लेखक सुबोध पौडेलको भर्खरै प्रकाशित उपन्यास ‘चुड्की’ हात पर्यो । नेपालमा इन्जिनियरिङ पढ्दै गर्दा नै सुबोधले मलाई आफूले एउटा उपन्यासमा काम गरिरहेको र त्यसको विषयवस्तु प्रेममय हुने जानकारी गराएका थिए । नेपालको अध्ययन सकेर उनी अमेरिका गए र त्यता इन्जिनियरिङमा नै मास्टर्स सकेर हाल कार्यरत छन् । धेरै पछि भए पनि उनको उपन्यास हात पर्दा खुसी लाग्यो । सुबोधलाई नभेटेको वर्षौँ भयो । यो उपन्यास हात पर्दा वर्षौँपछि उनलाई प्रत्यक्ष भेटेको अनुभव भयो । उपन्यासको आवरण पनि मैले चिनेको सुबोधजस्तै रहेछ- सानो तर अलिक मोटो, सादा पानामा केही रङ्गहरू कोरिएको । मैले भेट्दा सुबोध पनि त्यस्तै थिए, हाइट ठिक्कको, साइज अलि मोटो, मान्छे गहुँगोरो तर अत्यन्त काव्यात्मक ।
साहित्यिक र काव्यात्मक चेत त सुबोधले पारिवारिक विरासतमा नै प्राप्त गरेका हुन् । त्यसलाई उनले निरन्तर तिखार्ने प्रयास गरिरहेका छन् । उनले उपन्यास लेखिरहेको थाहा पाउँदा उनले विरासतमा प्राप्त काव्यात्मक चेतलाई काठमाडौँमा हुर्किएको एउटा युवाको अनुभव त्यसमा मिसाउने छन् र त्यो कृति प्रशंसा गर्न योग्य हुनेछ भन्ने मेरो अपेक्षा थियो । त्यही रोमाञ्चकताको बिचमा ‘चुड्की’ उपन्यास मेरो हातमा पर्यो ।
उपन्यासको सुरुमा नै चर्चित लेखिका नीलम कार्की निहारिकाको भूमिका रहेको छ । उपन्यासको पहिलो पृष्ठको माझमा भएको एउटा वाक्यमा पुगेपछि म केही बेर रोकिएँ । सँगै घर बनाएका दुई छिमेकीका सन्दर्भमा कुरा गर्दा उपन्यासको पात्र साकारकी आमाले भन्नुहुन्छ- ‘खासमा मन जोडिएकाले घर पनि जोडिएको रे’ । उपन्यासका सन्दर्भमा दुई छिमेकीबिचको सामीप्य देखाउन यो बिम्ब अत्यन्त सुन्दर रूपमा प्रस्तुत भएको छ । छिमेकीहरू भनेका साँच्चै नै सान्निध्य र स्नेह हुनुपर्ने व्यक्तिहरू हुन् । दुःखसुखका बाह्रमासे साथी र साक्षी नै छिमेकीहरू हुन् । नेपाली समाजमा छिमेकको गहन सांस्कृतिक महत्त्वबाट यो उपन्यास सुरु हुन्छ ।
सुबोध उमेरले करिब २७ वर्ष वरपरका होलान् तर, उनको काव्यचेत र काव्यशैली खुलेर प्रशंसा गर्न योग्य छ । ‘चुड्की’ उपन्यासमा उनले आफ्नो मौलिक शिल्पशैलीमा पात्रहरूलाई खेलाएका छन् । आफ्नो युवा उमेरको सन्दर्भलाई पृष्ठभूमिमा राखेर लेखिएको उपन्यासमा प्रयोग गरिएका पात्रहरूलाई पूर्णरूपमा न्याय प्रदान गरिएको छ । पात्रहरूलाई उपन्यासमा खेलाउने सन्दर्भमा सुबोधले प्रयोग गरेका सूक्ष्म विवरणहरू अत्यन्त प्रशंसायोग्य छन् ।
