइन्छ ।

पूर्वी नेपालको यात्रा मलाई एकदम नौलो लागेको छ । त्यस ठाउँले पनि त मलाई नौलो मानेको छ नि ! मलाई केही थाहा छैन । अलमल पर्छु ।  दिदीको पछि लागेर वहाँको माइती घर दमक पुग्छु । पुग्नु पर्ने ठाउँ अगाडि नै एउटा व्यस्त चोक आउँछ—फाल्गुनन्द चोक । एकछिन हाम्रो गति त्यहीँ रोकिन्छ, त्यहीँ बिसाउँछौँ यात्रा ।

यी सब कुरा मलाई अपरिचित लाग्छन् । मधेशमा बहने बतास, सूर्यको प्रकाश, पर्यावरणको रङ्ग, वायुको गन्ध, दृश्य सम्पूर्ण थोक मलाई अर्कै अर्कै लागेको छ । आश्चर्यले मेरा दृष्टिहरू विस्फारित हुन्छन् । चोकले ध्यानाकर्षित गरेको मेरो दृष्टि फेरि अर्को केही थोक देख्छ— त्रिशूल हातमा लिएको, छाता ओडेको, नौलो परिधानमा उभिएको त्यो अग्लो सालिक मैले पत्रिकामा देखेको भन्दा केही फरक थियो । साजसज्जाले फरक देखिएको थियो । तल फेदमा केही दाताहरूको नामाङ्कन सहित बाँकी घेरामा उनै फाल्गुनन्दका महावाणीहरू पहेँलो पृष्ठभूमिमा नीलो रङ्गले लेखिएका थिए— ईश्वरको सन्तान पशु पन्छीलाई भोग बलि चढाई वरदान माग्न मूर्खता हो’, ज्ञान, बुद्धि, विवेक यी तीन चिज अमूल्य सम्पत्ति हुन, पुजीपतीहरू त सम्पत्तिको रखवारी गर्ने गोठाला मात्र हुन्’, ‘देवी देवता, पूजा-आजा र कर्मकाण्डमा शुद्ध नैवेद्य दूध र फलले मात्र सेवा गर्नू’ आदि आदि ।

अब सालिकलाई देब्रे पारेर हामी अघि बढ्छौँ । ठेगानमा पुगेपछिको समय फाल्गुनन्द र उनी उभिएको त्यो चोक विषयमा उत्सुक हुँदा कमल सरले ‘फाल्गुनन्द’ नामक उपन्यासको चर्चासँगै त्यो कृति मलाई दिनुहुन्छ ।

त्यहाँदेखि हामी नौ जनाको साहित्यिक टोली इलाम, फिदिम, च्याङ्थ्यापु हुँदै अन्त्यमा ताप्लेजुङ पुग्यौँ । तोक्मे बजारको छेउमा फाल्गुनन्दको अझ विशाल मूर्ति—कुम्भकर्णपट्टि फर्केको भव्य रूप देख्दा फाल्गुनन्दप्रति अझ बढी म जिज्ञासु भएँ । उनको विराट सालिक पार्श्वमा आउने गरी हामीले केही तस्बिर पनि लियौँ ।

वीरेन्द्र थोक्लिहाङ ‘वीरेनजी’ कृत ‘फाल्गुनन्द’ जुन उपन्यास अध्ययनपछि म अहिले आफैँप्रति असन्तुष्ट छु —महान् पुरुषलाई अघिका दिनमा चासो किन राखिनँ ? खोजी खोजी किन पढिनँ ? बेवास्ता किन गरेँ भनेर । स्रष्टा थोक्लिहाङको अभिव्यक्तिले फेरि झल्याँस्स हुन्छु ।

प्रस्तावनामै उनले ‘फाल्गुनन्दलाई विश्वव्यापीकरण गर्ने सानो प्रयास’ शीर्षकमा भनेका छन्, “नेपालका राष्ट्रिय विभूति, महान् समाज सुधारक महागुरु फाल्गुनन्दको जति चर्चा हुनु पर्ने हो, त्यति भएको छैन । उहाँप्रति उदासीन रहनु भनेको एउटा ऐतिहासिक कालखण्डको घटनाक्रमलाई बेवास्ता गर्नु मात्र होइन लोककल्याणकारी महत्त्वपूर्ण ज्ञान लिने अवसरबाट हामी वञ्चित रहनु पनि हो । इतिहासलाई मरेको दिनहरू मात्र मान्ने हो भने हामी कहाँबाट आयौँ भन्ने स्रोत पनि गुमाउन पुग्छौँ ।”

भिल्लको देशमा मणि पनि अर्थहीन हुन्छ, कवि शिरोमणिले त्यसै भनेका थिएनन् । देशकै गौरव -फाल्गुनन्दलाई चिन्ने यहाँ कति नै होलान् ? स्कुल पढ्दाका मेरो उमेरका, आजका विद्यार्थीले वहाँको नाम पनि सुनेका छन् कि छैनन् कुन्नि । मैले वहाँलाई कोर्समा पढेको होइन । काठमाडाैँदेखि बाबुले लगेको ‘एक सय एक महापुरुष’ भन्ने एउटा विशेषाङ्क पत्रिकामा वहाँलाई चिन्न पाएकी थिएँ । विश्वास गर्न नसकिने, एकादेशको कथा—आभास भएको थियो ।

अब वहाँलाई जाति विशेषमा, सिमाना र इतिहासमा खुम्च्याएर राख्नु हुँदैन । सृष्टिका दुर्लभ व्यक्तित्वलाई  सार्वजनिक गर्नु पर्छ, सर्वजनीन हुनु पर्छ महान् व्यक्तित्वहरू । त्यसैको अभियान भएको छ ‘फाल्गुनन्द’ उपन्यास ।

