ताराप्रसाद वस्ती रेडियोको साथी ।

साहित्यको साथी ।

आवाजको साथी ।

साहित्यका विविध विधाहरू कविता, गीत, गजल, मुक्तक लगायत अन्य विधाहरूमा नयाँ र पुराना पुस्ताका साहित्यिक मनहरूलाई देशको जेठो प्रसारक संस्था रेडियो नेपालको स्टुडियोमा साहित्यिक मन्थन गरी देश र विदेशको कुना काप्चामा अन्तर्मन र साहित्यिक ध्वनि पुर्‍याउने साहित्यिक मन ताराप्रसाद वस्तीको नयाँ गीत सङ्ग्रह तारापुञ्ज बजारमा आएको छ ।

धादिङका दुई पाखा जगाउँदै बगेको त्रिशूलीबाट सिकेर होला । धादिङका ताराप्रसाद वस्तीले मानव जीवनमा आवश्यक दुई पाटाहरू जिन्दगीको प्रेम र देशप्रेम जगाउने गीत यस सङ्ग्रहमा सङगृहित गरी साहित्यिक बजारमा पेस गर्नुभएको छ ।

तारापुञ्जमा साठी गीतहरू समावेश छन् । सङ्ख्याको हिसाबले अधिकांश गीतहरू व्यक्तिको जीवन देखाइ, जीवन भोगाइसँग अत्यन्तै नजिकको सम्बन्ध राख्ने प्रकारका छन् । जिन्दगीको हर समयमा पार गर्नुपर्ने ती महत्त्वपूर्ण चरणहरू र जिन्दगीका कष्टपूर्ण अवस्थाहरूलाई सरल सहज र आफ्नै भाकामा गाउन सकिने लयमा धेरै गीतहरू आएका छन् । गीतकारले धेरै ठाउँमा पीडा, चोट, घात र विश्वासघातहरू नचाहँदा पनि जिन्दगीमा आइरहन्छ है भनेर गीतको माध्यमले नेपाली समाजलाई गीतिलयमा जानकारी र सूचित गरेका छन् ।

जीवन मेरो सुख्खा सुख्खा भयो तिम्रो भरमा परी

तै नि किन आउँछ फेरी तिम्रै याद घरी घरी ।       

जीवन मेरो सुख्खा सुख्खा

कहिले माया-नङ मासु कहिले आगो-पानी

तन-मन सुम्पिदा नि पाइनँ आनी-बानी ।             

कहिले माया-नङ मासु

“उमेरमा स्याल पनि घोर्ले हुन्छ” भन्ने नेपाली उखानलाई गीतमा सचेतनाका साथ प्रस्तुत गरिएको छ । फक्रिँदो बैँस, बल्दो उमेर जवानीको गन्धमा रम्न खोज्ने दुनियाँसँग हर समयमा सचेत हुनपर्छ भन्ने आशयको सामाजिक चेतनासहितको गीत मजाले पढ्न पाइन्छ ।

किन हेर्छन् सबले मलाई के छ ममा कुन्नि

कलेजीमै राख्छु भन्छन् जाल बुनी बुनी ।              

किन हेर्छन् सबले मलाई

त्रिशूली मात्र बगेर परदेश गएको छैन । त्रिशूलीकै उच्च बेगम नेपाली जनहरू परदेसिएका छन् । परदेसिनुको पीडा र परदेशमा भोग्नु परेको पीडा अनि परदेशमा रहँदा घरपरिवार गाउँ, देश, समाज, आफ्नो रहनसहन, हाम्रो चाडपर्व, धर्म संस्कृति सम्झँदाका अझ अधिक पीडाहरू गीतमा त्रिशूली बनेर बगेका छन् । त्यसै गरी गाउँघरमा रहेका बुढा बाबा आमाको पीडा, सँगै बस्नुपर्ने जीवनसाथी बिदेसिँदा जीवन सङ्गिनीले भोग्नुपरेको पीडा र साना साना नानी बाबुले बाल्यावस्थामा पाउनुपर्ने पिताको स्नेह नपाउँदा ती बाल हृदयमा उठेका भावनाहरू गीतमा सररर आएका छन् ।

