
नेपाली मुक्तक साहित्यको समकालीन आकाशमा बाबुराम पोखरेल एक सुपरिचित नाम हो । खोटाङ जिल्लाको खार्पामा जन्मिनु भएका पोखरेलले नेपाली विषय र शिक्षा शास्त्रको शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी लामो समयदेखि नेपाल सरकारको शिक्षा सेवी कर्मचारीको रूपमा कार्यरत हुनुहुन्छ । स्वदेशका विभिन्न भू–भागदेखि विदेशमा भारत, डेनमार्क, नर्वे, स्विडेन र कतारको भ्रमण गर्न भ्याउनुभएका पोखरेलका तीन वटा कृतिहरू– बालमैत्री विद्यालयमा सिकाइ क्रियाकलाप (२०६९), शब्दचित्र मुक्तक सङ्ग्रह (२०७५) र गोलढुङ्गो मुक्तक सङ्ग्रह (२०७८) प्रकाशित कृति हुन् भने यसका साथै ओखलढुङ्गा दर्पण (२०५४), माइवेनी (२०६७), विद्यालय सञ्चालन हातेपुस्तिका (२०६८), मुक्तक मञ्जुषा सामूहिक मुक्तक सङ्ग्रह (२०७८) उहाँद्वारा सम्पादित कृतिहरू हुन् । मूलतः मुक्तक लेखनमा आफूलाई समर्पित गर्नुभएका स्रष्टाको पछिल्लो मुक्तक गोलढुङ्गो मुक्तक सङ्ग्रहमा दुई सय एक थान मुक्तकहरू समेटिएका छन् ।
गोलढुङ्गो शीर्षक आफैँमा प्रतीकात्मक छ । यसले गहनतम व्यञ्जना शब्द शक्तिमा अर्थहरूको सङ्केतन गर्दछ । स्रष्टाले आफैँलाई गोलढुङ्गो उपमा दिएका छन् । गोलढुङ्गो याने कि गोलो ढुङ्गो जो आफ्नै मर्जीमा गुड्न खायस राख्दछ । आफ्नो अविराम यात्रा आफैँ तय गर्दछ । गुड्न र अड्नमा कसैको टेको-पिँडो आड-अडेसो खोज्दैन । कसैको कृपा, भरोसा र अनुकम्पामा विश्राम लिनुमा गोलढुङ्गोले खासै रुचि राख्दैन । पुग्नै पर्ने ठाउँमा पुगेपछि आफ्नो यात्रालाई यसले आफैँ विराम दिन्छ । सङ्केतमा अभिव्यञ्जित अर्थका अनकन तरेली खोतल्न सकिन्छ । कवि हरेक काव्य पङ्क्तिमा अविरल, अविराम र अहर्निश गुडिरहेका छन् ।
मलाई न पर्खिन्छ न खोज्छ कसैले, म बेटुङ्गो न हुँ
सबैको ध्यान कोसातिर जान्छ, आखिर म त बुङ्गो न हुँ
विश्राम या वास मेरो जुन चौँडिलोमा पनि हुन सक्छ ।
आखिर भिरालो पहाडमा खुस्किएको गोलढुङ्गो न हुँ (पृष्ठ– ४३)
गोलढुङ्गो शब्दले पाठकको मनमा गहिरो कौतुहलता सिर्जना गर्दछ । पुस्तकको आवरण चित्रमा नै एउटा भिरालो पाखाबाट गोलो ढुङ्गो गुड्केर खोँच या मैदानतिर झरिरहेको छ । ढुङ्गोले कुनै ठहराइ खोजिरहेको छ । ढुङ्गो गोलाकार नभई चुच्चो, लाम्चो र क्रोत्र्याहा या आकार नमिलेको भए जाहीँ पनि अडिन सक्थ्यो । जाहीँ पनि थामिन सक्थ्यो । तर, गोलढुङ्गो आफ्नो सुनिश्चित गन्तव्य या मैदान नटेकी जाहीँ ताहीँ रोकिन सक्तैन । आफ्नो यात्रालाई कुठाउँमा विराम दिन जान्दैन । स्रष्टाले थोरै आफैँ उपर गरेको उपेक्षाबाेधको अनुभूति पनि मुक्तकका पङ्क्तिमा बोध गर्न सकिन्छ ।