स्रष्टा थोक्लिहाङले कल्याणकारी कर्म सम्पादन गरेका छन्—राष्ट्र, इतिहास र नेपाली साहित्यका पाठकमाझ । गुरु फाल्गुनन्दको बारेमा एउटा लिम्बू परिवारको स्रष्टाले जति गहिराइमा पुगेर लेख्न सक्छ त्यति लिम्बू इतरको स्रष्टाले सकेको हुँदैन । त्यो जातीय संस्कृति, धार्मिक मूल्य मान्यतालाई नबुझी वहाँलाई चिनाउन बुझाउन कठिन विषय छ । लेखक त्यही भूमिका, त्यही जातिका बिम्ब र प्रतीकले निर्माण हुँदा—गुरु फाल्गुनन्दलाई स्वाभाविक ढङ्गले प्रस्तुत गर्न सकेका छन्, अर्थात् उपन्यास जीवन्त छ । कृत्रिमताको आभास नहुनु नै उपन्यासको सफलता हो । नायक स्वयंसँग पाठक साक्षात्कार भएको अनुभूति हुन्छ । त्यही लिम्बुवान परिवेश र राणाकालीन समय पाठकले भोग्दै छ भान हुन्छ ।

महागुरुका जीवनमा आधृत ‘फाल्गुनन्द’ एक जीवनीपरक उपन्यास हो । त्यस्तै इतिहास पुरुषका विषयमा हुँदा ऐतिहासिक अवधारणाले पनि हेर्न सकिन्छ । समाज सुधारक तथा दैविक शक्ति प्राप्त सिद्ध पुरुष, एक आध्यात्मिक व्यक्तित्वमा आधारित हुँदा धार्मिक दृष्टिले पनि विश्लेषण गर्न सकिन्छ । प्रकृतिको उपासना तथा जीव हत्याको विरोधमा पर्यावरणीय चेतले पर्गेल्न सकिने केही मान्यता पनि रहेका छन् ।

जीवनी भनेपछि त्यो यथार्थ नै हो । उता जीवनीपरक आख्यान, फेरि त्यसमा केही काल्पनिकता हुने गर्छ । धेरै वास्तविकता र केही कल्पनाको संयोजनमा ‘फाल्गुनन्द’ रचिएको छ । तर पाठकले काल्पनिकता र यथार्थको भेउ नपाउने गरी खिपिएको यस आख्यानमा, कति सत्य मान्ने कति नमान्ने प्रश्न यहाँ आएको छैन । सबै सत्य नै हुन्, र फेरि सबै किंवदन्ती जस्तो पनि लाग्ने  । किनकि नायक स्वयं नै एउटा किंवदन्ती पात्र झैँ अद्भुतको, असाधारण प्रवृत्तिको हुनुहुन्छ ।

वहाँको जन्मदेखि देहावसानसम्मको एउटा सिङ्गो जीवन मञ्चित उपन्यासको कालखण्ड र परिवेश विस्तृत छ, व्यापक छ ।

महागुरु फाल्गुनन्द एउटा विश्वास र आस्थाको नाम हुनुहुन्छ । इलाम जिल्लाको चुक्चिनाम्बामा वि.सं. १९४२ साल कार्तिक २५ गते जन्मी ६३ वर्षको उमेरमा (२००५ साल चैत्र २२ गते)  वहाँको देहान्त हुन्छ । त्यस अवधिमा कथानक पाँचथर, दार्जिलिङ हुँदै बर्मा, भोटाङ पुगेर पुनः पाँचथरको गाउँबस्ती  फर्किन्छ  ।

फक्ताङ्लुङ हिमाल त्यस्तै केही हिमशिखरको यात्रा पनि आउँछ । उता काठमाडौँको राणाकालीन परिवेश र दरबारसम्म पुग्छ र पान्थरको पुण्यभूमि   सिलौटी पुगेर कथा टुङ्गिन्छ ।

पूर्वदीप्ति शैलीमा रचिएको कृति—गुरु फाल्गुनन्दको महाप्रयाणको अन्तिम निमेषबाट कथा आरम्भ भई, वहाँको जीवन कालको वर्णन फेरि त्यहीँ गएर अन्त्य हुन्छ । केही दिनपछि म यो जगत् छोडेर जाँदै छु भन्ने बोध भएका भविष्य द्रष्टा (फाल्गुनन्द)ले आफ्ना शिष्यहरूलाई फक्ताङ्लुङ हिमाल पुर्‍याइदिन आग्रह गर्नु हुन्छ । त्यहाँ पुगेर प्राण बिसाउने वहाँको मृत्यु इच्छा थियो ।

तृतीय पुरुषबाट सुरु भएको आख्यान पछि स्वयं नायकको मुखबाट भन्न लगाइएको छ । मृत्युको चुडान्तघडी चेलाहरूले आफ्नाबारेमा केही जान्ने इच्छा राख्दा कथावाचक (स्रष्टा)ले कथन हस्तान्तरण गर्छन्—स्वयं नायकलाई । तब आफ्नो वृत्तान्त वहाँ आफैँ सुनाउन थाल्नु हुन्छ ।