मलाई जहिले पनि उपन्यासमा बृहत् सन्दर्भभन्दा सूक्ष्म विवरणहरू बढी मन पर्दछ । त्यस सन्दर्भमा पनि सुबोधको प्रस्तुत उपन्यासको अध्ययन सहज भयो । तर जति सूक्ष्म विवरणहरू उपन्यासमा प्रयोग गरिएका छन्, त्यति सूक्ष्म बिम्बहरू प्रयोग गरिएको भए उपन्यास अझ कति सुन्दर बन्दो हो ! बिम्बहरूको प्रयोग उपन्यासमा केही खट्किएको छ ।
यस उपन्यासमा सब थोक छ- गाउँ छ, सहर छ, बाल्यकाल छ, बैँस छ, मिलन र बिछोड पनि छ । पाठकका लागि यो एउटा पूर्ण उपन्यास छ र पाठकले पढिसक्दा पूर्णताको आभास गर्न सक्दछ । त्यो पूर्णतालाई उपन्यासकारले मिहिन ढङ्गले प्रस्तुत गरेका छन् । पूर्ण तुल्याउन वा सम्पन्न बनाउन कतिपय लेखकहरूले आफ्ना कृतिमा असान्दर्भिक प्रसङ्गहरू पनि ल्याएर कृतिलाई खिचडी बनाउने गरेको पाइन्छ । यस उपन्यासमा पनि कुनै कुनै कथावस्तुहरू त्यहाँ प्रस्तुत नगरेको भए उपन्यास अझ सघन बन्थ्यो कि भन्ने अनुभव हुन्छ, तर कथावस्तुलाई उपन्यासकारले सघन ढङ्गले प्रस्तुत गरेका छन् ।
उपन्यासकारले कुनै कुनै सन्दर्भमा कथावस्तुलाई मसालेदार बनाउने प्रयास गरेका छन् । त्यो सायद बजारिया साहित्यको प्रभावबाट उत्पन्न मानसिकता हुन सक्दछ । त्यस्तो मसलाले साहित्यलाई स्वाभाविक र जीवन्त हुनबाट रोक्दछ । एउटा असल कृतिकारले समाजका सबै विषयवस्तु ऐनामा देखिएजस्तै साहित्यमा प्रस्तुत गर्नसक्यो भने त्यो कृति अमर बन्दछ । यसमा पौडेलजस्ता नव आगन्तुक साहित्यकारहरू सधैँ सजग हुनु पर्दछ ।
यो उपन्यासको अर्को विशेषता अत्यन्त धेरै प्लटहरूको संयोजन हो । उपन्यास पढिसक्दा लाग्दछ, यो उपन्यासहरूको सङ्ग्रह हो । यति धेरै प्लटहरू प्रयोग नगरेको भए पनि हुने, यति धेरै पात्रहरूको प्रयोग नगरेको भए पनि हुने भन्ने आभास पाठकलाई बिच बिचमा आउँछ । तर, त्यसको संयोजनका लागि उपन्यासकारले प्रयोग गरेको शिल्पले उपन्यासलाई कुशल संयोजन गरिएको सङ्गीतका रूपमा स्थापित तुल्याएको छ । प्लटहरूको प्रयोग सान्दर्भिक नै लाग्दछ । तर धेरै प्लटहरू प्रयोग गर्दा केही प्रसङ्गहरूमा सूक्ष्म विवरणहरू प्रस्तुत गर्न लेखक चुकेका छन् । उपन्यासको पात्र निश्चल काठमाडाैँ छिरेपछि उसका नयाँ अनुभव र नयाँ भावनाहरू अपेक्षा गर्न सकिन्छ, तर उपन्यासकार त्यो व्यक्त गर्नबाट चुकेका छन् ।
उपन्यासमा धेरै प्लटहरूको प्रयोग हुँदा एउटा प्लटबाट अर्को प्लटमा कथावस्तु प्रवेश गर्दाकाे सङ्क्रमण अत्यन्त महत्त्वपूर्ण हुन्छ । यदि त्यो सङ्क्रमण जीवन्त छैन भने कथावस्तु अर्को प्लटमा प्रवेश गरिसकेको हुन्छ । तर, पाठक प्रवेश गर्न सक्दैन र पाठक कथावस्तुसँग एकाकार हुन सक्दैन । यसमा ‘चुड्की’ का उपन्यासकार बडो जिम्मेवार देखिएका छन् र उनले दुई प्लटलाई जोड्न कौतूहल, द्विविधा र आश्चर्यजनक तन्तुहरूको प्रयोग गरेका छन् ।