मुक्तक कविता विधाकै एक सूक्ष्म रूप हो । कविताको वृहत्तम रूप महाकाव्य हो भने सबैभन्दा सानो रूप मुक्तक हो । यो आकारका हिसाबले सानो हुन्छ तर, आफैँमा पूर्ण हुन्छ । छोटो हुन्छ तर, मिठो हुन्छ । सूत्रात्मक हुन्छ तर, चोटिलो हुन्छ । काव्यशास्त्रीहरूले मुक्तकको आकार र आयतन निर्धारण गर्ने क्रममा दुई हरफदेखि सात हरफसम्म तन्किएको रचनालाई मुक्तकको कोटिमा राखेका छन् । तथापि अहिलेका अधिकांश मुक्तककारहरूले चतुष्पदी (चार हरफे) मुक्तकलाई मुक्तक लेखनको आम सर्व–स्वीकार्य शैलीको रूपमा वरण गरेको पाइन्छ । चार हरफे मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास मिल्नुपर्ने, तेस्रो हरफमा अनुप्रास भत्किनै पर्ने आम–नियमलाई अङ्गीकार गरिएको पाइन्छ ।
गोलढुङ्गो भित्रका मुक्तकहरूमा विचरण गर्दा मुक्तकका नियामक अङ्गहरूको सुन्दर तालमेल देखिन्छ । चतुष्पदीय मुक्तकको पहिलो हरफले कवि–मनको भन्नुपर्ने विषयवस्तुको उठानलाई सघाउनुपर्छ भने दोस्रो हरफले त्यही विषयवस्तुलाई समर्थन गर्नुपर्दछ । तेस्रो र चौथो हरफले चमत्कृत रूपबाट झड्का दिएर आफूले व्यक्त गर्न खोजको भावलाई टुङ्ग्याउनु पर्दछ । अर्थात् अति मितव्ययी शब्दमा या कम शब्दमा संश्लिष्ट, सम्पुष्टि र विराट रूपमा आफ्नो काव्यानुभूति सिर्फ चार पङ्क्तिमा खन्याइदिन सक्नुपर्दछ । यसैलाई भन्दछन् – गाग्रामा सागर अटाउनु । विन्दुमा सिन्धु उघाउनु । पोखरेलका हरेक मुक्तकका हरफ हरफमा विषयवस्तुको उठान, समर्थन र भाव समापनको चमत्कृत शैली जाहीँताहीँ स्पर्श गर्न सकिन्छ ।
गोलढुङ्गो भित्रका मुक्तकमा समय र समाज बोलेको छ । नेपाली समाजको दारुण चित्र पनि छ, करुण चित्रण छ, आह्लादकारी सौन्दर्यको पनि उपस्थित छ, कुरूप यथार्थको पर्दाफास पनि छ । समाजका विभेद र होची अर्गेलीहरूको सग्लो चित्र पनि छ, अनाचारी, दुराचारी, भ्रष्टाचारीहरूको चरित्रमाथि प्रहार पनि छ । मुक्तकमा अन्विति भएर आएको कवि–निबद्ध भाव–चेतनालाई समीक्षण गर्दा मोटामोटी यस प्रकारको विचार, भाव र सन्देशको प्रतिविम्बन पाउन सकिन्छ ।
० ० ०
आर्थिक विपन्नताको मार्मिक चित्रण – नेपाली समाज अझै पनि एक छाक मकै अर्को छाक भोकैको नाजुक हालतबाट गुज्रिरहेको छ । संसारका अन्य मुलुकहरू समृद्धिको यात्रामा कहाँदेखि कहाँ पुगिसके । तर, हामी भने जेट युगमा फड्को मार्ने होइन कि पेट युगमै अल्झिबसेका छौँ । भोक, रोग र अभावले आक्रान्त बस्तीमा थाङ्ग्रामा मकै पनि छैन, घुन पनि छैन । नशामा खुन पनि छैन । आँगनमा सुकाउने बिस्कुन पनि छैन, परेवा भोकाएर कन्तबिजोग अवस्थामा बिचल्नी व्यहोरिरहेका छन् भन्दै हाम्रो दुर्दशालाई यसरी चित्रण गरिएको छ ।
