
डा. लेखनाथ न्यौपाने (२०२७) पेसाले होमियोप्याथिक चिकित्सक हुन् । केही समय प्राध्यापनमा लागेका न्यौपानेमा देशप्रतिको औधी मोह रहेको देखिन्छ । देशप्रतिको प्रेमकै कारण देशलाई माया गर्दै, देशलाई नजिकबाट नियाल्न सफल न्यौपानेले देशको समग्रता बुझ्न, ज्ञान लिन र देशका सबै कुरा थाहा पाउनका लागि अत्यन्तै उपयोगी मेरो देश नामक कृति निर्माण गरेका हुन् ।
कुनै विषयमा लेख्नु भनेको कल्पनाको प्रकटीकरण हो, यथार्थको वास्तविक चित्रण पनि हो, जसबाट लेखकको पृथक् विचार, खोज पहिचानलाई जान्न सकिन्छ । कुनै पनि विषयको सिर्जना, रचना वा निर्माणले त्यसभित्रको गहन पक्षलाई उजागर गर्दछ । यसले नयाँ र फरक विधागत सिर्जनामा टेवा पुर्याउँछ । हरेक सिर्जनाले नयाँ सन्देश, नवीनतम सोच र सम्भावनाको ढोका खोल्दै सामाजिक यथार्थ र निजी परिवेशलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्दछ ।
यस्तै मेरो देश अर्थात् जन्मभूमि नेपालका बारेमा लेखिएको यस पुस्तकमा खण्ड एक अन्तर्गत नेपालको परिचय शीर्षकभित्र नेपालको उत्पत्ति र नामकरण, नेपालको भूगोल र संवैधानिक विभाजन, नेपालको भौगोलिक अवस्थिति, नेपालको गौरवमय इतिहास, खस तथा बाइसी चौबिसी राज्य लिम्बुवान राज्यको उत्पत्ति र अर्थ, नेपाल र नेपालीले पाएका विभिन्न सफलता, नेपालका सुखद पक्षहरू, नेपालमा पाइने चरा, विश्व कीर्तिमान (गिनिज् वल्ड रेकर्डस्), नेपालको जातजाति र भाषा, नेपालमा जनगणना, नेपालमा चलेका संवतहरू, सांस्कृतिक प्रतीकहरू, नेपालको प्रामाणिक समय, नेपालका राष्ट्रिय चिह्नहरू, नेपालका प्रचलित लिपिहरू, नेपालमा मुद्राको इतिहास, राजपत्र, अभिलेख, वंशावली, मुलुकी ऐन, नेपालमा हालसम्म जारी भएका संविधान, नेपालमा बिजुलीको इतिहास नेपाली भाषा र साहित्यको विकास, नेपालमा प्रेस र पुस्तक लेखनको इतिहास, नेपाली चलचित्रको उद्भव र विकास, दासप्रथा र सतीप्रथा उन्मूलनसँग जोडिएको उपत्यकाको टुँडिखेल, उपत्यकामा तारे होटेलको सुरुवात, उपत्यकामा ढुङ्गे धाराको इतिहास, उपत्यकाका अग्निशाला, नेपालमा औद्योगिक विकासको प्रारम्भ, नेपालको इतिहासमा भेटिएका प्रमाण र घटेका मुख्य मुख्य घटनाक्रम नेपालमा कसले के बनाए, कसले के चलाए, नेपालका कुन ठाउँमा के पाइन्छ, नेपालका मुख्य नदीका उद्गम स्थल, नेपालको इतिहासमा अन्तिम राजाहरू राणाशासन अगाडि बनेका मुख्तियार (प्रधानमन्त्रीहरू), पहाड र हिमालको महत्त्व, नेपालको वन, चुरे पर्वत, महाभारत लेक, मध्य पहाडी भाग, हिमालय, भित्री हिमालय र तिब्बती सीमान्त पर्वत श्रेणी, तराई मधेस, हिमालयको उत्पत्ति, नेपालका सिमसार क्षेत्र नेपालका प्रसिद्ध केही स्थान र व्यक्तिहरू भित्र काठमाडौँ उपत्यका, राजा जनक र जनकपुरधाम, गौतम बुद्ध र लुम्बिनी पाशुपत क्षेत्र र पशुपति आदिको इतिवृत्त प्रस्तुत गरेका छन् ।त्यस्तै नेपालका अन्य प्रसिद्ध स्थलका रूपमा पोखरा, मुस्ताङ, लेमान्थाङ, सौराहा, सगरमाथाको वर्णन गरिएको छ ।
त्यस्तै विश्वमा नाम चलेका नेपालका पदयात्रा मार्ग नेपालमा रहेका मुख्य हिमताल र हिमनदी, नेपालको इतिहासमा शाह वंशीय राजाहरू, नेपालमा राणाशासन र राणा प्रधानमन्त्रीहरू, २००७ साल र त्यसपछिको राजनीतिक इतिहास नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको स्थापना, नेपालका केही राजनीतिज्ञ र प्रधानमन्त्रीहरू र नेपालका चर्चित व्यक्तित्व, विभूति र सहिदहरूमा कालु पाँडे, अभिमानसिंह बस्न्यात, दामोदर पाँडे, बहादुर शाह, भीमसेन थापा, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा लगायत चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाल श्रेष्छको चर्चा गरिएको छ ।
