कोरोना भाइरस लकडाउन पछिको समय म मौन छु , मलाई नजिकबाट चिन्नेहरूले र बुझ्नेहरूले म मौन हुनुको कारण बुझेका छन् । नयाँ अनुहार सँग घुलमिल हुन मलाई लामो समय लाग्छ , त्यसै पनि म कम बोल्नेमा पर्छु । तर आज लेख्छु ,लेख्दै गर्दा यो लेख कथा बन्छ या समीक्षा त्यो तपाईँमा छोड्छु र सुरु गर्छु ।

एमपी केयरलेसलाई साहित्य बुझे त्यो दिनबाट चिन्छु । यसको मतलब म २०७१, ७२ बाट एमपी केयरलेस गजलकार भनेर चिन्थे , लकडाउन पछिको अछाम यात्रामा थिए तब लम्कीचुहा अस्पतालको डिपिआर विवादीत घटनाले बजार तात्यो त्यहाँबाट म महेन्द्र उपाध्याय सँग जोडिन पुगे र हामी सञ्जालमा जोडियौ । सायद हाम्रो भेट पनि भयो कुराहरू पनि सेयर भए र हामी छुटियौ । माथिको कुरा किन जोडें भने महेन्द्र उपाध्याय इन्जिनियर हो भनेर मात्र चिनेको थिए । साहित्यको कुरा हुँदा लम्कीमा एमपी केयरलेसको कुरा हुन्थ्यो । त्यही महेन्द्र उपाध्याय एमपी केयरलेस हो , त्यही एमपी केयरलेस महेन्द्र उपाध्याय हो भन्ने थाहा थिएन । धेरै पछि आफैले चिने आफैले बुझे महेन्द्र भन्या केयरलेस हो केयरलेस भन्या महेन्द्र हो । जब हाम्रो बिस्तारै भेट हुन थाल्यो चियागफ हुन थाल्यो । हामी नजिकियौँ । यसपछिको भेटघाट ,चियागफ बिस्तारमा कुनै दिन लेखौँला । अब सुरु गरौँ विषयवस्तुको कुरा , अब लेखौँ विषय बस्तुलाई । विषय हो उपन्यास मिन्झारी

मिन्झारी एक समुदायका बारेमा मात्र होइन, यसमा ‘दासत्व कस्तो हुन्छ र कतिसम्म हुनेखाने वर्गहरू कमजोर वर्गलाई कसरी डर देखाएर काम गराउँछन्’ भन्ने कुरालाई प्रस्ट पारिएको छ । ‘नेपालमा सञ्चालनमा रहेको वर्तमान परिस्थिति र ठेकापट्टाका काम कसरी गरिन्छ ?’ भन्ने कुरालाई पनि प्रस्ट्याइएको छ । यहाँ एउटा समुदायलाई अङ्कित गरे पनि नेपाल अधिराज्यभरिको समस्या छ । प्रत्येक समुदायमा हुनेखाने समुदायले गरी खाने वर्गलाई माथि उठ्न नदिन कतिसम्म गर्छ भन्ने कुराको दस्ताबेजीकरण मिन्झारीभित्र छ ।

हो, मिन्झारीमा कतिपय शब्द र कतिपय भाषिक कठिनाइ छ । नारीमाथि पुरुषबाट हुने अन्यायको उत्थान, पुरुषहरूको स्वभाव र नाङ्गोपना राम्ररी चित्रण गरिएको छ । बिकट गाउँका बस्तीहरू उज्यालाबाट बञ्चित, कोरोना सङ्कटबाट ती बस्तीका विद्यार्थीहरूले कसरी अनलाइन कक्षा लिए होलान् र सहरमा पढेका विद्यार्थीहरूसँग कसरी प्रतिस्पर्धा गर्छन् भन्ने कुरामा सरकारलाई प्रश्न गरेको पाइन्छ । पश्चिमेली भाषा संस्कृतको जगेर्ना, घरको जेठो मान्छे कति कुरूप हुँदो रैछ भन्ने कल्लुका बुवाको निधनपछि देखिन्छ । त्यहाँ केवल आफ्नो मात्र स्वार्थ छ । कमजोर वर्गको बच्चा जस्तोसुकै काम पनि गरिहाल्छ । हुनेखानेका झाडु पनि उठाउन सक्दैन्न । उनीहरूका छोराछोरीलाई पीडा हुन्छ, दुख हुन्छ भनेर जबरजस्ती लादिने शासकको आदेशको यथार्थ रूप देखिन्छ उपन्यासमा ।

