टुवरा र केल्हिया यस उपन्यासका नायक नायिका हुन् । तर उनीहरू कहिल्यै वास्तविक जीवनका नायक नायिका बन्न सकेका छैनन् । उनीहरू सदा सर्वदा खलपात्रका सिकार मात्र बनिरहेका छन् ।

‘टुकी’ (२०७५)का उपन्यासकार ‘मनोज अज्ञात’को ‘टुवरा’ (२०७९) उपन्यास, दोस्रो दाखिला हो । ‘टुवरा’ उपन्यासमा ‘मनोज अज्ञात’, ‘मनोज थारु ‘अज्ञात’
नामको हस्ताक्षरमा रूपान्तरित छन् । विद्यालयको कक्षाबाट एक कुशल शिक्षक व्यक्तित्वको पहिचान स्थापित गरेका मनोजको अन्तर्मुखी व्यक्तित्व; पत्रकार, चित्रकार, फोटोग्राफर र सफल स्टेशनरी व्यवसायीको रूपमा समेत बहुआयामिक परिचय बनेको छ ।

चितवनको शुक्र नगर, शोसीको थारु गाउँमा जन्मेका लेखक; थारु समुदायको रीति, रिवाज, परम्परा, संस्कार, संस्कृति, जीवनशैली आदि हरेक पक्षका खुल्ला र जिउँदो किताब हुन् मनोज थारु । ‘टुवरा’ र ‘टुकी’ उपन्यासले यही बताउँछ । उनको उपन्यासभित्र अनुच्छेद अनुच्छेदमा थारु समुदायको सङ्घर्षको रगत र परिश्रमको पसिना लिपिएको हुन्छ, थारु समुदायको अस्तित्व र पहिचान पोतिएको हुन्छ ।

टुवरा र टुकी बिचको अन्तरसम्बन्ध :

दुवै उपन्यासमा चितवनका आदिवासी मानिने थारु समुदायको जीवन चरित्रलाई विशिष्टीकरण गरिएको छ । जीवन सङ्घर्षको मैदानमा दारुण पीडा भोग्दै बितेको हरुवा, चरुवा आदी शोषित, पीडित कामदार जीवनको समूल चित्रण गरिएको छ ।

टुकी विशेषतः थारु संस्कृति, रीति, रिवाज, चाडपर्व, जितिया, खिचरा, फागु, यमोसा, सोहराई आदि चाडपर्वको विधिवत् प्रक्रिया साथै हरेक चाडपर्वका अघिल्लो दिन मनाइने मछुवारीको पनि रोमाञ्चक वर्णन गरिएको छ । हरेक चाडपर्वमा गाइने थारु भाषाका गीतहरू साथै नाचहरू टुकी उपन्यासमा कलात्मक ढङ्गले प्रस्तुत गरिएका छन् । यति मात्रै होइन, थारु समुदायमा हुने जन्म, मृत्यु, विवाह, पूजापाठजस्ता धार्मिक संस्कारका क्रियाकलापहरू पनि मिहिन रूपमा दर्साइएको छ ।

टुवरामाथि दृष्टिगोचर :

आदिवासी बस्तीहरूमा नवागन्तुक मालिकहरूको प्रवेश हुनु, थारु जमिनदारहरु रैतीमा परिणत हुँदै जानु र हरुवा चरुवाहरूको जीवन अझै कष्टकर बन्दै जानु, मालिकहरूको कुकर्मको सिकार बन्दै जानु साथै थारु जमिनदारहरु विस्थापित हुने अवस्थामा पुग्नुजस्ता हृदय विदारक घटनाको परिचायक हो ‘टुवरा’ ।

टुवरा उपन्यास २३ शृङ्खलामा आबद्ध छ । हरेक शृङ्खलामा आकर्षक र सान्दर्भिक शीर्षकहरूको क्रमबद्धता छ ।