कृतिले प्रमुख पात्रको—वास्तविक जीवनकालको समय र त्यस वातावरणलाई विशेष ख्याल राखेको छ । एक शक्तिशाली, दूरदर्शी, लोककल्याणकारी, सिद्ध तपस्वी फाल्गुनन्दको जीवनमा भेटिएका अनेकौँ पात्र पात्राहरूले त्यस बेलाको समय बोलेका छन्, परिस्थिति बोलेका छन् । मुखपात्रको निकटमा रहेका साथी भाइ, बन्धुबान्धव, इष्टमित्र, आफन्त, शिष्य, साहु, महाजन, लामा, गुरु, पुरेत, जागिरे, लाहुरेले निर्मित एउटा पूर्ण समाज बनेको छ । समाजपरक अवधारणाले पनि उपन्यासलाई नियाल्न सकिन्छ ।

राणाकालीन प्रहर क्रूर छ । जनता अन्धकारमै छन् । त्यसो त उज्यालो र अँध्यारोको पहिचान गर्ने कोही छैन । त्यसैमा रमाएका छन्, जस्तो त्यो अवस्थिति छ । रूढ परिपाटी र मांस-मदमा भुलेका ती सुधा नागरिकलाई, आफू निरङ्कुश रात्रिकालमा छु भन्ने नै थाहा हुँदैन । त्यस अशिक्षित, परम्परित समाजमा गुरु फाल्गुनन्द एउटा उज्यालो पुञ्ज भएर उदाउनु हुन्छ—सर्व हितको लागि । सभ्य, सुसंस्कृत समाज स्थापनाको लागि वहाँको जन्म भएको छ—एउटा अवतारको रूपमा । वहाँका अलौकिक कर्म र लीलालाई उद्भाषित गर्नु नै कृतिको तात्पर्य रहेको छ । तिनै कर्म र लीलाको समष्टि रूपमा कथानकले पूर्णता पाएको छ ।

अहिले हामीले चिनेका गुरु फाल्गुनन्द एउटा पदवी हो । तत्कालीन समयमा वहाँ फलामसिंहको नामले परिचित हुनुहुन्थ्यो ।

नायकको जन्म, माताको देहावसान, बिमारले थलिनु, वाक्यहरण हुनु, त्यस्तैमा एकदिन इलामको पवित्र भूमि माइखोलामा माङ  (ईश्वर) ले दर्शन दिनु, त्यसपछि बारम्बार माङले निर्देशन गर्नु, सोही अनुसार सत्मार्गमा लाग्नु, त्यसपछि  पल्टनमा  भर्ती हुनु, अद्भुत चमत्कार देखाउँदै जानु, युद्धको तयारीमा बर्मा पुग्नु, फेरि त्यसपछि जागिर छोडेर बाबु र कान्छी आमालाई भेट्न भोटाङ पुग्नु, पुनश्चः पाँचथर फिर्ती हुनु,  त्यहाँ  मन्दिर पाठशाला आदि स्थापना गर्नु, जनहितको लागि निरन्तर खटिनु, विरोधीको उजुरीमा राणाको दरबारमा हाजिर हुनु, विपक्षीलाई आफ्नो शक्तिले पराजित गर्नु, हत्याहिंसा, मांसमद छोड्ने सर्तमा दीन दुःखीलाई सङ्कट मुक्त गराउनु जस्ता गतिविधिमा आख्यान तयार भएको छ । अन्त्य-कालमा गुरु फाल्गुनन्दलाई आफ्नै चेलाहरूले केही आघात गरेका छन् ।

घर गाउँको चरम गरिबी र अभावमा जीवन नभेटेपछि फाल्गुनन्दका माता (कान्छी आमा), पिता जीविका खोज्दै भोटाङ जान्छन् । यद्यपि फाल्गुनन्दलाई भने स्वभूमि नछोड्न माङको आदेश थियो । लिम्बू जातिको उत्थानका लागि माङ स्वयं गुरु फाल्गुनन्दमा आविर्भाव भएपछि आश्चर्यका घटनाहरू घट्न थाल्छन्  ।

महागुरुको परीक्षा लिन दैविक विपत्तिहरू एकपछि अर्को खनिँदै जान्छन् । त्यसको सामना पनि अद्भुतको हुन्छ । तब वहाँ समाज सुधारका साथै धार्मिक कर्ममा पनि अभ्यस्त हुन थाल्नु हुन्छ । झगडा, लडाइँ, हत्याहिंसा, मांसमदमा भुलेको लिम्बू समाजमा विद्यमान अनेकौँ कुप्रथाको विरोध अभियानमा गाउँ गाउँ, बस्ती बस्तीमा वहाँको उपस्थिति कति सार्थक हुन्थे, कति हुँदैनथे । विकृत समाजमा जनचेतना लिएर जाँदा वहाँ धेरै ठाउँमा अपमानित हुनु परेको छ । पशुहिंसा अर्थात् बलिपूजाको वहाँ घोर विरोधी हुनुहुन्थ्यो ।

एक दिन सेनामा कार्यरत दाजुलाई भेट्न वहाँ दार्जिलिङ पुग्नु हुन्छ । बाध्यता वश त्यही बेला वहाँलाई भर्ती गराइन्छ । अनिच्छामा सैनिक हुनुपर्दा केही अप्ठ्याराहरू थिए । भर्ती केन्द्रमा पनि वहाँको परीक्षा लिने, शक्ति दाँज्नेहरू आइरहन्थे—गुरु, लामा, पण्डितहरू । ईर्ष्या गर्ने, षडयन्त्र रच्नेको कमी हुँदैनथ्यो । भरे हार खाएर तिनै गुरु फाल्गुनन्दको शरणमा पर्थे । उद्धार गर्नु त वहाँको कर्तव्य थियो, धर्म नै थियो, माङको आदेश थियो, सो जिम्मेवारी थियो । त्यो जन्म परोपकारकै निम्ति भएको थियो । तर एउटा सर्तमा वहाँले भलाइ गर्नु हुन्थ्यो—सत्मार्गमा लाग्न मञ्जुर गराउनु वहाँको वाचा हुन्थ्यो ।

