प्रस्तुत ग्रन्थले केवल युद्ध वर्णन प्रस्तुत गर्ने होइन अपितु यसले  नेपाली साहित्य र चिन्तनका विविध पक्षलाई छुन्छ । विशेष गरी हाम्रा जातीय गौरव मास्टर मित्रसेनलाई धेरै पक्षबाट चिनाउँछ ।

लाहुरेको रेलिमाई शीर्षक कृतिका बारेमा केही समालोचकीय टिप्पणी प्रस्तुत गर्ने यस अवसरको लागि कृति स्रष्टा विजय हितान एवम् प्रकाशक साङ्ग्रिला बुक्सका भाइ मणि शर्माप्रति आभार प्रकट गर्दछु । यसै अवसरको लागि दमकदेखि अस्तिका दिन म यहाँ आइपुगेको हुँ । आजको उत्सवमा उपस्थित वक्ता मध्ये अति प्रसिद्ध कला साधक  चन्तिक एवम् प्रस्तोता  भाइ श्री प्रकाश सायमी, अतिथि आगन्तुक मुक्ति बराल, डा शृजना शर्मा, राजकुमार बानियाँ, बहिनी बिमला तुम्खेवा एवम् उपस्थित सम्पूर्ण साहित्य प्रेमीमा शुभ  अपराह्न भाव प्रकट गर्दछु ।

लाहुरेको रेलिमाई शीर्षक कृतिका (पुनः) स्रष्टा श्री विजय हितान भाइलाई पहिलोपल्ट बेलायतमै भेटेँ । मसित जडित भए पछिको डेढ दशक मात्र व्यतीत भएका छन् । तर यो छोटो अवधिमा उनले एक पछि अर्को गर्दै बाह्र थान कृति प्रकाशित गरी सकेछन् । सबै कृति एउटै उद्देश्यतिर लक्षित छन्, त्यो हो– नेपाली साहित्यमा पर्यावरणीय चेतनाको प्रवाह । लाहुरेको रेलिमाई भने भिन्न थिम बोकेर आएको छ । त्यो थिम हो युद्धको । यो उनको प्रथम औपन्यासिक कृति हो जसले प्रथम विश्वयुद्धको भीषण रूप प्रस्तुत गर्दछ जसमा नेपाली जाति पहिलोपल्ट युद्धाग्निमा होमिएका थिए । उनीहरूलाई होम्ने ता अरू नै थिए — सात समुद्रपारि बसेर विश्व एक साम्राज्यका आकाङ्क्षी बेलायती बादशाह ।

तर यस आख्यानको निर्मित भिन्न छ । यो मास्टर मित्रसेनको जीवन र कर्मको अभिलेख उनै मित्रसेनको डायरीमा आधारित उपन्यास हो । त्यो सामाग्री लिएर विजयले भिन्न विधाको कृति बनाए, आख्यानेतर गद्यलाई आख्यानमा परिणत गरे, एउटा नन-फिक्सनलाई फिक्सन बनाए । यस्तो कृतिलाई जीवनीपरक उपन्यास (बायोग्राफिकल नोभेल) भनिन्छ । यो भनेको स्रष्टाले अन्य व्यक्तिको बारेमा लेखेको आख्यान हो जस्तै बसन्ती, सेतोबाघ । यसका पनि ऐतिहासिक (हिस्टोरिकल) आत्मजीवनीपरक  (अटोबायोग्रफिकल) आदि भेद छन् ।

तर जुनसुकै पनि कृति कालक्रमले ऐतिहासिक भइहाल्छ । प्रस्तुत ग्रन्थले केवल युद्ध वर्णन प्रस्तुत गर्ने होइन अपितु यसले  नेपाली साहित्य र चिन्तनका विविध पक्षलाई छुन्छ । विशेष गरी हाम्रा जातीय गौरव मास्टर मित्रसेनलाई धेरै पक्षबाट चिनाउँछ । उनलाई नेपाली/गोर्खाली जातिले एक अति लोकप्रिय गायकको रूपमा चिन्यो । हाम्रा बा आमाहरूले उनका खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले, धानको बाला झुल्यो हजुर देशै रमाइलो एवम् लाहुरेको रेलिमाई फेशनै राम्रो जस्ता लोक गीत, कति युद्ध गीत, कति प्रेम गीत कण्ठ पारे, कति उनका भजन अझै गाउँदै छन्, नाटक खेलिँदै छन् । तर उनी एक महान् योद्धा थिए र प्रथम महासमरमा भाग्यले शहीद हुनबाट बचेँ भन्ने जीवनी इतिहास कमैलाई थाहा छ । यस कृतिका प्रमुख विशेषता निम्न प्रकार छन्–