त्यस्तै विभूतिहरूमा जनक, सीता, भृकुटी अंशुवर्मा, शङ्खधर साख्वा, अरनिको, राम शाह, पासाङल्हामु शेर्पा, विद्यापति, सिरिजङ्गा, लखन थापाको बारेमा लेखिएको छ । नेपालका अन्य विशिष्ट व्यक्तित्वको चर्चा गर्ने क्रममा बालागुरु षडानन्द, योगमाया न्यौपाने, शिवपुरी बाबा, जयपृथ्वीबहादुर सिंह, बाबुराम आचार्य, खप्तड बाबा, महागुरु फाल्गुनन्द, डा. रामनाथ अघोरी, गेहेन्द्रशमशेर राणा इमानसिंह चेम्जोङ, अमर चित्रकार, डा. स्वामी प्रपन्नाचार्य, पूणर्प्रकाश नेपाल (यात्री), योगी नरहरिनाथ, रामलाल गोल्छा, नारायणगोपाल गुरुवाचार्य, अम्बर गुरुङ, स्वामी रामानन्द गिरी, प्रा. डोरबहादुर विष्ट, योगी विकासानन्दको सङ्क्षिप्त जीवनीका पक्षहरू समेटिएको छ ।
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपतिदेखि वर्तमान समयसम्मका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा विश्व प्रसिद्ध नेपाली व्यक्तित्वका रूपमा अनुराधा कोइराला, महावीर पुन, डा. सन्दुक रुइत, कुलमान घिसिङ, विनोद चौधरी, डा. भगवान कोइराला, डा. गोविन्द के.सी र भद्रकुमारी घलेको चर्चा गरिएको छ ।
मानिस जन्मजात सबै कुरामा पारङ्गत हुँदैन, मृत्युपछि पनि केही लाँदैन तर रुँदै जन्मिएर रुवाउँदै जाने जीवनलाई सायद सफल जीवन मानिन्छ । जन्म र मृत्युका बिच मानिसले जे गर्छ, आफू, आफ्नो समाज र आफ्नै राष्ट्रका लागि गर्छ । हरेक मानिसले सानो, ठुलो, कम वा बेसी जे जति गरे पनि राष्ट्रकै लागि गरेको हुन्छ । स्वदेश र स्वपहिचानका लागि गरेका हरेक कामभित्र सकारात्मक मूल्य अन्तर्निहित हुन्छ, व्यक्तिका भोगाइ, गराइले कुनै न कुनै सन्देश प्रवाह गरेकै हुन्छ भन्ने महान् विचारका धनी नेपालका विशिष्ट व्यक्तित्वका बारेमा यस पुस्तकमा सूक्ष्म विश्लेषण गरिएको छ ।
बाल्यकालदेखि नै स्वदेश, स्वदेशी संस्कृति र परम्परालाई असाध्यै रुचाउने स्वभाव भएका डा. न्यौपानेले नेपालका विशिष्ट साहित्यकारको परिचय दिँदै भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीको योगदानलाई लिपिबद्ध गरेका छन् ।
देशप्रतिको कर्तव्य र राष्ट्रिय भावना सांस्कारिक रूपमै विकसित भएर आएको हो भन्ने विचार राख्ने न्यौपानेले विभिन्न पर्यटकीय स्थल चाडपर्व, नाचगान र मेलामा आफैँले देखेका, भोगेका कुरालाई समेटेका छन् । चिकित्सा शिक्षाको अध्ययन पूरा गरी स्वदेश फर्किएपछि विभिन्न स्थलको भ्रमण गर्दै आफ्नै आँखाले देखेका कुरालाई सचित्र पुस्तकमा उतारेका छन् ।
आफ्नो जन्मभूमि र यहाँ भएका विभिन्न विविधताको जिज्ञासा र अध्ययनले यस पुस्तकको सिर्जना भएको देखिन्छ । देश भित्रका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका छन् । त्यही सपना साकार पार्न घरी ताप्लेजुङ र घरी कञ्चनपुर घरी केचनकवल र काठमाडौँका गल्लीसँग परिचय गाँस्न पुगेका छन् । घरी पोखरा र लुम्बिनीका माटोलाई नमन गर्न पुगेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिका, पुस्तक, खोजमूलक सामग्रीको अध्ययन तथा विभिन्न सङ्घसंस्थामा आबद्ध भएर नेपालका कुनाकाप्चामा अवलोकन भ्रमण गरी नेपालका प्राय सबै कुरामा जानकारी प्राप्त गरेका न्यौपानेले नेपालको सङ्घीय संरचनालाई नजिकबाट नियाल्दै खण्ड दुईमा सातै प्रदेशका सबै अञ्चल, सतहत्तरै जिल्लाका परिचय र त्यहाँका पर्यटकीय स्थलको जानकारी दिएका छन् । मधेस प्रदेशको मिथिला क्षेत्रको अध्ययनका भाषा, इतिहास र चित्रकला तथा मिथिलाको वैभवको खोज गरेका छन् ।