पल्टनमा लडाइँ हुने चर्चा चल्न थालेको केही समय भयो । वहाँ भन्नु हुन्छ,“मेरो जीवन विरोधाभासपूर्ण थियो । एकातिर म अहिंसावादी थिएँ तर पेसा लडाकु थियो (पृ-५१)।”

त्यस्तैमा वि.सं. १९७१ मा प्रथम विश्वयुद्ध सुरु हुन्छ । घर फर्किन चाहेर पनि गुरु फाल्गुनन्दलाई जान दिइँदैन । वहाँको कमान्डिङ्मा एउटा सेक्सन बर्मा पठाइन्छ । वहाँको विचित्र शक्तिले केही क्षति हुँदैन । सकुशल योद्धाहरू फर्किन्छन् । तब वहाँको चर्चा झन् बढ्न थाल्छ ।

मानव स्वरूपमा जन्मनु भएको वहाँ, ईश्वरकै प्रतिरूप भएको प्रमाणित गर्ने अवसर बन्थे—वहाँका सङ्कटहरू । वहाँका अनुयायीहरू  बढ्दै गए, विरोधी थपिँदै पनि गए ।

सैनिक पेसा छोडे पश्चात् वहाँ भोटाङ जानु हुन्छ—जहाँ माता पिता थिए । सँगै काम गरेको आफ्नो हितैषी, अनुयायी दिलमान साथमै थियो ।

उपन्यासमा कति इतिहासका कुरा छन्, कति किंवदन्ती, कति काल्पनिक । ती यथार्थकै सेरोफेरोमा घुमिरहन्छन् । लिम्बू संस्कृतिका, भूगोलका र धार्मिक  मिथकसँग जोडिएका ती कथा उपकथाले पाठकलाई उत्सुक बनाइरहन्छन् । हरेक जाति विशेषका धर्मग्रन्थमा सृष्टिका आफ्नै परिभाषा र घटना हुने गर्छन् । त्यस्तै लिम्बूहरूको मुन्धुममा जगत्को सिर्जना वर्णन अनौठो खालको छ । त्यसो त हिन्दु धर्मको सृष्टि, स्थिति र संहार लीला पनि कम आश्चर्यको छैन ।

ज्ञानी, सिद्ध पुरुष गुरु फाल्गुनन्द जति उपकारी हुनुहुन्छ त्यति नै प्रकृति पूजक हुनुहुन्छ । समाज सुधारक, धर्म प्रचारक, भाषा प्रेमी, संस्कृति प्रेमी वहाँ एक दार्शनिक पनि हो ।  वहाँको बाँच्नुको अभिप्राय भनेकै विकृत, असङ्गत, पतनोन्मुख समाजलाई उठाउनु हो, सच्याउनु हो । ग्रामवासीलाई शिक्षित र विवेकशील बनाउनु हो । बलिपूजा र मांसमदलाई प्राथमिकता दिइएको मुन्धुमलाई नवीकरण गरी, समय सान्दर्भिक बनाउनु, अनुसरण गर्नु, लिम्बूहरूको जन्मदेखि मृत्यु संस्कारको खर्चिलो रीतलाई सरलीकरण गर्नु जस्ता कार्य अत्यन्तै महत्त्वपूर्ण छन् । छोरीचेलीको पक्षबाट लिइने सोतरीतको वहाँले बहिष्कार गर्नु भएको छ । उनीहरूले शिक्षादीक्षा र दाजुभाइ सरह अंश पाउनु पर्ने कुरा समसामयिक छन्  । लैङ्गिक एवं  जातीय विभेद हटाउने,  वहाँको सुन्दर समाजको परिकल्पना समयभन्दा ज्यादै अगाडि देखिन्छ ।

निमेष निमेषमा मानिसले, समयले, परिस्थितिले वहाँसँग मुकाबिला गरिरहन्छन् । उसले के सोचिरहेको छ ? त्यो मनको कुरा बताउन सक्ने वहाँ कृष्ण भगवान् जस्तै अन्तर्यामी लाग्छ । पहिरो रोक्ने, आँधी हुरी थाम्ने, असिना, चट्याङ बन्द गर्ने, पानी उमार्ने, बिरामी निको पार्ने, दैविक विपद् हटाउने जस्ता अविश्वसनीय कर्मले वहाँलाई सिद्ध पुरुषको रूपमा चिनाएका छन् ।

जब जब असत्य बढ्छ, अन्याय फैलिन्छ त्यतिखेर सत्य र न्यायको स्थापना गर्न महापुरुषको जन्म हुने गर्छ । लोकहितको लागि उसको आवश्यकता पर्ने गर्छ । गुरु फाल्गुनन्दको जन्म त्यसैले भएको छ ।

दिव्य शक्ति प्राप्तहरू प्रायः असाधारण किसिमका हुने गर्छन् । समयभन्दा निकै अग्रगामी चेतनालाई त्यस समाजले स्विकार्न सकेको हुँदैन । तब महान् पुरुष उपेक्षित हुने गर्छन् । समयले चिनाउन पाउँदा नपाउँदै अन्त्य आइपुगेको हुन्छ । जीवनभर उपहास गरिएको उसलाई मृत्यु पश्चात् पुकारा गर्न थालिन्छ । हरेक युगमा महामानवको नियति यस्तै हुने गर्छ । गुरु फाल्गुनन्दको नियति पनि कमको छैन  ।

