
नेपाली साहित्यमा शम्भु गिरी ‘निर्दोष जीवन’का नामबाट वि.सं. २०५० को दशकको अन्त्यतिरबाट प्रवेश गरेका जुझारु स्रष्टा यति बेला मात्र निर्दोष जीवनका नामबाट लेख्ने गरेका छन् । गीत, गजल, हाइकुजस्ता काव्यका लघुतम रूपबाट साहित्य यात्रा थालेका निर्दोष ‘मैयाँ’ कथा सङ्ग्रह प्रकाशित गरी आख्यानका क्षेत्रमामा प्रवेश गरेका हुन् । उनको पहिलो औपन्यासिक कृतिका रूपमा ‘नोस्टाल्जिया’ (२०७९) पाठकका सामु आएको छ ।
थोरै अनौपचारिक कुरा
भाषाको विकास भएदेखि नै साहित्यकारहरू निरन्तर लेखिरहेका छन् । साँच्चै, हामी साहित्य किन लेख्छौँ हँ ? यो प्रश्नको उत्तर हजारौँ भेटिन सक्छन् । यसका बारेमा निकै पहिलेदेखि नै बहस हुन थालेको पाइन्छ । पूर्वीय वाङ्मयमा प्रचलित ‘साहित्यको हेतु’ त्यसैसँग सम्बन्धित छ । पश्चिमी कला जगत्मा प्रचलित ‘कला कलाका लागि’ र ‘कला जीवनका लागि’ भन्ने बहस पनि यसैसँग सम्बन्धित छ । तर पनि लेखकहरूले लेख्न छाडेका छैनन् । सायद लेखन पूर्ण हुँदैन त्यही भएर लेखकहरू लेखिरहेका छन् । अझ कतिपय लेखकहरूले त आफैँलाई विषयवस्तु बनाएर लेखिरहेका छन् ‘नोस्टाल्जिया’ उपन्यासमा जस्तै ।
चिनारीका वृत्तमा निर्दोष जीवन
पिता डम्बर गिरी र माता भागीरथी गिरीका कान्छो सन्तानका रूपमा चितवनमा जन्मिएका शम्भु गिरी नै नेपाली साहित्यमा क्रियाशील निर्दोष जीवन हुन् । नेपाली साहित्यमा शम्भु गिरी ‘निर्दोष जीवन’का नामबाट वि.सं. २०५० को दशकको अन्त्यतिरबाट प्रवेश गरेका जुझारु स्रष्टा यति बेला निर्दोष जीवनका नामबाट मात्र पाठकका सामु उभिने गरेका छन् । उनले सुरुका दिनमा हवाई पत्रिकामा मुक्तक, हाइकु, गजल, गीत छपाउने गरेका थिए । त्यस्तै उनको सुरुको कृति पनि गोजीका आकारको थियो । काव्यका लघुतम रूपबाट साहित्य यात्रा थालेका उनी ‘मैयाँ’ कथा सङ्ग्रह प्रकाशित गरी आख्यानका क्षेत्रमामा प्रवेश गरेका हुन् । उनको पहिलो औपन्यासिक कृति ‘नोस्टाल्जिया’ (२०७९) हो ।
लेखनका अतिरिक्त सङ्गीत र गायनमा समेत क्रियाशील निर्दोष जीवन कुशल गीत तथा गजल गायक पनि हुन् । उनका एकल तथा संयुक्त गीत र गजलका एल्बमहरू पनि बजारमा निस्केका छन् । त्यसबाहेक युट्युबमा पनि उनका साङ्गीतिक प्रस्तुति हेर्न र सुन्न सकिन्छ । प्रकाशित भएको एक वर्ष नपुग्दै ‘नोस्टाल्जिया’को दोस्रो संस्करण बजारमा आउनु यो कृतिको सफलता हो ।
बहस : नेपाली आख्यानमा आत्मकथाको प्रयोग
साहित्यकारले के लेख्छ ? कसरी लेख्छ ? किन लेख्छ ? यसका बारेमा निकै रस्साकस्सी भएका छन् । आफूले देखे भोगेका कुरा लेख्न बढी सजिलो पनि हुन्छ । देख्दै नदेखेका र भोग्दै नभोगेका कुरा लेख्नका लागि अध्ययन तथा अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यही भएर होला लेखकले आफ्नै वरिपरिको समाजका बारेमा बढी लेख्ने गर्छन् ।
एउटा प्रश्न गरिहेरौँ – नेपाली आख्यानमा आत्मकथाको प्रयोग कहिलेदेखि भयो ? यो अनुसन्धानको विषय हो । यसका बारेमा गहिरो शोध हुन सक्छ । तर खुलेर उपन्यासलाई अनुभवन्यास भनेर डा. ध्रुवचन्द्र गौतमले ‘बाढी’ उपन्यास वि.सं. २०६० मा प्रकाशित गराए । यसमा आफ्नो जीवन भोगाइ र आफू वरपरका पात्रहरूलाई उभ्याउने काम गरे । उपन्यासको नायक आफैँलाई बनाए । त्यसो त पारिजातको ‘उसले रोजेको बाटो’ उपन्यास (२०३५) मा निर्मल लामा र पारिजातको संलग्नता भएको कुरा समीक्षकहरूले उठाउने गरेका छन् । तर त्यसमा पारिजातको आफ्नो कथा कम छ । त्यस्तै धनुषचन्द्र गौतमको ‘घामका पाइलाहरू’ (२०३५) र ‘यहाँदेखि त्यहाँसम्म’ (२०४२) जस्ता उपन्यास पनि आफ्नै परिवारको पृष्ठभूमिमा घुमेको छ । तर पनि आफैँलाई प्रमुख पात्र बनाएर उपन्यास लेख्ने कामको थालनी निःसन्देह ध्रुवचन्द्र गौतमले गरेका हुन् । त्यही पथमा हिँडेका कृति हुन् – कृष्ण धरावासीको ‘आधा बाटो’ र रामलाल जोशीको ‘बाआमा’ । त्यही पथमा कतै भेटिने स्रष्टा हुन्, बुद्धिसागर, प्रोल्लास सिन्धुलीय, शीतल कादम्बिनी आदि ।
ध्रुवचन्द्र गौतमले गोरेटो बाटो बनाएर त्यसमा कृतिहरू थप्दै राजमार्ग बनाउने काम गरे । उनका पछिल्ला उपन्यासहरू त्यसका साक्ष्य हुन् । त्यही राजमार्गमा हेलिन आइपुगेका छन् निर्दोष जीवन पनि । उनको ‘नोस्टाल्जिया’ त्यही मार्गमा हिँडेको नवीनतम उपन्यास कृति हो । यसमा लेखकका बाल्यकालीन यादहरूको जुलुस पढ्न, देख्न र अनुभव गर्न पाइन्छ ।
साँच्चै नोस्टाल्जिया उपन्यास हो कि आत्मजीवनी ?