थाङ्ग्रोमा मकै छैन त त्यहाँ घुन छैन
सेलाए उत्साह नसामा उम्दा खुन छैन
भोक भोकै विचल्नीमा छन् परेवाहरू
हिजो आज आँगनीमा कुनै बिस्कुन छैन ।
गरिब नेपालीको पेटमा अन्न दाना छैन । ओत लाग्ने छानो पनि हावा हुरीले उडाइदिएको छ । घरको पर्खाल ढलेको छ । नाङ्गो आङ ढाक्ने कुनै गतिलो नाना छैन । त्यस विद्रुप यथार्थलाई यसरी प्रतिविम्बन गरिएको छ ।
झुपडी उडायो हावाले पालमा छु ।
स्वतन्त्र बस्ती, म विना दिवालमा छु ।
जिन्दगी मेरो हिलै हिलो छ अचेल
मानौँ म त धमिलो आहालमा छु । (पृष्ठ ४३)
० ० ०
विसङ्गति र विद्रूप यथार्थको चित्र– मुक्तकमा भित्र युगबोधको भाव छ । समाजबोधको एक हुटहुटी छ । वर्तमान यथार्थको कुरूप चित्रले कविलाई उकुसमुकुस बनाएको छ । देशमा अन्याय छ, अत्याचार छ, शोषण छ, विभेद छ, असमानता छ । आज देशमा न्याय हराएको छ । दण्डहीनता मौलाएको छ । विपन्न र निमुखाले न्याय पाउँदैन । यत्रतत्र सर्वत्र शक्तिशालीकै वर्चस्व कायम छ । आज साधुलाई सुली चढाइँदै छ, चोरलाई चौतारो बनाइँ दैछ । यस्तो विद्रूप, विरोधाभासपूर्ण र विसंगत यथार्थलाई मुक्तकमा यसरी घोलिएको छ ।
अत्याचारले मेरो देशलाई मन पराएछ अचेल
बल्ल फाट्टफुट्ट पाप धुरीबाट कराएछ अचेल
साधुलाई सूली र चोरलाई चौतारो देख्ता
भन्छु मेरो देशबाट न्याय हराएछ अचेल (पृष्ठ –४७)
यस्तो नारकीय दुर्दशामा देशलाई धकेल्ने नाविक भनेका यसै देशका नेताहरू हुन् । पार्टीहरू हुन् । नेता आज देश निर्माणको अभियन्ता होइन; भएको चिज पनि खाने, बिगार्ने, भत्काउने बाँदर भएका छन् । मानौँ आज मुलुक नरिवल भएको छ । जुन बाँदरको हातमा परेर दुरुपयोग भइरहेको छ । यिनै सङ्गिन यथार्थलाई मुक्तकका हरफमा चोटिलो प्रहार गर्दछन् ।
पवित्र नदीलाई अपवित्र टुकुचा जस्तो ढल नबनाऊ
भासिन्छ जति हिँड्छौ, आँगनलाई दलदल बनाऊ
नेतालाई बाँदर भनेको सुन्दा यति भन्न मन लाग्छ
खबरदार ! देशलाई कहिल्यै नरिवल बनाऊ ( पृष्ठ–५३ )
हेर्दा हेर्दै पवित्र नदीको रूपमा रहेको देश दुर्गन्धित टुकुचा बनाइँ दैछ । त्यस कार्यमा देशको नेतृत्व गर्नेहरू नै छ । दलहरूले देशको आँगन खुट्टा भासिने गरी दलदल बनाउँदै छ । त्यसप्रति मुक्तककारको तीव्र रोष छ, आपत्ति छ र त्यस विद्रूप यथार्थप्रति खबरदारीको भाव पनि छ । कविले समाजको नाजुक यथार्थलाई नजिकबाट आत्मसात् मात्र गरेका छैनन्, एउटा जिम्मेवार नागरिक हुनुको नाताले सचेत पहरेदारको भूमिका पनि निर्वाह गरेका छन् ।