भोटाङबाट पाँचथर फर्किएपछि वहाँ (फाल्गुनन्द) को अभियान शिष्ट, सभ्य, सुसंस्कृत समाज बनाउनु थियो । धेरै धेरै गाउँबस्तीमा वहाँ पुग्नु भयो । ती ग्रामवासीलाई भन्नुहुन्छ, “माङको आदेशमा हत्याहिंसा रोकी, तिमीहरूको पापमोचन गर्न आएको हुँ । माङले तिमीहरूलाई ज्ञान दिन र उद्धार गर्न मलाई पठाउनु भएको हो ।”
उपन्यासमा तत्कालीन शासकको ठुलो असर परेको छ, भनौँ त्यो राणाकालीन समय कठोर छ । पठित र समृद्ध लिम्बुवान बनाउन, फाल्गुनन्दले पाठशाला खोल्नु भएको, थाहा पाएको सरकार, तत्काल प्रतिबन्ध लगाउँछ । त्यसैको विकल्पमा मन्दिर स्थापना गरी, धर्मशास्त्रको माध्यबाट वहाँले शिक्षा दिन थाल्नु हुन्छ ।
फाल्गुनन्द कृति लेखनको लक्ष्य महानायकको गौरवशाली व्यक्तित्वलाई उद्बोध गराउनु हो । उपन्यासकारको अर्को उद्देश्य त छैन नै । तर यसले गहिरो आध्यात्मिक  चेतना पनि उत्पन्न गराएको छ । आस्था र विश्वास थपेको छ । बेला बेला यस धर्तीमा कोही न कोही  असामान्य चोला लिएर आउने गर्छन् । त्यतिखेर लाग्छ ईश्वर कतै अस्तित्वमा हुनुपर्छ—नत्र किन जन्मिन्छन् मानव स्वरूपका भगवानहरू । साँच्चि नै ईश्वर मानव स्वरूपका हुन्छन् भने, हामी पनि कतै उनैको अंश लिएर आएका त छैनौँ ? हाम्रा कृत्सित भावनाले देवत्व छेलिएको हुन पनि सक्छ । हामीले पुज्दै आएका देवी देवता पनि त मानिस स्वरूपकै छन् नि ।

एउटा सुब्बाको घरमा छोराको बिहे आयोजना गरिएको छ । त्यो खर्चिलो, त्यो भड्किलो संस्कारले समाजमा नकारात्मक असर पार्छ भन्ने हेतु महागुरु त्यहाँ पुग्नु हुन्छ । सुनचाँदीका गरगहनाले सजिएकी सुब्बिनी आफ्नै भलाइका लागि उपस्थित हुनु भएका वहाँलाई नचिनेर अपहेलित भावमा भन्छिन्, “गरी खानु नि यस्तो भुसतिघ्रेले के साधु भएर मागी खाँदै हिँडेको (पृ-१४१) ?”

केही अन्तरालपछिको एकदिन फेरि सुब्बासँग भेट हुन्छ वहाँको, जतिखेर ऊ दरिद्री भइसकेको थियो । छोरा छोरीको बिहे, भोज, भतेर, पास्नी र श्रीमतीको महँगो मृत्यु संस्कारले उसको बास उठिसकेको थियो । त्यस उत्सवको दिन, गुरुको अर्तीलाई तिरस्कृत गर्दै अभिमानी स्वरमा ऊ कड्किएको थियो, “मेरो सम्पत्ति डढाएँ, तँ फुस्रालाई केको खसखस ? थियो गरेँ । … सुब्बा पो हुँ त, यो गाउँको । चानेचुने ठानेको छस् मलाई (पृ—१५०)।”

त्यही मान्छे अहिले आएर भन्छ, गुरु मैले जानिनँ ।

मानिस र अन्य प्राणीमा भेद नदेख्ने गुरु फाल्गुनन्द प्रकृति प्रेमी हुनुहुन्थ्यो, उपासक हुनुहुन्थ्यो । बलिपूजाको वहाँ विरोध गर्नु हुन्थ्यो । जीव घात वहाँलाई सह्य थिएन । त्यो क्रूर हत्या देख्दा राक्षस भनिएकाहरू पनि शायद मान्छेकै आकृतिका थिए, हुनुपर्छ, “त्यो घाँस खान राँगाले घिच्रो तन्काएको बेला अर्को महसुरले बन्चरो सक्दो माथि आकाशतिर उजाएर राँगाको दुई सिङको बिचमा ताकेर हान्यो ।

पीडामिश्रित आवाजमा आइँ गरेर घायल राँगो बुरुक्क उफ्रियो । किलोदाम्लो उखेल्यो । टाउकामा गाडिएको बन्चरो र घिच्रामा किलोसहितको दाम्लो लिएर राँगो गुटुटु कुदेर अन्नधुन्न भाग्यो ।