क) दैनिकीमा उपन्यास साहित्य (डायरी नोबेल)

ख) नेपाल बाहिरको नेपाली इतिहास, भूगोल, संस्कृति चिन्ता

ग) जातीय  अवस्थाको तत्कालीन चिन्ता

घ) प्रथम नेपाली वाग्गेयकारको साधना र प्रस्तुतिको इतिहास

ङ) प्रथम नेपाली नाटक सिर्जना र प्रस्तुतिको इतिहास

च) युरोपेली  महासमरको नेपालीमा पहिलो  प्रत्यक्ष वर्णन

छ) सैन्य जीवन र  लाहुरे समाजको चित्रण

ज) यस समाजभित्रको भाषिक स्थिति, अनि

झ) विश्वको वैज्ञानिक उन्नति र हाम्रो स्थिति ।

यो यस्ता अनेक कुरा प्रस्तुत गर्ने एक महादर्पण हो । आज यसरी मास्टर मित्रसेनको संगीतमाथि प्रथम विद्यावारिधि गर्ने गुवाहाटी विश्वविद्यालयका नेपाली विद्वान् प्रा. खगेन शर्मालाई सम्झिरहेको छु । उनीद्वारा लिखित नेपाली सङ्गीतका भानुभक्त: मास्टर मित्रसेन थापा शीर्षक कृति सम्झिँदै म यी शब्द लेखिरहेको छु । त्यसै गरी खगेन शर्मालाई विद्यावारिधि गराउने गुरु प्रा. माधव पोख्रेल सरलाई नमन गर्दै म अलिकति अघि बढ्दछु । मगन पथिक, सुवास दीपक, प्रकाश सायमी, त्रिलोक सिंह थापा मगर अन्य अनुसन्धाता एवम् अध्येताको योगदानको पछि चर्चा गरौँला ।

मास्टर मित्रसेनभित्र अझै धेरै जना विद्यावारिधि सुषुप्त अवस्थामा रहेछन् । यो बुझ्दै जाँदा सय वर्षपछि नेपाली समाज ब्युँझेर उक्तै छ जस्तो लाग्छ । आजको यो कर्म पनि त्यस्तै एक ब्युँझाइ हो ।  यसको पृष्ठभूमिमा विजय हितानको सात वर्षे त्याग छ ।

मैले धेरै वर्ष अघि उत्तर आधुनिक विमर्श नामक ग्रन्थमा चिनाएका विश्व साहित्यका नवीन प्रवृत्तिहरूको परिचय दिँदा पर्यावरणीय साहित्य एक थियो । त्यही साहित्य सिद्धान्त पक्रेर अघि लागेका विजय हितान एक सशक्त अभियन्ता, स्रष्टा र प्रवक्ता बनेका छन् । उनको अगुवाइमा तयार हुन लागेका दुई सामग्री यतिखेर प्रेसमा छन् । एउटा हो “पर्या साहित्य सिद्धान्त र सिर्जना”, अर्को छ उनकै कथा सङ्ग्रह “ब्लु प्लानेट” शीर्षक कृतिको अङ्ग्रेजी अनुवाद । ती आएपछि नेपालीले खोजेको पर्यावरणीय साहित्यको ठुलो वर्णमाला उपलब्ध हुनेछ साथै यो भन्दा पहिले ब्लू प्लानेटको अनूदित अङ्ग्रेजी संस्करणले नेपाली साहित्य जगत्लाई देखाएको एक सूक्ष्म  प्रयत्न ठहरिने छ । त्यो वैश्विक पाठक समक्ष  प्रस्तुत गर्नेछ, सम्झेर कति खुसी लाग्छ. ।

