स्वतन्त्रतापूर्वक आफ्ना भावहरू पोख्ने महत्त्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोस्रो पङ्क्तिमा अनुप्रास मिलेको हुन्छ भने तेस्रो पङ्क्तिमा अनुप्रास स्वतन्त्र हुन्छ र अन्तिम चौथो हरफ फेरी अनुप्रास मिल्ने हुनुपर्छ ।
भोजपुरका दिलिप योञ्जन तामाङ, अमेरिका बस्छन् । तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि एकदमै दत्तचित्त भएर लागि पर्छन् । साहित्यमा गीत,गजल,कविता र मुक्तकमा विशेषतः उनको कलम चल्छ । झन्डै एक दर्जन मुक्तक,कविता र गीतिसंङ्ग्रह प्रकाशित गरिसकेका योञ्जनका पछिल्लो मुक्तक सङ्ग्रह हो आगमन’ । व्यक्तिगत रूपले चिनारु नभएका मुक्तककार दिलिपको आगमन हात पर्यो । पढेँ र केही लेख्न मन लाग्यो ।
आगमनभित्र उनका २ सय उनन्सत्तरी वटा मुक्तकहरू परेका छन् । यी मुक्तकहरू विषयवस्तुको हिसाबले हेर्दा विविधतायुक्त देखिन्छन् । त्यहाँ भित्र भएका मुक्तकरूपी फूलहरूमा विविधताको छनक पाउन सकिन्छ । कतै मायाप्रेम, प्रणयभाव, मिलन र प्रेममा उब्जिने समर्पणभावको मिसावट देखिन्छ त कतै बिछोडको पीडामा तड्पिएको प्रेमीको व्यथा उजागर भएको पाइन्छ । प्रेम भावको सुन्दर अभिव्यक्ति झल्किने मुक्तकहरू पनि यस कृतिमा परेका छन् । कतै जीवनलाई फूलसँग तुलना गरिएको छ । सुख र दुःख, हाँसो र आँसुको सङ्गमको रूपमा जिन्दगीलाई बुझ्न आग्रह गरिएको छ ।
प्रेमका मीठा र न्याना बाछिटाहरूले लछप्पै भिजेका मुक्तकहरू पनि यहाँ समावेश गरिएका छन् । प्रेमको आयतन नापेका मुक्तककार धोका खानुपर्दाको प्रेमीको भाव, खुसी हराउँदाको अनुभूति पनि आफ्नो मुक्तकमार्फत दर्शाउँछन्:
मनमा एउटा खुसी थियो,त्यो पनि सिसाझैँ टुट्यो
खुसी खोजियो जीवनभरि,त्यो पनि बाटोमै छुट्यो
नहुँदा जुन खुसी थियो,भएर पनि आज दुःखी छ मन
जिउँदो हुन्जेल त दुःख पीडा ,खुसी मनमै फुट्यो ।
सरल भाषामा समाजका नकारात्मकताहरूले बनाएका नराम्रा खाडलहरूलाई मुक्तकहरू मार्फत औँल्याउने प्रयास पनि भएको छ । वर्तमान समग्र परिवेशलाई मिहिन ढङ्गले केलाएर वय· गरेका छन् । उनका मुक्तकहरू यथार्थ धरातलमा दर्बिलो ढङ्गले टेकेका छन् । समाजको विषम परिस्थिति, विषाक्तता लगायतका विषयहरूको उठान पाइन्छ आगमनमा । दिलिपका मुक्तकहरू यथार्थताका द्योतक हुन् । मुक्तकहरूले वर्तमान समाजको सही प्रतिनिधित्व गरेका छन् । दैनिकीका विम्ब बोलेका छन् ।