अघि अघि टाउकामा गाडिएको बन्चरो बोकेर किलोदाम्लो घिसार्दै आइँ गर्दै ज्यान जोगाउन राँगो कुद्दै थियो भने पछिपछि नाङ्गा खुकुरी, बन्चरो, बाम्फक, चुपी र भाला लिएर त्यसको ज्यान लिन मान्छेहरू लखेटिरहेका थिए । एउटाले हानेको खुकुरीले भाग्दै गरेको राँगोको घर्नासो छिनायो । आइँ गरेर राँगाले घर्नासो छिनिएको खुट्टो घिसार्‍यो । त्यही बेलाअरू निर्दयीहरूले पनि जथाभावी हतियार प्रहार गरे । रागाँले अन्तिम साससम्म उठ्ने र भाग्ने प्रयास गरिरह्यो । ढल्दै उठ्दै गर्दा धूलोमात्र उठेन भुइँ नै  धसारिएर खाल्डो भयो । सिङले माटो उधिन्यो तर सहस्र चोटका कारण उठेर भाग्न सकेन । अन्त्यमा थररर काम्दै आफ्ना चारवटै खुट्टा तनक्क तन्कायो ।अन्तिम पटक आइँ गर्‍यो । आँखा चिमचिम पार्दै आँसु तपतप खसायो । जिब्रो टोक्यो । … अन्त्यमा पाशविक क्रूरता भएका मान्छेहरूसँग हारेर सदासदाका लागि आफ्नो सुन्दर जीवनको इतिश्री गर्‍यो (पृ-१४५)।”

गुरु अशान्त हुनुहुन्छ, मानिसको यस्तो गतिविधि देखेर ।  अझै अगाडि वहाँ भन्नुहुन्छ, वंश वृद्धिको उल्लासमा जीव हत्या गर्नु राम्रो होइन । आखिर ऊ पनि यसै धर्तीको सन्तान हो नि । आफ्नो सन्तानको जन्ममा उत्सव छ भने उसको सन्तानको मृत्युमा के शोक छैन ? “सुब्बासा’बा, नाति जन्मियो यो सारै राम्रो कुरा हो तर यस खुशीयालीमा धेरै जीव हत्या भयो । यो त पापकर्म भयो नि, हैन र ? आफू खुशी हुन अरूको ज्यान लिनु राम्रो हो र ? जीवहत्या नगरी हर्षबढाइँ गर्न सकिँदैन र (पृ—१५५)?”

गुरुका अन्य कुरा त स्वीकार्य थिए नै । मांसमद त्याग्नु र जीवहत्या नगर्नु जस्ता नीति बडो दुरूह थिए, धेरै अनुयायीहरू त्यही कुराले भड्किन्थे । त्यो नीति स्विकार्नेहरू प्रायः सङ्कटमा हुन्थे । कष्टमुक्त हुने अपेक्षामा अनुयायी हुन मञ्जुर हुन्थे ।

जुन विषयले मानिसलाई आनन्द दिएको हुन्छ, त्यसले उसलाई अशान्त, अधैर्य पनि बनाएको हुन्छ । शक्ति नै वास्तवमा त्यसको सीमा हुने गर्छ । मदमांसको विरोध गुरुले अकारण गर्नु भएको थिएन।  त्यो सभ्यता र शालीनताको प्रतिरोधी तत्त्व हो, वहाँ भन्नुहुन्छ । मतवालीको उत्सव, झगडामा अन्त्य भएको देख्दा वहाँलाई उदेक लागेर आउँछ, “दिन ढल्कँदै गयो । निम्तारुहरू माते । उनीहरू एक आपसमा केके कुरा झिकेर निहुँ खोज्न थाले । बिस्तारै भनाभन सुरु भयो । मातेका राताराता आँखाले कटाक्ष गरेर हेर्दै तथानाम छाडा गाली गरागर गर्न थाले । बूढाबूढीहरू मातेर जिउ थाम्नै सकेनन् । मुखबाट र्‍यालसिँगान निकाल्न थाले । बोल्दा जिब्रो लाग्न छोड्यो । शरीर नियन्त्रण गर्न नसकेर हल्लिँदै लड्दै, उठ्दै गर्न थाले । कति त ठाडो हिँड्न नसक्ने भए । हातपाउले घिस्रिँदै घर फर्कँदा बाटामा लडेर कसैको खुट्टा भाँचियो, कसैको करङ भाँचियो । कसैका सुनका गहना हराए । कोही लाप्पा खेले, कोही कुटाकुट गरे । मातेर बन्दुकले धेरै बारुद खाँदी पड्काउँदा नाल फुटेर उसका हातका दुइटा औँला नै चुडिए (पृ-१४७)।”

अनेक लाञ्छना र उपेक्षा सहँदै गुरु अघि बढिरहनु भयो । गाउँ समाजले वहाँलाई अझै पनि ससम्मान लिन सकेको छैन । वहाँमाथि आक्रमण भइरहन्थ्यो, हमला हुन्थ्यो । जब बाधा आउँथ्यो वहाँ माङको पुकारा गर्नु हुन्थ्यो, “तागेरा निवा फु माङ ए, सेवारो  (हे सर्वशक्तिमान ! तिमीलाई प्रणाम छ) !”

वहाँको समाज सुधारक गतिविधिमा राणाजीको आँखा पर्न थाले, भनौँ न वहाँको विरोधीले चुक्ली लगाए, “फलामसिं लिम्बुवानमा राजा हुन खोज्दै छ रे । मांसमद जाँडरक्सी, सुर्तीबिंडी खान रोक्दै छ रे । चामल, पैसा र श्रमदान पनि उठाउँदै छ रे । चलेको रीतिरिवाज पनि फेर्दै छ रे (पृ-१९५)”

भाषाप्रेमी, शिक्षाप्रेमी, संस्कृतिप्रेमी वहाँले भाषा, धर्म, संस्कृति बेगर कुनै पनि जाति प्राणवान् हुन सक्दैन भन्नु भएको छ । अहिलेको डायास्पोरिक समयमा झन् बढी सान्दर्भिक लाग्छ वहाँको अभिव्यक्ति ।