उपन्यासको मूल पात्र निश्चललाई काठमाडौँबाट अप्रत्याशित रूपमा पोखरा लैजानु पर्ने बाध्यता उपन्यासकारसामु थियो । तर यो त्यति सजिलो थिएन । चितवनमा जन्मेर हुर्केको र काठमाडौँमा पढ्दै गरेको पात्र, जसको पोखरासँग कुनै साइनो छैन, त्यसलाई पोखरा लैजाने कुरा त्यति सहज थिएन । तर उपन्यासकारले बडो कुशलतापूर्वक उसलाई पोखरा पुर्याएका छन् ।
यस्तै यस उपन्यासमा उपन्यासकारले सुन्दर कवितालाई प्रस्तुत गरेका छन् । त्यो प्रस्तुति सजीव छ र उपन्यासकारको कविता रचनाको शिल्प प्रशंसायोग्य छ । प्रियालाई बिस्तारै बिर्सेर निश्चलको प्रेम जसरी सासतिर र सासबाट क्रमिक रूपमा काव्यातिर सर्दछ, यो जीवन्त लाग्दछ । वास्तवमा जीवन गतिशील छ र सम्बन्धहरू पनि । त्यस्तो सम्बन्धमा लेखकले आफ्नो लेखकीय परिपक्वता प्रस्तुत गरेका छन् ।
आफ्नी हजुरआमालाई गाउँमा छाडेर सहर पसेको युवाले गाउँ फर्किँदाको प्रसङ्ग जसरी प्रस्तुत गरेको छ- त्यो निकै नैसर्गिक लाग्दछ । “हजुरआमा हामी आउँदा त्यही पिँढीमा त्यसै गरी बसिरहनुभएको थियो, जसरी हामी उहाँलाई छाडेर जाँदा बस्नु भएको थियो । फरक, त्यो बेला हजुरआमाका आँखामा आँसु थिए, अहिले ओठमा मुस्कान !” यति सानो उमेरमा नै आम मानिसका जीवनका दृश्यलाई जस्ताको तस्तै कृतिमा प्रस्तुत गर्न सक्नु उपन्यासकारमा रहेको असाधारण साहित्यिक शिल्पकलाको उदाहरण हो तर, त्यसलाई बिम्बात्मक रूपमा प्रयोग गर्न नसक्नु उनको कमजोरी हो ।
पात्र भरतपुर र काठमाडौँमा बस्न थाल्दछ र आफू सहरीकृत बन्दछ । तर क्रमिक रूपमा आफ्नो मूल थलो गीता नगर सहरीकरण हुँदै गएको उसलाई मन पर्दैन । ऊ तीव्र गतिमा गतिशील र सहरीकृत बन्दै छ तर, आफ्नो गीता नगर पुरानै रहोस्, गाउँ गाउँ नै रहोस्, प्राकृतिक रहोस्, घनिष्ठ रहोस् भन्ने कामना देखाउँछ । त्यो आम नेपाली युवाहरूको मानसिकता हो र उपन्यासमा उपन्यासकारले त्यसलाई प्रस्तुत गरेका छन् । हामी सबैको स्वभाव त्यस्तै हो । आफू सहरीकृत हुँदै जाने तर, आफूले बिताएको गाउँको परिवेश भने गाउँले नै रहोस् भन्ने चाहने ।
यो उपन्यास प्रेमकथाको पुञ्जजस्तो देखिन्छ र त्यसका लागि उपन्यासकारले कैयौँ प्रेमी प्रेमिकाका प्रेम प्रसङ्गहरूलाई यहाँ प्रस्तुत गरेका छन् । प्रेम सम्बन्धहरूमै यो उपन्यासको सम्पूर्ण विषयवस्तु केन्द्रित छ । तर, वास्तविक रूपमा यो सामाजिक उपन्यास हो ।