त्यसै गरी उनका बारम्बारका ग्रन्थमा मैले चिनाएका विजय हितान मगर अर्ध बेलायती भैसकेका सेवानिवृत्त लाहुरे हुन् । तर उनीभित्र नेपाली साहित्यप्रतिको आस्था, चिन्ता र उत्साहको पोखरी सदा तरङ्गित देखिन्छ । त्यसैले नेपाली पर्यावरणीय साहित्य विषयको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन आयोजित छ आउँदो महिना काठमाडौँ त्यो सम्पन्न हुनेछ । त्यसैका लागि पनि उनी आएका हुन् त्यसै अवसर पारी यो उनको सात वर्षको तपस्याको परिणाम लाहुरेको रेलिमाईको लोकार्पण तथा विमर्श आयोजित भएकोले हामी उपस्थित भएका हौँ । विजय एक व्यक्तिभित्र अनेक चिन्ता र उत्साह भरिएका स्रष्टा हुन् । यो ऐतिहासिक महतत्वको कृति भएकाले यसले अनेक नेपाली अध्येतालाई एकै चोटि आह्वान गर्दछ । यस कृतिको मूल्य स्थापनार्थ म थप केही कुरा प्रस्तुत गर्दछु ।

सर्वप्रथम यस प्रकृतिका नेपाली जातिले विदेश भ्रमण गरेका कृति मध्ये पहिलो हो जङ्गबहादुरको बेलाइत यात्रा । सम्बत १९०६ को उनको यात्राले सो लेखायो यद्यपि यस कृतिका लेखक सदा अज्ञात छन् । यो १०९ वर्ष पछि सम्बत २०१६ सालमा मात्र छापियो । त्यसका निमित्त थिए जगदम्बा प्रकाशनका प्रसिद्ध साहित्यकार श्री कमल दीक्षित ।

त्यसमा नेपाली शासक ठुलो हुँदा र बन्दोवस्तीका सामानसँग पानी जहाज चढी सात समुद्र   तरेको, बेलायत घुमेको, नयाँ कुरा देखेको, छ महिनापछि फर्केको कथा छ त्यसले यो देशमा धेरै परिवर्तन पनि भित्र्यायो ।

दोस्रोमा सर्वसाधारण नेपाली नागरिकलाई युरोपका मुलुक पुर्‍याउने अवसर प्रथम विश्वयुद्ध थियो, त्यो जर्मन विरुद्ध बेलायती शासकको युद्ध थियो । त्यसको एक सय वर्षअघि गरिएको सुगौली सन्धिले भारतमा बसेका नेपाली जाति पनि बेलायती सम्राट् जर्ज पञ्चमका नागरिक घोषित भए । यता नेपालबाट पनि चन्द्र शमशेरलाई फकाएर हाम्रा युवालाई भर्तीमा लान मिल्ने गराए । त्यस पूर्वको विशाल नेपालको विस्तारित भूमि पन्जाबको भाग्सुमा हुर्केका मित्रसेन थापा गोर्खाली पल्टनमा थिए । कस्तो जटिल इतिहास छ हाम्रो ! उनका बाबु बाजे नै त्यहीँ थिए । त्यो नेपाली भूमि थियो । त्यसैले आज पनि हाम्रा मनमा माधव घिमिरे बज्छन्– पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगे थ्यौँ।

तेस्रोमा लाहुरेको रेलिमाईको आधार कृति मित्रसेनको युद्ध डायरी भनौँ लामो दैनिकी रहेछ ।  सन् १९१४ देखिको उक्त डायरीमा भाग्सुदेखि पठानकोट हुँदै बम्बै पुगेर पानी जहाजमा चढी सयौँको गोर्खाली पल्टनले सागर काट्यो फ्रान्स पुग्यो बेल्जियममा लड्यो बेलायत पुग्यो मेसोपोटामिया लड्यो र पाँच वर्षपछि बाँचेकाहरू फर्की आए ।