खासमा मिन्झारी तपाईंको कथा हो । मेरो कथा हो । उनको कथा हो । तपाईं हाम्रो कथा हो । तपाईँ हाम्रो धरातलको कुरा हो ।

मिन्झारी बजारमा आएको बैशाख २८ गते तीन महिना पुगेछ । तर मिन्झारी सुप (सुदूरपश्चिम) मा नै मौन छ । मिन्झारीबारे बोल्न रुचाउदैनन यहाँका वरिष्ठ भन्नेहरू । मिन्झारीबारे बोल्यो भने, लेख्यो भने यिनीहरू सकिन्छन्, उनिहरुलाई नै थाहा छ । बरु मिन्झारी बन्देज गर्न लागि परेका छन् चाकडीबाजहरू । यति लेखिरहँदा आफैँले केयरलेसको चाकडी गर्यो भन्ने प्रश्न उठ्नेवाला छ । यो प्रश्नको जवाफ मसँग छ । प्रश्न सोध्नेहरूलाई टेबुलटकमा जवाफ दिउँला ।

टीकापुर घटना मात्र मिन्झारीमा छ भन्नेहरू भ्रममा छन् धेरै । मिन्झारीमा मुखियाहरूका कुरा छन्, तेस्रो लिङ्गीका कुरा छन्, कर्णालीका कुरा छन्, सुपका कुरा छन् र तपाईँ मेरा कुरा पनि छन् । अनि कसरी मिन्झारी टिकापुरको मात्र हुन्छ ? चौधरीको मात्र हुन्छ ?

जसको कथाव्यथा बेचेर नामी पुरस्कार पाए, त्यो ठाउँमा फर्केर हेर्दैनन् । मात्र ठूला कुरा गर्छन् उनीहरू । पुरस्कारलाई लेनदेनको माध्यम बनाउनेहरूले सुदूरपश्चिमका, कर्णालीका कथा नबुझ्नेहरूलाई पुरस्कार दिन आन्तरिक गृहकार्यमा होलान्, तर सुप र कर्णालीको कथा बोकेको उपन्यासलाई पढ्दैनन् । पढ्यो भने, लेख्यो भने, पुरस्कार यसैले पाउँछ फेरि । हामीले लेनदेन गर्न पाउँदैनौ लागेको होला र मौन छन् मुखियाहरू । तर मिन्झारीका लेखक मिन्झारीभित्रका सबै ठाउँमा छन् । मिन्झारी सबैभन्दा धेरै सुपमा किनिनु पथ्र्यो, पढ्नु पथ्र्यो । सुपमा देश खाएका कविहरू छन् । लेखकहरू छन् । तर सुपमै मिन्झारीले बजार पाउँदैन । कारण एउटै रहेछ, मुखियाहरू र गुट-उपगुटको सिकारमा परेछ मिन्झारी ।

मिन्झारीको गृहनगरमै हेरौँ न । मिन्झारी किनेर पढ्नेहरू त्यति धेरै भेटिँदैनन् गृहनगरमा । बौद्धिक व्यक्ति नभएका हुन र ? शिक्षकहरू नभएका हुन र ? पत्रकार नभएका हुन र ? साहित्य चेत नभएका नै हुन र ? राजनीतिज्ञ नभएका हुन र ? होइन । आफ्नो क्षेत्रको सर्जक या भनौँ लेखकले सङ्ग्रह निकाल्दा गृहनगर नै नबोल्दा, शिक्षक वर्ग, पत्रकार र साहित्य चेत भएकाहरू नबोल्दिनाले नयाँ सर्जकलाई उत्साह कहाँबाट आउने ? लेख्ने प्रेरणा कहाँबाट मिल्ने ? यी सबैको कारण एउटै लागिरहेछ मलाई, मिन्झारीको लेखक नागरिक उन्मुक्ति पार्टीको मान्छे हो । तर मेरो बुझाई गलत हुन सक्छ ।

विचार तपाईंको अलग होला । मेरो अलग होला । त्यो फरक पाटो हो । तर यहाँ सर्जक या भनौँ लेखकलाई राजनीतिकरूपमा नहेरियोस् र पढ्न सुरु गर्नुस् त मिन्झारीमा तपाईं हाम्रो यथार्थ चित्रण गरिएको छ ।

मिन्झारी प्रकाशकको जिम्मेवारी लिने प्रकाशन गृहका कमीकमजोरी तमाम छन् । प्रकाशक गृह नयाँ भएर होला या नजानेर होला, गल्तीहरू धेरै छन् । त्यतातिर म लाग्दिनँ । अन्त्यमा यतिचाहिँ भन्छु । मिन्झारी पढ्नलाई पाठकहरूमा अनुरोध गर्दछु ।