पान्थरको  तपोभूमी  लब्रेकुटीबाट केही शिष्यहरूको साथमा वहाँ चुक्चिनाम्बा जाँदै हुनुहुन्थ्यो । आफूमाथि आक्रमण हुँदै छ भन्ने जानेर वहाँले बहुरूप धारण गरेको प्रसङ्गमा, म कृष्ण भगवान्को लीला सम्झिन्छु ।

सौम्य, शिष्ट समाजको अपेक्षा स्वरूप वहाँका आचार संहिता अहिलेको अवस्थामा अरू बढी समयोचित देखिन्छ, अर्थपूर्ण, वैज्ञानिक लाग्छ । दान लिने दिने विषयमा वहाँ सहमत हुनुहुन्न, “मुन्धुमले दान गर स्वर्ग, मोक्ष वा कुनै लाभ प्राप्त गर्नेछौ भन्दैन । हाम्रा पुर्खाहरूले धेरै जग्गा दान गरे स्वर्ग पाउनलाई । … बाँचिन्जेल गरिब, भूमिहीन भएर खान लाउन नपाई दुःखको महासागरमा डुबेर मरे । त्यसैले हामीले दान होइन सहयोग गर्नुपर्छ । भोकालाई अन्न, नाङ्गालाई वस्त्र, मूर्खलाई ज्ञान, असहायलाई सहयोग, केही गर्नेलाई जोस, मात्तिएकालाई होस दिनुपर्छ (पृ—२१२)।”

तत्कालीन लिम्बुवानमा विविध सम्प्रदायबिच मतमतान्तर र फुट बढ्दै थियो । आपसमा भाँडिएका थिए । गुरुले तिनीहरूलाई एकै सूत्रमा बाँध्न एउटा अनुष्ठान आयोजना गर्नु भयो—सिलौटीको पवित्र भूमिमा । बहुधार्मिक, सम्मेलनमा—हिन्दु धर्मका पण्डित, बौद्ध मार्गी लामा, जोसमुनिका गुरु र किरातका मुन्धुम साम्बालाई आमन्त्रण गरेर आ-आफ्ना धर्मशास्त्र पढ्न लगाई एकता कायम गर्नु भयो । सम्पूर्ण धर्मको सार एउटै थियो—सत्मार्ग ।

सहअस्तित्व र सहिष्णुताको अभ्यास गराउनु भएको वहाँ अझै अगाडि भन्नुहुन्छ, “इच्छा अनुसार मान्छेले जुनै धर्म माने हुन्छ । धर्म व्यक्तिगत, जातिगत, भाषागत वा राष्ट्रगत नभएर ऐच्छिक हुनुपर्छ । … केही मेरा आलोचकले मलाई लिम्बूको मात्र धर्म गुरु भने । व्यक्तिगत रूपमा मेरा विचार, सिद्धान्त कसैलाई मन नपर्न सक्छ तर म लिम्बूको कोखमा जन्मिँदैमा वा लिम्बू भाषामा उपदेश दिँदैमा लिम्बूको मात्र हुन्छु र (पृ—२४५)?”

वहाँको जीवन उति गतिशील देखिँदैन ।  उबडखाबडले भरिएको छ । ज्ञानज्योतिको पुल्ठो सल्काएर वहाँ धेरै ठाउँ पुग्नु भयो । अनगिन्ती व्यवधानहरू झेल्नु भयो । जीवनको उत्तरार्द्धमा वहाँ फक्ताङ्लुङ (कम्भकणर्) हिमालतिर जानुहुन्छ चेलाहरूको साथमा । राणाहरूको वक्र दृष्टिबाट रक्षित हुन, जीवन रक्षाको खातिर वहाँले शासकको झुट्टा प्रशंसा गर्नु परेको छ, त्यो प्रशंसा एउटा अभिनय मात्र थियो, एउटा ठुलो भित्तामा छिनुले खोपेर लेख्नु हुन्छ, ‘श्री ५ त्रिभुवनको जय !’

कृतिले त्यस बेलाको शासक र निरङ्कुश राज्य व्यवस्थाको राम्रो चित्रण गरेको छ । सन्त महात्मालाई पनि शासकले निर्बन्ध हुन दिएको थिएन । गुरु फाल्गुनन्द राणाजीको दरबारमा दाखिला हुनु परेको थियो । पाठशाला खोलेको, सङ्गठन विस्तार गरेको, सचेत बनाएको चालामाला देखेर वहाँलाई समात्ने, जेल कोच्ने, मृत्युदण्ड दिने, सम्भावना प्रशस्तै थिए । यद्यपि वहाँको मायावी शक्ति सम्मुख शासक पनि हार खायो, “भोलिपल्ट बिहान खोरमै डमरु, शङ्ख बजाएर पूजापाठ सुरु गरेँ । तर उनीहरूले मलाई फूलबारीमा आराधना गरिरहेको देखे । त्यो देखेर प्रहरीहरूले छक्क पर्दै खोरमा हेर्न पुगे । ताल्चा खोलिएको थिएन । झन् छक्क परे किनभने भित्र पनि मलाई आराधना गरिरहेको देखे (पृ-२५५)।”