जङ्गबहादुरको युरोप यात्रा गणनाको ६६ वर्षपछि लाहुरेको रेलिमाईको सामाग्री (डायरी) लेखियो, मित्रसेनले लेखे तर प्रस्तुत कृति पुनर्निर्मित (रिभिजिटेड, रिमेड) कृति भएकाले यसको भाषामा त्यो मौलिकता कम्ती होला । त्यसो गर्दा कति पुरानो भाषा तत्त्व प्रतिस्थापित भयो होला । पुरानो  भाषालाई नयाँ बनाउन सकिन्छ, भानुभक्तलाई नवीकरण गरेरै बुझिन्छ तर कुनै लेखनलाई भानुभक्तकालीन (पुरानो) बनाउन सकिन्न । लाहुरेको रेलिमाईको भाषा सुरुमा जहाजी यात्राको छ, त्यसपछि युद्ध भूमिको अन्त्यको डेढ सय पृष्ठ जति मित्रसेनका यात्रा, पारिवारिक दुख, समाजसेवा, साहित्य संगीत आदिले भरिएको छ तर उनको मूल लेखनमा युद्ध कला, जुक्ति, भय सन्त्रास आदि कुराले भरिएको छ । युद्ध सामग्री रणनीति सङ्गठन आदि बारम्बार आइरहने हुनाले पाठकलाई युद्ध साहित्यको अर्कै भाषा  हुँदो रहेछ भन्ने थाहा हुन्छ । यो कृति लाहुरे साहित्यका शब्द पद र वाक्यले भरिपूर्ण छ । यो विशुद्ध दैनिकी रूपमा छ ।

तर प्रथम खण्ड भने अरू तीन कृति झैँ यात्रा वर्णनले भरिएको छ । एक नमुना: बन्दरगाहको पिँधबाट पानीजहाजको एङ्कर तानेपछि २४ अगस्त १९१४ को छकालै बम्बै छोडेको हुँ । नाडी जत्रो मोटो जुटको रस्सिले जहाजलाई अड्काइएको थियो । किलामा बाँधेको भैँसीको दाम्लो फुकाएजस्तै गरी रस्सी फुकाएर जहाजलाई मुक्त गरियो । त्यसपछि हिन्द महासागरमा पौडी खेल्दै अघि बढ्न थाल्यो, मलाई उसभित्रको कैदी बनाउँदै । मानूँ, सिङ्गो कारागार पानीमा तैरिँदै थियो, आफ्नो नेभिगेशन कम्पासमा इजिप्टको स्वेज नहरलाई पहिलो गन्तव्य बनाउँदै । कति दिन पानी माथि तैरिनु पर्ने हो । हे गोरखनाथ, सामुद्रिक आँधी नआओस् लाहुरेको रेलिमाई (पृष्ठ  १७) ।

तर नेपालीमा युद्ध साहित्यको लिखित दस्ताबेज पढ्ने कुरा नेपाली पाठकलाई नौलो कुरा लाग्न सक्छ । मौखिक रूपले गाउँघरमा बोले पनि लिखितमा पढ्ने अवसर कमैले पाएका हुन्छन् । लाहुरे शब्दावलीको यत्रो भण्डार बोकेको अर्को साहित्यिक कृति नेपालीमा आएको छैन । केही उदाहरण– सेक्शन, बर्गन, सिओ, ओपी, फ्रोण्ट, डेक, अलाइड फोर्स, डिप्लोइङ, डेक, जिरोइङ, फ्टिग पार्टी, क्यामोफ्लाजश, ट्रेञ्च पुल थरु, ब्यनेट ट्रेनिङ, प्रेस अप, सिट अप, ब्रिज ब्लक, इन्फेण्ट्रि, ट्रेञ्च, सिग्नलर, एच आवर, म्यागेजिन कक यस्ता अङ्ग्रेजी मूलका शब्द सङ्ख्या सात सय जति होला । त्यसका साथै हिन्दी, उर्दूबाट आएका मिलिटरी र अन्य जगत्का शब्द यस्ता छन् — रसोइघर गुसलाखाना, रिवाली, फोडा….त्यसै गरी कति पश्चिमका स्थानीय बोलिएका छन्– झाम्रे, झ्याँक्नु आदि शब्द छन् सबै गरी एक हजार पुग्लान नवीन् शब्दहरू ।