० ० ०
सिर्जना, निर्माण र मानवताको स्वर– मुक्तकका कुरूप यथार्थको चित्रण, त्यसप्रति व्यङ्ग्य प्रहार मात्र छैन । सुन्दर यथार्थको प्रतिविम्ब पनि छ । कवि वर्तमान यथार्थकाे गायक मात्र होइन, भविष्य द्रष्टा मार्गदर्शक पनि हो । कुरूप संसार भत्काउन उद्घोष गर्ने वक्ता मात्र होइन, नवीन सृजनाको संसार रचना गर्ने गायक पनि हो । तोड्ने घन मात्र बोक्दैन अक्षरकर्मी स्रष्टा, जोड्न सुलेसन सुपरगुलु पनि बोकेर हिँड्छ । कतर्नाेले काट्न मात्र जान्दैन, सियो धागोले सिउन र उन्न पनि माहिर हुन्छ भन्ने सत्यलाई यसरी व्यक्त गर्दछन् ।
काट्यो, फाट्यो सिउँछु, सम्झ म धागो हुँ
गोलोमा छु, एकताको सम्झ म खागो हुँ
बिच्क्यायौ, जिस्क्यायौ त प्रलय भयो भयो
झिल्कोले नै दग्ध गर्ने सम्झ म आगो हुँ ।
यसरी नै आफूलाई एकताको सूत्रधारको रूपमा उभ्याएका छन् । गोलोमा बस्ने खागोलाई जसले चलाउँछ, बिच्याक्याउँछ त्यसले खराब परिणाम भोग्नुपर्छ, त्यसरी नै विखण्डन र फुट होइन, एकताको गीत गाउने कविलाई कसैले चलाएमा वा बिच्क्याएमा त्यसको परिणाम ठिक नहुने कुराको जनाउ दिएका छन् । त्यसै गरी आफूलाई आगोको प्रतीकको रूपमा बुझ्न पनि उद्घोष गरेका छन् । आगोको एउटै झिल्काले संसार विदग्ध गर्न सक्छ । कुरूप संसार ध्वस्त गर्न म आगो भएर प्रस्तुत हुन सक्छु भन्ने आवाज छ ।
० ० ०
श्रमप्रति सम्मान र कर्मशील भावको उद्वोधन– मुक्तककार आफ्नो इमानमा विश्वास राख्तछन् । कर्ममा भाग्यको फूल फुलाउँछन् । अल्छे, पामर, कामचोर र अर्काको श्रम–पसिनामा मोज गर्ने उपर घृणाका आँखाले हेर्दछन् । भावीले लेखेको सुताहा भाग्यवादी होइन, पसिनाको मसीले आफ्नो भाग्य आफैँले रच्नुपर्ने कुरामा दृढ छन् । कर्मका कोदाली चलाएर मात्र भाग्यको बाली लहलह झुलाउन सकिने विश्वास छ । वर्तमानमा निष्काम भावले कर्म गरेपछि भविष्यमा सकारात्मक नतिजा हात लाग्ने कुरामा उनको आस्था र भरोसा छ, जसलाई मुक्तकका पङ्क्तिमा यसरी पोख्दछन् ।
जिन्दगीमा आफ्नो भाग्य कोर्नुपर्छ कर्मले ।
उब्जाउन बाली, बाँझो फोर्नुपर्छ कर्मले
वर्तमान बुझी निर्क्योल आफैँ गरेपछि
भविष्यमा नतिजालाई व्यहोर्नु पर्छ कर्मले (पृष्ठ – २९)
श्रमप्रति सम्मान र मातृभूमिप्रति अगाध प्रेमका भावधाराहरू मुक्तकका धेरै पङ्क्तिहरूमा अवलोकन गर्न सकिन्छ । देश र माटोप्रतिको चोखो प्रेमले स्रष्टाहरू लबालब भरिएका हुन्छन् । जुन स्रष्टाको सिर्जनामा देश बोल्दैन । जुन स्रष्टाको रचनामा माटोको सुगन्ध छैन । त्यो स्रष्टा कसरी देशभक्त हुनसक्छ र ? आफ्नै मातृभूमिको माटोको टिका निधारमा लाएर देशलाई आवश्यक परेको बखत तुरुन्त हाजिर हुने सङ्कल्प गर्दछन् र पसिनाको कुलो बगाएर रुखिएको धर्तीलाई हराभरा बनाउने अठोट गर्दछन् ।