जोखिम लिएरै वहाँले लिम्बू भाषा लिपिको संरक्षण गर्नु भयो, मुन्धुमलाई समयानुकूल बनाउनु भयो । थुतुरी वेदलाई जोगाउनु भयो । वहाँका जीवनमा प्रशस्त चुनौतीहरू बर्सिरहे । तिनै चुनौतीले वहाँलाई महात्मा सिद्ध पुरुष भनेर चिनाउ सके । उपहास र अपहेलनाको हिसाब पनि थिएन—तथानाम गाली गर्ने, बेइज्जत गर्ने, कुकुर लगाएर खेद्ने, ढुङ्गा बर्साउने, झप्पल लगाएर मन्दिर भत्काइदिन्छु भन्ने धम्की त कति हो कति, “म उनीहरूको भलाइका लागि मरिमेट्थेँ तर उनीहरू भने मलाई नचिनेर शत्रुको व्यवहार गर्थे । किन उनीहरूको बुद्धिको बिर्को नउघ्रिएको होला भनेर म माङसँग प्रार्थना गर्थेँ (पृ—१९२)।”

सत्यको पक्षमा बोल्ने, सत्यको अनुसरण गर्ने हुँदा वहाँलाई सत्यहाङमा भनेर पनि चिनिन्छ । आखिरी, फक्ताङ्लुङको शिखरमा देह त्याग्ने वहाँको चाहना पूरा हुन सक्दैन । सिलौटीमा वहाँ समाधिस्थ हुनु भयो ।

परम तपस्वी फाल्गुनन्दका वाणीहरू अहिले पनि समय सान्दर्भिक लाग्छन् । वहाँ एक वैचारिक योद्धा पनि हो—क्रान्तिकारी । सभ्यता र शिष्टताको पाठ सिकाउन, समाज शुद्धीकरण गर्न समय समयमा वहाँ जस्ता महामानवको जन्म यस धर्तीमा आवश्यक हुने गर्छ ।

अघिका बुद्ध, जिसस् क्राइस्टका हाराहारी लाग्छ—वहाँका मानवहित र लोककल्याणकारी उपदेशहरू ।

जीवनीपरक आख्यानमा केही काल्पनिक तŒव मिसिए पनि त्यो यथार्थकै प्रतिरूप हुने गर्छ । नायकको अवधारणालाई स्पष्ट पार्न, विचारलाई उद्भाषित गर्न, जीवनशैली र दैनिकीलाई चित्रात्मक बिम्ब दिन कल्पनाको खाँचो— स्वाभाविक कुरा हो । त्यस्तै ‘फाल्गुनन्द’ उपन्यासमा काल्पनिकता प्रशस्त छन् यद्यपि विचार भने  उनै महागुरुका हुन् । अर्थात् घटना र पात्र झैँ विचार काल्पनिक हुन सक्दैन, व्यक्तित्व काल्पनिक हुन सक्दैन । किनकि प्रस्तुत आख्यान वहाँकै चरित्र, सद्गुण र उपदेश—सार्वजनिक हेतु रचिएको हो । त्यो सदाचारी, सद्भाव र परोपकारी जीवनलाई ज्यादै अतिरञ्जित गरियो भने भोलि पाठकले विश्वास गर्ने छैन । जीवनीपरक आख्यानका रचयिताले त्यस कुरालाई ध्यान दिनु पर्ने हुन्छ ।

लेखक थोक्लिहाङ एक परिष्कृत साहित्यकार हुन् । उनको सिर्जनाले त्यही बताउँछ । शिष्ट र शालीन छ उनको कलाशिल्प । चित्रात्मक दृश्य दिन सक्ने विम्ब र प्रतीक सबल छन् । लिम्बू जाति, धर्म, संस्कृति र ठाउँ विशेषका शब्द केही जटिल छन् । फेरि त्यसको मिठास पनि छ—रेलाठट्टा, दुवाली, चिल्नु, विजुवा, हेलाहिमेत, मधौरो । ठेट लिम्बू भाषी शब्द प्रयोग लिम्बू इतरले नजान्ने खालका छन्—युवा, यवा, तुवा, सुम्लुङ, यबोक, माङ्गेना यस्ता अरू धेरै शब्द छन् । त्यसको लागि पछाडि ग्लोसरी राखिएको छ ।

त्यस्तै, भनाइलाई अझ प्रभावकारी बनाउन, लोकोक्तिले अर्को मिठास थपेको छ—ब्याउनेको कुरा च्याउनेले जान्दैन, झिँगाको पखेटा तान्दा आन्द्रा भुँडी नै आउँछ, फूलको सङ्गतले कीरा पनि शिरमा पुग्छ आदि ।

जातीय उत्थान र सुदृढ समाजको निम्ति समर्पित गुरु फाल्गुनन्दको जीवनसँगै, तत्कालीन समय र परिस्थितिलाई पनि कृतिले विशेष ध्यान दिएको छ । महान् व्यक्तिको कुनै जात हुँदैन, धर्म हुँदैन, देश हुँदैन रे ! त्यस्तै कृतिका नायकलाई एक जाति विशेष, ठाउँ विशेषमा खुम्च्याउनु हुँदैन भन्ने लेखकको अभिप्राय स्तुत्य छ । अब हामी सम्पूर्ण मिलेर गुरु फाल्गुनन्दलाई सर्वव्यापी बनाउनु पर्छ, यो हामी सबैको दायित्व हो ।

‘यो मणि हो’भनेर चिनाउने व्यक्ति स्वयं अर्को मणि हो । किनकि मणि भनेर जान्नुमा पनि मणिकै एउटा विशेषता हुन्छ । त्यस्तै लेखक थोक्लिहाङ फाल्गुनन्द रचेर नायकसँगै आफू पनि सुवासित भएका छन् । उनको लेखन अभिप्राय सफल देखिन्छ, भनौँ न उनले चिनाउन चाहेका नायकलाई एउटा सग्लो रूप दिन सकेका छन् ।  एउटा अमूल्य चिज तयार भएको छ, लेखकलाई अनेक बधाई तथा शुभकामना ।