त्यसको पनि चालीस वर्षपछि अर्को कृति तयार भयो — मुलुक बाहिर म । यसका लेखक हुन् लैनसिंह वाङ्ग्देल । फ्रान्समा कला अध्ययन गर्न गएका बेला १२ वर्ष लाएर लेखेका डायरीको विशाल ग्रन्थ डिना वाङ्गदेल र देवेन्द्र भट्टराईले सम्पादन गरी लेखिएको ५३ वर्षपछि प्रकाशनको लागि तयार पारे रत्न पुस्तक भण्डारले २०७५ मा प्रकाशनमा ल्यायो । यो पनि नेपाली साहित्यको एक अमूल्य निधी  हो । मुलुक बाहिर म त्यस्तै दिन, बार नबिराई लेखिएको दैनिकी स्वरूपमा छ । त्यसमा सत्तरी वर्ष अघिको दार्जिलिङे भाषा छ । आज ता बिहान चढेर बेलुका बेलायत पुगिन्छ । मित्रसेन भन्दा ४० वर्ष पश्चात् त्यही स्वेज नहर इजिप्ट लाल सागर काटेर बेलायत जाने लैनसिंह बांग्देलको एक भाषिक नमुना यस्तो छ: १३ फरबरी १९५३ — कलकत्ताको खिदिरपुर डकबाट आज तीन बजे यो जहाज “जलाकीर्ती” उठ्नु पर्‍यो । आजदेखि यात्रा सुरु हुनेछ ।

त्यसको केही दिनपछिको डायरीमा उनी लेख्छन् — यो जहाजमा यात्रा गर्नु साह्रै असल रहेछ ।  क्याबिनमा पनि आराम छ । खाना कुनै लर्ड फ्यामिलिको जस्तो छ । यत्ति किसिमको खाना यहाँ दिइन्छ जसको मलाई कहिले पनि अनुभव थिएन । यतिका वर्ष मैले सङ्घर्षमा बिताएँ । यहाँसम्मको आराम पाउन सकुँला भन्ने आशा पनि थिएन । ‘मलाई यस प्रकारको आराम सुखभोग जाती लाग्दैन । हामीले जति मात्रामा यी सब सुख भोग गर्छौं यी सबमा गरिब मजदुरको पसिना सिञ्चित भएको छ ।

त्यसको निकै दिन पछिको डायरीमा यस्तो लेख्छन्- यो लामो यात्रा कहिले सिद्धिएला भने जत्तिकै लागिसक्यो । धैर्यको बाँध तोडिन लागेको छ, यात्रा आरम्भ गरेको २१ दिन भइसक्यो, अहिले हामी रेड सी (लाल सागर) मा छौँ तर यही २१ दिन वर्ष दिन जति लामो  लाग्छ ।

त्यसको बिस वर्षपछि वी पी कोइरालाद्वारा लेखिएको हिटलर र यहुदी युरोप यात्राको चौथो कृति आयो जुन नेपाली साहित्यको प्रथम डायरी उपन्यास हो ।

प्रथम विश्वयुद्ध चलेको बेला वी पी कोइराला जन्मेका थिए । त्यस विभीषिकालाई मित्रसेनले भोगे र यथारूप उतारे पनि । त्यसपालि अङ्ग्रेजी साम्राज्यको पक्ष लिएर जर्मन विरुद्धको युद्धमा होमिने  लाख नेपाली युवाले जीवनको बलिदान दिए । तर त्यस बेला जन्मेको राष्ट्र-राष्ट्रबिचको द्वेष र द्वन्द्व कहिल्यै रोकिएन । त्यसैको प्रतिशोधमा तीस वर्ष पश्चात् हिट्लरले कत्रो नरसंहार गर्‍यो । त्यसको नेपाली प्रमाण हिटलर र यहुदी हो । तर लाहुरेको रेलिमाई विश्वयुद्ध भोक्ताको वर्णन हो भने हिट्लर र यहुदी भ्रमण र अध्ययनमा आधारित परोक्ष सूचनाको भर गरी लेखिएको कुरा । यसका भाषाको एक नमुना, एक छिन पछि रेलिङबाट अलिक समुद्रपट्टि झुकेर रेवाले भनी – मलाई रात बडो मन पर्छ, दिनभन्दा ।