प्रेममा पर्दै गएका जोडी एउटा पुतलीसडकको नेममा कक्षा लिन जानु छ र अर्को थापाथलीको पिइएमा कक्षा लिन जानु छ भने कलङ्कीबाट एउटा रत्नपार्क जाने गाडी र अर्को बानेश्वर जाने गाडीमा चढेर छुट्टिने कुरा अत्यन्त अस्वाभाविक छ । त्यो जोडीको स्वाभाविक यात्रा केटा पनि केटीसँगै रत्नपार्क जान्छ । केटीलाई नेममा छाडेर आफू हिँड्दै थापाथलीसम्म आउँछ । त्यो स्वाभाविक यात्रा हुन्छ । नभए केटा र केटी बानेश्वर जाने बसमा चढेर माइतीघर ओर्लन्छन् र केटाले केटीलाई नेममा छाडेर आफू पिइए फर्कन्छ, त्यो अर्को स्वाभाविक यात्रा हुन्छ । तेस्रो स्वाभाविक, दुवै माइतीघर मण्डलामा ओर्लेर आफ्नो आफ्नो बाटो लाग्दछन् । बरु उनीहरू स्वयम्भू महाराजगन्ज हुँदै बानेश्वर रिङरोड लगाएर नेम तथा पिइए जान सक्दछन् तर, सामान्य आशक्ति देखाइसकेका केटाकेटी छुट्टिएर यात्रा गर्दैनन् । यहाँ उपन्यासलाई प्रेमात्मक बनाउने प्रशस्त अवसर थियो तर, उपन्यासकार त्यसमा चुकेका छन् ।
फेवातालमा बोटिङ गर्दा केटा र केटीले सेक्सका बारेमा गरेको गम्भीर छलफल सायद यो उपन्यासको सबैभन्दा अस्वाभाविक प्लट हो । प्रेममा पर्न थालेका युवा युवती सेक्सका बारेमा कुरा गर्दैनन्, बिस्तारै सेक्स गर्दछन् । सेक्स हेरेर हुन्छ, बोलेर हुन्छ, छोएर हुन्छ, बास्ना लिएर हुन्छ र क्रमिक रूपमा बढ्दै जान्छ । सेक्स अनुभव गर्ने कुरा हो, छलफल गर्ने कुरा होइन । उपन्यासको सबैभन्दा कमजोर पक्ष भनेको उपन्यासकारले प्रेमलाई अनुभव गर्ने विषय कम बनाएका छन् भने देखिने र सुनिने विषय बढी बनाएका छन् । प्रेममा भाव हुन्छ । प्रेम भनेको पूर्ण रूपमा अनुभूतिको विषय हो । प्रेममा आत्म संवाद हुन्छ तर, व्यक्ति संवाद अत्यन्त कम हुन्छ । यो उपन्यासमा प्रेमको भावको आत्म संवाद अत्यन्त कम छ र व्यक्ति संवाद बढी छ । तसर्थ यो सामाजिक उपन्यास हो ।
यसमा उपन्यासकारले प्रेमाकाङ्क्षीलाई प्रेमीका रूपमा होइन, सामाजिक व्यक्तिका रूपमा चित्रण गर्ने प्रयास गरेका छन् । लेखकले मूल चरित्रलाई सुरुमा नै लजालु स्वभावको चित्रण प्रदान गरेर उपन्यासभरि त्यो लजालुपनको भरपुर प्रयोग गरेका छन् । कुनै कुनै सन्दर्भमा पात्र चाहिनेभन्दा बढी लजालु भएको जस्तो पनि देखिन्छ ।
उपन्यासको मूल कुरो जातीय व्यवस्थामा प्रेमको प्रसङ्गमा रहेको छ । प्रेममा जातीय प्रसङ्ग नेपाली साहित्यमा सधैँ अग्रस्थानमा रहने विषयवस्तु हो । समाजमा निरन्तर घट्ने घटनाले पनि साहित्यकारलाई त्यसतर्फ आकर्षित गर्ने गरेको हुन्छ । यस उपन्यासमा लेखकले बडो कलात्मक ढङ्गले त्यसलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनले प्रेमलाई तल्लो जातको प्रेमीको दृष्टिकोणले हेरेका छन् साथै प्रेमलाई माथिल्लो जातका प्रेमी प्रेमिकाका दृष्टिले पनि हेरेका छन् । र, तल्लो जात र माथिल्लो जातका प्रेमी प्रेमिकाको प्रेमलाई समाजको दृष्टिकोणले पनि हेरेका छन् । यो दृष्टिकोणले उपन्यास अत्यन्त जीवन्त सामाजिक प्रस्तुतिहरूको सँगालो जस्तो लाग्दछ । शिशिरको व्यक्तित्वलाई लेखकले जसरी प्रस्तुत गरेका छन्, त्यो वास्तवमै प्रशंसा गर्न योग्य छ ।