‘खेस्रा मान्छे’, टुवराको प्रस्थान विन्दु हो भने ‘हाइलाइट्स’ यसको समापन । ‘हसुली गाउँ’, ‘रातमा साथ’, ‘मैझारो’, ‘इलाका’, ‘गोठाली’, ‘मचानमा नाँच’, ‘रक्तखेत’, ‘रमिता’, ‘धुहमा मुह’, ‘बगरमा कहर’, ‘भुखला’, ‘छुटेको जिनगी’, ‘सकसको डगर’, ‘उपहासको नाउँ’, ‘विहन’, ‘उठोनी’, ‘सिवाना’, ‘कल्पना’, ‘मृत्यु र मुक्ति’, ‘नवप्रभातको प्रताप’जस्ता हरेक शृङ्खलाहरूको मनोरम चित्रणबाट आकर्षकसँगै यथार्थपरक घटनाका प्रसङ्गहरू यसमा उद्घाटित छन् ।

एउटा कारागार परिसरमा क्षतविक्षत शारीरिक अवस्थामा रहेको एउटा बीभत्स अनुहार र विक्षिप्त मुद्रामा चित्कार गरिरहेको खेस्रा मान्छे, एउटा कन्सटेवल र एउटा जेलर, यिनै पात्रहरूको गौड अभिनयात्मक प्रस्तुतिबाट औपन्यासिक पर्दा खुलेको छ ।

खेस्रा मान्छेको नागरिकताको नाम बिफला थारु हो । जुन नाम केवल अड्डा अदालतले मात्र जान्दछ । वास्तवमा खेस्रा मान्छे नै टुवरा हो । र, ‘टुवरा’ अर्थात् ‘टुहुरो’ उसको वास्तविक जीवनको नाउँ हो । त्यस्तै ‘भुखला’ ‘टुवरा’कै उत्तरार्द्ध दैनन्दिनी चरित्र हो ।

खेस्रा मान्छेबाट टुवराको पर्दा उद्घाटन भए पश्चात् लेखकले पाठकहरूलाई हसुली गाउँतर्फ लगेका छन् । हसुली गाउँका प्रतिनिधि पात्रहरूमा एउटा मालिकको परिवार, उनीहरूको कामदार, हरुवा, चरुवाको रूपमा रहेका टुवरा, महिला, पतिया काका, केल्हिया आदि छन् ।

थारुहरू सदियौँदेखि किसान हुन् । किसानको गौड कथा बिरलै पढ्न पाइन्छ । मनोज थारु ‘अज्ञात’ले पाठकहरूलाई किसानको कथा, त्यसमा पनि अर्ग्यानिक किसान जो माटोलाई औधी माया गर्छ । माटोसँगै पैँठेजोरी खेल्छ, माटामै पसिना चुहाउँछ । माटोमा हरियाली थप्नमा आतुर भइरहन्छ । एक मुठी माटो लिएको हत्केलामै बाली लगाउने आँट छ उसमा । माटोलाई पुजा गर्छ, माटोमै सुत्छ, माटो नै ओढ्छ, माटोकै भाडामा आहार गर्छ । बौराहा खोला किनारको घाम उदाउने खेत र घाम अस्ताउने खेतमा उनीहरूले पसिना र पाखुरा बेचेर दुःखको छाक टारिरहेका छन् । त्यस खाले किसानको यथार्थपरक कथा हो टुवरा । अहिलेसम्ममा हामीले पढेका किताबभन्दा बिलकुलै बेग्लै छ उपन्यास टुवरा । यस उपन्यास पढ्दा पाठकले बिलकुलै फरक स्वाद पाउनेछन् । ‘टुवरा’ बुनोटमा प्रयोग भएका भरपुर थारु लवजले (आञ्चलिकता) पनि पाठकको पठन अनुभूतिको जिभ्रे स्वाद फेरिनुमा दुई मत छैन । थारु लवज समेटिएका केही संवादहरू यहाँ प्रस्तुत गरिएको छ ।

– “हो रे महिला ? म नजानेछु । अरे उँ बात रे ? उँ त झुकटुटमा निसाना लागेथियो हँ ।”

– “अरे तेस्तो फुहर बात नकर् रे । ठूलो मन्से नबने कमसेकम धुलो मन्से त भन् ।”

– “टुवरा भन्ने तैँ होस् ?”