रेड सीको रात बाक्लो थियो । दिउँसोको बतास थामिएको थियो . अँध्यारोमा बालुवाको कुइरो देखिँदैन थियो । हावा ठप्प बन्द भएकाले वातावरण भारी भएको थियो । जहाजको चर्खीले मथेको पानी  बत्तीको प्रकाशले माथि डेकमा टल्किन्थ्यो । अन्धकारको महासमुद्रमा जग्मगाइरहेको थियो हाम्रो जहाज हजारौँ बिजुली बत्तीमा । (हिटलर र यहुदी पृष्ठ ५१)

हालै नेपाली साहित्यमा अर्को कृति प्रकाशित छ वी पी कोइराला भन्दा २२ वर्षपछि  दार्जिलिङमा जन्मेका धनाहांग सुब्बाले बेलायती सेनामा प्रवेश गरी बोर्नियो मलेसिया साराभाक आदि पूर्वका  युद्ध भूमिको अनुभव समेटेर लाहुरे म समुद्र वारि पारि नामक कृति भर्खरै प्रकाशित गरे । उनले ती युद्ध भोगेको त पचास वर्ष बितेका छन् । यो पनि स्मृति र डायरीको नवलेखन हो । यतिखेर ८८ वर्षीय धनाहांग दार्जिलिङमा उपचार गरिरहेका छन् । यो पनि दैनिकी स्वरूपमा छ ।

यसरी अक्षरमा उत्रिने दिन आउला भनी पाण्डुलिपिले पर्खेर बसिरहँदो रहेछ । लेखक बितेर गए पनि कुनै एक दिन त्यो जन्मिने रहेछ । त्यो दिन उदाउँदो रहेछ । धनाहांग सुब्बा बाहेक अरू चार लेखक अस्ताए, आफ्ना कृति नदेखी बितेर गए तर जतिसुकै लामो भए पनि रात सकिएर दिन उदाउँदो रहेछ । सम्पूर्ण नेपाली स्रष्टालाई यी चार कृतिले सन्देश दिन्छन् । त्यसो ता हाम्रा आदिकविले पनि  आफ्नो युगान्तकारी कृति देख्न पाएनन् ।

अब मलाई निश्चय भएको छ लाहुरेको रेलिमाई नेपाली युद्ध साहित्यको प्रथम कृति रहेछ । त्यसो त भोटको लडाइँ मणिपुरको लडाइँ, बर्माको लडाइँ विषयमा पनि लोक साहित्य रचिएका छन् तर युरोप पसेर आधुनिक युद्ध देखे-भोगेको त्रासदीलाई शब्द दृश्यमा ल्याउने  यो नै प्रथम कृति हो ।

पाँच वर्ष लडाइँमा  बिताउने मित्रसेनको एक दिनको डायरी यस्तो छ:

यतिखेर हाम्रा जवान दुस्मनले ट्रेञ्चभित्र प्रवेश गरिसकेका थिए । यो जानकारी पछाडि हेड क्वाटरलाई दिन खोज्दा टेलिफोन विच्छेद भयो । नरसिंह र म टेलिफोनको लाइन पच्छ्याउँदै   तलतिर लाग्यौँ। सात सय गज जति पछाडि तार चुँडेको अवस्थामा रहेछ । मैले मर्मतको प्रयास गरेँ । तर त्यहाँ खुला स्थान भएकाले दुस्मनको गोली बर्सिन सक्थ्यो । नजिकैको सिचाई नहरको कल्भर्टमुनि ल्याएर तारलाई मर्मत गरेँ । मैले यसो गर्दागर्दै नरसिंहले कभरिङ फायर दियो टेलिफोनको मर्मतपछि  हामीहरू पुनः ट्रेञ्चतिर फर्कियौँ ।