कतिपय स्थानमा कथावस्तु विकसित हुँदा केही असहजता वा अपूर्णता पनि अनुभव हुन्छ । जस्तो: सासलाई काठमाडौँमा आएर भेट्न निश्चल पात्रले ढिला गरेको छ, जुन स्वाभाविक छैन । कथावस्तुका आधारमा भन्न सकिन्छ- काठमाडौँमा कोठा लिइसकेपछि पात्रको ध्यान सासलाई भेट्न हुनुपर्ने हो । अथवा पात्रले आफ्नो र सासको कलेज एउटै बनाउन प्रयास गर्नुपर्ने हो र त्यसका लागि सासलाई भेटिहाल्नु पर्ने हो । पात्रले सासलाई भेट्न जति हतार देखाउँथ्यो, उसको र आफ्नो कलेज एउटै बनाउन जति प्रयास गर्थ्यो, उपन्यासको प्रेमात्मक मर्म त्यति प्रकाशित हुन्थ्यो ।
यो उपन्यास पढ्दा लाग्छ- यो कुनै सृजित कथा होइन, कसैको जीवनको दैनिकीको प्रस्तुति हो । त्यो जीवन्तता उपन्यासको सबैभन्दा सबल पक्ष हो । यो संसारमा सबै कुरा अनित्य छन् र हाम्रा सम्बन्धहरू पनि । उपन्यासले सम्बन्धको अनित्यतालाई अत्यन्त स्वाभाविक ढङ्गले प्रस्तुत गरेको छ । सम्बन्धको अनित्यताको कुरा हामीले आजका युवाहरूलाई सिकाउन सक्यौँ भने मात्र पनि सम्बन्धको विघटनले युवाहरूमा देखिन थालेका थुप्रै मानसिक समस्याहरूको रोकथाम गर्न सकिन्थ्यो । जीवनमा अनेकन् आरोह र अवरोहहरू आउँछन्, तिनलाई स्वीकार गर्दै गतिशील हुनु नै जीवन हो । यो नै यस उपन्यासको सबैभन्दा ठुलो शिक्षा हो ।
मैले चिनेका ‘चुड्की’का उपन्यासकार एक जिम्मेवार र आदर्शवादी युवा हुन् ।
उपन्यासमा पनि उनले मुख्य पात्रहरूलाई जिम्मेवार र आदर्शवादी चरित्रका रूपमा प्रस्तुत गरेका छन् । यो उपन्यासको सबैभन्दा सबल र सबैभन्दा दुर्बल पक्ष हो । यदि पाठकलाई आदर्शवादी चरित्र मन पर्दछ भने उसले यो उपन्यासलाई अत्यन्त सफल उपन्यासका रूपमा पाउने छ तर, यदि पाठकलाई आदर्शवादी चरित्रमा रुचि छैन भने उसले उपन्यासलाई उपदेशको सङ्ग्रहका रूपमा ग्रहण गर्नेछ । युवा पाठकका लागि उपन्यासको आदर्शवादी चरित्र अत्यन्त सकारात्मक र प्रेरणादायी हुन सक्दछ । जिन्दगीको दिनानुदिनको अभ्यासलाई चाहिने आदर्श पहिल्याउन नसकेर अलमलमा रहेका युवाहरूलाई यो उपन्यासले मार्ग प्रशस्त गर्नेछ ।