जति बेला खाँचो पर्छ तुरुन्त म आउँछु
सिञ्चित गर्न पसिनाकै कुलो बगाउँछु
प्यारो मेरो जन्मभूमि आफ्नै आँगनको
दाहिने हातले माटो चिम्टी टिका लगाउँछु । (पृष्ठ – ३०)
० ० ०
आडम्बरी, ढोँगी, जाली झेली प्रवृत्ति उपर कटाक्ष– वर्तमान नेपाली समाजको पाखण्डी चरित्रलाई कविले निर्मम रूपबाट प्रहार गरेका छन् । बाहिर बाहिर साधुको स्वाङ रच्ने ढोँगीहरूले मानिसका आँखामा छारो हाल्दै आएका छन् । पौराणिक पात्रलाई टपक्क टिपेर आजका हनुमानहरू रामप्रति बफादार छैनन्, भित्रभित्र रावणसितै साँठसाँठ गरिरहेको विरोधाभासपूर्ण यथार्थलाई प्रहार गरेका छन् । आजका पण्डित–पुजारी पनि आफ्नो सत्यनिष्ठमा उभिएको छैन । आफ्नो इमान जमानमा परिपक्का छैन । बाहिर धर्मको गीत गाएर भित्रभित्र पाप–कर्ममा संलग्न छ । बाहिर सदाचारको रामनामी बर्को ओढेर भित्र कुकर्म रच्न सिपालु छ भन्ने कुरालाई यसरी खुलस्त गर्दछन् ।
पण्डितको गोजीमा हेर्नुस् त बियरको क्यान रहेछ
जनावरको टाउको जोडिएको मान्छेको ज्यान रहेछ
यति मात्र होइन हिजो मात्र विचित्रै भएको छ हजुर
हनुमान पनि आजकल त रावणको फ्यान रहेछ । (पृष्ठ – ३०)
मान्छे आज आफ्नै वचनमा बेइमानी हुन सकेको छैन । पर्दापछाडि शकुनी कपटी पासा फाल्न हरदम तयार छ । सच्चा मिहेनतले फलाएको फसल पनि असली धर्ती पुत्रले खान पाएको छैन । मनमा कालो बोकेर हिँड्नेहरू रातदिन जालझेल, षडयन्त्र र तिकडमको रचनामा लीन छन् ।
आफ्नै वचन लत्त्याएर यति ठुलो झेल किन भयो ?
कपटी पासा पल्टाउने, शकुनीकै खेल किन भयो
साझा मिहेनतले नै पकाएको असली फसल आज
धर्ती भरीकै कौवामा लागि बेल किन भयो । (पृष्ठ – ३०)
हिँड्थ्यो रे पहिले मनमा निकै कालो बोकेर
बाहिर होइन भित्र भित्र षडयन्त्रको जालो बोकेर
ऊ भन्दा निकै कडा मान्छेको फेला परेछ अचेल
ठिमीको बाटो सोध्छ काखीमा मरेको बिरालो बोकेर (पृष्ठ – ३३)
० ० ०
गहन जीवनबाेध, प्रेम र जिजीविषाको सुसेली– गोलढुङ्गाका अनेकौँ मुक्तकहरू गहनतम जीवन बोधको उल्लासले अभिसिञ्चित छन् । मुक्तककार जीवनदेखि निराश भएर भाग्ने कुरा गर्दैनन् । जीवनदेखि पलायन हुने कुरा गर्दैनन् । जीवनप्रतिको गहिरो अनुराग छ र सार्थक जीवन बाँच्ने अभीप्सा मुक्तकका अन्त करणमा सुन्न पाइन्छ । सारपूर्ण र सार्थक जीवन बाँच्न खोज्नु रहरको कुरा होइन, यो त मानिस हुनुको नाताले नैसर्गिक अधिकारभित्रको कुरा हो भनी उद्घोष गर्दछन् ।