दृश्य भयावह थियो । युद्धको स्वरूप यस्तो पो हुँदो रहेछ, त्यो अकल्पनीय दृश्य हेर्न नसकी रिँगटा चल्यो एक चोटि बेस्सरी आँखा चिम्लेँ । रिँगटा चलेजस्तो भयो । ट्रेन्चहरू सबै क्लियर छन् । वरिपरिबाट कुनै जोखिम छैन भन्ने तसल्ली गरेपछि सबै कम्पनीले आफ्नो ओब्जर्भेशन पोस्टमा ड्युटी खटाए । राति अबेला बेस क्याम्पबाट पकाएको राशन सप्लाई आयो । मिस्तिनमा थापेर खायौँ । बिहानीपख नरसिम्हा र मैले एकै छिन आँखा झिमिक्क गर्यौं ।

यसको सार हो डेनी देंजोक्पा र आशा भोसलेले गाएको युद्ध गीत– आगे आगे तोपैको गोला, पिछे पिछे मशिनगन बरर ।

आज आएर विश्वाशदीप तिगेला, दयाकृष्ण राई, गणेश राई, मिजास तेम्बे,नरेश काङमाङ, टंक वनेम, सुमल कुमार गुरुङ, जगत् नबोदित, दुत बहादुर पुन, मूलिबिर राई लगायतका पचास भन्दा बढी बेलायतका नेपाली स्रष्टाले युद्ध साहित्यमा उल्लेख्य योगदान गरेका छन् । केही वर्षअघिको फाेक्लयाण्ड युद्धमा लडेर आउने गणेश राई, अफगानिस्तानी युद्धमा दश वर्ष बिताएर तिनका कृतिसँगै आउने केदार सङ्केत र ६०० पृष्ठको युद्ध सौन्दर्य चिन्तन नामक कृति प्रकाशन गर्ने रक्ष राई नेपाली साहित्यका वन्दनीय स्रष्टा अनुसन्धाता हुन् तर दुखको कुरा के छ भने युद्ध साहित्य विश्व साहित्यको  एक अपरिहार्य   शाखा हो भन्ने कुरा थाहा नभएर होला हाम्रा विश्वविद्यालयले त्यसतर्फ ध्यान दिएको छैन र युद्ध साहित्य अनि समालोचना उपेक्षित छन्; स्रष्टा योद्धा सबै उपेक्षित नै छन् ।

अन्त्यमा एक महत्त्वपूर्ण कुरा के छ भने लाहुरेको  रेलिमाई विधागत हिसाबले हेर्दा एक आख्यान हो, जीवनीपरक उपन्यास । जीवनीपरक उपन्यासबारेमा मैले विश्व साहित्यबाट दृष्टान्त लिएर  सुकरातको डायरी शीर्षक औपन्यासिक कृतिमा निकै नमुना प्रस्तुत गरेको छु, त्यसमा दृष्टि दिनुहुन  समेत विज्ञ पाठक समक्ष अनुरोध गर्दछु ।

जीवनीपरक उपन्यासको कुरा गर्दा नेपाली साहित्यमा हालसम्ममा मैले अध्ययन गरेका तीन वटा मास्टर पिस छन् । ती हुन् :

क) लीलबहादुर छेत्रीको आफ्ना पिताजीलाई पात्र बनाई लेखेको प्रतिध्वनिहरू विस्मृतिका  शीर्षक उपन्यास (सन् १९८६) ।

ख) पान्थरका बीरेन्द्र थोक्लिहाङ्गकृत स्वामी फाल्गुनन्दको जीवनीमा आधारित फाल्गुनन्द शीर्षक उपन्यास (२०७८) ।

ग) त्यसै गरी विजय हितानको मास्टर मित्रसेनको जीवन र कर्ममा आधारित प्रस्तुत लाहुरेको रेलिमाई शीर्षक उपन्यास (२०८०) ।

यो एक नवीन विधामा कसैले उच्च अध्ययन गरिदिए हुन्थ्यो । यस्तो उपन्यासमा सत्य कथाको फ्रेमभित्र लेखकको आफ्नो कला र कल्पना हुन्छ । विजयले त्यही गरेका छन्, त्यही भनेका छन् । यो कृति नेपाली साहित्यमा कठिन कर्म गर्नलाई  समर्पित  स्रष्टाको कमी छैन भन्ने एक प्रमाण पनि हो ।