जीवनको मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थाप्रति उनको चिन्ता छ । वर्तमान समयको विकृत राजनीतिक बेथिति देख्दा उनी उकुसमुकुस भएर बोल्छन् । उनलाई दिक्क बनाउँछ गरिबीले विदीर्ण बन्दै गएका जनता र स्वार्थी र सम्पत्ति कमाउनमा लागेका हाम्रा नेता देखेर । समाज,देश र जनताको हित राजनीतिको मुख्य मकसद हुनुपर्ने उनको ठम्याई विरुद्ध नेताहरू लागेको देख्दा उनको मन पोल्छ । राजनीतिलाई कमाऊ जागिर बनाउने नेताहरूसँग झोक चल्छ उनलाई । झुट माथि झुट थोपर्दै गरेका नेताहरू सधैँ जनतालाई ढाँट्ने हाम्रो देश । अनि देश र जनता भन्दा आफ्नै स्वार्थको पोखरीमा डुबुल्की मार्ने नेताहरू सम्झन्छन् उनी र व्यङ्ग कस्छन्:
राजनीति भनेको समाज परिवर्तन हो जागिर खानु होइन
तलब भत्ता चाहिए जागिर खाने हो,जनता ढाँट्नु होइन
भोक भोकै जनताहरू मारेर पेट भर्नु भन्दा भोकै मरे भो
देश र जनता लुटेर,रिन मागेर मोजमस्तीले बाँच्नु होइन ।
हाम्रा जीवनका यथार्थता र जटिलताहरू मुक्तकहरूमार्फत औँल्याएका छन् । दिलिप पछिल्लो समयसम्म आइपुग्दा मुक्तक लेखनमा एकदम सक्रिय देखिन्छन् । समाजका विद्रूप विसङ्गति हर क्षेत्रमा रहेको उनको ठहर छ । जागिरमा चाकरी, राजनीतिमा झोले कार्यकर्ताको उल्लेख्य उपस्थिति, हर पेसामा चाकरी र चाप्लुसीका चरित्र हाबी भएका प्रति उनको रोष छ ।
उनका मुक्तकहरू वर्तमान समयमा हर क्षेत्रमा पुगेका छन् । राजनीतिक दलहरूमा हाबी भएका गुटगत स्वार्थका झुन्डहरू, कुर्सीको लागि तानातान र हानाहान भैरहने परिवेश,भोकै भएर अभावमा जीवन जिउन विवश जनता हुँदाहुँदै तलब भत्ता वृद्धिका लागि आवाज उठाउने माननीय जनप्रतिनिधिहरूका चरित्र मुक्तकहरूमा उदाङ्गो पारिएको छ । उनी मुक्तकमा लेखा पढा मान्छेहरू पनि राजनीतिक पार्टीका झोले भएकोमा आक्रोशित हुन्छन् । पुरस्कार र विद्यता पनि चाकरीमा परेको मुलुक सम्झेर दुःखी बनेका मुक्तककार आरोप र प्रत्यारोपमा उत्रनेहरूको खिल्ली उडाउँछन् ।
धर्म परिवर्तन गर्ने, धर्मको नाउँमा लुट्ने, परम्परागत संस्कार र संस्कृति विपरीत लाग्ने कुराहरू क्षम्य हुन नसक्नेमा उनको मुक्तकको जोड छ । विदेशीको पाउमा शिरनत गरेर प्रणाम गर्नेले आफूलाई सबैभन्दा राष्ट्रवादी भनेकोमा उनको आपत्ति छ । विदेशीको स्वार्थको लागि उनीहरूकै जुठो पुरो खाएर देशलाई राष्ट्र घातको विष वमन गर्ने कुरा अक्षम्य हुने उनको तर्क छ । देश नातावाद र कृपावादको दलदल र चङ्गुलमा फसेको कुरा औँल्याएका छन् । सेतोलाई सेतो भन्न नसक्नेहरू प्रति पनि उनका मुक्तक लक्षित छन् । मुलुक सञ्चालन गर्नेहरू धेरै जसो बिचौलिया र अवसरवादी ठानेका छन् उनले जस्तै यहाँ हेरौँ :
नातावाद र कृपावादकै मोजमस्ती छ यहाँ
जनताको जताततै उजाडिएको बस्ती छ यहाँ
दलाल र बिचौलियाले चलाएको देश हो हजुर
यिनै अन्धा बहिराहरूकै सधैँ जबरजस्ती छ यहाँ ।
साँच्चै कविमन वर्तमान समयको बेथितिले उकुसमुकुस भएर मुक्तकहरू मार्फत पोखिएको छ । उनले यहाँको विषमता खोतल्ने यत्न गरेका छन् । अनि आएको र पाएको विषमतालाई पाठक सामु राखेका छन् । उनले कुनै पनि विषयको उठान गरेपछि प्रष्टता पार्न सकेका छन् ।