– “उँ हुँ हुजुर मैले हो टुवरा ।”

– “हिज दिनभरी काँ थिस् ?”

– “गोरु चरहाउन गएथियो ।”

– “काँ ?”

– “उँ बौराहा बगर ।”
– “को को ?”

– “महिला अँ मैले ।”

– “अरु ?”

– “उँ केल्हिया भेडी चरहाउन गएथियो तेहाँ ।”

– “त्यसपछि के के भयो भन् ?”

– “बगरको झाँङ भितरा केल्हियाको जाङ्घा बिचमा चिकुटी लागेथियो । म उँ चिकुटी छुडाइदिएथियो । (चिकुटी = किर्नो)” । यसखाले संवादले टुवरा उपन्यासमा आञ्चलिकता थपेको छ । पढ्दा रोमाञ्चित भइने ठाउँहरू किताबभरि थुप्रै छन् ।

० ० ०

‘टुवरा’ आमाबाबु विहीन गरिब, अनाथ, दयनीय बाल्यकाल बिताएर हुर्केको थारु नौजवान हो । र, माइला; बेघरवार तामाङ युवा हो । पतिया काका मालिकको घरायसी कामको जिम्मेवार कामदार हो भने केल्हिया पतिया काकाकी छोरी र मालिककी भेडी गोठाल्नी हो ।

टुवरा र केल्हिया यस उपन्यासका नायक नायिका हुन् । तर उनीहरू कहिल्यै वास्तविक जीवनका नायक नायिका बन्न सकेका छैनन् । उनीहरू सदा सर्वदा खलपात्रका सिकार मात्र बनिरहेका छन् । अर्कोतर्फ ‘मेलो’, ‘मैझारो’, ‘इलाका’, ‘गोठाली’ आदि अध्यायमा टुवरा र केल्हियाको प्रेम प्रसङ्ग तथा उत्कर्षका विन्दुहरू क्रमशः पोखिएका पनि छन् ।

‘मचानमा नाँच’को परिच्छेदमा देखिएको मोद मत्त मस्ती, ‘रक्त खेत’मा पुगेपछि मालिकको रहस्यमय मृत्युमा बदलिएको छ । र, निम्ता विनाको भीड पतियाको झोपडी अघिल्तिर आँगनमा घोर ‘रमिता’ देखाइएको छ ।

निर्दोष टुवरा, माइला र पतियाकाकाहरु मालिकको हत्या र गैँडा तस्करीबाट आरोपित मात्र होइन क्रूर यातनाको सिकार समेत बनेका छन् । खेतको बुख्याचामा मृत मालिकको आकृति परिकल्पना गरेर त्रस्त हालतमा ‘धुहमा मुह’को कथा कोरिरहेका छन् निरीह टुवराहरु । साथै ‘बगरमा कहर’मा पुग्दा टुवरा र केल्हियाको प्रेमले जीवन्तता प्राप्त गरिरहेको बेला एउटा साँझ बौराहा खोलाको बगरमा घटेको बीभत्स घटनाले टुवरा र केल्हियालाई चुरियाको राकश खोलाको किनारतिर हुत्याइदिन्छ ।
माइला पनि बौराहा खोलाको बहावसँगै शोहसी गाउँमा पुगेर पाखा लाग्छ । त्यहाँ ऊ माओवादीमा लागेर गोला तामाङ नामले त्यहीँ क्षेत्रको कमाण्डर बनेर भुखलाको घरमा अप्रत्याशित आइपुग्छ । भुखला र गोला तामाङको अप्रत्याशित भेटघाट र पुर्न परिचय हुन्छ । तत्पश्चात् छुटेको जिन्दगीबाट विगतका यादहरू टुवराले पाना पल्टाई पल्टाई माइला उर्फ गोला तामाङलाई सुनाउँछ ।