यत्रो ग्रन्थ तयार पार्दा कताकति केही त्रुटि पनि लुकेर बसेका छन् — जस्तो कि रिडनडेण्ट हुनुपर्ने रिस्तन्देण्ट भएको छ । तर गल्ती अत्यन्त थोरै नगण्य छन् ।

युद्ध सकिएपछि मित्रसेन सम्पूर्ण रूपले संगीत र साहित्यमा अनि समाज सेवामा होमिए । पुर्खाको थलो गुल्मी आए । उनी बटौलीबाट उँभो लागेका थिए । त्यो बाटो पढ्दा हालै मुक्ति उपाध्यायले लेख्नु भएको पदचिह्न पछ्याउँदै भन्ने उपन्यासको बाटो त्यही रहेछ भन्ने लाग्छ ।

त्यसपछि शिलाङ्ग गए अनि फेरि कलकत्ता र बनारस गई गीत रेकर्ड गराउने पुस्तक प्रकाशन  गर्ने यस्तै सिर्जनाका काममा लागे । अन्त्यमा नेपाल दरबार पनि पुगे । जीवनभरि दुख अवहेलना र वियोगका पीडा खपेर अल्पायुमै बित्ने  मित्रसेन (सन् १८९५-१९४६) का कृतिले उनलाई सर्वोच्च स्थान दिलाउनेछ । अहिले अर्थ लाग्दै छ हाम्रा विजय हितान पनि मास्टर मित्रसेनकै पदचापका अनुयायी बनिसकेछन् । वास्तवमा जीवनको सार्थकता भन्नु नै कला सिर्जना वा मानवताको पक्षमा कुनै सार्थक योगदान दिएर छाड्नु मात्र रहेछ ।

सुखका सपना सबैका उस्तै हुन्, दुखका भारी सबैका उत्रै छन्,  मृत्युले सबलाई उसै गरी ढुकिरहेकै छ । तर दूर दृष्टि प्राप्त व्यक्तिले मात्र कहिल्यै नमासिने कर्म गर्दो रहेछ । त्यो आज प्रकाशमा आओस् कि नआओस्, समाजले प्रशंसा गरोस् कि निन्दा — त्यसको  चिन्ता लिनु व्यर्थ रहेछ । रेलिमाई पढ्दा वितरागी मित्रसन एउटै साधनामा लागेर जीवन अर्पण गर्ने सन्त रहेछन् भन्ने लाग्छ । फ्रान्सेली नोबेल लरेट प्याट्रिक मोदियानोले भनेका छन् — जसरी पनि सिर्जना गर्नोस् एक दिन समयलाई त्यो सारा नपढी सुख छैन । आज त्यो यो प्रमाणित भएको देख्न पाइछ । एक सय वर्ष अघिको महासमरमा लेखिएको त्यो कथालाई समयले बल्ल आज हामी समक्ष प्रस्तुत गरेको छ, अक्षरमाथि विजय गर्ने अरू कुनै शस्त्रास्त्र रहेनछ भन्ने हामीलाई विश्वास हुन्छ ।

डा. खगेन शर्माका अनुसार मित्रसेनका बिस वटा नाटकका पाण्डुलिपि अप्रकाशित छन् । एउटा उनले छपाइदिए । ती छाप्ने हो भने मित्रसेनको मूल्याङ्कन कहाँ पुग्थ्यो होला । दार्जिलिङका एक सज्जनले ती सामग्री छाप्ने  वचन दिनु भएको छ अरे; हामी हात जोडेर बसेका छौँ । किनभने मित्रसेन नेपाल भारत दुवैतिर समान रूपले पूजित छन्, मित्रसेनका एकै पल्टने बहादुर सिहं बरालको धेरै ठाउँ उल्लेख छ । उनीहरूको कति गहिरो मित्रता रहेछ तर बरालको आँसु कृति प्रकाशन गर्दा मित्रसेनको योगदानको उल्लेख नभएको गुनासो नेपाली पाठक लेखकमा व्यापक छ ।