चिकित्सक भएर नेपालका भौगोलिक विकट भएका गाउँहरूमा स्वास्थ्य शिविर राखेर जनताका प्रत्यक्ष सेवामा खटिएका डा. न्यौपानेले वि. सं.२०६५ सालमा आफूले गरेका काम र अनुभूतिलाई सँगेल्दै सरल होमियोप्याथिक चिकित्सा प्रणाली नामक पुस्तक प्रकाशनमा ल्याएका हुन । देशका विभिन्न ठाउँमा पुग्दा महिला र पुरुषबिच देखिएका विभेद, लैङ्गिक विविधताको अनुभूत गरेका उनले सांस्कृतिक विविधता, मौलिक कलाकृति, सीप, सिर्जना एवम् प्राकृतिक र आध्यात्मिक दृष्टिले सम्पन्न मुलुकका रूपमा देशलाई बुझेका छन् ।
यसरी आफ्नै जन्मभूमि अर्थात् नेपालभित्र भएका सबै अमूल्य वस्तुका बारेमा सबैलाई जानकारी दिनका लागि लेखिएको यस पुस्तकले नेपालको विविधता बुझ्न चाहनेहरूको लागि महत्त्वपूर्ण कृति बनेको छ । देशको प्राकृतिक र सांस्कृतिक धरोहरलाई ब्रान्डिङ गरी प्रशस्त आय आर्जन गर्न सकिने सम्भावनाको भएकाले सबै तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपालको थोरै चिनारी हुन सकोस् भन्ने सोचलाई मूर्त रूप दिन यो पुस्तक सबल रहने छ । साथै नेपालका विभिन्न विषयका सामान्य ज्ञानका रूपमा प्रयोगमा आउने यो कृति नेपालका धर्म संस्कृति र चाडपर्वबारेको एक पठनीय सामग्री बनेको छ । नेपालको अथाह प्राकृतिक सौन्दर्य, इतिहास, भूगोल र संस्कृति बुझ्न र बुझाउन यो कृति सक्षम हुनेछ ।
अध्यापन, होमियोचिकित्सा तथा केही समय लेखनमा बिताएका डा. न्यौपानेको यसअघि ०७२ सालको महाभूकम्पले सामग्र (उपन्यास, २०७०) प्रकाशन भइसकेको छ । दश वर्षे सशस्त्र द्वन्द्वको पीडा बोधबाट हराएका अनुहार (कथासङ्ग्रह, २०७२), विभिन्न समयमा लेखेका स्वास्थ्यसम्बन्धी लेखहरू समेटेर ‘स्वस्थ कसरी रहने ? नामक लेखसङ्ग्रह २०७६ सालमा प्रकाशित भइसकेका छन् ।
लामो समय अर्थात् १२ वर्ष मा देखेका भोगेका घटना, परिवेश तथा ऐतिहासिक स्थलका बाट यस पुस्तकको निर्माण गरेका डा. न्यौपानेले प्रामाणिक तथ्यहरू समावेश गर्ने कोसिस गरेका छन् । देशका विभिन्न स्थान र त्यहाँका मन्दिर, चैत्य, धरोहर, स्थान परिचय, पौराणिक महत्त्व र चाडपर्वका बारेमा जानकारी दिँदै विश्वमा नेपालको परिचय स्थापित गर्न यस पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्दै प्रस्तुत पुस्तक मेरो देश नेपाल र नेपालीलाई माया गर्ने हरेकको साझा पुस्तक बनोस् शुभेच्छा दिन्छु । देशका बारेमा जानेर बुझेर, सबै जाति, धर्म र संस्कृतिमा आबद्ध नेपालीबिच धार्मिक सहिष्णुता, भातृत्व तथा भाइचाराको भाव र सम्बन्ध विकास गर्न यस पुस्तकले एउटा इँटा थप्ने काम गर्नेछ भन्ने विश्वास मलाई लागेको छ ।
पृष्ठभूमिमा सगरमाथा, राष्ट्रिय झन्डा र विभिन्न ऐतिहासिक धरोहरको चित्र रहेको आवरण पृष्ठसहित ७०४ पृष्ठको यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ भने पुस्तकको मूल्य रु. १०००।(एकहजार ) रहेको छ । पुस्तक निकै उपयोगी, पठनीय र सङ्ग्रहनीय रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