वर्तमान राजनीतिको खतरनाक अवस्था छ मुक्तकमा । आजको युगको राजनीतिको विकृत मनोदशा यहाँ चित्रण गरिएको छ । राजनीतिक विद्रूपताले जनतामा छाएको निराशा उजागर गरिएको छ । देश र जनतालाई ढाँट्नेहरूले आफ्नै आत्मालाई पनि ढाँटेका हुन्छन् । त्यस्ताहरू त राष्ट्रघाती हुन्छन् । गद्दार हुन्छन् । उनीहरूलाई मारे पनि सजाय कम हुन्छ भन्दै वर्तमान राजनीतिक नेतृत्वहरू प्रति उहाँको व्यङ्ग प्रहार पनि गरिएको छ जस्तै यहाँ हेरौँ :
दिनदिनै देश र जनता ढाँट्दा,लाज शरम त लाग्नुपर्ने,
दलाली गरी गरी आफ्नै आत्मालाई आफैँ ढाँट्नुपर्ने
किन पापीहरूको आत्मा रुँदैन,आफ्नै आमा बेच्दा
देश दुख्दा मुटु पोल्छ ,दलालहरूलाई जिउँदै गाड्नुपर्ने ।
उनका मुक्तकहरू आशावादमा पनि अटेका छन् । यसैको त्यान्द्रोले उनी घच्घच्याउँछन् मुक्तक मार्फत सर्वसाधारणलाई । स्वार्थको आहालमा डुबेका हाम्रा नेताहरूलाई खबरदारी गर्छन् । विद्रोहका सशस्त्र भाषा बोल्छन् उनी । जुन जोगी आए पनि कानै चिरेका भन्ने बुझेका उनले अव त्यस्तो अवस्थाको अन्त्य हुन जरुरी भएको भाव व्यक्त गरेका मुक्तक पनि यहाँ परेका छन् । यसरी हेर्दा आगमनका विषयवस्तु समग्र वर्तमान समय वरिपरि रहेको छ । राजनीतिक विकृति र विसङ्गति वरपर घुमेको छ । प्रेममा पाएको धोकाले भावुक मन बोलेको छ । जीवनका भोगाइहरूका उद्वेगहरूलाई मुक्तकहरू मार्फत अभिव्यक्त भएको पढ्न र बुझ्न सकिन्छ ।
थोरै शब्दमा धेरै विषय बुन्न सक्ने खुबी हुन्छ मुक्तकमा । यस्तो खुबी उनका मुक्तकमा पनि पाइन्छ । उनका मुक्तकको एउटा मुख्य विशेषता भनेकै मुक्तकहरूमा प्रयुक्त विषयगत विविधता हो । विविध भावभूमीका मुक्तकको सङ्ग्रहित रूपमा पढ्न सकिन्छ आगमन । निराशा मात्र नभएर आशावादीताको कुरा पनि छ मुक्तकमा । पढिरहन मन लाग्ने मन छुने यथार्थपरक मुक्तकहरू यस संग्रहका परेका छन् । धेरै जस्तो सन्दर्भहरू राजनीति वरिपरि घुमेका लाग्छन् । त्यसमा मायाप्रेम पनि मिसिएको छ । राष्ट्रिय भावले ओतप्रोत पनि पाइन्छ ।
सबै मुक्तक शक्तिशाली छन् भन्न नमिल्ला । अनि सबै उत्कृष्ट पनि छैनन् । केही मझ्यौला लाग्छन् । अनि केहीमा अझै परिष्कारको आवश्यकता पनि देखिन्छ । यद्यपि सृजना जहिल्यै अपुरो हुन्छ यसमा निरन्तरताको खाँचो रहन्छ जसले गर्दा स्रष्टा आफ्नो सृजनामा निखरता ल्याउन सक्दछ । यो कुरा स्रष्टा दिलिपमा पनि लागू हुन्छ । तर प्रवासको व्यस्त समयमा पनि नेपाली साहित्य साधनामा निरन्तर तल्लीन हुने मुक्तककारको भाव.नालाई मुक्त कण्ठमा प्रशंसा नगरी रहन सकिन्न ।
नयाँ मुक्तक सङ्ग्रहको निम्ति दिलीपलाई हार्दिक बधाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।