तर, साहित्यमा उपदेशभन्दा भावना खोज्ने पाठकका लागि भने उपन्यासको आदर्शवान् पक्ष अलिक बढी सैद्धान्तिक लाग्न सक्दछ । यात्रा गर्दै गर्दा उनले कतै भनेका छन्, “अहिलेको यो बसको यात्रा पनि जीवनकै यात्रा होइन र ?” त्यस्तै अर्को प्रसङ्गमा उनले लेखेका छन्, “यो संसारमा कथा नहुने मान्छे को होला र खै ? कतिका कथा लेखिन्छन्, पढिन्छन्, सुनिन्छन्, कतिका शून्यमा हराएर जान्छन्” । यद्यपि आफ्नो दर्शनलाई कलाको लेप लगाउन र जीवन्त बनाउन उपन्यासकारले सक्दो प्रयत्न गरेका छन् ।
मलाई चाहे कथा होस्, कविता, गजल वा उपन्यास नै किन नहोस्, त्यो कुनै चित्रकारको चित्रकला र मूर्तिकारको मूर्तिकला भन्दा भिन्न लाग्दैन । जसरी चित्रकार र मूर्तिकारले आफ्ना कलाका सूक्ष्म विवरणहरूमा आफ्नो कौशल प्रस्तुत गर्दछन्, त्यस्तै साहित्यकारले पनि आफ्नो सिर्जनामा सूक्ष्म विवरणहरू प्रस्तुत गर्दछन् ।
साहित्यका नाममा आफ्ना भयङ्करका दर्शन कोच्न गरिने प्रयासले कृतिलाई कमजोर बनाउँदछ । कथावस्तुमा पात्रहरूको भावनाको स्थान कम र उपदेशहरूको स्थान बढी देखिन्छ । त्यो उपन्यासको कमजोर पक्ष हो । उपन्यासमार्फत उपन्यासकारले युवा पुस्तालाई केही सकारात्मक सन्देश प्रवाह गर्न खोजेका छन् । साहित्यमा भावना पक्ष कमजोर र उपदेश पक्ष बलियो बन्न गयो भने साहित्य सन्देशमूलक विज्ञापनजस्तो बन्न सक्दछ । शिक्षा त कोर्सका किताबहरूले दिने हो, साहित्यले त व्यक्त हुन नसक्ने मानवीय भावनालाई व्यक्त गराउन प्रयत्न गर्नु पर्दछ । यो उपन्यासमा सुरुदेखि नै प्रेमको अपेक्षा छ तर, पाठकले प्रेमभन्दा बढी जीवन दर्शन पाउँछ ।
यो उपन्यास उपन्यासकारले भोगेको समाजको सजीव चित्रण हो । यसमा उनले आफ्नो समाजका चरित्रहरूलाई जति सक्यो त्यति सहज रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् । सामान्य साहित्य सधैँ सुन्दर हुन्छ । यो उपन्यास अत्यन्त सामान्य छ, तसर्थ सुन्दर छ । उपन्यासका पात्रहरूको भावनामा उपन्यासकार अझ बढी खेल्न सक्दथे । उपन्यासमा प्रस्तुत कवितामा उपन्यासकारको बिम्ब चेत अत्यन्त उच्च रहेको देख्न सकिन्छ । तर, आफ्नो बिम्ब चेतको प्रयोग गर्नबाट उपन्यासकार धेरै ठाउँमा चुकेका छन् । यस्ता केही कमजोरीका बाबजुद पनि बिना पक्षपात भन्न सकिन्छ, यो उपन्यास यो युगको एउटा चित्रण हो ।
‘चुड्की’ उपन्यासको नाम मात्र चुड्की छैन, यसको आकर्षण पनि चुड्कीजस्तै छ । चुड्कीजस्तै कतिखेर सुरु हुन्छ, कति चाँडै अन्त्य हुन्छ, पाठकले पत्तो पाउन सक्दैन । उपन्यासकारले आफ्नो साहित्यिक शिल्पकलामार्फत पाठकलाई पूर्ण समय कथावस्तुमा बाँध्न सफल हुने कृति प्रस्तुत गरेका छन् ।
बधाई छ सुबोधलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।