‘नोस्टाल्जिया’लाई लेखक निर्दोष जीवनले उपन्यास भनेर छपाएका छन् । यसमा भएका कतिपय पात्रको नाम हेरफेर गरेका छन् । नायकको नाम नै शम्भु नराखेर संयोग राखेका छन् । यसमा उनले आफ्नो जन्म, बाल्यकाल, शिक्षादीक्षा, व्यापारमा लाग्नुका कारण, वैवाहिक अवस्था आदिको सुन्दर चित्रण गरेका छन् । यसमा कताकति निबन्धमा जस्तो वर्णन पनि भेटिन्छ । जे होस् यसमा उनले भोगेका भोगाइ नै प्रबल बनेर आएका छन् ।
आफ्नो पिताजीको एकोहोरो स्वभावका कारण पटक–पटक स्याङ्जा, चितवन र नवलपरासीका विभिन्न ठाउँमा बसाइँ–सराइ गर्नुपरेको कुराले पाठकको मन तान्छ । त्यसमा पनि विभिन्न समयमा आएका प्राकृतिक तथा मानव निर्मित विपत्तिका कारण परिवारले पाएको दुःख यसका छोइने पाटा हुन् । गरिबी यसको महत्त्वपूर्ण विषयवस्तु हो । एउटा कमजोर नायक छ, जो परिवार, गाउँ, समाजको कुरा बढी सुन्छ, यही कारणले उसको वैवाहिक जीवन झन्डै धराशायी बनेको छ । पछि आफैँ बिमारले उठ्नै नसक्ने भएपछि भने उसले श्रीमतीसँग माफी मागेर पारिवारिक जीवन सुचारु बनाउँछ । यो उपन्यासको सुखद अन्त्य यसमै भएको पाइन्छ ।
‘नोस्टाल्जिया’ शब्दको अर्थ नै अतीतको याद हो । यस कृतिमा पनि अतीतका दुःख बढी सुख कम चित्रण भएको छ । यसलाई पाठकले निर्दोष जीवनको आत्मजीवनी नभई एउटा पात्रको जीवन भोगाइका रूपमा लिन्छ । कतिपय अवस्थामा त त्यसमा आफैँलाई आरोपित पनि गर्छ । त्यसैले ‘नोस्टाल्जिया’ औपन्यासिक कृति बनेको छ ।
नोस्टाल्जियाको प्राप्ति के हो त त्यसो भए ?
आफू, आफ्नो परिवार र आफ्नो वरिपरिको परिवेशलाई जस्ताको त्यस्तै उतार्न सक्नु ‘नोस्टाल्जिया’को मुख्य प्राप्ति हो । जीवन भोगाइका विविध पाटाहरू यसका पठनीय कुरा हुन् । यसमा देश र विदेशका विविध भूगोलको चित्रण गरिएको छ । यसमा यौन बढी नै आएको छ । हुन त मानव जीवनमा यौन जरुर छ, त्यसलाई कति मात्रामा उदाङ्गो पार्ने भन्ने कुरामा लेखक सचेत हुनै पर्छ । यौन भनेको एउटा गोप्य कोठा वा एकान्तमा हुने शारीरिक तथा मानसिक क्रिया हो । मानव जीवनमा भोक, तिर्खा, थकाइ जत्तिकै आवश्यक कुरा यौन पनि हो, तर यसलाई बजारमा बेच्न राखेको पानीको बोत्तल वा चाउचाउको प्याकेट जत्तिको सहज बनाउँदा यसको महत्त्व पक्कै घट्छ । त्यति मात्र होइन, साहित्यिक कृतिको वजन पनि घट्छ । जे होस्, आफूलाई खुलस्त लेखेर निर्दोष जीवन ‘नोस्टाल्जिया’मा विरेचित भएका छन् । उनको विरेचन प्रक्रियालाई उच्च सम्मान छ । उनको अर्को उपन्यास समाजमा भएको अर्कै विषयवस्तुमा आओस्, उनको लेखनको निरन्तरताका कामना सहित लेखनीलाई विश्राम दिन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