जिउँदो हुनुको सधैँ सार खोजेँ
उनीमा सधैँ मिल्दो विचार खोजेँ
होइन यो हक भोग दाबी मेरो
मैले त आफ्नो अधिकार खोजेँ । (पृष्ठ – ३४)
प्रेम प्रणयका सुकोमल भाव मञ्जरीले पनि गोलढुङ्गो हराभरा बनेको छ । प्रेमका स्वप्निल रङहरूले मुक्तक रङिगएको त छ नै, यसको अलावा कवि मनमा हार्दिक भावहरू सारै सुन्दर ढङ्गले मुक्तकमा उनिएका छन् । मायाले कविलाई माया नै ओढ्ने, माया नै ओछ्याउने, हालतमा पुर्याएको छ र हृदयबाट उठेको साँचो मायाले मान्छेको भोकतिर्खा सबै हराउने किसिमको तीक्ष्ण अनुभूति छ ।
प्रेमको फूलबारीमा मायारूपी फूलको बेर्नाहरूलाई जतनसाथ रोप्ने, गोड्ने र त्यसलाई हराभरा पार्ने विचार बिम्बात्मक रूपमा अति मुखर बनेर आएका छन् –
जतनले फूलबारीमा मायारूपी बिरुवा गोड्छु
सुन्दर फूल फुलाएर एउटा प्रभाव छोड्छु
साँच्चै मायाले मेरो भोकै तिर्खा हराउँछ
अनि जाडोमा माया ओछ्याउछु माया नै ओढ्दछु । (पृष्ठ – ३५)
मलाई नै भेट्न भन्दै, सधैँ सधैँ आतुर तिमी
जति टाढा गएपनि, कहिल्यै हुन्नौ दूर तिमी
सुन्दरताको व्याख्या गर्दा यति भने पुग्छ तिनी
म कालो फलाम हुँला, उज्ज्वल कोहिनुर तिमी । (पृष्ठ – ३६)
० ० ०
विम्ब–प्रतीकमा पौराणिक पात्रको प्रयोग र परिवर्तनकारी आशावादको आवाज– मुक्तकको ठाउँ ठाउँमा मुक्तककारले हाम्रा पौराणिक ग्रन्थहरू रामायण, महाभारत र गीता ग्रन्थका पात्रपात्रीलाई प्रतीकात्मक रूपमा उभ्याएर वर्तमान समाज र जीवनका सत् असत् दुवै वृत्तिका चरित्र चिनाउन, कलुषवृत्तिका पात्रलाई नङ्ग्याउन काफी कोसिस गरेका छन् । जसरी द्वापर युगमा कृष्णले सम्भवामी युगे युगे भनेर जब जब पृथ्वीमा अन्याय अत्याचार दुराचार पापाचारको व्याप्ति हुन्छ तब तब धर्म स्थापनाका निम्ति र धर्मात्माहरूको उद्धार गर्न मेरो अवतार हुनेछ भनी जुन किसिमको आप्त वाणी उद्घोष भएको थियो, त्यही व्रजवासीको खुसीलाई टपक्क टिपेर अहिलेका राक्षसी प्रवृत्तिको वध गर्न कृष्णको आगमन हुने आशावाद यसरी पोखिएको छ–
सबै व्रजवासी सत्यको विजयमा खुसीले रमाउँदै हुनुहुन्छ
सच्चा सारथी बनेर अर्जुनलाई योग ज्ञान बताउँदै हुनुहुन्छ
राक्षसी प्रवृत्तिको अन्त्य हुने दिन आयो कोही छ कंस यहाँ
छ भने बुझोस् एकै छिन पछि यहाँ कृष्ण आउँदै हुनुहुन्छ । (पृष्ठ – ४०)