‘सकसको डगर’, ‘उपहासको नाउँ’, ‘विहन’, ‘उठोनी’, ‘सिवाना’, ‘कल्पना’, आदि शृङ्खलाबाट अन्न उपजमा अलिकति सुख, सन्तोष र मानसिक पक्षमा अधिक मात्राको जर्जर दुःख, पीडा, असन्तोष, सामाजिक अपमान, ठुलाठालुहरूको धाक धम्की, डाहा, इर्ष्या, प्राकृतिक प्रकोपको सिकार, चुरिया गाउँबाट पनि विस्थापित हुनुपर्ने अवस्थासम्मका यावत घटनाहरू माइला उर्फ गोला तामाङहरूले भुखला उर्फ टुवराबाट एकतमासले सुनिरहेको कुरा आख्यानकारले प्रस्तुत गरेका छन् । यो बेलासम्म आइपुग्दा टुवरा भुखलामा परिणत भएको र टुवराकी जनी केल्हिया भुखलीमा । र, यी दुखियारी दम्पतीबाट एक सन्तान जन्मिसकेको हुन्छ । समयान्तरालपछि भुखला र भुखलीका एक मात्र मुटुको टुक्रा भागराम अर्थात् भगरमवा शोषण र विद्रोह निर्क्याैल गर्न सक्ने नौजवानमा परिणत भैसकेको हुन्छ ।

वास्तवमा टुवरालाई एउटा छाया पात्रको रूपमा प्रस्तुत गरेर उपन्यासकार आफै टुवरा बनेर यस उपन्यासमा उभिएको भान पाठकलाई पर्न सक्छ ।

कारागारमा देखा परेको पात्र ‘खेस्रा मान्छे’ उसको अद्भुत चरित्र, मनोदशा र चित्कार नै पाठकहरूको प्रमुख जिज्ञासा हो । यो जिज्ञासा समाधानको निमित्त लेखकले पाठकहरूलाई हसुली गाउँतिर लगेका हुन् । हसुली गाउँबाट जन्मेको कथावस्तु चुरिया गाउँ हुँदै पुनः कारागारमै आएर ठोक्किन्छ । खेस्रा मान्छेहरूलाई आजीवन पीडा दिएर सडाउन प्रयोग हुने कारागारलाई एक छिनमा ध्वस्त बनाइन्छ । अनि बन्दुक, बारुद र कारागारको धुवासँगै खेस्रा मान्छे, भगरमवा, पतिया आदिको उन्मुक्त अवस्था सिर्जना गरिएको घटनाक्रमलाई सिनेमाको पर्दा जस्तै गरी लेखक स्वयंले सामाजिक सञ्जालमा सम्प्रेषण गरिरहनेले पनि आख्यानकार नै यस उपन्यासका मुख्य पात्र हुन् भन्ने पुष्टि हुन्छ ।

जे होस्, उपन्यास देशकाल, परिस्थिति, घटना, पात्र, शैली, कथोपकथन, आदि सबै पक्षको सबल संयोजन देखिएको छ ।

यहाँ,

टुवरा – आमाबाबु विहीन अनाथ बालकलाई बोलाउँदा प्रयोग गरिने थारु समुदायको (नाम) शब्द हो ।

टुवरा – अहिले एउटा उपन्यासको नाममा प्रतिबिम्बित छ ।

टुवरा – यस उपन्यासमा आमाबाबु विहीन अनाथ मात्रै होइन सामाजिक जीवनमा समेत सहारा विहीन साथै मालिक र ठालुहरूको हेपाइको अकिञ्चन पात्र बनेको छ

टुवरा । टुवरा नितान्त निर्दोष भएर पनि अपराधीको आरोपमा यातनाको सिकार बन्नुपर्ने निरीह पात्र बनेको छ । त्यसैले यस उपन्यासका टुवरा; गरिबी, थिचोमिचो, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, आदिले प्रताडित भई छियाछिया भएर विक्षिप्त मनोदशामा बाँचिरहेको एउटा खेस्रा मान्छेको परिचय हो टुवरा । तसर्थ टुवरा नेपाली सामाजिक जनजीवन भित्र थारु समुदायको प्रतिनिधि पात्र हो । एक निमुखा, माटे किसानको कथा हो ।