जनस्तरका बोलीमा हाम्रै कुरा लेखेको रहेछ भन्ने भान हुने शब्दहरू गीतभरि नै पढ्न पाइन्छ  । सबै पक्षको व्यवस्थापन मिलाएर ती गीतहरू रेकर्ड गर्न सके ती गीतहरूमा रहेका जीवन भोगाइ र नेपाली समाजको वर्तमानको पीडा पाठकका साथ साथै श्रोता र दर्शकका सामु पनि पुग्ने थियो ।

धन त तिम्रो कमाइ होला मनचाहिँ कमाएनौ

तिमीले पठा धनले मेरो आँसु थमाएनौ ।                 

मेरो साथ खोज्छ खोज्दैन ?

पछिल्लो समय हाम्रा चाडपर्व, सांस्कृतिक मुल्य मान्यता मनाउँदा मौलिकता चटक्क बिर्सिएर भड्किलो देखावटी उपभोक्तावादी संस्कृति बढ्दै गएको प्रति पनि गीतकारको राष्ट्रिय पिर निकै गहिरो छ । सुसंस्कारित सभ्यता ऋषिमुनिका सन्तान हामी, ती विद्वान पुर्खाले चलाएको सामाजिक चलनलाई मौलिक मान्यताअनुसार मनाउँदै अगाडि बढाएर भावी पुस्तालाई वास्तविक सांस्कृतिक धार्मिक र आध्यात्मिक पक्षका साथ सुम्पन नपाइने हो कि भन्ने डर गीतकारमा रहेको पाइन्छ । हाम्रो मौलिक भेष पहिरनमा आएको बढ्दो विकृतिका बारेमा पनि गीतकारले समाजलाई सचेत रहेर आफ्नो मौलिकता जोगाइराख्न गीतका माध्यमबाट आह्वान गरेका छन् ।

दशैँ तिहार मौलिक चाड हाम्रो हो

हाँसी खुसी रमाउनु राम्रो हो

धोको फेरेर

चाडपर्व मनाऔँ गच्छे हेरेर ।                                    

धोको फेरेर

गीतमा देशभक्तिको पाटो निकै उच्च रूपमा आएको छ । नेपाली वीरताको इतिहास, शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिहरू जोगाउँदै आधुनिक भौतिक पूर्वाधारको विकास गरेर समुन्नत, सम्पन्न, सुखी र खुसी नेपाली बनाउन आव्हान गरेका गीतहरू यस सङ्ग्रहमा पढ्न पाइन्छ । गीतमा व्यक्त गर्नुपर्ने नेपाली देशभक्तिका पाटाहरू विभिन्न स्वरूपबाट गीतमा आएका छन् । चन्द्रसूर्य अङ्कित झन्डा खुकुरीकै भरमा विश्व विजेता बनेका हामी नेपालीको बारेमा लेखिएको गीत सधैँ गाइरहुँ जस्तो छ ।

चन्द्र सूर्य अङ्कित झन्डा उहिल्यै फर्फराको

खुकुरीकै चम्काइमा विश्व थर्थराको

नेपाली हो जात हाम्रो वीर रगतको

विश्वभरकै सुरा हामी साक्षी विगतको ।         

प्राणभन्दा प्यारो लाग्छ 

यस सङ्ग्रहका सबै गीतहरू मन मुटु र मस्तिष्कले एक साथ राख्न र गाउन मिल्ने खालका छन् । जीवनका गीतहरूले जीवनका हरेक पाटोलाई छपक्कै छोएका छन् । देशभक्ति गीतहरूमा देशभक्तिको भावना सगरमाथा जस्तै उच्च रूपमा प्रस्तुत भएको छ । सर्जक वस्तीले जीवन र देशलाई कलमको सहायताले लयबद्ध तवरले गीतको रूपमा उन्नु भएको छ । आगामी दिनमा उहाँको गीति लेखनको कलम निरन्तर अगाडि बढिरहोस् शुभ कामना ।