मुक्तकका हरफहरूमा रामायणका पात्रहरू राम, रावण, हनुमानहरू पनि विभिन्न सन्दर्भमा आएका छन् । ती विम्ब–प्रतीकको रूपमा उपस्थित छन् । क्षीर समुद्रको सन्दर्भ पनि छ । हनुमानलाई लङ्का प्रवेशमा अवरोध गर्ने लङ्किनीको सन्दर्भ पनि छ । अहिले पनि रावणको मति बोक्ने खलपात्रहरूको कुनै अभाव छैन यहाँ । त्यसैले आमाको सौन्दर्यमाथि कुदृष्टि राख्ने रावणहरूको वध गर्न रामहरूलाई यसरी आह्वान गरिएको छ –
क्षीर समुद्र तर्नु छ, आऊ बाटो बनाइदेउ
अवरोध हुन्, लङ्किनी सब भगाइदेऊ
सौन्दर्यमा कुदृष्टि परेछ दुष्ट रावणको
माता हरण गर्दैछ, राम ! छिट्टै आइदेऊ ।
० ० ०
अबोध बालापनको मोह र मातृ–वात्सल्यप्रति समादार भाव– मुक्तक सङ्ग्रहको सुरुवातै मुक्तककारले अबोध बालापनको यादमा तड्पिएर गरेका छन् । अहिले पनि बालापनको चकचकमा रमाउन पाऊँ भन्ने आशय राख्तै त्यो निर्दोष र उल्लासमय बाल्य जीवनप्रतिको अनुरागलाई पोखेका छन् । वास्तवमा बाल्यकाल जति स्वतन्त्र र आनन्दमय जीवन अर्को हुन सक्तैन । जब जब उमेरको सिँढी चढ्दै जाँदा बाल्यकाल सकिँदै जान्छ । हामी परतन्त्रताको अधीनमा पर्दछौँ । जिम्मेवारी र कर्तव्यका बोझाले मिच्दछ । त्यो उन्मुक्त बाल्यकाल फेरि कहिल्यै फर्केर आउँदैन, कवि मनमा त्यो पीडा र औडाहा दुवै छ ।
पुनः बाल वयमा फर्किने, बालसुलभ क्रीडा गर्ने, बालसुलभ स्वभावमा रम्ने उत्कट चाहनालाई यसरी पोख्दछन् –
हप्काउने, गाली गर्नेलाई जहिले सताइरहूँ
पिट्छ जसले उसकै काखमा हरदम आइरहूँ
एउटा मात्र माग मेरो पूरा गरिदिनुस्
बालापनको जस्तै चकचक गर्न पाइरहूँ ।
यस्तै अर्को एक चतुष्पदी श्लोकमा आमाको काखमा रहँदाको बाल्य जीवन सानपूर्ण, मानपूर्ण र साक्षात् भगवानको भेषमा बच्चा रहेको हुन्छ । यस्तो अपूर्व जीवन पुनः प्राप्त गर्न सकिन्न । बाल्यकाललाई पुनः फर्काएर ल्याउन पनि सकिन्न । आनन्द आनन्दैमा सकिने क्षणभङ्गुर बाल्यकाल सबैका निम्ति औधी प्यारो समय हो । जीवनको अति यादगार पल हो । बालापनको माध्यमबाट मातृवात्सल्यताको महानता र यसको विराटतालाई मुक्त कण्ठले प्रशंसा गरेका छन् –
काखमा थियो ऊ, त्यतिखेर उसको गज्जबको सान देखेँ
बाल्यकालमा नगाँसिँदो काखप्रतिको गहनतम सम्मान देखेँ
आँखा झिमिक नगरी पाँच मिनेट आमालाई हेरिरहेको त
आफ्नो सृष्टिलाई आशीर्वाद दिँदै साक्षात् भगवान् देखेँ (पृष्ठ – ५४)
आमा सृष्टिकी जननी । जीवनकी जन्म दातृ । आमाको जति नै गुणगान गएर पनि यसको महिमा अधुरो नै हुन्छ । स्रष्टाले आमाभित्र साक्षात् ईश्वरको दर्शन गरेका छन् र आमाजातिप्रति अनुपम आदरको भाव पोखेको छ ।
वागमा कलकलाउँदा मुनाका लागि जीवपोष आमा
मेरो उद्यानका झार र किराप्रतिको आक्रोश आमा
आनन्द र सन्तोषको क्रीडा स्थल विशाल छ हृदय
मेरा लागि वात्सल्य र ममताको अक्षयकोष आमा
समग्रमा मुक्तककार बाबुराम पोखरेल रचित गोलढुङ्गो मुक्तक सङ्ग्रहमा यी माथि उल्लेखित भाव धारा बाहेक विविध विषयहरू पनि मुक्तकको कथ्य वस्तु भएर आएका छन् । मुक्तक काव्यको लघुतम रूप भएकाले मूलतः सूत्रात्मक कथन, संक्षिप्तता, संश्लिष्टता यसका महत्त्वपूर्ण वैशिष्ट्यहरू हुन् । जसरी भौतिक पदार्थको दुनियाँमा अणु परमाणुभित्र विराट ऊर्जा उत्सर्जनको सामर्थ्य लुकेको हुन्छ । त्यसरी नै काव्य विधाको मुक्तकभित्र एक चोटिलो, एक ओजिलो भाव शक्ति र भाव सौन्दर्य विन्यस्त रहेको हुन्छ ।
हुन त कविताको लघुतम रूप हो मुक्तक । एक हरफ देखि सात हरफसम्मको आयाममा फिँजारिएको कवितात्मक संरचना मुक्तक हो । तर, मुक्तकको सार्वभौम संरचना भनेको चतुष्पदीय (चार हरफको ) संरचना नै हो । र, गोलढुङ्गो भित्रका सबै मुक्तकहरू यहीँ चतुष्पदीय संरचनामा संरचित छन् । त्यस आधारमा एक खँदिलो मुक्तकीय संरचनामा सङ्ग्रहका सबै मुक्तकहरू आबद्ध छन् । र, प्रत्येक मुक्तकको पहिलो हरफले कवि निबद्ध अनुभूतिजन्य काव्यिक विषयवस्तुको उठान गरेको छ । दोस्रोले त्यही विषयवस्तुलाई सम्पुष्टि गर्नका लागि समर्थन जनाएको हुन्छ । तेस्रो र चौथो हरफले पाठकको मन मुटुलाई तरङ्गित पार्ने किसिमले एक झड्का छोड्दछन् । सघन र संश्लिष्ट भाव–प्रवीणता पोखरेलका मुक्तकका मूल वैशिष्ट्य हुन् ।
मुक्तकमा मुक्तककारको जीवन–बोध, जीवन–दर्शन, सत्य, निष्ठा र इमानको भावाभिव्यक्ति गहिराइबाट स्पर्श गर्न सकिन्छ । यसका अलावा समाज, दैनदिनीका आहाहरू ! ऐयाहरू ! खुसी, विषाद, पीडा, आक्रोश, सन्तोष, असन्तोष, ढोँग, पाखण्ड, आडम्बर नीति, अनीति, प्रेम, विरह, आस्था, विश्वास र मानवताप्रतिको अ कम्प अनुभूतिका भावहरू केन्द्रीय कथ्य वस्तु बनेर आएका छन् । ती काहीँ सूत्रात्मक रूपले, काहीँ व्यङ्ग्यात्मक, व्यञ्जनात्मक रूपले, काहीँ लाक्षणिक त काहीँ बिम्बात्मक र प्रतीकात्मक रूपले प्रस्तुत भएका छन् ।
समग्रमा मुक्तक सानो आकार र आयाममा आवेष्टित हुन्छ । तथापि त्यसैमा काव्यको एक पूर्ण संसार आँटेको हुन्छ । गोलाढुङ्गो गोल–भूगोलका मानव मनको व्यथा–कथा, यात्रा–अनुभूति, उत्कर्ष–अपकर्ष, समय–समाज, चित्र–चरित्र, हर्ष–विषाद, सङ्गति–विसङ्गति, आँसु–हाँसो, आस्था–अनास्थालाई शाब्दिक वाणीमा मिठो अभिव्यञ्जना पस्किन सफल छ । स्रष्टाको मुक्तक लेखनको भावी राजमार्ग अझ फराकिलो, अझ चहकिलो, अझ गहकिलो र अझ महकिलो बनोस् हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
